२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छिन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
Category: फिचर
-

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली
२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छिन् । भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले गृह मन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् । सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए ।
पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिइन् । यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
-

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
२९ भदौ, काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।
यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।
“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ । संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । -

कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता
एजेन्सी
२९ भदौ, काठमाडौं । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर(पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो। स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन्। दुर्घटनामा दुंगामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन्।दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ। विशेष गरी कांगो नदीमा डुङ्गा दुर्घटनाहरू प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटनाहरू निम्त्याउँछन्। यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो।
-

पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानको आक्रमण, १२ जनाको मृत्यु
२९ भदौ, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट भारी हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ घाइते भएका छन्। घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गरेका छन् र आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार पनि कब्जामा लिएको जानकारी दिए ।
पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ। यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म तहरीक–ए–तालिबानको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि धकेलिएको थियो।
पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ। खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले तहरीक–ए–तालिबानको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन्। उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी ुआतङ्कविरुद्धको युद्धु को समयमा अफगानिस्तानबाट फैलिएको थियो।
एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय तहरीक–ए–तालिबानका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुबै बढेको छ। सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन्। सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशक यताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो, जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो।
-

कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै
एजेन्सी
२९ भदौ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानेछन् । जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नेछन्् ।हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्याउने टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।
कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएका छन् । विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उनले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी राज्यका सम्बन्धमा युरोपेली मुलुकहरूको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्नेछन्।
उनले हमासद्वारा अपहरणमा परेका व्यक्तिहरूका परिवारसँग पनि भेट गर्नेछन् । जसले बन्धकहरूको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्नेछ। रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्र मानिन्छ।
-

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध
एजेन्सी
२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ।‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको रूपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरूलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर ५ मा सूचित गरिएको र उनीहरूको पहुँच समाप्त गरिएको थियो। त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरूलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरूबाट पनि अलग गरेका छन् ।
नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टि गर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमित गर्न ‘आन्तरिक कारबाही’ गरेको बताए । उनले प्रतिबन्धहरू संवेदनशील कामहरूको सुरक्षाका लागि आवश्यक थिए। द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरूको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरूमा धेरै जासुसी घटनाहरू चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।
एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्यो भन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो । फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोस्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरू शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताए ।
अमेरिकी रक्षा अधिकारीहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन्। स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरू तीव्र पारेको छ ।चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको छ। -

ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह
एजेन्सी
२९ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार छु र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुनेछ।”ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै भने, “नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम छ र केहीले रुसी तेल खरिद गर्नु आश्चर्यजनक छ । यसले तपाईंको वार्ताको स्थिति र रूसमाथि मोलतोल गर्ने शक्तिलाई धेरै कमजोर बनाउँछ।” उनले आफ्नो तत्परतामा जोड दिँदै भने, “म तपाईँसँगै अघि बढ्न तयार छु, तपाईंहरूको साथ अवश्यक छ। क्हिले गर्ने निर्णय दिनुहोस्।”
नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् । ट्रम्पले लेखेका छन्, “मलाई विश्वास छ कि रुस र युक्रेनसँगको युद्ध समाप्त भएपछि चीनमाथि ५० देखि १०० प्रतिशतसम्म करवृद्धि गर्ने नेटोले पनि यो घातक तर हाँस्यास्पद युद्ध अन्त्य गर्न ठूलो सहयोग गर्नेछ ।” उनले थपे, “रुसमाथि चीनको बलियो नियन्त्रण छ र पकड पनि छ र यो शक्तिशाली करले त्यो पकड तोड्नेछ।”
ट्रम्पले गत हप्ता सात हजार ११८ जनाले जीवन गुमाएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आलोचना गरे । उनले भने, “यो ट्रम्पको युद्ध होइन । यदि युद्ध शुरू हुँदा म राष्ट्रपति भएको भए यो सुरु हुने नै थिएन । यो बाइडेन र जेलेन्स्कीको युद्ध हो । मैले यहाँ यसलाई रोक्न मद्दत गर्न र हजारौँ रूसी र युक्रेनी जीवन बचाउन मात्र सक्छु। गत हप्ता मात्र सात हजार ११८ जनाले जीवन गुमाएका छन्।”
उनले भने, ‘यदि नेटोले उहाँको प्रस्तावलाई पछ्यायो भने युद्ध चाँडै अन्त्य हुने र ज्यान जोगाउने ट्रम्पको विश्वास छ । “यदि नेटोले मैले भनेजस्तै काम गर्यो भने, युद्ध चाँडै समाप्त हुनेछ, र ती सबैको जीवन बचाउनेछ, होईन भने, तपाईं केवल मेरो समय, र संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र पैसा बर्बाद गर्दै हुनुहुन्छ।”
यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो । शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशालाई सङ्केत गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती देखिएको र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिएका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप पनि ट्रम्पले लगाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहितका विश्व नेताहरू सहभागी भएकोसेप्टेम्बर ३ मा भएको चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडपछि यो आरोप लगाइएको हो । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वर्षगाँठको अवसरमा चीनले सेप्टेम्बर ३ मा विशाल सैन्य परेड आयोजना गरेको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएपनि ट्रम्पले चिनियाँ नेतृत्वसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताएका थिए । -

अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो
एजेन्सी
२९ भदौ, काबुल । युएईको सहायता जहाज अफगानिस्तानमा हालै गएको भूकम्पपछि अफगानिस्तानका जनतालाई सहयोग गर्न पाकिस्तानको ग्वादर बन्दरगाहतर्फ प्रस्थान गरेको छ। राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा जहाजले दुई हजार ५०० टन खाना, आश्रय र चिकित्सा सामग्रीहरू बोकेर अफगानिस्तानतर्फ गएको हो। यो देशको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि अफगानी जनतालाई सहयोग गर्न युएईको राहत सहयोगको एक भागको रूपमा आएको हो।जहाज युएई सहायता निकायको सहयोगमा युएईमा धेरै परोपकारी र मानवीय सङ्गठन र संस्थाहरूको सहभागितामा तयार गरिएको थियो र यसले राष्ट्रिय ऐक्यबद्धताको भावना र अफगानिस्तानलाई तत्काल राहत सहयोग प्रदान गर्न विभिन्न संस्थाहरू बीचको प्रयासको एकीकरणलाई प्रतिबिम्बित गरेको युएईका अधिकारीहरूले बताएका छन् ।
सहयोगले मित्रवत अफगान जनताका लागि तत्काल मानवीय प्रतिक्रियालाई सुदृढ पार्न, उनीहरूलाई यी असाधारण परिस्थितिहरूको परिणामबाट पार लगाउन र उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न काम गर्न युएईको उत्सुकताको पुष्टि गरेको छ।
यो मानवीय सहयोगले युएईले अपनाएको महान मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता बढाउने, मानवीय सङ्कटबाट प्रभावितहरूलाई सहायता र सहायता प्रदान गर्ने र विश्वभरका राहत प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्ने हो ।
-

पोखरामा चल्न थाले सार्वजनिक यातायात
२९ भदौ, गण्डकी । जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताइन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ ।केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । नुुभयो । -

