Category: फिचर

  • साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    खोटाङ, ५ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिए ।

    “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाइनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ”,उनले भने ।


    अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

    जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदजस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाइन प्रणालीमार्फत नै जारी हुँदै आएको थियो । स्थानीय सेवाग्राहीले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई समेत छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

  • बिहारमा दशौं पटक नितिश कुमारको शासन, बन्यो रेकर्ड

    बिहारमा दशौं पटक नितिश कुमारको शासन, बन्यो रेकर्ड

    पटना, ५ मङ्सिर (रासस–एएनआई) । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।

    शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए । यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात मानिन्छ । कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उल्लेख्य उपस्थिति थियो । हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्रप्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी भए ।


    बिहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास) का नेता चिराग पासवानलगायतका प्रमुख व्यक्तित्वहरू पनि समारोहमा उपस्थित भए । बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडिए विधायक दलले पनि उनलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।


    भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरे । जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।

    सन् २०२५ को बिहार विधानसभा चुनाव नितिश कुमारका लागि ‘लिटमस टेस्ट’ मानिएको थियो । विगत दुई दशकदेखि उनले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएका छन् ।
    यसपटक एनडिएले २४३ मध्ये २०२ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्‍यो । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडिएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २०० भन्दा बढी सिट जित्ने उपलब्धि पुनःदोहोर्‍याएको छ । सन् २०१० मा पनि गठबन्धनले २०६ सिट जितेको थियो ।

    एनडिएभित्र भाजपाले ८९, जनता दल (युनाइटेड) ले ८५, लोक जनशक्ति पार्टी (राम विलास) ले १९, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच र राष्ट्रिय लोक मोर्चाले चार सिट जितेका छन् । विपक्षमा आरजेडीले २५, काङ्ग्रेसले छ, सीपीआई (एमएल) लिबरेशन ले दुई, भारतीय समावेशी पार्टीले एक र सीपीआई (एम) ले एक सिट ल्याएका छन् ।

    एआइएमआइएमले पाँच तथा बहुजन समाज पार्टीले एक सिट हासिल गरेका छन् । दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको बिहार विधानसभा चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो । यो सन् १९५१ पछि सबैभन्दा बढी हो । खासगरी महिला मतदाताले ७१.६ प्रतिशत सहभागितासहित पुरुष मतदाताको ६२.८ प्रतिशत सहभागिता पार गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    दमौली, ५ मङ्सिर । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झण्डासमेत राखिएको छ । यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । उनले भने, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।”

    यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् । यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

  • आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

    काठमाडौँ, ५ मङ्सिरः आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।

    टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।

    यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तरराष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । त्यसपछि हरेक वर्ष २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    काठमाडौँ, ५ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी हुनेछ ।

    इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।

    प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ ।

    नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ । रासस

  • घरजग्गा कारोबार क्रमश : ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

    घरजग्गा कारोबार क्रमश : ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

    काठमाडौँ, ५ मङ्सिर : देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।

    सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो ।

    गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन गरेको थियो ।

  • सफा रहनेछ आज देशभरको मौसम

    सफा रहनेछ आज देशभरको मौसम

    काठमाडौँ, ५ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

  • एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् ।

    पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

  • अमेरिकी बेरोजगारी दरमा सामान्य वृद्धि

    अमेरिकी बेरोजगारी दरमा सामान्य वृद्धि

    वाशिङ्गटन, ५ मङ्सिर (रासस–एएफपी) । अमेरिकी लामो सरकारी बन्दपछि ढिलो गरी बिहीबार प्रकाशित मासिक रोजगार रिपोर्टअनुसार सेप्टेम्बरमा अमेरिकी बेरोजगारी दर बढेको छ। श्रम विभागका अनुसार अमेरिकाले अगस्टको तुलनामा एक लाख १९ हजार रोजगारी थपेपनि अघिल्लो बर्षको सेप्टेम्बरमा रहेको बेरोजगारी दर ४.३ प्रतिशतबाट सामान्य बढेर ४.४ प्रतिशतमा पुगेको हो । अगस्टको संशोधित तथ्याङ्कले रोजगारीको स्थिति मूल अनुमान गरिएको भन्दा निराशाजनक रहेको देखाएको थियो । रिपोर्टअनुसार अपेक्षा अनुसार अमेरिकामा यो महिना २२ हजार थपिनुपर्ने अनुमान गरिएकोमा थप चार हजार रोजगारी गुमेको देखिएको छ ।

    बिहीबारको तथ्याङ्कले दुई महिना भन्दा बढीमा समग्र श्रम बजारको अवस्थाकोे पहिलो आधिकारिक अवस्थालाई सङ्केत गर्छ । अमेरिकामा ४३ दिनको सरकारी बन्दको कारण रोजगारी दरमा कमी भएको हो । सङ्घीय कामदारहरूको सामूहिक बर्खास्त र राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा धेरै कर लगाउने नीतिको कारण देखिएको व्यवसायिक उथलपुथलको बीचमा रोजगार बजार कमजोर भइरहेको बताइएको छ।

    डिसेम्बरमा फेडरल रिजर्भको नीति बैठक अघि यो अन्तिम मासिक रोजगार रिपोर्ट आएको छ। अधिकारीहरूले लगातार तेस्रो ब्याज दर कटौती गर्ने कि नगर्ने निर्णय यसैलाई आधार मानेर लिन सक्नेछन् । केन्द्रीय बैङ्कले पनि मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ तर कमजोर रोजगार बजारले फेडलाई अर्थतन्त्रलाई बढावा दिन थप दर कटौतीतर्फ धकेल्न सक्छ ।

    सेप्टेम्बरमा, यातायात र भण्डारण साथै संघीय सरकार मातहतका निकायमा रोजगारी घटेकोे छ यद्यपि स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूमा सामान्य लाभ देखिएको छ ।

