Category: फिचर

  • संविधान दिवसमा बृहत शान्ति र्‍याली

    संविधान दिवसमा बृहत शान्ति र्‍याली

    ३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । र्‍यालीमा सहभागीहरुले समयसापेक्ष संविधानमा संशोधन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । आजै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस मूल समारोहद्वारा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस कार्यक्रम भइरहेको छ ।

  • एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    ३ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    साथै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    ३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए ।


    उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे । यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।

    अध्यक्ष दाहालले भने, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”

  • नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    ३ असोज, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका हुन् ।


    राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे ।

    राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उनले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गरे ।


    विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे ।

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरे ।

  • आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    ३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका हुन् ।

  • अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

    अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

    ३ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।

    गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरे । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

  • अब नेपालमा अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने, एनआरएन र पर्यटक लाभान्वित

    अब नेपालमा अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने, एनआरएन र पर्यटक लाभान्वित

    २ असोज, काठमाडौं । अब अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा अन्तरआबद्धता सेवा शुभारम्भ गर्नुभएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पु¥याउनेछ । त्यसैगरी, भौतिक उपस्थितिरहित बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित भएको छ । यसबाट द्रूत राजस्व सङ्कलन, पारदर्शी, अन्तरराष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका अन्तरराष्ट्रिय कार्ड नेटवर्कमा आवद्ध कार्डहरुमार्फत् अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकले सहजरुपमा यो सेवा लिनसमेत सहज हुने जनाइएको छ । यो सेवा हाललाई अध्यागमन विभाग र मातहतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएको छ । आगामी दिनमा सरकारका अन्य निकायमा पनि क्रमशः सेवा विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिए ।

  • पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    २ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

    सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो ।

    “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,” सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।”

    गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । “सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ” उनले भने, “सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।”

    अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् । प्रवक्ता कोइरालाले भने, “पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।” सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

  • अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    २ असोज, काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।


    उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।” चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।


    “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने । चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

  • दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    २ असोज, इनरुवा । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए ।

  • राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

    राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

    २ असोज, काठमाडौं । राजनीतिक परिवर्तनका कारण शेयर बजारका लगानीकर्ता भयवित देखिएका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः २३ मा पुनः दोस्रो सर्किट लाग्यो ।

    त्यसबेला बजार पाँच प्रतिशतले ओरालो लागेको थियो । दोस्रो सर्किट लागेपछि पुनः ४० मिनेट कारोबार बन्द गरियो । पुनः नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक छ प्रतिशतले ओरालो लाग्यो । तेस्रो सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो । नेप्सेको अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ११ दशमलव ९१ मा सीमित भएको छ । सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ । भदौ २३ र २४ को विषम परिस्थितिका कारण बन्द भएको बजार आज खुलेको थियो ।

  • सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    २ असोज, काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए ।


    “देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ”, राजीनामा पत्रमा भनिएको छ, “त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।”

  • प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

    प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

    २ असोज, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराइन् ।


    यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरे । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

    तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

    २ असोज, मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।


    चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनले बताए । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् ।

    चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए ।

    चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र एससी खोल्न पर्ने व्यवस्था गरिएको छ ।

  • अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट

    अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट

    एजेन्सी
    २ असोज, टोकियो । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो ।

    जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव चार प्रतिशत र अटो पाट्र्स सात दशमलव एक प्रतिशतले घटेका छन् । वर्षको सुरुदेखि नै ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनहरूको ढुवानीमा निरन्तर गिरावट आएको छ । अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाइ हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव पाँच प्रतिशत लेवीको मारमा परेको छ । यद्यपि मङ्गलबार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोहरूमा केही कम अमेरिकी शुल्क लागू भएको छ । अब कारलगायतका सवारी साधनहरूले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्नेछ ।

    सम्झौताको कार्यान्वयनलाई जापानका उद्योगका लागि अस्थायी जित मानिएको छ । तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउने अपेक्षा राखेका छन् ।

    अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएका छन् । जापानको अटोमोबाइल उद्योगले—टोयोटा र होन्डा जस्ता ठूला कम्पनीहरूसहित—देशको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्छ । ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार अधिशेष अगस्टमा ५० प्रतिशतले घटेर तीन खर्ब २४ अर्ब येन (दुई अर्ब २१ करोड डलर) मा सीमित भएको छ ।

