Category: फिचर

  • एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी

    एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी

    काठमाडौँ, ८ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो । आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हराएको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २६ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि निकोल लेफ्टी इटनले ४१, लाहिरू मिलन्थाले २३, सञ्जय कृष्णमुर्तिले २० तथा आशिफ शेखले १३ रन बनाए ।

    बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । उनले चार ओभर बलिङ गर्ने क्रममा मात्र ११ रन खर्चिए । यस्तै सूर्य तामाङले दुई तथा मर्चेन्ट डे लाङले र शुभम रन्जनेले एक एक विकेट लिए । यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।

    बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँविरुद्ध जित दर्ज गरेको थियो । तेस्रो खेलमा जितेसँगै विराटनगर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । अहिले ४ः०० बजेदेखि दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच सुरु हुँदैछ ।

  • नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    काठमाडौँ, ८ मङ्सिरः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव १३ अङ्कमा पुगेको छ । नेप्से परिसुचकसँगै आज कारोबार रकमसमेत बढेको छ ।

    कूल ३३० कम्पनीको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा खरिद बिक्री भएको छ ।
    नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु २४ करोड ८१ लाख ५१ हजार ५४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । आज झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो ।

    त्यस्तै सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केवलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा मविलुङ इनर्जी लिमिटेडको लगानीकर्ताले चार दशमलव ४४ प्रतिशतले गुमाए ।

  • मुख्य सचिवमा अर्याल नियुक्त

    मुख्य सचिवमा अर्याल नियुक्त

    काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् ।

  • विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    जनकपुर, ८ मङ्सिर । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाँै दिन माता जानकीको मटकोर विधि मनाइएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज मटकोर सम्पन्न गरिएको हो । त्यस क्रममा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गङ्गासागरमा पुगेर भव्यतापूर्वक मटकोर सम्पन्न भएको हो । यो विवाहपूर्वको विधि हो ।


    आज महोत्तरीको मटिहानीमा पनि ‘मटकोर’ सम्पन्न भएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मठले रामजानकी विवाह महोत्सवको ‘मटकोर’ विधि सम्पन्न गरेको हो । हिन्दू मैथिल परम्परामा विवाहको एक दिनपूर्व कर्मकाण्डीय विधिले ‘मटकोर’ सम्पन्न गर्ने चलन छ । त्रेता युगमा चन्द्रमासको मङ्सिर शुक्लपञ्चमीका दिन अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र विदेह (मिथिला) नरेश शिरध्वज जनककी पुत्री जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष उत्सवका साथ यो पर्व मनाउने चलन छ । यसपालि मङ्सिर शुकल पञ्चमी भोलि मङ्गलबार हुँदा ‘मटकोर’ आज सम्पन्न गरिएको हो ।

    ‘मटकोर’ विधिमा मिथिलानीहरु जानकीस्वरुपा कन्यालाई अघि लगाएर मङ्गलगीत गाउँदै सागर पुगेर भूमिपूजन गर्दै माटो खनेर ल्याउँछन् । माटो खन्ने कार्यमा पूरुषहरूको पनि सहयोग लिइन्छ । खनिएको माटोले मठ परिसरकै मन्दिरको प्राङ्गणमा वैदिक विधिपूर्वक वेदी बनाइन्छ । यस अवसरमा जानकीस्वरुपा पात्रलाई बसाइ मङ्गलगीत गाइँदै विवाहको पूर्वाङ्ग (कन्याको घरमा विवाहपूर्व गरिने वैदिक विधि) सम्पन्न गरिन्छ ।

  • एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    काठमाडौँ, ८ मङ्सिरः कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कर्णाली याक्सविरुद्ध जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव दुई ओभरमा ९४ रनमा अलआउट भयो ।

    सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए । कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई÷दुर्य विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रन जोडे । कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा ३, नन्दन यादवले दुई विकेट लिएका थिए ।

  • सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    काठमडौँ, ८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् । मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिए ।


    निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराए । हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिए । त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिए । मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।

  • दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई

    दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिएकी हुन् ।

    यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक र गौरवको विषय भन्दै प्रधानमन्त्री कार्कीले दृष्टिविहीन महिला क्रिकेट टोलीलाई थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।“तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण यो उपलब्धि प्राप्त भएको हो”, उनले भनिन्, “तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।”

