Category: फिचर

  • मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    १७ भदौ, मुस्ताङ । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।

    यहाँ कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक यहाँ भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

    यहाँ सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।

    यहाँ सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको उनले बताए ।


    अघिल्लो वर्षको सो अवधिभन्दा हाल सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात् ९२२ दशमलव १४० प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात् ९२० दशमलव ९७० प्रतिश पर्यटक वृद्धि भएको देखिन्छ । मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्कका एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना पर्यटक थिए ।

    कार्यालयको विवरणअनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेका छन् । यहाँ भित्रिने अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जनाइएको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको यात्रा सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नुपर्ने सूचीमा सूचीकृत गरेसँगै यहाँ विदेशी पर्यटकको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुन थालेको जानकारहरू बताउँछन् ।

    यो जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधतासँगै यहाँको पृथक भूगोलका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँ सदियाँै पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, तालतलैया, लोमान्थाङ ऐतिहासिक दरबार, कोरलानाकालगायत पर्यटकीय गन्तव्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

  • लहानमा आमा र छोरा मृत फेला

    लहानमा आमा र छोरा मृत फेला

    १७ भदौ, सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशङ्का छ । उनले भने, “शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।”

    स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक रञ्जिताको श्रीमान् प्रवीण चौधरी भने पछिल्ला तीन\चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ । उनी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए । प्रवीणले दैनिक मजदुरी गर्दै आएका थिए । शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

  • महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

    महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

    जुनु भट्टराई / रासस

    १७ भदौ, विराटनगर । विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महसुस हुन्छ । त्यो हो– ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ जुन महिला उद्यमी सङ्घ नेपाल मोरङ च्याप्टरले २०८० साल भदौदेखि सञ्चालनमा ल्याएको हो । छोटो समयमै यस ग्यालरीले महिलाको हातको सीपलाई बजारसँग जोड्दै आर्थिक सशक्तीकरण र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम खोलिदिएको छ ।

    सङ्घकी मोरङ च्याप्टर कोशी प्रदेश अध्यक्ष कृति श्रेष्ठ उपाध्यायलाई सुरुमा लाग्यो ‘महिला उद्यमीका उत्पादनहरू मेलामात्र कुर्दा अवसर सीमित हुन्छ । निरन्तर प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आवश्यक छ’ , यही सोचलाई मूर्तरुप दिने क्रममा ग्यालरी स्थापना भयो । उक्त ग्यालरीमा प्रवेश गर्दा हस्तकला, ‘पुनः प्रयोग’ गरिएका सामग्री, घरेलु उत्पादन, सजावटी सामानदेखि स्थानीय स्वाद बोकेका खानेकुरासम्म विविधता भेटिन्छन् । सुरुमा मोरङकै सदस्य उद्यमीका सामग्री सोकेसमा राखेर सुरु गरिएको उक्त ग्यालरीमा अहिले कोशी प्रदेशका अन्य जिल्ला र अन्य प्रदेशका महिलाका उत्पादनले पनि यहाँ स्थान पाउन थालेका छन् । यसरी ग्यालरीले ‘एक्सचेन्ज र मार्केटिङ’लाई नयाँ ढङ्गले व्याख्या गरिरहेको छ ।

    उक्त ग्यालरीमा मोरङका मात्र नभई कोशी टप्पु क्षेत्र, बाँके पश्चिमाञ्चल, भक्तपुर, काठमाडौँ, धनकुटालगायत विभिन्न स्थानका महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राखिएका छन् । ग्यालरीमा ४० देखि ५० प्रकारका उत्पादन राखिएका छन् । तीमध्ये धेरैजसो उत्पादन मोरङमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् । ग्यालरीको उद्देश्य प्रत्यक्ष बिक्रीमा मात्र केन्द्रित नभई उत्पादनलाई ‘सोकेस’ गर्दै प्रवर्द्धन गर्ने हो । मागअनुसार वस्तु बिक्री हुने र ‘माग’ लिएर वितरण गर्ने व्यवस्थासमेत गरिएको सङ्घले जनाएको छ ।