  • श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    एजेन्सी
    २ असोज, कोलम्बो । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ । मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भने, “हामी हाम्रो जलाशयहरूलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौं । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।” शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् ।

    स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पु¥याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ । सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । स्थानीय मानिसहरू यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् । सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ ।

  • बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा

    बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा

    एजेन्सी
    २ असोज, पञ्जाव । खेतहरू पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईवस्तुको दुर्गन्धले हावा गन्हाएको छ ।यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ । लन्डन र न्युयोर्क सहरको संयुक्त आकार बराबरको खेतीयोग्य जमिन बाढीले डुबाएको छ । भारतका कृषि मन्त्रीले ‘बालीहरू पूर्णतया नष्ट’ भएको बताउनुभयो भने पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँदेखिको सबैभन्दा भीषण बाढी’ भन्नुभएको छ ।

    अमृतसर नजिकै शेहजादा गाउँका ७० वर्षीय किसान बलकार सिंहले भने, “यस्तो बाढी अन्तिम पटक सन् १९८८ मा देखेका थियौँ ।” उनको धानबारी दलदल बनेको छ र घरका भित्तामा चिरा परेको छ । मनसुनमा बाढी र भूस्खलन सामान्य भए पनि विज्ञहरूका अनुसार जलवायु परिवर्तन र कमजोर योजनाबद्ध विकासले यसको आवृत्ति र विनाश बढाएको छ ।

    राष्ट्रिय मौसम विभागका अनुसार पञ्जाबमा वर्षा औसतभन्दा दुई तिहाइले बढी भएको छ । यसले कम्तीमा ५२ जनाको ज्यान लिएको छ र चार लाखभन्दा बढीलाई प्रभावित पारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले १८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

    गुरदासपुर जिल्लाको तुर गाउँ बाढीले पूर्णतया ध्वस्त पारेको छ । खेत मजदुर सुरजन लालले भने, “अगस्ट २६ को मध्यरातमा पानी आयो, केही मिनेटमै १० फिटसम्म पुग्यो । हामी छतमा मात्र अडिएर बस्यौँ, जनावर र सबै सामान बगायो ।” “यो वर्ष मेरो लगानी सबै डुब्यो । गहुँ रोप्न खेत तयार नहुने चिन्ता छ”, सीमावर्ती लस्सियाका किसान राकेश कुमारले भने, “पहिले सुकाएर हिलो सफा नगरी केही सम्भव छैन ।”

    भूमिहीन मजदुर मनदीप कौर अझै सङ्कटमा परेका छन्, “जमिनदारका खेतमा काम गरेर बाँच्थ्यौँ, तर अहिले सबै खेत डुबेका छन्”, उनले भने । उनको घर बगाएपछि उहाँ आँगनमा तिरपालमुनि सुत्न बाध्य छन् । त्यहाँ सर्पहरूको डर छ । पञ्जाब भारतको खाद्य सुरक्षाका लागि गहुँ र चामलको प्रमुख आपूर्तिकर्ता हो । पञ्जाबले ८० करोडभन्दा बढीलाई अनुदानित अन्न दिन्छ । यस वर्षको घाटाले घरेलु आपूर्ति तत्काल प्रभावित नगरे पनि प्रिमियम बासमती चामलको निर्यातमा ठूलो असर पर्ने अनुमान छ ।

    अर्थशास्त्री अविनाश किशोरका अनुसार बासमती चामल उत्पादन, मूल्य र निर्यातमा सीधा असर पर्छ । पहिले नै अमेरिकी भन्सार शुल्कले भारतीय बासमतीलाई कमजोर बनाइसकेको अवस्थामा बाढीले थप चुनौती थपेको छ । राज्य आफ्नो सिँचाइ सञ्जाल बलियो भएका कारण सङ्घीय बीमा योजनामा सहभागी नभएकाले पञ्जाबका किसानहरूका लागि पुनःउत्थान कठिन हुने देखिन्छ । किसान बलकार सिंहले भने, “मेरो खेत अझै घुँडासम्म पानीले ढाकिएको छ । भविष्यमा हाम्रो हालत के हुन्छ, भन्न सक्दिनँ ।”

  • भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    एजेन्सी
    २ असोज, नयाँ दिल्ली । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ । तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल अनुप्रयोगका प्रशंसकहरू अझै पनि खेलिरहेका छन् ।

    काल्पनिक खेल खेल्ने विज्ञापन व्यवसायी आदर्श शर्माले भारतीय जुवाडेहरूले वैकल्पिक बाटो खोज्दा अपतटीय साइटहरूमा ‘अचानक उछाल आउने’ दाबी गरे । “एक पटक बनेको बानी सजिलै छोडिँदैन”, उनले भने, “यो लत हो र मानिसहरूले जुवाको बाटो फेला पार्छन् ।” गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए ।

    अधिकारीहरूका अनुसार प्लेटफर्मको तीव्र विस्तारले आर्थिक सङ्कट, लत, आत्महत्या, धोखाधडी, मनी लन्ड्रिङ र आतङ्कवादलाई वित्तपोषणसम्म निम्त्याएको छ । कानूनलाई शीर्ष अनलाइन कार्ड गेम प्लेटफर्मले अदालतमा चुनौती दिएको छ । नयाँ कानुनअनुसार कार्ड गेम र काल्पनिक खेल वेबसाइट तथा एपहरू—भारतमा लोकप्रिय काल्पनिक क्रिकेटसहित—प्रतिबन्धित छन् । अपराधीलाई पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

    जुवाडेहरूले अब भर्चुअल प्राइभेट नेटवर्क ९भिपिएन० र प्रोक्सी क्रेडिट कार्डमार्फत विदेशी साइटमा पुग्नुपर्नेछ । यो सामान्य प्रयोगकर्ताका लागि कठिन भए पनि खेलाडीहरू यसबारे जानकार छन् । एक प्रशंसकले नाम नखुलाउने सर्तमा भने, “हामीले यो पहिले पनि गरेका थियौँ, फेरि गर्नेछौंँ पुराना तरिकामा फर्किन्छौँ ।”

    प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार, नयाँ कानूनले कानूनी इस्पोर्ट्सलाई सुरक्षित राख्दै प्रयोगकर्तालाई झुटो नाफाको वाचा गरेर शोषण गर्ने सट्टेबाजी, जुवा र काल्पनिक नगद खेलहरूलाई मात्र लक्षित गरेको हो । विश्वकै सबैभन्दा ठूलो काल्पनिक खेल प्लेटफर्म ‘ड्रिम ११८’ (२६ करोड प्रयोगकर्ता) ले ‘नगद खेल बन्द गरिएको’ घोषणा गर्दै अब कार, फोन, फ्रिज जस्ता पुरस्कार दिने बताएको छ । यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँगको चार करोड ३० लाख डलरको सम्झौता पनि तोडेको छ, जसले भारतीय खेलाडीहरूको जर्सीबाट यसको लोगो हटाएको छ ।

    दिल्लीका कसाई जमशेद नूरले आफूले पाएको ठूलो जित श्रमिकको दैनिक ज्याला छ सय रुपैयाँ (करिब सात ७ डलर) भएको बताउनुभयो । “हामी क्रिकेटको प्रेमका लागि खेल्छौँ”, उनले भने, “पैसा आकर्षण थियो, तर अब नगद नभए पनि म खेलिरहन्छु ।” यस प्रतिबन्धले इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता आकर्षक प्रतियोगितासहित समग्र खेल उद्योगलाई झट्का दिने देखिन्छ ।

    एलारा क्यापिटलका करण तौरानीका अनुसार फ्यान्टसी प्लेटफर्महरू आइपिएल र विश्व क्रिकेटका सबैभन्दा आक्रामक विज्ञापनदातामध्ये पर्छन्, अब उनीहरूले विदेशी बजारतर्फ मोडिन सक्छन् । डि एन्ड पी एडभाइजरीका सन्तोष एनले यस वर्ष आइपिएल प्रसारण विज्ञापन आम्दानीको ४० प्रतिशतसम्म फ्यान्टसी स्पोट्र्स र क्रिप्टो प्लेटफर्मले ओगटेको अनुमान गर्नुभयो ।

    उहाँका अनुसार प्रतिबन्धपछि उनीहरूको व्यापार मोडेल जोखिममा परेको वा नष्ट भएको छ, जसले विज्ञापन खर्च कटौती गराउनेछ । यसले प्रत्यक्ष रूपमा प्रसारणकर्ताहरूको आम्दानी घटाउनेछ । “सन् २०२७ मा जब बिसिसिआईले मिडिया अधिकार नवीकरण गर्छ, प्रसारणकर्ताले पहिले जस्तो ठूलो रकम तिर्न नसक्ने भएकाले नवीकरण प्रिमियम कम हुनेछ”, सन्तोषले चेतावनी दिए ।

  • गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

    गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

    एजेन्सी
    २ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ । इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

    “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय प्रकोप मात्र होइन, संयुक्त राष्ट्रसङ्घीय अनुसन्धान आयोगको निष्कर्षअनुसार यो नरसंहार हो”, सहायता समूहहरूको वक्तव्यमा भनिएको छ, “राज्यहरूले उपलब्ध सबै राजनीतिक, आर्थिक र कानूनी उपकरण प्रयोग गरेर हस्तक्षेप गर्नुपर्छ । बयानबाजी र आधा उपाय पर्याप्त हुँदैनन् । यो क्षण निर्णायक कार्यको माग गर्दछ ।”

    सन्देशमा नर्वेली शरणार्थी परिषद्, अनेरा, सेभ द चिल्ड्रेनलगायत २० भन्दा बढी संस्थाका नेताहरूले हस्ताक्षर गरेका थिए । यो बयान इजरायलले गाजा सहरमा आफ्नो आक्रमण सुरु गरेको एक दिनपछि आएको हो । युद्ध सुरु भएको करिब दुई वर्षपछि इजरायलले सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रतिज्ञा गरेको छ । बुधबार गाजास्थित अस्पताल अधिकारीहरूले रातभरका आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १३ प्यालेस्टिनी मारिएको जनाए । शिफा जिल्लाका अधिकारीका अनुसार गाजा सहरको आक्रमणमा मृत्यु भएकामध्ये आधाभन्दा बढी एकै परिवारका थिए, जसमा आमासहित एक बालक पनि थिए ।

    मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा घरमा प्रहार हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको अल–अवाडा अस्पतालले जनाएको छ । त्यस्तै, खान युनिस नजिकै मुवासी क्षेत्रमा त्रिपालमा भएको आक्रमणमा दुई आमाबाबु र उनीहरूको बच्चाको मृत्यु भएको नासेर जिल्लाले पुष्टि गरेको छ । इजरायली सेनाले ती आक्रमणबारे तत्काल टिप्पणी गरेन, तर विगतमा उसले हमासलाई नागरिक क्षेत्रभित्र सैन्य पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ६४ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृतकमध्ये झन्डै आधा महिला र बालबालिका भएको बताइएको छ । मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि त्यहाँका चिकित्सकहरूले यसलाई पुष्टि गरेका छन् । यसैबीच, इजरायली सेनाले गाजा सहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल–दिन सडकमार्ग दुई दिनका लागि खोलिने जनाएको छ ।

    आक्रमण अघि करिब १० लाख मानिस गाजा सहर क्षेत्रमा रहेका थिए, जसमा करिब तीन लाख ५० हजार पलायन भइसकेको सेनाले दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र दुई लाख २० हजारभन्दा बढी उत्तरी गाजाबाट विस्थापित भएका थिए । अझै सयौँ हजार नागरिक सहरमै फँसेका छन् ।
    एक इजरायली सैन्य ग्राफिकअनुसार यस अभियानपछि समुद्रतट छेउको केही भूभागबाहेक सम्पूर्ण गाजा पट्टी नियन्त्रणमा लिने लक्ष्य राखिएको छ । सेनाले यसअघि पनि गाजा सहरमा ठूला–ठूला छापा मारेको थियो, जसले विस्थापन र विनाश निम्त्याएको थियो, तर उग्रवादीहरू फेरि समूहबद्ध हुनसक्ने देखिन्थ्यो । यस पटक भने सम्पूर्ण सहर नियन्त्रणमा लिने दाबी गरिएको छ ।

    इजरायली सैन्य अधिकारीका अनुसार हाल गाजा सहरमा करिब दुई हजारदेखि तीन हजार हमास लडाकू बाँकी छन् । सुरुङमार्गहरू अझै प्रयोग भइरहेको विश्वास गरिएको छ । हमासको सैन्य क्षमता कमजोर भइसकेको भए पनि उनीहरूले साना छापामार समूहमार्फत विस्फोटक बिछ्याउने वा सैन्य चौकीमा आकस्मिक आक्रमण गर्ने गतिविधि जारी राखेका छन् ।

  • फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी

    फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी

    एजेन्सी
    २ असोज, वासिंटन डिसी । अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ)ले बुधबार सन् २०२५ को पहिलो ब्याजदर कटौती गर्ने तयारी गरेको छ । यसले बढ्दो राजनीतिक दबाब र सम्भावित विभाजनका साथ अगाडि बढ्ने बाटोमा प्रतिस्पर्धी शक्तिहरूको आलोचना खेप्नुपरेको छ । फेडले आफ्नो दुई दिने नीति समीक्षा बैठकको अन्त्यमा दरहरू घटाउने कुरामा करिब सकारात्मक देखिएको छ । व्यापक रूपमा कमजोर रोजगार बजारबाट प्रेरित हुँदै २५ आधार बिन्दुको कटौतीको अपेक्षा बजारले गरेको छ। आउने थप कटौतीको गति र आकार पक्का भने अझै भएको छैन ।

    बुधबार फेडको दर–निर्धारण गर्ने खुला बजार समिति (एफओएमसी) ले आफ्नो दोस्रो दिनको छलफललाई स्थानीय समयअनुसार बुधबार बिहान ९ः०० बजेका लागि निर्धारित गरेको बैङ्कका एक प्रवक्ताले बताए। मङ्गलबार बिहानै समितिको बैठक बस्नुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमले यसको संरचनामा अनिश्चितता पैदा गरेको थियो। केन्द्रीय बैङ्कलाई दरहरू घटाउन महिनौँसम्म दबाब दिएका राष्ट्रपति ट्रम्पले अगस्टमा फेड गभर्नर लिसा कुकलाई बर्खास्त गर्ने कदम चाल्नुभयो । यसले उहाँको कानुनी लडाई सुरु भएका कारण उहाँलाई दर बैठकमा भाग लिनबाट रोक्न सक्थ्यो।

    गत महिना अर्का एक अधिकारीले अप्रत्याशित रूपमा राजीनामा दिएपछि ट्रम्पले फेडको बोर्ड अफ गभर्नरमा एक प्रमुख आर्थिक सल्लाहकारलाई पनि मनोनयन गर्नुभएको छ । यसको अनुमोदन प्रक्रिया एघारौं घण्टामा समाप्त भएको थियो। ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर्स (सिइए) को अध्यक्षता गर्दै आएका स्टिफन मिरानले एफओएमसी भेलाअघि फेड गभर्नरको रूपमा शपथ लिएका थिए । उनी आफ्नो ह्वाइट हाउसको भूमिकाबाट राजीनामा दिनुको सट्टा बिदा लिएको भन्दै डेमोक्र्याटिक सांसदहरूको आलोचनामा परेका थिए । यो निर्णय उहाँको जनवरी ३१ मा समाप्त हुने छोटो कार्यकालका कारण लिइएको बताइएको छ ।

    अर्थशास्त्रीहरूले एफओएमसीको बीचमा थप विभाजन देख्ने अपेक्षा गरेका छन्, किनकि नीति निर्माताहरू ट्रम्पको नयाँ कर नीति र बिग्रँदो रोजगार बजारका कारण उच्च मुद्रास्फीतिको जोखिमलाई सन्तुलनमा राख्दै अगाडि बढ्नेछन्। सामान्यतया, फेडले मुद्रास्फीतिलाई आफ्नो दुई प्रतिशतको लक्ष्यमा फिर्ता ल्याउन दरहरू उच्च स्तरमा राख्न इच्छुक हुन सक्छ । यसले कमजोर श्रम बजारलाई समर्थन गर्न दरहरू घटाउने निर्णय लिन पनि सक्छ।

