Category: फिचर

  • माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

    माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

    १० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए । “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ”, दाहालले भने ।

    सङ्गठनात्मक कार्यशैलीमात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिए । बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

  • माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

    माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

    १० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
    बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन् । महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।


    महाविधेशनमा जेनजी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताए । माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढङ्गले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।


    माओवादीले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर सङ्कटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ । क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ ।

    तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय गरेको छ । बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । दशवटा समूहबाट छानिएका प्रतिनिधिले छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    त्यसबीचमा अध्यक्षसहित सबै पदाधिकारीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । समूहको प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिले अध्यक्षको प्रतिवेदनमाथि समर्थन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

  • फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    १० असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ ।

    फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई अझ सघन रूपमा अघि बढाउन मन्त्रालयले कार्यदल, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई स्पष्ट कार्यादेशसमेत दिएको विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कारागार फर्किन बाँकी कैदीबन्दीलाई यही असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ । गठित कार्यदलले जिल्लाका सबै सुरक्षा एकाइ, सबै स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सूचना प्रकाशन गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाई फर्किन बाँकी कैदीबन्दीको नामावलीसमेत उपलब्ध गराउनेछ ।

    जेनजी प्रदर्शनका क्रममा विभिन्न २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी भागेका थिए । त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र पूर्वीरुकुममा कारागार छैनन् ।

    फरार कैदीबन्दीको नामावली सम्बन्धित जिल्लाको कार्यदलले अरू जिल्लाको कार्यदललाई समेत उपलब्ध गराउने विभागले जनाएको छ । जिल्लाभित्र विद्यालय, क्याम्पस, टोलरक्लब, सार्वजनिकलगायत सवारीसाधन, बसपार्क, मनोरञ्जनस्थल, सीमानाका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत कैदीबन्दीको नामावली पठाई खोजतलास तथा निगरानीलाई सघन बनाइनेछ । भागेका कैदीबन्दी सम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गरी त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यमबाट कार्यदल वा सुरक्षा निकायको टेलिफोनरइमेल सार्वजनिक गरिनेछ ।

    अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई समेत फर्किन बाँकी कैदीबन्दीको विवरण उपलब्ध गराई खोजी कार्यलाई प्रभावकारी बनाउने तथा फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कारबाही गरिने व्यहोराको सार्वजनिक सूचना जारी गरिनेछ । त्यसका लागि कार्यदलले आवश्यकताअनुसार जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक गर्ने, अन्तर समन्वय कायम गर्ने र आवश्यक देखिएका अन्य संयन्त्रहरूको सहयोग लिने कार्यादेशमा उल्लेख छ ।

    कार्यदलले गत भदौ २३ र २४ गते अगाडि कायम भएको अभिलेखानुसार हाल फर्की आएका र आउने कैदीबन्दीको व्यहोरा रुजु भिडान गरी फर्किन बाँकीको दैनिक अभिलेख व्यवस्थित रूपमा तयार गर्नेछ । कार्यदलको रेखदेख, समन्वय र परिचालन गर्ने गराउने र नियमित रूपमा गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखालाई जानकारी गराउने कर्तव्य सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको हुने कार्यदेशमा उल्लेख छ ।

    यसअघि कारागार व्यवस्थापन विभागबाट सम्पादन भइरहेका कार्यका अतिरिक्त सम्बन्धित प्रमुख जिल्ला अधिकारी, पक्राउ तथा खोजी कार्यदल तथा अन्य सम्बन्धित निकायसँग समन्वय पनि विभागले नै गर्नेछ । विभागले फर्किन बाँकी कैदीबन्दीको अध्यावधिक विवरण कार्यदलबाट नियमित रूपमा प्राप्त गरी गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, सञ्चारमाध्यम र अन्य आवश्यकसम्बन्धित निकायहरूमा पठाउनेछ ।

    जेनजी प्रदर्शनपछि फरार कैदीबन्दीलाई कारागारमा फर्काउन, परिस्थितिलाई सहज बनाउन, क्षतिग्रस्त कारागारको अवस्था सामान्य बनाउने काम भइरहेको तथा सरोकारवाला निकायको समन्वयात्मक प्रयासबाट कैदीबन्दी कारागारमा फिर्ता आउनेरल्याउने क्रम जारी रहेको विभागले जनाएको छ ।

  • धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    १० असोज, महेन्द्रनगर । धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।
    जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार कमला नगरपालिका-२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहुलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

    खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

    १० असार, काँक्रेविहार । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।

  • नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

    नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

    १० असोज, चितवन । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ ।

    उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए ।

    “सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ । यसअघि नाम्सीमा दुई दिनअघि पहिरो खस्दा अड्किएका ढुङ्गा पनि खसेकाले पहिरोको तत्काल पहिरोको जोखिम देखिएको छैन । हाल सडक सुरक्षित देखिन्छ”, लामिछानेले भने, यस सडकखण्डमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ ।

    तत्काल पहिरोको जोखिम नदेखिए पनि पूर्ण भर गर्नसक्ने अवस्था नरहेकाले सावधानीपूर्वक आवतजावत गर्न हाम्रो आग्रह छ ।”

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको बताए । निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उनले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको जानकारी दिए ।

  • भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

    भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

    १० असोज, काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
    विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् ।

    उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् ।

  • पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

    पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

    १० असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ ।

    उनले भने, “सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन् ।” अन्य समय भन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि स्थल मार्ग पहिरोले जोखिम बन्दा चाप बढेको उनले बताए । काठमाडौँबाट आउने र काठमाडौँ जाने दुवैको चाप बढेको उनले जानकारी दिनुभयो । पहिला काठमाडौँबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उनले बताए । दसैँ नजिकिएकाले पनि यात्रुको चाप बढेको हो ।

    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उनले बताए । बिहान ८ः०० देखि अपराह्न ३ः३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उनले बताए । भरतपुर–पोखरा एउटा उडान र भरतपुर–काठमाडौँ नौ उडान भरिँदै आएको उनले बताए । बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न नसकिएको उनको भनाई छ । उडान थप हुँदासमेत यात्रुले सहज टिकट पाउने अवस्था छैन ।

    रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । उनले भने, “धावन मार्ग छोटो हुँदा र रात्रिकालीन उडान नहुँदा मागअनुसारको उडान गर्न सकेका छैनौँ ।” यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ । विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ । पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उनले बताए । यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन् ।

  • लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

    लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

    १० असोज, लद्दाख । भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

    उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

    सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो । भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

    यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् । लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ । यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ ।

  • नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

    नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

    एजेन्सी
    १० असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ । विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् । नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।

    फ्रान्सले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न इजरायललाई अनुमति दिएको भएपनि उडान ‘ट्रयाकिङ् डाटा’ले नेतान्याहूको विमानले दक्षिणी बाटो लिएको देखाएको एएफपीसँग कुरा गर्ने एक फ्रान्सेली कूटनीतिक स्रोतले बताएकोे छ । विमानले सुरूमा ग्रीस र इटालीको आकास भएर एट्लान्टिक पार गर्नु अघि जिब्राल्टरको हवाइ मार्ग हुँदै दक्षिणतिर मोडिएको थियो । बेलायत, फ्रान्स र पोर्चुगलले यस हप्ता प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको श्रृङ्खलामा आफुलाई सामेल गराएका थिए । यो कदमको प्रधानमन्त्री नेतान्याहूले कडा विरोध गर्नुभएको थियो । आयरल्याण्ड र स्पेनले अस अघि मे महिनामा नै प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए ।

    केही इजरायली सञ्चारमाध्यमले नेतान्याहूको विमानले रोम सम्मेलनमा प्यालेस्टाइनलाई मान्यता दिने सहमति गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने देशहरूको मार्ग प्रयोग नगर्ने उद्देश्य राखेको बताएका छन् । उनीहरूले आपतकालीन अवतरणको मामलामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी कानुन प्रयोग गर्न सक्ने सम्भावनाप्रति नेतन्याहुले आफुलाई सजग बनाएको हुनसक्ने अनुमान गरिएको केही इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