    “ग्यालरी केवल ‘डिस्प्ले हल’ होइन, उद्यमीका लागि आर्थिक अवसरको खिड्की पनि हो”, मोरड च्याप्टर अध्यक्ष उपाध्याय भन्नुहुन्छ, “यहाँ उत्पादन राख्नेदेखि प्रत्यक्ष बिक्री, अर्डर लिनेसम्मको सुविधा छ । सुरुमा उद्यमी आफैँ सामान ल्याएर राख्थे, अहिले सङ्घले उनीहरूको उत्पादन खरिद गरेर राख्ने अभ्यास सुरु गरेको छ । यसले उद्यमीलाई समयमै भुक्तानी हुने र वित्तीय आत्मविश्वास बढ्ने अवसर दिएको छ ।”

    उद्यमशीलता भनेको पसल खोलेर बस्न सक्नेहरूको मात्र कुरा होइन विद्यार्थी, स्टार्टअपदेखि सानाठूला उद्यमी सबैलाई हामीले यहाँ स्थान दिएको उहाँ बताउनुहुन्छ ।

    विराटनगर आउने आन्तरिक तथा भारतीय पर्यटकका लागि यो ग्यालरी कोसेली किन्ने नयाँ ठेगाना बन्दै गएको छ । पर्यटकले यहाँबाट सानो हस्तकला, ‘रिसाइकल प्रोडक्ट’ वा परम्परागत शैलीका सामग्री किनेर लैजाने क्रम बढ्दो छ । यसले स्थानीय उत्पादनलाई नयाँ बजार त दिएको छ नै, पर्यटनलाई पनि अझ आकर्षक बनाएको छ । साथै, विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि ग्यालरी ‘लाइभ केस स्टडी’ बनेको छ, जहाँ उनीहरूले ‘सस्टेनेबल’ उत्पादन र महिलाको उद्यमशीलताबारे प्रत्यक्ष सिकाइ पाउँछन् ।

    विशेष प्राथमिकता भने ग्यालरीले सस्टेनेबल र वातावरणमैत्री उत्पादनलाई दिएको छ । रिसाइकल सामग्री, स्थानीय स्रोतमा आधारित उत्पादन र वातावरणमैत्री वस्तु यहाँ सजिलै भेटिन्छन् । यसले महिला उद्यमशीलतालाई मात्र होइन, हरित अर्थतन्त्र र जलवायु प्रतिरोधी विकासलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । अध्यक्ष श्रेष्ठ सङ्घले ग्यालरीलाई राष्ट्रियस्तरसम्म विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ ।

    यो ग्यालरीलाई पर्यटन बोर्ड, हस्तकला महासङ्घ र अन्य संस्थासँग सहकार्य गरेर यसलाई देशभर परिचित बनाउने योजना छ अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “यो पूर्वाञ्चलको पहिलो नमूना ग्यालरी हो, यसले महिला उद्यमीलाई मात्र होइन, सम्पूर्ण उद्यमशीलता क्षेत्रलाई सबल बनाउनेछ ।” केवल दुई वर्षको अवधिमा ग्यालरीले महिला उद्यमशीलता, कला, पर्यटन र शिक्षालाई एकै ‘प्लेटफर्म’मा जोड्न सफल भएको महिला उद्यमीहरू बताउँछन् । उक्त ग्यालरीमा आउने आगन्तुकले उत्पादनमात्र देख्दैनन्, महिलाको आत्मविश्वास, सिर्जनशीलता र भविष्यप्रतिको दृढतासमेत देखिने भएकाले यो ग्यालरी केवल पसल नभएर, महिला उद्यमशीलताको जीवित गाथा बनेको उद्यमीहरूको धारणा छ ।

  • दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    अशोक घिमिरे / रासस

    १७ भदौ, जलजले । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ ।

    खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ ।

    यो जम्मा चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र प्रारम्भिक नतिजा हो । बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।

