Category: फिचर

  • आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

    ३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड  बराबरको विदेशी मुद्रा

    विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा

    ३१ भदौ, काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि रु १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा रु १४ अर्ब ९६ करोड थियो ।

    चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी आई रु २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु १५ अर्ब छ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार अर्ब ७७ करोड थियो ।

  • साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

    साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

    ३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०९ प्रतिशत थियो ।

    राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव २८ प्रतिशतले ऋणात्मक देखिएको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने तीन दशमलव ९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः छ दशमलव १७ प्रतिशत र दुई दशमलव ९४ प्रतिशत थियो ।

    गत साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९७, गैर–मदिराजन्य पेय पदार्थको चार दशमलव ६४ प्रतिशत र फलफूलको तीन दशमलव ०१ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १८ दशमलव ५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मरमसलाको चार दशमलव ८१ र माछा तथा मासुको दुई दशमलव ४१ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ६०, शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८४, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

    बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । गत साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७० प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ८४, मधेस प्रदेशको एक दशमलव ८६, बागमतीको एक दशमलव ६७, गण्डकी एक दशमलव ०३, लुम्बिनी को एक दशमलव ३५, कर्णालीको एक दशमलव ७९ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ३१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २६, तराईको एक दशमलव ३३, पहाडको एक दशमलव ५६ र हिमालको दुई दशमलव ५९ प्रतिशत रहेको छ ।

  • २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

    २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

    ३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले वृद्धि भई २० अर्ब तीन करोड पुगेको छ ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत साउन मसान्तमा चार प्रतिशतले वृद्धि भई रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।

    गत साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    समीक्षा अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३३ अर्ब आठ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब चार करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु ८० करोड रहेको थियो ।

    सो अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ । रासस

  • एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

    एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

    ३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामलरधान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।

    समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १३ अर्ब ९८ करोड बराबर भएको थियो ।

    यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले वृद्धि भई रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।

  • परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

    परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

    ३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।
    आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।

  • कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

    कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

    ३१ भदौ, मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।


    यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो । “भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट ५०० भन्दाबढी ईभी ल्याउने जनाइएको छ,” उनले भने, “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सारले पनि जाँचपास गर्छ ।”


    चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।
    यस नाकाबाट गाडीसहित पर्व लक्षित लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ । चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन् । मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरलानाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए ।

  • पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ

    पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ

    ३१ भदौ, काठमाडौं । नेपालको पर्यटन पुनरुत्थानमा सरोकारवालाले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार यसबारे छलफल भएको छ । जेनजी प्रदर्शनका कारण नेपालको पर्यटन संरचनामा ठूलो क्षति पुगेको छ । यसबाट सिर्जित चुनौतीबीच नेपालको पर्यटन क्षेत्र पुनरुत्थान हुने बैठकको निष्कर्ष छ । पर्यटन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न नीतिगत अडचन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

    उनले निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको पनि बताए । पर्यटन क्षेत्र पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको उनको भनाइ छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोग मार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल हुने उनले बताए । पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ हरू सार्वजनिक गर्नुपर्ने बताए । उनले दूतावास, एनआरएनए र अन्य सञ्जाल मार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए ।

    पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे । ‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् र साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ,’ उनले भने, ‘त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई सहजीकरणका लागि हामी तयार छौं ।’

    त्यसैगरी होटल एसोसिएन नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताएका छन् । ‘साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । साहसिक पर्यटनका क्षेत्र सुरक्षित भएकाले पर्यटक संख्या बढ्दै गएको छ,’ उनले थपे ।
    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस्का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । ‘प्राकृतिक विपद् र अहिलेको संकट फरक भएका कारण हामीले दीर्घकालीन समाधानमा काम गरिरहेको छौं र थप रणनीति बनाउनुपर्ने छ,’ उनले भने ।

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्‍न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्‍वास साथ पर्यटन क्षेत्र सक्रिय बनाउन लाग्नुपर्ने बताए । त्यसैगरी बोर्डले सोमबार नै नेपालमा रहेका पाँचतारे र चारतारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलमा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायी पाहुना स्वागत गर्न तयार रहेका छन् ।

  • मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    ३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

    उनले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

  • जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ३१ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
    नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।


    यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको रु १० लाख र अन्य खर्चबापत थप रु पाँच लाख थप गरी रु १५ लाख सहयोग गर्ने निर्णय गरेको उनले बताए । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ ।

    बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ ।

    यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

  • उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    ३० भदौ, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तोकेको थियो ।

  • ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

    ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

    ३० भदौ, काठमाडौं । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।


    पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।
    आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन् । उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे ।

  • अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

    अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

    ३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरे । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरे ।

    उनले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरे । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गरे । “अब निर्वाचन गर्नुपर्नेछ, युवाका माग पू्रा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो”, उनले भने । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताए ।

  • जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    ३० भदौ, काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे ।

    आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

    मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरे ।

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    ३० भदौ, काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाइ आइतबार साँझ नियुक्त गरेका हुन् ।


    नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।


    खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आएका थिए । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उनी चर्चामा आएका थिए ।

    नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गरेका छन् ।
    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

    ‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    ३० भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।

    “उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,” आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

  • संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    ३० भदौ, काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, “उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।”

  • ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ३० भदौ, फुङ्लिङ । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बता्रए ।

    मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालमा रेडपाण्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्याक्रमको आयोजना गरिएको हिमाली संरक्षणमञ्च संस्थाका सचिव विवश केदेमले बताए ।

    हिमाली संरक्षण मञ्चका अनुसार, विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको सङ्ख्यासमेत वृद्धि आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लामा करिब ७७ देखि एक सय ३४ रेडपाण्डा छन् ।

  • आजको मौसम पूर्वानुमानः देशभर वर्षा

    आजको मौसम पूर्वानुमानः देशभर वर्षा

    ३० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    सिबी अधिकारी/रासस

    ३० भदौ, काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देर्खिए । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् । रसिलो आँखा पार्दै उनले भने, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

    सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भने, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

    अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

    आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उनी भन्छन्, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

    गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

    सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उनले भने ।


    पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए ।


    यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

    विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

    आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

  • राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    ३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन् । यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।

  • पुनःर्निर्माणमा  निःशुल्क प्राविधिक सहयोग गरिने

    पुनःर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

    ३० भदौ, काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    एशोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए । उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए । उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरे ।

  • जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    ३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति यो समूह असन्तुष्ट रहेको बताइएको छ । युवाहरुले मध्यराति बालुवाटारमा नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले यो समूहमा रहेका थिए । उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाए ।


    सुदन गुरुङले ‘जनता पावरफुल हो, कसैले हामीलाई रोक्न सक्दैन, जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु,’ भन्ने अभिव्यक्ति समेत दिएका छन् । सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । कार्कीले आइतबार तीन मन्त्री नियुक्त गरेको बताइएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ ऊर्जा मन्त्री नियुक्त भएको समाचार सार्वजनिक भएपछि यो समूह आक्रोसित बनेको हो ।

  • सुमनाले किन छाडिन् रास्वपा ?

    सुमनाले किन छाडिन् रास्वपा ?

    ३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको बताएकी छिन् ।

    उनले आफूलाई यस्ता गतिविधि स्वीकार्य नभएकोले पार्टी छोडेको पनि बताएकी छिन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?,’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ?’ पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

    सुमना यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएको बताएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन् । सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको बताएकी छिन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा सामेल पनि भएकी थिइन् ।

  • जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    ३० भदौ, काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।


    उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गर्नुभयो ।

    १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार

    सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् । फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।

  • आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    २९ भदौ, काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ । कुनै पनि समान सग्लो छैन । त्यहाँ कुनै सामान पनि पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन् ।”

    सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्री जलेर खरानी भएकाले ती कुनै पनि वस्तु पहिचान गर्न नमिल्ने अवस्था छ । भवनभित्र दुवै सभा र वरपर अन्य कक्षको छत खसेको छ । संसद् बैठकका लागि निकै महत्त्वपूर्ण मानिएको ‘सर्भर’को कुनै पहिचान नै नरहने गरी नष्ट भएको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षका दुवै कार्यकक्ष पूर्ण रूपमा जलेका छन् । ठाउँठाउँमा भवनको कम्पाउन्ड भत्काइएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबाट प्रतिनिधिसभा विघटन भए पनि अधिवेशन चालु नै रहेको राष्ट्रियसभाको बैठक त्यहाँबाट सञ्चालन हुन सक्ने अवस्था देखिन्न ।