    बिहीबारको रिपोटले सङ्घीय सरकारको रोजगारी अघिल्लो महिनाको तुलनामा बेरोजगारी सङ्ख्या तीन हजारले घटेको छ भने जनवरीको तुलनामा ९७ हजारले घटेको छ। सेप्टेम्बरमा औसत प्रति घण्टा आय ०.२ प्रतिशतले बढेर ३६.६७ अमेरिकी डलर भएको छ। डाउ जोन्स न्यूजवायर र द वाल स्ट्रिट जर्नलका अर्थशास्त्रीहरूको सर्वेक्षणले रोजगार सङ्ख्या यसको सट्टा ५० हजारले बढ्ने अपेक्षा गरेको थियो।

    “बिहीबारको रिपोर्ट महिनौं ढिलो भए पनि यसले हामीलाई अर्थव्यवस्थामा हालसालै के भइरहेको छ भन्ने बारेमा जानकारी दिएको छ,” एलियान्ज ट्रेड नर्थ नर्थका डान नर्थले एएफपीसँग भने। सरकारी बन्दले मुद्रास्फीतिदेखि खुद्रा बिक्रीसम्मका विभिन्न आधिकारिक तथ्याङ्कहरूलाई गणना गर्नबाट रोकेकोले रोजगारीको दरमा सामान्य कमी देखिए पनि समग्र बजारमा सकारात्मक भाव पैदा गर्ने अनुमान अर्थशास्त्रीहरुले गरेका नर्थले बताए । सरकारी बन्दले केही सर्वेक्षण डाटाको सङ्ग्रहमा पनि असर पारेको श्रम मन्त्रालयले जनाएको छ ।

    अक्टोबरको पूर्ण रोजगार रिपोर्ट जारी गर्नुको सट्टा, उपलब्ध तथ्याङ्कलाई नोभेम्बरको तथ्याङ्कको साथ मूल्याङ्कन गरिनेछ। “सन् २०२५ नोभेम्बरको तथ्याङ्क सङ्कलन अवधि विस्तार गर्न थप समय आवश्यक हुने मन्त्रालयले बताएको छ । यो तथ्याङ्क अब डिसेम्बर १६ मा प्रकाशित हुनेछ।

  • बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

    बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

    बारा, ४ मङ्सिरः बाराको सिमरामा जेन जीका नाममा प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो ।

    आज पनि बिहानैदेखि सिमरा चोकमा जेनजीले पुनःप्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’लगाएको हो । प्रजिअ मिश्रले जेनजीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । आज जेनजीका नाममा उत्तेजित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

  • निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

    निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

    काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।

  • सोह्रखुट्टेमा बाइक र स्कुटर जुधे, एक जनाको मृत्यु

    सोह्रखुट्टेमा बाइक र स्कुटर जुधे, एक जनाको मृत्यु

    काठमाडौँ, ४ मङ्सिरः काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • एनपिएलः लुम्बिनीको विजयी सुरूआत

    एनपिएलः लुम्बिनीको विजयी सुरूआत

    काठमाडौँ, ४ मङसिरः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।

    यसअघि त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलम ७ विकेटको क्षतिमा १४२ रन बनायो । चितवनका लागि रवि बोपाराले ६६, कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन बनाए । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले तीन तथा अभिषेश गौतम र गुलबुद्धिन नैबले दुई दुई विकेट लिए ।

  • प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश

    प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश

    काठमाडौँ, ४ मङ्सिरः सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ ।

    “आदेश प्राप्त भएको मितिले वाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु ।”

    बुबालाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।

  • भारतद्वारा नेपाललाई मोड्युलर पुल हस्तान्तरण

    भारतद्वारा नेपाललाई मोड्युलर पुल हस्तान्तरण

    काठमाडौँ, ४ मङ्सिरः भारत सरकारले ७० मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले हेटौँडामा आज आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको दूतावासले जनाएको छ ।

    पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारत सरकारले कूल १० वटा यस्ता ७० मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । रु ७३ करोडभन्दा बढी मूल्यका १० वटा बेलिब्रिजहरु भारतले अनुदानका आधारमा प्रदान गर्ने जनाएको छ ।

    आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ । जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षा पछि सडक ‘कनेक्टिभिटी’ प्रभावित भएको थियो । गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले रु ४१ करोड बराबरका १० वटा ‘प्री–फ्याब्रिकेटेड’ स्टिल ब्रिज उपलब्ध गराएको थियो जसमध्ये चार वटा जडान भइसकेका छन् ।

    कार्यक्रममा मन्त्री घिसिङले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । साथै उनले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिए ।


    राजदूत श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताए । पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासमा भारत सरकारले नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्ध रहेको जनाएको छ ।

  • बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    मुम्बई, ४ मङ्सिर (रासस–एएफपी) । करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ । उद्योगभित्रका जानकारहरूका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, फुलाइएका बक्स अफिस तथ्याङ्क र नक्कली टिकट बिक्रीका दाबीहरूले दर्शकको धारणा विकृत बनाइरहेको छ, जसले अन्ततः टिकट बिक्रीमै नकारात्मक असर पारिरहेको छ ।

    स्ट्रिमिङ प्लेटफर्महरूले परम्परागत सिनेमालाई प्रतिस्पर्धामा पारेका छन्, तर उद्योग भित्रकै व्यक्तिहरू बलिउडका धेरै समस्या स्वयं उद्योग–प्रेरित हुन् भन्छन् । फिल्म रिलिज हुनुअघि नै ‘सुपरहिट’ घोषणा गर्ने प्रवृत्तिबाट लिएर प्रभावकर्ताहरूलाई भुक्तानीमा सकारात्मक समीक्षा लेखाउने प्रचलनसम्मका सबै कारणले दर्शकको विश्वास घट्दै गएको छ ।

    निर्माता तथा वितरक सुनील वाध्वाले भने, “यदि तपाईंले प्रभावकर्ताहरू वा आलोचकहरूलाई संलग्न गर्नुभएन भने फिल्म राम्रो भए पनि उनीहरूले नराम्रै समीक्षा लेख्छन् । उल्टो, फिल्म कमजोर भए पनि निर्माता वा स्टुडियोले भुक्तानी गरे सकारात्मक समीक्षा आउने गर्छ ।” उनका अनुसार यसले समीक्षाको विश्वसनीयता नै धराशायी बनाइरहेको छ ।