    नेपालमै यति ठूलो पेट्रोलियम भण्डारण भेटिएपछि त्यसको उत्खनन र व्यावासयिक उत्पादनको काम कहाँ पुगेको छ भनेर सर्वत्र चासो व्यक्त भइरहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी एवं भूगर्भविद् प्रकाश लुइँटेल पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल रहेको बताउँछन् । चिनियाँ टोलीले अहिले नमूनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ ।

    सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन प्राप्त हुने उनको भनाइ छ । अन्तिम प्रतिवेदनबाट पेट्रोलियम पदार्थको परिणामसहित विभिन्न तथ्य तथ्याङ्क प्राप्त हुनेछ । “जियोफिजिकल र जियोलोजिकल अध्ययनको विस्तृत तथ्याङ्कसहित अन्तिम प्रतिवेदनको पर्खाइमा छौँ”, विभागका भूगर्भविद् लुइँटेलले भने, “अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्य काम अघि बढ्छ ।”

    सरकारले पनि उक्त स्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्रगतिमा अघि बढाउने दृढता व्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त पेट्रोलियम परियोजनाबाट व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रिस्तरीय निर्णयबाट गठित समितिमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिष्ट धर्मराज खड्का, परियोजनाका मनिष कर्ण र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल छन् ।


    निगमकै पहलमा मन्त्रालयले उक्त समिति निर्माण गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट प्राकृतिक ग्यासको सदुपयोगको सम्भाव्यताबारे उक्त समितिले अध्ययन गर्ने बताउँछन् । “जलजले क्षेत्रमा देखिएको ग्यास कुनकुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ, त्यसलाई सदुपयोग कसरी गर्ने भन्नेलगायत विषयमा समितिले अध्ययन गरिरहेको छ”, उनले भने । निगम अध्ययन प्रतिवेदनका आधारमा सरकारले दिने निर्देशनको पर्खाइमा छ ।

    समितिले पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिसकेको छ । “मन्त्रालयले दिएको क्षेत्राधिकारभित्र रहेर समितिले अध्ययन थालेको छ, ‘साइट भिजिट’का सिलसिलामा समितिका सम्पूर्ण सदस्य दैलेख पुगेका हौँ”, समिति संयोजक उपाध्यायले रासससँग भने। समितिले दैलेखसँगै सुर्खेतमा रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे पनि अध्ययन गरेको छ ।

    “कतिपय विषय पूर्ण प्राविधिक भएका कारणले पनि धेरै कुरा पछि थाहा हुनेछ”, उनले भने, “तर प्रारम्भिक रूपमा हामीलाई दिएको जिम्मेवारीको सिलसिलामा केके गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौँ ।” समितिले प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यताबारे पेट्रोलियम विज्ञ, अध्येतालगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ । समितिलाई ग्यासको सदुपयोग, व्यावसायिक उत्पादन, आवश्यक पूर्वाधारको आवश्यकता र लागतलगायत बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

    नेपाल र चीनबीच सन् २०१९ मा भएको सरकार–सरकारबीचको सम्झौतापछि पेट्रोलियम अन्वेषणको काम सुरु भएको थियो । जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो ।

    स्थानीयका लागि जमिनबाट आफँै बल्ने ग्यास र तेलजस्तै पदार्थ चुहिने विषय नौलो भने होइन । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा भारतीय अघोषित नाकाबन्दीले मुलुकभर इन्धन सङ्कट भएपछि सरकारले स्वदेशकै ऊर्जा स्रोतको उत्खननको प्रक्रिया अघि बढाएको हो ।

    विसं २०७५ माघमा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भएको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छसात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान छ ।

    धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना ९पाइलट० परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ । त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो ।

    खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । पेट्रोलियम अन्वेषणको प्रक्रियामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र र आमनागरिकको पूर्ण सहयोग र समर्थन रहेको थियो । परियोजनाले सफलता पाउँदै गएपछि दैलेखवासी मात्र नभई सिङ्गो मुलुक नै उत्साहित बनेको छ । उत्खनन, प्रशोधन, आपूर्ति शृङ्खला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीयस्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ ।

  • महाकाली नदीको कटानले बस्ती जोखिममा

    महाकाली नदीको कटानले बस्ती जोखिममा

    १७ भदौ, दोधारा चाँदनी । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताए । उनका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