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु
एजेन्सी
२९ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ ।गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ। ऋाक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्। एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले “गाजामा ‘व्यापक भौतिक संरचनाको विनाश’ गरी शहर खाली गर्न खोजेको उल्लेख गरेको छ ।”
हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “अगस्ट ११ मा आफ्नो भूमि ९गाजामा० आक्रमण सुरु भएदेखि इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ।
शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ । आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भनेको छ। इजरायली सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार भने, “करिब दुई लाख ५० हजारभन्दा बढी बासिन्दाहरू ‘उनीहरूको सुरक्षाका लागि’ गाजा शहर छोडेका छन्।” उनले नागरिकहरूलाई दक्षिणी गाजाको अल–मवासीको ‘मानवीय क्षेत्र’ वा मध्य गाजाको ‘खाली क्षेत्रहरू’ मा जानको लागि अल–रशीद स्ट्रिट प्रयोग गर्न आग्रह गरे । उनले गाजा शहर ‘खतरनाक युद्ध क्षेत्र’ बनेको र त्यहाँ हमासलाई पराजित गर्न सेना प्रतिबद्ध रहेको बताए ।
यसैबीच, गाजाको नासिर मेडिकल सेवाका बाल चिकित्सा विभागका प्रमुख अहमद अल–फाराले शनिबार चिकित्सा उपकरण र उपचारात्मक खानाको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । उनले कुपोषित बालबालिकाको सङ्ख्या अस्पतालको क्षमताभन्दा बढी रहेको र मृत्यु बढ्ने सम्भावना रहेको बताए । गाजाको पूर्वमा रहेको प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घ राहत र कार्य निकाय (यूएनआरडब्ल्यूए)ले गाजा शहरको अवस्थालाई ‘विनाशकारी’ भनेको छ।युएनआरडब्ल्यूएले एक विज्ञप्तिमा भनेको छ, “पूर्व चेतावनी बिना जताततै हवाई आक्रमण जारी छ । लगभग हरेक क्षण, एक घर बम विस्फोटका कारण ध्वस्त हुने गरेको छ। यो डरलाग्दो छ,” विज्ञप्तिमा अगाडी भनिएको छ, “मानिसहरू जाने कुनै ठाउँ छैन। त्यहाँ कुनै सुरक्षित स्थान छैन। यो युद्ध रोकिनुपर्छ ।” सन् २०२३ अक्टोबर ७ मा हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी उक हजार २०० जनाको हत्या गरेपछि सुरु भएको युद्धमा लगभग २५० जनालाई बन्धक बनाइएको थियो । बदलामा गरिएको इजरायली आक्रमणका कारण गाजामा लगभग ६५ हजार प्यालेस्टिनीहरूको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
-

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा
२९ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
-

चितवनमा जनजीवन सामान्य बन्दै
२९ भदौ, चितवन । जेन-जी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था तथा लामो एवं छोटो दूरीका सवारीसाधान सञ्चालन गर्न भनिएको छ ।
आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा सोहीबमोजिमको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र एवं विनयशील रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ । तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने तथा कार्यालयका कर्मचारी सम्भव नहुने प्रकृतिका सरसफाइ कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।
कार्यालय प्रमुखहरूको बैठकले सो निर्णय गरेको अर्यालद्धारा जारी सूचनामा जनाइएको छ । तोडफोड तथा आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्नसमेत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।
-

‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षति विवरण सङ्कलन गरिँदै
२९ भदौ, काभ्रे । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।
कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउनेछन् भने तथा व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुने बताए । उनका अनुसार करिब एक हप्तामा जिल्लाका सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्नेछ ।
कार्यालयको प्रारम्भिक विवरणअनुसार विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको हो । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा क्षति पुर्याइएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ । प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । त्यसैगरी, नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरी आगजनी हुँदा क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । ती कार्यालयमासमेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी र एक हेलिकप्टरमासमेत आगजनी गरेका थिए ।
धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । दुई सय ८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।
-

जितियाको निराहार व्रत आज
२९ भदौ, महोत्तरी । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।
शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।
यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा बताउँछन् ।
पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।
पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्यँुताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।
-

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना
२९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् ।
सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।”उनले अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ, तसर्थ विभिन्न कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ भन्दै बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुव्र्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेकोे छ ।
सन्देशमा भनिएको छ, “बालबालिकाको भविष्य सुनिश्चिात गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप एवं बालमैत्री स्वास्थ्य संस्था एवं नीतिगत, कानुनी र बालमैत्री कार्यसम्पादनको प्रबन्ध गर्नु आवश्यक हुन्छ । बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु ।”
बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।
-

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह
२८ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ ।
“फरार भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै शान्तिसुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियार फिर्ता गर्न तथा यस्ता हतियार र पोसाक दुरुपयोग भएको जानकारी प्राप्त भए सम्बन्धित निकायमा खबर गरी सहयोग पु¥याउनसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।”
राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारी प्राप्त भएको आयोगले जनाएको छ । बाल सुधारगृहमा रहेका व्यक्तिसमेत भागेका भनी जानकारी आएको र यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको जनाएको छ ।
“यसैगरी प्रदर्शनका क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोसाकहरू प्रदर्शनकारीले नियन्त्रणमा लिएको र उक्त हतियार पूर्ण रूपमा अझै पनि फिर्ता हुन नसक्दा ती हतियारको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने देखिएको छ”, विज्ञप्तिमा उल्लेख छ, “सुरक्षा निकायको हतियार र पोसाक दुरुपयोग गर्नु गैरकानुनी कार्य मात्र नभई यस्तो गैरकानुनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हुन जान्छ ।”
आयोगले भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराधपीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको उल्लेख गरेको छ । यस्तै, कैद भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा, २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराधपीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकारसम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन हुन जानेमा आयोगले सचेत गराएको छ ।
-