    व्यवसाय विश्लेषक तथा अनुभवी वितरक राज बंसलले हालका प्रारम्भिक समीक्षाप्रति दर्शकहरू अत्यन्तै शङ्कित भएको बताए । “मिडियाले चार तारा दियो कि मानिसहरू मलाई म्यासेज गर्छन्—‘सर, यसको अर्थ फिल्म राम्रो छैन रहेछ ।’ फिल्म साँच्चिकै राम्रो भए पनि उनीहरूले अब विश्वास गर्दैनन्”, उनले टिप्पणी गरे ।
    यस अविश्वासको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको उद्योग भित्रकै विशेषज्ञहरूको भनाइ छ ।

    धेरै दर्शकले फिल्म रिलिजको पहिलो दिन नै हेर्न जाने परम्परा तोडेर ‘साँचो प्रतिक्रिया’ आउञ्जेल पर्खिन थालेका छन्, जसले उद्घाटन दिनको टिकट बिक्रीलाई ठूलो झड्का दिइरहेको छ । भित्री सूत्रहरूका अनुसार केही प्रभावकर्ताहरूले ‘रेट कार्ड’ नै तयार पारेका छन्—समीक्षा वा प्रचारका लागि भुक्तानीको निश्चित दर, जुन कमजोर प्रमोशन भएका फिल्महरूको लागि अझै महँगो पर्छ । यसलाई बढाउने अर्को अभ्यास भनेको निर्माताहरू आफैँले उद्घाटन–हप्तामा थोक टिकट खरिद गरी बक्स अफिस नम्बर कृत्रिम रूपमा बढाउनु हो ।

    जेम सिनेमाज, जयपुरका मालिक सुधीर कासलीवालले शाहरुख खानको एक चलचित्रका क्रममा सयौँ अनलाइन बुकिङ देखिए पनि हलमा थोरै दर्शक मात्र उपस्थित भएको अनुभव सुनाउँदै भने, “यदि निर्माता, निर्देशक र कलाकारहरूले नै टिकट किनिरहने यो चलन जारी रह्यो भने बलिउडको भविष्य अत्यन्तै अन्धकार देखिन्छ । गलत सन्देश पठाइन्छ, दर्शक भ्रमित हुन्छन् र राम्रो सामग्री बिना उद्योग उठ्नै सक्दैन ।”

    हालैको विवाद अक्षय कुमार अभिनीत फाइटर–जेट एक्शन फिल्म ‘स्काईफोर्स’ सँग पनि जोडिएको छ । निर्देशकले ब्लक–बुकिङको आरोप अस्वीकार गरे पनि मुम्बईका एक अनुभवी व्यापार–विश्लेषकले यसको वास्तविक कलेक्सन करिब ६० लाख डलर रहेको, तर रिपोर्ट गरिएको रकम ९० लाख डलरभन्दा बढी रहेको दाबी गरे । “अनलाइनमा घर–भरिएको देखिन्थ्यो तर धेरै हलहरू खाली नै थिए”, विश्लेषकले नाम नखुलाइकन भने ।

    बंसलका अनुसार मिडिया वा प्रभावकर्ताहरूका सामान्यतया ‘सकारात्मक समीक्षाको खेल’ नखेल्नेहरूलाई उद्योगबाटै हुत्याइने जोखिम बढेको छ । “जब म कलेक्सन कमजोर भएको लेख्छु, कलाकार र निर्माताहरूले हटाइदिन आग्रह गर्छन्”, उनले सुनाए । वितरक वाध्वाले सन् २०२५ को रोमान्टिक–कमेडी–हरर फिल्म ‘थम्मा’ को कलेक्सन पनि हेरफेर गरिएको दाबी गर्दै वास्तविक बिक्री करिब एक करोड ५० लाख डलर रहेको बताए । तर रिपोर्ट भने एक करोड ८० लाख डलरको गरिएको थियो । निर्देशक आदित्य सरपोतदारले भने आफ्नो सङ्ख्या ‘सबैभन्दा सही’ भएको जिकिर गर्दै निर्माता र व्यापारका कलेक्सन आँकडामा हल चलिरहेका बेला असान्दर्भिक भिन्नता हुन सक्ने बताए ।


    विज्ञहरूको चेतावनी स्पष्ट छ—बक्स अफिस तथ्याङ्कमा हेरफेर गर्नुको दीर्घकालीन असर गम्भीर हुन सक्छ । यो प्रवृत्तिले नयाँ प्रतिभाहरूका अवसर सङ्कुचित बनाउने, स्टारहरूको पारिश्रमिक अनावश्यक रूपमा बढाउने र उद्योगको विश्वसनीयता झनै खस्काउने जोखिम हुन्छ । “दर्शक मूर्ख छैनन्, उनीहरू सत्य चिन्न जान्छन्”, वाध्वाले भने ।


    यता, स्ट्रिमिङ प्लेटफर्महरूले पनि आफ्नो रणनीति कडाइ गर्दै बक्स अफिस तथ्याङ्कको अडिट अनिवार्य बनाउन थालेका छन् । यसले निर्माताहरूलाई पारदर्शितातर्फ धकेलिरहेको छ । “स्ट्रिमरहरू अब धेरै सावधान भइसके”, वाध्वाले भने । तर तिनै विशेषज्ञहरूको निष्कर्ष के छ भने यो चलन चाँडै रोकिइहाल्ने कुनै सङ्केत छैन । निर्माता तथा स्टुडियोहरूले ‘टिकट किनेर नम्बर बढाउने भोक’ छोड्ने दिन नआएसम्म बलिउडको यो आत्मघाती अभ्यास निरन्तर चलिरहने सम्भावना छ ।

  • पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड सजाय र बङ्गलादेशको राजनीतिक भविष्य

    पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड सजाय र बङ्गलादेशको राजनीतिक भविष्य

