ढाका, १ मङ्सिर (रासस–एएफपी) । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय सुनाइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन् । अहिले पनि उनी नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा रहेको अनुमान गरिएको छ। भारतले पूर्व प्रधानमन्त्री हसिनालाई सहयोग गरेको र शरण दिएको बिषयले दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ।
गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहविरुद्ध भएको घातक दमनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि ढाकाको एक अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई उहाँहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। पूर्वमन्त्री कहाँ छन् भन्ने थाहा छैन, तर बङ्गलादेशले भने उनी पनि भारतमा रहेको दावी गर्दै आएको छ।
बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरू समक्ष सुपुर्दगी गरियोस् ।” बङ्गलादेशले चेतावनी स्वरमा भनेको छ, “यी दोषीहरुलाई शरण दिने बिषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ।” भारतीय विदेश मन्त्रालयले हसिनाको फैसलालाई ध्यान दिएको जनाएको छ ।
“भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरता सहित बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हसिनाको १५ वर्षे कार्यकालमा व्यापक मानवअधिकार उल्लङ्घन भएको थियो, जसमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू समावेश छन्।
बङ्गलादेशले गत वर्ष हसिनाका लागि इन्टरपोलमा ‘अत्यन्त खोजी’ सूचना जारी गर्ने बताएको थियो, तर विश्वव्यापी प्रहरी निकायको सूचीमा कुनै रेकर्ड दर्ता नभएको बताइएको छ। बङ्गलादेशका अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गरेका छन् । “पूर्व प्रधानमन्त्री हसिना र मन्त्री खान कमललाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाउनु ऐतिहासिक फैसला हो,” नोबेल शान्ति पुरस्कार विजेता युनुसले एक विज्ञप्तिमा भनका छन् । उनले शान्ति कायम गर्न आग्रह गर्दै ‘सार्वजनिक व्यवस्था उल्लङ्घन गर्ने कुनै पनि प्रयास’ नगर्न चेतावनी दिँदै ‘सबैलाई अनुशासनहीन कार्यबाट टाढा रहन आग्रह गर ।
ढाका, १ मङ्सिर (रासस–एएनआई) । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवता विरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उनको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ । अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो ।
७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा छिन् । उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । असदुज्जमान पनि भारतमै रहेको विश्वास गरिन्छ । उनीहरु दुवै जनालाई फरार अभियुक्त घोषित गरिएकाले मुद्दा अनुपस्थितिमै अघि बढाइएको थियो । अदालतलाई उद्धृत गर्दै अल जजिराले भन्यो, “अभियुक्त शेख हसिनाले आफ्ना उक्साहटपूर्ण आदेशहरू मार्फत मानवता विरुद्ध अपराध गरिन्, र आरोप नं १ अन्तर्गत रोकथाम तथा दण्डात्मक कदम लिन असफल भइन् ।’ विशेष न्यायाधिकरणले थप जनाएको छ, “आरोप नं २ अन्तर्गत उनले ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिएकी थिइन्, जसले मानवता विरुद्ध अपराधलाई आकार दियो ।”
बङ्गलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो । बेन्चका अन्य दुई सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहेका थिए । एक मात्र हिरासतमा रहेका अभियुक्त, पूर्व प्रहरी प्रमुख मामुनलाई सोमबार बिहान अदालत ल्याइएको थियो । उनी यसअघि नै दोषी ठहर भइसकेका थिए । राज्यका साक्षी बनेका थिए ।
फैसला अघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । केही पीडितका परिवारहरू त्यसै दिन अदालतमा उपस्थित भएर कडा सजायको माग गरेका थिए । दोस्रो दिनदेखि हसिनाको पार्टी अवामी लिगले देशव्यापी ‘पूर्ण बन्द’ को घोषणा गरेको छ । ढाकासहित केही क्षेत्रमा छिटपुट विस्फोट र गाडी जलाइएका घटनाहरू रिपोर्ट भएका छन् ।
आइसिटी–१ ले पाँचवटा अभियोगमा अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आशुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको समन्वित हत्या समावेश छन् ।
मुद्दाको औपचारिक कागजात आठ हजार ७४७ पृष्ठका रहेका छन्, जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश छ । हसिनाले सन् २०२४ जुलाई १४ मा गणभवनमा पत्रकार सम्मेलनमार्फत गरेको उक्साहटपछि कानून प्रवर्तन निकाय र सत्तारूढ दलका कार्यकर्ताहरूले विद्यार्थीहरूलाई लक्षित गरी व्यवस्थित आक्रमण गरेको अभियोजन पक्षको आरोप छ ।