    “नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उनले भने, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।” विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

    “विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ”, स्थानीय खडक बुढाले भने, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उनले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गरे । उनका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

    दोधारा–चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताए । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उनले भने, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उनले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गरे ।


    बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिए । तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भने ।

  • कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    १७ भदौ, गलकोट । नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख राजस्व राजस्व सङ्कलन गरिएको छ । दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिकास्थित भाटेखोला बगरबाट सङ्कलन गरिएको चार हजार ९७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलनका लागि नगर कार्यालय पठाइएको थियो ।

    बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगरलगायत बगरबाट अवैध रूपमा उत्खनन गरी बालुवा सङ्कलन गर्ने विभिन्न व्यक्तिलाई कारबाही गरी रु १५ लाख राजस्व सङ्कलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिइन् । उनका अनुसार नगरले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेलाई कारबाही गरेको हो ।

    गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि रातिको समयमा दोहन गरी नदी छेउमा राखिएको सामग्री जफत गरी राजस्व सङ्कलन गरिएको रेग्मीको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर नगरपालिकालाई कारबाहीका लागि पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मूल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताए ।


    “अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्डअनुसार निकाल्न मिल्छ । तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, प्रमुख थापाले भने ।

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    १७ भदौ, ढोरपाटन । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ ।

    ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ । पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका ९ का खिमबहादुर विकले बताए । उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उनको भनाइ छ । घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु ५० देखि रु १५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेका उनले बताए ।

    “करिब १०(१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन्, धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे, टाढाटाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउनेरपुर्‍याउने गर्थे”, उनले भने, “केही वर्ष घोडा खच्चड पालेँ पनि आम्दानी नभएपछि पाद्यन छोडिएको थियो । अहिले दुई–चार जना पर्यटक बोके पनि कमाइ हुन्छ ।”

    ढोरपाटन पुग्ने पर्यटकले उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् । पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्‍याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताए । अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ । उनका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढीसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन् ।

    व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । घोडामा चढेर एकपटक फोटो खिच्दा रु ३०० तिर्नु परेको ढोरपाटन घुम्न आउनुभएका कुलदीप तामाङले बताउनुभयो । सुरुमा रु १०० भने पनि व्यवसायीले अन्तिममा रु ३०० मागेका उहाँको गुनासो छ । पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा तामाङले जोड दिए ।


    ढोरपाटनमा पछिल्लो समय दैनिक २०० बढी पर्यटक पुग्ने गरेका छन् । बर्खामा वनफूलसँग रमाउने र हिउँमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१–८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।

  • जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    १७ भदौ, बैतडी । लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “अविरल रूपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ ।”

    मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ । यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

    विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

    बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरे । यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । गत तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

  • प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

    प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

    १७ भदौ, थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

    भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

  • गोरखाको हंशपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

    गोरखाको हंशपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

    १७ भदौ, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

  • गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    १७ भदौ, गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • पाकिस्तानमा सरकारी हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    पाकिस्तानमा सरकारी हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    एजेन्सी
    १७ भदौ, काठमाडौं । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट–बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार, उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ । यो हेलिकप्टर गिलगिट–बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।

    यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो । पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकप्टर दुर्घटनाका धेरै घटना भएका छन्। सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो ।

  • अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुग्यो

    अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुग्यो

    एजेन्सी
    १७ भदौ, काठमाडौं । अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ । भूकम्पमा परी दुई हजारभन्दा बढी मानिस घाइते भएका छन्। भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ । आइतबार मध्यरात करिब पौने १२ मा गएको ६.० म्याग्नीच्यूडको भूकम्पका कारण मध्यरातमा र पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको सोमबार जनाइएको छ । भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको युएसजिएसले जनाएको छ ।

    भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको र सीमति रूपमा चल्ने यातायातका साधनको आवागमनमा समेत समस्या भएको छ । भूकम्पपछि ठूलो उद्धार कार्य जारी रहेको तालिबान अधिकारीहरूले बताएका छन् । भूकम्पको असर काबुलदेखि छिमेकी पाकिस्तानको राजधानी इस्लामावादसम्मका भवनहरूमा स्पस्ट देख्न सकिन्छ। भूकम्पले अफगानिस्तानका कम्तीमा पाँच वटा प्रान्तमा हताहती र विनास निम्त्याएको र उद्धारकर्ताहरूले सोमबार साँझसम्म पनि भत्किएका घरहरूबाट मानिसहरूलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकका सहरमा लगिएको छ ।

    पूर्वी कुनार प्रान्तका विपद् व्यवस्थापन प्रमुख एहसानुल्लाह एहसानले एएफपीसँग भने, “खोजी कार्य जारी छ । धेरै मानिस उनीहरूको घरको भग्नावशेषमा फसेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमानहरू गरिएको छ।” तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कुनारमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन् ।

    त्यस्तै छिमेकी प्रान्त नांगरहारमा १२ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् । कुनारको नुर्गल जिल्लाको वादिर गाउँमा आसपासका दर्जनौं बासिन्दाले उद्धारकर्मीहरूलाई भत्किएका घरहरूको भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न मद्दत गरेको एएफपीले सार्वजनिक गरेका तस्बीरमा देख्न सकिन्छ । धेरै घाइतेहरूलाई नान्गाहार प्रान्तको जलालाबाद शहरका अस्पतालहरूमा लगिएको छ ।

  • अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

    अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

    १६ भदौ, काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

    सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

    त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।”

  • प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

  • चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवनका दुई हात्ती कतार पठाइँदै

    १६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ ।

    उनले भने, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।

    कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पु¥याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताए । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

    यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

  • प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो ।

    उनीहरुबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

  • विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    १६ भदौ, कैलाली । गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गरेका छन् । उनी पहिला नेपाली सेनामा कार्यरत थिए । अवकासपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गरे । हाल उनी स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन् । साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गरेका हुन् ।

    उनले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिएका छन् । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताए । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

    उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उनले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताए । साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताए ।


    विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गरेका छन् । “नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने ।

  • प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

    भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियोे । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

  • बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    १६ भदौ, ढोरपाटन ।कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो ।

    रातिदेखि अवरुद्ध लोकमार्ग खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारी साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ ।

    सडक खुलाउन निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले बताउँछन् । वर्षा हुने वित्तिकै माथिदेखि लेदो झरेर सडकमा थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए ।

    अध्यक्ष पौडेलले भने, ‘यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्, लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ, सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ ।”

  • सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको दुई लाख पाँच हजार तीन सय

    सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको दुई लाख पाँच हजार तीन सय

    १६ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो ।

    आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

  • काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    १६ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि–१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।

    हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाइ बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगर प्रमुख गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गरे ।

    बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन् । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ । सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो ।

    बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ ।

  • प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपतिसुसौलिथ बीच भेटवार्ता

    प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपतिसुसौलिथ बीच भेटवार्ता

    १६ भदौ, थियानजिन । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो ।

    भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

    चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ ।

  • विश्व शान्तिको रक्षा र विश्व विकासका लागि एससीओ महत्वपूर्णः राष्ट्रपति सी

    विश्व शान्तिको रक्षा र विश्व विकासका लागि एससीओ महत्वपूर्णः राष्ट्रपति सी

    १६ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न साङ्घाई सहयोग सङ्गठन (एससीओ) ले ठूलो जिम्मेवारी वहन गरिरहेको बताएका छन् । उनले बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको संसारमा विकासलाई बढावा दिनु महत्वपूर्ण भएको बताए । आइतबार र सोमबार हुने एससीओ शिखर सम्मेलन २०२५ मा भाग लिन चीनको बन्दरगाह शहर थ्यानचिनमा आएका अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले सो कुरा बताएका हुन् ।

    सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै एससीओले अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सम्मेलन सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउन, ग्लोबल साउथको शक्ति एकत्रित गर्न र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने बताए ।