    ढाका, ४ मङ्सिर (रासस–एपी) । मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उनका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन् । १५ वर्षे शासन हिंसात्मक विद्रोहबीच समाप्त भएपछि गत वर्ष अगस्ट ५ देखि भारतमा निर्वासनमा रहेकी हसिनाले सोमबार भएको फैसलालाई ‘पक्षपाती तथा राजनीतिक रूपमा प्रेरित’ भन्दै अस्वीकार गरेकी छिन् ।


    नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकार विशेषतः हसिना र उनका दशकौँ पुराना प्रतिद्वन्द्वीहरूलाई पछि पारेर देशलाई स्थिरतामा फर्काउने चुनौतीका बीच फेब्रुअरीमा विश्वासिलो निर्वाचन गराउन दबाबमा छ ।

    – तनावपूर्ण चुनावको तयारी –

    नयाँ नेतृत्वले आगामी चुनावमार्फत बङ्गलादेशलाई पुनः प्रजातान्त्रिक मार्गमा लैजाने प्रतिबद्धता जनाएको छ । तर अवामी लिगलाई निर्वाचनबाट पूरै अलग राख्ने निर्णयका कारण राजनीतिक ध्रुवीकरण एकदमै उग्र बनेको विश्लेषकहरू बताउँछन् । क्यानाडास्थित एसिया प्यासिफिक फाउन्डेसनका वरिष्ठ फेलो माइकल कुगेलम्यान भन्छन्, “अन्तरिम सरकारले अवामी लिगमाथि कडा दमन गरेको छ, जसका कारण ध्रुवीकरण ज्वरोजस्तै बढेको छ ।” चुनावअघिको सबैभन्दा ठूलो जोखिम भनेकै हिंसा भएको उनले बताए ।


    गत वर्ष २०२४ मा भएको दमनमा प्रहरी बल अग्रपङ्क्तिमा रहेकाले अहिले सुरक्षाको मनोबल कमजोर देखिएको र सम्भावित हिंसा नियन्त्रण गर्न राज्यको क्षमता नै प्रश्नमा परेको विश्लेषकहरूको टिप्पणी छ । हसिनाका छोराले आफ्नो राजनीतिक प्रतिबन्ध नहटाइए अवामी लिगले चुनाव अवरुद्ध गर्ने चेतावनीसमेत दिइसकेका छन् ।

    – हसिनाको ‘लामो खेल’ –

    फैसलापछि बङ्गलादेशको सुपुर्दगी माग दोहोरिए पनि भारतले हसिनालाई फर्काउने सम्भावना निकै कम देखिन्छ । कुगेलम्यान भन्छन्, “उनी भारतमै बसेर पार्टीको नेतृत्व गर्न थाल्नेछिन् र राजनीतिक परिस्थितिमा अनुकूलता आए फेरि सक्रिय राजनीतिमा फर्किने लामो खेल खेलिरहनेछिन् ।’ बिबिसी बङ्गाली सेवाका पूर्व प्रमुख विश्लेषक साबिर मुस्तफाका अनुसार हसिनाविना अवामी लिग कमजोर हुने भए पनि भविष्यमा पुनः उठ्न चाहे सुधार अनिवार्य छ । “यदि उनले राजनीति फर्कन चाहन्छन् भने पार्टीको संरचनागत सुधार उनी स्वयंले नै आरम्भ गर्नुपर्ने हुन्छ”, उनको भनाई छ ।


    मुस्तफाले अनुपस्थितिमा गरिएको मुद्दा ‘गम्भीर रूपमा त्रुटिपूर्ण’ भएको र मृत्युदण्ड अन्यायपूर्ण रहेको बताए पनि अहिले नेतृत्वको आग्रहमा समर्थकहरूलाई सडकमा लामो समयसम्म टिकाइराख्न कठिन हुने टिप्पणी गरे ।
    – अन्तरिम नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब –

    मानव अधिकार समूह र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले फैसला र प्रक्रियाप्रति मिश्रित प्रतिक्रिया जनाएका छन् । ह्युमन राइट्स वाच तथा एम्नेस्टी इन्टरनेसनलले निष्पक्षताको प्रश्न उठाए भने संयुक्त राष्ट्रसङ्घले गत वर्षको कारबाहीका पीडितहरूका लागि यो ‘महत्त्वपूर्ण क्षण’ भएको बताएको छ । यद्यपि राष्ट्रसङ्घले मृत्युदण्डप्रति आफ्नो विरोध दोहोर्‍याएको छ ।

    यही पृष्ठभूमिमा युनुस नेतृत्वको सरकारले परीक्षण प्रक्रियालाई विश्वसनीय रूपमा प्रस्तुत गर्नु ठूलो चुनौती रहेको कुगेलम्यानको मूल्याङ्कन छ । बङ्गलादेशमा आगामी चुनाव लगभग २० वर्षपछि पहिलो पटक स्वतन्त्र र निष्पक्ष हुने उच्च अपेक्षा छ । सन् २०२४ जनवरीको चुनाव अवामी लिगले चौथो कार्यकाल जिते पनि विपक्षी दलहरूले बहिष्कार गरेका थिए र देशव्यापी हिंसा तथा अन्तर्राष्ट्रिय छानबिनसमेत भएको थियो ।

    मुस्तफाका अनुसार युनुसले नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आफ्नो नैतिक विश्वसनीयता ‘पहिले नै कमजोर पारिसकेको देखिन्छ । उनले स्पष्ट भिड न्याय, हिरासतमा मृत्यु, पर्याप्त प्रमाणबिनाका गिरफ्तारीहरू, विशेषतः हसिना समर्थकमाथि देखिएको कठोरताप्रति चिन्ता व्यक्त गरेका छन् । तर उनको विश्लेषण छ—अन्तर्राष्ट्रिय समुदायले अन्तरिम सरकारलाई कमसेकम चुनावसम्म सहयोग गर्नेछ ।

