एजेन्सी ७ असोज, काठमाडौं । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण (एल्गोरिदम) को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।” यसका लागि ओरेकलले सुरक्षा प्रदायकको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ। सम्झौताले टिकटकको सामग्री सिफारिस एल्गोरिदमको एक प्रतिलिपि अमेरिकी संयुक्त उद्यम प्रणालीमा ल्याइने व्यवस्था गरेको छ।
नाम नबताउने सर्तमा ती अधिकारीले भने, “टिकटकलाई अमेरिकी प्रयोगकर्ताको तथ्याङ्कमा सुरक्षा प्रदायकद्वारा पूर्ण रूपमा निरीक्षण र पुनः प्रशिक्षित गरिनेछ, र त्यसपछि यो अमेरिकी संस्थाद्वारा सञ्चालन गरिनेछ।” वाशिङटनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई अमेरिकी संस्करणलाई चिनियाँ मातृ कम्पनी बाइटडान्सको हातबाट लिन खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा अमेरिकी संसद् (कङ्ग्रेस)ले बाइटडान्सलाई अमेरिकी संस्करण बेच्न बाध्य पार्ने कानुन पारित गरेको थियो ।
ट्रम्पको पहिलो कार्यकालमा रहेका अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकको प्रयोगबाट अमेरिकीहरूको तथ्याङ्क चोनै वा उनीहरूले सामाजिक सञ्जालमा देखेका कुराहरूमा प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।
सोमबार अमेरिकी अधिकारीले भने, “एल्गोरिदमलाई ‘अनावश्यक प्रभाव नपरोस’ भनेर सुनिश्चित गर्न ‘निरन्तर निगरानी’ गरिनेछ। राष्ट्रपति ट्रम्प राष्ट्रपतिमा फर्किएपछि सुरू भएको टिकटकबारे बहस शुक्रबार दुई देशका राष्ट्रपतिले टेलिफोनमा कुराकानी गरेपछि समाधानजजिक पुगेको हो । शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टिकटकलगायतका मुद्दाहरूमा भएको प्रगतिको ट्रम्पले प्रशंसा गरे । ट्रम्पले यसै हप्ता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जसमा टिकटक सम्झौताका सर्तहरूले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकताहरू पूरा गरेको घोषणा गरिएको हुनेछ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सप्ताहन्तमा फक्स न्यूजसँग भनिन्, “संयुक्त राज्य अमेरिकामा एपलाई नियन्त्रण गर्ने समितिमा सात सदस्य हुनेछन्, र तीमध्ये छ जना अमेरिकी नै हुनेछन्।” छुट्टै प्रसङ्गमा अमेरिकी राष्ट्रपति ट्रम्पले विशाल मिडिया कम्पनीका मालिक रुपर्ट मर्डोक र उनका जेठा छोरा लाचलान संयुक्त राज्य अमेरिकामा टिकटकको नियन्त्रण गर्ने लगानीकर्तामा पर्न सक्ने बताए ।
७ असोज, काठमाडौं । इक्वेडरमा कैदीहरूबीच भएको झढपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैँदी र एक गार्डको मृत्यु भएको छ । कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नहरूको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना हो । कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भन्नुभयो, “प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।”
तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ। कर्नेल क्यालेले भने, “पेरुको सीमा नजिकै दक्षिणपश्चिम इक्वेडरको माचालाको जेलको एक भागमा बिहान सबेरै गोली चलेको र तत्काल जेल गार्ड र प्रहरी घटनास्थलमा पुगेको थियो ।” सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको अधिकारीले बताए। क्यालेले भने, “कैदीहरूले बन्दुक चलाएको र बम, ग्रिनेडको प्रयोग गरी भएको भिडन्त लगभग ४० मिनेट चलेको थियो।”
मारिएका कैदीहरू प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए । उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन्। प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ । प्रहरीले जेलको क्षमता त्यहाँ राखिएका कैदीहरूको सङ्ख्याको दोब्बर सङ्ख्याका लागि प्रयाप्त थियो । सङ्गठित अपराधले करिब १७ करोड जनसङ्ख्या भएको इक्वेडरलाई संसारकै सबैभन्दा हिंस्रक राष्ट्रमा परिणत गरेको छ।
क्यालेले भने, “जेलमा अहिले नियन्त्रण रहेको र भागेका कैँदीहरूसमेत फर्किन थालेका छन् ।” उनले बन्धकहरूको अवस्था र फरार कैँदीको सङ्ख्याबारे भने तत्काल प्रतिक्रिया दिन चाहेनन् । विश्वका दुई शीर्ष कोकिन निर्यातकर्ताहरू कोलम्बिया र पेरुको बीचमा रहेको इक्वेडरमा हालैका वर्षहरूमा हिंसा बढेको छ । मेक्सिकन र कोलम्बियाली कार्टेलहरूसँग सम्बन्ध भएका प्रतिद्वन्द्वी गिरोहहरू कोकिन नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेको पाइने गरिएको छ।
सरकारी तथ्याङ्क अनुसार विश्वमा उत्पादन हुने कोकिनको ७० प्रतिशतभन्दा बढी इक्वेडरको समुद्री शहरहरू भएर जाने गरेको छ । इक्वेडरमा सन् २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म प्रायः भयानक शैलीमा करिब ५०० कैदीहरू मारिएका छन् । जेलमा हुने झडपपछि कतिपय अवस्थामा उनीहरूको शरीरलाई टुक्रा–टुक्रा पारिएको र जलाइएको अवस्थामा पाउने गरिएको छ।
७ असोज, काठमाडौं । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् । रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४ माइल प्रतिघण्टा) को स्थायी हावासहित दुई सय ६५ किलोमिटर प्रतिघण्टा (एक सय ६५ माइल प्रतिघण्टा) को झटका ल्याएको छ ।
फिलिपिन्सका पूर्वानुमानकर्ताहरूका अनुसार यो कागायन प्रान्तको कालायन टापु सहरको पूर्वमा केन्द्रित छ र २० किलोमिटर प्रतिघण्टा (१२ माइल प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ सरिरहेको छ । सोमबार दिउँसो वा साँझ कागायनको बाबुयान टापुहरू नजिकै अवतरण गर्नसक्ने अनुमान छ । फिलिपिन्स मौसम एजेन्सीले कागायन, बाटानेस, इलोकोस नोर्टे र इलोकोस सुरका तटीय क्षेत्रमा आगामी २४ घण्टाभित्र तीन मिटर (लगभग १० फिट) भन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ ।
कालायन टापु र अपायाओ प्रान्तमा विद्युत् आपूर्ति बन्द भएको छ । अहिलेसम्म स्थानीय रूपमा ‘नन्दो’ भनिने रागसाबाट हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राजधानी मनिला र उत्तरी लुजोन क्षेत्रका २९ प्रान्तमा सरकारी कामकाज र कक्षाहरू स्थगित गरेका छन् । कागायनमा आठ हजार दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने आकस्मिक बाढी र भूस्खलनको जोखिममा रहेका एक हजार दुई सय २० जना आपत्कालीन आश्रयमा पुगेका छन् ।
आँधीबेहरीका कारण उत्तरी प्रान्तका घरेलु उडानहरू स्थगित भएका छन् । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ । यो वर्ष फिलिपिन्समा प्रहार गर्ने १४औँ मौसमी गडबडी बनेको रागासाको बेला संसद् र काङ्ग्रेस दुवैमा भ्रष्टाचार घोटालाको छानबिन भइरहेको छ, जसले घटिया वा अस्तित्वहीन बाढी नियन्त्रण परियोजनाहरू निम्त्याएको आरोप लागेको छ ।
पूर्वानुमानअनुसार रागासा चीनको मुख्यभूमि प्रवेश गर्नुअघि ताइवान र हङकङको दक्षिण हुँदै बुधबारसम्म दक्षिण चीन सागरमै रहनेछ । ताइवानका ताइतुङ र पिङटुङ काउन्टीका केही तटीय र पहाडी क्षेत्र, अर्किड र ग्रीन टापुमा बन्द गर्ने आदेश दिइएको छ । हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ । मकाउ प्रहरीले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित निकासीका लागि तयारी गर्न आग्रह गरेको छ ।
मङ्गलबारदेखि चीनको गुआङ्गडोङ प्रान्तमा भारी वर्षा र प्रचण्ड हावाहुरी ल्याउने अनुमान छ । जियाङमेन, याङजियाङ, झोङ्सान र झुहाई सहरमा विद्यालय, कार्यालय, कारखाना र यातायात सेवा निलम्बन गर्ने आदेश जारी गरिएको छ । चीनको मौसम एजेन्सीका अनुसार रागासाले गुआङ्गडोङमा एकभन्दा बढी पटक अवतरण गर्न सक्नेछ । अधिकारीहरूले स्थानीय बासिन्दालाई आपत्कालीन आपूर्ति भण्डारण, ढोका–झ्याल मजबुत बनाउने र भूमिगत क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।
७ असोज, काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।
ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।
सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् । प्रदेशगत आधारमा कोशी तीन सय २२, मधेश दुई सय ४६, बागमती एक हजार ३४३, गण्डकी एक सय ८४, लुम्बिनी दुई सय दुई, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश एक सय ५९ वटा बिमा दाबी परेका प्राधिकरणले जनाएको छ ।
७ असोज, काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।
७ असोज, काठमाडौं । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे ।
यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
७ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए । फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए ।
कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए । प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।
७ असोज, भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक(धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् । मन्त्री घिसिङद्वारा सोमबार सूर्यविनायक–धुलिखेल सडकको अवलोकन गर्ने क्रममा व्यवसायीले जगाती र साँगा खण्डमा अव्यवस्थित सडकका कारण दुर्घटना बढेको भन्दै शीघ्र निर्माण सम्पन्न गराउन माग गरेका हुन् ।
उद्योग वाणिज्य महासङ्घ भक्तपुरका महासचिव नवीन प्रजापतिसहितको टोलीले मन्त्री घिसिङलाई नौ महिनादेखि सडकको काम रोकिँदा दैनिक दुर्घटना बढेको, स्थानीय व्यवसायीको व्यापार ठप्प भएको र स्थानीयलाई आवतजावतमा समस्या परेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ मालवाहकतर्फको वर्गीय संयोजकसमेत रहनुभएका प्रजापतिले सडक निर्माणको ठेक्का लिएको कम्पनीले लापरबाही गरेको, वर्षामा ठूला खाल्डाहरू जथाभावी छाडेको, सडकका बीचमा भएका खाल्डामा ग्राबेलको सट्टामा ढुङ्गा ल्याएर हालिदिँदा ज्यानै जानेगरी दुर्घटनाको जोखिम बढेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।
प्रजापतिले भने, “दुईदिन अगाडि मन्त्रालयमा गएर मन्त्रीलाई सडकको अवस्थाबारेमा जानकारी गराएका थियौँ । मन्त्रीसहितको टोलीले तत्काल सडकको अनुगमन गर्नु खुसीको कुरा हो । उनको चासो देख्दा अब सडक बन्नेमा विश्वस्त छौँ । उनले तत्काल खाल्डो पुर्ने र दसँैलगत्तै तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको प्रमुखसहित प्रतिनिधसँग सडकको अवस्था र प्रगतिका बारेमा जानकारी दिएका थिए । उनले व्यवसायीलाई दसैँलगत्तै सडक निर्माणले तीव्रता पाउने बताए । आयोजनाका इञ्जिनियर विवेक पाण्डेले यस सडकको हालसम्म विस्तृत र पूर्ण डिजाइन आउन नसकेको बताउँदै बजेट अभावले नभई वर्षाका कारण सडक निर्माण रोकिएको जानकारी गराए । उनका अनुसार हालसम्म सडकको भौतिक प्रगति करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशसहितको आयोजना टोलीलाई मन्त्री घिसिङले चाडपर्वलाई मध्यनजर गर्दै तत्काल सडक सहज बनाउन र कालोपत्र गर्न निर्देशन दिनुभएको जानकारी दिए । उद्योग वाणिज्य महासङ्घका महासचिव प्रजापतिले स्थानीय व्यवसायी र नागरिक सडक स्तरोन्नतिका क्रममा निर्माण व्यवसायीलाई आवश्यक सहयोग र समन्वय गर्न तयार रहेका बताए । उनले यसका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मन्त्रीसहित आयोजनाका पदाधिकारी, निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी समस्या पहिचानमार्फत सहकार्य र समन्वयन गर्ने उल्लेख गरे ।
७ असोज, काठमाडौं । नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल–चीन जोड्ने प्रमुख दुई नाका वर्षातका कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा आरोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल–चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए । गत असार २४ गते नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । मितेरी पुल नबन्दा अहिले पनि उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन ।
साथै विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ । राजधानी काठमाडौँबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा उक्त बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीले बताए । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चापदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताए । उनका अनुसार हाल तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा एक हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राखे । “जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेका छन्”, उनले भने । दसैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ । समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परिरहेको ग्राहकले गुनासो गरेका छन् ।
काठमाडौँको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए । दसैँ अगाडि काठमाडौँको महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्दछ ।
६ असोज, काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडकखण्डको आज अवलोकन गरेका छन् । बिस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडकखण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिए । “सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिए । हामी सोहीअनुसार तयारी गर्दैछौँ”, मन्त्री घिसिङको भनाइ उद्धृृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।
उनका अनुसार बिस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तारकार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रलायले पहल गर्ने बताए । यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्र्तगत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो ।
जनागालबाट भैँसेपाटीहुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तारकार्य रोकिएको उनले बताए । बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तारकार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट ९१५० फिट०मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन ।
हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेको छ । पुलबजारबाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड–खण्डमा काम भइरहेको खनालले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युत्को हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई बिस्तारको काम भइरहेको छ । हाल दुई खण्डमध्ये सूर्यबिनायक–साँगा खण्डको ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए । साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उनले बताए । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा सडक बिस्तार थालिएको हो ।
६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताए । पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उनले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताए ।
वर्तमान सरकार जेनजीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै मन्त्री खरेलले नयाँ पुस्ता एवं नागरिकको कार्यदेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुने गरी काम गर्ने बताए । “हामीलाई जेनजी र नागरिकबाट धेरै ठुलो कार्यदेश छैन, सरल छन्, तर बहुत जटिल र चुनौतीपूर्ण काम छन्”, उनले भने, “भौतिक पुनःनिर्माणले मात्र पुग्दैन । जनताको मनमा घाउ लागेको, त्यसको दाग अझै पनि छ । त्यसलाई पुनःनिर्माण गर्न त्यति सजिलो छैन । त्यसैले दूर दराजका जनताको घरसम्म सरकार र हामी सबै उपस्थिति हुनुपर्छ । त्यो उपस्थितिले सुशासन, आर्थिक समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत संविधानअन्तर्गतका मौलिक अधिकार कार्यान्वयनको महसुस गर्न पाए मात्र घाउमा मलम लाग्छ ।”
मन्त्री खरेलले मन्त्रालयका कर्मचारीको काममा आफूले कुनै पनि हस्तक्षेप नगर्ने बताउदै स्वतन्त्र रूपमा प्रभावकारी कार्यसम्पादनका लागि आग्रह गरे । राजनीतिक हस्तक्षेप र दलीयकरण नभई कर्मचारीतन्त्रको योग्यता, क्षमताअनुसार काम भएमा सार्वजनिक सेवा प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले अन्तरिम सरकारले छोटो समयमा प्रतिफलयुक्त काम गर्नका लागि सबैसँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । “हामीले खरानी टकटकाउदै हाम्रा जीवन र धरोहर निर्माण गर्नुपर्नेछ । छ महिनामा कायापलट हँुदैन । तथापि, केही आशाको जग निर्माण गर्न लाग्नुपर्छ । त्यसमा मन्त्रालयका सचिवलगायत सबै कर्मचारीको अनुभव तथा अरु विज्ञबाट सहयोगको अपेक्षा गरेको छु”, उनले भने ।
मन्त्री खरेलले मन्त्रालयले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ‘पोलिसी’ र ‘डिजिटल फ्रेमवर्क’मा केन्द्रीत भएर काम गर्ने बताए । पत्रकारिता क्षेत्रमा क्रियासिल खरेल इमेज टेलिभजिनमा सम्पादकको भूमिकामा थिए । खरो प्रश्न सोधेर जेन जी पुस्ताको मन जितेको उनी अब प्रश्नको उत्तर दिने स्थानमा पुगेका छन् । यसमा कति खरो उत्रन्छन, त्यो भने परीक्षाबाटै पुष्टी हुनेछ ।
६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको पथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ । पदभार ग्रहणका क्रममा आज उनले दिएका अभिव्यक्ति र गतिविधिले भने सामाजिक संजालमा राम्रो स्थान प ए । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उनलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो ।
मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए । खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारी हच्किए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारी स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए ।
आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भीडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका थिए । मन्त्री पुनभन्दा केही मिनेट अगाडि शपथ ग्रहण कार्यक्रमबाट केशरमहल आएका मन्त्रालयका सचिवहरूका हातमा अरु कर्मचारीले मन्त्रीलाई स्वागतका लागि पुष्पगुच्छा दिए । एकछिनपछि मुस्कानसहित एक हात हल्लाउँदै मन्त्री पुन मन्त्रालय छिरे । उहाँले रातो रङ्गको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाइदिन कर्मचारीलाई केही सजिलो भएको देखिन्थ्यो ।
केशरमहलस्थित मन्त्रालयमा पदबहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गरे । समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्ने उनले बताए । यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उनले चासो राखे । तत्पश्चात् मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आगह गरे ।
उनले आफू एक्लैले गरेर केही नहुने भएकाले शुद्ध मनले नयाँ सोचसहित सुझाव दिन सबैलाई आगह गरे । “म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ । मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन । दैनिक काममा मेरो खास रुचि हुँदैन”, मन्त्री पुनले भने, “जेनजी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्र्रष्टाचार र बदमासी हुनु भएन । म जेनजीहरूको दाइ हुँ । शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ । ढिलासुस्ती हुनु भएन ।’’
