Category: फिचर

  • घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

    घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

    १२ असोज, काठमाडौं । असोज ६ गते घटस्थापनाकादेखि शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन÷अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ । नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिक रूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यही असोज ६ गते ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले राससलाई जानकारी दिए ।
    उनले भने, “काठमाडौँबाट बाहिरिनेको सङ्ख्या बढ्दो क्रममा छ । ठूलो सङ्ख्यामा नागरिक र सवारीसाधन बाहिरिन थालेपछि राजमार्गमा सवारी चाप बढ्दो छ ।”

    घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् भने कूल एक लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौँ भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ गएका र भित्रिएका यात्रुरूको हो ।

  • चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

    चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

    १२ असोज, काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

    “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उजले भने । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छभने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।

    मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

  • धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    १२ असोज, म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेका) जानकारी दिए ।


    “चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ”, उनले भने, “यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ ।” सङ्खुवासभाको मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नं २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन् ।

    शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन् । पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

    आरोही, शेर्पा, पथप्रर्दशक र सहयोगीहरूको टाली आधार शिविरमा पुगिसकेका छन् । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन् । धवलागिरि गाउँपालिकाको मुदीबगर हँुदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

    गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीहरूले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

    छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

  • कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

    कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

    १२ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

    कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,“चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।” आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।

  • ‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

    ‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

    १२ असोज, काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् ।

    त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही, जुम्ला चन्दननाथ –१ का २१ वर्षीय श्री परियार घाइते प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।

  • कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

    कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

    १२ असोज, दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
    आज बिहान लु२ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ । गाडी सडकदेखि तीन सय मिटर तल खसेको छ ।

  • नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

    नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

    १२ असोज, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।
    नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

    नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।

  • ७ तस्वीरमा दशैं माहोल

    ७ तस्वीरमा दशैं माहोल

    ११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।

    नवरात्रीको अवसरमा बर्दिबास–४ माइस्थानस्थित जिल्लाको प्रसिद्ध शक्तिपीठ पञ्चधुरा माईस्थानमा दर्शनार्थीहरु । तस्बिरः गोपालप्रसाद बराल\रासस

    काठमाडौँ उपत्यका तथन आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ ।

    दाङको घोराही उपमहानगरपालिका–१४, झिगौरामा लोकेन्द्र रोका मगरको परिवार बिक्रीका लागि सयपत्रि फूलको माला गाँस्दै । उहाँले सयपत्रिका फूलसँगै विभिन्न प्रजातिका फूलका बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली / रासस

    यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ । देशभर दशैंको माहोल यस्तो देखिएको छ ।

    दसैँका लागि शनिबार काठमाडौँ चाबहिल गणेशस्थानमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल दृश्य ।तस्बिरः हरिराम भेटुवाल\रासस
    कृष्णपुर नगरपालिका–२ बाणीका थारु महिला लालझाडी वन क्षेत्रबाट टिपेका मालुका पात मुठा बाध्दै । दसैँंलगायतका चाडपर्वमा मालुका पातको दुना बनाई देवीदेउताको पूजाआजा गर्नमा र पाहुनालाई परिकार पस्कनमा प्रयोग गरिन्छ । मालुका पातको दुनालाई अति शुद्ध मानिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू\रासस
    मुस्ताङबाट बिक्रीका लागि बागलुङ बजारमा ल्याइएका च्याङ्ग्राका बथान । हरेक वर्ष दसैँका बेला व्यापारीहरुले सयौँको सङ्ख्यामा च्याङ्ग्रा ल्याउने गर्छन् । तस्बिरः डम्मर बुढामगर\ रासस
    दसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस
  • माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

    माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

    ११ असोज, पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ, तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको बताउनुहुन्छ । सेप्टेम्बरमा ४० प्रतिशत ‘बुकिङ’ रद्द भएको उनले सुनाए ।


    सुवेदीका अनुसार अहिले सम्मको प्रारम्भिक अनुमानले पोखराका ठूला छ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्षअप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि सामान्यदेखि असर परेको छ । करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ । पोखराको पर्यटन क्षेत्रमा रु आठ खर्ब बराबरको लगानी भएको छ । करिब १५ हजारले रोजगारी पाएका छन् ।

    पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताए । उनले भने, “अहिलेको घटनाले अन्तरराष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको छ तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र सरोकार भएका अन्य निकायको भूमिका महत्वपूर्ण हुन्छ ।” यसैबीच, नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ‘ह्यासट्याग’ अभियान सुरु गरेको छ । बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरेर सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाहको प्रयासलाई निरन्तरता दिएको छ ।

  • नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

    नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

    ११ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए ।

    भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उनले भने, “भदौ २३ र २४ मा जेनजीका नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।”

  • ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

    ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

    ११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दशैंको अवसरमामा काठमाडौंमा बिहीबार बेलुका आयोजित ‘मिट एण्ड ग्रीट विथ डिप्लोम्याटिक कोर्प्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाल अहिले सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको स्पष्ट पारेका हुन् । यसअघि भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनपछि नेपालस्थित विदेशी राजदूतावास तथा कूटनीतिक नियोगहरुले आफ्नो देशका यात्रुका लागि नेपाल भ्रमणबारे सचेत रहन भन्दै ट्राभल एड्भाइजरी जारी गरेका थिए ।

    हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको संकट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सीईओ जोशीले भने, “राजनीतिक स्थायित्व, सुरक्षा,सहज यातायात पहुँच, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल अहिले पूर्ण रूपमा सामान्य भइसकेको छ ।” उनका अनुसार भदौ २४ र २५ गतेको अस्थिरतापछि सेनाले तत्काल स्थिति नियन्त्रणमा लिएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन् । साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन् भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको राजदूतहरुलाई उनले जानकारी गराए ।


    कार्यक्रममा सहभागी राजदूत र प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सीईओ जोशीले थपे, “नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य हो । तपाईंहरूको सहयोग र सन्देशले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्नेछ । हामी संयुक्त रूपमा नेपाललाई अझै विश्वकै आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्छौं ।” सीईओ जोशीले जेनजी आन्दोलनका क्रममा २५ होटलमा आंशिक भौतिक क्षति पुगेको र करिब २,००० भन्दा बढी रोजगार प्रभावित भएकोसमेत जानकारी गराएका छन् । उनले पर्यटन उद्योगको ‘रिजिलिएन्स’ (संकट सहने क्षमता)लाई उच्च मूल्यांकन गर्दै भने,“नेपालको पर्यटन उद्योग दशकौँदेखि अन्तर्राष्ट्रिय संकट व्यवस्थापनमा परिपक्व छ । यसबीच कुनै पनि पर्यटकलाई लक्षित आक्रमण भएको छैन, आगामी दिनहरूमा पनि पर्यटन सुरक्षित रहन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”


    कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल अहिले पूर्ण रूपमा भ्रमण–योग्य रहेको सन्देश आफ्ना देशमा पुर्‍याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले भने, “नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतका लागि तयार छौं । तपाईँहरूले आफ्ना सरकार र पर्यटकहरुमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पुर्‍याइदिनुहोस् ।” विश्‍व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो ।

    जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरुको सहभागिता रहेको थियो । सीईओ जोशीले दशैं, तिहार र नेपाल संवतजस्ता चाड–पर्वले नेपाललाई ‘मिलन र पुनर्जीवनको उत्सव’को रुपमा प्रस्तुत गरेका हुन् । सीईओ जोशीले पर्यटनले केवल अर्थतन्त्रमा योगदान गर्ने मात्र नभई, जन–जनबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपाल भ्रमणले मैत्री र कूटनीतिक सम्बन्ध थप बलियो हुनेसमेत उल्लेख गरे । उनले नेपालको पर्यटन पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न निरन्तर सहकार्यका लागि तयार रहेको समेत राजदूतहरुलाई बताएका हुन् ।

  • ४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

    ४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

    ११ असोज, काठमाडौं । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको बताएका हुन् । यसका साथै पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।


    ‘पर्यटन र दीगो रुपान्तरण’ भन्ने नारासहित मनाइएको ४६औं विश्‍व पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश वाचन गरिएको
    छ । जसमा नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण पर्यटकहरूको लागि
    आकर्षक गन्तव्य भएको उल्लेख छ । जसमा भनिएको छ, “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य छ ।’


    यसका साथै प्रधानमन्त्री कार्कीले सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल रिकभरी सुरु
    भइसकेकोसमेत आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । उनको सन्देशमा भनिएको छ, “यस वर्षको दिवसले पर्यटनलाई दिगो विकास, आपसी समझदारी र अन्तर्राष्ट्रिय मित्रताको आधार स्तम्भका रूपमा प्रवर्धन गर्न प्रेरित गरेको छ । यसका साथै पर्यटनले हाम्रा अतिथिहरुलाई अतिथि देव भव भन्ने हाम्रो परम्पराको वास्तविक अनुभव दिलाउँछ । नेपाल सरकार पर्यटन पूर्वाधारको विस्तार, सेवास्तरको प्रवर्धनमार्फत यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन
    प्रतिबद्ध छ । यसका साथै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित भएको सन्देश दिन चाहन्छु ।


    कार्यक्रमको अध्यक्षता गरेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन
    विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैं खुला रहेको बताएका छन् । उनले भने, “नेपालमा भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैं तयार छ ।“


    त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमा पर्यटनले रिकभरी गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताएकी छन् । उनले भनिन्, “पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ । पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकोले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।“


    त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै भने,
    “नेपालमा पर्यटक आगमन जेनजी आन्दोलनपछि फेरि रिकभर हुने चरणमा प्रवेश गरेको छ । भदौ २४ र २५ गतेको आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकोमा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुग्यो र यस साता २९ सय हाराहारीमा पर्यटक आगमन पुगेको छ ।“


    उनले हरेक संकटमा सरकार र निजी क्षेत्र एकभएर पर्यटन पुर्नरुत्थानमा लागेको नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको समेत उल्लेख गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था र व्यक्तिहरूलाई सम्मानितसमेत गरेको हो । जसमा पदयात्रा तथा साहसिक पर्वतीय पर्यटनको विकास, प्रबर्द्धन तथा व्यवस्थापनमा स्थानीय निकायहरुमध्येबाट उल्लेखनीय योगदान पुर्‍याएको भन्दै दार्चुलाको अपि हिमाल गाउँपालिकालाई सम्मान गरेको छ ।


    त्यसैगरी पदयात्रा तथा साहसिक पर्वतीय पर्यटन विकास, प्रबर्द्धन तथा व्यवस्थापनमा ५० वर्षभन्दा बढी समय आरोहण गाइडका रुपमा काम गरेको भन्दै सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पालाई सम्मान गरिएको छ । पर्यवतीय उद्धार कार्यमा योगदान पुर्‍याएका आङ नोर्बु शेर्पा, केटु हिमालमा विश्‍व किर्तीमानसहित सगरमाथामा ११ पटक र मनास्लुमा ६ पटक आरोहण गरेका सिद्धिबहादुर तामाङ, आन्तरिक नागरिक उड्डयन क्षेत्रबाट रविन्द्र राज पाण्डेय, पर्यटन उद्योगमा उदीयमान नेतृत्वको रुपमा नाटाका अध्यक्ष कुमारमणी थपलिया, पर्यटन पत्रकारको तर्फबाट सबिना कार्कीलगायत १९ वटा विभिन्‍न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको हो ।


    कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रबर्द्धन मञ्‍चले गाउँ पर्यटन र पहिचान शीर्षकको पुस्तकसमेत विमोचन गरिएको छ । विश्‍व पर्यटन
    दिवसको अवसरमा शनिबार नेपाल अवतरण गर्ने पहिलो पर्यटक अमेरिकी नागरिक जर्ज कोर्डेल ब्रानुन र चिलीका नागरिक हर्जोग अमुनातेगुइलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरेका हुन् ।

  • सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

    सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

    ११ असोज, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौं ७५,पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन सङ्लग्न तत्कालीन एवम् हालका जिम्मेवार कर्मचारीलाई छानविन गर्न समिति बनाइने भएको छ ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव तथा सहसचिवहरु, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु, आयोजना प्रमुखलगायतकासँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

    रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गर्ने र परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृतिकोसमेत अन्त्य हुने मन्त्री घिसिङले उल्लेख गरे ।

    “सडक अन्तर्गतका आयोजनाहरुको ठेक्का लिने तर काम नगर्ने अवस्था देखिएको छ, राज्यले सडक निर्माणका लागि हरेक वर्ष अबौं रकम खर्च गरिरहेको छ तर यसको लाभ नागरिकले प्राप्त गर्न नसकेको अवस्था छ, ठेक्का व्यवस्थापन शून्यजस्तो देखिएको छ, ठेक्कालाई रुग्ण बनाउन सङ्लग्नमाथि कारबाही हुननसक्दा दण्डहीनता बढेको छ, कतिपय निर्णय कर्मचारीकातर्फबाट समयमै नगरिदिंदा ठेक्का रुग्ण बनेका छन्, त्यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।” उनले भने, “रुग्ण ठेक्कामा सङलग्न निर्माण व्यवयासी जोसुकै भए पनि कसैको प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक ढुक्क भएर ठेक्का तोड्नुहोस्, यो कदम सुशान कायम गर्नका लागि महत्वपूर्ण कोशेढुङ्गा हुनेछ,म तपाईंहरुलाई पूर्ण रुपमा संरक्षण गर्नेछु ।”


    निर्माण सम्झौता बमोजिम सम्पन्न गर्नुपर्ने समयको विभिन्न कारणबाट म्याद थप भई निर्माण कार्य चालू रहेको तर सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत ५० प्रतशतभन्दा कम प्रगति रहेको २ करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ । त्यस्तै, दुई सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम प्रगति भएको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको, चार सय प्रतिशतभन्दा बढी समय म्याद थप भई सक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको ठेक्कालाई रुग्ण मानिएको छ ।
    मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयहरुले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृति देखिएका सङ्लग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

  • सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ११ असोज, बरहथवा । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।
    जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

  • तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

    तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

    ११ असोज, पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ ।

    एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।

    तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ । हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन् । यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ ।

    बाढीले हेंवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिए । तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशिर्वाद जेभीले लिएको छ । जसको अवधि आगामी वैशाक २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन । जसको लम्बाइ ४० मिटर रहेको छ ।

    स्वामीनारायाण आशिर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ ।

    सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिए । उनका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी वैशाख २९ गतेसम्म रहेको छ । यस पुलको लम्बाइ १५० मिटर रहेको छ । बघुवा, खम्बुवा र रघुवा खोला पुलको कूल लागत रु २२ करोड ५२ लाख ७५ हजार ७९० रहेको छ ।

    यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छभने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । यस कार्यको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ । छरुवा खोला नामजस्तै धेरै भङ्गालो फाटिएको खोला हो । जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ । यस पुल निर्माणको कूल लागत रु १७ करोड २३ लाख ७९ हजार ५४० रहेको छ ।

    पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ । नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ । यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन । लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ । लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत रु ३७ करोड २१ लाख ५३ हजार ६४० रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिए ।

    बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१\०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब रु चार करोड रकम अझैसम्म निकासा हुन सकेको छैन । “गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ”, कार्यालय प्रमुख झाले भने, “रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो । तर भनेअनुसार भएन ।”

    बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन् । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् । विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ ।

    जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ । तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउँछन् । “सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ । अब पुल निर्माणमा ढिलाइ हुनुभएन”, अधिकारीले भने ।

  • विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

    विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

    एजेन्सी
    ११ असोज, मस्को । रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ । यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।

    रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस प्रकारका घटनाहरू समयसमयमा दोहोरिइरहेका छन् । विशेषगरी ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रहरूमा कानुनी मदिरा किन्न सक्ने स्थिति नहुने कारणले मानिसहरू विकल्पको रूपमा यस्ता पदार्थ सेवन गर्न बाध्य हुने गरेका छन् । यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

    यस्ता घटनाहरूलाई ध्यानमा राख्दै सरकारद्वारा सम्बन्धित कानुन कडा पारिएको भए पनि विषाक्त र अवैध मदिराको पहुँच अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन, जुन सार्वजनिक स्वास्थ्यका लागि चिन्ताजनक विषय बनेको छ ।

  • युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

    युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

    एजेन्सी
    ११ असोज, काठमाडौं । युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले शुक्रबारदेखि रूसबाट आउने मानवरहित हवाई यान (ड्रोन) का सम्भावित आक्रमणलाई रोक्नका लागि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन् । हालसालै डेनमार्कमा केही विमानस्थलहरुमा अज्ञात ड्रोनका कारण अवरोध भएको घटना तथा पोल्यान्डमा नाटोले रूसी ड्रोनहरू खसालेको घटनाले युरोपको आकाशीय सुरक्षा आवश्यकताको महत्त्वलाई पुनः उजागर गरेको छ ।

    युरोपेली सङ्घका अध्यक्ष उर्सुला फन डर लायनले यस महिनाको सुरुमा दिएको सम्बोधनमा साझा प्रयासमा निर्माण गरिने यस्तो प्रणालीले युरोपेली भेउमा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नुपर्ने बताए । युरोपेली सङ्घका रक्षा आयुक्त आन्द्रियुस कुबिलियसले करिब १० वटा सदस्य राष्ट्रका रक्षा अधिकारीहरूसँग भिडियो सम्मेलनमार्फत यस परियोजनाको आवश्यकताबारे थप छलफल गरेका छन् । छलफलमा पूर्वी सीमासँग जोडिएका देशहरू मुख्य सहभागी रहेको साथै युक्रेनलाई पनि समावेश गरिएको छ, जसले यस विषयमा आफ्ना अनुभव र प्रविधि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    यो परियोजनाको प्रारम्भिक चरणमा पूर्वी सीमामा ड्रोन पहिचान गर्ने संवेदनशील उपकरणहरू थपिने योजना रहेको छ भने थप समय लाग्ने भए तापनि एकीकृत ड्रोन खसाल्ने प्रणाली विकास गर्ने प्रयास पनि भइरहेको छ । नाटोले पोल्यान्डमा रूसी ड्रोन आक्रमणमा महँगा लडाकु विमान र क्षेप्यास्त्र प्रयोग गर्नु परेको हुँदा, यस्ता सस्तो र प्रभावकारी प्रणाली विकास गर्नु अत्यन्त आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।

    युरोपेली सङ्घले यो परियोजनालाई आफ्नो रक्षा क्षमता सुदृढीकरणको लागि महत्वपूर्ण पहलको रूपमा लिएको छ । आगामी हप्ता कोपेनहेगनमा हुने शिखर सम्मेलनमा यस विषयमा थप विचार–विमर्श हुने छ ।

  • जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

    जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

    एजेन्सी
    ११ असोज, काठमाडौं । जर्मनीले आफ्नो अन्तरिक्ष सुरक्षा क्षमताहरू थप सुदृढ बनाउन आगामी पाँच वर्षमा ३५ अर्ब युरो (करिब ४०.९५ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना घोषणा गरेको छ। यो महत्वपूर्ण निर्णय जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा आयोजित स्पेस कंग्रेसमा आदरपूर्वक प्रस्तुत गरेका हुन् । उनले जर्मनीले छिट्टै राष्ट्रिय अन्तरिक्ष सुरक्षा प्रणालीको स्थापना गर्ने जानकारी दिए । युरोपेली तथा ट्रान्सअटलान्टिक साझेदारहरूसँग सहकार्य गरी भरपर्दो सुरक्षा संरचना विकास गर्न प्रतिबद्ध रहेको छ।

    रक्षामन्त्री पिस्टोरियसले भने, देशको हित, सुरक्षा र स्वतन्त्रता अन्तरिक्ष क्षेत्रमा सुनिश्चित गर्न समन्वित राष्ट्रिय रणनीति अघि बढाइनेछ, जसले नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ गहिरो बनाउनेछ। यस योजनामा बहुपरत उपग्रह नेटवर्कको विकास, पूर्वचेतावनी र निगरानी प्रणालीको निर्माण साथै सैन्य उपग्रह सञ्चालन केन्द्र स्थापना गर्ने योजनाहरू समावेश छन्।

    भविष्यमा द्वन्द्वहरू केवल स्थल, समुद्र र आकाशमा मात्र सीमित नहुने, अन्तरिक्ष कक्षमा समेत हुन सक्ने भएकाले शान्ति र सुरक्षालाई निरन्तर सुरक्षित राख्नु आवश्यक रहेको उनले बताए । अन्तरिक्ष सुरक्षामा राजनीति, उद्योग, अनुसन्धान र सैन्य क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उल्लेख गर्दै युरोपेली संघ र नाटोभित्र अझै कडा साझेदारी कायम गर्न र जर्मन उद्योगलाई यस क्षेत्रमा सक्रिय सहभागिताका लागि प्रोत्साहन गर्न आग्रह गरे । यस योजनाले अन्तरिक्ष सुरक्षाको क्षेत्रमा जर्मनीको प्रतिबद्धता र जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

  • विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

    विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

    रासस
    ११ असोज, काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।

    दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब रु चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ । दुई तहले मात्रै दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम लगेका हुन् ।

    सरकारले पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ले ४६१ र घरपरिवारलाई रु एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।

    पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा, ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार रहेका छन् । यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र र खानीखोलामा ५३ पीडित परिवार रहेका छन् ।

    यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन ९डिडिए० भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब छ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डिडिए सकिएको जनाइएको छ । घटनाको एक वर्ष बितिसक्दा पनि विविध कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनर्निर्माण कार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ ।

    गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुआत गर्नुभएको थियो । स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।

    काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन नसकेको हो । उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए ।

  • महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

    महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

    ११ असोज, काठमाडौं । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सकिने प्रबन्ध गरिएको छ ।


    यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भक्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा शुन्य दशमलव ५० प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

    त्यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि प्रवाह गर्नुपर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनाका लागि दुई प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा प्राप्त हुनेछ । त्यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्रमा आवेदन दिनुपर्नेछ ।

    जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।


    रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजतप्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सक्नेछन् । पुनरतालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थियो सोही वर्गमा नै वर्गीकरण हुनुपर्नेछ ।

  • मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

    मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

    ११ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

    ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

    एजेन्सी
    ११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन् । गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो । अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भने, “जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ ।” यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसङ्घको कमट्रेड डाटाबेसले देखाउँछ । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भने, “उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।”

    औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गरेका छन् । उनले भने, “पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।” यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ ।

    राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाए । उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोजेका छन् । यसै क्रममा, ट्रम्पले घर नवीकरणका सामानलाई पनि करको दायरामा ल्याएका छन् । उनले भने, “अक्टोबर १ देखि सबै किचन क्याबिनेट, बाथरुम भ्यानिटी र सम्बन्धित उत्पादनमा ५० प्रतिशत करका साथै साथै अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ ।”

    अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा फर्निचरको कुल बिक्रीमध्ये ६० प्रतिशत आयातमा आधारित थियो । यसमा ८६ प्रतिशत काठको फर्निचर र ४२ प्रतिशत अपहोल्स्टर्ड फर्निचर बाहिरबाट आयात भएको थियो । घोषणापछि आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूको सेयर तत्काल घटेको छ ।


    यी नयाँ भन्सार शुल्कहरूले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीतिको जोखिम बढाउने आशङ्का गरिएको छ । ट्रम्पले आधुनिक अमेरिकाको खुला र आयात–निर्भर नीतिलाई उल्ट्याउँदै संरक्षणवादी शैलीमा उत्पादन पुनर्निर्माण गर्ने अभियान चालेका छन् । उनको प्रशासनले पहिले नै सबै देशमा आधारभूत १० प्रतिशत कर लगाइसकेको छ ।

    यसमा अमेरिकासँग व्यापार असन्तुलन बढी हुने राष्ट्रहरूलाई अझ उच्च दर तोकिएको छ । साथै, उनले फेन्टानिल तस्करी र अवैध आप्रवासनलाई कारण देखाउँदै क्यानाडा, मेक्सिको र चीनमाथि आपत्कालीन शक्तिबाट थप कर पनि लगाए । अर्को हप्ता सुरु हुने यी नयाँ भन्सार शुल्कहरूले विद्यमान उपायहरूमा कसरी कारक हुनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

  • अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

    अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

    ११ असोज, काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज सो प्रणालीको शुभारम्भ गरे । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ । उक्त प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शिघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

    जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

    ११ असोज, काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी कार्यालयको क्षतिको विवरण गृह मन्त्रालयबाट मगाउने निर्णय गरेको छ । साथै, निजी क्षेत्र, उद्योगधन्दा, व्यक्तिगत सम्पतिमा भएको क्षतिका विषयमा आयोगमा आएर वा इमेलमार्फत बुझाउन सकिने उल्लेख गरेको छ ।

    “आयोगले काम सुरु गरेकै दिन क्षतिको विवरण मगाउने निर्णय गरेको छ, सात जना कर्मचारी दिइएको छ”, आयोगका संयोजक कार्कीले भने, “घटनाको छानबिन गर्ने विज्ञ छैन, गोलीसम्बन्धी अध्ययन गर्ने विज्ञ छैन, सरकारी वकील, प्रहरी चाहिन्छ भनेर सरकारलाई भन्छौँ, तोकिएको समय तीन महिनाभित्र सक्ने गरी काम गछौँ ।”

    आयोगले क्षतिसम्बन्धी विवरण पुष्ट्याई गर्ने, कागजात–श्रव्यदृश्य सामग्रीलगायत अन्य कुनै प्रमाण भएमा संलग्न गरी आयोगको कार्यालय व आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाएको छ । यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरुमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।

    यो आयोगको कार्यअवधि तीन महिनाको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छभने धनको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।

  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

    विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

    ११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उनले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बर्ता ।

    बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिए । उनले वर्तमान सरकारका तत्कालका प्राथमिकता प्रकाश पारे । “नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरुको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उनले भने, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।”

    कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएका थिए ।

    विकास साझेदारले चालू अवस्थाका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिए ।

  • सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

    सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

    ११ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरे ।

    त्यसैगरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो । एनआरएनएले जेनजी प्रदर्शनपश्चात गठित अन्तरिम सरकार सफल हुनेमा गैरआवासीय नेपालीहरू विश्वस्त रहेको उल्लेख गर्दै, मुलुकको समृद्धिका लागि सहकार्य गर्न आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ । भेटमा एनआरएनएका सल्लाहकार टिबी कार्की, पूर्व आइसिसी सदस्य सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पूर्व अध्यक्ष दीपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो ।

  • माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

    माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

    १० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए । “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ”, दाहालले भने ।

    सङ्गठनात्मक कार्यशैलीमात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिए । बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

  • माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

    माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

    १० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
    बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन् । महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।


    महाविधेशनमा जेनजी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताए । माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढङ्गले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।


    माओवादीले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर सङ्कटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ । क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ ।

    तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय गरेको छ । बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । दशवटा समूहबाट छानिएका प्रतिनिधिले छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    त्यसबीचमा अध्यक्षसहित सबै पदाधिकारीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । समूहको प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिले अध्यक्षको प्रतिवेदनमाथि समर्थन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

  • फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    १० असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ ।

    फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई अझ सघन रूपमा अघि बढाउन मन्त्रालयले कार्यदल, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई स्पष्ट कार्यादेशसमेत दिएको विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कारागार फर्किन बाँकी कैदीबन्दीलाई यही असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ । गठित कार्यदलले जिल्लाका सबै सुरक्षा एकाइ, सबै स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सूचना प्रकाशन गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाई फर्किन बाँकी कैदीबन्दीको नामावलीसमेत उपलब्ध गराउनेछ ।

    जेनजी प्रदर्शनका क्रममा विभिन्न २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी भागेका थिए । त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र पूर्वीरुकुममा कारागार छैनन् ।

    फरार कैदीबन्दीको नामावली सम्बन्धित जिल्लाको कार्यदलले अरू जिल्लाको कार्यदललाई समेत उपलब्ध गराउने विभागले जनाएको छ । जिल्लाभित्र विद्यालय, क्याम्पस, टोलरक्लब, सार्वजनिकलगायत सवारीसाधन, बसपार्क, मनोरञ्जनस्थल, सीमानाका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत कैदीबन्दीको नामावली पठाई खोजतलास तथा निगरानीलाई सघन बनाइनेछ । भागेका कैदीबन्दी सम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गरी त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यमबाट कार्यदल वा सुरक्षा निकायको टेलिफोनरइमेल सार्वजनिक गरिनेछ ।

    अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई समेत फर्किन बाँकी कैदीबन्दीको विवरण उपलब्ध गराई खोजी कार्यलाई प्रभावकारी बनाउने तथा फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कारबाही गरिने व्यहोराको सार्वजनिक सूचना जारी गरिनेछ । त्यसका लागि कार्यदलले आवश्यकताअनुसार जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक गर्ने, अन्तर समन्वय कायम गर्ने र आवश्यक देखिएका अन्य संयन्त्रहरूको सहयोग लिने कार्यादेशमा उल्लेख छ ।

    कार्यदलले गत भदौ २३ र २४ गते अगाडि कायम भएको अभिलेखानुसार हाल फर्की आएका र आउने कैदीबन्दीको व्यहोरा रुजु भिडान गरी फर्किन बाँकीको दैनिक अभिलेख व्यवस्थित रूपमा तयार गर्नेछ । कार्यदलको रेखदेख, समन्वय र परिचालन गर्ने गराउने र नियमित रूपमा गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखालाई जानकारी गराउने कर्तव्य सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको हुने कार्यदेशमा उल्लेख छ ।

    यसअघि कारागार व्यवस्थापन विभागबाट सम्पादन भइरहेका कार्यका अतिरिक्त सम्बन्धित प्रमुख जिल्ला अधिकारी, पक्राउ तथा खोजी कार्यदल तथा अन्य सम्बन्धित निकायसँग समन्वय पनि विभागले नै गर्नेछ । विभागले फर्किन बाँकी कैदीबन्दीको अध्यावधिक विवरण कार्यदलबाट नियमित रूपमा प्राप्त गरी गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, सञ्चारमाध्यम र अन्य आवश्यकसम्बन्धित निकायहरूमा पठाउनेछ ।

    जेनजी प्रदर्शनपछि फरार कैदीबन्दीलाई कारागारमा फर्काउन, परिस्थितिलाई सहज बनाउन, क्षतिग्रस्त कारागारको अवस्था सामान्य बनाउने काम भइरहेको तथा सरोकारवाला निकायको समन्वयात्मक प्रयासबाट कैदीबन्दी कारागारमा फिर्ता आउनेरल्याउने क्रम जारी रहेको विभागले जनाएको छ ।

  • धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    १० असोज, महेन्द्रनगर । धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।
    जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार कमला नगरपालिका-२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहुलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।