काठमाडौँ, २६ कात्तिकः दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।
Category: फिचर
-

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ ।
“मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउन स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, सहमतिमा भनिएको छ ।
त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ ।
विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ ।
आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ ।
यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये रु २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजनाअन्तर्गत रु एक अर्बको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु चार करोड र थप रकम रु १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् । नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको समुपस्थितिमा उक्त सहमति भएको हो । -

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
काठमाडौँ, २६ कात्तिक । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।
यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”
यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । -

पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
इस्लामावाद, २६ कात्तिक (रासस–सिन्ह्वा) । पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालत रहेको बताए । प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ ।
घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारीहरु न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ । विस्फोटको कारण केहि गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ ।
घटनास्थलबाट आत्मघाती आक्रमणकारीहरुले शरीरका अङ्गहरू बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । यद्यपि, सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आक्रमण गरेको जनाएको छ । -

सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको घोषणा
रियाद, २६ कात्तिक (रासस\एएफपी) । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने, उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, “सन् २०२६ मेरोे विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”
“म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।” सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताए । “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,” उनले भने । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोचुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।
पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।
आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटकलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।
-

महानगर धुलोमुक्त बनाउँदै कामपा
काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ । उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए । कामपा वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।
इञ्जिनियर काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको एक हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ ।
बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलबाट नागरिक बजार चोक ९जामाचो मार्ग०, सोह्रखुट्टे– पकनाजोल, चाक्सीबारीबाट जेपी चोकसम्म, कुलेश्वर–फलफूल बजार, बालाजु हाइटको गणेश मन्दिरबाट नागार्जुन पर्खालसम्म, शितला मार्गबाट पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन मार्ग, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।
पूर्वाधार सुधार धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रु १ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
यस कार्यका लागि कामपाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । उत्तर क्षेत्रमा वडा नं १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । मध्य क्षेत्रमा भित्री वडाहरू, वडा नं ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब रु ४५ करोड लागत अनुमान गरिएको छ ।
-

‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी….’
काठमाडौँ, २५ कात्तिक । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किइन् । सन्तोष गहना पसलमा काम गर्थे । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो । गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिन्थे ।
अम्बिकाले त्यो दिन सम्झिँदै भनिन्, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरुको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गरिन् । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल । ल ।” दुई शब्द मात्रै पmर्काए । भदौ २३ गते बिहान १०ः०० बजे बिदा भएका सन्तोष रात बित्यो, फर्किएनन् ।
दिनभर बानेश्वर संसद्भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहिन् । त्यही संसद भवन नजिकै आन्दोलनमा सहभागी सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ः०० बजे मात्रै थाहा पाइन् ।
काम गर्न भनेर निस्किएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहेकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो । खुट्टाहरु काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो । काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा परिन् ।राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उनी सन्तोषका साथीहरुको सहयोगमा काठमाडाँैमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँडिन् । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाइनन् । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।
बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनुँ रु मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला ?” अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै छिन् । उनको सङ्घर्ष अब राज्यसँग छ । आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमान्को सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ ।
सन्तोष कान्छा छोरा थिए । उमेरले ७० कटेका बृद्ध बुबाआमाको हेरचाह उनले नै गर्थे । मजदुरी गरेरै जीवन चलाएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन । “ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भन्छिन्, “केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”
अम्बिकाका अनुसार सरकारले सहिदका नाममा रु १५ लाख राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो । अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत छिन् । श्रीमान बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ । सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरुको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उनी भन्छिन्, “मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”
जेनजी सहिद परिवारका समूहमा उनले यिनै कुरा उठान गर्दै आएकी छिन् । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताइन् । जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उनको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिका भन्छिन्, “के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।”
-

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
-

महिला क्रिकेट टोली भारत प्रस्थान
दोधारा चाँदनी (कञ्चनपुर), २५ कात्तिकः नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो ।
देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ ।
“विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ”, उनले भने । टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।
-

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान
काठमाडौँ, २५ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ कोरिया प्रस्थान गरेका हुन् । मन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । सञ्चारमन्त्री खरेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले बिदाइ गरेको छ ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन हुनेछन् । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडीआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरू र वरिष्ठ नीति निर्माताहरू सहभागी हुनेछन् । एसिया प्रसान्तका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्थाहरू पनि सहभागी हुने जनाइएको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।
-