    – फेब्रुअरीअघिको प्रमुख चुनौती –

    फेब्रुअरीमा शान्तिपूर्ण, विश्वसनीय र निष्पक्ष चुनाव सम्पन्न गर्ने दायित्व अहिले अन्तरिम नेतृत्वको मुख्य जिम्मेवारी हो । अवामी लिगमाथि लगाइएको प्रतिबन्धका कारण पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी (बिएनपी) तथा सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीलाई निष्पक्ष रूपमा सहभागिता गराउनुपर्ने कठोर परीक्षा युनुसले सामना गर्नुपरेको विश्लेषक मुस्तफाको भनाइ छ । उनी भन्छन्, “यदि युनुसले यी दलहरूले चुनावमा धाँधली नगर्ने वातावरण तयार गर्न सक्छन् भने उनले फेरि नोबेल शान्ति पुरस्कार विजेताको छविलाई पुनर्जीवित गर्न सक्छनेछन् ।

  • शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था

    शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था

    ढाका, ४ मङ्सिर (रासस–एपी) । गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् । उनको पूर्व सत्तारूढ अवामी लिग पार्टीले देशव्यापी बन्दको आह्वान गरे पनि सेवासुविधा, पसल तथा विद्यालयहरू खुल्लै रहे ।

    अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गएको वर्षका विद्यार्थी आन्दोलनहरूलाई लक्षित गर्दै घातक बल प्रयोग गरेको आरोपमा हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई सोमबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतको फैसलापछि अवामी लिगले यसलाई ‘कङ्गारू अदालत’ भन्दै अस्वीकार गर्‍यो र भोलिपल्ट देशव्यापी बन्दको घोषणा गर्‍यो ।

    सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो । विरोधीहरूले शेख मुजीबुर रहमानको ऐतिहासिक घर भत्काउन उत्खनन प्रयोग गर्ने प्रयास समेत गरे । यसैबीच, पूर्व राष्ट्रपति अब्दुल हमिदको किशोरगञ्जस्थित घरमा तोडफोड गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    तर मङ्गलबार सहरमा शान्त वातावरण देखियो ।

    ढाकाका व्यापारी मोहम्मद साइकोट हुसेनले ‘यहाँ वास्तविक कÞानूनको शासन नै छैन’ भन्दै आफ्ना सन्तानहरूको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरे । उनले विगतदेखि हालसम्म सत्तामा बसेकाहरूले कानूनलाई मनपरी ढङ्गले प्रयोग गर्दै आएको टिप्पणी गर्दै भने, “हाम्रा छोराछोरीहरू यस्तै वातावरणमा हुर्किरहेका छन्—न लक्ष्य छ, न भविष्य । उनीहरू कहाँ पुग्लान् भन्नेमा म अत्यन्तै चिन्तित छु ।”

    ७८ वर्षीया हसिनालाई मानवता विरुद्धको अपराधसम्बन्धी पाँच अभियोगमा दोषी ठहर गरिएको हो । विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध उत्तेजक निर्देशन जारी गरेको, हेलिकप्टर, ड्रोन तथा घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोपमा उनलाई प्राकृतिक मृत्यु नहुँदासम्म कैदको सजाय सुनाइएको छ । एक पूर्व प्रहरी प्रमुखले राज्य साक्षी बनेपछि उनलाई पाँच वर्षकै कैद सजाय सुनाइएको थियो ।

    बङ्गलादेशले सन् २०२४ को जुलाई–अगस्टमा सरकारी जागिरको कोटा प्रणालीविरुद्ध विद्यार्थी नेतृत्वमा व्यापक विरोध प्रदर्शन भोगेको थियो । आलोचकहरूले उक्त प्रणाली हसिनाको पार्टी–सम्बद्धहरूलाई फाइदा हुने गरी लागू गरिएको आरोप लगाएका थिए । अन्तरिम सरकारले ती आन्दोलनहरूमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १४ हजार घाइते भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले भने मृतक सङ्ख्या एक हजार ४०० हाराहारी रहेको अनुमान गरेको थियो ।

    सन् २०२४ अगस्ट ५ को विद्रोहपछि हसिनाको १५ वर्ष लामो शासन ढल्यो । उनी र खान भारत भागे । भारतबाट सुपुर्दगी नहुने निश्चित प्रायः भएकाले मृत्युदण्ड वा कैद भोग्नुपर्ने सम्भावना न्यून मानिएको छ । हसिनाले सजायको ३० दिनभित्र आत्मसमर्पण नगरेसम्म वा गिरफ्तार नपरेसम्म अपील गर्न पाउँदिनन् । उनीहरुले प्रतिरक्षा वकिल नियुक्त गर्न नमानेका कारण राज्यद्वारा तोकिएका वकिल पनि अस्वीकार गरिएका थिए ।

    सोमबार जारी गरेको विज्ञप्तिमा हसिनाले आफ्नाविरुद्धका आरोपहरू ‘अन्यायपूर्ण’ रहेको बताउँदै आफूहरू ‘सद्भावपूर्ण रूपमा जिम्मेवारी निर्वाह गर्दै राष्ट्रको सेवा गर्न प्रयासरत’ रहेको दाबी गरेकी छिन् । उनले ‘परिस्थितिको नियन्त्रण गुमेको क्षणलाई पूर्वनियोजित आक्रमणका रूपमा चित्रण गर्नु तथ्यको गलत व्याख्या हो’ भनी टिप्पणी गरिन् ।
    संयुक्त राष्ट्रसङ्घले हसिनामाथिको सजाय ‘गत वर्षको दमनका पीडितहरूका लागि महत्त्वपूर्ण क्षण’ भएको बताएको छ । तर ह्युमन राइट्स वाचले परीक्षण प्रक्रियाप्रति गम्भीर शङ्का व्यक्त गर्दै साक्षी बयान, प्रतिरक्षा प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठाएको छ । सङ्गठनकी उप एसिया निर्देशक मीनाक्षी गाङ्गुलीले भनिन्, “हसिनाको शासनकालमा भएका गम्भीर दुर्व्यवहारका जिम्मेवारहरूलाई जवाफदेही बनाउनु अपरिहार्य छ, तर त्यसका लागि निष्पक्ष र विश्वासिलो परीक्षण आवश्यक छ ।”