ढाका ट्रिब्युनका अनुसार अदालतले हसिना, कमल र मामुनले यी आक्रमणहरू उक्साएको, निर्देशन दिएको वा रोक्न असफल भएको, जसका कारण हत्या, हत्या प्रयास र यातनासहितका कृत्यहरू फैलिएको थियो भनी मूल्याङ्कन गरेको छ । सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा छ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आशुलियामा पनि छ जनालाई गोली हानेर पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ ।
प्रतिरक्षा वकिल मोहम्मद अमिर हुसेनले भने सबै आरोप झुट्टा र बनावटी रहेको दाबी गर्दै शेख हसिनाले कुनै पनि हत्याको आदेश दिएको प्रमाण नभएको प्रतिक्रिया दिएकी छिन् । उनले हिंसा ‘अलग समूहले’ गराएको बताएकी छिन् । सन् २०२४ अगस्टमा बङ्गलादेशबाट भागेर शेख हसिना नयाँदिल्लीमा बस्दै आएकी छिन् । त्यहीँबाट उनले सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन् ।
काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०\८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ ।
त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो ।
त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित भएको हो ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा रू ५० करोडदेखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रू ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।
त्यस्तै, २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छिन् । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोह त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ रोजेको थियो । खेल काठमाडौंले जितेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।
काठमाडौँ, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।
काठमाडाँैको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे । बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रनको योगफल बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।
काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए । यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो ।
आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले रु करोड १० लाख पाउने छ । दोस्रो हुनेले रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।
काठमाडौँ, १ मङ्सिरः ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने ।
नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन् । एनपिएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ । पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ ।
नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गत वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपिएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपिएलमा जोडिएका छन् ।
त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा रु ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि रु ४२ करोड १९ लाख खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपिएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।
एनपिएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच भयो । जसमा काठमाडौँ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो । एनपिएलको पहिलो खेलमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखले अर्धशतकीय पारीसँगै दर्शकको मन जिते । पहिलो पारीमा विदेशी खेलाडी मिलिन्द कुमारले किफायती बलिङ गर्दै महत्त्वपूर्ण तीन विकेट लिए । जनकपुरका लागि मयन यादवले ३४ रन र लहिरु समाराकुनले २२ रन जोडे र जनकपुरले काठमाडौँ सामु १३१ रनको सामान्य लक्ष्य प्रस्तुत ग¥यो ।
लक्ष्य पछ्याएको काठमाडौँको सुरुआत निकै राम्रो भयो । पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको काठमाडौँलेको गति भने त्यसपछि सुस्त भयो । उसका लागि ओपनरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले क्रमशः ३९ र ४६ रनको योगदान दिए । काठमाडौँ गुर्खाजका कप्तान करण केसीले खेलपछि प्रतिक्रिया दिँदै आजको खेलमा स्पिनरलाई पिचले साथ दिएको बताए । “टियुको मैदान कहिले बलर त कहिले ब्याटरलाई साथ दिन्छ, आज स्पिनरलाई राम्रो भयो”, उनले भने ।
दोस्रो संस्करणको एनपिएलमा पनि पहिलो संस्करणमा जस्तै एन्ड्रयु लियोनार्डले ‘कमेन्ट्री’मार्फत टेलिभिजन दर्शकलाई थप रोमाञ्चक बनाए । सदाझैँ विदेशी ‘कमेन्टेटर’लाई नेपाल र ढाका टोपीको बयान गर्न छुट्टाएनन् । आयरल्याण्डमा जन्मिए पनि एन्ड्रयु नेपाली दर्शकका कारण चर्चामा छन् । उनलाई नेपाली दर्शकले टक्लु उपनाम दिएका छन् ।