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै
काठमाडौँ, २५, कात्तिकः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ ।
फागुन २० गतेसम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई भने निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका तथा जिल्लामा दुई चरणमा ६÷६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उक्त प्रयोजनका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको आयोगले जनाएको छ । -

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नु’
काठमाडौँ, २५ कात्तिकः सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई उक्त प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो ।
“यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यही कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषद्बाट मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।”
अर्जुन साह र रकिप्रसाद साहले सोमबार दायर गरेको रिट निवेदनमा अदालतले उक्त आदेश दिएको हो । अदालतले उक्त विवादलाई अग्राधिकार दिई आगामी मङ्सिर ११ गते बोलाएको छ । साथै, मङ्सिर १० गतेभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।
-

एमालेले गर्यो पालिकाहरुमा प्रदर्शन
काठमाडौँ, २५ कात्तिकः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ ।
सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
उनका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उनले जानकारी दिए । -

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त
काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
-

कागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
पर्वत, २५ कात्तिक । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै
सुवास दर्नाल/रासस
सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।
खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो । यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ ।
सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । “विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ”, उनले भने, “यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन ।”
फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । “सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ”, विभागका निर्देशक गौतमले भने ।
सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ ।सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए ।
उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङ सिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ ।काजीले भने, “यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तरराष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ ।”
सरकारद्वारा अनुमति प्राप्त
सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिए ।
विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिनुभएका शेर्पाले बताए । विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ ।“सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ”, पर्यटन विभागका निर्देशक गौतमले भने । यो मार्ग सञ्चालनमा ल्याउनसके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ ।
यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए । उनले भने, “हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ ।”
स्थानीय र अन्तरराष्ट्रिय सहकार्यको नमुना
यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गर्नुभएको छ । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिनुभएको शेर्पाले उल्लेख गर्नुभयो ।
फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । “यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो”, इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन् । “यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ”, उनले भने ।
चार लाख अमेरिकी डलर अनुमानित लागत
यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ ।
शेर्पाले भने, “मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।”
नयाँ बाटोः कम जोखिम, बढी सुरक्षा
नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए । उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ ।
अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, “यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।”
यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए ।
अन्तरराष्ट्रिय ध्यान पुनःसगरमाथातर्फ
यो परियोजनाले अन्तरराष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् ।
पर्यटनमा हुने सम्भावित प्रभाव
यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ ।
सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, “यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।”
इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म
तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।” यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, “यो केबल चढाइ होइन, इतिहाससँगको पुनःसम्बन्ध हो ।”
-

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल
म्याग्दी, २५ कात्तिक । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताए ।
कोरलानाका हँुदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए । “नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हँुदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ”, उनले भने, “हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।”
कोरलानाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार कोरलानाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको छ ।
कैलाश मानसरोवरको दर्शनका लागि कोरलानाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले बताए । हाल भारतीय र नेपाली पर्यटकहरू हुुम्ला हँुदै मानसरोवर दर्शनका लागि जाने गरेका छन् । अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति रु दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरलानाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ ।
विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरलानाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियोभने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ । पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हँुदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
मुस्ताङको बाटो हँुदै कैलाश मानसरोवर जान काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरलानाका पुग्न सकिन्छ । हवाईमार्ग हँुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे चार घण्टामा कोरला पुग्न सकिन्छ ।
नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुुरुङले बताउनुभयो । तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उहाँले बताउनुभयो । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट छ हजार ६०३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।
कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरलानाका हुँदै एक साताका लागि चीन गएका बताए । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुुनौतीका रूपमा रहेको छ ।
-

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु
२५ कात्तिक, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून ९करिब १० प्रतिशत० मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतवापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाई देखएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख,परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
सुरुङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि विकल्प नहरको बताएका थिए । आयोजना निर्माणका लागि पटेल(रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।
पटेल–रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो ।
असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३।३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो ।सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको बृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
-

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ ।
विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु÷गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।
त्यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबर मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्थाअनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो ।
यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबर मात्रै गर्न सकिनेछ । प्रतिदिन रु २० हजार बराबर मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पूरानै व्यवस्था कायम छ ।
-

दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी
२५ कात्तिक, काठमाडौं । सोमबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा भएको विष्फोटपछि अमेरिकाले सुरक्षा चूनौति जारी गरेको छ । लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको विष्फोटमा अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ । विष्फोटको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
भारतले कैयौं राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अमेरिकी दूतावासले भीडभाडमा नजान र सुरक्षा सतर्कता अपनाउन अमेरिकी नागरिकलाई अनुरोध गरेको छ । स्थानीय सञ्चार माध्यमबाट निरन्तर अपडेट लिन समेत आह्वान गरेको छ ।
-

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल
वासिङ्टन, २४ कात्तिक (रासस–एएनआई) । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदनले पारित गरेको खर्च विधेयकलाई अगाडि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खुलाउने उद्देश्य रहेको छ ।
सिनेटमा निरन्तर प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक रहेको छ । यो द्विदलीय सहमतिलाई केन्द्रमा राखिएको प्रयासले हप्तौँ लामो गतिरोध अन्त्य गर्ने सम्भावना देखाएको छ । सिबिएस न्युजका अनुसार मतदानअघि सिनेटमा एउटा सहमति भएको थियो जहाँ कम्तीमा आठ डेमोक्रेट सिनेटर कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न तयार थिए । यो सहमति सिनेट रिपब्लिकन, मध्यमार्गी डेमोक्रेट र ह्वाइट हाउसबीचको केही दिनदेखिको वार्ताबाट सम्भव भएको हो ।
सिनेटका बहुमतका नेता जोन थुनले सदनद्वारा पारित प्रस्तावलाई अघि बढाउने र त्यसपछि ‘मिनीबस’ भनेर चिनिने व्यापक विनियोजन प्याकेजमार्फत लामो अवधिको सरकारी कोष विस्तार गर्ने रणनीति तयार पारिरहनुभएको छ । सिनेटका विनियोजनकर्ताहरूले आइतबार तीन दीर्घकालीन खर्च विधेयकको पाठ सार्वजनिक गरे । उक्त विधेयकले जिओपीको शटडाउन समाधान योजनाको आधार बनाएको छ ।
सिएनएनका अनुसार यो सम्झौता सिनेटका नेता थुन, ह्वाइट हाउस र डेमोक्रेटिक सिनेटर जीन शाहिन (न्युह्याम्पशायर), म्यागी हसन (न्युह्याम्पशायर) र स्वतन्त्र सिनेटर एङ्गस किङ (माइन) बीच भएको हो । सम्झौतामा डेमोक्रेटहरूको पुरानो माग अनुसार स्वास्थ्य बीमा कर क्रेडिट विस्तार गर्ने भविष्यको मतदानसमेत समावेश गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै सटडाउन अन्त्य हुने आशा प्रकट गरे । उनले भने, “हामी सटडाउनको अन्त्य नजिकै छौँ । हामीले अवैध आप्रवासीहरूलाई कुनै पनि रकम दिने सहमति गरेका छैनौँ र मलाई लाग्छ डेमोक्रेटहरूले अब यो बुझिसकेका छन् । चाँडै नै समाधान हुनेछ ।”
सिएनएनका अनुसार सम्भावित सम्झौताले सरकार पुनः सञ्चालन गर्न अस्थायी ‘स्टपग्याप’ उपायमार्फत जनवरीसम्म कोष विस्तार गर्नेछ । यो प्रमुख सङ्घीय एजेन्सीहरूलाई बजेट प्रदान गर्ने ठूलो विनियोजन प्याकेजसँग जोडिएको छ । आइतबार साँझ ८ः३० देखि ९ बजे ९स्थानीय समय० बीच मतदान हुने अपेक्षा गरिएको थियो ।
सिनेटका डेमोक्रेटिक नेताहरूले अहिलेसम्म सार्वजनिक रूपमा सहमत समर्थन जनाएका छैनन् । तर हाउस डेमोक्रेटहरूले प्रस्तावित सम्झौताप्रति कडा आलोचना गर्दै सोमबारका लागि आफ्नै ककस बैठक बोलाएका छन् । यदि प्रस्ताव पारित भयो भने सिनेटले हाउस–पारित स्टपग्याप विधेयकमाथि मतदान गर्नेछ । कम्तीमा आठ डेमोक्रेटहरूको समर्थन जुटेपछि यसमा व्यापक कोष प्याकेज समावेश गरी अन्तिम पारितिका लागि पुनः सदनमा पठाइनेछ ।
दुवै सदनबाट अनुमोदन भएपछि विधेयक राष्ट्रपति ट्रम्पको डेस्कमा पुग्नेछ, जसले एक महिनाभन्दा बढी समयदेखि सङ्घीय सेवा क्षतविक्षत भएको सटडाउन अन्त्य गर्नेछ । यद्यपि, सम्पूर्ण प्रक्रिया पूरा हुन अझ केही दिन लाग्ने देखिन्छ ।
-

