Category: फिचर

  • सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन

    सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन

    काठमाडौं, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गरे ।


    उहाँले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे ।


    सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे । दुबै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

  • बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

    बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

    सन्तोष गौतम–रासस
    म्याग्दी, ७ मङ्सिर । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन् ।

    जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे ।
    “विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भए”, उनले भने, “प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।” गुरुङले श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको गुनासो गरे ।

    केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो । बेनी अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । “हामीले गरेको विज्ञापनमा कोही आउनुभएन”, उनले भने, “प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।” ‘निक साइमन इस्टिच्युट’को सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा सुरु भएको थियो । दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।

    जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द भएको छ । गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पतालहरू नेतृत्वविहीन भएका हुन् ।

    प्रदेश सरकारको बेवास्ता : प्रदेशसभा सदस्य भण्डारी

    गण्डकी प्रदेशका ११ वटै जिल्लाका अस्पताल व्यवस्थापन समिति नेतृत्वविहीन छ । अस्पताल व्यवस्थापन समिति रिक्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको र प्रदेश अस्पताल बेनीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको विषयमा कात्तिक तेस्रो साता बसेको गण्डकी प्रदेशसभाको बैठकमा म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित हरिबहादुर भण्डारीले ध्यानाकर्षण गराएका थिए ।


    उहाँले भन्नुभयो,“मैले शनिबार मात्र स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई फोनमार्फत तत्काल समस्याका विषयमा जानकारी गराएँ , उहाँले एकहप्ताभित्र समस्याको समाधान गर्छु भन्नुभएको छ । यसमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ । स्वास्थ्य जस्तो विषयमा सरकारले वेवास्ता ग¥यो ।” बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचारकक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलायसिस सेवा सञ्चालन गर्दै आएको छ । यस अस्पतालमा बर्सेनि ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।

  • म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

    म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

    तेह्रथुम, ७ मङ्सिरः म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताए ।


    नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ । यो सडक तेह्रथुम–पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

    कुम्मायक गाउँपालिकाका लागि सबैभन्दा नजिकको ठूला हटिया म्याङलुङ भएकाले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुङ्गुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ । पहिला घण्टौँ हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने किसान यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्याक्टरमार्फत सहज रूपमा आवतजावत गर्दै आएका छन् ।

    वर्षात्को पानीले खाल्डाखुल्डी बनाएर सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि सडक स्तरोन्नतिपछि भने कुम्मायकबाट म्याङलुङको हटियामा आउने स्थानीयवासीलाई थप सहज हुने छ । म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवतजावत गर्न पनि यसबाट सुविधा पुग्ने छ ।

  • शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह

    शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह

    काठमाडौँ, ७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति रु ५३ लाख सात हजार ५५० बराबर भयो ।

    त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो । त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

    प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकैदिन रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागीका घटना भए । झापमा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति रु १३ लाख ६५ हजारबराबर भयो । त्यस दिन जनावर आक्रमणका पाँच घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।

    त्यस्तै, मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण रु दुई करोड ७६ लाख ३१ हजारबराबरको क्षति भयो । प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै दुई दुईवटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासीपूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका एक–एक घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने रु ३१ लाख १४ हजारबराबरको भौतिक क्षति भयो ।

    त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर दुई जना घाइते भए भने रु १४ लाख ९३ हजारबराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानीका कारण भएको छभने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ ।

    जनचेतनाको अभाव एवं लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुनपुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

  • चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु

    चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु

    मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

  • व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

    नारायण अधिकारी – रासस
    चितवन, ७ मङ्सिरः अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट ९३० वटाको० रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु ५५ ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।


    सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु सात दशमलब ८० मा बिकेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । कँडेलले भने, “नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।” अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलब ५७ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उहाँले बताउनुभयो ।

    नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए । उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु पाँच सय ३० पुगेकामा क्रमशः रु चार सयमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

  • दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम

    दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम

    काठमाडौँ, ७ मङ्सिरः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ ।

    वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ ।

    सो सहमतिलगत्तै महाअभियानले आजदेखि हुनेगरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ । अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।यो पार्टी दुर्गा प्रसाईको हो ।

  • राजधानीमा एमालेले गर्यो प्रदर्शन

    राजधानीमा एमालेले गर्यो प्रदर्शन

    काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत भएको हो । जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरे ।


    यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा ¥याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो । एमालेका प्रदर्शनका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा चाप देखिएको छ । एमाले नेता तथा कार्यकर्तासहितको ¥यालीका कारण उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

    र्‍यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि आज प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “र्‍यालीका कारण सवारी आवागमनमा समस्या भएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृहमोडबाट डाइभर्सन गरिएको हो ।”

  • निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    पाटन (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।

    यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । त्यसैले तत्काल शान्तिसुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

    गत भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंश र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन सङ्कटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको स्मरण गर्दै कांग्रेसले सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत युवाहरूको माग सम्बोधन र शान्तिसुरक्षा कायम गर्न राष्ट्रपतिले संसद् बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार संसद् भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । “कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकले संसद् विघटनको उपक्रम, संविधानको परिकल्पना तथा सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ भन्दै संसद् विघटन असंवैधानिक भएको र यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको ठहर गरिसकेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ”, विज्ञप्तिमा भनिएको छ,“हाल अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि हो । सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेसले विश्वास गरेको छ ।”

    बैठकले विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन नसक्ने कांग्रेसले जनाएको छ ।

    “लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ । अतः उत्तेजना होइन संयम, निषेध होइन संवाद, अविश्वास होइन विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, सङ्घर्ष र त्यागका माध्यमबाट स्थापित गरेको सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी हो भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ ।

    निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेसले जोडदार माग गरेको छ । गत भदौ २३ गते ‘जेनजी’ पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दुःखद घटना घट्न पुग्यो भन्दै कांग्रेसले उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्न माग गरिएको छ ।

    कांग्रेसले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मीसहित सोही दिनमा नै ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते बनाउने सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भएको ठहर गरेको छ ।

    कांग्रेसले प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट, कुटपिटका घटनालाई अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी भनेको छ । “प्रदर्शनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीबारीस्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइयो ।

    पार्टी केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालय, पार्टी सभापति शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी, केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमणका साथै उहाँहरूको निवासमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवास जलाइएका छन् । यस्तै, अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका यस्ता आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी थिए”, विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले यस्ता घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भदौ २४ मा भएको आक्रमण, लुटपाट, आगजनीसहितका विध्वंशकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन पुनः सरकारसँग माग गरेको छ । यसैगरी घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, बर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालयसहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्तिसुरक्षाको प्रत्याभूति प्रदान गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

    कांग्रेसले भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यावसायिक क्षति व्यहोर्नुपरेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई गरेको छ ।

    ‘जेनजी’ पुस्ताले प्रदर्शनमार्फत उठाएका ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’ जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् भन्दै कांग्रेसले प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने स्मरण गराउँदै ती माग पूरा गराउने आवश्यक भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नुभएको लिखित मन्तव्यलाई बैठकले स्वागत र अनुमोदन गरेको छ । साथै सभापति देउवा र उहाँकी धर्मपत्नीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भदौ २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गरेको छ ।

    यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

    बैठकले जेनजी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दल, जेनजी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकार भएकाहरूसँग बहुपक्षीय संवाद तथा साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ ।

    ‘जेनजी’ प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यससम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्ताबेजीकरण गर्ने निर्णयसमेत गरिएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “हाल मुलुक गम्भीर राजनीतिक सङ्कटमा छ, कांग्रेसले संयमता र धैर्यताका साथ एकताबद्ध भई सङ्कटको सामना गर्नुपरेको छ । विगतमा आएका कैयौँ राष्ट्रिय सङ्कटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ । यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपिल गर्दछ”, जारी विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ ।