  • एन्टीबायोटिक’रहित अण्डा उत्पादन बढ्यो

    एन्टीबायोटिक’रहित अण्डा उत्पादन बढ्यो

    १६ भदौ, चितवन । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको उनले बताए । उनले भने, “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरुपमा बन्देज गरेका छौँ ।”

    देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ । यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो । यो रोक लगाएसँगै आफूहरुले कुखुरालाई खोप प्रयोग गर्ने गरेको उनले बताए ।
    दानामा जडिबुटीजन्य (हर्वल) खुराकहरु खुवाउने गरेको उनी बताउँछन् । पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरु देखापर्दा एन्टीबायोटिक प्रयोग हुन्थ्यो । एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनी बताउँछन् । उनले भने, “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा असर गथ्र्यो ।”

    कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि असर नगर्ने उनी बताउँछन् । “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन”, उनले भने । नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरेको उनले बताए ।


    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा एन्टीबायोटिकको प्रयोग नभएको बताए । सरकारका नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनी बताउँछन् । उनले भने, “हाम्रा फार्म हेर्ने चिकित्सकहरुले मानव स्वास्थ्य असर नहुने गरी भ्याक्सिन र हर्वलहरुको प्रयोग गर्नुहुन्छ ।” जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए । नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उहाँले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने बताए । फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताउँछन् । एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने उनले बताए । मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको उनको भनाइ छ ।

  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    १६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन ९एससिओ० प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ ।

    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

    आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

  • लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

    लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

    १६ भदौ, कास्की । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    उक्त प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरी ६० भन्दा बढी गल्फरहरूको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगिताका विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।

    यसैगरी ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कार स्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताए । यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो हुने उनको भनाई छ । प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइने छ । जसअन्तर्गत विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’, र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    यसैगरी यसवर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुने विष्टले बताउनुभयो । “मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारेमा विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्दैछौँ”, प्रबन्ध निर्देशक विष्टले भने ।

    खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू प्रतियोगिता अवधिभर प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु १० देखि रु १२ लाख खर्च हुने अनुमान गरिएको छ ।

  • हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

    हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

    १६ भदौ, ढोरपाटन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन ।

    ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको छ ।

    रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकवेंसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले बताए । उनले भने, “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन भएन ।”

    नवलपुरबाट ढोरपाटन घुम्न आउनुभएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोखे । सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उनको भनाइ छ । “ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ”, उनले भने ।


    विसं २०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । हालसम्म काम हुन नसकेको हो ।

  • कोशी ब्यारेजको ३१ ढोका खोलियो

    कोशी ब्यारेजको ३१ ढोका खोलियो

    १६ भदौ, धरान । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

    प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए ।

  • नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा १५ जनाको डुबेर मृत्यु

    नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा १५ जनाको डुबेर मृत्यु

    एजेन्सी
    १६ भदौ, काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा भएको सामूहिक हिंसाबाट भागेका कम्तीमा १५ जनाको नदीमा डुङ्गा पल्टिँदा मृत्यु भएको अधिकारी र आफूलाई प्रत्यक्षदर्शी भएको बताउने एक स्थानीय बासिन्दाले आइतबार एएफपीलाई जानकारी दिएका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहले आतङ्क मच्चाइरहेका, गाईवस्तु चोरिरहेका, गाउँहरूमा लुट र आगजनी गरिरहेका र फिरौतीका लागि अपहरण गरिरहेका छन्। गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।

    नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीले भने, “नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।” मृत्यु हुनेमा आठ महिला, तीन बालबालिका र चार पुरुष रहेका छन् भने तीन जनाको उद्धार गरिएको चिगारीले बताउए । डाँकुको आक्रमणपछि दमागा, तुङ्गर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दा घरबाट भागेको अर्का स्थानीय सुलेमान दङ्गालादिमाले जानकारी दिए । नाइजेरियाको आपतकालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर सूचना सङ्कलन गर्ने र बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए ।