Category: फिचर

  • अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः माओवादी अध्यक्ष दाहाल

    अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः माओवादी अध्यक्ष दाहाल

    २६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सकेमात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने बताए । “यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीर रुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौँ”, अध्यक्ष दाहालद्वारा आज जारी वक्तव्यमा भनिएको छ ।

    ‘जेन–जी’ आन्दोलनका ‘एजेन्डा’ले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको उल्लेख गर्र्दै अध्यक्ष दाहालले यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ढृष्टता गरिरहेका बताए । “हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो”, उनले भने ।


    अध्यक्ष दाहालले सङ्क्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आमजनसमुदायसँग अपिल गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लुटपाट तथा आगजनीलगायत गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि तम्तयार रहन पार्टीपङ्क्तिलाई निर्देशित गरेका छन् । यसैगरी, समुन्नत उहाँले लोकतन्त्रको सपना सोचेर सुशासनका पक्षमा ‘जेन–जी’ पुस्ताले आह्वान गरेको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण युवामा श्रद्धाञ्जलि तथा परिवारजनमा संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


    आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको उनले बताए । अध्यक्ष दाहालले वक्तव्यमार्फत आन्दोलनमा क्रममा भएका हिंसात्मक गतिविधि, तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न समेत माग गरेका छन् ।

  • झापाबाट भागे ९२ थुनुवा

    झापाबाट भागे ९२ थुनुवा

    २६ भदौ, झापा । ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए ।

    उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

    २६ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।


    विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
    काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

    निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ । ‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

    विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ ।

    यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

  • त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    २६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

    सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।” जेन जी आन्दोलनका कारण अहिले मुलुकमा सबै विषय संक्रमणकालमा प्रवेश गरेका छन् । सरकारविहिनताको अवस्था सिर्जना भएको छ ।

  • चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    २६ भदौ, चितवन । जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

  • ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    २६ भदौ, ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन् ।

    ललितपुर जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ । सुरक्षा समितिले विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

    रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

    २६ भदौ, लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कर्फ्यू आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कर्फ्यू आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ ।

    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कफ्र्यु आदेश खुला गरिएको थियो । कर्फ्यू अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।

  • सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

    सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

    २६ भदौ, काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् ।

    देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् । अहिले देशका विभिन्न स्थानमा निषेधाज्ञा र कफ्र्यु जारी छ ।

  • पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

    पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

    २६ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पु¥याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

    गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् ।

  • आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    २६ भदौ, काठमाडौं । कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो । दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ ।

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाही अघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताइन् । उनले हमासलाई वैध लक्ष्यको रूपमा चित्रण गर्दै ‘एक सार्वभौम राष्ट्र र नजिकको सहयोगी’ भित्र भएको आक्रमणलाई प्रत्युत्पादक हुने बताइन् ।


    कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको भन्दै उक्त विवरणलाई पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरे । उनले भने, “कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेला मात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।”

  • हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

    हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

    २६ भदौ, काठमाडौं । कतारमा हमासको नेतृत्वमाथि भएको हवाई आक्रमणपछि अपहरितहरूको फिर्तीका लागि आवाज छायामा पर्नसक्ने भन्दै अपहरित परिवारजनले चासो व्यक्त गरेका छन् । उनीहरूले मध्यस्थता गरिरहेको कतारमा भएको आक्रमणले बन्धक रिहाईको सम्भावनालाई बिथोल्नसक्ने र यसको पीडा बन्धकहरूले थप भाग्नुपर्ने हुनसक्ने ‘ठूलो डर’ व्यक्त गरेको छ। “हामी कैँदबाट बचेकाहरूबाट जान्दछौँ कि अपहरितविरुद्ध निर्देशित बदला क्रूर छ। उनीहरूको फिर्तीको सम्भावना अझै पहिलेभन्दा बढी अनिश्चित बनेको छ,” पीडित परिवारको सम्पर्क कार्यालयले भनेको छ।