  • एनपिएलः विराटनगरको दोस्रो जित

    एनपिएलः विराटनगरको दोस्रो जित

    काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिए । बलिङमा काठमाडौँका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक÷एक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्तोस यादवले २६ रन जोडे । विराटनगरका मर्चेन्ट डे लाङले दुई, कप्तान सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक÷एक विकेट हात पारे ।

    पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेलेको काठमाडौँले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यो जितपछि विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । काठमाडौँ तेस्रो स्थानमा छ । सुदूरपश्चिम शीर्ष स्थानमा कायमै छ । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो ।

  • वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत

    वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत

    काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कर्णालीको जीतमा वाटले शतक प्रहार गरे । उनी एनपिएलको जारी संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

    वाटले ४४ बल खेल्ने क्रममा १२ छक्का र छ चौकाको सहयोगमा ११४ रन बनाए । २९ बलमा अर्धतक पूरा गरेका उनले थप ४१ बलमा शतक पूरा गरेका थिए । कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका लागि एक मात्रै विकेट शेर मल्लले लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक\एक विकेट लिएका थिए ।

  • युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल

    युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल

    काठमाडौँ, ६ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् ।
    पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । “मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ”, संयोजक दाहालले भने ।


    उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताए । “नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ”, दाहालले भने । संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताए । उनले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पु¥याएको पनि धारणा राखे ।


    आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ सङ्कल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे । नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेनजी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताए । युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उनले यही सङ्कल्प बोकेर नेकपा अघि बढिरहको बताए । त्यस अवसरमा जेनजी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो ।

  • वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    काठमाडौं,६ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिए ।

    मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै वाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमकिताका साथ हटाइने बताए । नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिएका छन् ।

  • तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

    तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

    सिरहा, ६ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई\मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले शुक्रबार पुल निर्माणस्थलको निरीक्षण गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएको जोखिम, सास्ती र असुरक्षा लाई नजिकबाट अनुभूत गरेृका थिए । उनले स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्टलाई प्रत्यक्ष अनुभव गरेका थिए ।


    निरीक्षणपछि मन्त्री घिसिङले आज सामाजिक सञ्जालमा लेख्दै आफ्नो मन भारी भएको उल्लेख गरेका थिए । “विसं २०६८को जेठमा तीन वर्षमै बन्ने गरी ठेक्का सम्झौतासहित सुरु गरिएको यो पुल आजसम्म अधुरो छ र यसको सबैभन्दा धेरै मार स्थानीय बासिन्दाले बेर्होनु परिरहेको छ”, उनलले अगाडि लेखेका छन्, “अनुगमनका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो । स्थानीयका वर्षौंदेखिका कष्ट कति चुनौतीपूर्ण छन् भन्ने गहिरो अनुभूति गरायो ।”

    उनले स्थानीयको तत्काल आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे पनि विस्तृत छलफल भएको र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए । साथै, प्राविधिक पक्षमा उठेका प्रश्नबारे सम्बद्ध निकायहरू जिम्मेवार हुने र मन्त्रीस्तरीय अनुगमन निरन्तर चलिरहने स्पष्ट पारे । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र पुलको काम सकेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थलगत निरीक्षणको क्रममा उनले भने, “हामी मन्त्रीज्यू समक्ष तीन महिनाभित्र पुल सकेर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”

    विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । पप्पु कन्ट्रक्सनले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो । विसं २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो । कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ ।

    शुक्रबारको स्थलगत अनुगमन टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायतको टोली सहभागी थियो । कमला नदीको यो पुल मधेस प्रदेशको यातायात सुगमता, सुरक्षा र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । मन्त्रालयले अब नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोग गर्दै कामलाई समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।

  • थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    काठमाडौँ, ६ मङ्सिरः प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।

  • कान्तिलोकपथ सडक अवरुद्ध

    कान्तिलोकपथ सडक अवरुद्ध

    बागमती, ६ मङ्सिर । सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
    सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन् । दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको उनले बताए । उता, मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा आगलागी हुँदा करिब रु चार लाख मूल्य बराबरको क्षति भएको छ ।

