रासस ९ असोज, काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।” नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।
९ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ । पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ । यसका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान छ ।
विद्युतीकरणका लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । यसअन्तर्गत पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने कार्य हुने जनाइएको छ । केन्द्र्र प्रमुख श्रीवास्तवले हाल आवश्यक सामग्री ढुवानी भइसकेको र पोल गाड्ने काम तीव्र गतिमा अगाडि बढाइएको बताए ।
धार्मिक क्षेत्र मुडकादेखि पर्यटकीय गाउँ धारापानीसम्मको पाँच किलोमिटर क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको र यसका लागि एक ८२ वटा पोल जडान गरिने उनले जानकारी दिए । ठेक्का सम्झौताअनुसार ९० दिनभित्रै काम सक्ने लक्ष्य राखिएको छ । तिहारअघि नै त्यस क्षेत्रमा बिजुली पु¥याउने हाम्रो रहेको श्रीवास्तवले बताए ।
विद्युतीकरणको काम अघि बढेपछि स्थानीय बासिन्दा र भक्तजनमा खुसी छाएको छ । वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावका कारण भक्तजनले सास्ती खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा छ ।” उनका अनुसार धारापानीमा विसं २०२८ सालदेखि बस्ती बसेको भए पनि हालसम्म विद्युत् सेवा पुगेको थिएन । त्यहाँ करिब ३५ परिवारको बसोबास छ । स्थानीय बासिन्दाले लामो समयदेखि टुकीको भरमा रात कटाउँदै आएका थिए ।
स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ भन्ने समाचारले हामी निकै खुसी भएका छौँ । विद्युत् नहँुदा समस्या थियो, मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढाको गाउँसम्म पुग्नुपर्दथ्यो, विद्युतीकरणका लागि पोल गाड्ने कार्य अगाडि बढेकाले विद्युत् पुग्नेमा आशावादी भएका छौँ”, उनले भने ।
यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र होइन, भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा समेत करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको वितरण केन्द्रले जनाएको छ । त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल गाड्ने, तार तान्ने र दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको छ । श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रसम्म पनि विद्युत् बिस्तारको कार्य पूरा गरिएको छ ।
९ असोज, गलकोट । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दसँै मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।
जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताइन् ।
यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भनिन् ।
स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए । खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।
९ असोज, दोधारा चाँदनी । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उनले भनिन्, “दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।”
विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ । गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ ।
“सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भने, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।”सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
९ असोज, झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् ।
प्रदर्शनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट रु ७० लाख बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका नौका विहार, सहिद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।
आन्दोलनकारीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुङ्गा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, सहिद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड गरेको सुवेदीले जानकारी दिए । “केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ”, उनले भने, “यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।”
व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उनले बताए । यहाँ अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेका छन् । ‘जेनजी’ प्रदर्शनपछि यहाँ प्रवेश बन्द गरिएको छ । पर्यटकमा निर्भर प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि हाल सुनसान छन् ।
सन् २०१२ मा उभयचर वैज्ञानिक डा केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिँदै आइएको छ ।
९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने ५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । उनको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भई मन्त्रिमण्डललाई वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गने निर्वाचन सम्पन्न गर्ने रहेको छ ।
