Category: फिचर

  • एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    वासिङ्टन, १६ असोज (रासस\एएफपी)
    विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल–टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ ।

    मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् । पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे ।


    त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने । उनले कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याएका छन् ।


    विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोब्र्सले टिप्पणी गरेको छ ।

  • इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    १६ असोज, जाकार्ता । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् ।

    स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति जारी गर्दै भने, न्नुभयो, “विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको आशङ्का गरिएको छ ।”

    यसअघि प्रारम्भिक जानकारीअनुसार तीन जनाको मृत्यु भएको र ३८ जना बेपत्ता रहेको पुष्टि भएको थियो । तर पछिल्लो विवरणअनुसार मृत्यु हुनेहरूको सङ्ख्या ठूलो मात्रामा बढेको छ । अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमा बेपत्ता हुनेहरूको सही सङ्ख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताए । यसबीच, उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्‍याउन विशेष ध्यान दिएको छ ।

    राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार सात वटा क्षेत्रमा जीवनको सङ्केत पाइएको छ र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको छ । “मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ । हामीले प्राथमिकता ती व्यक्तिलाई दिएका छौँ जो अझै पनि प्रतिक्रियाशील अवस्थामा छन्”, फ्रिजरले भने ।

    बुधबार बिहानदेखि दर्जनौँ अभिभावकहरू ढलेको विद्यालयको भग्नावशेष नजिकै बस्दै आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित मुद्रामा प्रतीक्षा गरिरहेका थिए । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।

  • नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

    नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

    आज हिन्दु धर्मावलम्बीले महान चाड विजयादशमीको टीका तथा ग्रहण गरिरहेका छन् । विजयादशमीको दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन रहेको छ । आज नेपालका विभिन्न स्थानमा दशैं उत्साव यस्तो देखियो….

    राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार विजया दशमीको दिनमा राष्ट्रपति कार्यालय शितलनिवासमा मूल पूजारी अर्जुन न्यौपानेलाई टीका तथा जमरा लगाई दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ-रासस
    मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा घरघरमा बडादसैँको दसौँ दिन बिहीबार विजयदशमीमा मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिँदै सर्वसाधरण । तस्बिरः देवेन्द्र गुरुङ\रासस
    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु महिला पितृ पूजा गरेपछिको सामग्री सनवोरा नदीमा विषर्जन गर्न लैजाँदै । यो कार्यलाई थारु भाषामा पित्तर असराई भन्ने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू /रासस
    सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा माटोबाट निर्माण गरिएको कलात्मक देवी दुर्गा भवानीको प्रतिमा । दसैँसहित अन्य पर्वका बेलामा सुनसरीमा माटाबाट निर्माण गरिएको कलात्मक प्रतिमा राखेर पूजा आराधाना
    सुनसरीको इनरुवा नगरपालिका–१ स्थित भगवती मन्दिरमा राखिएको जमरा विजया दशमीका दिन बिहीबार बिहान घरतर्फ लैजाँदै स्थानीय बासिन्दा। मन्दिर समितिले प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क लिएर स्थानीयको जमरा मन्दिरमा राख्ने गरेको छ। तस्बिरः नवीन गड्तौला\रासस
    बडादसैँको अवसरमा बागलुङ नगरपालिका–८ सिगाना पात्लेमा चर्खेपिङ खेलेर रमाउँदै बालबालिका। तस्बिरः खेमराज गौतम\रासस
    काठमाडौँ, १६ असोज बडादसौका दिन बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका(९स्थित मनमैजु मन्दिरमा बिहीबार बिहान पूजाअर्चना गर्न तथा जमरा चढाउन आएका भक्तजन ।तस्बिर : हरिराम भेटुवाल / रासस
  • झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    १६ असोज, बनियानी । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

    विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

  • राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

    राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

    १६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।

  • विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

    विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

    १६ असोज, काठमाडौं । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

    आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
    शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
    विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

    अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

    यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

    आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।

  • दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    १६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

