Category: फिचर

  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    दोधारा चाँदनी (कञ्चनपुर), २८ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे ।
    उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भने, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए ।

    उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उहाँले काठका भाँडाकुँडा तयार पार्दै आएका छन् । “अहिले मासिक रु ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो”, महराले भने, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ ।” अहिले उनले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्छन् । उनले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताए । “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु”, उनले भने, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।”

    पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बनेका छन् महरा । उनको पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ । “आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो । यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ”, महराले भने, “अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ ।” उहाँले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताए ।

  • सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

    सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

    काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।

    कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन् । बर्खायाममा कुमारीघरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो ।

    समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्वविज्ञ पुरुषोत्तम डङ्गोल थिए । सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए ।
    अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारीघरका नामले चिनिने कुमारीवहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिन कीराले खाएर स–साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिए ।


    बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ फुटेर खसेको छ, आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिङ्गटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् ।

    श्री कुमारी घरको ऐतिहासिक पृष्ठभूमि 
    राजा जय प्रकाश मल्लका पालामा वि. सं. १८१४ मा यो वहाल निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेश द्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीन तले चौघेरा संरचना सहित झिंगटी छाना भएको घर बसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।

  • नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    काठमाडौँ, २७ कात्तिकः नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

    आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो ।

    यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए । भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।


    त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्नुहुँदै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे । भारतका मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त देश रहेको बताउँदै छलफलमा रहेका विषयहरुलाई शीघ्र निष्कर्षमा पु¥याउन दुवै देशका पदाधिकारीलाई निर्देशन दिए । उक्त भेटघाटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

  • निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

    निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

    काठमाडौँ, २७ कात्तिकः गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उनलाई गत भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हद लगाइएको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने ।” आयोगले यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

  • भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

    भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

    काठमाडौँ, २७ कात्तिकः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न आफू प्रतिबद्ध हुने बताएका छन् । प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएर आज प्रहरी मुख्यालयमा सम्बोधन गर्दै उनले गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरूद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न कटिबद्ध रहेको बताए । जनविश्वास आर्जन गर्न, जनअपेक्षाअनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वलाई निस्तेज गराई भयरहित समाज निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीको साहस, चरित्र र व्यावसायिकतालाई साङ्गठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामथ्र्यका रूपमा लिएको बताउँदै विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकाङ्क्षाअनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गरे । उनले असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकको सेवाका लागि नेपाल प्रहरीका सकलदर्जाले लिएको अग्रसरता, साहस र धै¥र्यताको प्रशंसा गरे । जस्तोसुकै प्रतिकूल परिस्थितिको अवस्थामा पनि तत्काल पुनःजागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामथ्र्य रहेको उनको भनाइ छ ।

    उनले भने, “पछिल्लो समय विभिन्न आयामका सुरक्षा चुनौतीले समग्र सुरक्षा संवेदनशीलता बढ्दै गएको छ, यो विषम परिस्थिति र सङ्कटपश्चात् उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरीप्रति असाधारण किसिमका अपेक्षाहरू छन्, म पूर्ण रूपमा जानकार र सजग छु ।” महानिरीक्षक कार्कीले साइबरसम्बन्धी अपराध एवं आर्थिक तथा वित्तीय प्रकृतिका अपराध असाधारण रूपमा वृद्धि भइरहेको, लागुऔषधको दुव्र्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्था रहेको पनि उल्लेख गरे।

  • लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    लुम्बिनी, २७ कात्तिकः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको सुनुवाइका लागि आज तोकिएको पेसीमा छलफल हुँदा सर्वोच्च अदालतबाट यस मुद्दामा यसअघि भएको आदेशको सक्कल मिसिल झिकाउने आदेश भएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।
    यसअघि यही कात्तिक २० गतेको पेशीमा न्यायाधिश वासुदेव आचार्य र अर्यालको इजलासमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको सुरु आदेशलगायत अन्य फाइल मगाउने आदेश भएको थियो ।

    सोही आदेशअनुसार जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो । यसअघि कात्तिक १३ गते तोकिएको पेशी जोशीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधिशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले लामिछानेसँगै जोशीको फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

    सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । गत साउन २६ गते जिल्ला अदालतका न्यायाधिश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    लामिछानेले जस्तै जोशीले त्यति नै बिगोवापतको जमानत पेस गरेका थिए । तर दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो । सहकारी संस्था रकम ठगी र सङ्गठित अपराध अभियोगमा अदालतको आदेशबाट लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

  • लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

    लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

    काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो ।

    स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राससलाई जानकारी दिए । स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए । यो संरचना पूर्वऊर्जा मन्त्री दीपक खड्काको कम्पनीले बनाएको हो ।

  • अब विदेशबाटै नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    अब विदेशबाटै नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ, २७ कात्तिकः नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताएकी छिन् । उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।

    मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ । तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।

  • कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    म्याग्दी, २७ कात्तिकः कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने ।


    यसअघि मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

  • ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    काठमाडौँ, २७ कात्तिकः निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छिन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताए । उनले भने, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेकी छिन् । चलचित्रमा उनको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।”

    निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बता्रए । चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तरराष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।


    “हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनु पर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्”, निर्देशक चाम्सले भने । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो । निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।

  • दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

    दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

    राष्ट्रिय समाचार समिति (रासस)
    दोधारा चाँदनी (कञ्चनपुर), २७ कात्तिकः भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गर्नुभएका उहाँ अहिले डेरी मालिक बन्न सफल भएका छन् ।


    रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । “भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भने, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।” सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे ।

    त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उनले कामदार राखेका छन् । “दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,” उनले भने, “अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।”

    यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका छन् । “दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भने, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।”

    पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन् ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौँ, २७ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

  • हुम्लामा चार दिनदेखी विद्युत् आपूर्ति बन्द

    हुम्लामा चार दिनदेखी विद्युत् आपूर्ति बन्द

    अदानचुली (हुम्ला), २७ कात्तिकः सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।

    मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए ।

    मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर निर्देशन दिएका छन् । शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए । त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ ।

  • भोजपुरका विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    भोजपुरका विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

    गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भने, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”

    गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् । शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ ।

    मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

  • दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

    दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

    लिमा, २७ कात्तिक (रासस–एएफपी) । पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्। दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो।


    पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो। “हामीसँग ३७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोले भने । लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो। बसमा ६० जना यात्रु सवार थिए ।

    स्थानीय मिडिया रिपोर्टका अनुसार आपसमा दुई सवारी साधन ठक्कर खाएपछि गाडी लगभग २०० मिटर (६५० फिट) गहिरो खोँचमा खसेको थियो भने पिकअप ट्रक सडक नजिकै पल्टेको थियो। अत्यधिक गति, खराब सडकको अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरूमा ट्राफिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

  • बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

    बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

    दारसाना (बङ्गलादेश), (रासस\एएफपी) । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ । सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ ।

    विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बङ्गलादेशमा मदिरा उत्पादन र बिक्री कडा रूपमा नियमनमा राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् । यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताए ।


    “कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो”, हसनले भने, “हामीले आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।” बङ्गलादेश पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहहरूप्रति कडा नीति लिइरहनुभएको थिइन् । उनी भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्तिहरू पुनः दृढ बनेका छन् ।

    इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि सङ्गीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चङ्गा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिहरूमाथि प्रतिबन्धको माग गर्न थालेका छन् । यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ ।

    दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनहरूको आवाजबीच बोतलहरू भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादनहरू ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ । “हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ”, हसनले स्पष्ट पार्दै थपे, “हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।”

    बङ्गलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर–मुस्लिमहरूलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ । नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ ।

    त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदारहरू पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दू कामदारहरूबीच लोकप्रिय छ । बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम (मुख्यतया हिन्दू) रहेको अनुमान छ ।यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलहरूले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ ।

    अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादनहरू सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् । ४२ वर्षीय माछा व्यापारी प्रिन्स मामुनले आफू दुई दशकदेखि क्यारोका उत्पादन सेवन गर्दै आएको बताए । “यो आयातित ब्रान्डभन्दा सस्तो र भरपर्दो छ”, उनले भने, महिनामा करिब २० दिन पिउने मामुनसँग आधिकारिक अनुमति पनि छ । “म क्यारोका उत्पादनहरू कुनै शङ्का बिना पिउँछु”, उनले भने ।

    त्यस्तै, बोटलिङ युनिटमा कार्यरत ३८ वर्षीय शाह आलम नामका कर्मचारी कट्टर मुस्लिम हुनुहुन्छ तर कहिल्यै मदिरा नपिएको बताउँछन् । तर उनले डिस्टिलरीले स्थानीय समुदायमा रोजगारी, शिक्षा र सामाजिक सहयोगमार्फत पु¥याएको योगदानको प्रशंसा गर्छन् । “म आफैँ केही पिउँदिनँ, न त बिक्रीमा संलग्न छु”, आलमले भने, “तर म गर्वका साथ भन्छु—यहाँ मैले गरिरहेको काम मेरो इमानदार पेशा हो ।” यसरी, धार्मिक र सामाजिक प्रतिबन्धबीच पनि क्यारो एन्ड कम्पनीको सफलताले बङ्गलादेशको अर्थतन्त्रमा अद्भुत विरोधाभास र अनपेक्षित उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।

  • जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

    जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

    इस्तानबुल, २७ कात्तिक (रासस–एएफपी) । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।

    विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भने, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”

    दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ । जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । “विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो”, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।

    दुर्घटनामा परेको सी–१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् । टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ । टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ ।

  • ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री

    ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री

    काठमाडौँ, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे । उनले भने, “डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ, यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रूपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ ।”

    सञ्चारमन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसनसम्बन्धी नीति बनाएर संरचनागतरूपमा काम अगाडि बढाएको उल्लेख गरे । उनले भने, “नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ । राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ । डिजिटल नेपालको रोडम्यापको मस्यौदा तयार गरिएको जानकारी फोरमलाई गराइएको छ ।”

    सञ्चारमन्त्री खरेलले कोरियन सरकार, विश्व बैंकलगायत अन्य विभिन्न साझेदार संस्थाहरूसँग नेपाल सरकारको तर्फबाट आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको जानकारी दिए । उनका अनुसार विशेषगरी कोरियन सरकार र विश्व बैंकलगायत साझेदार संस्थाको तर्फबाट पनि नेपाल सरकारसँग डिजिटल र एआई ट्रान्सफरमेसनको लागि आगामी दिनमा सहकार्य र साझेदारिताका साथ अघि बढ्ने समझदारी बनेको छ ।

    सञ्चारमन्त्री खरेलले भने, “डिजिटल र एआई विषयमा साझेदारी भन्नाले विभिन्न आर्थिक साझेदारी क्षमता अभिवृद्धि गर्न, ‘एक्सपोजर भिजिट’, ‘ज्ञान आदानप्रदान’ लगायतका विषयमा आगामी दिनमा साझेदारी गर्ने र नेपाललाई सहयोग गर्ने कुराकानी भएको छ ।” समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारिताका विषयमा धारणा राख्नुभएको थियो । त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)बीच पनि आपसी सहकार्य र सझेदारीताका विषयमा परामर्श भएको थियो ।

    फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए । फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल मङ्गलबार कोरिया गएका हुन् । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

    सञ्चारमन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन भएका छन् । डिजिटल र एआई ट्रान्सफर्मेसन : एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि तथा एसिया प्रसान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्थाहरू पनि सहभागिता रहेको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • सदर चिडियाखानामा अवलोकनमा राखियो कालो रङको चितुवा

    सदर चिडियाखानामा अवलोकनमा राखियो कालो रङको चितुवा

    काठमाडौँ, २६ कात्तिक । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा ९ब्ल्याक प्यान्थर० अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले राससलाई जानकारी दिए ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।

  • प्रहरी महानिरीक्षक खापुङको बिदाइ

    प्रहरी महानिरीक्षक खापुङको बिदाइ

    काठमाडौँ, २६ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाउनुभएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन् । तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।

    उनले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।” गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताए । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।

  • गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

    गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

    काठमाडौँ, २६ कात्तिकः काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।

    स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए । उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताए ।


    नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिए । योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।

    गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

    गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।

  • प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल, चुनावको तयारी तीव्र

    प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल, चुनावको तयारी तीव्र

    काठमाडौँ, २६ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतसँग छलफल गरेकी हुन् । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी गराएको छ ।

    आयोगमा दर्ता रहेका र कम्तीमा वडा सदस्यसम्म विजय भएका दलसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताइन् । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमाभन्दा अझै सहज वातावरण बन्दै गएको भण्डारीको भनाइ थियो ।

    आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको र आयोग यसका लागि सक्षम आयोगले आफ्नो अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ ।

    यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्कलन गरेको जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ

    निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन् । यस्तै निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राखेकी थिइन् ।

  • नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    काठमाडौँ, २६ कात्तिकः नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा सुरु भएको छ ।

    जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ । यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ ।

    महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।

    यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

  • सिन्धुलीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते

    सिन्धुलीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते

    कमलामाई (सिन्धुली), २६ कात्तिक ः सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र.०२–००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।

    त्यस्तै दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।


    दुर्घटनाग्रस्त मप्र।०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएकोे छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए ।

  • यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

    यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

    काठमाडौँ, २६ कात्तिकः बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१\८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई रोकथाम गर्दै ती प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ ।

    बागमती प्रदेशका केही चुनौतीहरु उल्लेख गर्दै अध्ययनमा भनिएको छ, “शिक्षामा गुणात्मक विकास गर्ने कार्य तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुका साथै सहज पहुँच विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।” सहरी क्षेत्रमा बढ्दो जनसङ्ख्या वृद्धिले कृषियोग्य भूभाग सङ्कुचन हुनुका साथै पहाडी तथा हिमाली क्षेत्रमा बसाइसराइका कारण जमिन बाँझो हुने प्रवृत्तिका कारण कृषियोग्य जमिनको संरक्षण तथा उपयोगमा सन्तुलन मिलाउने कार्य चुनौतीपूर्ण रहेको अध्ययनमा देखाइएको छ ।

    जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग, सेवा क्षेत्रमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि आवश्यक लगानी बढाउने कायलाई पनि जटिलताको रुपमा लिइएको छ । कृषिमा आश्रित जनसङ्ख्यालाई पूर्णकालीन रोजगारीका अवसर सिर्जना गर्ने र कृषि उत्पादन बृद्धि गर्ने कार्यलाई पनि केन्द्रीय बैंकले चुनौतीको रुपमा ठहर गरेको छ ।

    उपत्यकालगायत आसपासका क्षेत्रमा जग्गाको मूल्यमा वृद्धि भएसँगै उद्योग स्थापनाका लागि निजी क्षेत्रले अधिक मूल्यमा जग्गा लिजमा लिनुपर्ने र सोकारण उत्पादित वस्तुतथा सेवाको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउने कार्यलाई जटिलताका रुपमा लिइएको छ । यस प्रदेशमा चुनौती मात्रै होइन सम्भावना पनि उत्तिकै रहेको अध्ययनमा समावेश छ । काठमाडौं, भक्तपुर, ललितपुरजस्ता ऐतिहासिक स्थललाई धार्मिक सांस्कृतिक पर्यटनमा ठुलो योगदान पु¥याउन सक्ने सम्भावना छ ।

    नेपालको अन्तरराष्ट्रिय विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल यसै प्रदेशमा रहेको र अन्य प्रदेशको तुलनामा पर्याप्त पर्यटकीय पूर्वाधार रहकाले पनि छिट्टै आर्थिक विकास हुन सक्ने केन्द्रीय बैंकको अध्ययनमा समावेश छ । पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशको चौतर्फी विकास गर्ने सम्भावना रहेको र यस प्रदेशमा उपलब्ध भौगोलिक विविधता तथा अन्य प्रदेशको तुलनामा कृषि, पर्यटन, जलविद्युत् तथा व्यापारका क्षेत्रमा रहेको लगानीका कारण रोजगारीको अवसर र आर्थिक वृद्वि हासिल गर्ने सम्भावना उच्च छ ।

    सूचना प्रविधि तथा बढ्दो सञ्जालीकरणले उपलब्ध गराएको अवसरको उपयोगमार्फत प्रदेशमा दिगो आर्थिक वृिद्व हासिल गर्ने सम्भावना उच्च रहेको अध्यनमा देखिएको छ । यस प्रदेशमा रहेका उच्च बहावयुक्त नदी एवम् जलस्रोतको उच्चतम प्रयोगमार्फत जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहेको छ ।
    कृषि क्षेत्रमा नवीनतम प्रविधि, गुणस्तरीय बिउ बीजन एवम् प्राविधिक सहजीकरणको उपयोग गरी कृषिमा व्यावसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने तथा भौगोलिक अवस्थिति अनुसार जडिबुटीको खेती गरी कृषकहरूको आयआर्जन एवम् सो उत्पादनहरूलाई अन्तिम वस्तुका रूपमा प्रशोधन गर्ने उद्योग स्थापना गरी बहुआयामिक लाभ लिन सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ ।

    पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रुपमा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहको अध्ययनमा देखाइएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत रहने अनुमान छ । गत वर्ष यस्तो वृद्धिदर तीन दशमलव सात प्रतिशत रहेको थियो ।

    आर्थिक वर्ष २०८१–८२ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु २२ खर्ब ३० अर्ब २३ करोड पुग्ने अनुमान छ । समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११ दशमलव आठ प्रतिशत, ११ दशमलव एक प्रतिशत र ७७ दशमलव एक प्रतिशत रहने अनुमान छ ।

    समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७ दशमलव एक प्रतिशत, ३१ दशमलव सात प्रतिशत र ४५ दशमलव चार प्रतिशत रहने अनुमान छ । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी रहेको छ । घरजग्गा कारोबारको अंश १५ दशमलव दुई प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको अंश ११ दशमलव आठ प्रतिशत, वित्तीय तथा बीमाको अंश ११ दशमलव दुई प्रतिशत, यातायात तथा भण्डारणको अंश नौ दशमलव तीन प्रतिशत तथा उत्पादनमूलक उद्योगको अंश चार दशमलव नौ प्रतिशत रहको छ ।

  • हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

    हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

    २६ कात्तिक, ढोरपाटन । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

    असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । वर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ ।

    बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्ने हुँदा वर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, “दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।”

    नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले वर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरुले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकीपाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् ।


    “यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले–पहिले गोठाला मात्रै हुन्थ्यौैँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ”, सुनारले भने, “अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।”

    चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँखेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र वर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् ।

  • अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

    अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

    सिड्नी, २६ कात्तिक (रासस–एएफपी) । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ(सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल ९ह्याकेरियापिस० लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ । यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मङ्गलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जङ्गली फूलहरूको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाएकी हुन् ।

    डा. प्रिन्डरगास्टका अनुसार उक्त मौरीको महिलाको अनुहारमा देखिने साना र तीखा सिँगहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । “महिलाको अनुहारमा यी अविश्वसनीय सिँगहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ”, उनले भनिन् । नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उनले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठानेकी हुन् ।


    डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भनेकी छिन् । उनले भनिन्, “यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको सङ्केत दिन्छ ।”

    विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवहरूको संरक्षणका लागि चेतना जगाउने उनले आशा व्यक्त गरिन् । “धेरै खानी कम्पनीले अझै देशी मौरीहरूको अध्ययन गर्दैनन्”, उनले भनिन्, “त्यसैले हामीले केही प्रजातिहरूलाई आधिकारिक रूपमा वर्णन गर्नुअघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीहरूले खतरामा परेका बोटबिरुवाहरू र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।”

    डा. प्रिन्डरगास्टले भनिन्, “यदि हामीलाई कुन मौरीहरू कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवाहरूमा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा बेहोर्न सक्छौँ ।” वैज्ञानिकहरूका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवाहरू परागणकर्ताहरूमा, विशेष गरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजातिहरू हाल लोप हुने सङ्कटमा छन् । नयाँ ‘लुसिफर मौरी’ को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् ।

  • मनसुनः औसतभन्दा बढी बर्षा, जनधनको क्षति कम

    मनसुनः औसतभन्दा बढी बर्षा, जनधनको क्षति कम

    काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।

    गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

    प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।

    भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो ।

    सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

    सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो ।

    यस्तो छ १० वर्षको विवरण

    प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो ।

    यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो ।

    त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    मुग्लिन (चितवन), २६ कात्तिकः मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

    सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

    काठमाडौँ, २६ कात्तिकः दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।