रवि लामिछाने जेल फर्किए
२८ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार रवि लामिछने कारागार पुगेका छन् । उनले आज एक भिडियो राख्दै आज कारागार फर्कन लागेको बताए थिए । आज उनको जन्मदिन समेत हो । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि उनी कारागारबाट भदौ २४ मा निस्किएका हुन् ।
कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेको थियो । त्यसपछि लामिछाने शनिबार साँझ कारागार पुगेका छन् । यसअघि लामिछानेका कारण अन्य कैदी हौसिएको भन्दै उनको व्यापक आलोचना भएको थियो । देशभरीबाट १३ हजार भन्दा बढी कैदी भागेका थिए । अहिले कैदीहरु स्वतः फर्कने र पक्राउ गर्ने क्रम जारी छ ।
-

नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए
२८ भदौ, काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिए ।
“यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उनले भने । आज बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ । उहाँले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन । -

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष
२८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।
आज बिहानदेखि नै पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पूरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ । आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन् ।
यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रुपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन् ।
मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहेका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।
“सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौँ”, प्रवक्ता सापकोटाले भने, “कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौँ ।” आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ ।प्रवक्ता सापकोटाले भन्नुभयो, “क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन् ।” आफैँ जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ ।
संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरुले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ ।
-

संसदका ८ दलले भने : समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्छ
२८ भदौ, काठमाडौं । विघटित प्रतिनिधिसिभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन बमोजिम हुनुपर्नेमा जोड दिएका छन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन् । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदम अस्वीकार्य हुने बताउँदै आठ दलले प्रतिनिधिसभा विघटन गरिएकामा असहमति जनाएका छन् ।
संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमालें, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा संसद् विघटनको निर्णय सच्च्याउन माग गरिएको छ ।
-

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्
२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिए ।
“प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो । -

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल
२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गरेका हुन् ।
राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, “देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।” -

एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने
२८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा जोड दिएका छन् ।
महासचिव पोखरेलले यही भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि राजनीति नयाँ प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री नियुक्त हुने बित्तिकै उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको प्रतिनिधिसभा विघटनको घोषणाप्रति नेकपा (एमाले) गम्भीर भएको बताएका छन् । एमालेले यही भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।
-

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी
२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको राससलाई बताए ।
-

प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना
२८ भदौ, काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरे ।
परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेकस् प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । -

पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास
सिबी अधिकारी/रासस
२८ भदौ, काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । मानवीय क्षति भयो ।
राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो ।अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भने, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”
खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।
अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए । सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”
उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उनले भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।
नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”
नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।
जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ । काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
-

काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन
२८ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले भने, “शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरुको चहल पहल बढेको देखिन्छ ।” त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौँका लागि प्रस्थान गरेकाले काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । गत मङ्गलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो । -

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा
२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ । २३ र २४ भदौको आन्दोलनले नेपालमा राजनीतिक कोर्ष नै परिवर्तन गरिदिएको छ ।
-

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत
२८ भदौ, वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए । बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिएका थिए । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।
विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा थिए । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उनको परिवारले जनाएको छ । उनको मृत्युसँगै अहिले उनकी आमा नजला खातुन र उनकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा छन् । आफ्नो छोराको मृत्युले विछिप्त आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताइन् ।
“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भनिन्, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आएकी छिन् । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उनले स्तब्ध हुँदै भनिन् ।
मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उनको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको थियो ।
“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उनले भने ।शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उनको शव ल्याउँदै छन् । छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताए । असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताए । “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ”, उनले भने, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस् ।”
वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताए । “असहाव भाइ निकै असल व्यक्ति थिए, उनको निधनले अपुरणीय क्षति भएको छ”, उनले भने । “अहिले उनको परिवारमात्रै नभएर सिङ्गो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौँ ।” शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै वीरगञ्जका मुर्लीवासीले वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन् ।