एनपिएल विजेताले टोलीले रु एक करोड १० लाख पाउने छ । साथै दोस्रो हुनेले रु ५१ लाख र तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
rss
विदेशी खेलाडी
विराटनगर किङ्सले यसपटक दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिलाई भित्र्याएको छ । त्यसबाहेक न्यूजिल्याण्डका मार्टिन गप्टिल र मर्चेन्ट डि लांगे, स्कटल्याण्डका जर्ज मुन्सी, अष्ट्रेलियाका हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई ल्याएको छ ।
पोखरा एभेञ्जर्सले यसपटक न्यूजिल्याण्डका स्टार जिमी निशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिंटन, ड्यान डौथवेट र वेस्ट इन्डिजका रेयमन रइफरलाई ल्याएको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाबाट क्रिस लिन र जोस ब्राउन, न्युजिल्याण्डबाट स्कट कुग्लाइन र अमेरिकाबाट हरमित सिंहलाई भित्र्याएको छ ।
जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका वेन पार्नेल, श्रीलङ्काबाट लाहिरु मिलान्था, लाहिरु समरकुन, सङ्गीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई ल्याएको छ । चितवन राइनोजले इंग्लायण्डबाट रवि वोपरा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानबाट सोहेल तनबिर र युगाण्डाका अल्पेस रामजानीलाई ल्याएको छ ।
लुम्बिनी लायन्सले अष्ट्रेलियाबाट डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितसँग अनुबन्ध गरेको छ । काठमाडौँ गुर्खाजले विदेशी कोटाबाट इङ्ग्लायण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारत सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ ।
साथै कर्णाली याक्स पनि अष्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पाञ्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड म्याक्स ओडाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो । रासस
बिलबाओ (स्पेन), १ मंसिर, (रासस–एपी) । प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका स्पेनी खेलाडीहरूको समूहसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण प्रतिस्पर्धा खेलेको छ । यसको पृष्ठभूमि गाजामा इजरायलको सैन्य कारबाहीसँग जोडिएको छ । आयोजकहरूका अनुसार एथलेटिक बिलबाओको घरेलु मैदान सान मेम्स स्टेडियममा आयोजित खेलका लागि करिब ५० हजार दर्शकका लागि टिकट छुट्याइएको थियो । खेल सुरू हुनुअघि नै स्टेडियममा ठूलो भीड जम्मा भइसकेको थियो । धेरै समर्थकले प्यालेस्टिनी झण्डासँगै उत्तरी बास्क देशलाई प्रतिनिधित्व गर्ने झण्डाहरू समेत फहराउँदै ऐक्यबद्धता व्यक्त गरेका थिए ।
यसअघि हजारौँ मानिसले समेत व्यापक समर्थन प्रदर्शन गर्दै झण्डा बोकी पदयात्रा गरेका थिए । सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि इजरायलको सैन्य प्रतिक्रियाविरुद्ध स्पेनभरि निरन्तर विरोध प्रदर्शनहरू जारी रहेका छन् । यसको प्रभाव यस खेलमा पनि देखिएको हो । सेप्टेम्बर महिनामा स्पेनका विभिन्न स्थानमा इजरायली स्वामित्वको साइक्लिङ टोलीविरुद्ध भएको विरोध अभियानको पहिलो केन्द्र बिलबाओ नै बनेको थियो । बास्क टोलीमा एथलेटिक बिलबाओ र रियल सोसिडाडका पेशेवर खेलाडीहरू सहित अन्य टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो ।
यसै समयमा स्पेनका राष्ट्रिय खेलाडीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारण उनीहरू यस मैत्रीपूर्ण खेलमा उपलब्ध थिएनन् । प्यालेस्टिनी टोलीले यही यात्राका क्रममा आगामी मङ्गलबार बार्सिलोनामा स्पेनको क्याटालोनिया क्षेत्रमा चयन गरिएका खेलाडीहरूको समूहसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ ।
तेहरान, १ मंसिर (रासस\एएफपी) । इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा उत्प्रेरणा गर्ने क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । सरकारी मिडियाका अनुसार यो वर्षको जल चक्रमा पहिलोपटक यस्तो प्रक्रिया सञ्चालन गरिएको हो । इरना समाचार एजेन्सीले शनिबार राति सूचित गरेअनुसार सेप्टेम्बरमा सुरु हुने चालु जल वर्षअन्तर्गत उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरिएको छ । देशको उत्तर–पश्चिममा रहेको उर्मिया इरानको सबैभन्दा ठूलो ताल हो तर दीर्घ खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।