    घरमा जडान गरिएको सोलारको तार सर्ट भई आगलागी हुँदा स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एक तले घर, घरभित्र रहेको नगद रु ७० हजार, सुनको तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, ६ मङ्सिर । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

    नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

    मध्यविन्दु (नवलपरासी), ६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

    मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा गए राति मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

  • एनपिएलमा आज दुई खेल हुँदै

    एनपिएलमा आज दुई खेल हुँदै

    काठमाडौँ, ६ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।

    यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

  • मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

    मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

    काठमाडौँ, ५ मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताए । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।

  • एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

    एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

    काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ ।

    संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराए । फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालले बताए ।

    कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बताए । गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।
    कार्यक्रममा ्नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताए ।

    पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताए । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए । अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहोर्याए ।

  • ‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

    ‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

    बारा, ५ मङ्सिरः ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको हो । वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

    बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाउनुपरेको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

    आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन् । उनी वार्तामा सहभागी भएपछि निष्कर्षमा पुगिने जनाइएको छ ।

  • ‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

    ‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

    नारायण अधिकारी\रासस
    चितवन, ५ मङ्सिर । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सङ्घीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई रु १५ करोड बजेट व्यवस्था गरेको बताए । उनका अनुसार सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छुट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिममात्र खर्च गर्न पाइने व्यवस्था छ ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुदान भनेर बजेट प्रबन्ध गरेको भए महानगरलाई भुक्तानी दिन सहज हुने थियो भन्दै रङ्गशालाको निर्माण सार्वजनिक खरिद ऐनअनुसार नगरिएकाले कसरी पैसा भुक्तानी दिने भन्नेमा नीतिगत अन्योल भएको बताए । उनले अगाडि भने, “फाउन्डेसन मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा ‘भ्याट’ तिर्नुपर्ने भएकाले पनि यो विषय पेचिलो बनेको हो ।”

    निर्माणको समयमा महानगरपालिकाले अनुदानका रूपमा फाउन्डेसनलाई रकम दिएको थियो । तत्कालीन समयमा महानगरको आफ्नै स्रोतको रकम भएकाले आफैँले कार्यविधि बनाएर भुक्तानी गरेको भए पनि अहिले सङ्घबाट आएको रकम सङ्घीय कार्यविधिअनुसार मात्र भुक्तानी गर्न मिल्ने पौडेल बताउँछन् । उनले भने, “पहिले फाउन्डेसनलाई बजेट दिन मिल्ने, अहिले किन नमिल्ने ? भन्ने प्रश्न छ, पहिले हामीले आफ्नै स्रोतबाट कार्यविधि बनाएर अनुदान दिएका थियौँ । अहिले सङ्घीय बजेट हो । सङ्घीय ऐन, कानुन र कार्यविधिभित्र रहेरमात्र भुक्तानी दिनुपर्छ ।”

    यस विषयमा थप स्पष्ट हुन आफूहरूले सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा पत्राचार गरेको भए पनि ती दुवै संस्थाबाट थप राय आवश्यक नरहेको भन्ने जवाफ पाएको उनले जानकारी दिए । महानगरले गत कात्तिक २१ गते यस विषयमा थप स्पष्ट हुनका लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको थियो । जसको जवाफ मन्त्रालयले कात्तिक २४ गते पठाएको छ । यसैगरी महानगरले कात्तिक २८ गते पुनः खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो । खेलकुद मन्त्रालयले कात्तिक ३० गते जवाफ दिएको थियो ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भुक्तानीमा कठिनाइ भएपछि आफूले अर्थमन्त्री, सचिव र विज्ञहरूसँग परामर्श गर्दा महानगरपालिकाले सोझै भुक्तानी गर्न नसक्ने जवाफ पाएको जानकारी दिइन् । उनले भनिन्, “हामी यथाशक्य छिटो भुक्तानी गर्न चाहन्छौँ, तर कानुनी प्रक्रिया मिलेन ।” महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् ।


