Category: फिचर

  • दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    नयाँ दिल्ली, १ मंसिर, (रासस–एएफपी) । भारतीय अधिकारीहरूले नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको बताएका छन् । अधिकारीहरूले आक्रमण ‘आत्मघाती हमलाकारी’ व्यक्तिद्वारा गरिएको दुःखद् घटना भएको बताएका छन्। राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) ले आक्रमणकारी र दोस्रो संदिग्ध दुवै प्रहरीले हालैका दिनहरूमा व्यापक छापा मारेको भारत प्रशासित कश्मीरका भएको जनाएको छ ।

    अनुसन्धानमा सफलता आएको घोषणा गर्दै एनआइएले आमिर रसिद अलीलाई ‘आत्मघाती हमलाकारी’को सहयोगी भएको बताएको छ । प्रतिआतंकवाद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनी विस्फोट गराउन प्रयोग गरिएको कार खरिदका लागि दिल्ली आएका थिए।” दुर्घटनामा चालकको नाम कश्मीरका उमर उन नबी रहेको र उनी उत्तरी राज्य हरियाणाको एक विश्वविद्यालयमा जनरल मेडिसिनका सहायक प्राध्यापक थिए ।

    सोमबार राजधानीको पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्ला नजिकै रहेको व्यस्त मेट्रो स्टेशन नजिकै विस्फोट भएको थियो । उक्त स्थान नजिकै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस अवसरमा एउटा वार्षिक सम्बोधन गरिरहेका थिए । अस्पतालका एक अधिकारीले विस्फोटमा परी १२ जनाको मृत्यु भएको बताएका छन् । मृतक सङ्ख्यामा नाबीलाई समावेश गरिएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

    आक्रमणमा परी १० जनाको मृत्यु भएको र अन्य ३२ जना घाइते भएको भारतीय अनुसन्धान निकाय (एनआइए) ले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
    एनआइएले नाबीको अर्को गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई ‘षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनको सरकारले ‘अपराधी, सहयोगी र प्रायोजक’ हरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेको छ।

    गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पर्यटकीय स्थल पहलगाममा २६ जना हिन्दु सर्वसाधारणको मृत्यु भएपछि पाकिस्तानसँग झडप भएपछि भएको यो सबैभन्दा ठूलोसुरक्षा घटना हो । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा हिमाली क्षेत्र दाबी गर्छन्। नयाँ दिल्ली र इस्लामावादबीच तनाव उच्च रहेको छ ।

  • सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

    सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

    सियोल, १ मंसिर, (रासस–एएफपी) । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ ।

    दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । पाँच वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा प्योङटेक प्लान्ट ५० निर्माण गर्ने योजना समावेश रहेको छ,”सामसुङले एक विज्ञप्तिमा जनाएको छ।

    पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, “सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।”

    सामसुङ इलेक्ट्रोनिक्सल एआई–ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ।

    दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो। अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • सडकका २५ रुग्ण ठेक्का तोडियो

    सडकका २५ रुग्ण ठेक्का तोडियो

    काठमाडौं, १ मंसिर । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७\६८ देखि २०७९\८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।


    सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गर्नुभयो । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ ।


    ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

  • घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

    घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

    १ मंसिर, काठमाडौं । नेपालमा यतिबेला हरेक दिन तापक्रम ओरालो लाग्ने क्रममा छ । हिँउदयाम सुरु भएको छ । माथिल्लो भेगमा हिमपात भएको छ भने उपत्यकासहितका क्षेत्रमा न्यूनतम तापक्रम कम भइरहेको छ । तराई भेगमा हुस्सुले जनजीवन प्रभावित हुन थालेको छ । देशभर आलोलागीका घटना बढ्न थालेका छन् । उता, प्रकृतिले समेत यस्तै आभास गराइएको छ । यहाँ केही प्रतिनिधिमुलक तस्वीर प्रस्तुत गरिएको छ ।