८ असोज, चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको थियो । दिनभर पन्छाउँदा समेत काम भने सकिएन । आज सो भेगमा ठूलो वर्षा भएको थियो ।
त्यसपछि रातभरका लागि काम रोकिएको छ । सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्ण रुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको उनले बताए ।
सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ । सडक रोकिएसँगै ठूलो सङ्ख्यामा सवारीसाधन लाममा छन् । यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् । मालवाहक सवारीसाधन लाममा छन् । डिभिजन सडक कार्यालय चितवनले तुइन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सकिने छ । त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिने छ ।
हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । काठमाडौँतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ । त्यसैगरी पोखरा जानका लागि ठूला साना दुवै सवारीसाधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ । कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ । गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ ।
८ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो । महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए ।
उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरि सकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्र तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुईवटा लाइट जडान भइसकेको राससलाई जानकारी दिए ।
महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताए । महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्याएको छ । उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए ।
७ असोज, दोधारा चाँदनी । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरु समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रुपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उनले भने ।
जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उनको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उनको गुनासो छ । “हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपथ्र्यो”, राउटेले भने, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”
समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उनले भने । “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” उनले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उनले भने, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”
करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरु परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् । “हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भनिन्, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।” जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ ।
८ असोज, ढोरपाटन । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।
गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ ।
महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् ।
यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए । आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाए ।
उनले भने, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।”
वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताए ।
आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उनको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०\२२ तिर झथ्र्यो अहिले त अलि छिटै प¥यो”, उनले भने । “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।”
लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताए । गाई लिन एक जना आफन्तलाई लेक पठाएको उनले बताए । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाए ।
८ असोज, काठमाडौं । सिङ्गापुरमा वार्षिक आधारमा मापन हुने मूल्य वृद्धि (मुद्रास्फीति) दर अगस्ट महिनामा ०.३ प्रतिशतमा झरेको छ, जुन जुलाई महिनाको ०.५ प्रतिशतभन्दा कम हो । यो तथ्य सरकारी तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको हो । व्यापार तथा उद्योग मन्त्रालय र सिङ्गापुरको मौद्रिक प्राधिकरणले संयुक्त विज्ञप्तिमा सेवासम्बन्धी मूल्य वृद्धिमा भएको कमीले कुल मूल्य वृद्धिलाई कम गरेको बताएको छ ।
महिनाका आधारमा मूल्य सूचकाङ्कमा ०.१ प्रतिशतको वृद्धि देखिएको छ । यस सूचकाङ्कले आवास र निजी यातायात खर्चलाई बाहिर राखेर उपभोक्तामाझ मागमा आधारित मूल्य वृद्धिलाई मापन गर्छ । अगस्ट महिनामा वार्षिक आधारमा यो ०.५ प्रतिशत पुगेको छ, जुन जुलाईको ०.६ प्रतिशतभन्दा कम हो । विज्ञप्तिमा मूल मूल्य वृद्धि घट्नुका साथै आवाससम्बन्धी मूल्य वृद्धि पनि घटेको उल्लेख गरिएको छ ।
८ असोज, काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वको आर्थिक वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा पुग्ने अनुमान छ । यस गिरावटको मुख्य कारणहरूमा अग्रिम व्यापार आपूर्ति प्रणालीको अन्त्य, भन्सार दरमा वृद्धि र नीतिगत अनिश्चितता रहेका छन्, जसले लगानी र अन्तर्राष्ट्रिय व्यापारलाई कमजोर बनाएको ओईसिडीको भनाइ छ ।
यद्यपि दीर्घकालीन अनुमान कमजोर देखिए पनि, सन् २०२५ को पहिलो छ महिनामा केही राष्ट्रहरूमा, विशेषतः उदाउँदो अर्थतन्त्रहरूमा, अपेक्षाभन्दा मजबुत आर्थिक गति देखिएको छ । व्यापारिक कम्पनीहरूले भन्सार बढ्नुअघि सामान आपूर्ति तीव्र बनाएकाले उत्पादन र व्यापारमा अस्थायी वृद्धि भएको हो । यसैबीच, संयुक्त राज्यले अधिकांश व्यापार साझेदारहरूमाथि भन्सार दर तीव्र रूपमा बढाएको छ ।
ओईसिडीले सन् २०२५ को अन्त्यसम्ममा अमेरिकी भन्सार दर १९.५ प्रतिशत पुगेको बताएको छ, जुन सन् १९३३ पछि कै सबैभन्दा उच्च हो । प्रतिवेदनमा भविष्यमा आर्थिक वृद्धिमा थप जोखिमहरू रहन सक्ने भनिएको छ, जसमा भन्सार दरको फेरि बढोत्तरी, मूल्यवृद्धिको चाप, बजेटीय असन्तुलन र वित्तीय बजारको अस्थिरता प्रमुख हुन् । संयुक्त राज्यको आर्थिक वृद्धिदर सन् २०२६ सम्ममा १.५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जहाँ प्रविधिमा लगानी बढे पनि भन्सार र आप्रवासन नीतिका कारण समग्र वृद्धिमा अवरोध देखिएको छ ।
युरोपेली क्षेत्रमा पनि आर्थिक गति सुस्त हुने देखिएको छ । सन् २०२५ मा १.२ प्रतिशत र सन् २०२६ मा १.० प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सहज कर्जा उपलब्धताले केही राहत दिए पनि व्यापारिक अवरोध र भू–राजनीतिक जोखिमले प्रभाव पार्नेछ । ओईसिडीले अन्त्यमा जीवनस्तरमा सुधार र नयाँ प्रविधिको प्रभावकारी उपयोग गर्नका लागि गहिरो संरचनात्मक सुधारहरू अनिवार्य रहेको जोड दिएको छ ।
एजेन्सी ८ असोज, काठमाडौं । विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ । म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय सामान्य बहससँगै वार्षिक सभा सेप्टेम्बर ९ मा आधिकारिक रूपमा प्रारम्भ भएको हो । परम्पराअनुसार ब्राजिलले पहिलो वक्ताका रूपमा बोल्ने गर्दछ, त्यसपछि आयोजक राष्ट्र अमेरिकाले सम्बोधन गर्छ । यो परम्परा सन् १९५५ देखि कायम छ ।
यस पटकको महासभा बढ्दो अन्तर्राष्ट्रिय तनावबीच आयोजना भएको हो । गाजामा इजरायलको सैन्य अभियान र युक्रेनमा रुसको युद्ध छलफल र कूटनीतिक भेटवार्तामा प्रमुख हुने देखिएको छ । फ्रान्स र साउदी अरेबियाले सोमबार प्यालेस्टिनी राज्यको मान्यताका लागि बैठक आयोजना गरेका थिए । अमेरिकी भिसा नपाएका प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्नुहुनेछ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बोल्नुहुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की न्युयोर्क आइपुगेका छन् । उनले सामान्य बहस र द्विपक्षीय बैठक दुवैमा भाग लिनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम महिलासहित मुख्य सम्बोधन गर्ने र विभिन्न राष्ट्र प्रमुखहरूसँग बहुपक्षीय छलफल गर्ने कार्यक्रम छ । यसपटक धेरै प्रमुख शक्तिहरूका शीर्ष नेताहरू उपस्थित छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन् । चीनको नेतृत्व प्रधानमन्त्री ली किआङले गर्नेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानमा विदेशमन्त्री एस जयशङ्करले प्रतिनिधित्व गर्नेछन् ।
जयशङ्करले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग व्यापार, रक्षा, ऊर्जा र खनिज सहयोगबारे छलफल गरेका छन् । उनले युरोपेली युनियन (इयु) का विदेशमन्त्री र अमेरिकाका राजदूत सर्जियो गोरसँग पनि भेटवार्ता गरेका छन् । विशेषतः सिरियाका राष्ट्रपति अहमद अल–साराले सन् १९६७ पछि पहिलो पटक महासभामा सम्बोधन गर्नेछन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र कतारी अमिर शेख तमिम बिन हमद अल–थानी पनि सहभागी हुनेछन् । यस वर्षको विषयवस्तु ‘एकसाथ राम्रोः शान्ति, विकास र मानव अधिकारका लागि ८० वर्ष र सोभन्दा बढी’ रहेको छ ।
महासभा अध्यक्ष एनालेना बारबकले यसलाई अन्तर्राष्ट्रिय सहयोगलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा प्रस्तुत गरिन् । सन् १९४५ मा स्थापनापछि संयुक्त राष्ट्रसङ्घले ल्याएको उपलब्धि सुरक्षित गर्ने, संस्थालाई भविष्यअनुकूल बनाउने र विश्वव्यापी सङ्कटबीच सहयोग बढाउने महासभाको प्रमुख लक्ष्य रहेको छ ।
८ असोज, काठमाडौं । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्र्न लागिएको स्पष्ट पारेको छ । गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा असपष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालका अनुसार कार्यबोझ बढी भएका कारण सेवा प्रवाहमा कठिनाइ भएका निकायहरूमा दरबन्दी व्यवस्थापन गर्ने प्रयोजनका लागि सचिवस्तरीय बैठकले निर्णय गरेको उल्लेख गरे । दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्तिविकासमा कुनै असर नपर्नेगरी गरिने उल्लेख छ । अस्पष्ट भएको विषयमा थप प्रष्ट पारिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ ।
८ असोज, काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिए ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए ।
नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
८ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसक्नुभएका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे ९४० किमि०, डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ । मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए । अवरुद्ध राजमार्ग भने आज दिनभर नै बन्द हुन सक्ने देखिएको छ ।
८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो ।
राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् । सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ ।
मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो । नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउँछन् ।
आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उनको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उनले बताए ।
देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले रु १० अर्ब ८५ करोड बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिएका छन् । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ ।
कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठूलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ । “रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन”, गुरुङले भने। भाटभटेनीका स्टोरमा राखिएका रु पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९३ बराबरको सामग्री पूर्णरुपमा जलेका छन् । यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ ।
त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् ।
लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब चार सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ ।
एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ ।
काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।
यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ ।
महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।
ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ ।
सरकारले यसबीचमा के ग¥यो
जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ ।
आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिनुए । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बिमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ ।
त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनःनिर्माण कोषबाट प्रदान गरिनेछ ।
त्यस्तै, सरकारले पुनःनिर्माणका लागि पुनःनिर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् ।
यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताइन् । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।
बिमा दाबी २२ अर्ब २५ करोड
जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा बिमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बिमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन ।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।
सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ ।
८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका कर्मचारीलाई आज तीन वटा दिएका छन् । मन्त्रालयमा आज ब्रिफिङका क्रममा उनले नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताए ।
उनले भने, “केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउँदा रहेछन्, विद्यार्थीहरूको लागि त्यो अपुरणीय क्षति हो, त्यसैले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने, समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने, राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै निकाल्दा रहेछन् ।”
त्यसैगरी मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बँगैचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन पनि निर्देशन दिए । उता, मन्त्री पुन आजबाट मन्त्रालयमै बास बस्न थालेका छन् । त्यसका लागि मन्त्रालयले उनलाई खाने र बस्ने व्यवस्था मिलाएको छ ।
८ असोज, काठमाडौं । इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी रहेको छ ।
यो सङ्ख्या सन् २००८ यता सबैभन्दा उच्च हो, जबदेखि संस्थाले मृत्युदण्डसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेको हो । मानवअधिकारकर्मीहरूको भनाइमा, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन तथा इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको देखिएको छ ।
इरान मानव अधिकारका निर्देशक महमूद अमीरी–मोगहद्दमले भने, “अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएको अवस्थामा, इरानमा मृत्युदण्ड दिनप्रतिदिन विस्तार भइरहेको देखिन्छ । यो अवस्था मानव अधिकारका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।” संस्थाले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराध को रूपमा गम्भीरतापूर्वक हेर्न आग्रह गरेको छ । इरानी संस्थाका अनुसार झण्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन् ।
यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला रहेका छन्, जसमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबर्जस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय भोगिरहेका थिए । मानवअधिकार समूह एम्नेस्टी इन्टरनेशनललगायत संस्थाहरूका अनुसार, इरान विश्वको दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । एम्नेस्टीले हालै प्रकाशित प्रतिवेदनमा इरानमा मृत्युदण्डको प्रयोग ‘डर लाग्दो अवस्थामा पुगेको’ भन्दै निष्पक्ष सुनुवाइविना थुप्रै नागरिक मृत्युदण्डको जोखिममा रहेको उल्लेख गरेको छ ।
७ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए । उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको छ ।”
गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लम्सालले आग्रह गरे । दशैंको समयमा व्यस्त राजमार्ग बन्द हुँदा लाखौं यात्रुको यात्रा प्रभावित बनेको छ । उक्त पहिरोका कारण अन्य वैकल्पिक राजमार्गमा समेत ट्राफिक अस्तव्यस्त बनेको छ ।
७ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म कारागारबाट भागेका छ हजार ८४६ तथा सुधारगृहतर्फका ३४१ जनासहित कूल सात हजार १०७ कैदीबन्दी कारागारमा फिर्ता भएका छन् ।
पछिल्लो २४ घण्टामा १२३ जना कारागारमा फिर्ता भएका छन् । पछिल्लो तीन दिनमा ७७९ कैदीबन्दी कारागार फिर्ता भएका छन् । कारागार विभागका अनुसार अझै सात हजार ३०६ कैदीबन्दी फरार रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड आगजनी हुँदा कैदीबन्दी भागेका थिए ।
७ असोज, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गरे । पदबहालीपछि मन्त्री सिन्हाले कानुनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरे ।
त्यसअवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जेनजी पुस्ताले उठाएको मूल विषय भनेकै सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीसम्बन्धी विषय भएकाले सरकारले प्राथमिकता दिएर काम गर्ने बताए । उनले भने, “अहिलेको तत्कालका लागि जति पनि प्रश्न उठेका छन् त्यसलाई सम्बोधन गर्दे लानुपर्नेछ । चुनावी सरकार भएकाले पहिलो प्राथमिकता चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने छ । त्यसमा सम्झौता गर्न सक्दैनौँ ।”
उनले चुनावका लागि आवश्यक पर्ने केही संशोधन र परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भए पनि कानुनको व्यवस्था गरिने बताए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताए । सर्वोच्चलगायतका अदालतमा भएको आगजनीबाट क्षति पुगेका मिसिलहरूलाई जस्ताको तस्तै त अवस्थामा राख्न कठिन रहेको बताउँदै उहाँले तथापि सकेसम्म मिसिलसम्बन्धी सङ्कलन गरेर मुद्दा फर्छ्योटलाई अघि बढाउन पर्ने कार्यजिम्मेवारी रहेको धारणा व्यक्त गरे ।
मन्त्री सिन्हाले भने, “यो ठूलो चुनौती छ अदालतको लागि । तथापि जसरी काम सुरु गरिएको छ, कर्मचारी त्यसमा लागिपरेका छन् । दसैँपछि ट्र्याकमा ल्याउन सकिन्छ । तर पूर्ण रूपमा ल्याउन धेरै नै समय लाग्छ किनकी ठूलो नोक्सानी भएको छ । हामी कोसिस गर्छौं । सबै कुरालाई सकारात्मक रूपमा लिएर जानुपर्छ ।”
७ असोज, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो ।
सुरुमा साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । काठमाडौँबाट बिहान ७ः०० बजे र कोलकाताबाट स्थानीय समय ०९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ । यात्रुको एकतर्फी भाडा रु १३ हजार ३५३ तोकिएको छ । घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ । समय र पैसाको बचत होस हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थल भ्रमणको लागि ‘आउटबाउन्ड’ तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ पनि सञ्चालन गरिरहेको छ ।
नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गङ्गासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ ।
बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ छ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ गतेदेखि कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मङ्सिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो ।
७ असोज, काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् ।
छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरु छन्भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए । निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा सरकार र आयोग स्पष्ट रहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गरे ।
आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् । यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो ।
उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्नेछ । उक्त ऐनको दफा ४ को उपदफा २ को सो व्यवस्था संशोधनका लागि अध्यादेशबाट कानुन संशोधन गर्न आयोग र सरकारबीच छलफल भएको हो । गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानुनी विज्ञसँग छलफल गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।
७ असोज, राजविराज । यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।
दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
७ असोज, गोलबजार । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् ।
परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।
अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए । इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले भने, “घटनाबारे अनुसन्धान हुँदैछ । संलग्न पत्ता लगाइ कानुनी दायरामा ल्याइने छ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धानका लागि कुकुर ल्याइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
एजेन्सी ७ असोज, मनिला । सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ । फिलिपिन्स मौसम सेवाका अनुसार दिउँसो ३ बजे टाइफुनले अत्यन्त कम जनसङ्ख्या भएको बाबुयान शृङ्खलाको कालायन टापुमा जमिन छोयो । दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टा स्थिर हावा र दुई सय ९५ किलोमिटरसम्मका झट्कासहितको हावाको रिपोर्ट गरिएको थियो ।
“तीव्र हावाले झ्यालमा ठोक्किँदा स्विच अन भएको मेसिनजस्तो लाग्यो”, उत्तरी कागायन प्रान्तको अपार्रीका बासिन्दा तिर्सो तुगागाओले भने । प्रान्तीय विपद् प्रमुख रुएली राप्सिङले आफ्ना टोलीहरू ‘सबैभन्दा खराब’ अवस्थाका लागि तयारीमा रहेको बताए । मनिला र अन्य २९ प्रान्तमा विद्यालय तथा सरकारी कार्यालय बन्द भएका छन् । देशभर १० हजारभन्दा बढी मानिसलाई निकासी गरिएको छ ।
चीनतर्फ सेन्जेनमा ठूलो स्तरको सारसार गर्ने तयारी भइरहेको छ । तटीय र तल्लो क्षेत्रका बासिन्दालाई आइतबार रातिदेखि नै सार्ने योजना बनेको हो । गुआङ्डोङ प्रान्तका अन्य सहरहरूमा पनि कक्षा तथा कामकाज रोकिएको छ भने सार्वजनिक यातायात स्थगित गरिएको छ । हङकङस्थित क्याथे प्यासिफिकले पाँच सयभन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको छ । मङ्गलबार साँझ ६ बजेदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात अवरुद्ध हुने र बिहीबार दिउँसोतिर मात्र पुनः सुरु हुने बताइएको छ ।
ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा ‘अत्यन्त मुसलधारे वर्षा’ हुने चेतावनी दिएको छ । करिब तीन सय २० किलोमिटर फैलिएको आँधीको दायरा अहिले नै टाढा भागसम्म असर गरिरहेको बताइएको छ । पिङटुङ नजिकैको पहाडी क्षेत्रमा निकासी कार्य भइरहेको स्थानीय अधिकारी जेम्स वुले जानकारी दिए । “क्षति दुई वर्षअघि टाइफुन कोइनु जस्तै हुने डर छ”, उहाँले युटिलिटी पोलहरू ढलेको र छाना उडेको विवरण दिँदै भने ।
फिलिपिन्स मौसमविद् जोन ग्रेन्डर अल्मारियोले उत्तरी लुजोनमा ‘गम्भीर बाढी र भूस्खलन’ हुनसक्ने चेतावनी दिनुभएको छ । विगतका वर्षा नियन्त्रण आयोजना अपूरै रहेका वा बिग्रिएका कारण भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शनपछि आएको यो खतरा थप संवेदनशील बनेको हो । प्रशान्त चक्रवात बेल्टको अगाडि पर्ने फिलिपिन्समा वर्षैभर औसत २० वटा आँधीबेहरी वा टाइफुन आउने गर्छन् । यसले लाखौँलाई गरिबी र विपद्–जोखिममा पारिरहेको छ । वैज्ञानिकहरूले भने विश्व तातो हुँदै जाँदा मानवसृजित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन् ।
७ असोज, म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।
शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको ९आठ हजार १६३ मिटर अग्लो० मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।
शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।
गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ ।
अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।