एजेन्सीले पूर्वी र पश्चिम अजरबैजान प्रान्तहरूमा आगामी दिनहरूमा थप सञ्चालन गरिने जानकारी दिएको छ । क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ । गत वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो । सरकारी मिडियाले शनिबार पनि देशको पश्चिमका इलाम, केरमानशाह, कुर्दिस्तान र लोरेस्तान तथा उत्तरपश्चिम पश्चिम अजरबैजान प्रान्तमा वर्षा भएको तथ्य सार्वजनिक गरेको थियो ।
मौसम विज्ञान सङ्गठनका विवरणअनुसार इरानमा यस वर्ष दीर्घकालीन औसतको तुलनामा वर्षा करिब ८९ प्रतिशतले घटेको छ । “तपाईंहरूले अहिले देशले पछिल्ला ५० वर्षमा भोगेको सबैभन्दा सुक्खा शरद ऋतु अनुभव गरिरहनुभएको छ”, एजेन्सीले उल्लेख गरेको छ । तेहरान नजिकै अल्बोर्ज पर्वत शृङ्खलामा अवस्थित तोचल पर्वत र स्की रिसोर्टमा यो वर्ष पहिलोपटक हिउँ परेको दृश्य पनि राज्य मिडियाले सार्वजनिक गरेको छ ।
धेरैजसो सुक्खा भू–भाग भएको इरान वर्षौंदेखि लगातार दीर्घ खडेरी, चर्को तापक्रम र गर्मीको लहरको सामना गर्दै आएको छ, जसलाई जलवायु परिवर्तनले झनै जटिल बनाइरहेको बताइन्छ । स्थानीय अधिकारीहरूले राजधानी तेहरानमा वर्षा एक शताब्दीमा सबैभन्दा न्यून स्तरमा झरेको र देशको आधा प्रान्तमा महिनौँदेखि वर्षाको एक थोपा पनि नपरेको जनाएका छन् ।
धेरै प्रान्तलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशयहरूको सतह पनि रेकर्ड न्यूनमा पुगेको छ । यो महिनाको सुरुमा राष्ट्रपति मसुद पेजेस्कियानले पानी नपरेमा तेहरानले जाडो अघि नै सम्भावित निकासी स्थिति झेल्न सक्ने चेतावनी दिएका थिए । यद्यपि विस्तृत कारण खुलाइएको थिएन । यस्तै, संयुक्त अरब इमिरेट्ससहित क्षेत्रका अन्य देशहरूले पनि कृत्रिम रूपमा वर्षा उत्पादनका लागि क्लाउड सिडिङ प्रविधिको उपयोग गर्दै आएका छन् ।
ढाका, १ मंसिर, (रासस\एएनआई) । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहेकी छिन् ।
फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन प्रभावित बनेको छ । राजधानी ढाकामा ट्राफिक अत्यन्तै कम देखिएको छ भने केही क्षेत्रमा पटाखा विस्फोट भएको रिपोर्टसमेत आएको छ ।
आगामी आम चुनावले देशमा स्थिरता पुनःस्थापना गर्ने आशामा व्यवसायी तथा उद्योगीहरूले राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का पूर्वअध्यक्ष काजी मोनिरुज्जमानले परिस्थितिलाई अत्यन्तै असहज भनेका छन् ।
उनले भने, “हामी निकै चिन्तित छौँ । आशा छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ, जनता शान्तिपूर्वक मतदान गर्न पाउनेछन् र निर्वाचित सरकारले अहिले निकै कमजोर बनेको व्यापार, सामाजिक समस्या तथा कानून–व्यवस्थालाई सुधार गर्नेछ ।” उनले सन् १९७१ को मुक्ति युद्धका एक स्वतन्त्रता सेनानीका रूपमा जनतालाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै भने, “गत वर्ष अत्यन्त कठिन रह्यो । सन् २०२६ को निर्वाचनले देशलाई नयाँ आशा दिने अपेक्षा छ । हाम्रो सार्वभौमिकताको रक्षा गर्दै सबै छिमेकी राष्ट्रसँग सन्तुलित र मधुर सम्बन्ध राख्नु आवश्यक छ । यस क्षेत्रको शान्तिका लागि सबैले एकताबद्ध हुनुपर्छ ।”
भारतसँगको सम्बन्धलाई लिएर पनि मोनिरुज्जमानले विशेष जोड दिँदै भने, “भारतले सन् १९७१ मा हामीलाई अमूल्य सहयोग गरेको थियो । स्वतन्त्रता सेनानीका रूपमा मैले त्यहाँ प्रशिक्षणसमेत पाएको हुँ । हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्दै भारतसँग सुदृढ सम्बन्ध कायम राख्नु आवश्यक छ । ठूलो छिमेकीका हैसियतले भारतले हाम्रो भावनाको सम्मान गर्नेछ भन्ने आशा छ ।”
गार्मेन्ट उद्योगबारे उनले भने, “यो उद्योग हाम्रो देशको गर्व हो । धेरै वर्षदेखि यसको योगदान उच्च छ, तर अहिलेको अस्थिरताले यसलाई जोखिममा पारेको छ । कुनै पनि अशान्तिले उद्योगलाई हानि पु¥याउन सक्छ र विदेशी क्रेताहरूले विश्वास गुमाउन सक्छन् । अधिकांश विदेशी मुद्रा यही क्षेत्रबाट कमाइन्छ र विशेषगरी महिलाहरूको ठूलो रोजगारको स्रोत यही उद्योग हो । यदि उद्योग असुरक्षित बन्यो भने सामाजिक अशान्ति र आर्थिक सङ्कट थपिन सक्छ ।”
अल्पसङ्ख्यकको प्रसङ्गमा उनले भने, “मानवका रूपमा म कुनै धार्मिक विभाजनमा विश्वास गर्दिनँ । हामी सबै पहिले बङ्गलादेशी हौँ, अनि मात्र विभिन्न धर्मका अनुयायी ।” यसैबीच, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिग तथा यसको सम्बद्ध सङ्गठनहरूको गतिविधिमा प्रतिबन्ध लगाएदेखि पार्टी नेताहरूले अज्ञात स्थानबाट अनलाइनमार्फत कार्यक्रमहरूको घोषणा तथा प्रचार–प्रसार गरिरहेका छन् ।
सन् २०२४ जुलाईको विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । सन् २०२४ अगस्ट ५ मा उनी भारत प्रस्थान गरेकी थिइन् । त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सोही महिनामा भएको हिंसात्मक प्रदर्शनमा करिब एक हजार ४०० जनाको मृत्यु भएको हुनसक्ने उल्लेख छ ।