उनले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको स्मरण गरे । सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गरे ।
विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक खोज, अनुसन्धान, पुस्तक लेखन र आफ्नो पुस्तक बेच्न आफैँ देशका विभिन्न ठाउँमा घुम्दै आएका मन्त्री पुन आफू मन्त्री हुनुलाई एक प्रकारले दृष्य परिवर्तनको संज्ञा दिए । “सिनेमामा झैँ मेरो जीवनमा पनि दृष्य बदलिएको छ । डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु”, उनले भने, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो । यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’’
मन्त्री पुनले आफूलाई मन्त्रालय बाहिर जाँदा व्यक्तिगत सुरक्षा कर्मचारी नचाहिने स्पष्ट गर्दै सरकारी बाहेकका काममा जाँदा सरकारी गाडी प्रयोग नगर्ने बताए । उनले मन्त्रालयमै खाने र यँही बस्ने समेत बताए । उनलाई सचिवहरू चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गरे । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी र तोडफोड भएकाले हाल केशरमहलबाट मन्त्रालयको काम सञ्चालन भएको हो ।
रोमन म्यागसेसे पुरस्कार विजेता मन्त्री पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोगमा योगदान गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । उनको कार्यलाई अशोका फाउन्डेसन, रोमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ ।
नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर पुनले विदेशमा अध्ययन र अध्यापनपछि आफू जन्मिएको म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेटको सफल सञ्चालन गरेका थिए । पछिल्लो समय उहाँले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका साथै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि अभियान सञ्चालन गर्दै आएका छन् । रासस
६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई शपथ गराए । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाएका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरुलाई आइतबार नियुक्त गरेका हुन् । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख छन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन् ।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
६ असोज, काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्य स्थलमा गएका हुन् ।
कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।
“मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ”, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे । पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ ।
नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।
६ असोज, काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
६ असोज, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।
त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
६ असोज, गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए ।
‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’
गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । त्यस्तै गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए । घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।
त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।
६ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए ।
दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।
सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए । ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ््याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को रु पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।
६ असोज, पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्षमनबहादुर कुँवरले जानकारी दिए ।
कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्मपुगेको हो ।
विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिए । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् ।
उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए ।
६ असोज, काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् । घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ ।