    त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

  • विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

    विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

    १६ असोज, काठमाडौं । आज नेपालीहरुको महान चाड बडा दशैंको महादशमी पर्व मनाइदैछ । पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।


    नेपालमा टीका लगाउने उत्तम साइत

    काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते : बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।

    अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छ

    भारत (दिल्ली) : ११ः४९ अक्टोबर २

    अमेरिका (न्यूयोर्क) : ११ः०५ अक्टोबर १

    अमेरिका (क्यालिफोर्निया) : ११ः२५ अक्टोबर १

    क्यानाडा (टोरन्टो) : ११ः५५ अक्टोबर १

    अष्ट्रेलिया (सिड्नी) : ११ः३१ अक्टोबर २

    अष्ट्रेलिया (मेलबर्न) : ११ः५३ अक्टोबर २

    जापान (टोकियो) : ११ः३१ अक्टोबर २

    दक्षिण कोरिया (सियोल) : १०ः५७ अक्टोबर २

    युएई (अबुधावी) : १०ः५५ अक्टोबर २

    कतार (दोहा) : १०ः१३ अक्टोबर २

    मलेसिया (क्वालालम्पुर) : ११ः११ अक्टोबर २

    सिंगापुरः ११ः०९ अक्टोबर २

    लन्डन (बेलायत) : ०९ः१७ अक्टोबर २

    पेरिस (फ्रान्स) : ०९ः५७ अक्टोबर २

    ओस्लो (नर्वे) : १०ः०३ अक्टोबर २

    लिस्बन (पोर्चुगल) : ०९ः२३ अक्टोबर २

    टेल अविभ (इजरायल) : ११ः३५ अक्टोबर २

    जिनेभा (स्विट्जरल्याण्ड) : १०ः२५ अक्टोबर २

    हङकङः ११ः४५ अक्टोबर २

    साउदी अरेबियाः १०ः५५ अक्टोबर २

    याङ्गुन (म्यानमार) : १०ः२७ अक्टोबर २

    माल्टाः १०ः५५ अक्टोबर २

  • अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

    अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

    १६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ । कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरेका छन् ।


    उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।

    यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७–१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

    बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।

    यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ । “चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ । तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ”, बुलेटिनमा भनिएको छ ।

    खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।

    मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    १६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

    त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

    आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

    बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने गरी साइत तोकिएको छ । विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।
    समितिका सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

  • फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

    फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

    १५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन ।

    भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शवगृहतर्फ लैजाने कार्य जारी राखेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ । नागरिक सुरक्षा उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, “हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।”

    स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपत्कालीन उपचार गर्नुपरेको जानकारी दिए ।


    भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

    अनलाइन व्यापारी जेफोर्ड मारङ्गाले भन्नुभयो, “हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।” उहाँका साथी सामान्य घाइते भएका थिए । सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

    फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ । बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भन्नुभयो, “यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।”

    त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७.० म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ । फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यसपटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

  • छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

    छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

    १५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियत बिना सिनेटमा कुनै कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।

    डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् । “महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब सङ्घीय सरकार बन्द गराउनुभएको छ किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहनुहुन्न”, विज्ञप्तिमा उल्लेख छ।

    यो बन्द कति समयसम्म रहने भन्नेबारे गहिरो अनिश्चितता छ । सिनेटरहरू आज राति क्यापिटलबाट निस्कँदा समाधानबारे कुनै निश्चितता थिएन । भोलि बिहान फेरि रिपब्लिकनहरूले प्रस्तुत गरेको उही कोष योजनामाथि मतदान हुने बताइएको छ । रिपब्लिकन नेताहरूले आवश्यक सङ्ख्यामा डेमोक्रेटहरूको समर्थन नआएसम्म सो प्रस्ताव दैनिक रूपमा मतदानका लागि ल्याउने घोषणा गरेका छन् ।