    पवित्र तीर्थस्थल देवघाटधामस्थित कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल । नवलपुर, तनहुँ र चितवनमा पर्ने यस स्थानमा बालाचतुर्दशीको अवसरमा स्नान गर्न र सतबिज छर्न देशभरबाट हजारौँ भक्तजनहरु आउने गर्दछन् । तस्बिरः टेकराज पोखरेल\रासस
    पोखरा महानगरपालिका-१४ सेतिदोभानस्थित फुलको हाँगामा बसेर फूलको रस चुस्दै गरेको जुरेली चरा । तस्बिर : राधिका कँडेल / रासस
    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल । यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन् ।तस्बिरः सुशीलबाबु थकाली\रासस
    धनगढी उपमहानगरपालिका–६ मटियारीमा ढकमक्क फुल्दै गरेको तोरीखेती । कैलालीमा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिरः मीन ठकुरी\रासस
    मध्यपुर थिमि– ४ विष्णुकण्डल परिसरमा धान सुकाउँदै स्थानीय किसान। यहाका स्थानीय किसानहरू धान काटिसकेपछि घरमा भित्र्याउनु अघि ८–१० दिन घाममा सुकाएर मात्र धान भित्र्याउने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ\रास
    घोराही–धारापानी सडकमा आइतबार बिहान लागेको कुहिरो। जाडो बिस्तारै बढ्दै जाँदा दाङमा कुहिरो लाग्न सुरु गरेको छ। तस्बिरः रञ्जिता अधिकारी\रासस
  • नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    १ मंसिर, काठमाडौं । नेपालको इतिहामा पहिलो पटक प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालामा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल प्रिमियर लीग क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । यो खेलले धेरै अर्थमा कीर्तिमान राख्ने छ । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएसँगै आइतबार साँझ विशेष कार्यक्रमका बीच यो रंगशाला हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गरेको हो ।

    अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । दोस्रो चरणमा थप १० अर्ब लगानीको योजना छ । ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

    त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन । पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनस् म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।

  • बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    कीर्तिपुर (काठमाडौँ) । १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्

    त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

    उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।

    एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

  • राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

    राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

    काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    वार्षिक प्रतिवेदनअनुसार आव २०८१–८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

  • गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

    गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

    काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।


    एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्नका लागि गृहले सहसचिव तथा शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनेगरी एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदल असोज ९ गते बसेको बैठकले गठन गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

    त्यसैगरी, गृह मन्त्रालयले निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि सुरु हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । प्रवक्ता काफ्लेका अनुसार निर्वाचन अवधिभर देशमा हिंसा भड्काउने, जनतालाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउनेसमेत जानकारी दिए । बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेलगायतको सहभागिता रहेको थियो ।

  • पूर्वसचिव अर्जुन कार्की पक्राउ

    पूर्वसचिव अर्जुन कार्की पक्राउ

    काठमाडौँ, ३१ मंसिर । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

    ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।

  • प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    काठमाडौँ, १ मंसिर । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
    आयोगको आइतबारको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।

    पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

    मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम विसं २०८२\०८\२० गतेदेखि सञ्चालन हुनेछ ।

    सो कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि ४०० बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

  • एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौँ, ३० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग आज एनपिएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् ।

    गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । “पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु”, मन्त्री अर्यालले बैठकमा भने ।

  • खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

    खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

    ३० कात्तिक, काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यो साझेदारी मार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ । समझदारी अनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्ने छ ।

    छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापिते एनपीएल(२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरको इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलका रूपमा लिइएको छ ।

    एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा छ । एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गरिने भएको छ । जसले गर्दा विश्वभरिका करोडौं दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्य प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभरि बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । ‘एनपीएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्‍वास छ ।’

    उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे । त्यसैगरी क्यानका महासचिव पारस खड्काले यस सहकार्यप्रति खुसी व्यक्त गरे । ‘खेलकुद र पर्यटन दुवैलाई सँगै अघि बढाउन पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभरि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र एनपीएल-२ ले यसलाई अझ उचाइमा पुर्‍याउने छ ।’

    अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुद मार्फत नेपालमा पर्यटनका अवसर विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेसन’ का रूपमा स्थापित गर्न मद्दत गर्ने छ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदीयमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

  • त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    कीर्तिपुर (काठमाडौँ), ३० कात्तिकः त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडो सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि रु १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए । “सबै पूर्वाधार सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हँुदै छ, नेपाली क्रिकेटको बढ्दो अन्तरराष्ट्रियस्तरअनुरुप सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने छ,” मन्त्री घिसिङले भने । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यमसमेत भएको उनको भनाइ थियो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे । देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।

    कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए । “कीर्तिपुरको नाम अन्तरराष्ट्रिय स्तरमा प्रख्यात हुने अवसर आएको छ”, उनले भने । कार्यक्रममा निर्माणमा महत्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गरे । देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाल एनपिएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो । देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

    यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् । सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तरराष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ ।

  • तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक महिनामै २ खर्ब माथि

    तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक महिनामै २ खर्ब माथि

    काठमाडौँ, ३० कात्तिकः चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।

  • मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत

    मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत

    काठमाडौँ, ३० कात्तिकः गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रुपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२–८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको थियो ।

    गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ७१ प्रतिशत र माछा तथा मासुको तीन दशमलव १५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ६३ प्रतिशत, मरमसलाको सात दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५१ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।

    त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ५३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३३, मधेश प्रदेशको एक दशमलव २०, बागमती प्रदेशको एक दशमलव १३, गण्डकी प्रदेशको एक दशमलव १६, लुम्बिनी प्रदेशको एक दशमलव ८९, कर्णाली प्रदेशको एक दशमलव ९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४३, तराईको एक दशमलव २९, पहाडको एक दशमलव ५० प्रतिशत र हिमालको दुई दशमलव ३३ प्रतिशत रहेको छ ।

  • कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

    कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

    काठमाडौँ, ३० कात्तिकः तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

    बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।

  • सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनचाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौँ, ३० कात्तिकः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागमती, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

    मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

    चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

    काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो

    त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताए ।
    कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उनले बताए । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि रु चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताए ।
    बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नालासहितको ग्राभेल सडक निर्माण गरिने उनको भनाइ छ ।

  • मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

    मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

    मुस्ताङ, ३० कात्तिकः घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो ।

    घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए ।

    निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो ।

    यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए । सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ ।

    चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।

  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

    लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

    काठमाडौँ, ३० कात्तिकः लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ ।

    समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन दशमलव ११ प्रतिशत र १३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादनतर्पm काठ उत्पादन गत वर्षको तुलनामा दुई दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

    केन्द्रीय बैंकका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव ४६ प्रतिशतले घटेको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३ दशमलव ८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४० प्रतिशतमात्र रहेको छ । लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५० दशमलव ६० प्रतिशत रहेको छ । नमूना छनोटमा परेका उद्योगमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप उत्पादन गर्ने उद्योगले आठ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

    त्यस्तै, समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन एक सय ७० दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरूमा ४३ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा एक प्रतिशतमात्र रहेको छ ।

    सेवा क्षेत्रअन्तर्गत नमूना छनोटमा परेका पर्यटकस्तरीय होटलमध्ये १० वटाबाट प्राप्त तथ्याङ्कबमोजिम होटल शय्या सङ्ख्या ३४ दशमलव २० प्रतिशत, शय्या बिक्री स¬ङ्ख्या ४५ दशमलव ७४ प्रतिशत र पर्यटक आगमन सङ्ख्यामा ६१ दशमलव ७८ ले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा ४२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व रकम गत वर्षको तुलनामा पाँच दशमलव ४५ प्रतिशतले ह्रास भएको छ ।

    केन्द्र्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्ममा सो प्रदेशका बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशत र कुल कर्जा प्रवाह दुई दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा छनोटमा परेका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी दुई दशमलव ४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त संस्थाबाट गरिएको कर्जा प्रवाह दुई दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

  • फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

    फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

    लिली, फ्रान्स, २९ कात्तिक (रासस–एएफपी) । उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् । चोरले कथित रूपमा बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए। प्रहरीका अनुसार चोरले लगेका गहनाहरूको मूल्य पाँच लाखदेखि १० लाख युरो अर्थात् पाँच लाख ८० हजारदेखि र १२ लाख अमेरिकी डलर बराबर रहेको छ।

    प्रहरीले घटनामा संलग्नता रहेको आशङ्कामा पक्रउ गरेका केही व्यक्तिविरूद्ध अपहरण, सङ्गठित अपराध र सशस्त्र चन्दा असुलीको बिषयमा अनुसन्धान सुरु गरेको छ । बुधबार एक फरक घटनामा धेरै व्यक्तिहरूले रूबैक्सको मुख्य हुलाक कार्यालयको नगद स्थानान्तरण धुकुटी तोडफोड गरी त्यसभित्र रहेको झोला लिएर भागेका थिए। झोलामा खाली झोलाबाहेक अरू केही थिएन। यस घटनामा संलग्न छ जनालाई त्यसै साँझ पक्राउ गरिएको थियो। गत महिना पेरिसको लुभ्र म्युजियममा एक गिरोहले दिनदहाडै छापा मारी १० करोड २० लाख अमेरिकी डलर बराबरको बहुमूल्य तथा ऐतिहासिक महत्वका गहना चोरी गरेका थिए ।

  • डिजेल र पेट्रोलको मूल्य बढ्यो

    डिजेल र पेट्रोलको मूल्य बढ्यो

    काठमाडौँ, २९ कात्तिकः नेपाल आयल निगमले डिजेल\मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर रु तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

    गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

    संयुक्त राष्ट्र, २९ कात्तिक (रासस–सिन्ह्वा) । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पु¥याएको र धेरैलाई खुला आकाशमा जाडो मौसमसँग जुध्नु परेको छ ।

    यसले वृद्ध, अशक्त र अन्य संवेदनशील समूहमा स्वास्थ्य र सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ । राहत कार्यमा संलग्न संस्थाहरूले बाढी नियन्त्रणका उपकरणहरू उपलब्ध नभएको जनाएको छ । पानी निकाल्ने, फोहोर र भग्नावशेष हटाउने साधन नहुँदा राहत कार्यमा समस्या परेको छ । लाखौं आवश्यक सामग्रीहरू अन्य देशमा रोकिएका छन् र गाजामा ल्याउन अनुमति पर्खिनुपर्ने स्थिति छ ।

    युद्धविरामपछि आवश्यक राहत ल्याउन धेरै प्रयास अस्वीकृत भएका छन् । राहत साझेदारहरूले डेर अल–बालाह र खान युनिसमा हजारौं टेन्ट, कम्बल, टारपोलिन र जाडो कपडा वितरण गरेका छन् । हालको अवस्थाले मानिसहरूलाई विस्फोटक पदार्थसँग जोखिममा पार्दैछ। बालबालिका सबैभन्दा बढी संवेदनशील छन् ।

    केहीले इन्धन सङ्कलन गर्दा चोटपटक पाएका छन् भने केहीले सुरक्षित स्थान नपाई जोखिमपूर्ण ठाउँमा टेन्ट राख्न बाध्य भएका छन् । खनिज विस्फोटक पदार्थमा काम गर्ने टोलीहरूले आवश्यक उपकरण र साधन पाएपछि थप राहत कार्य गर्न सकिने बताइएको छ ।

  • भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    नयाँ दिल्ली, २९ कात्तिक (रासस–सिन्ह्वा\एएफपी) । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ । स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।


    मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरूलाई नजिकका अस्पताल पुगेको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।

  • प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारीले गुल्मीमा भने : एमाले चुनावबाट विचलित हुने पार्टी होइन

    प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारीले गुल्मीमा भने : एमाले चुनावबाट विचलित हुने पार्टी होइन

    गुल्मी, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको बताएका छन् । एमालेले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्णराज बिष्ट र नेत्री रामकुमारी झाँक्रीले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदानस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


    उपमहासचिव ज्ञवालीले संसद् विघटनपछि देश शून्यतामा पुगेको आरोप लगाउँदै भदौ २३ र २४ को प्रदर्शनमा जेनजीका भावना र कलिला काँधमा चढेर देशलाई खरानी बनाउन अपराधीहरूले प्रतिगामी षडयन्त्र गरेको बताए । सचिव विष्टले लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्तालाई निराश नबनी पार्टीमा थप ऊर्जाशील भएर लाग्न आग्रह गरे । नेत्री झाँक्रीले सरकारले निर्वाचनको वातावरण बनाउन नसके राष्ट्रिय सहमतिमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राखिन् ।

  • एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    काठमाडौँ, २९ कात्तिकः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
    एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जहाँ यस पटक प्याराफिट र रात्रिकालिन खेल हुन सक्नेगरी लाइट जडान गरिएको छ ।

  • विभिन्न जिल्लामा एमालेको जनसभा

    विभिन्न जिल्लामा एमालेको जनसभा

    काठमाडौँ, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट राससकास्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।