शेख हसिनाको नेतृत्वमा नै सन् १९७१ को मुक्ति युद्धमा भएका अपराधको मुद्दा चलाउन अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण स्थापना गरिएको थियो । सोही ट्रिब्युनलले उनको कार्यकालमा जमात–ए–इस्लामीका धेरै नेतामाथि युद्ध अपराधका मुद्दा दायर गरेको थियो ।
नयाँ दिल्ली, १ मंसिर, (रासस–एएफपी) । भारतीय अधिकारीहरूले नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको बताएका छन् । अधिकारीहरूले आक्रमण ‘आत्मघाती हमलाकारी’ व्यक्तिद्वारा गरिएको दुःखद् घटना भएको बताएका छन्। राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) ले आक्रमणकारी र दोस्रो संदिग्ध दुवै प्रहरीले हालैका दिनहरूमा व्यापक छापा मारेको भारत प्रशासित कश्मीरका भएको जनाएको छ ।
अनुसन्धानमा सफलता आएको घोषणा गर्दै एनआइएले आमिर रसिद अलीलाई ‘आत्मघाती हमलाकारी’को सहयोगी भएको बताएको छ । प्रतिआतंकवाद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनी विस्फोट गराउन प्रयोग गरिएको कार खरिदका लागि दिल्ली आएका थिए।” दुर्घटनामा चालकको नाम कश्मीरका उमर उन नबी रहेको र उनी उत्तरी राज्य हरियाणाको एक विश्वविद्यालयमा जनरल मेडिसिनका सहायक प्राध्यापक थिए ।
सोमबार राजधानीको पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्ला नजिकै रहेको व्यस्त मेट्रो स्टेशन नजिकै विस्फोट भएको थियो । उक्त स्थान नजिकै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस अवसरमा एउटा वार्षिक सम्बोधन गरिरहेका थिए । अस्पतालका एक अधिकारीले विस्फोटमा परी १२ जनाको मृत्यु भएको बताएका छन् । मृतक सङ्ख्यामा नाबीलाई समावेश गरिएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।
आक्रमणमा परी १० जनाको मृत्यु भएको र अन्य ३२ जना घाइते भएको भारतीय अनुसन्धान निकाय (एनआइए) ले एक विज्ञप्तिमा उल्लेख गरेको छ । एनआइएले नाबीको अर्को गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई ‘षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनको सरकारले ‘अपराधी, सहयोगी र प्रायोजक’ हरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेको छ।
गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पर्यटकीय स्थल पहलगाममा २६ जना हिन्दु सर्वसाधारणको मृत्यु भएपछि पाकिस्तानसँग झडप भएपछि भएको यो सबैभन्दा ठूलोसुरक्षा घटना हो । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा हिमाली क्षेत्र दाबी गर्छन्। नयाँ दिल्ली र इस्लामावादबीच तनाव उच्च रहेको छ ।
सियोल, १ मंसिर, (रासस–एएफपी) । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ ।
दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । पाँच वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा प्योङटेक प्लान्ट ५० निर्माण गर्ने योजना समावेश रहेको छ,”सामसुङले एक विज्ञप्तिमा जनाएको छ।
पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, “सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।”
सामसुङ इलेक्ट्रोनिक्सल एआई–ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ।
दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो। अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं, १ मंसिर । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७\६८ देखि २०७९\८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।
सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गर्नुभयो । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ ।
ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।
१ मंसिर, काठमाडौं । नेपालमा यतिबेला हरेक दिन तापक्रम ओरालो लाग्ने क्रममा छ । हिँउदयाम सुरु भएको छ । माथिल्लो भेगमा हिमपात भएको छ भने उपत्यकासहितका क्षेत्रमा न्यूनतम तापक्रम कम भइरहेको छ । तराई भेगमा हुस्सुले जनजीवन प्रभावित हुन थालेको छ । देशभर आलोलागीका घटना बढ्न थालेका छन् । उता, प्रकृतिले समेत यस्तै आभास गराइएको छ । यहाँ केही प्रतिनिधिमुलक तस्वीर प्रस्तुत गरिएको छ ।