    एम्नेस्टी इन्टरनेशनलकी महासचिव एग्नेस क्यालामार्डले मृत्युदण्डको कडा विरोध गर्दै यो मुद्दा ‘न त निष्पक्ष, न त न्यायसम्मत’ रहेको टिप्पणी गरे । उनले भने, “बङ्गलादेशमा न्यायिक प्रक्रिया पक्षपातरहित, स्वतन्त्र तथा पूर्ण पारदर्शितामा अघि बढ्नुपर्छ ताकि नयाँ मानवअधिकार उल्लङ्घन नहोस ।” हसिना अपदस्थ भएपछि तीन दिनमै सत्ता सम्हालेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले अहिले स्थिरता खोजिरहेको अवस्था छ । फेब्रुअरीका लागि निर्वाचनको योजना बने पनि तोकिएको मिति अझै घोषणा गर्न बाँकी छ ।

  • दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

    दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

    टोकियो, ४ मङ्सिर (रासस–एपी) । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् । जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

    आगलागी मङ्गलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ । दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

    एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।” आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

    ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स (जिएसडिएफ) ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकप्टर परिचालन गरेको छ । ती हेलिकप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गरे । उनले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिए ।

  • रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

    रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

    टेर्नोपिल, युक्रेन, ४ मङ्सिर (रासस–एएफपी) । पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ । रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन् । सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो ।

    आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो । टेर्नोपिल अधिकारीहरूले आगोका कारण हावामा क्लोरीनको स्तर सामान्यभन्दा छ गुणा बढेको बताएका छन् र शहरका करिब दुई लाख बासिन्दाहरूलाई घरमै बस्न र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।

    उद्धारकर्ताहरू पीडित सोभियत–कान अपार्टमेन्टको शीर्षतलामा पुग्न क्रेनहरूको सहायता लिएका थिए। युक्रेनीे गृह मन्त्रालयले रुसले गरेको गोलाबारीका कारण तीन बालबालिकासहित २५ जनाको मृत्यु भएको जनाएको छ । घटनामा १५ बालबालिकासहित ७५ जना घाइते भएका छन् । युक्रेनको विदेश मन्त्रालयले बिहीबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा ‘भयानक हत्या’ लाई छलफलको बिषय बनाउन माग गरिने बताएको छ र अन्तर्राष्ट्रिय निन्दा गर्न आह्वान गरेको छ।

    “रूसको ‘शान्ति योजना’ वास्तविकतामा यस्तै देखिन्छ,“ विदेशमन्त्री एन्ड्री सिबिगाले भने । रूसले जाडो अघि युक्रेनको ऊर्जा ग्रिडमा प्रहार गरिरहेको छ र युक्रेनको विस्तारित सेनाहरू सीमा क्षेत्रमा दबाबमा छन्। रूसी प्रशासन केन्द्र क्रेमलिनले करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकासँग गोप्य योजनामा काम गरिरहेको भन्ने अमेरिकी सञ्चार माध्यम एक्सियोसको रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको छ। किएभको वायु सेनाले रुसले रातिको समयमा ४७६ भन्दा बढी ड्रोन र ४८ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । उक्त आक्रमणमा उत्तरपूर्वी क्षेत्र खार्किभमा कम्तीमा ४६ जना घाइते भएका छन् भने पश्चिमी युक्रेनका अन्य क्षेत्रलाई लक्षित गरिएको छ ।

  • अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन अमेरिकाको यमनलाई आग्रह

    अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन अमेरिकाको यमनलाई आग्रह

    दुबई, ४ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका रूपमा गाजामा तैनाथ हुन लागेको अन्तर्राष्ट्रिय सुरक्षा बलमासामेल हुन यमनलाई अमेरिकाले आग्रह गरेको शीर्ष अधिकारीहरूसहित यमनका पाँच सरकारी स्रोतहरूले एएफपीलाई बताएका छन्। संयुक्त राष्ट्रसङ्घले यसै हप्ता ट्रम्पको शान्ति योजनालाई अनुमति दिने सङ्केत गरेको छ तर अरब र मुस्लिम राष्ट्रहरू प्यालेस्टिनी लडाकुसँग भिड्न सक्ने अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) मा सहभागी हुन हिच्किचाइरहेका छन् ।

    यमनी सरकारले अझै कुनै निर्णय गर्न बाँकी रहेको यमनी कूटनीतिज्ञ, एक सैन्य अधिकारी र राष्ट्रपति नेतृत्व परिषद्का एक अधिकारीसहित स्रोतहरूले बताएका छन् । उनीहरू सबैले नाम नबताउने सर्तमा संवेदनशील विषयमा छलफल गरेको बताएका छन् । राष्ट्रपति परिषद् र यमनी कूटनीतिज्ञको एक स्रोतले भनेको छ, “बलमा कुनै पनि योगदान धेरै हदसम्म प्रतीकात्मक हुनेछ।”

    एक वरिष्ठ सैन्य अधिकारीले भने, “यमनको ‘अन्तर्राष्ट्रिय सेनामा सहभागिताको बारेमा अमेरिकीहरूसँग छलफल गरिएको छ, तर हामीले अझै पनि सेनामा सामेल हुन आधिकारिक अनुरोध प्राप्त गरेका छैनौं’।” यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार धेरै हदसम्म खण्डित र कमजोर छ। सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानाबाट राष्ट्रसङ्घको समर्थन प्राप्त सरकारलाई लखेटेका थिए। हुथी समूहले अहिले यमनका अधिकांश जनसङ्ख्या र प्रशासनिक केन्द्रहरू नियन्त्रण गरेका छन्।” हमास अन्तर्राट्रिय बलको स्थापनाको विरोधमा छ र हमासको सहयोगी हुथी समूह पनि उक्त बलमा यमनी सहभागिताबाट आक्रोशित हुने सम्भावना रहेको छ।

  • चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्दै

    चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्दै

    म्याग्दी, ४ मङ्सिरः स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् । बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने प्रचलन रहेको छ ।