    मुद्रास्फीति उल्लेखनीय रूपमा २।० प्रतिशतभन्दा माथि छ तर यस पटक रोजगारीको चिन्ताले जित्ने अनुमान गरिएको छ। तर आर्थिक चित्रको अर्थ यो हो कि यदि अधिकांशले २५ आधार बिन्दुको कटौतीको लागि मतदान गरे पनि अधिकारीहरूले दुबै दिशामा असहमति जनाउन सक्दछन् । यो स्थिति सन् २०१९ पछि देखिएको थिएन।

    “यो राम्रो ठाउँ होइन,” केपीएमजीका प्रमुख अर्थशास्त्री डायन स्वङ्कले भने । “वास्तविकता मुद्रास्फीति र यसका कारण देखिएको बेरोजगारी दर हो,” उनले भने । उनले भने, “त्यो केवल ‘अस्थिर’ नै किन नहोस्। यसले सुस्त वृद्धि र बढ्दो मूल्यको अवस्थालाई जनाउँछ।” फेड गभर्नरहरू क्रिस्टोफर वालर र मिशेल बोमनले ५० अङ्कको कटौतीको पक्षमा सहमति नजनाउन सक्छन् । उनीहरूले एफओएमसीको दरहरू कटौती गर्नेभन्दा स्थिर राख्ने निर्णयको पक्षमा मतदान गरेका छन् ।

  • कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

    कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

    एजेन्सी
    २ असोज, काठमाडौं । कतार लगानी प्राधिकरणले बुधबार उप–सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले यो लगानीले इभानहोलाई ’विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक पर्ने महत्वपूर्ण खनिजको खोज, विकास र दिगो आपूर्ति’ मा सहयोग पुग्ने बताए । ।

    इभान्हो माइन्सका कार्यकारी रोबर्ट फ्राइडल्याण्डले भने, “यो लगानी ‘महत्वपूर्ण धातुहरूको अग्रणी आपूर्तिकर्ता हुन फर्मको प्रयासको समर्थन हो । यसले विश्वव्यापी अर्थव्यवस्थाको विद्युतीकरण, नयाँ ऊर्जा पूर्वाधारको विकास र एआईसहित उन्नत प्रविधिहरूको विकासलाई सञ्चालन गर्नेछ। भ्यानकुभरमा मुख्यालय रहेको इभान्हो माइन्सको मुख्य परियोजनाहरू यसको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका कामोआ–काकुला तामा खानी र किपुशी तामा खानी हुन् । इभान्होले दक्षिण अफ्रिकाको प्लाट्रिफ खानीले सन् २०२५ को अन्त्यसम्म उत्पादन सुरु गर्न तयार छ। क्यानेडियन फर्मले डीआर कंगो, अंगोला, जाम्बिया र कजाकिस्तानमा तामा अन्वेषण परियोजनाहरू पनि सञ्चालन गरिरहेको छ।

  • पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    २ असोज, बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

  • भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै

    भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै

    एजेन्सी
    २ असोज, काठमाडौं । वैज्ञानिकहरूले एक एआई मोडेल सिर्जना गरी वर्षौं पहिले नै चिकित्सा निदानको उपायका लागि सक्षम हुन उनीहरूले च्याटजिपिटीजस्ता एआई प्रविधिलाई तालिम दिइरहेको बताएका छन् । ‘नेचर’ जर्नलमा प्रकाशित एक शोधपत्रमा डेल्फी–टु एम एआईले भविष्यमा हुनसक्ने एक हजारभन्दा बढी रोगको पूर्वानुमान गर्ने बताइएको हो । अनुसन्धानकर्ताहरूले बेलायतको ‘यूके बायो बैङ्क’को तथ्याङ्कमा आधारित नमूनाहरूलाई प्रशिक्षित गरेका बताएका छन् । यो एउटा ठूलो बायोमेडिकल अनुसन्धान तथ्याङ्क हो र यसमा लगभग पाँच लाख सहभागीहरूको विवरण रहेको थियो।

    च्याटजिपिटीमा तथाकथित ‘ट्रान्सफर्मर’ कलामा आधारित तन्त्रिका नेटवर्क ‘टी’ले सबैभन्दा प्रसिद्ध भाषामा आधारित रहेर च्याटबोट र यसका धेरै अनुकरणकता र प्रतिस्पर्धीहरूमा बाँधिएर कार्यहरू समाधान गर्दछ । “मेडिकल निदानको क्रम बुझ्नु भनेको ‘पाठमा व्याकरण सिक्नु जस्तै हो,” जर्मन क्यान्सर रिसर्च सेन्टरका एआई विशेषज्ञ मोरित्ज गेस्र्टुङले पत्रकारहरूसँग भने ।

    उनले भने, “डेल्फी–टु एमले ‘स्वास्थ्य सेवा तथ्याङ्कमा पूर्वनिदान ढाँचाहरू सिक्छ धेरै अर्थपूर्ण र स्वास्थ्य–सान्दर्भिक पूर्वानुमानहरू गर्न सक्षम हुन्छ।”
    गेस्र्टुङले भने, “एआईले उनीहरूको उमेर र अन्य कारकहरूले भविष्यवाणी गर्नेभन्दा धेरै उच्च वा कम हृदयघातको जोखिममा रहेका मानिसहरूलाई छुट्याउन सक्छ।” टोलीले डेल्फी–टु एमको प्रदर्शन डेनमार्कको सार्वजनिक स्वास्थ्य तथ्याङ्कमा लगभग २० लाख व्यक्तिको तथ्याङ्कमाथि परीक्षण गरेर प्रमाणित गरेको दावी गरेको छ ।

    गेस्र्टुङ र सहकर्मी टोलीका सदस्यहरूले भने, “डेल्फी–टु एम उपकरणलाई थप परीक्षणको आवश्यकता छ र यो क्लिनिकल प्रयोगको लागि अझै तयार छैन।” यसैगरी स्वास्थ्य प्रविधि शोधकर्ता पिटर ब्यानिस्टरले भने, “यो अझै पनि सुधारिएको स्वास्थ्य सेवाबाट लामो बाटो हो । बेलायती र डेनमार्कका तथ्याङ्कहरू उमेर, जाती र वर्तमान स्वास्थ्य सेवा परिणामहरूको सन्दर्भमा पक्षपाती छन्।”

    “भविष्यमा डेल्फी–टु एमजस्ता प्रणालीहरूले ‘प्रभावकारी रूपमा रोकथामको औषधिको लागि निगरानी र सम्भवतः पहिलेको क्लिनिकल हस्तक्षेपलाई मार्गदर्शन गर्न’ मद्दत गर्न सक्छ,” गेस्र्टुङले भने । ‘युरोपियन मोलिक्युलर बायोलोजी ल्याबोरेटरी’का सह–लेखक टम फिट्जगेराल्डले भन्नुभयो, “ठूला पैमानामा, यस्ता उपकरणहरूले ‘विस्तारित स्वास्थ्य सेवा प्रणालीमा संसाधनहरूको अनुकूलन’ मा मद्दत गर्न सक्छन्।”

    धेरै देशका चिकित्सकहरूले पहिलेदेखि नै रोगको जोखिमको भविष्यवाणी गर्न कम्प्युटर उपकरणहरूमा ‘क्युआरआइएसके प्रोग्राम’ प्रयोग गर्छन् । बेलायतमा निजी चिकित्सकहरूले हृदयघात वा स्ट्रोकको खतराको आँकलन गर्न प्रयोग गर्छन्। डेल्फी–टु एमका सहलेखक इवान बिरनीले भने, ’डेल्फी–टु एमले सबै रोगलाई एकैपटक र लामो समयसम्म सार्न सक्छ ।”

    मेडिकल एआईमा विशेषज्ञता हासिल गरेका किङ्ग्स कलेज लन्डनका प्राध्यापक गुस्ताभो सुद्रेले भने, “यो अनुसन्धान ‘मापनयोग्य व्याख्यात्मक र सबैभन्दा महत्त्वपूर्ण नैतिक रूपमा जिम्मेवार भविष्यवाणीको नमूनाको दिशामा एक महत्त्वपूर्ण कदम हो।” धेरै ठूला एआई मोडेलहरूको पूर्ण आन्तरिक कार्यहरू हाल उनीहरूको सिर्जनाकर्ताहरूको लागि पनि रहस्यमय छन् । त्यसैले ‘व्याख्यात्मक’ वा ‘व्याख्यायोग्य’ एआई यस क्षेत्रको शीर्ष अनुसन्धान लक्ष्यहरू मध्ये एक हो ।

  • प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    २ असोज, भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ ।

    यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताए । यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।


    राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । “सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएका छौँ”, उनले भने, “समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ । यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।”

    पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताए । बिस्तारै विद्यार्थीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढेको छ । केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार र ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताए ।

    विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ । विद्याथीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

  • सुनसान ‘कर्लिम गाउँ’

    सुनसान ‘कर्लिम गाउँ’

    २ असोज, ढोरपाटन । “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् । उनलाएै अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई÷चार घरमा मात्रै मान्छे भेटिन्छन् ।

    यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउँछन् । “गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पु¥याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ”, उनी भन्छन् । स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताइन् । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उनको भनाइ छ ।

    यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ । “गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनीमानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हे¥यो त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ”, उनले भनिन् ।


    काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन्भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चिवतन बसाइँ सरेका छन् ।

    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताए । पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँसराइ रोक्न नसकिएको उनको भनाइ छ । “गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्रविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ”, अध्यक्ष थापाले भने ।

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    २ असोज, दोधारा चाँदनी । हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ । हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।

    परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लाग्नुभएका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिए । “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ”, उनले भने, “पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।” थापाले दसँैको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए ।

    थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन् । “हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ”, उनको भनाइ थियो,“भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।”

    लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए । “पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ? एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ”, उनले भने । गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।

    कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए । “बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ”, उनले भने । भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो । रासस

  • धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड

    धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड

    २ असोज, टक्सार । विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् । टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत दर्जनौँ बढी मठमन्दिर तथा विहारहरू पर्दछन् । यिनै सम्पदाहरू संरक्षण र रेखदेखको अभावमा ओझेलमा पर्दै गएका छन् ।

    यी सम्पदाको उचित रेखदेख र व्यवस्थापन नहुँदा पूजाआजा गर्ने तीर्थालुसमेत घट्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सानुकाजी शाक्य काठमाडौँ उपत्यकाको पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्तव बोकेका यहाँका मठमन्दिरको जीणोद्धार हुन नसक्दा समस्या भएको बताउँछन् । यसलाई दोस्रो मिनी पाटनका रूपमा पनि चिन्ने गरिन्छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले सरोकार भएकाहरूले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    स्थानीय किशोर ताम्राकार यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट सहयोग हुनुपर्ने बताउँछन् । “इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ । टक्सारको प्रचार–प्रसारका लागि स्थापना गरिएको भोजपुर सङ्ग्रहालयबारे पनि उचित ध्यान दिन आवश्यक छ”, उनले भने ।
    यशोधरा माध्यामिक विद्यालय टक्सारका प्रधानाध्यापक धु्रवराज रेग्मी सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँग सम्पदाको विकासका लागि स्थानीय निकायले योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् । “टक्सारका ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु आवश्यक छ । नभए यहाँको पहिचान नै गुम्नसक्छ”, उनले भने ।

  • कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

    कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

    २ असोज, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माणका लागि रु १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए ।


    आर्थिक वर्ष २०६६\६७ मा सुरु गरिएको आयोजना र २०८३\८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ । इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए ।


    करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ । करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमी, पाल्पामा ८६ दशमलव २७ किमी, गुल्मीमा ४१ दशमलव ०६ किमी, बागलुङमा ३४ दशमलव ७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

  • संविधान दिवस सरकारी स्तरमै मनाइने

    संविधान दिवस सरकारी स्तरमै मनाइने

    १ असोज, काठमाडौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।
    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुनेछन् ।

    नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन भनी अघिल्लो सरकारले गत भदौ ८ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरेको थियो । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान, २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    संविधान जारी भई एक दशक पुगेको यस विशेष अवसरमा संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा व्यापकरुपमा वहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकामा धनजनको अपुरणीय क्षतिसहित परिवर्तित घटनाक्रमका कारण प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

    यस दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित भई प्रदेश र स्थानीय तहहरूमा समेत कार्यक्रम आयोजना हुनेछन् ।

  • पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

    पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

    १ असोज, काठमाडौं । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महशुस भएको थियो ।