Category: फिचर

  • आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

    आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

    १ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ ।

    गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी÷लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


    उनले भने, “बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । त्यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।” यसैगरी त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ । नयाँ बानेश्वरस्थित वाणिज्य बैंकको शाखाबाट मात्र १८ किलो हाराहारी सून र ५ करोड भन्दा बढी नगद चोरी र लुटपाट भएको पुष्टी भएको छ ।

  • तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    १ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गरेका हुन् ।

    निरीक्षण गर्दै अर्थमन्त्री खनालले भने, “प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त यो भवन पुरानै स्वरुपमा निर्माण गरिने छ ।” त्यसैगरी मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताए । जेनजी प्रदर्शनका क्रममा उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ । प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

  • जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    १ असोज, काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

  • मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

    मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

    १ भदौ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज ललितपुर–१८ भैँसेपाटीस्थित मन्त्री निवासको अवलोकन गरेका छन् । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मन्त्री आवासमा आगजनी भएको थियो । मन्त्री घिसिङले अवलोकनपछि तत्काल निर्माण गर्न सकिने संरचनाका लागि काम सुरु गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मन्त्री निवासमा ठूलो क्षति भएको छ । अहिले हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, प्रक्रियागत रुपमा सबै हिसाबले अघि बढिरहेका छौँ ।”

    भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा सङ्घीयमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधा सम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । यस्तै, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती सङ्घीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालय क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर प्रवेश दिइएको छ ।

  • मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    १ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । हाल सो अस्पतालमा १६ प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । जेनजीले गरेको प्रदर्शनका क्रममा हालसम्म ७४ जना युवाको मृत्यु भएको छ ।

  • न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

    न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

    एजेन्सी
    १ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । “न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ ” उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन् । । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ ।

    ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए । तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् ।


    ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए ।

    सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए ।

  • सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    एजेन्सी
    १ असोज, कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ । यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो । सेवा क्षेत्रको पीिएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ । यस विस्तारलाई उच्च सङ्ख्यामा बढेका पर्यटक आगमनसँग जोडिएको थोक तथा खुद्रा व्यापार, व्यक्तिगत सेवाहरू, आवास, खाना र पेय सेवाहरूको उत्कृष्ट प्रदर्शनले टेवा दिएको हो । साथै, ऋण दिने गतिविधि बढेकाले वित्तीय सेवासम्बन्धी व्यवसायिक क्रियाकलाप पनि सुधारिएको देखिन्छ ।

    उत्पादन क्षेत्रको पिएमआई भने अगस्टमा ५५.२ मा पुगेको छ । यसले अघिल्लो महिनाभन्दा केही सुस्त दरमा भए पनि उत्पादन गतिविधि विस्तार भएको जनाउँछ । नयाँ अर्डर र उत्पादन मुख्यतया खाद्य तथा पेय पदार्थ निर्माण क्षेत्रको बलियो प्रदर्शनकै कारण बढेको हो । खरिदको स्टक पनि नयाँ अर्डर र उत्पादनसँगै विस्तार भएको तथ्याङ्कले देखाएको छ । पिएमआईले आगामी तीन महिनामा उत्पादन गतिविधि सकारात्मक रहने अपेक्षा जनाएको छ । यो विशेषगरी वर्षको अन्त्यतिर हुने मौसमी मागका कारण थप सुदृढ हुने अनुमान गरिएको छ ।

  • स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

    स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

    एजेन्सी
    १ असोज, काठमाडौं । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पु¥याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे । “यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,” उनले भने । स्पेन सन् २०२४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने विकसित देश बनेको थियो र सन् २०२५ मा पनि यो गति कायम रहने अपेक्षा गरिएको छ ।

    स्पेनको केन्द्रीय बैंकले पनि २०२५ को आर्थिक वृद्धिको पूर्वानुमान २.४ प्रतिशतबाट बढाएर २.६ प्रतिशतमा पु¥याएको छ । बैङ्कले उत्पादन र मागमा देखिएको स्थायीत्वलाई यसको मुख्य कारण मानेको छ । सन् २०२५ को दोस्रो त्रैमासिकमा स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको थियो, जुन युरोजोनको औसत ०.१ प्रतिशतभन्दा धेरै माथि हो । स्पेनको अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।

  • इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

    इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

    एजेन्सी
    १ असोज, काठमाडौं । इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तिव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन् ।
    गाजास्थित केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू देखिएको जानकारी नभएको जनाएका छन् । तर अधिकांश क्षेत्रहरूमा हवाई आक्रमण र मानवरहित विमानद्वारा गरिएका बम आक्रमणहरू निकै तीव्र रूपमा भइरहेको उनीहरूले पुष्टि गरेका छन् । आक्रमणपछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति मार्फत भने, “गाजा अहिले ठूलो संकटमा छ । हाम्रो सेना आतङ्ककारी संरचना विरुद्ध कठोर कारबाही गर्दैछ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो ।”

    उनले भने, “हामी हाम्रो उद्देश्य पूरा नभएसम्म पछि हट्ने छैनौं ।” प्यालेस्टिनी सरकारी समाचार संस्था वाफा ले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमणलाई तीव्र बनाएको जानकारी दिएको छ । स्थानीय स्रोतहरूको हवाला दिँदै वाफाले लगभग निरन्तर बमबारी भइरहेको उल्लेख गरेको छ । इजरायली सेनाको रेडियो प्रसारण अनुसार, हालसम्म करिब तीन लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन् । गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको मानिन्छ ।

    सोमबार, अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियोले इजरायल भ्रमणको क्रममा पत्रकार सम्मेलनमा भने, “गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन् । तर त्यो सम्भव हमासको अन्त्य भएपछि मात्र हुनेछ।” उनले इजरायललाई पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए । यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो । इजरायली सेनाका प्रवक्ताले हाल गाजा सहरको करिब ४० प्रतिशत भू–भाग सेनाको नियन्त्रणमा रहेको र आगामी दिनमा कारबाही अझ तीव्र हुने जानकारी दिए ।

  • बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

    बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

    एजेन्सी
    १ असोज, काठमाडौं । बेलायत सरकारले ‘आतङ्कवादी समूह’ घोषणा गरेको ‘प्यालेस्टाइन एक्शन’ लाई समर्थन गरेको आरोपमा पक्राउ परेका तीन जनाले मङ्गलबार लन्डनको अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जुलाईमा प्रतिबन्ध लगाएर प्यालेस्टाइन एक्शनलाई गैरकानुनी घोषणा गरेपछि सयौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो । मङ्गलबार अदालतमा उपस्थित ती तीन मध्ये दुई जना ७० वर्षमुनिका छन् । वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालत बाहिर समर्थकहरूले नारा लगाउँदै स्वागत गरेका थिए ।


    जेरमी शिपम (७२), जूडिट मरे (७१) र फियोना म्याक्लिन (५३) ले आफूहरू निर्दोष भएको बताउनुभयो र मार्च १६ सम्म जमानतमा रिहा भएका छन् । यी तीनैलाई जुलाई ५ मा वेस्टमिन्स्टरमा भएको प्रदर्शनपछि पक्राउ गरिएको थियो, जहाँ उनीहरूले सार्वजनिक स्थानमा “म जनसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्शनलाई समर्थन गर्छु” लेखिएको प्लेकार्ड बोकेर आन्दोलन गरेको आरोप छ ।

    सरकारले प्यालेस्टाइन एक्शनलाई प्रतिबन्ध लगाएको कारण यसले केही तोडफोड गरेको थियो, जसमा दुई रॉयल एयर फोर्सका विमानहरूलाई क्षति पुर्याइएको थियो। उक्त क्षतिको अनुमान करीब ७० लाख पाउन्ड (१ करोड डलर) रहेको छ । प्रतिबन्धलाई संयुक्त राष्ट्रसङ्घ र अन्य आलोचकहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भन्दै विरोध गरेका छन् ।


    प्रदर्शनकारीहरूको साथी के वेग्ल्यान्डले भने, ,“सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई आतङ्कवादी घोषणा गरेको छ, जुन गलत छ ।” यसैबीच, सरकारले आतङ्कवाद विरोधी कानुनअन्तर्गत धेरै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिरहेको छ । सेप्टेम्बर ६ मा लन्डनमा भएको प्रदर्शनमा ८९० जनालाई पक्राउ गरिएको थियो ।

  • पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

    पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

    १ असोज, काठमाडौं । आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकोमा बिहान साढे ८ बजेबाट सञ्चालनमा आएको छ ।


    कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।

    त्यसैगरी, मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको थियो । मङ्गलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

    यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन । पहिरोलाई अहिले हटाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

  • आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    १ असोज, काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

    आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।


    प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।


    यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ ।

    चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।

  • राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    १ असोज, काठमाडौ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

  • कोराला नाका चल्दा व्यवसायी उत्साही

    कोराला नाका चल्दा व्यवसायी उत्साही

    १ असोज, म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो ।

    भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए । “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरु उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”

    कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताए । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् ।

    नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।

  • बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    १ असोज, काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो ।

    अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    १ असोज, भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।

    बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन् । “सुन्तले–बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ, भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउने गर्छन् । यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउने गर्दछ”, उहाँले भन्नुभयो ।

    चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ । तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको तामाङ बताउनुहुन्छ ।

    भोजपुर–दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ । सहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि यो उत्तम गन्तव्य हो । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर–खोटाङ सिमानाको चखेवाभञ्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ ।

    पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ । यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ । विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र भेषभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भोजपुर सदरमुकामबाट सुन्तले ठाउँ १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ ।

  • कर तिर्ने समय एक महिना थप

    कर तिर्ने समय एक महिना थप

    ३१ भदौ, काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ”, उनले भने ।
    मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ । जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीहरूले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेका थिए । आज दिउँसो निजी क्षेत्रसँगको भेटका क्रममा अर्थमन्त्री खनालले कर तिर्ने समय एक महिना थप गर्ने आश्वासन दिएका थिए । यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताएका छन् ।

  • कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

    कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

    ३१ भदौ, काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय÷सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अगाडि बढाउने प्रस्ताव अघि सारेको छ ।

    बैठकले भनेको छ, “क्षतिग्रस्त संरचनाबारे प्रकोपपश्चात्को आवश्यकता मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउन प्रस्ताव गर्नुपर्छ ।” सचिव बैठकले वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको सन्दर्भमा तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

    यस विषम परिस्थितिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, खानेपानी, स्वास्थ्य उपचार, सार्वजनिक यातायात, खाद्यान्न तथा औषधि आपूर्ति, टेलिफोन, विद्युत्, न्याय सम्पादनलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बद्ध निकायहरूले तत्काल आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

    निर्णयमा भनिएको छ, “२३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र, उपकरण, सवारीसाधन, फर्निचर, सूचना प्रणालीलगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय÷निकायले तयार गर्नाका साथै क्षतिपूर्तिका लागि गर्नुपर्ने कार्यको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय÷निकायले तत्कालकार्य प्रारम्भ गर्नेछ ।”


    यस्तै, हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने, सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, कार्यालयले गर्ने राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने र प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

    बैठकले चालु आर्थिक वर्षमा स–साना रकम विनियोजन भएका आयोजना (टुक्रे आयोजना_ को हकमा दायित्व सिर्जना भइनसकेका आयोजना सबै मन्त्रालय तथा निकायले कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनामा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनःनिर्माण÷मर्मत सम्भार तथा यन्त्रउपकरण खरिदका लागि रकमान्तर÷स्रोतान्तर गर्ने निर्णय पनि गरेको छ ।

    आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचरलगायतका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, ‘जेनजी’ युवा पुस्ताको चाहनाबमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रिया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका तत्काल खारेजी वा संशोधनको प्रक्रिया अगाडि बढाउने र नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त रहेको भए सम्बन्धित कार्यालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ ।

    सरकारले प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, संस्थान र निजी घर तथा व्यावसायिक प्रतिष्ठानबाट चोरिएका÷लुटिएका सामान सम्बन्धित निकाय वा नजिकको प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने निर्णय भएको बैठकपछि जारी विवरणमा उल्लेख छ ।

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    ३१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ ।

    असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले बताए । असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।

  • जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए ।

    आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ६ जनाको शव भने नेपाली सेनाले सम्बन्धित जिल्लामा लगेको छ ।

  • जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गरेका थिए । प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

  • आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेका थिए । आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब रु एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ । यही सोमबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी कार्यालयको सरसफाइमा जुटेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत सुशासनका पक्षमा भएको जेनजी प्रदर्शनका क्रममा माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

  • निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

    निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

    ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको हो । “चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो”, प्रवक्ता पाण्डेयले रासससँग भने, “बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।”

    सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो ।

  • गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    ३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।

    गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरु पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

  • सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

    ३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

  • ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

    ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै ब्याजदर घटाउनुपर्ने बताए । उनले पावेलले दर घटाउन ‘धेरै ढिलो’ भएकोे भन्दै हालैका दिनहरूमा बारम्बार चर्चा गर्दै आएका छन् ।

    फेडले बुधबार आफ्नो दुई दिने बैठकको अन्त्यमा प्रमुख ऋण दर २५ आधार बिन्दुले घटाउने अपेक्षा गरिएको छ र सबैको नजरले भेलापछि आउने पावेलको घोषणालाई पर्खिरहेका छन्। दरदर घटाउने कदमले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकालाई रोजगार बजार कमजोर भइरहेको अवस्थामा आर्थिक प्रोत्साहन दिनेछ । लामो समय रोजगार बजार कमजोर हुँदा मन्दीको डरलाई बढावा दिन्छ।

    यो २०२५ को पहिलो दर कटौती हुनेछ, किनकि फेडले सन् २०२४ डिसेम्बरमा अन्तिम कटौतीपछि ब्याज दरहरू स्थिर राखेको छ । अधिकारीहरूले राष्ट्रपति ट्रम्पको व्यापक कर वृद्धिको घोषणाको प्रभावले मुद्रास्फीतिमा योगदान गर्नसक्ने भन्दै आफ्नो मौद्रिक नीतिलाई पर्ख र हेरको अवस्थामा निगरानी गरिरहेका थिए।

    अमेरिकी मुद्रास्फीति केन्द्रीय बैङ्कको दीर्घकालीन दुई प्रतिशतको लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ । कर वृद्धिको प्रभाव अहिलेका लागि सीमित हुने देखिएको छ । यसले नीति निर्माताहरूलाई श्रम बजारलाई बढावा दिन केही ठाउँ दिन्छ, किनकि, उनीहरू स्थिर मूल्य कायम राख्ने र अधिकतम रोजगारीको बीचमा कसिलो डोरीमा हिँड्छन्।

    बैठक सुरु हुनुभन्दा केही घण्टा अघि आएको राजनीतिक दबाबले नियुक्तिका लागि करिब पक्का भएको बैङ्कको ‘ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर’का अध्यक्ष स्टेफन मिरानसँगको बैठकबारे चिन्ता सिर्जना गरेको छ । अमेरिकी सिनेटमा सोमबार उहाँको मनोनयन अघि बढाउन मतदान हुँदैछ ।

  • टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

    टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता भएको छ, जसलाई हाम्रो देशका युवाहरू निकै बचाउन चाहन्छन्। तिनीहरू धेरै खुशी हुनेछन्।”

    ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने पनि बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले म्याड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको दोस्रो दिनको वार्तापछि सम्झौताको सहमतिको खाकाबारे जानकारी गराए । “हामीसँग टिकटकसँगको सम्झौताको लागि एक ढाँचा तयार बनेको छ,” बेसेन्टले पत्रकारहरूसँग भने, “यसले एपलाई ‘अमेरिकी नियन्त्रित स्वामित्वमा सञ्चालन गर्न’ मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।”

    “दुई निजी पक्षहरूबीच व्यावसायिक सर्तहरूमा सहमति भएको छ,” उनले भने । बेसेन्टले थप विवरण दिन अस्वीकार गर्नुभएको छ। राष्ट्रपतिद्वय ट्रम्प र सीले शुक्रबार सम्झौता पूरा गर्न थप कुराकानी गर्ने उनले बताए । विश्वमै करिब दुई अर्ब प्रयोगकर्ता रहेको टिकटक चीनको इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।

