Category: फिचर

  • बाढी-पहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

    बाढी-पहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

    २१ भदौ, काठमाडौं । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।


    यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।

    विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत –तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ ।

    विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ । यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको राससलाई बताए ।

  • व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

    व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

    २१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् । आज नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए ।

    उनले भने, “कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।” यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे । उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिए ।


    उनले भने, “कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।” कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए ।

  • फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह

    फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह

    २१ भदौ, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

    बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन् । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे ।


    उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए । शुक्रबारदेखि सुरु विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गरे ।

    दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् । समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

  • मेची खोलामा डुबेर पुरुषको मृत्यु

    मेची खोलामा डुबेर पुरुषको मृत्यु

    २१ भदौ, भद्रपुर । यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    प्रनाउ खड्काका अनुसार मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु हुन् । मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

    लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

    २१ भदौ, लुम्बिनी । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । लुम्बिनी आगमनलाई उनले विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन् । गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

    भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरे । विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरे । लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाए ।

    उनले लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरे । यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास उनले व्यक्त गरे । प्रधानन्यायाधीश गवईलाई कोषका उपाध्यक्ष लामाले बुद्धको मूर्ति उपहार प्रदान गरे । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदानप्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारेसमेत छलफल गरिएको थियो । प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्त्व अझै उच्चस्तरमा पुग्ने विश्वास लिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    २१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका थिए । विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका छन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिए ।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भए ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

    आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले राससलाई जानकारी दिए । उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ । भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ ।

    टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ । भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पु¥याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

    वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

  • एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

    एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

    २१ भदौ, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी दोस्रो विधान महाधिवेशनमा महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेक्ँ छन्् । प्रतिवेदनमा हालसम्म नवीकरण भएका पार्टी सदस्यहरु छ लाख ६२ हजार ९६१ रहेको उल्लेख छ । सङ्गठित पार्टी सदस्य सङ्ख्या १०औँ महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको जनाइएको छ । महासचिव पोखरेलले प्रतिवेदन पेस गर्दैै पार्टी अहिले ६४ हजार ७०६ कमिटी रहेको जानकारी दिउ । कतिपय जनसङ्गठनको सङ्ख्या अध्यावधिक नभएको औँल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको महासचिवले प्रतिवेदनमा उल्लेख गरे ।

    एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासविच पोखरेलले बताउ । कूल चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी एक हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ छन् ।

    प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी सात हजार १०१ छन् । कोशी प्रदेशमा कूल आठ हजार ४०८ कमिटी रहेका छन् । त्यसैगरी मधेस प्रदेशमा आठ जिल्ला कमिटी, १३६ पालिका, १२ सय ७१ वडा, छ हजार ५१५ टोल कमिटी गरी कूल सात हजार ९३० रहेका छन् । बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, ११ सय २१ वडा, १४ हजार २०६ टोलसहित कूल १५ हजार ४५१ कमिटी रहेका छन् । गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, पाँच हजार ५६० टोल गरी कूल छ हजार ४१५ कमिटी रहेका छन् ।

    लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, नौ हजार २६७ टोल गरी कूल १० हजार ३७१ कमिटी रहेका छन् । कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, छ हजार ३५३ टोलसहित कूल सात हजार २६० कमिटी छन् । सुदूपश्चिम प्रदेशमा नौ जिल्ला, ८८ पालिका, ७३४ वडा, पाँच हजार ८५० टोलसहित कूल छ हजार ६८१ कमिटी छन् । त्यसैगरी समन्वय सम्पर्कअन्तर्गत सात जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कूल ८२४ सम्पर्क समन्वय कमिटी छन् । प्रवासी नेपाली मञ्चलाई पाँच जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कूल १११ कमिटी रहेका छन् । प्रवासी नेपाली सङ्घ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कूल ५६७ कमिटी रहेका छन् ।

    प्रतिवेदनमा प्रस्तुत तथ्याङ्क अनुसार जिल्ला तहमा नौ हजार ७७४ नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३ । वडामा एक लाख ७४ हजार २४५ र टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता छन् ।

  • जापानको अर्थतन्त्रमा सुधारको सङ्केत, घरेलु खर्च १.४ प्रतिशतले वृद्धि

    जापानको अर्थतन्त्रमा सुधारको सङ्केत, घरेलु खर्च १.४ प्रतिशतले वृद्धि

    २१ भदौ, काठमाडौं । जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धि पछिल्ला तीन महिनायता लगातार भएको वृद्धि हो, जुन उपभोग सुधारको सङ्केत मानिएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, उक्त महिनामा यस्ता घरपरिवारहरूले औसत रूपमा तीन लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए ।

    सिजनअनुकूल समायोजनसहितको मासिक आधारमा हेर्दा, जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार, यो वृद्धि मुख्यतः बढ्दो विद्युत् महसुल र सवारी साधनसम्बन्धी खर्चका कारण भएको हो । तर, मूल्यवृद्धिका कारण खाद्य वस्तुहरूमा खर्च घटेको उल्लेख गरिएको छ । उनका अनुसार, उपभोग सुधार देखिए पनि यो अझै सशक्त रुपमा देखिएको छैन । जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हिस्सा घरेलु खर्चबाट आउने भएकाले, घरेलु उपभोग आर्थिक सूचकको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

  • अमेरिकाको रोजगारी तथ्यले आर्थिक वृद्धिमा असर , शेयर बजारमा सकारात्मक वृद्धि

    अमेरिकाको रोजगारी तथ्यले आर्थिक वृद्धिमा असर , शेयर बजारमा सकारात्मक वृद्धि

    एजेन्सी
    २१ भदौ, काठमाडौं । अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको छ । सेप्टेम्बर ५, सन् २०२५ को रिपोर्टअनुसार, अगस्त महिनामा २२ हजार रोजगारी थपिएका छन्, जुन जुलाईको ७९ हजार भन्दा कम हो । यसले अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भको ब्याज दर कटौतीको अपेक्षालाई बलियो बनाएको छ । विश्लेषकहरूले आगामी बैठकमा ब्याज दरमा २५ आधार अंकको कटौती हुने सम्भावना रहेको अनुमान गरिएको छ । यसका कारण डलरमा गिरावट आएको छ, जबकि सुनको मूल्य नयाँ उच्चतम स्तरमा पुगेको छ ।

    अर्थतन्त्रको सुस्त वृद्धिले शेयर बजारलाई समर्थन गरेको छ । लन्डन बजारमा वृद्धि भएको छ भने फ्राङ्कफर्ट र पेरिसका बजार स्थिर छन् । एशियामा चिनियाँ र जापानी बजारमा सुधार देखिएको छ । तेलको मूल्यमा गिरावट आएको छ र टेस्ला कम्पनीका शेयरमा ३.८ प्रतिशतको वृद्धि भएको छ । यसरी, अमेरिकी रोजगारी तथ्याङ्कले वित्तीय बजारमा सकारात्मक प्रभाव पार्दै नयाँ उतार–चढाव ल्याएको छ ।

  • अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

    अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

    एजेन्सी
    २१ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन् । नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ ।

    नासाका अनुसार, यो मिसनमा प्रयोग हुने साइग्नस अन्तरिक्ष यानमा पठाइने अनुसन्धान सामग्रीहरू मुख्य रूपमा नयाँ पुस्ताका प्रविधिका लागि अर्धचालक (सेमिकन्डक्टर) क्रिस्टलको गुणस्तर सुधार गर्ने, हानिकारक सूक्ष्मजीवहरूको सङ्ख्या घटाउने, औषधि उत्पादन प्रक्रियामा सुधार ल्याउने र अन्तरिक्षमा इन्धनको दबाब व्यवस्थापनसम्बन्धी परीक्षण गर्ने उद्देश्य राखिएको छ । नासाले यस मिसनमार्फत वैज्ञानिक अनुसन्धान र प्रविधिमा थप प्रगति हुने अपेक्षा व्यक्त गरेको छ ।

  • ‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

    ‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

    एजेन्सी
    २१ भदौ, काठमाडौं । अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स) को महामारीले सन् २०२४ को सुरुबाट हालसम्म झन्डै दुई हजार जनाको ज्यान लिइसकेको छ । यद्यपि पछिल्लो केही सातादेखि सङ्क्रमणको सङ्ख्यामा उत्साहजनक कमी देखिएको छ भनी अफ्रिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (अफ्रिका सिडिसी) ले जनाएको छ ।