    सरकारी बन्दले लाखौँ सङ्घीय कर्मचारीहरूलाई ‘अवकास’ मा पठाउनेछ, भने आवश्यक सेवामा पर्नेहरूलाई भने काम गर्नुपर्ने तर गतिरोध अन्त्य नभएसम्म तलब नपाउने स्थिति रहनेछ । तर, केही कर्मचारीले भने निरन्तर तलब पाउनेछन्, किनभने उनीहरूको जागिर कङ्ग्रेसको वार्षिक विनियोजनबाट प्रत्यक्ष वित्तपोषित हुँदैन । सामान्यतया, जीवन र सम्पत्तिको सुरक्षा जस्ता आवश्यक कार्यहरू भने जारी रहनेछन् । अघिल्ला बन्दहरूले अध्यागमन सुनुवाइहरू रद्द गरेका थिए, घर खरिदकर्ताहरू र साना व्यवसायहरूलाई संघीय ऋण उपलब्ध गराउन ढिलाइ गरेका थिए र विभिन्न क्षेत्रमा अवरोध ल्याएका थिए ।

  • प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    १५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

  • सयपत्री फूलखेती विस्तार

    सयपत्री फूलखेती विस्तार

    १५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् ।

    समूहमा आबद्ध महिला सयपत्री फूल खेतीतर्फ आकर्षित भएको उनले बताए । बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेतीमा लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले बताए । तिहार नजिकिँदै गरेकाले उत्पादित फूल टिप्न सुरु गरिएको उनले जानकारी दिए ।


    समूहमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरिरहेका छन् । गुरुङले भने, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस भनेर पालिकाले फूलखेती गर्ने अभियान सुरु गरेको हो ।” गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

    उनले भनिन्, “फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरुलाई प्रदान गरिएको छ ।” आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।

  • ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    १५ असोज, बरहथवा । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

    ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए ।

  • राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

    राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

    १५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरिन् ।

  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    १५ असोज, काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

    उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट रु ४८ लाख ४६ हजारको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
    यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा रु ५९ लाख ५८ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन रु ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ ।

    दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
    अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा रु ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट रु १९ लाख ६७ हजारको व्यापार ९ग्रस कलेक्सन० गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

    रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

  • सुनसान प्रायः छ काठमाडौँ

    सुनसान प्रायः छ काठमाडौँ

    १५ असोज, काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

    सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

    उनले भने, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।” गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् ।

    परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

    दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

  • प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

    प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

    १५ असोज, पाटन । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको उल्लेख गरेका छन् । सप्रमाण भेटिएका अपराधीहरूलाई उन्मुक्ति दिँदै जाने नीति नेपाली जनताका लागि कदापि स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    “भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न आपराधिक समूहले २४ गते बिहानैदेखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटना घटाउन थाले, जसबाट हरेक क्षेत्रका निजी तथा सार्वजनिक संरचना तोडफोड, आगजनी र लुटपाट गरी ध्वस्त बनाइए । २३ र २४ गते दुई दिनमा सुरक्षकर्मीसहित ७६ जनाभन्दा बढीको ज्यान गइसकेको छ । सयौँ घाइते छन् । राष्ट्रलाई खर्बौंको क्षति भएको छ । यस अकल्पनीय र दुःखद् घटनाको जति निन्दा गरे पनि कमै हुन्छ”, विज्ञप्तिमा भनिएको छ ।

    उक्त प्रदर्शनका क्रममा भएका घटनाको छानविन गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको कुरा स्वागत योग्य रहेको र त्यसले निष्पक्ष काम गर्नुपर्ने कांग्रेसको आग्रह छ ।

    “प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित रूपमा योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विषेशका नेतामाथि बदलापूर्ण प्रतिशोध लिने उद्देश्यले आक्रमण गर्ने, कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार बोकेर लुट्ने अनि बर्दी लगाई हातहतियार बोकेर आतङ्क फैलाउँदै हिँडेका अवस्थामा देखिएका भेटिएका व्यक्तिउपर प्रचलित कानुनबमोजिम कुनै खोजतलास नगर्ने, कानुनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमा प्रश्न उठेको छ”, विज्ञप्तिमा जनाइएको छ ।

    घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा काम हुन थालेको भन्दै आयोगलाई नभएको क्षेत्राधिकारविहीन कार्य गर्न गराउन नहुनेमा जोड दिइएको छ ।

  • मनकामना केबलकार तीन दिन बन्द गरिने

    मनकामना केबलकार तीन दिन बन्द गरिने

    १५ असोज, मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

  • तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

    तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

    १४ असोज, काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।
    आजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाइ २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

    आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो । वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो ।

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    १५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
    यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो ।

    गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिए । “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ”, उनले भनिन्, “प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।”

    संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भनिन्, “यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।”

    गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ ।

    यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वषृदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । “सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ”, उनले भनिन् ।


    यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन् । हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

  • १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

    १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

    १५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
    विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।

    विभागकी मौसमविद् विनु महर्जनले रासससँग भनिन्, “हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।”

    उनले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताइन् । “तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम वदली भइरहेको छ”, उनले भनिन् ।

    असोज १७ ९एकादशी०मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


    असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।

  • ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    १५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

  • तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

    तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

    १५ असोज, भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ ।

    राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ ।
    एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो । कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए । विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ ।

    यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ । महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो ।

    जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए ।


    दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए । गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यसपटक पनि बलि पूजा गरिएको हो ।

  • यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

    यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

    १४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।”

    सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराउनुभएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन–जेड)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए ।


    नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए । संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उहाँले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए ।


    संयुक्त राष्ट्रसङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे । उनले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे । “राष्ट्र सङ्घको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ,” स्थायी प्रतिनिधि थापाले भने, “हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन् ।”

    उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका सङ्कटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतङ्कवादको निन्दा गर्नुरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दैै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए । प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उहाँले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे ।


    महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे ।


    अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरुलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए ।


    स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड थियो । सामान्यतया राष्ट्रप्रमुख वा सरकारप्रमुखको नेतृत्वमा राष्ट्र सङ्घीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।

  • गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

    गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

    १४ असोज, काठमाडौं । गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

    गाजा पट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित र चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौं मानिसहरूको उपचार गरिरहेको जनाएका छन् । चिकित्सा स्रोतहरूले उल्लेख गरे अनुसार १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् । बिरामीहरूलाई गम्भीर भोकले तनाव र स्मरण शक्तीको ह्रासको उपचार भइरहेको छ । गम्भीर कुपोषणबाट पीडित कयौँ मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त वेड र औषधिको अभाव छ ।

    प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा इजरायली नाकाबंदीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ । युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूको लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ ।

  • देशैभरी मनाइयो महाअष्टमी

    देशैभरी मनाइयो महाअष्टमी

    १४ असोज, काठमाडौं । बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ । सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले आज नवौँ दिन परेको हो ।

    यस अवसरमा शास्त्रसम्मत रूपमा दसैँँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिएको छ । दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा, सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसमेत गरिएको छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवीमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले समेत मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाउन पनि यस्तो गर्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

    आजका दिन उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको थियो । यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलीसहित पूजाआराधना गर्न श्रद्धालुको घुँइचो लागेको जनाइएको छ ।

    आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलीसहित पूजाआजा गरिन्छ । यस अवसरमा देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरूले भने पूजाकोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजाआजा गरेका छन् ।

    आजकै दिन राति कालरात्रीका रूपमा पशुबलीको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । महाअष्टमीका दिन आज राती हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए । महानवमीका अवसरमा बुधबार बिहान पनि ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिने उनले बताए ।

  • राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

    राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

    १४ असोज, सुरुङ्गा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए ।

    तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।

  • नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

    नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

    १४ असोज, काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ ।

    कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ । वसन्तपुरस्थित कुमारीघरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

    कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाई गरिएको छ ।