    तर रिपब्लिकन, जसको २०२४ को चुनाव अभियान सोशल मिडियामा धेरै निर्भर थियो र जसले आफूलाई टिकटकको शौखिन भएको बताएको छ, प्रतिबन्धलाई रोक्यो। गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एपका लागि ९० दिनको म्याद थप गर्नुभएको थियो । त्यो म्याद बुधबार सकिँदैछ। यसअघि, बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार वार्ता पुनः सुरु भएपछि टिकटकको विवादलाई सुल्झाउन चीनसँग सम्झौताको ‘धेरै नजिक’ रहेको बताए ।
    बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार म्याड्रिडमा पछिल्लो चरणको छलफलको उद्घाटन गरेका थिए। विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध तनावपूर्ण बनेका समय यसले व्यापार र प्रविधिमा मतभेदहरू कम गर्न खोजेको छ ।

    टिकटकको लागि अमेरिकी खरीदकर्ता खोज्ने वा प्रतिबन्धको सामना गर्ने अन्तिम मिति बुधबारसम्म जारी रहने अपेक्षा गरिएको वार्ताले प्रतिशोधात्मक करका सम्बन्धमा पनि नयाँ निकास निकाल्ने अपेक्षा गरिएको छ । “टिकटक सम्झौताका बाबजुद हामी यो मुद्दाको समाधानको नजिक छौं,” स्पेनको विदेश मन्त्रालयमा दोस्रो दिनको वार्ताका लागि आइपुगेका बेसेन्टले पत्रकारहरूलाई भने ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा टिकटकलाई सञ्चालनका लागि अस्थायी अनुमति दिनुभन्दा अघिल्लो दिनदेखि टिकटकको बिक्री वा प्रतिबन्ध लगाउनुपर्ने संघीय कानुन लागू हुने बताएका थिए । तर सन् २०२४ कोे चुनाव अभियानमा रिपब्लिकन सामाजिक सञ्जालमा अत्यधिक धेरै निर्भर थियो । यसले आफूलाई टिकटकको शौखिन भएको बताउँदै प्रतिबन्धलाई रोकेको थियो ।

    गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एप टिकटकका लागि ९० दिनको म्याद थप गरेका थिए । त्यो म्याद बुधबार सकिँदैछ। ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्बाचन अभियान पहिले लामो समयदेखि प्रतिबन्ध वा विनिवेशको समर्थन गर्दै आएका थिए । तर निर्वाचनको समयमा उनले आफ्नो अडान उल्ट्याउँदै उक्त सामाजिक प्लेटफर्मको रक्षा गर्ने वाचा गरे । टिकटकका विश्वभर लगभग दुई अर्ब प्रयोगकर्ताहरू भएको बताउने गरेको छ भने अमेरिकी राष्ट्रपतिले नोभेम्बरको चुनावमा युवा मतदाताहरूको समर्थन जित्न यसैले व्यापक मद्दत गरेको विश्वास गरिएको छ ।

    बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार वासिङ्टनलाई ‘आपसी सम्मान र समान परामर्शका आधारमा चीनसँग काम गर्न, वार्ताको माध्यमबाट एक अर्काको चासोलाई समाधान गर्न र समस्याको समाधान खोज्न’ आग्रह गरेको छ । म्याड्रिडमा भएको वार्तामा चिनियाँ आयातमा ट्रम्पको कडा कर लगाउने चेतावनीलाई पनि समेटिएको छ । यस वर्षको सुरुमा व्यापार तनाव तीव्र रूपमा बढेको र चीन र अमेरिकाबीच प्रतिशोधात्मक करवृद्धि तीन अङ्कमा पुगेपछि र आपूर्ति श्रृंखलाहरू अवरुद्ध भएका थिए।

    चिनियाँ सामानको आयातमा ३० प्रतिशत कर लगाउने र चीनले अमेरिकी सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेसँगै दुवै सरकारबीच करवृद्धि घटाउने सहमति भएको थियो । अमेरिका–चीन व्यापार युद्धविराम निकै असहज बनेको छ । वासिङटनले बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र दुर्लभ वस्तुका लागि निर्यात इजाजतपत्रको स्वीकृतिलाई ढिलो गतिमा अघि बढाएको आरोप लगाएको छ। चीन दुर्लभ खनिजको विश्वको अग्रणी उत्पादक हो, जुन मोटर वाहन, इलेक्ट्रोनिक्स र रक्षा उद्योगहरूको लागि आवश्यक चुम्बक बनाउन प्रयोग गरिन्छ।

  • असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    ३१ भदौ, काभ्रे । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

    कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

    यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

    मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो ।

    यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।

    गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्‍याएको थियो ।
    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । रासस

  • ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

    ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

    एजेन्सी
    ३१ भदौ, लण्डन । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहेका छन् ।


    यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो । तर यसको उद्देश्य स्पष्ट छ—ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु ।

    शाही इतिहासकार रोबर्ट लेसी भन्छन्, “यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जलि दिन र राजालाई भेट्न चाहनुहुन्छ ।” राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेताहरू प्रतिस्पर्धा गर्छन् ।

    स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिनुभएको थियो । पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् । न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकूल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

    त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिएका थिए । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाउनुभएको हो र यसपटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो । मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्ने छन् । बुधबार राजा चार्ल्स र रानी क्यामिलाले उनीहरुलाई विन्डसर एस्टेटमा स्वागत गर्नेछन् । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइनेछन् ।

    सैन्य अभ्यास महिनौँअगाडि सुरु भइसकेको छ । सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउनेछन् । कार्यक्रमपछि ट्रम्पले बेलायत–अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्नुहुनेछ, जसमा म्याग्ना कार्टाजस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ । मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुनेछ । पुरुषले सेतो टाई र पुच्छर कोट लगाउनेछन्, महिलाले गाउन र गहना । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुटहरू चम्किनेछन् ।

    राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिनेछन् । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी–सुनका भाँडाकुँडाले सजाइनेछ । शाही जीवनीकार ह्युगो विकर्स भन्नुहुन्छ, “चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।”

    उनका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गरेका छन् । यसैमार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुनेछ । मुख्य छलफल बिहीबार चेकर्समा हुनेछ, जहाँ ट्रम्प र स्टार्मरबीच भेट हुनेछ ।

  • विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी अनुसन्धान र विकासमा मात्र होइन तर वास्तविक उत्पादनमा पनि आफैंलाई यस्तो अवस्थामा फेला पार्नेछौँ,” उनले भने ।


    उनले भने, “इजरायलले मुख्यतया हतियार उद्योगलाई ध्यानमा राख्दै नयाँ अलगावलाई अनुकूलन गर्न र आफ्नै उत्पादन क्षमताहरू विकास गर्न आवश्यक छ। हामी यस्तो अवस्थामा पुग्न सक्छौं जहाँ हाम्रा उत्पादनहरू निर्यातका लागि बन्द हुनेछन्।” उनले थपे “हामीले यहाँ हतियार उद्योग विकास गर्नुपर्नेछ । हामी एथेन्स र सुपर–स्पार्टा हुनु पर्छ।”

    “इजरायलको अन्तर्राष्ट्रिय अवस्था परिवर्तन हुँदैछ”, उनले चेतावनीको स्वरमा भने, “यसले हामीलाई आर्थिक प्रतिबन्धको सुरुवात र हतियार र हतियारका पार्टपुर्जाहरू आयात गर्ने समस्या निम्त्याउनेछ।” विपक्षी नेता याइर लापिडले नेतान्याहूको टिप्पणीलाई ‘एक अर्थहीन टिप्पणि’ को रूपमा निन्दा गरे । उनले भने, “अलगाव ‘नेतान्याहू र उनको सरकारको असफल र त्रुटिपूर्ण नीतिहरूको परिणाम हो।”

    स्पेनले इजरायलको सबैभन्दा ठूलो निजी स्वामित्वको रक्षा कम्पनी एल्बिट सिस्टम्सबाट रकेट लन्चर खरिद गर्न करिब ७० करोड युरोको सम्झौता रद्द गरेको छ । गाजा युद्धका बीच स्पेनले यसै महिना रद्द गरेको यो दोस्रो इजरायली हतियार सम्झौता हो । गाजामा इजरायलको आक्रमणले ६४ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको छ भने प्यालेष्टिनी भूभागलाई तहसनहस पारेको छ । त्यहाँ भोकमरी निम्त्याएको छ। गाजा द्वन्द्वको समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्भावित उल्लङ्घनको चिन्तालाई उद्धृत गर्दै धेरै राष्ट्रहरूले सन् २०२३ अक्टोबरदेखि इजरायलसँग हतियार व्यापार घटाएका छन् वा स्थगित गरेका छन्।