    बिहीबार साँझ आयोजित अनलाइन पत्रकार सम्मेलनमा अफ्रिका सिडिसीका एमपक्स घटनाका सह–प्रबन्धक याप बाउम द्वितीयले सन् २०२४ को सुरुयता २९ अफ्रिकी मुलुकहरूबाट एक लाख ८५ हजार ९ सय ९४ एमपोक्स सङ्क्रमणको घटना दर्ता भएको बताउनुभयो । तीमध्ये ५१ हजार ९ सय ६९ सङ्क्रमण पुष्टि भएका छन् भने एक हजार हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।

    अफ्रिकी सङ्घको स्वास्थ्यसम्बन्धी विशेष निकायका अनुसार सन् २०२५ मा अहिलेसम्म एक लाख लाख ५ हजार ६ सय ९७ एमपोक्स सङ्क्रमणका घटना दर्ता भइसकेका छन्, जुन सङ्ख्या सन् २०२४ को कुल सङ्ख्या ८० हजार २ सय ९७ भन्दा धेरै हो । तर, क्षेत्रीय तहमा भइरहेको सुधारात्मक प्रयासका कारण पछिल्लो समय एमपक्सका पुष्टि भएका तथा आशंकित दुबै प्रकारका घटनामा क्रमिक रूपमा गिरावट आएको छ । विशेषतः सन् २०२५ को मे महिनामा देखिएको उच्च स्तरको सङ्क्रमणको तुलनामा अहिले उल्लेखनीय कमी आएको बताइएको छ ।

    अफ्रिका सिडिसीको तथ्याङ्क अनुसार, साप्ताहिक रूपमा पुष्टि हुने सङ्क्रमणको औसत सङ्ख्या ५२ प्रतिशतले घटेको छ । मे महिनामा साप्ताहिक औसत एक हजार ४४१ थियो भने पछिल्ला पाँच सातामा त्यो घटेर ६९५ मा झरेको छ । परीक्षणको पहुँचसम्बन्धी विवरण पनि सकारात्मक देखिएको छ । पछिल्लो ६ सातामा आशंकित घटनाहरूमा गरिएको परीक्षणको दर ३० प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।

    सन् १९५८ मा प्रयोगशालामा रहेका बाँदरहरूमा पहिलोपटक देखिएको एमपक्स एक दुर्लभ भाइरसजन्य रोग हो । यसले प्रायः ज्वरो, ¥यास ९छाला रोग० र ग्रन्थी सुन्निने लक्षण देखाउने गर्दछ । अफ्रिका सिडिसीले गत वर्ष अगस्टमा यस रोगलाई सम्पूर्ण महादेशको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो । त्यसको केही समयपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेको थियो ।

  • मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

    मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

    २१ भदौ, गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो । विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ ।

    यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् । अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

    गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए । अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिनुभयो । साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ । कोही हेलिकप्टरबाट पनि आउने गर्छन् ।

    विभागको तथ्याङ्कमा सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताए । “बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।” यसअघि गत वर्ष यो सिजनमा मनास्लु आरोहणका लागि चार सय एक जनाले अनुमति लिएका थिए ।

  • दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    १९ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।

    प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।

  • मनाङमा कात्तिक १७ मा उपनिवार्चन हुने

    मनाङमा कात्तिक १७ मा उपनिवार्चन हुने

    २० भदौ, मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
    उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ९२० मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उनले बताए ।


    गुरुङ नेपालको संविधानको धारा १७८ (१) (ङ) बमोजिम तोकिएको योग्यता नभएको तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) बमोजिम सजाय भुक्तान गरेको मिति छ वर्ष नभएसम्म उम्मेदवार हुन अयोग्य हुने ठहर भएको तथा ऐ। ऐनको दफा १६ बमोजिम आफ्नो पदबाट मुक्त हुने र नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता नभएका निज प्रत्यर्थीको स्थान ऐ. धारा १८० को खण्ड (ख) बमोजिम रिक्त हुने देखियो भन्ने व्यहोराको सर्वोच्च अदालत, संवैधानिक इजलासबाट २०८२ असार ४ मा फैसला भई नेपालको संविधानको धारा १८० को खण्ड (ख) बमोजिम प्रदेशसभा सदस्यको पद विसं २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको जनाइएको छ ।

    प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगको बैठकबाट मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा रिक्त गण्डकी प्रदेशको प्रदेशसभा सदस्य पद एकको लागि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय भएको निमित्त निर्वाचन प्रमुख अधिकृत अर्यालले जानकारी दिनुभयो ।

    प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।

    गत निर्वाचनमा जिल्लामा छ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र ९२० को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो ।

    उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ ।

    कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    १९ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्किृय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

    प्राधिरकणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्टाग्राम, युट्युव, ह्वाटएप, टिव्टर (एक्स), लिङ्क्डिन, स्यापच्याट, वीच्याटलगायत विभिन्न सामाजिक सञ्जाललाई नेपालमा निष्किृय बनाउन निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सूचीकृत नभएको सामाजिक सञ्जाल बन्द गरिएको स्पष्ट पारेका छन् ।

  • एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    १९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

    बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराएका छन् ।


    उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गरे । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उनले भने, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।”

    त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताए । उनले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिए । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

    यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिए । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उनले भने ।


    एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

  • अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

    १९ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

  • प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    १९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गरे । उनले भने, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”

    सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण घर भत्किँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद अमरबहादुर रायमाझीले भने, “सरकारले असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकको गुनासो आइरहेको छ, यसको पर्याप्त मात्रामा तयार भएको छैन ।”

    सांसद अर्जुननरसिंह केसीले उखु किसानको भुक्तानी, सरकारी अनुदान कटौती, कम मूल्य, मलखातको अभाव लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद आस्माकुमारी चौधरीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारले निजी विद्यालयलाई नियमन गर्नेभन्दा पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।


    सांसदहरु सांसद ईश्वरी घर्ती, उर्मिला माझी, उदयशमशेर जबरा, ईश्वरबहादुर रिजाल, कान्तिका सेजुवाल, एकनाथ ढकाल, कृष्णकुमार श्रेष्ठ, डा अमरेशकुमार सिंह, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, ज्वालाकुमारी साह, कालुराम राई, अमृतादेवी अग्रहरि, जुलीकुमारी महतो, अमनलाल मोदी र अच्युतप्रसाद मैनालीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । मन्त्री गुरुङले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।”

    मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए । उनले सिधा कुरा डटकमको मुद्दामा अदालतले फैसला गर्दा सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ ।

    “सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौं, मन्त्री गुरुङले भने, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन ।”

  • ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    १९ भदौ, काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णयपछि आजै हाम्रो पात्राले सूचीकृत हुने प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आह्वान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

  • सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ ।

    आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन, उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ”, उनले भने , “सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।”

    मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए । “मन्त्रालयले गरेको एक अध्ययनअनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन्”, उनले भने, “तर, कति वटा बन्द हुन्छन् यकिन छैन ।”

  • शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    एजेन्सी
    १९ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

    तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ । पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गरे ।

    “हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए । रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताए । पुटिनले भने, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।”

    एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गरेका थिए । पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।


    “यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भने । मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

  • कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    १९ भदौ, काठमाडौं । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ। समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गरेका थिए । कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिनेछ । गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिइने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशहरूले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन्।

    रुवान्डासमर्थित एम–२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो । रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबीच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो ।

    यद्यपि, कतारले अनपेक्षित रूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयासहरू निरन्तर जारी राखिएको घोषणा गरेको थियो । गत जुनमा वासिङ्टनमा दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे। यद्यपि, त्यहाँ द्वन्द्व जारी छ।

  • प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    १८ भदौ, काठमाडौं । भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् । जापान र चीन भ्रमणबाट फर्किएपछि उनले भने, “त्यो दिन टाढा छैन जब विश्वले भन्नेछ—भारतमा डिजाइन, भारतमा निर्मित, विश्वद्वारा विश्वास गरिएको ।” उहाँले सेमिकन्डक्टरलाई ‘डिजिटल हीरा’ भन्दै यसको महत्त्व उजागर गरे ।

    देशको सबैभन्दा ठूलो सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स शोमा २० हजारभन्दा बढी सहभागी, ४८ देशका प्रतिनिधि, ५० भन्दा बढी ग्लोबल सिएक्सओ र एक हजार दुई सय ७५ बुथहरू प्रस्तुत थिए । प्रधानमन्त्री मोदीले उद्योगमा भारतको नवप्रवर्तन र युवा शक्ति स्पष्ट रूपमा उपस्थित रहेकोमा जोड दिए । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, “सेप्टेम्बर २ मा प्रधानमन्त्रीलाई पहिलो मेड–इन–इन्डिया चिप प्रस्तुत गरियो । आगामी केही महिनामा थप पाइलट लाइनहरू पूरा हुने क्रममा छन् । विद्यार्थीहरूले डिजाइन गरेका २० वटा चिप पनि प्रदर्शन गरियो ।”

    एसइएमआइका अध्यक्ष अजित मनोचाले भने, “भारतीय सेमिकन्डक्टर उद्योगले प्रधानमन्त्रीको दृष्टिकोणअनुसार तीव्र वृद्धि अनुभव गरिरहेको छ । एआई र टेक्नोलोजीमा प्रगतिसँगै हामी विश्वव्यापी स्तरमा मान्यता प्राप्त गर्दैछौँ ।” एसइएमआइ इन्डिया र आइइएसएका अध्यक्ष अशोक चन्दकले १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्दै भारतलाई सेमिकन्डक्टर डिजाइन, निर्माण र प्रविधि विकासको विश्वव्यापी केन्द्र बनाउन सरकारको प्रतिबद्धता स्पष्ट भए बताए ।


    सेमिकन इन्डिया २०२५ ले ४८ देशका प्रतिनिधिहरूसँग एक हजार दुई सय ७५ बुथ र २० हजारभन्दा बढी सहभागीलाई एकै स्थानमा ल्याइदिएको छ । कार्यक्रमले उद्योगका नेताहरू, नवप्रवर्तक, नीति निर्माता, स्टार्टअप र शिक्षाविद्हरूलाई अर्धचालक क्षेत्रमा नवीनतम प्रवृत्ति, अवसर र चुनौतीहरूमा छलफल गर्न, विश्वव्यापी सहयोग प्रवद्र्धन गर्न र स्वदेशी नवप्रवर्तन समर्थन गर्न अवसर दिएको छ ।

    कार्यक्रममा एप्लाइड मटेरियल्स, एएसएमएल, आइबिएम, इन्फिनियन, केएलए, लाम रिसर्च, मर्क, माइक्रोन, पिएसएमसी, र्‍यापिडस, स्यान्डिस्क, सिमेन्स, एसके हाइनिक्स, टाटा इलेक्ट्रोनिक्स, टोकियो इलेक्ट्रोन लगायत विश्वका प्रमुख कम्पनीहरूले सहभागिता जनाएका थिए । प्रधानमन्त्री मोदीको उद्घाटनले भारतको सेमिकन्डक्टर उद्योगमा नवप्रवर्तन, विश्वसनीयता र विश्वसामु प्रतिस्पर्धी क्षमता सुदृढ गर्ने महत्त्वपूर्ण सन्देश पठाएको छ ।

  • भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ । पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो । नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी साझा गरेको भारत सरकारका एक अधिकारीले बताएका छन् । सिन्धु जल सन्धि हाल स्थगित अवस्थामा छ ।

    गत महिनाको अन्त्यतिर भारतले बाँधबाट पानी छोड्दा र नदीहरूमा उग्र बहाव आउँदा पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा सामूहिक रूपमा स्थानीयवासीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नुपरेको थियो । यी दुई देश मे महिनामा युद्धको नजिक पुगेका थिए र दुवै आणविक शक्ति भएका प्रतिद्वन्द्वीबीच बारम्बार तनाव बढ्दै गएको छ, जसले कूटनीतिक सम्पर्कलाई असामान्य रूपमा प्रभावित पारेको छ ।

    पछिल्लो चेतावनी सतलज नदीको बढ्दो जलस्तरसँग सम्बन्धित छ । यो बाढीको पानी बुधबार पाकिस्तानमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । तीव्र धारले पहिले नै कसुर, ओकारा, वेहारी र बहावलनगरका सीमावर्ती समुदायहरूलाई प्रभावित गरिसकेको छ । पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय उच्च आयोगले जलस्रोत मन्त्रालयमार्फत पाकिस्तानलाई यसबारे औपचारिक जानकारी दिएको छ ।

    उत्तरी भारतका धेरै भागमा भारी वर्षा भएको छ । विगत २४ घण्टामा मात्र कम्तीमा १० जनाको मृत्यु भएको छ । यस कारण मङ्गलबार केही विद्यालय र कार्यालयहरू बन्द गर्न बाध्य भएका थिए । करिब तीन करोड मानिस बस्ने भारतको पञ्जाब राज्यमा गत महिनामा मात्र भूस्खलन, बाढी र नदीको उग्र वहावका कारण कम्तीमा २९ जनाले ज्यान गुमाएका छन् । सेनाको सहयोगमा उद्धार टोलीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