    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउन्डेसनलाई रकम भुक्तानी गर्ने पक्षमा महानगर रहेको तर ऐन, कानुनका कारण भुक्तानी दिन नसकिएको बताए । उनले भने, “महानगर प्रमुख, म र प्रमुख कार्यकारी अधिकृत यस विषयलाई यथाशक्य छिटो टुङ्ग्याउने उद्देश्यका साथ निरन्तर छलफलमा छौँ । सम्बन्धित क्षेत्रका अधिकारी एवं विज्ञहरूसँग परामर्शका आधारमा रकम भुक्तानी दिन सकिने अवस्था छैन । कानुनी अड्चनका कारण हाम्रो चाहनाले मात्र दिन नसकिने रहेछ ।” महानगरले नचाहेको भए पहिले नै खेलकुद मन्त्रालयमा फिर्ता पठाइने बताउँदै उनले उपाएको खोजीमा आफूहरू लागिरहेको बताए । उनले भने, “महानगरले भुक्तानी गरेन भन्नुभएन, भुक्तानीको बाटो खोजिरहेका छौँ, वास्तविकताभन्दा बाहिर गई यस विषयलाई अतिरञ्जित नगर्न सबैसँग अनुरोध गर्दछु ।”

    महानगरकै आग्रहमा फाउन्डेसनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो । फाउन्डेसनले छाडेपछि विसं २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माणको काम अगाडि बढाउने सहमति भएको थियो । यस्तो सहमतिपछि कात्तिक २३ मा सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

    फाउन्डेसनले हस्तान्तरण गरेको अधुरो निर्माणसम्बन्धी काम महानगरले विसं २०८१ सालको असारबाट अगाडि बढाइसकेको छ । जसमा अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । फाउन्डेसनले रु ५७ करोड १२ लाखबराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ । जसमध्ये रु १८ करोड ४३ लाख उधारो रहेको जनाएको छ ।

    फाउन्डेसनले विसं २०७५ माघ १६ मा काठमाडौँमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै फाउन्डेसन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो । जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रङ्गशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउन्डेसनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ । फाउन्डेसनले सहमति गरेपछि आर्थिक व्यवस्थापन गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरेको हो ।

    यसैबीच भरतपुर महानगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गरी राज्यको सर्वोसञ्चित कोषबाट सरकारी निकायले भुक्तानी दिने विषयमा कानुनका निश्चित प्रक्रिया, मापदण्ड, औचित्य र नियमितताका आधार अनिवार्य रूपमा पूरा गर्नुपर्ने उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “निजी व्यक्ति तथा संस्थाले निजी रूपमा सिर्जना गरेको निजी दायित्व सरकारी रकम प्रयोग गरी सरकारी कार्यालयबाट भुक्तानी दिने विषय अत्यन्त संवेदनशील एवं कानुनी रूपमा जटिल विषय हो ।”

    प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी विज्ञप्तिमा सार्वजनिक प्रशासकीय कार्याहरू भावनात्मक संवेगद्वारा भन्दा पनि वैज्ञानिक विधिद्वारा सञ्चालित हुनुपर्ने जनाइएको छ । महानगर समस्या समाधानमा केन्द्रित भइरहेको भन्दै नकारात्मक टिप्पणी र पूर्वाग्रहयुक्त धारणा सार्वजनिक नगर्नसमेत अपिल गरिएको छ ।

  • सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

    सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

    काठमाडौँ, ५ मङ्सिर । सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत राहदानी खरिद गर्न विभागलाई स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले बङ्गलादेशको ढाकामा यही मङ्सिर १० र ११ गते हुने नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रको संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

    सरकारले नेपाली सेनाका एक जनालाई महासेनानीबाट सहायक रथी तथा एक जनालाई सहायक रथीबाट उपरथीमा विशेष बढुवा गर्ने निर्णय पनि गरेको छ । यसैगरी, लुम्बिनी विकास कोष (लुम्बिनी विकास परिषद्का) सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले उपभोक्ता अदालत र बाल अदालतको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी यही मङ्सिर ८ देखि १२ गतेसम्म चीनको सिजाङ (तिब्बत) स्वशासित क्षेत्रको ल्हासा सहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य रीना रानालाई स्वीकृति प्रदान गरिएको छ ।

  • एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

    एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

    काठमाडौँ, ५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

    आज सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १९३ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरेका थिए । पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    गोलबजार, ५ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकखण्डअन्तर्गत सिरहा–धनुषा जोड्ने क्षतिग्रस्त कमला पुलको निरीक्षण गरेका छन् । यो पुल ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । तराई–मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ साल जेठमा रु २४ करोड ९१ लाख ९भ्याटसहित०मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ साल मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो ।

    तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको हुलाकी सडक आयोजना निर्देशनालय जनकपुरधामका कार्यालय प्रमुख इञ्जिनियर कृष्णकुमार महतोले जानकारी दिए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यो पुल समग्र मधेस क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले तीव्रगतिमा निर्माणकार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको पनि बताए । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

    हालसम्म रु २० करोड ४३ लाख ९भ्याट०सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत रहेको छ । बाह्रवटा स्पान भएको पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ । व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो ।

    पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ एक हजार ३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ । अनुगमन टोलीमा मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।

  • गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

    गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

    जेनेभा, ५ मङ्सिर (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सङ्गठनका उच्चाधिकारीहरूले यस अभियानले गाजाको गम्भीर रूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

    डब्लुएचओ र यसका साझेदार संस्थाहरूले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्षमुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनियाजस्ता गम्भीर रोगहरूबाट जोगाउने लक्ष्य राखिएको छ ।

    अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइनेछ । महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारहरूलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनःउपकरण र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहज भएको उल्लेख गरे ।

    यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबीच गत अक्टोबर १० मा लागू भएको युद्धविराम कायम राख्न सघाएको बताइन्छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ । उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुनेहरू महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ ।

  • रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता

    रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता

    किएभ, युक्रेन, ५ मङ्सिर (रासस–एएफपी) । युक्रेनले बिहीबार रुसबाट युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष प्राप्त गरेको बताएको छ। किएभ र मस्कोबीच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किएभले जनाएको छ। युद्धबन्दीहरूको उपचारका लागि किएभको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ, “आज, मृतक सैनिक र सर्वसाधारण व्यक्तिको अवशेष फिर्ता गर्ने काम भएको छ। रुसी पक्षले युक्रेनी सैनिकको भएको दाबी गरेका एक हजार शवहरू युक्रेनलाई बुझाएको छ।”

    उक्त निकायका अनुसार अनुसन्धानकर्ता र विज्ञहरूले चाँडै नै सबै आवश्यक परीक्षण गर्नेछन् र स्वदेश फर्काइएका शवहरूको पहिचान गर्नेछन् । रुसी सरकारी सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै मारिएका एक हजार युक्रेनी सैनिकको शवको बदलामा ३० जना रुसी सैनिकको अवशेष हस्तान्तरण गरिएको जनाएको छ । सार्वजनिक रूपमा उपलब्ध जानकारीका अनुसार किएभले युद्धको अवधिभर मस्कोबाट कुल १५ हजार मृतक सेना र नागरिकका अवशेष फिर्ता पाउको छ।

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

    प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

    म्याग्दी, ५ मङ्सिर । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो ।

    यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए ।

    “हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्”, उनले भने, “आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।”

    तीनचुलेको आकर्षण

    तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका–२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए ।

    तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए । “चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ”, उनले भने, “शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो ।”

    विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् ।

    पूर्वाधार तयार

    गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए ।
    स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो ।

    तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब रु तीन लाख सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हँुदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

    मङ्गला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

    कसरी पुग्ने ?

    तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हँुदै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ ।

    टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ ।

    दुई जिल्लाको सम्बन्धको सेतु

    तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् ।

    ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल)ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनले बताए ।


    मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । “तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ”, उनले भने, “पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ ।”

  • कात्तिकमा मात्र ३५ हजार बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

    कात्तिकमा मात्र ३५ हजार बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

    गण्डकी, ५ मङ्सिर । कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए ।

    आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताए । कात्तिकमा पर्यटकीययामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो ।

    यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

    सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।