दसैँ पर्वको पहिलो दिन घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका १५ शोभाभगवतीमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस
नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।
दसैँको घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका-१५ शोभाभगवती मन्दिरमा धूपबत्ती बाल्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
६ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसँै घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ०९ : १३ बजे आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।
विजयादशमीको साइत असोज १६ गते बिहान ११ : ५३ बजे नवरात्र भनेरसमेत चिनिने दसँै नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताए । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmलप्रसाद ग्रहण गर्ने गरिन्छ ।
असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९ : २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।
Source : Hamro patro
हनुमानढोकाको दशैं घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसँै घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताए । दशैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैं लाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।
६ असोज, काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताए । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।
५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो । पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो”, प्रवक्ता सापकोटाले भने, “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको योजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।”
विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।
“नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो”, उपाध्यक्ष सापकोटाले भने, “आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ ।” बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गरेका थिए ।
बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
“देश नयाँ परिस्थितिबाट अघि बढ्दै छ, परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ”, सापकोटाले भने, माओवादीले जेनजी पुस्ताले उठाएका माग जायज भए पनि त्यसभित्र घुसेर निर्माण गरिएको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ ।
५ असोज, काठमाडौं । , ५ असोजस् गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड शून्य दशमलव ७१ र निर्जीवन बिमा चार दशमलव शून्य दुई प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ६६ प्रतिशतले बढेको छ । बैंकिङ चार दशमलव ५२, विकास बैंक छ दशमलव शून्य सात, वित्त पाँच दशमलव ५४, होटल तथा पर्यटन दुई दशमलव ३३, जलविद्युत् पाँच दशमलव ८३, लगानी सात दशमलव ६८, उत्पादन तथा प्रशोधन चार दशमलव ८५, लघुवित्त तीन दशमलव ६९ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले बढेको छ । आजको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ८३ करोड १३ लाख ५५ हजार ९१० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको नौ लाख १४ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
५ असोज, काठमाडौं । काठमाडौँ, ५ असोजः सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक इञ्जिनियर हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणकको कार्यकारी निर्देशक पदमा सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको हो । दुवैको कार्यवधि चार वर्षको हुनेछ ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को प्रमुखको जिम्मेवारी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) डा मनोजकुमार केसीलाई दिने निर्णय गरेको गृह एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनसँग सम्बन्धित रहेर काम गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
“जाँचबुक्त आयोग ऐनअन्तर्गतको पूर्वन्यायाधीश गैरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिएको छ, आयोगका सदस्यहरुमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा, कानुनविद् विशेश्वरप्रसाद भण्डारी हुनुहुन्छ, आयोगको कार्यवधि तीन महिनाको हुनेछ”, मन्त्री अर्यालले भने । साथै बैठकले जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधि समेत राखेर ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ ।
जेनजी प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने भन्ने निर्णय पनि सरकारले गरेको छ । यो केन्द्रको हकमा सहरी विकास मन्त्रालय र जिल्लाको हकमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले गर्नेछ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरुले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिए ।
उनले भने, “जसमध्ये ध्वस्त भएको सम्पत्तिको पुनःनिर्माण गर्नको लागि आयात गरिने आयातित सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ, बिमाबाट अग्रिम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको छ ।” यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्छन्, उनीहरुलाई सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न सक्दैनन् उनीहरुले राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट दिन सकिने अर्थमन्त्री खनालको भनाइ छ ।
“खर्च कटौती गर्न रु तीन करोडभन्दा कम रकमका टुक्रे आयोजनामा विनियोजन गरिएको रकम, रु तीन करोडभन्दमाथि तर आयोजना बैंकमा प्रविष्टि नगरेका वा पछि प्रविष्ट गराइएका अथवा राजनीतिक दबाबमा राखिएका आयोजनाहरु अर्थ मन्त्रालयको सूचना प्रणालीमा अभिलेख भएबमोजिम पहिचान गर्दा करिब १२० अर्ब ९चालु खर्च समेत० बच्न सक्ने देखिएकाले अहिलेको लागि रोक्का राखिएको छ”, अर्थमन्त्री खनालले भने, “त्यो रोक्का राखिएको रकमबाट सम्बन्धित मन्त्रालयले पहिला काम गरिसकेको तर निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको रकम भुक्तानी दिन मिल्ने भनिएको छ, कम्तीमा पनि निर्माण व्यवसायीको समाधान पनि हुने, अनावश्यक आयोजना कटौती हुने र त्यसबाट बचेको रहम राष्ट्रिय महत्वका आयोजनामा द्रुत गतिले काम अगाडि बढाउनु निमित्त खर्च गर्न सकिन्छ ।”
पुनःनिर्माण गर्न पुनःनिर्माण कोण खडा गर्ने निर्णय पनि सरकारले गरेको छ । जसमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीहरुले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरुले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् । सरकारले यसका लागि भौतिक पूर्वाधार तथा पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।
५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्री नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको स्रोतहरुले पुष्टी गरेका छन् ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने तयाुरी छ । राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेको छ । शपथ भोली हुने भएको छ ।
५ असोज, सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसेको छ । उनलाई ऊर्जा आयोगमा पद सिर्जना गरी सरुवा गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो । गृहमन्त्री ओम प्रकाश अर्यालका अनुुसार उनको स्थानमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाएर अघिल्लो सरकारले शाक्यलाई सो जिम्मेवारी दिएको थियो । सरकारको सो कदमको कडा आलोचना भएको थियो ।
५ असोज, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसबाट चालु खर्चसहित १ खर्ब २० अर्ब रुपैयाँ बराबर रकम बच्न सक्ने देखिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।
उनका अनुसार रोक्का राखिएको रकमबाट पहिला काम गरिसकेको तर निर्माण व्यवसायीको भुक्तानी दिन बाँकी रहेको भए भुक्तानी दिन सकिने गरी निर्णय भएको उनले जानकारी दिए । यसबाट राष्ट्रिय गौरव र ठूला आयोजनाको काम द्रूत गतिमा अगाडि बढाउन रकम उपयोग गरिने उनले बताए । सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय समेत गरेको छ ।
जसमा नेपालभित्र र बाहिरबाट पनि रकम योगदान गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टी समेत गर्न सकिने निर्णय भएको उनले बताए । यो परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण समिति समेत बनाइने भएको छ ।
५ असोज, काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगले तीन महिनाको समय पाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । पदभार सम्हालेकै दिन कार्कीले सरकारी–सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन्। यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । घटनामा ७४ जनाको ज्यान गइसकेको छ । कैयौं घाईते छन् । खर्बौ रुपैयाँको भौतिक क्षति भएको छ । अमूल्य कागजात जलेर नष्ट भएका छन् ।
५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले अहिले ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो । त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । सोही स्थानमा पुनः पहिरो खसेको हो । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन् ।