    गत नोभेम्बरमा आइसिसीले नेतन्याहू र उनका पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध गाजामा इजरायलको सैन्य आक्रमणका क्रममा भएको कथित युद्ध अपराधको आरोपमा पुर्जी जारी गरेको थियो। स्पेनले गत हप्ता आइसिसीको अनुसन्धानलाई समर्थन गर्ने घोषणा गरेको थियो र गाजामा कथित मानवअधिकार उल्लङ्घनको छानबिन गर्न एक टोली गठन गरेको थियो। नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आगामी साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  • मुख्ययाममै सुनसान छन् म्याग्दीका पर्यटकीयस्थल

    मुख्ययाममै सुनसान छन् म्याग्दीका पर्यटकीयस्थल

    १० असोज, म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए ।


    “चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ”, उनले भने, “होटल र पर्यटकीयस्थल सुनसान छ ।” विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो ।

    सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए ।

    “मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्”, उनले भने, “विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।” घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे ।

    म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ ।

    बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो ।

    भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए ।
    “दसैँअघि पर्यटक आगमन निराशाजनक छ”, उनले भने, “दसैँपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौँ ।” भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशविन्दु पनि हो ।

  • सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन, के भने ?

    सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन, के भने ?

    १० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिए ।


    यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्नुपर्नेछ । परिषद्को कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण-सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउनुपर्नेछ । त्यसैगरी, २०६९ सालदेखि हालसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदन छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस गर्ने र सम्बन्धन दिने÷नदिने निर्णय तुरुन्त गर्नुपर्नेछ ।

  • हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

    हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

    १० असोज, काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध छ ।

    सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । उता, गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।

    आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम सुरु गरेको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ ।


    आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

  • रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

    रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

    १० असोज, काठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।


    उनका अनुसार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन् । प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

  • आज देशका अधिकांश भागको मौसम सफा

    आज देशका अधिकांश भागको मौसम सफा

    १० असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

  • अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

    अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

    ९ असोज, काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए । पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो ।

    बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए । यसैगरी, आफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताए ।

  • जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता

    जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता

    ९ असोज, काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १५ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता दिने निर्णय गरेको हो । १० लाख सहायता र काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    मन्त्री खरेलले भने, “यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका प्रतिपरिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक) रु १० लाखको दरले आर्थिक सहायता र काजकिरिया, खाना खर्च र खाना खर्चबापत रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।”

  • ‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

    ‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

    ९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् । आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पा।रे । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उनले भने ।


    जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उनले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पारे । “अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ”, उनले भने ।

  • किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

    किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

    राष्ट्रिय समाचार समिति (रासस)
    ९ असोज, सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय पंकज सिंहतर्फ मोडियो । पंकज अभिषेकका काका पर्ने नातेदार हुन् ।

    प्रहरीका अनुसार अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा पंकजले योजनाबद्ध रूपमा हत्या गरेका हुन् । ७ गते नै पक्राउ परेका पंकजले प्रहरीलाई दिएको बयानमा अभिषेकलाई ‘खेल्न जाउँ’ भनेर घरबाट लगेका थिए । पहिले खेतमा खाल्डो खनी ड्रम राखिसकेका उनले गम्छाले बाँधेर अभिषेकको घाँटी थिचेर हत्या गरेका थिए । प्रारम्भमा शव ड्रममा राखी खाल्डोमा पुरेर माथिबाट माटोले ढाकिएको थियो ।

    हत्या पश्चात पनि पंकजले आफन्तसँग खोजी अभियानमा संलग्न बनेको अभिनय गरेका थिए । असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड फिरौति माग गर्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाएका थिए । सन्देशमा उल्लेख थियो, “पैसा नदिए मारिदिन्छौँ, प्रहरीले थाहा पाए पनि लास फाल्नेछौँ ।” यसबाट घटनालाई सीमापार (बिहारतर्फ) बाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    घटनाको राति भारी वर्षा भएपछि ड्रम देखिन थाल्यो र पंकज फेरि घटनास्थल गए । त्यसपछि शव निकालेर आँप बगैँचामा फ्यालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान उनले प्रहरीसमक्ष दिएका छन् । घटनामा प्रयोग भएको गम्छा विद्यालय प्राङ्गणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट प्रहरीले बरामद गरेको छ । साथै, फिरौति सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पंकजकै रहेको पुष्टि भएको छ । उक्त मोबाइल दाउरा राख्ने घरभित्र फेला परेको छ ।

    अभिषेक परिवारका एक्ला छोरा थिए । उनका पिता सञ्जय सिंहको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । अभिषेककै नाममा चार बिघा पुख्र्यौली जमिन रहेको हुँदा सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, “पंकजले घटना आफू एक्लैले गरेको भनेका छन् तर ड्रममा शव लुकाउनेदेखि निकालेर फाल्नेसम्मको प्रक्रिया हेर्दा अरुको पनि संलग्नता हुनसक्छ ।” घटनाको गम्भीरताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत अनुसन्धानमा खटिएको छ । नाबालक पंकजलाई मोहरा बनाइ अरू कसैले योजनाबद्ध ढङ्गले हत्या गराएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शर्माले भने, “दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन् । केही निष्कर्ष आउन बाँकी छ, निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौँ ।”

  • पूर्वगृहमन्त्री लेखकलाई मातृशोक

    पूर्वगृहमन्त्री लेखकलाई मातृशोक

    ९ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो । ८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिइन् ।

    उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी र एक छोरा छन् । जेन जी आन्दोलनमा आम युवाको मृत्यु भएपछि लेखकले राजिनामा गरेका थिए । त्यसपछि उनी सार्वजनिक भएका छैनन् ।

  • घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    ९ असोज, काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

    काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।


    उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

  • मतदाता नामावली सङ्कलन सुरु, अब १६ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउने

    मतदाता नामावली सङ्कलन सुरु, अब १६ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउने

    ९ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

    सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार १६ वर्ष पूरा भएकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने तर १८ वर्ष उमेर पूरा भएपछि मात्र मतदानको अधिकार प्राप्त गर्नेछन् ।

    आयोगको वेबसाइटमार्फत् ‘प्रि–रजिष्ट्रेशन’ प्रणालीबाट फारामभरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनुपर्ने भएमा पनि सोही अवधिमा सच्याउन सकिने जनाएको छ । आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको थियो । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् । नामावली सङ्कलन पुन सुरु गरेसँगै युवा मतदाताको सङ्ख्या वृद्धि हुनेछ ।

    यसअघि तोकिएको उपनिर्वाचनको मितिअनुसार गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकामा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन खुला गरिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो । प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीले यही असोज ७ गते निर्वाचनका लागि कानुन संशोधन र व्यवस्थापकीय तयारीबारे छलफल गरेका छन् ।

  • विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

    विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

    ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो ।

    सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी छिन् । उनका सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

    उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् । उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।

  • प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

    प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

    ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताएकी छिन् । आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ । यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।”

    आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अठोटसहित निर्वाचन प्रक्रियामा होमिएको वर्तमान सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरिन् ।
    सम्बोधनको पूर्ण विवरण यसप्रकार छः
    “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    १. २०८२ भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन र सोपश्चात् माग भएअनुसार मेरो नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने आह्वान गरिएअनुसार यही भदौ २७ गते गठन भएको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मेरा आफ्ना अभिमतहरू संविधान दिवसका अवसरमा यहाँहरूसमक्ष सार्वजनिक गरिसकेको छु । हाल समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू समावेश भएको मन्त्रिमण्डलको गठन भइसकेकाले नेपाली जनताले शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त र सुशासन, चुस्त र प्रविधिमैत्री सार्वजनिक सेवाप्रवाह, विकास र समृद्धिको आकाङ्क्षा राखी गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपश्चात्को जटिल परिस्थितिमा छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित म प्रधानमन्त्री भएको छु ।

    २. युवापुस्ताले गरेको प्रदर्शन र आन्दोलनका क्रममा मृत्युवरण गर्न पुगेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै, सार्वजनिक संरचनाहरू, व्यावसायिक प्रतिष्ठान र निजी घर सम्पत्तिमा भएको अकल्पनीय र अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ ।

    ३. प्रदर्शनका क्रममा जीवन गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै, सरकारले घाइतेहरूको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरेको छ । यसको अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनु परेकामा यो सरकार सम्बद्ध दोषीउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

    ४. यस जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यकपर्ने जनशक्ति, बजेट, निर्वाचन सामग्री, सुरक्षा र कानुनी व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको छ । १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशका माध्यमबाट संशोधन गरिसकिएको छ ।

    ५. रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाटसमेत आगामी निर्वाचनमा मतदान गर्नसक्ने सम्भावनाका बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकहरूले उठाएका संविधानसम्मत मागहरूप्रति वर्तमान सरकार सकारात्मक रहेको छ ।

    ६. प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकाङ्क्षाको प्रतिनिधित्व गर्नसक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गर्न चाहान्छु । स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागिसमेत आह्वान गर्दछु । निर्वाचन सम्पन्न हुनका निम्ति शान्तिपूर्ण वातावरण कायम हुनु जरूरी छ । तसर्थ, मुलुकका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्नुहुने दिदीबहिनी तथा दाजुभाईलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गर्दछु ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    ७. आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका भवनलाई शीघ्र पुननिर्माण गर्न सरकार, नीजि क्षेत्र तथा स्वयंसेवक नागरिकहरू जुटिसकेका छन्।् । त्यसैगरी सुरक्षा निकायलाई आवश्यकपर्ने सवारीसाधन, बन्दोबस्तीका सामान, फर्निचरजस्ता अत्यावश्यक सामग्रीहरूको शीघ्र व्यवस्थागरी सुरक्षा निकायलाई पूर्ववत् रूपमा कार्यस्थलमा परिचालन गर्नेगरी सरकारले कार्य प्रारम्भ गरिसकेको छ ।

    ८. छमहिने कार्यवधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्नसक्ने अवस्था छैन । तापनि हामी कतिसम्म गर्न सक्दछौँ त्यसको इमानदार प्रयास गर्नेछौँ । सरकारी निकायबाट प्रवाह हुने सेवामा सहजता महसुस हुनेगरीबिना झन्झट, कुनै रिसवत नदिइ सेवा प्राप्त हुने कुराको सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचारको न्यूनीकरण, विधिको शासन र सामाजिक न्यायको प्रत्याभूतिलगायतका क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ ।

    ९. सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी सुनी सोको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तिनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको छ ।

    १०. नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहान्छु ।

    ११. नेपाल सरकारले उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानलाई राहत, कर, छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको छ ।

    १२. निजी क्षेत्रको मनोबल वृद्धि गर्न तथा आन्तरिक र अन्तरराष्ट्रिय व्यापारको लागत कम गर्न प्रक्रियागत सुधार प्रारम्भ गरिसकिएको छ । नेपाल सरकारले औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको सुरक्षा व्यवस्था कायम राख्न उच्च प्राथमिकता दिएको छ ।

    १३. सरकारले आन्दोलनका क्रममा क्षति हुन पुगेका संरचनाहरू पुनर्निर्माण तथा पुनःस्थापना र आमनिर्वाचन सम्पन्न गर्नका लागि अनुत्पादक खर्च कटौती गर्दै टुक्रे आयोजनाका लागि विनियोजित बजेट खारेज गरेको छ ।

    १४. आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणसम्बन्धी कार्यका लागि पुनःस्थापना कोषको स्थापना गरिएको छ । पुनर्निर्माणमा योगदान गर्न चाहने सरकारी, निजी क्षेत्र, सङ्घसंस्था एवं मित्रराष्ट्रलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछु ।

    १५. सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गरी सोको पुनर्निर्माण योजना तयारीको कार्य प्रारम्भ गरिएको छ । साथै, क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार, सवारीसाधन तथा अन्य मालसामान खरिद प्रकृयालाई छिटो र सरल बनाई नियमित काम र सेवा प्रवाह सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । दुर्गम हिमाली तथा पहाडी जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने कार्य प्रारम्भ गरिएको छ ।

    १६. आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट, बलप्रयोगलगायतका घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ ।

    १७. वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ, त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ ।

    १८. सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै वर्तमान जेनजी आन्दोलनले उठाएका आवाजहरूलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था छ । मुलुकको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रको रक्षार्थ हामी सबै नेपाली एकताबद्ध भई विवेक पु¥याएर अगाडि बढनुपर्ने परिस्थिति छ । तसर्थ, यस विषम घडीमा मेरो नेतृत्वको अन्तरिम सरकारलाई दिएको जिम्मेवारी पूरा गर्न सबै राष्ट्रप्रेमी नेपाली नागरिकबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु ।

    १९. गुणस्तरीय र सम्मानपूर्ण जीवन, आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र भ्रष्टाचारको अन्त्य जेनजी युवापुस्ता र हामी सबैको साझा एजेण्डा भएकाले यी लक्ष्य प्राप्तिमा कत्ति पनि समय खेर नफाली आम नागरिकले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने खाँचो देख्दछु ।

    २०. युवा पुस्ताको सोच र भावनाबमोजिम सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भइ उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी बहन गर्न आह्वान गर्दछु । मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं गतिविधिमा संलग्न नभई आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने पक्षमा क्रियाशील हुन राष्ट्रसेवक एवं सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछु ।

    २१. आसन्न चाडपर्वहरूमा खाद्यान्नलगायत उपभोग्य सामग्रीहरूको आपूर्ति, यातायातको सहज प्रबन्ध र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन राज्यका सबै संयन्त्रलाई सक्रिय बनाइएको व्यहोरा जानकारी गराउन चाहान्छु ।

    २२. अन्तमा, २०८२ सालको बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायतको पर्वको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

  • सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

    सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

    एजेन्सी
    ९ असोज, सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् । आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङ भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो । हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा पानी पस्यो ।

    सहर अझै आँधीबेहरी–स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ । तटीय क्षेत्रमा पानी सामान्य स्तरभन्दा तीन मिटरभन्दा माथि पुगेको छ । मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ ।

    उत्तरी फिलिपिन्समा रागासाले दुई जनाको मृत्यु भइसकेको छ । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले टाइफुन गुआङडोङ प्रान्तको झुहाई र झानजियाङबीच बुधबार दिउँसो अवतरण गर्ने जनाएको छ । चीनका दक्षिणी कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । याङजियाङ सहरमा सडकहरू खाली देखिए भने रेल सेवा स्थगित गरिएको छ ।

    सामाजिक सञ्जालमा प्रमाणित तस्बिरहरू अनुसार धेरै जिल्लामा बाढी आएको छ । ओसन पार्क नजिकैको होटलमा आँधीले काँच फोड्दा पानी पसेको छ । पैदल पुलको टुप्पो भाँच्चिएको र अग्ला भवनहरू हावाले हल्लिएका थिए । पचास अस्थायी आश्रयमा सात सय ६० जनाभन्दा बढी शरण लिएका छन् । रेल सेवा खुला खण्डमा बन्द गरिएको छ भने भूमिगत खण्डमा सीमित सञ्चालन भइरहेको छ । विमानस्थलमा सयौँ उडान रद्द भएका छन्, कार्गो उडानहरू मात्रै सञ्चालनमा छन् ।

    मङ्गलबार चाई वान जिल्लामा छाल हेरिरहेका पाँच वर्षीय बालक र उनकी आमा समुद्रमा खसेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई बचाउन दौडिएका ४० वर्षीय बुबा पनि अस्पतालमा भर्ना भएका छन् । गभर्नर र अधिकारीहरूले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

    अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

    एजेन्सी
    ९ असोज, न्यूयोर्क । अमेरिकामा नयाँ घरहरूको बिक्री दर अगस्टमा सन् २०२२ को शुरुवातपछि सबैभन्दा उच्च विन्दुमा पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । धितो दरहरू हटाइएसँगै निर्माणकर्ताहरूले खरीदकर्ताहरूलाई लोभ्याउन प्रोत्साहन प्रस्ताव गरेका छन्। वाणिज्य विभागको तथ्याङ्क अनुसार नयाँ घरहरूको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा आठ लाख अमेरिकी डलर पुगेको छ।

    यो दर ब्रिफिङ डट कमको सर्वसम्मत पूर्वानुमानले अपेक्षा गरेको छ लाख ५० हजारभन्दा माथि पुगेको थियो। हालैका वर्षहरूमा विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था मानिने अमेरिकामा खर्च गर्न सक्ने दरमा आएको कमीले घरजग्गा खरिद्बिक्रीलाई ह्वात्तै तल झारेको छ । “खरीदकर्ताहरूले कम धितो दर र निर्माणकर्ताहरूबाट प्रोत्साहनका लागि आ प्रतिक्रिया दिइरहेका छन्,“ नेवी फेडरल क्रेडिट युनियनका प्रमुख अर्थशास्त्री हेदर लङले भने ।


    “उनीहरूले नयाँ घरहरूको मूल्य धेरै देखिरहेका छन् र बजारमा बिक्रीको लागि नयाँ घरहरूको असामान्य रूपमा उच्च कारोबारको फाइदा लिइरहेका छन्,“ उहाँले सामाजिक सञ्जालमा जारी एक सन्देशमा भने । बेचिएका नयाँ घरहरूको औसत मूल्य चार लाख १३ हजार ५०० अमेरिकी डलर कायम भएको र यो जुलाईको स्तरभन्दा ४.७ प्रतिशत बढी हो।

    लङले भन्नुभयो, “धेरै अमेरिकीहरू लागतको दबाब कम हुने अवसरलाई पर्खिरहेका छन्।” गत हप्ता, अमेरिकी केन्द्रीय बैङ्कले सन् २०२५ मा पहिलो पटक ब्याजदर कटौती गर्दै प्रमुख कर्जा दरलाइ २५ आधार बिन्दुले घटाएको थियो र यो वर्ष थप कटौतीको सङ्केत गरेको थियो । “घर निर्माणकर्ताहरूले बिक्रीलाई प्रोत्साहित गर्न मूल्य कटौती र अन्य प्रोत्साहनहरू प्रस्ताव गरिरहेका छन्,” अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री न्यान्सी भ्यान्डेन हाउटेनले भने ।

    उनले अगाडि भने, “केही निर्माणकर्ताहरूले ती प्रोत्साहनहरूमा कटौती गर्ने सङ्केतहरू छन् किनकि नाफाको सीमा घटाइएको छ।” कतिपय विश्लेषकहरूले नयाँ घर खरिदबिक्री अस्थिर भएको र समग्र बजारको सानो आकारको लागि लेखाङ्कन जारी रहेको चेतावनी दिएका छन्।

  • बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

    बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

    रासस
    ९ असोज, गलकोट । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् ।

    दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेँडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्राउने गरिएको बलबहादुर थापाले बताए । बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा भित्र्याउँदै आएका उपल्लाचौरका थापाले यस पटक २९ वटा मात्रै च्याङ्ग्रा भित्र्याएको जानकारी दिए ।
    उनले प्रतिच्याङ्ग्रा रु ३५ हजारदेखि रु ३७ हजारसम्ममा बिक्री हुने गरेको बताए ।

    च्याङ्ग्राको मासु काटेर प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री गर्दै आएको भन्दै थापाले मूल्यवृद्धि भएकाले पछिल्लो समय च्याङ्ग्राको मासु कम खपत हुन थालेको अनुभव सुनाए । गत वर्ष जिल्लामा तीनसय भन्दा बढी च्याङ्ग्रा भित्रिने गरेकामा यस वर्ष मूल्य वृद्धि भएसँगै उक्त सङ्ख्यामा कमी आएको हो ।

    “स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन । आर्थिक अवस्था कमजोर हुनेले खानै सक्दैनन्”, थापाले भने, “मुस्ताङबाट चार दिनमा च्याङ्ग्रा ल्याएको हो, रोज्जा च्याङ्ग्राको मूल्य रु ३७ हजार पर्दछ ।” उनले पहिला जस्तो च्याङ्ग्रा व्यापारमा नाफा नभएको बताए ।


    थापासँगै बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०÷३० गरी ६० वटा च्याङ्ग्रा भित्र्याएका छन् । बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आउनुभएका केसीले लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने कामलाई निरन्तरता दिइराखेका छन् । च्याङ्ग्राको आयात थोरै हुँदा मूल्य बढेको उहाँको भनाइ छ । मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका उनले जानकारी दिए ।
    गोठबाट उतैका व्यापारीले च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट खरिद गरेको केसीले जानकारी दिए । हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा बागलुङ झार्ने गरिन्छ ।

  • अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

    अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

    एजेन्सी
    ९ असोज, काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ । यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ ।

    अष्ट्रेलियाको ई–सुरक्षा आयोगका प्रमुख जुली इनम्यान ग्रान्टले थप १६ कम्पनीहरूलाई पत्र पठाई आफ्नो सेवा प्रतिबन्धको दायरामा पर्छ कि पर्दैन भन्ने ‘आत्म–मूल्याङ्कन’ गर्न निर्देशन दिए । नयाँ सूचिमा पिन्टरेस्ट, लेगो प्ले, किक, स्टिमजस्ता सेवा प्रदायकहरू पनि परेका छन् । यी कम्पनीहरूले यदि आफ्नो सेवा बालबालिकालाई सुरक्षित रहेको दाबी गर्न चाहन्छन् भने त्यसको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ ।

    इनम्यान ग्रान्टले भने, केही सेवाहरू स्पष्ट रूपमा प्रतिबन्धको दायरामा पर्छन्, तर हामी सबै कम्पनीलाई न्यायपूर्ण प्रक्रिया दिनेछौं । सबै पक्षलाई सुनिनेछ ।”
    नियामक निकायले सुरुवाती चरणमा सबैभन्दा बढी प्रयोगकर्ताहरू भएका प्लेटफर्महरूमा ध्यान केन्द्रित गर्ने बताएको छ, जहाँ बालबालिकामाथि हानिको जोखिम पनि बढी हुने गर्छ । यद्यपि अष्ट्रेलिया इन्टरनेट प्रयोगमा बालबालिकाको सुरक्षाका लागि कानुनी पहलमा अगाडि देखिए पनि हालको कानुन कार्यान्वयन कसरी गर्ने भन्नेमा अस्पष्टता देखिएको छ । यसले विज्ञहरूमा यो कानुन व्यवहारमा लागू गर्न गाह्रो हुने भन्दै चिन्ता उत्पन्न गराएको छ ।

    यदि कुनै कम्पनीले नियमको उल्लङ्घन ग¥यो भने, ई–सुरक्षा आयोगले ती कम्पनीलाई चार करोड ९५ लाख अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्नेछ ।
    कैयौं सामाजिक सञ्जाल कम्पनीहरूले भने यो कानुनलाई ‘अस्पष्ट’ र ‘अव्यवस्थित’ भनेर आलोचना गरेका छन् । कसरी प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने भन्ने विषयमा सरकार अझै स्पष्ट छैन । सरकारको निर्देशनमा गरिएको एउटा स्वतन्त्र अध्ययनले उमेर प्रमाणीकरण गोप्य, प्रभावकारी र सरल रूपमा गर्न सकिने देखाए तापनि एउटै उपाय सबै प्लेटफर्ममा लागू गर्न नसकिने उल्लेख गरिएको छ ।


    बालबालिकाको सुरक्षाका लागि अन्य कडा नियम ई–सुरक्षा आयोगले यसै वर्षदेखि केही नयाँ नियमहरू लागू गर्दैछ, जसले ‘कानुनी तर हानिकारक’ सामग्रीहरूबाट बालबालिकालाई जोगाउने प्रयास गरिनेछ । यसै सन्दर्भमा, रोब्लक्सले अष्ट्रेलियामा बालबालिकालाई अनलाइन दुव्र्यवहारबाट जोगाउन केही कडाइ अपनाउने निर्णय गरेको छ ।

  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    ९ असोज, बनियानी । झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    ९ असोज, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

    त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ पासाङल्हामु राजमार्गस्थित नेपाल चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका ४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।