Category: फिचर

  • राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

    राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

    २४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरे ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

  • नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

    नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

    २४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

    यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ । ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।

    सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।

  • आज राज्यका कुन कुन भवन जले ?

    आज राज्यका कुन कुन भवन जले ?

    २४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।

    प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

    एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।
    जेन जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।

  • सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

    सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

    २४ भदौ, काठमाडौं । आज जेन जी पुस्ताका नाममा काठमाडौंमा उग्र आन्दोलनसहित तोडफोड गरिएको छ । सो आक्रमण रोक्न काठमाडौंका मेयर बालेन साहले पटक पटक आह्वान गरेका छन् । तर, सार्वजनिक सम्पत्तिमाथिको आक्रमण रोकिएको छैन ।

    खासगरी नेपालीका महत्वपूर्ण तथ्यांकहरु रहेका सरकारी कार्यालयहरुमा जेनजीले आक्रमण गरी ठूलो क्षति गरेका छन् । अहिले सिंहदरबारमा भयानक आगो लागिरहेको छ । २०७२ सालको भूकम्पले भत्काएको सिहंदरबारको प्रधानमन्त्री कार्यालय दुई वर्ष अगाडी मात्र पुनर्निर्माण गरिएको थियो । अहिले सो कार्यालयका कोठा कोठा जलिरहेका छन् । तर, सडकमा उग्रता देखाइरहेका युवाहरुको जमात थामिएको छैन ।

  • सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    २४ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

    संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । अहिले काठमाडौंका मूख्यमूख्य सबै नेताका घर जलेका छन् । नेताहरुमाथि कुटपिट गरिएको छ ।

  • सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    २४ भदौ, काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।

    त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ । आज प्रदर्शनकारीले राज्यका तीन वटै अंगका कार्यालयमा भयानक आक्रमण गरेका छन् । उनीहरुले सोमबार राज्यले मारेका १९ सहकर्मीको बदलामा आजको हिंसात्मक आन्दोलन गरेका हुन् ।

  • देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

    देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

    २४ भदौ, काठमाडौं । जेन जी प्रदर्शनीकारीहरुले मंगलबार नेता केन्द्रित आक्रमण गरेका छन् । उनीहरुले सबैजसो दलका मूख्य नेताका घरमा आगजनी र आगो लगाइदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा समेत आगो लगाइएको छ । सो क्रममा देउवा दम्पत्तिमाथि समेत कुटपिट भएको छ । भैसेपाटीस्थित मन्त्री निवासमा आगजनी गरिएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घरमा आगो लगाइएको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड निवासमा ढुंगामुडा गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा समेत आगजनी भएको छ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरमा समेत तोडफोड भएको छ । सबै एमाले नेताहरुको घरमा आक्रमण गरिएको छ । प्रचण्डपुत्री गंगा दाहालको घरमा समेत आगो लगाइएको छ । हिल्टन होटेलमा आगो लगाइएको छ । गगन थापाको घरमा आगो लगाइएको छ ।

    गोकुल बास्कोटाको घर जलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागमा आगजनी भएको छ । प्रदर्शनकारीले विभागमा आगजनी गरेका हुन् ।

  • देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    २४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

  • प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

    प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

    २४ भदौ, जेन जी प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । प्रदर्शनीकारीले आजै सर्वोच्च अदालत र जिल्ला सरकारी वकिलको कार्यालयमा समेत आगो लगाएका छन् । नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित कार्यालयमा समेत आगो लगाइएको छ । आज सरकारी कार्यालय र नेताका घर बढी केन्द्रित छन् ।

  • रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा थिए ।

  • विमानस्थल पूर्ण रुपमा बन्द

    विमानस्थल पूर्ण रुपमा बन्द

    २४ भदौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आज विमानस्थल बन्द गरेको हो । विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । वायुसेवा कम्पनीहरुले आजका सबै उडान रद्द गरेको बताएका छन् ।

  • प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

    प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

    २४ भदौ, काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।

    उनीहरुले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’

    आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

  • प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

    प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

    २४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला ।’ अहिले देशैभरी प्रदर्शन उग्र बनेको छ । नेताका घरहरुलाई लक्षित गरी आन्दोलन गरिएको छ ।

  • रास्वपाका सांसदहरुद्वारा राजीनामा

    रास्वपाका सांसदहरुद्वारा राजीनामा

    २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ ।

    यसअघि, सोमबार जेनजी प्रदर्शनपछि रास्वपाका सभापनि रवि लामिछानेले नक्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरु पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरुलाई आह्वान गरेका थिए । प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन् ।

  • प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

    प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

    २४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

    सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

  • कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

    कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

    २४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन नसक्ने उल्लेख गरेका छन् ।

    ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’

  • भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

    भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

    २४ भदौ, भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”

    कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना)सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउँदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।

  • जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    २४ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

    कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

    २४ भदौ, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८।०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।

    त्यस्तै गण्डकी प्रदेशसभा आसपासको क्षेत्र उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको निषेधाज्ञामा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यस अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने\गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

  • काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    २४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।

    काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।

    जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

  • ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

    ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

    २४ भदौ, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

    कर्फ्यु आदेश जारी भएका क्षेत्र

    भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५ः पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

    सानेपा क्षेत्र (वडा नं २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

    च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

  • काठमाडौंको चक्रपथ भित्र कर्फ्यु

    काठमाडौंको चक्रपथ भित्र कर्फ्यु

    २४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।

    प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

  • जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

    जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

    २४ भदौ, इनरुवा । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।

    उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए । मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

    जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

    २४ भदौ, काठमाडौं । सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
    उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    जेनजी युवाको शान्तिपूर्ण प्रदर्शनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यका साथ घुसपैठ गर्दै उछृङ्खल कार्यमा संलग्न भई मानवीय एवं सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने अराजक एवं स्वार्थ समूहको पहिचान गर्न न्यायिक छानबिन समिति गठन गरिने सरकारका प्रवक्तासमेत रहेले दावि गरे । सरकारले जेनजी युवालाई प्रदर्शनलगायत विरोधका कार्यक्रम स्थगित गरी शान्तिसुरक्षाको प्रबन्ध गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।

    बैठकले सोमबारको प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निकालेको उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई अराजक र प्रतिगामी हर्कत भएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारकोतर्फबाट सोमबारको घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उल्लेख गरे । सरकारले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिए ।


    मन्त्रिपरिषद् निर्णयलगत्तै सामाजिक सञ्जाल सञ्चालनमा आइसकेको उनले बताए । भदौ १९ गतेदेखि देशभर सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गराइएको थियो । झण्डै डेढ वर्षदेखि सामाजिक सञ्जाल सूचीकरणका लागि पटकपटक छलफल भएको जनाउँदै गुरुङले सरकारकोतर्फबाट आग्रह गरिएको भए पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा बाध्यात्मक परिस्थितिका कारण निष्क्रिय बनाउने निर्णय गरिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएको पुष्टी गरे ।

  • मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता

    मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता

    २४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरात एक वक्तव्य जारी गरेका छन् । उनले सोमबारको घटनालाई हल्का रुपमा लिएको भन्दै ठूलो आलोचना भइरहेको छ । । उनले सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा भएको सरकारी दमनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गरेका हुने । सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय घटना भएको उनको स्पष्टीकरण छ । उनले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ’ प्रधानमन्त्रीले भनेका छन् । युवा पुस्तको आन्दोलन भ्रष्टाचार नियन्त्रणमा अधिक केन्द्रित छ । यसमा प्रधानमन्त्रीले कुनै सम्बोधन गरेका छैनन् ।

  • नेपालमा युवा आन्दोलनकारीको बर्बरतापूर्ण हत्याबारे अमेरिकासहित ७ मुलुकले के भने ?

    नेपालमा युवा आन्दोलनकारीको बर्बरतापूर्ण हत्याबारे अमेरिकासहित ७ मुलुकले के भने ?

    २४ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंमा रहेका अमेरिकासहित ७ देशका दूतावासले संयुक्त वक्तव्य जारी गरेर सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त वक्तव्य आएको हो ।

    ‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।’ यसअघि राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आग्रह गरेको थियो ।

  • जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    २३ भदौ, काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन(जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् । सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
    प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।

  • टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो

    टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो

    २३ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन् ।

    घाइतेमध्ये १७० जनाको सिभिल अस्पताल, १० जनाको वीर अस्पताल, ५९ जनाको ट्रमा सेन्टर, १०२ जनाको एभरेष्ट अस्पताल, ६ जनाको पाटन अस्पताल, ३१ जनाको काठमाडौँ मेडिकल कलेज, १८ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ३ जनाको नर्भिक अस्पताल, चारजनाको अन्नपूर्ण न्यूरो अस्पताल, एक जनाको गण्डकी मेडिकल कलेज, सात जनाको दमक अस्पताल, चार जनाको विपी कोइराला अस्पताल धरान र चार जनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै

    जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै

    २३ भदौ, काठमाडौं ।, राज्यले सोमबार काठमाडौं र नेपालका अन्य शहरमा युवा तथा कलेजका विद्यँर्थीहरुको स्वतस्फूर्त आन्दोलनमाथि रक्तपातपूर्ण भयानक दमन गरेको छ । कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकारले अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित पार्ने मनसायसहित सामाजिक संजालमा रोक लगाएसँगै युवा विद्यार्थी भड्किएका छन् । हिंसात्मक आन्दोलनमा १९ जनाको ज्यान गइसकेको छ । घटनापछि गृहमन्त्री रमेश लेखकले राजिनामाको घोषणा गरेका छन् ।

    अमानवीय रक्तपातमा जिम्मेवार गृहमन्त्रीको राजिनामाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनमा घुसपैठ भएको ओठे जवाफ दिएको खबर सार्वजनिक भएको छ । यसले शान्तीपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीलाई अझ भड्काउने निश्चित छ ।

    किनकी उनीहरुले आफ्ना साथीहरुको रगतको हिसाव माग्ने बताइसकेका छन् । नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको उन्मादको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी दिन्छन्, त्यसमा अब उनको राजनीति केन्द्रित रहने निश्चित छ ।

  • देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    २३ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए ।


    स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए । प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपरेको बताए ।

    मङ्गलबार स्थितिलाई मध्यनजर गर्दै कफ्र्यूलाई थप बढाउन सकिने बताए । जेनजी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन् । जेनजी आन्दोलन देशैभरी फैलिएको छ । ठूला शहरहरुमा युवा तथा विद्यार्थीले भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन माग राख्दै आन्दोलन थालेका हुन् ।