    प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सराहनीय रहेको उल्लेख गर्दै यसमा सरकारले लगानी गर्न सकेमा अझै प्रगति हुने बताइन् ।अब सरकारका तर्फबाट गर्न सकिने सहयोगबारे सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्ने उनको प्रतिबद्धता थियो । प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलङ्कामा भएको प्रतियोगितामा दोस्रो भएको हो । उनीहरुले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्ने क्षमता रहेको बताए ।

  • मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

    मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

    कास्की, ८ मङ्सिर । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

    यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङहुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।“हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।” इञ्जीनीयर सुवेदीले भने । उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ ।

    विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।
    तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए ।
    “तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” सुवेदीले भने । सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे । मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।

  • तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    म्याग्दी, ८ मङ्सिरः म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।

    जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ ।

    सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ । टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए ।

    उनका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताए ।


    हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्राडा जगन्नाथ रेग्मीले बताए ।


    उहाँका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ । पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

    बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिमुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पक्षी अवलोकन गर्न पाइन्छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ ।

  • जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

    जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

    झापा, ८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए ।

    प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

  • कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ, ८ मङ्सिर । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    काठमाडौँ, ८ मङ्सिर । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार छ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

    कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२, दुर्घटना तथा अशक्तता दावी रु २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम रु २९ करोड सात लाख ७२ हजार एक सय १६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ बराबर छ ।

    सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

    कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

  • एनपिएल : आज दुई खेल हुँदै

    एनपिएल : आज दुई खेल हुँदै

    काठमाडौँ, ८ मङ्सिरः यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडाँैं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ ।

    दोस्रो खेलमा आजै दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन् । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए ।

    गत संस्करण रनरेटमामाथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा छ । गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो । आज उक्त हार दोहो¥याउने पक्षमा कर्णाली हुनेछैन । नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

  • बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

    बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

    काठमाडौं, ८ मंसिर २०८२ । सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् ।


    मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने मार्ग प्रशस्त गरेको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गरिनेछ ।


    स्टील र कंक्रिटमा आधारित निर्माण प्रविधि महँगो, पर्यावरणमा नकारात्मक प्रभाव पार्ने, ग्रामीण क्षेत्रमा निर्माण सामाग्रीको सीमित पहुँचका कारण सस्तो र वातावरणमैत्री संरचनाको महत्व बढ्दै गएको छ । यसलाई ध्यान दिंदै परम्परागत रुपमा प्रयोग हुँदै आएको ग्रामीण स्तरमै उपलब्ध हुने बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रोत्साहन र प्रवर्धन गर्न मार्गदर्शनले जोड दिएको मन्त्री घिसिङले बताए ।


    उनले उहाँले ईंटा, सिमेन्ट र फलाम जस्ता सामग्रीमा निर्भरता घटाउँदै स्थानीय रूपमा उपलब्ध बाँसलाई संरचनात्मक प्रयोगमा ल्याउन सकिने र यसबाट किफायती संरचना निर्माण हुँदा विपन्न र गरिबीको रेखामुनि रहेका परिवारले पनि टिकाउ आवास बनाउन सक्ने उल्लेख गरे । बाँस छिटो बढ्ने वनस्पति समेत भएका कारण यसको प्रयोगलाई प्रवर्धन गर्न सकिएमा अन्य निर्माण सामाग्रीका कारण पर्यावरणमा परिरहेको नकरात्मक प्रभावलाई समेत कम गर्न सकिने उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा बाँसको भवन डिजाइन तथा निर्माण प्रविधि सम्बन्धमा भएका अध्ययन र अनुसन्धानबाट हासिल भएका तथ्य, ज्ञान र मापदण्डलाई आधार बनाएर मार्गदर्शन बनाइएको छ ।


    मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्धारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।

    मार्गदर्शन निर्मणका क्रममा शहरी विकास तथा भवन निर्माणका प्राविधिकसहित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग र मदन भण्डारी विश्वविधालयमा आवश्यक परिक्षण गरिएको थियो । बाँसजन्य निर्माण समाग्री प्रवर्धनका लागि नीतिगत व्यवस्थाको मागसहित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए ।

  • क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

    क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

    राजकुमार पराजुली/रासस

    काभ्रेपलाञ्चोक, ८ मङ्सिरः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।

    क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।

    ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो ।

    उहाँका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।

    यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।

    कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो ।” क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।

  • एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    कमलकुमार बस्नेत–रासस
    काठमाडौँ, ८ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।

    प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुईरदुई खेल खेलेका यी टोली चाररचार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

    दुई–दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एकरएक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ । जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ ।

    खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् । हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् ।

    ब्याटिङमा विदेशी खेलाडी हावी

    हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए ।

    इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एकरएक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् ।

    बलिङमा केसी अगाडि

    हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् ।

    मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चाररचार विकेट लिएका छन् । साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीनरतीन विकेट लिएका छन् ।

    स्ट्राइक रेटमा जैब अब्बल

    चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् ।

    आलमको किफायती बलिङ

    किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् ।

    हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।

    सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।

    ५९ पटक क्याच आउट

    आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् । यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीनरतीन वटा क्याच लिएका छन् ।

    विराटनगरको उच्च स्कोर

    एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो । त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।

  • विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    जनकपुर, ८ मङ्सिरः विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा÷मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।

    विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

    सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले बताए । यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

  • नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन

    नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन

    त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलार्ई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए । त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।

    “कम्युनिष्ट घटकमात्र होइन कांग्रेस लगायतका सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ”, संयोजक दाहालले भने, “फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने भएमा आगामी वैशाखदेखि जेठ पहिलो सातासम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालार्ई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ ।” चुनावका लागी नेपाली कांग्रेससहितका दल तयारीमा लागिसकेकाले नेकपा (एमाले)ले पनि सहभागी हुने संयोजक दाहालले विश्वास व्यक्त गरे । “सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ यसमा नै सबैको भलो हुन्छ”, संयोजक दाहालले भने ।

  • पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    काठमाडौँ, ७ मङ्सिरः विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।

    राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान ल्याएका झण्डै २०० कन्टेनर केरुङ नाकामै थन्किएको बताउँछन् । “दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ”, उनले भने ।


    सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो । सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताउँछन् ।

    कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ । उक्त नाकामा दैनिक चार÷पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ । हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौँ ल्याउनुपर्ने बाध्यता छ ।

    कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेल समेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन् । केरुङ नाका चाँडो खोल्नसके सामान आयतमा सहज हुने व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्की नेपाल चीन जोड्ने दुई ठूला नाका राम्रोसँग सञ्चालनमा नआउँदा सामान आयतमा समस्या परेको बताउँछन् । “मुख्य नाका बन्द हुँदा बैकल्पिक नाका प्रयोग गरेर सामान ल्याउँदा सामानको मूल्यसमेत बढ्न जान्छ, तत्काल नाका खुलाउन सरकार पहल गर्नुप¥यो”, उनी भन्छन् । चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनको पार्टस्लगायत आयात हुँदै आएको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल तातोपानी नाकाबाट अपेक्षाअनुसार सामान भित्रिने नसकेको बताउनुहुन्छ । “केरुङ नाका सञ्चालन हुँदापनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो, हाल उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ”, उनी भन्छन् । वर्षातको समयमा मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा अरनिको राजमार्ग पनि रोकिएको थियो ।

    पछिल्लो समय चीनबाट नेपाल भित्रिएका सामग्रीमध्ये झण्डै ८० प्रतिशत फलफूल रहेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन् ।


    भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला केरुङ नाका सञ्चालन नभएपनि तातोपानी नाका हुँदै चीनबाट नेपालमा सामान भित्रिरहेको बताउँछन् । “चिसोको कारण कोरोला नाकाबाट सामान आउन सकेको छैन, तातोपानी नाकाबाट दैनिक ३०र३५ कन्टेनर सामान भित्रिरहेको छ”, उनी भन्छन् ।

  • विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

    विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

    काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ, लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि यो प्रयास मर्यादाविपरीत छ ।”

    शान्तिपूर्ण विरोध, सभा–जुलुस र देशभर स्वतन्त्र आवतजावत गर्ने अधिकार सर्वसाधारणको नैसर्गिक हक भएको बताउँदै उनले यस्तो किसिमको आक्रमणकारी व्यवहार कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने बताए । बस्नेतले घटनापछि सुरक्षा निकायको तत्कालीन सक्रियताप्रति धन्यवाद दिँदै हिंसा नभई विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत् नै देश अगाडि बढ्ने जनाएका छन् । आज बिहान विमानस्थलमा जेन जी युवाले उनी चढेको गाडीमा आक्रमण गरेका हुन् ।

  • कास्कीको अन्नपूर्ण आसपास भूकम्प

    कास्कीको अन्नपूर्ण आसपास भूकम्प

    काठमाडौँ, ७ मङ्सिर । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, ७ मङ्सिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसार्इंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो ।