    इजरायलस्थित पीडित परिवारको सम्पर्क कार्यालयले भनेको छ, “पछिल्लो आक्रमणले ४८ जना अपहरितहरूको ज्यानको मूल्य चुक्न सक्छ । कुनै पनि क्षणमा मानिसहरूको ज्यान जान सक्छ र अपहरित सधैँका लागि फिर्ता नहने वातावरण हुनसक्छ। यो युद्ध अन्त्य गर्ने समय हो।” इजरायली सरकारले “४८ जना अपहरितको फिर्तीका लागि एक विस्तृत सम्झौताको लागि एक योजना’ प्रस्तुत गर्न परिवारहरूले माग गरेका हुन् ।

  • कालीगण्डकी करिडोर सडक अवरुद्ध

    कालीगण्डकी करिडोर सडक अवरुद्ध

    २६ भदौ, गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

    सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।


    सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताए । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।

  • देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    २६ भदौ, काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    २६ भदौ, गलकोट । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

    जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले देशभरी १३ हजार भन्दा बढी कैदी भागेका छन् । जसमा एमाले नेता टोप बहादुर रायमाझी समेत छन् ।

  • गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    २६ भदौ, दोधारा चाँदनी । छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

    “हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ”, उनले भने, “नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।” यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

  • अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

    अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

    २५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा जेन जीहरुबीच नै चरम असन्तुष्टि देखिएको छ । उनीहरुले बुधबार साझा नाम टुङ्गो लगाउन सकेनन् । यसले राजनीतिक रिक्तता र अन्यौलता अझ लम्बिएको छ । विवादित जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराए । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी समेत गरे । उनीहरुलाई सो शैलीले नेतृत्व चयन नहुने भन्दै सम्झाएको छ ।
    ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् । कतिपयले हर्क साम्पाङलाई बनाउन जोड दिएका छन् । जेन जी समूहको भर्चुअल बैठकमा समेत कार्कीको नाममा करीव सहमती देखिएको थियो ।

  • जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

    जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

    २५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।

    निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।

    यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।

  • देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    मंगलबारको हिंसात्मक आन्दोलनपछि देशभरी जेलब्रेकका प्रयास भएका छन् । विभिन्न जेलबाट हजारौं कैदी भागेको विवरण सार्वजनिक भएका छन् । आज दिनभरजसो डिल्लीबजार कारागारमा तनाव भयो । कैदीहरुले आफूहरु समेत निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरे । नेपाल प्रहरीका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार बढी कैदी भागेका छन् ।


    उता, दार्चुलामा जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् । कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

    उता, रौतहटमा मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।

  • धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    २५ भदौ, मलेखु । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफुहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

  • सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    २५ भदौ, काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् ।

    उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

    माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ । यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

    सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् । सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।

  • त्रिभुवन विमानस्थल खुल्यो

    त्रिभुवन विमानस्थल खुल्यो

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ । यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ । यती एयरलाइन्सले समेत सोही आह्वान गरेको छ ।

  • सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    २५ भदौ, काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् ।

    आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । यस्तै सिंहदरबारस्थित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्णरूपमा क्षति भएको छ ।

    सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गर्न सकिन्छ । प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ ।

    प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र आज सुनसान प्रायः रह्यो । सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारी साधन र करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर पूर्णरूपमा नष्ट भएको कार्यालयले जनाएको छ । आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ ।

    यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ । आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ । जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।

  • जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    २५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

    ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको समेत बताइएको छ । काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

  • सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    २५ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

  • पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

    पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

    २५ भदौ, कास्की । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

    आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।

    देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।


    सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।

  • काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

    काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

    २५ भदौ, काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

  • अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

    अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

    २५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
    सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।

    देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”

  • आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

    आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

    २४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्।

    प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्। उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

    सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए। उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन्।

  • अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

    अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

    २४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । आज देशभर जेन जी समूहको आन्दोलनको नाममा अराजक व्यक्तिहरुले अधिक लुटपाट मच्याएका छन् । यसको स्वयमः जेन जी समूहले समेत आलोचना गरेको छ ।