    सिंहदरबारस्थित सङ्घीय संसद्का दुवै भवन भने यथावस्थामा छन् । विभिन्न समितिका स–साना घर पनि सुरक्षित अवस्थामै रहेको पाइयो । त्यहाँ भौतिक संरचनामा कुनै क्षति पुगेको छैन, तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ ।

    केही सवारीसाधन जलेका छन् । संसद् सचिवालयका चारपाङ्ग्रे १३ वटा, दुईपाङग्रे ४० भन्दा बढी सवारीसाधन जलेको प्रवक्ता गिरीले जानकारी दिए । तीमध्ये ३० वटा पूर्ण क्षतिग्रस्त भएका छन् । केही सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका पनि छन् । देशकै महत्त्वपूर्ण दस्तावेज रहेको संसद् सचिवालयको पुस्तकालय भने जोगिएको छ । जनप्रतिनिधिमूलक संस्था संसद् कानुन निर्माण, सरकारका कामको निगरानीलगायत काम गर्दै आएकामा प्रतिनिधिसभा विघटनपछि त्यस मातहतका संसदीय समिति निष्क्रिय छन् । राष्ट्रियसभा स्थायी सदन भएकाले अधिवेशन चालु अवस्थामा छ ।

    हाल सचिवालयले आन्दोलनबाट भएको क्षति मूल्याङ्कन र यसअघि गर्दै आएको दैनिक सेवा प्रवाहका काम भइरहेको पनि प्रवक्ता गिरीले बताए । उनले भने, “संसद् सचिवालयले नियमित कार्य गरिरहेको छ, सेवा दिइरहेकै छ । प्रतिनिधिसभा नभएपछि क्षतिको मूल्याङ्कन, पुनःनिर्माण योजनाबारे छलफलमा छौँ ।”
    प्रतिनिधिसभा विघटन भएसँगै त्यहाँ उत्पत्ति भएका ३० वटा विधेयक निष्क्रिय भएका छन् । नागरिकतासम्बन्धी विधेयक भने पारित गरेकाले सभामुखबाट प्रमाणित भएकाले राष्ट्रपतिसमक्ष पठाइने छ । अरू करिब पाँच वटा विधेयक मात्रै सदनमा विचाराधीन छन् ।

  • आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    २९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ ।

    “हाम्रो पार्टीको कार्यालयहरु, दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रस्ट छ, यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै त्यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न पनि पार्टीले आम जनसमुदायलाई अपिल गरेको छ ।

    ‘जेनजी पुस्ता’ले उठाएका माग जायज भएको उल्लेख गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर जुन खालको विध्वंस र वितण्ड मच्चाएको भन्दै भत्र्सना गरेको छ ।

  • बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

    बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

    २९ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए । उनले भने, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।”

  • प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

    प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

    २९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छिन् । सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको बताइन् ।

    “कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ । ठूलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारीसाधन जलेका छन् । हत्याहिंसा भएको छ । अत्याश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ”, उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने भएका छन् । यो षड्यन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

    प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनःनिर्माणका काम देशमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्नेमा जोड दिइन् । “म हिजो महाराजगञ्ज जाँदा त्यहाँ जलेको प्रहरीवृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भन्नुभयो, मैले उहाँहरुलाई धन्यवाद दिएँ । हामी सबै यसरी नै मिलौँ । एकलेअर्काको आलोचना नगरौँ । मलाई सहयोग गर्नुहोस् ।”

    मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनःस्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताए । उनले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै पुनःसंरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । जेनजी समूहको यही भदौ २३ र २४ गतेको आन्दोलनपछिको उत्पन्न स्थितिपछि यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।

  • ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु हुनेहरु सहिद घोषणा

    ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु हुनेहरु सहिद घोषणा

    २९ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गरेकी हुन् । उनले भनिन्, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।”

    यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई स्थानीय तह (गाउँ)सम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

    सरकारका मुख्यसचिव एकनारायण अर्यालले भने, “समाजका सबै बौद्धिक वर्ग, सञ्चारकर्मी, सुरक्षा निकायलगायत आमनेपाली जनता, नेपालमा बस्नेमात्रै होइन, विदेशमा बस्ने सम्पूर्ण नेपाली समुदायले पनि नेपालको विकास र निर्माणको सुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको छ, हामी सबैले आआफ्नो ठाउँबाट सोहीबमोजिम योगदान गर्नुपर्नेछ ।”