    अदालतको आदेशमा अभिव्यक्तिका कारण मात्र प्रसाईंलाई थुनामा राखिनु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने उल्लेख गरिएको छ । साथै सरकारसँग २०८२ मङ्सिर ६ मा महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेको, बदलिएको परिस्थितिमा प्रसाईंमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउपुर्जी तथा म्याद थपका प्रक्रियाहरू बदर गरिएको उल्लेख छ ।


    प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्सिर २ गते मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । महाअभियानले ७ मङ्सिरदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर शनिबार सरकार र प्रसाईं नेतृत्वको महाअभियानबीच वार्ता भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएका छन् ।

  • नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

    काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

    सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो हाइड्रोको शेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ । त्यस्तै कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी रु ६५ करोड ६० लाख ९१ हजार ९२९ को कारोबार भएको छ भने शेयर सङ्ख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ ।

  • पत्रकार खनिया मृत भेटिए

    पत्रकार खनिया मृत भेटिए

    काठमाडौँ, ७ मङ्सिरः पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।

  • एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    काठमाडौँ, ७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको हो । निजहरूका साथमा फेला परेका १५ थान मोबाइलको प्रविधियुक्त अनुसन्धान गरी मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    काठमाडौँ, ७ मङ्सिर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा आगजनी भएर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनका स्थानमा नयाँ सवारीसाधन उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोत उपलब्ध गराएपछि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

    गृह मन्त्रालयका अनुसार चुनावको वातावरण निर्माण तथा सुरक्षाका लागि आवश्यक सवारीसाधनको अभाव नहोस् भन्ने उद्देश्यले निर्वाचनपूर्व नै सबै सवारीसाधन खरिद गरिनेछ । अर्थ मन्त्रालयबाट नेपाल प्रहरीका लागि नियमित बजेटमार्फत १५६ सवारीसाधन खरिदका लागि रु ३५ करोड ११ लाख स्वीकृत भएको छ । अतिरिक्त १०६ सवारीसाधन खरिद गर्न रु ४५ करोड ३० लाख थप स्रोत अनुमतिसमेत उपलब्ध भइसकेको मन्त्रालयले जनाएको छ ।

    नेपाल प्रहरीले चालु आर्थिक वर्षमा कुल रु ८० करोड ४१ लाख बराबरका सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । नियमित बजेटबाट खरिद गरिने १५६ सवारीसाधनमध्ये ७५ पिकअप भ्यान ९नियमित गस्तीका लागि०, एउटा प्रिजनर भ्यान, २८ वटा कार्यालय प्रयोजनका सवारीसाधन, ४१ वटा विद्युतीय सवारीसाधन तथा १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन् ।

    यस्तै अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि कुल ५९ सवारीसाधन खरिद गर्न स्रोत अनुमति दिएको छ । जसअन्तर्गत तीनवटा विपद् उद्धारका सवारीसाधन, ५० बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक तथा दुईवटा एम्बुलेन्स रहेको मन्त्रालयले जनाएको छ । यसैगरी राष्ट्रिय अनुसन्धान विभागका लागि ६ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न रु दुई करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा मुलुकभर नेपाल प्रहरीका ४६५ कार्यालयमा क्षति पुगेकामा अहिले ४४९ कार्यालय मर्मत–सम्भारपछि पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी १६ कार्यालय पनि मर्मतको अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । उक्त घटनामा ५७१ विभिन्न किसिमका प्रहरी सवारीसाधनमा क्षति पुगेको थियो ।

    जेनजी आन्दोलनका क्रममा सशस्त्र प्रहरी बल, नेपालका ८४ कार्यालयमा क्षति पुगेको थियो भने ६१ सवारीसाधन पूर्ण रूपमा आगजनीमा परेका गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत दुई भवन तथा तीन जिल्ला कार्यालयका भवनमा क्षति पुगेको थियो । त्यस्तै ११ चारपाङ्ग्रे तथा ३० मोटरसाइकलमा क्षति पुगेको थियो । महाशाखाका अनुसार यी क्षतिको अनुमानित लागत करिब रु आठ करोड ९० लाख बराबरको छ।

  • अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु

    अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु

    जोहानेसबर्ग, ७ मङ्सिर (रासस–एपी) । अफ्रिकी भूमिमा पहिलोपटक आयोजना भएको समूह–२० ९जी–२०० शिखर सम्मेलन शनिबार अत्यन्तै महत्त्वाकांक्षी र दीर्घकालीन चुनौतिहरूमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ । विश्वका धनी राष्ट्रहरू र प्रमुख उदीयमान अर्थतन्त्रका शीर्ष नेताहरू दक्षिण अफ्रिकाको ऐतिहासिक सेवेटो टाउनसिप नजिकको प्रदर्शनी केन्द्रमा भेला हुँदै गरिब तथा संवेदनशील राष्ट्रहरूलाई दशौँ वर्षदेखि पिरोलिरहेका समस्याहरूमा ठोस प्रगति गर्ने प्रयासमा जुटेका छन् ।

    तर दक्षिण अफ्रिकाद्वारा अगाडि सारिएका धेरै प्राथमिकताहरू—विशेषगरी जलवायु परिवर्तन र विकासशील राष्ट्रहरूमाथिको यसको गहिरो प्रभाव—अमेरिकी प्रतिरोधका कारण कूटनीतिक तनावको केन्द्रविन्दु बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकाले ‘श्वेत–विरोधी नस्लवादी नीति अवलम्बन गरिरहेको’ भनिएको दाबी गर्दै शिखर सम्मेलन बहिष्कार गर्ने आदेश दिएपछि समूहमा अमेरिकाको अनुपस्थिति औपचारिक रूपमा पुष्टि भयो ।

    यस वर्षको घुम्ती अध्यक्ष राष्ट्रका रूपमा दक्षिण अफ्रिका शिखर सम्मेलनको एजेन्डालाई गरिब मुलुकहरूलाई जलवायु–सम्बन्धी प्रकोपबाट पुनःउद्धार, विदेशी ऋणको बोझ घटाउने, हरित ऊर्जा सङ्क्रमणमा सहजता ल्याउने तथा आफ्नै महत्त्वपूर्ण खनिज भण्डारलाई प्रभावकारी रूपमा उपयोग गर्न सहयोग प्रवाह गर्ने दिशामा केन्द्रित गरेको छ । यी सबै विषयहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका शब्दमा ‘विकासशील विश्वका मुख्य आवश्यकता स्पष्ट रूपमा टेबलमा राख्ने दक्षिण अफ्रिकाको ठूलो योगदान’ हुन् ।

    तर अमेरिकी बहिष्कारले वातावरणलाई थप जटिल बनाएको छ । राष्ट्रपति ट्रम्प प्रशासनले वर्षैभरि दक्षिण अफ्रिकाले अघि सारेका विविधता, समानता, समावेशीकरण र जलवायु–केन्द्रित नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको थियो । यही असन्तुष्टिका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फेब्रुअरीमा भएको विदेश मन्त्रिस्तरीय बैठकसमेत बहिष्कार गर्नुभएको थियो र ‘यी विषयहरूमा अमेरिकी करदाताको पैसा बर्बाद गर्न नदिने’ टिप्पणी पनि गरेका थिए ।

    यसले दुई देशबीच महिनौँदेखि रहँदै आएको कूटनीतिक दरारलाई यस सप्ताहान्त चरममा पु¥यायो । यद्यपि केही प्रमुख नेताहरू भने अमेरिकाको अनुपस्थितिले शिखर सम्मेलनलाई कमजोर पार्न नहुनेमा दृढ देखिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले ‘राष्ट्रपति ट्रम्पको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै तर यसले हामीलाई रोक्नु हुँदैन’ भनी स्पष्ट पार्नुभयो । “हामी सबैलाई मिलेर काम गर्नुपर्ने अनेकौँ चुनौतीहरू छन्”, म्याक्रोनको कथन थियो ।

    वास्तविक रूपमा २१ सदस्यीय समूह जी–२० उन्नाइस राष्ट्रहरू, युरोपेली सङ्घ र अफ्रिकी सङ्घ मिलेर बनेको छ । सन् १९९९ मा धनी र गरिब राष्ट्रबीचको आर्थिक खाडल घटाउने तथा वित्तीय सङ्कट व्यवस्थापन गर्नका लागि स्थापित यो समूहले विश्व अर्थतन्त्रको ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत तथा विश्व जनसङ्ख्याको आधाभन्दा बढी प्रतिनिधित्व गर्छ । तर यसका निर्णयहरू बाध्यकारी नभई सहमतिमै आधारित हुने भएकाले अमेरिका, चीन, रुस, भारत, जापान, पश्चिमी युरोपेली राष्ट्रहरू तथा अन्य प्रमुख सदस्यहरूका फरक–फरक चासोलाई एउटै निष्कर्षमा उतार्नु अक्सर चुनौतीपूर्ण हुन्छ ।