    मेलामा तीन दशकदेखि डाला र नाङ्ला व्यापार गर्दै आउनुभएका बागलुङको बढीगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले पछिल्लो समय प्लास्टिकका सामानले चोयाका सामग्रीलाई विस्थापित गर्न थालेको बताए । हरेक पटकको मेलामा डालाडाली र नाङ्ला बिक्रीको लागि आउने गरेको र पछिल्लो समय यस्ता सामानका माग घट्दो क्रममा रहेको उनको भनाइ छ ।

    “पहिले गाउँघरमा डुलाएर पनि बिक्री गथ्र्यौं । मेलापर्व र महोत्सवमा समेत उत्साहजनक किनबेच हुन्थ्यो, तर पछिल्ला वर्षयता प्लास्टिकबाट बनेका डाला र नाङ्लोसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । त्यसैले स्थानीय स्रोत र सीपको उपयोगबाट बनेका सामग्री विकाउनै मुस्किल हुन थालेको छ”, छन्त्यालले भने ।
    गलेश्वरधाममा बागलुङका साथै तनहुँबाट समेत चोयाबाट बुनेका नाङ्ला ल्याएर आउने धेरै व्यापारी छन् । मेलामा डाला रु ८०० देखि दुई हजारसम्म र नाङ्ला रु ६५० देखि ९०० सम्ममा किनबेच हुने गरेको छ ।

    जङ्गलमा पाइने निगालोको चोयाबाट बुनेर तयार गरिने नाङ्लो अन्नपात केलाउन र डालो अन्नपात राख्न प्रयोग गरिन्छ । चोयाका डाला र नाङ्ला वातावरणमैत्री हुनाका साथै टिकाउ र आकर्षकसमेत हुन्छन् । प्लास्टिकका सामग्रीको मूल्यमा चोयाका सामग्री खोज्ने प्रचलनका कारण आफूहरु समस्यामा परेको गलेश्वरको बालाचतुर्दशी मेलामा नाङ्ला बेच्न आउनुभएका तनहुँको बन्दीपुरका तिलबहादुर भुजेलले बताए ।


    गलेश्वर मेलामा करिब १०० जनाले घरायसी र दैनिक उपभोग्य सामानदेखि लत्ताकपडाको व्यापार–व्यवसाय सञ्चालन गरेकामा न्यून मात्रामा डाला र नाङ्लाको खरिदबिक्री भएको गुनासो गरेका छन् । मेलामा रैथाने सीप प्रयोग गरी बनाइएका काठका ठेकाठेकी र मदानीको समेत खरिदबिक्रीसमेत उत्साहजनक छैन । गाउँघरमा दूध सङ्कलन र मोही पार्नका लागि काठका ठेका र मदानीको विकल्पमा सिल्टे र प्लास्टिकका सामान भित्रिएपछि ठेका बनाउने पेसा नै सङ्कटमा पर्न थालेको छ ।

  • एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

    एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

    काठमाडौँ, ४ मङ्सिरः यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ ।

    लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, ४ मङ्सिरः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।

  • आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    काठमाडौँ, ४ मङ्सिरः बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ०को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।

    यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन् ।

    आज अफ्रिका औद्योगिकीकरण दिवस पनि हो । दिगो र समावेशी औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसङ्घले अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ । अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ ।

  • नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

    नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

    नवलपुर (नवलपरासी), ४ मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए ।

    “निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उनले भने, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।”

    रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिए । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे । बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन् । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् ।

    यसैगरी नवलपुर हुँदै पश्चिम जान पूर्वतर्फबाट आएका सवारीसाधन नवलपुर नपुग्दै चितवनमा रोकिने छन् । बस, मिनीबस, माइक्रो बस, साना चारपाङ्ग्रे सवारीसाधन मुग्लिन नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले जानकारी दिए । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारीसाधनहरु भने जुगेडीदेखि दासढुङ्गासम्म र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् ।

    सडक बिस्तार सुरु भएदेखि नै यस खण्डमा भएका खाल्डाखुल्डीका कारण यात्रुले दुःख पाउँदै आएका छन् । नारायणी नदीको पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट बुटवल खण्डको दाउन्नेसम्म करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ ।

  • नेपालमा पुनः चल्ला ट्रली बस ? सम्भाब्यता अध्ययनमा सहयोग खोज्दै मन्त्री कुलमान

    नेपालमा पुनः चल्ला ट्रली बस ? सम्भाब्यता अध्ययनमा सहयोग खोज्दै मन्त्री कुलमान

    काठमाडौं,३ मंसिर २०८२ । ऊर्जा, जलस्रोत तथासिँचाइ, भौतिकपूर्वाधार तथायातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यताअध्ययनमा सहयोग गर्न एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग दिगो शहरी विद्युतीय परियोजना बारे जानकारी लिंदै मन्त्री घिसिङले ट्रली बस प्रणाली सञ्चालनमा आवश्यक सहयोग गर्न आग्रह गरे ।


    भेटमा मन्त्री घिसिङले भने, ‘काठमाडौंको चक्रपथ, काठमाडौं–धुलिखेल, पोखरा– मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेका छन्, उक्त सडकका एक लेन ट्रली बसका लागि प्रयोग गर्न सकिन्छ, उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि ट्रलीजस्ता विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउनु पर्छ, ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहयोग गर्नुहोला ।’


    चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा आएको ट्रली बस २०६६ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । एडिबीको सहयोगमा काठमाडौं उपत्यका, पोखरा महानगरपालिका र लुम्बिनी–बुटवल–सिद्धार्थनगर करिडोरमा सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिंदै दिगो शहरी विद्युतीय परियोजनाका परियोजना सञ्चालन गर्न लागिएको छ ।


    परियोजनामार्फत सार्वजनिक यातायातका लागि २५० वटा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याइने छ । विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन, मर्मत सम्भार तथा सञ्चालन पूर्वाधार, बसस्टपसम्म पुग्न साइकल जग्गा गैह्र मोटर सुविधा लगायत निर्माण गरिने छ । परियोजनाका अवधारण पत्र स्वीकृत भइसकेको छ । हाल परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ । नगर विकास कोष र पूर्वाधार विकास बैकमार्फत परिचालन गरी सम्बन्धित स्थानीय तहमार्फत परियोजना कार्यान्वयन गरिनेछ ।