    नयाँदिल्लीमा हिमालयबाट बग्ने यमुना नदीको जलस्तरले मङ्गलबार खतराको स्तर नाघेको छ, जसले सहरको तल्लो क्षेत्रमा बाढीको जोखिम बढाएको छ ।
    राजधानी बाहिरको गुरुग्राम सहरमा समेत भारी वर्षापछि सडक र अपार्टमेन्टहरू जलमग्न हुँदा गम्भीर यातायात अवरोध उत्पन्न भएको छ । यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तका अधिकारीहरूले हालका महिनामा मनसुनी बाढीका कारण १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र करिब २४ लाख ५० हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् ।

  • इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण

    इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण

    एजेन्सी
    १८ भदौ, काठमाडौं । विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरहरूले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् । उनीहरूका अनुसार यो नयाँ रिएक्टर वा आणविक हतियार संयोजन गर्ने सुविधा हुनसक्छ, तर गोपनीयताका कारण निश्चित भन्न कठिन छ । डिमोना नजिकैको शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रमा भइरहेको यो कामले मध्यपूर्वमा एक मात्र आणविक–सशस्त्र राष्ट्रका रूपमा इजरायलको स्थितिबारे फेरि प्रश्न उठाउनेछ ।

    निर्माणाधीन संरचनाको स्थान, आकार र धेरै तलाहरू देखिनुका आधारमा यो नयाँ भारी पानी रिएक्टर हुनसक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।
    यस्तो रिएक्टरले आणविक हतियार निर्माणमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्छ । तर केही विज्ञहरूले यो नयाँ हतियार संयोजन सुविधा पनि हुनसक्ने सुझाएका छन् । मिडलबरी इन्स्टिच्युटका आणविक विज्ञ जेफ्री लुइसले भने, “यो सम्भवतः रिएक्टर नै हो । स्थान, आकार र डिमोनाको इतिहास हेर्दा अरू केही भएको कल्पना गर्न गाह्रो छ ।”

    इजरायलले आफ्नो आणविक हतियार अस्तित्वबारे पुष्टि वा अस्वीकार गर्दैन । सरकारले र ह्वाइट हाउसले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । एपीले सन् २०२१ मा पहिलो पटक डिमोना क्षेत्रमा ठूलो उत्खनन भएको रिपोर्ट गरेको थियो । हालैका तस्बिरहरूले भूमिगत संरचना निर्माणमा बाक्लो कङ्क्रीट पर्खाल, धेरै तलाहरू र ठूलो क्रेन प्रयोग भइरहेको देखाउँछन् ।

    हालको भारी पानी रिएक्टर सन् १९६० को दशकमा सञ्चालनमा आएको हो, जुन युगका धेरै रिएक्टरभन्दा लामो समय चलिसकेको छ । यसलाई चाँडै प्रतिस्थापन वा पुनःफिट गर्नुपर्ने सङ्केत विज्ञहरूले दिएका छन्। युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका एडविन लाइम्यानले भने, “यो नयाँ रिएक्टर वा हतियारसम्बन्धी संरचना हु सक्छ, तर पारदर्शिताको अभावले ठ्याक्कै भन्न कठिन भएको छ ।”

    सन् १९८० को दशकमा एक ह्विसलब्लोअरले डिमोनाबारे विवरण सार्वजनिक गरेपछि विज्ञहरूले इजरायलले दर्जनौँ आणविक हतियार बनाइसकेको निष्कर्ष निकालेका थिए । यदि नयाँ रिएक्टर बनेमा, इजरायलले प्लुटोनियम वा ट्रिटियम उत्पादन गरेर आफ्नो शस्त्रागार कायम राख्न वा विस्तार गर्न खोजिरहेको हुनसक्छ । ट्रिटियम वारहेडको शक्ति बढाउन प्रयोग हुन्छ र बर्सेनि करिब पाँच प्रतिशत क्षय हुने भएकाले पुनःउत्पादन आवश्यक पर्छ ।

    यहुदी नरसंहारपछि स्थापना भएको इजरायलले सन् १९५० को दशकमा आणविक स्थल निर्माण सुरु गरेको विश्वास गरिन्छ । यसले ‘आणविक अस्पष्टताको नीति’ अवलम्बन गरेको छ, जसले प्रतिद्वन्द्वीहरूलाई अनिश्चिततामा राख्छ । इजरायल आणविक हतियार भएको विश्वास गरिएका नौ मुलुकमध्ये एक हो र आणविक अप्रसार सन्धिमा सामेल नभएका चारमध्ये एक हो । यसकारण अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)लाई डिमोनाको निरीक्षण गर्ने अधिकार छैन । भियनास्थित आइएइएले भनेको छ, “इजरायल आफ्नो सोरेक अनुसन्धान रिएक्टरबाहेक अन्य आणविक संरचनाबारे जानकारी दिन कानूनी रूपमा बाध्य छैन ।”

  • दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

    स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो । उनले आक्रमणकारीको शरीरका अङ्गहरू घटनास्थलबाट बरामद गरिएको बताए । सरकारी अस्पतालका प्रवक्ता वसीम बेगले १३ जनाको शव र दर्जनौँ घाइतेहरू अस्पताल भर्ना भएको उल्लेख गर्दै तीमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिए ।

    यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । घटनामा बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल सुरक्षित छन्, तर उनका केही समर्थकहरू मारिन पुगेका वा घाइते भएका वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले बताए ।


    मेङ्गल सरकारका मुखर आलोचक हुनुहुन्छ र प्रायः बेपत्ता बलुच राष्ट्रवादीहरूको रिहाइको माग गर्दै र्‍यालीहरू आयोजना गर्ने गर्छन् । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटलाई ‘मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार उपलब्ध गराउन र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएका छन् ।


    इस्लामाबादमा गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै ‘भारत समर्थित आतङ्कवादीहरू र तिनीहरूको सहयोगीहरूले नागरिकहरूलाई लक्षित गर्दै देशलाई अस्थिर बनाउन खोजेको’ आरोप लगाए । तर उनले आफ्ना दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गर्नुभएन । हालैका महिनामा पाकिस्तान सरकार र मुख्यमन्त्री बुगतीले बारम्बार भारतले पाकिस्तानी तालिबान र बलुच पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई भारतले अस्वीकार गर्दै आएको छ ।

    बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । त्यहाँ बलुचिस्तान मुक्ति सेना (बिएलए) जस्ता समूहहरूले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएका छन् । यी पृथकतावादीहरूले विशेषगरी पञ्जाब प्रान्तका सुरक्षा बल र कामदारहरूलाई लक्षित गरेका छन् ।

    अधिकारीहरूले विद्रोह कम भएको बताए पनि यस क्षेत्रमा हिंसा भने निरन्तर जारी छ । गत जुलाईमा क्वेटाबाट पञ्जाब प्रान्ततर्फ जाँदै गरेका दुईवटा यात्रु बसलाई बलुचिस्तानको राजमार्गमा रोकेर बन्दुकधारीहरूले नौ जनालाई अपहरण गरी हत्या गरेका थिए । यस्ता अधिकांश आक्रमणहरू प्रतिबन्धित बिएलए समूहले दाबी गर्दै आएको छ ।

  • बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    एजेन्सी
    १८ भदौ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका थिए ।

    क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ । बैठक सुरु हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रुसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गरे ।


    दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रुस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।

    प्रारम्भिक टिप्पणीमा किमले गत वर्ष जुनमा प्योङयाङमा सम्पन्न शिखर सम्मेलनपछि मस्को–प्योङयाङबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा मजबुत भएको बताए । युद्धबारे प्रत्यक्ष रूपमा उल्लेख नगरी उहाँले भन्नुभयो, “यदि म तपाईं र रुसका जनताका लागि केही गर्न सक्छु भने र त्यस्तो आवश्यक छ भने म त्यसलाई भ्रातृ कर्तव्यको रूपमा लिन्छु । यो हाम्रो साझा दायित्व हो, जसलाई पूरा गर्न म सबै प्रकारले सहयोग गर्न तयार छु ।”

    बेइजिङको वार्षिकोत्सव समारोहले किमको १४ वर्ष लामो शासनकालमा पहिलो पटक प्रमुख बहुपक्षीय कार्यक्रममा उपस्थिति जनाएको हो । यस अवसरमा पहिलो पटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै स्थानमा भेला भएका थिए । पर्यवेक्षकहरू किमले सीसँग द्विपक्षीय भेट गर्नुहुन्छ कि वा सी र पुटिनसँग त्रिपक्षीय निजी बैठक बस्नुहुन्छ भन्ने विषयमा चासो दिइरहेका छन् । तर हालसम्म कुनै पक्षले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

  • एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    १८ भदौ, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।