    महासचिव गुटेरेसले धनी राष्ट्रहरूले जलवायु तथा वित्तीय सुधारका क्षेत्रमा आवश्यक सहुलियत दिन अनिच्छुक देखिनु चिन्ताजनक भएको उल्लेख गरे । शिखर सम्मेलन परम्परागत रूपमा एक साझा घोषणासँग समाप्त हुन्छ तर यसपटक उक्त घोषणामाथि समेत अनिश्चितता छ । दक्षिण अफ्रिका सरकारका अनुसार अमेरिकाले आफ्नो अनुपस्थितिमा कुनै संयुक्त घोषणा जारी नहोस् भनेर दबाब दिँदै अन्तिम कागजातलाई मात्र दक्षिण अफ्रिकाद्वारा प्रस्तुत एकपक्षीय बयानका रूपमा सीमित गर्न खोजिरहेको छ । राष्ट्रपति सिरिल रामाफोसाले यसलाई अस्वीकार गर्दै ‘हामीलाई धम्की दिएर रोकिन्नस उपस्थित सबै सदस्यहरूको सहभागितासहित वा अमेरिकी इनपुट बिना पनि घोषणा जारी गर्नेछौँ’ भनी स्पष्ट प्रतिक्रिया दिए ।
    उता, शिखर सम्मेलनपछि जी–२० को घुम्ती अध्यक्षता दक्षिण अफ्रिकाबाट अमेरिकामा जानेछ, जसले समूहको आगामी दिशा कुनै हदसम्म परिवर्तन हुन सक्ने आकलनलाई बढाएको छ । राष्ट्रपति ट्रम्पले त्यसपछिको शिखर सम्मेलन आफ्नो फ्लोरिडास्थित डोरल गोल्फ क्लबमा आयोजना गर्ने घोषणा गरिसक्नुभएको छ । तर अमेरिकाको यस सम्मेलनमा सक्रिय भूमिका भने अत्यन्त न्यून रहनेछ—केवल हस्तान्तरण समारोहमा दक्षिण अफ्रिकास्थित अमेरिकी दूतावासका प्रतिनिधि सहभागी हुनेछन् ।

    दक्षिण अफ्रिकाले यस्तो ‘कनिष्ठ तहका’ प्रतिनिधि पठाउनुलाई आफ्नो नेतृत्वप्रति गरिएको अपमानका रूपमा व्याख्या गरेको छ । अफ्रिकाको पहिलो ऐतिहासिक जी–२० शिखर सम्मेलन कूटनीतिक तनाव, बहुपक्षीय आकांक्षा र विश्वव्यापी विभाजनका बीचमा सुरु भएको छ ।

  • जी–२० सम्मेलन : समसामयिक भूराजनीतिक मुद्दामा विभाजन

    जी–२० सम्मेलन : समसामयिक भूराजनीतिक मुद्दामा विभाजन

    जोहानेसबर्ग, ६ मङ्सिर (रासस–एएफपी) । भूराजनीतिक विभाजन र प्रतिस्पर्धाले विश्वको आर्थिक सङ्कटलाई समाधान गर्न जी–२० को भूमिकामा प्रश्नचिन्ह् खडा भएको शिखर सम्मेलनमा नेताहरूले चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिकाले बहिष्कार गरेको सम्मेलनका अवसरमा अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्न सारेको प्रस्तावले शनिबार नेताहरूबीच छलफलसमेत भएको छ। अफ्रिकामा पहिलो पटक आयोजित जी–२० शिखर सम्मेलनमा भाग लिने युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न अघि सारेको एकपक्षीय योजनाको प्रतिक्रियाका लागि पनि सम्मेलनका अवसरमा छलफल गरेका थिए ।

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शिखर सम्मेलनको सुरुमै सहकर्मी नेताहरूलाई चेतावनी दिँदै भने, “हामी यस टेबलमा ठूला सङ्कटहरू सँगै समाधान गर्न सङ्घर्ष गरिरहेका छौँ र जी– २० एक चक्रको अन्त्यमा पुग्न सक्छ।” “यसमा कुनै शङ्का छैन, अगाडिको बाटो कठिन छ”, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले म्याक्रोँको भनाइप्रति सहमति जनाउँदै भने, “हामीले आज फेरि विश्व चुनौतीहरूको सामना गर्दै रचनात्मक भूमिका खेल्ने तरिकाहरू खोज्नु आवश्यक छ।”

    चिनियाँ प्रधानमन्त्री ली चियाङले भने, “एकपक्षीयतावाद र संरक्षणवाद व्याप्त छ र धेरै मानिस विश्वव्यापी ऐक्यबद्धतामा के भइरहेको छ भनेर सोचिरहेका छन्।” शिखर सम्मेलनका आयोजक दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पको अनुपस्थितिलाई बेवास्ता गर्दै जी–२० अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण रहेको तर्क गरे ।
    “जी–२० ले बहुपक्षीयवादको सान्दर्भिकतालाई जोड दिएको छ । यसले हामीले सामना गरिरहेका चुनौतीहरू सहयोग, सहकार्य र साझेदारीको माध्यमबाट मात्र समाधान गर्न सकिन्छ भन्ने मान्यता दिन्छ,” रामाफोसाले भने । जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् र विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत र दुई तिहाइ जनसङ्ख्याले ओगटेको छ ।

    –युक्रेनमा ‘न्यायपूर्ण’ शान्ति–

    जोहानेसबर्ग शिखर सम्मेलनलाई अमेरिकी बहिष्कारले कमजोर बनाएको त थियो नै यसबाहेक चीनको राष्ट्रपति सी जिनपिङको अनुपस्थितिमा चिनिया प्रधानमन्त्री लीलाई पठाइनु र रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा क्रेमलिनका अधिकारी म्याक्सिम ओरेश्किनलाई पठाएपछि सम्मेलनले अपैक्षाकृत रौनक पाउन सकेको छैन ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पूर्जीका कारण पुटिनको अनुपस्थितिलाई सामान्य लिइएको भएपनि अमेरिकी अनुपस्थितिले यसलाई कमजोर भूमिकामा देखाएको छ। उपस्थित नेताहरूले आफ्नो बैठकको शुरुवातमा जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित गरेका छन्, जसमा जलवायु, ऊर्जा, ऋण स्थिरता र एक महत्वपूर्ण खनिज सम्झौता र युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश छ।

    अर्जेन्टिनाका विदेश मन्त्री पाब्लो क्विर्नोले ट्रम्पको सहयोगी राष्ट्रपति जेभियर माइलीको अनुपस्थितिमा उभिएर दस्तावेजमा केही भूराजनीतिक मुद्दा र विशेष गरी इजरायल–प्यालेस्टाइन द्वन्द्वको बारेमा आपत्ति जनाए । रामाफोसाले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी भएको सम्मेलनमा नेताहरूले घोषणालाई स्वीकार गरे ।

    उद्घाटन समारोह समाप्त हुने बित्तिकै स्टार्मर, म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनका लागि ट्रम्पको योजनाको बारेमा छलफल गर्न अर्को एक बैठकमा जुटेका छन् । युरोपेली सङ्घका एक अधिकारीले भने, “युरोपका अन्य नेताहरू र अस्ट्रेलिया, क्यानडा र जापानका नेताहरूलाई पनि समावेश गर्न चाँडै यो बैठकलाई विस्तार गरिएको छ ।”

    “हामी यसअघिका वार्ताका आधारमा अमेरिकी योजनालाई अझ सक्षम बनाउने दिशामा काम गरिरहेका छौं,” एक युरोपेली कुटनीतिक स्रोतले एएफपीलाई भनेको छ । स्रोतका अनुसार वासिङटनसँग केही संवाद भएको थियो तर कुनै पनि नेताले ट्रम्पलाई भेट्ने कुनै योजना बनाएको भने बुझिएको छैन ।

  • ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो प्रहरी हिरासतमा

    ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो प्रहरी हिरासतमा

    ब्रासिलिया, ७ मङ्सिर (रासस–एएफपी) । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ । सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा नेता बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो। सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले बोल्सोनारोलाई पक्राउ गरिएको कारण सजायको कार्यान्वयन नभई ‘उच्च उडान जोखिम’ भएको बताए ।


    सन् २०१९ देखि सन् २०२२ सम्म ब्राजिलमा शासन गरेका बोल्सोनारोलाई अगस्टमा नजरबन्दमा राखिएको थियो र राजधानी ब्रासिलियाको एक सुविधासम्पन्न भवनमा नजरबन्दमा सीमित गरिएको थियो र इलेक्ट्रोनिक रूपमा निगरानी गरिएको थियो। मोराइसले आफ्नो निर्णयमा भनेका छन्, “पूर्वराष्ट्रपति बोल्सोनारालाई राखिएको भवनबाहिर छोरा फ्लाभियो बोल्सोनारोले शनिबार आह्वान गरेको योजनाबद्ध प्रदर्शनले उथलपुथल निम्त्याउन सक्ने र यसले बोल्सोनारोलाई भाग्न अनुकूल वातावरण सिर्जना गर्ने देखिएकोले उहाँलाई नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ ।

    शनिबार मध्यरातपछि बोल्सोनारोलाई अनुगमन गर्न लगाइएका उपकरण तोड्ने प्रयास भएको न्यायाधीशले बताए । बोल्सोनारोको परिवार अमेरिकी दूतावाससँग नजिकिएको भन्दै उनले पहिले राजनीतिक शरणको लागि अर्जेन्टिनी दूतावासमा भाग्ने योजना बनाएको गोप्य जानकारी अनुसार उनलाई हिरासतमा लिइएको बताए ।
    बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी हुन् । उनले ब्रजिलका पूर्व राष्ट्रपतिको सुनुवाइ ‘बोक्सीको शिकार’ भएको बताए । उनले बोल्सोनारोलाई रिहा गर्न दवाव दिन ब्राजिलमाथि दण्डात्मक कर र प्रतिबन्ध लगाएको वर्तमान् लुला प्रशासनले दाबी गर्दै आएको छ । कैदीको स्वास्थ्य परीक्षण गरी ब्रासिलियास्थित सङ्घीय प्रहरी कार्यालयमा जेल पठाइने स्रोतले जनाएको छ ।

    बोल्सोनारोलाई सत्तामा आफ्नो अधिनायकवादी पकड सुनिश्चित गर्ने षड्यन्त्र गरेको आपराधिक सङ्गठनको नेतृत्व गरेको आरोपमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो । मुद्दामा दाबी गरिएअनुसार लुला, उहाँका उपराष्ट्रपति गेराल्डो अल्कमिन र सर्वोच्च अदालतका न्यायाधीश डे मोरेसको हत्या गर्ने षड्यन्त्र भएको थियो ।

    उनलाई २७ वर्षको जेल सजाय भुक्तान गर्ने आदेश दिन समय सकिँदै गएको बेला हिरासतमा राखिएको हो। बोल्सोनारोमाथिको सजायको विरुद्धमा गरिएको अपिल गत हप्ता अस्वीकार गरिएको थियो। बोल्सोनारोका वकिलहरूले सोमबारको समयसीमा अघि थप पुनरावेदन दायर गर्ने बताएका छन् ।

  • नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

    नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

    लागोस, ७ मङ्सिर (रासस–एएफपी) नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए ।

    क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया ९क्यान० ले पहिले २२७ जनालाई अपहरण गरेको बताएको थियो तर सङ्ख्यालाई अद्यावधिक गर्दै अपहरणमा परेका पीडितहरूको कुल सङ्ख्या ३०३ जना विद्यार्थी र १२ जना शिक्षक गरी ३१५ रहेको जानकारी गराएको छ। सेन्ट मेरिज स्कूलबाट अपहरण गरिएका केटा र केटीहरूको सङ्ख्या विद्यालयको कुल विद्यार्थी सङ्ख्याको आधा हो ।

    नाइजेरिया सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे कुनै टिप्पणी गरेको छैन । नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले गुप्तचर विभाग र प्रहरीले ‘क्षतिको गणना’ गरिरहेको र दिनको अन्त्यसम्ममा तथ्याङ्क सार्वजनिक हुने बताए । अपहरणपछि सरकारले बागोका केही विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

    राष्ट्रपति बोला तिनुबुले सङ्कटको सामना गर्न जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने लगायतका अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीहरूले इसाईहरूको हत्या गरेको आरोपमा सैन्य कारबाहीको धम्की दिएपछि दुई वटा अपहरण र एउटा चर्चमा आक्रमण भएको छ।

    अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार नाइजेरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुसँगको वार्ताका क्रममा अबुजालाई ‘इसाई धर्मावलम्बीविरुद्धको हिंसा रोक्न तत्काल र दिगो दुवै कदम चाल्न आग्रह गरेको’ पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक दशकभन्दा बढी समयअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीहरूले करिब ३०० किशोरी अपहरण गरेपछि नाइजेरिया अझै पनि त्रसित छ। तीमध्ये केही किशोरीहरू अझै पनि फिर्ता भएका छैनन् । उनीहरू सरकारको वेपत्ताको सूचीमा रहेका छन्।