लाल किल्ला विष्फोटबारे अहिलेसम्म के पत्ता लाग्यो ?
नयाँदिल्ली, २४ कात्तिक (रासस–एएफपी) । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन् । उनले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको जानकारी दिए । गृहमन्त्री शाहले एएनआईसँग भने, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।” उनका अनुसार घटनामा केही मानिसले ज्यान गुमाएका छन् ।
अमित शाहले भने, “टोलीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् र यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।”
’मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु । घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ । सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ,” उनले भने ।प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय राजधानीको लाल किल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।
स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपु¥याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् । यसअघि, दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”
-

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु
क्विटो, २५ कात्तिक (रासस–एएफपी) । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । जेल प्रशासन एसएनएआईले एक विज्ञप्तिमा मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् । घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि स्थलमै कार्यरत छ ।
स्थानीय बासिन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेका थिए । बिहान ३ बजे तिर सुरु भएको हिंसा केही घण्टामै नियन्त्रणबाहिर पुगेको थियो । एसएनएआईका अनुसार प्रारम्भिक भिडन्तमा चार जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएका थिए । त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण पुनःस्थापना गरेको बताइएको छ ।
अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ । इक्वेडरका जेलहरू पछिल्ला वर्षहरूमा लागुऔषध तस्करी गिरोहहरूको प्रमुख सञ्चालन केन्द्र बनेका छन्, जसले अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक सङ्घर्ष गर्दै आएका छन् । सन् २०२१ यताका विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ ।
सरकारले यस महिनामा अर्को प्रान्तमा निर्माण सम्पन्न भएको नयाँ अधिकतम सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यही स्थानान्तरण योजनासँग पछिल्लो हिंसा जोडिएको हुनसक्ने अधिकारीहरूको विश्वास छ । गत सेप्टेम्बरमा मचाला जेलमै भएको अर्को भिडन्तमा १३ कैदी र एक जेल अधिकारीको मृत्यु भएको थियो । वर्तमान घटना त्यसै शृङ्खलाको अर्को दुःखद अध्याय बनेको छ ।
-

नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु
कानो (नाइजेरिया), २४ कात्तिक (रासस\एएफपी) । उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण सङ्घर्षबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका हुन् ।
बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध सुरु भएको थियो । दुवै समूहबीच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको बताइएको छ ।
नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले भने, “हामीले प्राप्त गरेको विवरणअनुसार लडाइँमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन् ।” त्यसबेलादेखि हिंसक गतिविधि त्यागेर यस क्षेत्रमा जिहादीहरूका गतिविधि निगरानी गर्दै आएका बोको हरामका एक पूर्व लडाकू सादिकुले पनि भने, “झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिए र उनीहरूको ठूलो मात्रामा हतियार पनि जफत गरियो ।”
सादिकुका अनुसार बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमायो । उनले भने, “दुई समूहले एकअर्कामाथि प्रत्यक्ष आक्रमण गर्न थालेपछि यो पछिल्ला वर्षहरूको सबैभन्दा भीषण झडप हो ।” सादिकु हाल बोर्नो राज्यको राजधानी मैदुगुरीमा बसोबास गर्दै आउनुभएको छ । उक्त क्षेत्र लामो समयदेखि इस्लामिक उग्रवादको केन्द्रविन्दु रहँदै आएको छ ।
यसैबीच, नाइजेरियाको एक गुप्तचर स्रोतले पनि झडपमा ‘१५० भन्दा बढीको मृत्यु भएको’ अनुमान गर्दै घटनाको परिणाम नजिकैबाट पछ्याइरहेको बताएको छ । स्रोतले भनेको छ, “हामी यो लडाइँबारे सचेत छौँ र यसले दुवै समूहको क्षमतामा ठूलो आघात पुर्याएको छ, जुन हाम्रो सुरक्षाका लागि सकारात्मक सङ्केत हो ।”
आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि आइएसडब्लुएपी र बोको हरामबीचको वैचारिक मतभेद सन् २०१६ मा सुरु भएको हो । त्यसयता, दुवै समूहबीच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्धहरू भएका छन् । लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । यहाँ जिहादीहरूले प्रायः आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता नाइजेरियाली सेनाले उग्रवादीहरूविरुद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबीचको आन्तरिक सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार लडाइँपछि धेरै शवहरू अझै पनि क्षेत्रका दलदली भागमा फेला परिरहेका छन् र बाँकी बाँचेकाहरू वरपरका गाउँहरूमा भागेका छन् । सुरक्षाकर्मीहरूले भने अझै पनि युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेका छन् । यो पछिल्लो घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षास्थितिलाई फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित पारेको छ ।
-

७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा
वासिङ्टन, २४ कात्तिक (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिएका छन् । ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भनेका छन्, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको छ।”
सूचीमा रहेका नामहरू एरिजोना, जर्जिया र मिशिगन लगायतका व्यापक चुनावी प्रतिस्पर्धा हुने राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा मुछिएका थिए । ती राज्यहरूमा जो बाइडेनले सन् २०२० को राष्ट्रपति दौडमा विजय हाँसिल गर्न सफल भएका थिए । ट्रम्प र उनका सहयोगीहरूको समर्थनमा रहेको त्यो षड्यन्त्रले प्रदर्शनलाई बढावा दिन मद्दत गरेको थियो र सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल (संसद भवन_मा आक्रमण गर्ने दङ्गाग्रस्त भीडमा परिणत भएको थियो।
चार पृष्ठको क्षमादानको पत्रमा नाम उल्लेख भएकाहरू मध्ये कसैलाई पनि संघीय स्तरमा आरोप लगाइएको थिएन तर यो निर्देशनले भविष्यका प्रशासनहरूलाई कथित सह–षड्यन्त्रमा संलग्न सहयोगीहरूलाई मुद्दा चलाउनबाट रोक्न सक्छ। माफी पाएकाहरूमा चुनाव परिणामको प्रमाणीकरण रोक्नको लागि रणनीतिहरू प्रस्ताव गरेका जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि रहेका छन्।
ट्रम्पले लामो समयदेखि सङ्घीय अपराधका लागि आफुलाई नै माफी दिने शक्ति पनि उनीसँग रहेको बताउँदै आएका थिए । तर उनले अझै पनि यो सिद्धान्तको परीक्षण गरेका छैनन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित वा मतदानमा धाँधली भएको पर्दाफास गर्ने प्रयासका लागि माफी दिने पत्रमा ट्रम्पले भनेका छन्, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन ।”
-

स्थानीय स्तरमा उन्नत जातका धानखेतीतर्फ आकर्षण
गलेश्वर (म्याग्दी) २५ कात्तिकः गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।
करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो । तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब मुस्किल हुने भएको छ । जिल्लास्थित कृषि प्राविधिकका अनुसार अहिले यहाँ स्थानीय जातका धान लगाउने चलन करिब हराइसकेको छ । रैथाने धानका विकल्पमा नयाँ–नयाँ उन्नत जातका धान लगाउने चलन बढ्दो छ । बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसमेत भएको ‘जौधान’ लगाउन छोडेपछि यहाँस्थित लोकप्रिय एवं प्रसिद्ध ‘भुजा’ इतिहासमा सीमित बन्न पुगेको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ । जिल्लाको मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल गरिरहेको कृषि प्राविधिक प्रशान्त पौडेल बताउँछन् । रैथाने जातका धान बालीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर परम्परागत जातहरू संरक्षण गर्ने अभियानमा पालिका जुटेको छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित ‘जिन’ बैङ्कमा राख्ने गरिएको प्राविधिक पौडेल बताउँछन् ।
वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउँछन् । उनका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ । “उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उनले भने । समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ ।
-

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
निजगढ, २५ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरु हात्ती प्रभावित क्षेत्र गएका छन् । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन् । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताए । हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ ।
राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताए ।
-

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, २५ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टबिरुद्ध आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७८\७९ मा नगरपालिकाको वडा नं. ५ स्थित खदाङदेखि ल्हाासम्मको मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमिता गरेको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
उक्त आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा सङ्लग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा आयोजनाका इञ्जिनियर शिशिरकुमार गुरुङ, दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र निर्माण कम्पनीका भीमराज न्यौपानेलाई समेत प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपितविरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ छपैसा बिगो कायम गरिएको छ । -

एनपिएलको खेल तालिका सार्वजनिक
काठमाडौं, २४ कात्तिकः नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ ।
प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।
-

राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश
काठमाडौँ, २४ कात्तिकः घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे ।
एमालेका कार्यालय सचिव डा भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताए । एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । सोही आह्वानअनुुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।