पवित्र तीर्थस्थल देवघाटधामस्थित कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल । नवलपुर, तनहुँ र चितवनमा पर्ने यस स्थानमा बालाचतुर्दशीको अवसरमा स्नान गर्न र सतबिज छर्न देशभरबाट हजारौँ भक्तजनहरु आउने गर्दछन् । तस्बिरः टेकराज पोखरेल\राससपोखरा महानगरपालिका-१४ सेतिदोभानस्थित फुलको हाँगामा बसेर फूलको रस चुस्दै गरेको जुरेली चरा । तस्बिर : राधिका कँडेल / राससमुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल । यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन् ।तस्बिरः सुशीलबाबु थकाली\राससधनगढी उपमहानगरपालिका–६ मटियारीमा ढकमक्क फुल्दै गरेको तोरीखेती । कैलालीमा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिरः मीन ठकुरी\राससमध्यपुर थिमि– ४ विष्णुकण्डल परिसरमा धान सुकाउँदै स्थानीय किसान। यहाका स्थानीय किसानहरू धान काटिसकेपछि घरमा भित्र्याउनु अघि ८–१० दिन घाममा सुकाएर मात्र धान भित्र्याउने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ\रासघोराही–धारापानी सडकमा आइतबार बिहान लागेको कुहिरो। जाडो बिस्तारै बढ्दै जाँदा दाङमा कुहिरो लाग्न सुरु गरेको छ। तस्बिरः रञ्जिता अधिकारी\रासस
१ मंसिर, काठमाडौं । नेपालको इतिहामा पहिलो पटक प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालामा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल प्रिमियर लीग क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । यो खेलले धेरै अर्थमा कीर्तिमान राख्ने छ । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएसँगै आइतबार साँझ विशेष कार्यक्रमका बीच यो रंगशाला हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गरेको हो ।
अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । दोस्रो चरणमा थप १० अर्ब लगानीको योजना छ । ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।
त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन । पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनस् म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।
कीर्तिपुर (काठमाडौँ) । १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्
त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।
काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
वार्षिक प्रतिवेदनअनुसार आव २०८१–८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्नका लागि गृहले सहसचिव तथा शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनेगरी एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदल असोज ९ गते बसेको बैठकले गठन गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
त्यसैगरी, गृह मन्त्रालयले निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि सुरु हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । प्रवक्ता काफ्लेका अनुसार निर्वाचन अवधिभर देशमा हिंसा भड्काउने, जनतालाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउनेसमेत जानकारी दिए । बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ, ३१ मंसिर । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।
काठमाडौँ, १ मंसिर । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको आइतबारको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।
पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम विसं २०८२\०८\२० गतेदेखि सञ्चालन हुनेछ ।
सो कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि ४०० बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
काठमाडौँ, ३० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग आज एनपिएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । “पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु”, मन्त्री अर्यालले बैठकमा भने ।
३० कात्तिक, काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यो साझेदारी मार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ । समझदारी अनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्ने छ ।
छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापिते एनपीएल(२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरको इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलका रूपमा लिइएको छ ।
एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा छ । एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गरिने भएको छ । जसले गर्दा विश्वभरिका करोडौं दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्य प्रचारप्रसारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभरि बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । ‘एनपीएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्वास छ ।’
उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे । त्यसैगरी क्यानका महासचिव पारस खड्काले यस सहकार्यप्रति खुसी व्यक्त गरे । ‘खेलकुद र पर्यटन दुवैलाई सँगै अघि बढाउन पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभरि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र एनपीएल-२ ले यसलाई अझ उचाइमा पुर्याउने छ ।’
अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुद मार्फत नेपालमा पर्यटनका अवसर विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेसन’ का रूपमा स्थापित गर्न मद्दत गर्ने छ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदीयमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।
कीर्तिपुर (काठमाडौँ), ३० कात्तिकः त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडो सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि रु १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए । “सबै पूर्वाधार सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हँुदै छ, नेपाली क्रिकेटको बढ्दो अन्तरराष्ट्रियस्तरअनुरुप सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने छ,” मन्त्री घिसिङले भने । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यमसमेत भएको उनको भनाइ थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे । देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए । “कीर्तिपुरको नाम अन्तरराष्ट्रिय स्तरमा प्रख्यात हुने अवसर आएको छ”, उनले भने । कार्यक्रममा निर्माणमा महत्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गरे । देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाल एनपिएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो । देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् । सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तरराष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ ।
काठमाडौँ, ३० कात्तिकः चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।
काठमाडौँ, ३० कात्तिकः गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रुपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२–८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको थियो ।
गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ७१ प्रतिशत र माछा तथा मासुको तीन दशमलव १५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ६३ प्रतिशत, मरमसलाको सात दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको चार दशमलव ४१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५१ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।
त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ५३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३३, मधेश प्रदेशको एक दशमलव २०, बागमती प्रदेशको एक दशमलव १३, गण्डकी प्रदेशको एक दशमलव १६, लुम्बिनी प्रदेशको एक दशमलव ८९, कर्णाली प्रदेशको एक दशमलव ९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४३, तराईको एक दशमलव २९, पहाडको एक दशमलव ५० प्रतिशत र हिमालको दुई दशमलव ३३ प्रतिशत रहेको छ ।
काठमाडौँ, ३० कात्तिकः तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।
काठमाडौँ, ३० कात्तिकः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बागमती, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।
मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् ।
त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।
काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो
त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताए । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उनले बताए । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि रु चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताए । बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नालासहितको ग्राभेल सडक निर्माण गरिने उनको भनाइ छ ।
मुस्ताङ, ३० कात्तिकः घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो ।
घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए ।
निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो ।
यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए । सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ ।
चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।