    पोखरा महानगरपालिकामा परियोजना कार्यान्यनका गण्डकी प्रदेशमा सार्वजनिक यातायात प्राधिकरण स्थापनाको प्रस्ताव गरिएको छ ।
    परियोजनाको अनुमानितलागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपैयाँ) रहेको छ ।यसमध्ये १० करोड रुपैयाँ एडिबीले सहुलितपूर्ण र ४ करोड शून्यव्याजदरको कर्जा रहेको छ । बाँकी रकम सरकारले बेहोर्नु पर्ने छ ।

  • नयाँ नयाँ माग थप्दै काठमाडौंको फोहोर फाल्न अवरोध, हात उठाउने कुलमानको चेतावनी

    नयाँ नयाँ माग थप्दै काठमाडौंको फोहोर फाल्न अवरोध, हात उठाउने कुलमानको चेतावनी

    काठमाडौं, ३ मंसिर । विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौं उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयले एकपछि अर्को नयाँ माग थप्न थालेपछि समस्या समाधानका लागि भएको वार्ता विनानिश्कर्ष टुङ्गिएको छ । बुधबारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गरेका थिए । शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका,काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासिन्दाको प्रतिनिधिका रुपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो ।


    विगतमा गरिएका अधिकांश सहमति कार्यान्वयनमा गइसकेका र पूरक वातावरणीय प्रभाव मूल्याङ्कनपछि प्रभावित क्षेत्रको एकिन भएपछि ल्याण्डफिल्डका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुने उल्लेख गर्दै मन्त्री घिसिङले विभिन्न माग राखी पटक–पटक फोहर लैजान अवरोध गर्दा नराम्रो सन्देश जाने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । उनले समस्या समाधानका लागि प्रधानमन्त्रीसँग पछि छलफल गरिएकाले सहमतिलाई कार्यान्वयन गर्न सकारात्मक रुपमा काम गरिरहेको बताए ।

    त्यसपछि बैठकमा सहभागी भएका अधिवक्ता पाठकबाट नै बैठकको निर्णयका ९ बुँदे मस्यौदा तयार परिएको थियो । यसमा बैठकमा सहभागी दुवै पालिकाका जनप्रतिनिधि सहमत हुनुभएको थियो । मन्त्री घिसिङको उपस्थितिमा निर्णयमा हस्ताक्षर गर्ने क्रममा आफैंले तयार गरेको निर्णयमा असहमति जनाउँदै पाठक निस्किएपछि अन्य जनप्रतिनिधिलेसमेत हस्ताक्षर गर्न मानेनन् । त्यसपछि मन्त्री घिसिङले माग सम्बोधन गर्न आफूहरु हदैसम्मको लचक भएको तर एकपछि अर्को नयाँ माग थप्दै जाने हो भने महानगर र स्थानीयबीचको विषयबाट आफूहरु हात उठाउन वाध्य हुने चेतावनी दिए ।


    यस्तो थियो निर्णयको मस्यौदा
    जनताको आवाज उठाउँदै स्थानीय जनतालार्इ चलाएको मुद्धाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने ।

    प्रतिवेदन छिटो तयार गर्नको लागि कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिवद्धता समेत लिने । आगामी आ.व.को बजेटमा प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियोजन गर्ने कार्य अगाडि बढाउने ।

    बन्चरे डाँडाको स्थानीयहरुको लागि तत्काल घर–टहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महानगरपालिका लाई पत्राचार गर्ने साथै का.म.न.पा.ले समेत १ महिना भित्र बन्चरे क्षेत्रको अति प्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई लिएको आधारमा बन्चरेको हकमा समेत आधार मानी हालको मूल्यमा घर–टहरा तथा बालीको मुआब्जा प्रदान गर्ने ।

    फोहोर फाल्नको लागि तयार पारेको क्षेत्र भन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेड सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदुषण भई स्थानीयको जीवन यापनमा ठूलो असर परेको हुँदा सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने साथै लिचेडको उचित व्यवस्थाको लागी १५ दिन भित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालिन समाधनको बाटो अपनाउने ।

    बन्चरे र सिसडोलको अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई विशेष कार्डको व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौं महानगरपालिका भित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा समेत निशुल्क उपचारको व्यवस्था अबको एक महिना भित्र मिलाउने साथै शिक्षाको सम्बन्धमा समेत काठमाडौं उपत्यका भित्रको स्कूल, कलेजहरुमा अनिवार्य कोटाको व्यवस्था अबको एक महिना भित्र गर्ने ।

    फोहोर उत्सर्जन गर्ने नगरपालिकाहरुमा बन्चरे ल्याण्डफिल साइटका प्रभावितहरुलाई रोजगारीको अवसरका लागि मेयरस फोरम वा मन्त्रालयबाट आब्हान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने । महानगरले २ वटा पालिकालाई दिँदै आएको ३–३ करोड रकम वृद्धि गरि ६–६ करोड पुर्याउन फोहर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई समेत योग्दान गर्न शहरी विकाश मन्त्रालयले अनुरोध गर्ने ।
    सिसडोल र कुडुले बन्चरे डाँडाको फोहरको कारण हाल सम्म विभिन्न रोग लागेर मृत्यु भएका परिवारलाई तत्काल उचित राहात दिन कार्यविधि तयार गर्ने ।
    स्थानीयबाट फोहरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोधलाइ तत्काल हटाउने र सुचारु गर्ने ।

  • अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल सुरु

    अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल सुरु

    काठमाडौँ, ३ मङ्सिर । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी)को छैटौँ संस्करण आजदेखि यहाँ सुरु भएको छ । जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रधानसेनापति अशोकराज सिग्देलसँग उक्त कार्यक्रमका लागि नेपाल आउनुभएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल स्कोट ए वीन्टरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जाएको छ । यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ ।

  • एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत

    एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत

    काठमाडौँ, ३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित ग¥यो । जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २÷२ विकेट हात पारे ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो । सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए । त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए । बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई÷दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ ।