Category: फिचर

  • प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

    प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे ।


    प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

    अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।

    शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सकेका छन् ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कर्नेछन् ।

  • यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    १४ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली स्थानीय प्रतिकिलो रु १००, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

    त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

    त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १८०, चमसुरको साग प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु १३००, पुदिना प्रतिकिलो रु १०००, गान्टे मुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रूखकटहर प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

    यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

  • सुनको मूल्यमा नयाँ कीर्तिमान, २ लाख नाघ्यो

    सुनको मूल्यमा नयाँ कीर्तिमान, २ लाख नाघ्यो

    १४ भदौ, काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छ । त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

    बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपालमा सुनको मूल्यले २ लाखको आंकडा पार गरेको यो पहिलो पटक हो ।

  • मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय

    मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय

    १४ भदौ, काठमाडौं । नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रुपमा चिनिने भएको छ ।

    डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९०६ वर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएको स्थानीयको दुःख तथा पीडा बुझेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको पहल गरिएको मन्त्री शाहीले बताए ।

    ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ कार्मारोङ गाउँपालिका–१ मा पर्छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसँग जोडिएको भूभागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसँग माग गरेको थियो । योसँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।

  • प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

    प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

    १३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् । उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले ‘एससिओ’ शिखर सम्मेलनमा आफ्नो सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
    मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ ९तदनुसार अगष्ट ३० देखि सेप्टेम्बर ३० सम्म चीनको पाँचदिने भ्रमणमा जाँदै छन् । नेपालले सो सङ्गठनमा देशको सहभागिताको स्तर अभिवृद्धि गर्दै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा आफ्नो दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गरी अत्यधिक लाभ हासिल गर्न भ्रमण केन्द्रित हुने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

    भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय भेट हुने कार्यक्रम छ । यसैगरी, चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि उनको भेट हुनेछ । यसैगरी चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै यही भदौ १६ गते तियान्जिनमा हुने ‘एससिओ प्लस’ शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने जानकारी दिए ।


    शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीले सदनलाई अवगत गराए । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय उनले जानकारी दिए ।

    भ्रमण दलमा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारी सहभागी हुनुहुनेछ ।

    सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

  • सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

    सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

    १३ भदौ, सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छिन् । जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरिन् ।

    आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् । उनले भनिन्, “निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”

  • ‘तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँ’

    ‘तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँ’

    १३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ‘ग्रे लिस्ट’मा पर्नु मुलुकका लागि आर्थिक, वित्तीय र कूटनीतिक दृष्टिले हानिकारक भएको स्वीकार गर्दै तत्काल सुधारात्मक कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको बताए ।

    “कुनै पनि कारणले मुलुक ग्रे लिष्टमा पर्नु आर्थिक, वित्तीय एवं प्रतिष्ठाको दृष्टिकोणले उचित होइन । सरकार यो विषयमा स्पष्ट छ र यथासक्य छिटो त्यसबाट बाहिर निस्कन सुधारात्मक कार्ययोजना बनाएर २०८२ सालदेखि लागू गरिसकेको छ”, उनले भने । अर्थमन्त्री पौडेलका अनुसार मुलुक ‘ग्रे लिस्ट’मा पर्दा अन्तरदेशीय वित्तीय कारोबार, विप्रेषण प्रवाह, विदेशी लगानी र समग्र मुलुकको प्रतिष्ठामा दीर्घकालीन असर पार्नसक्ने जोखिम छ ।

    यसले वैदेशिक ऋण, अनुदान र सहयोगमा प्रतिकूल असर पर्ने प्रश्नमा अर्थमन्त्री पौडेलले भने, “ग्रे लिष्टका कारण मुलुकले प्राप्त गर्ने वैदेशिक ऋण, अनुदान, सहायताजस्ता लगानीमा असर पर्नसक्ने भएकाले त्यसलाई कम गर्न सरकार संवेदनशील बनेको छ । त्यसैले सुधारात्मक कार्ययोजना बनाई प्राथमिकताका साथ कार्यान्वयनमा लगिएको छ ।” विशेषगरी अन्तरराष्ट्रिय वित्तीय संस्थासँगको विश्वास कमजोर हुनु, लगानीकर्तामा शङ्का बढ्नु र दातृ निकायले कडाइ गर्ने सम्भावनाले नेपाललाई चुनौतीपूर्ण अवस्थामा पु¥याउनसक्ने ठानिएको छ ।

    अर्थमन्त्री पौडेलले यसबाट बाहिरिन सरकारले अवलम्बन गरेका प्रमुख नीतिगत तथा कानुनी कदमबारे विस्तृत विवरण प्रस्तुत गरे । उनका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन, २०८० मार्फत १९ वटा ऐन संशोधन गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ जारी गरी कार्यान्वयनमा ल्याइएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ९२०८१–८२ देखि २०८५–८६० लागू गरिएको, शीघ्र सुधारात्मक कार्ययोजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा रहेकोलगायतका सुधारका काम भएको अर्थमन्त्री पौडेलले बताए ।


    बहुमूल्य धातु व्यापारी, क्यासिनो व्यवसायी, जग्गा कारोबार गर्ने संस्थालगायतलाई कडाइ गर्ने निर्देशन दिइएको तथा चारवटा समन्वय संयन्त्रहरू नियामक, अनुसन्धान समन्वय, आतङ्कवाद प्रतिरोध, कार्यान्वयन सहजीकरण गठन गरिएको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले नेपाल ‘ग्रे लिस्ट’मा पर्नु विगतका कमजोरीका कारण भएको भन्दै हाल आवश्यक कानुनी संरचना र कार्ययोजना प्रभावकारी रूपमा अघि बढाइएको दाबी गरे । उनले भने, “हामी निर्धारित समयभन्दा पहिल्यै ग्रे लिस्टबाट बाहिर निस्कनेछौँ । त्यतिमात्र मात्र होइन, फेरि कहिल्यै ग्रे लिस्टमा नपर्नेगरी सुधार गर्नेछौँ ।”

    नेपाल दुई वर्षका लागि निगरानी सूचीमा परेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो सूचीमा परेको छ महिना बितिसकेको र केही समयभित्रै बाहिरिने विश्वास दिलाए । सम्पत्ति शुद्धीकरण नियन्त्रण सबैका लागि चिन्ता र चासोको विषय रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसलाई विश्वका सबै मुलुकसँग सहकार्य गर्दै ठूला र गम्भीर आर्थिक अपराध नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

  • नापि अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

    नापि अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

    १३ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय भैरहवा रूपन्देहीका कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाई वर्षौंसम्म निमित्त कार्यालय प्रमुखका रूपमा रही यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ ।

    आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा यादवले विभिन्न आयमार्फत रु नौ करोड तीन लाख ९५ हजार ४४४ वैध सम्पत्ति आर्जन गरेको देखिएको छ । सो अवधिमा यादवले रु १४ करोड ८३ लाख ५७ हजार ८८४ बराबरको खर्च तथा लगानी गरेको देखिन आएको छ । वैध आय र खर्चबीचको रु पाँच करोड ७९ लाख ६२ हजार ४४० बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगको ठहर छ ।

    आयोगले रु पाँच करोड ७९ ६२ हजार ४४० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति यादवले श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा राखेको पाइएको आयोगले दाबी गरेको छ । आयोगले उनीहरूविरुद्ध पनि प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

  • साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    १३ भदौ, वीरगञ्ज । वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

    उनका अनुसार आज विहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए । “अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना विरामी सघन उपचार कक्ष (आइसियू)मा उपचारत हुनुहुन्छ भने सात जना उच्च हेरचाह कक्ष (एचडियू)मा उपचाररत हुुनुहुन्छ”, उनले भने, “यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ विरामी छन् ।” साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचारत छन् ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

  • भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

    भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

    १३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । त्यसअघि मन्त्री अधिकारीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।


    छलफलका क्रममा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले यो विधेयक देश र जनताको हितका खातिर ल्याइएको बताए । उनले विगतमा नमिलेका ऐन कानुनमा सुधार गरेर भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ल्याइएको स्पष्ट पारे । मन्त्री अधिकारीले भने, “सधैँ जग्गा बाँड््ने र जथाभावी जसले पनि बस्ती बसाल्ने नीतिको अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो ।”

    उनले यो विधेयक जनताका समस्या समाधान गर्न ल्याइएको बताउँदै जथाभावी बस्ती बसाल्नेहरु अनियमित रूपमा नबसुन् र व्यवस्थित रूपमा राज्यको कानुनभित्र रहेर बसुन् भन्ने उद्देश्यले कानुन बनाएर व्यवस्थापन गर्न खोजिरहेको बताए । भूमिहीन दलित र सुकुम्बासीलाई बसोबास गरेकै ठाउँमा जग्गा दिने व्यवस्था गरिएको छ । त्यो ठाउँ जोखिमयुक्त छ भने अन्यत्र पालिकामा समन्वय गरेर एकीकृत बस्ती बसालेर दिने हो”, उनले भने।

    विधेयकमा विभिन्न सकारात्मक प्रावधान रहेको उल्लेख गर्दै यसले वर्षौँदेखिको समस्या समाधान गर्ने बताए । यसअघि सो विधेयकमाथि धारणा राख्दै सत्ता पक्षका सांसदहरूले सकारात्मक रहेको र भूमि समस्या समाधान गर्ने विश्वास व्यक्त गरे भने विपक्षी दलका सांसदहरुले विधेयक सुकुम्बासी, भूमिहीनको पक्षमा नभएको आरोप लगाए ।

    सांसद प्रकाश ज्वालाले सरकारले हतारमा यो विधेयकलाई पास गराउन खोजेको भन्दै सुकुम्बासीमैत्री विधेयक बन्न नसकेको आरोप लगाए । “सुकुम्बासी, भूमिहीनले जग्गा पाउने कुरा मौलिक हक हो । तर सुकुम्बासी, भूमिहीनको नाममा भूमाफियालाई पोस्ने काम भएको छ, यो निन्दनीय छ”, उनले भने । सांसद राजकिशोर यादवले सुकुम्बासी, भूमिहीन, दलितहरूलाई मौलिक अधिकारको रूपमा रहेको बसोबास उपलब्ध गराउने गरी विधेयक आउनु राम्रो भए पनि अपेक्षित वर्गले लाभ हासिल नगर्ने भन्दै आपत्ति जनाए ।

    सांसद प्रकाश अधिकारीले भूमिलाई विश्लेषण नगरी आउने ऐन प्रगतिशील र सुकुम्बासीमैत्री पनि नहुने तर्क गरे । “यो विधेयकमा संवैधानिक विश्लेषण गरिएको छैन, जल–जङ्गल–जमिनमा पर्ने असरको अध्ययन गरिएको छैन, भूमाफियालाई लाभ पुग्नेगरी आएको छ”, उनले भने । सांसद रुपा सोसी चौधरीले सुकुम्बासी, भूमिहीन र दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्थामा सहमत भए पनि घरजग्गा व्यवसायीलाई फाइदा हुने किसिमले प्रावधान राखिएको बताउइन् ।

    सांसद रेखा यादवले विधेयक जस्ताको तस्तै पारित भएमा दलित, भूमिहीन र सुकुम्बासीको नाममा अन्य समूहलाई फाइदा पुग्ने बताइन् । “सार्वजनिक जग्गामा अवैध रूपमा बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउनु गलत छ”, उनले भनिन् ।
    सांसद प्रभु साहले विधेयकले घरजग्गा कारोबारीलाई फाइदा पुग्ने बताए । सांसद उर्मिला माझीले यस विधेयकले भूमिहीन, दलित, आदिवासी जनजाति, बाढीपहिरोका कारण विस्थापित समुदायको हक अधिकारलाई सुनिश्चित गर्न नसकेको बताइन् ।

    उनले यस विधेयकलाई अघि बढाउनु भनेको भूमिहीनलाई राज्यको पहुँचबाट टाढा धकेल्नु रहेको तर्क गरिन् । सांसद शेरबहादुर कुँवर, माधव सापकोटा, लेखनाथ दाहालले विधेयकको विरोध गरे । सांसद सापकोटाले यो विधेयक भूमिहीन, दलित, आदिवासी जनजातिको खिलाफमा र निश्चित वर्ग र समूहलाई पालनपोषण गर्ने उद्देश्य यस विधेयकको रहेको बताए ।


    सांसद दाहालले खराब नियतसहित यो विधेयक आएको बताउँदै भूमिहीन, सुकुम्बासी र दलितको विषयमा असल प्रावधान राख्ने तर खराब नियतसहित आएको बताए । यसैगरी सांसद हितराज पाण्डेले यो विधेयकका कैयाँै विषयमा असहमति व्यक्त गर्दै आमजनतालाई यसले हित नगर्ने तर्क गरे । सांसद मीना तामाङले पनि विधेयक जनमैत्री नभएको धारणा राखिन् ।

  • स्याफ्रुबेँसी-टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

    स्याफ्रुबेँसी-टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

    १३ भदौ, रसुवा । गत असार २४ र गत साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी-रसुवागढी खण्ड आजदेखि सञ्चालनमा आएको छ । अन्तरराष्ट्रिय राजमार्गका रूपमा रहेको उक्त खण्डको स्याफ्रुबेँसीबाट टिमुरेसम्म सडक स्तरोन्नति गरी आजदेखि हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको हो । गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख खड्गलाल श्रेष्ठले स्याफ्रुबेँसीबाट टिमुरेसम्म १४ किलोमिटर राजमार्गमा ट्रयाक खोल्ने काम सम्पन्न भई साना तथा हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार टिमुरेबाट रसुवागढीसम्मको दुई किमी सडक खुलाउने प्रयास भइरहेको छ ।

    वर्षा नसकिनुका साथै दैनिक रूपमा नदीले कटान गरिरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा अझै केही समय लाग्ने बताउँदै उनले सडक विभागको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको जानकारी दिए । टिमुरे र घट्टेखोला बीचको स्याउ पार्किङस्थल छेउ भिरको फेदमा सडकको जग कटान भएकाले त्यस स्थानमा माथिबाट ठूलाठूला पहरा काट्नुपरेको जनाउँदै प्रमुख श्रेष्ठले सो काम सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान गरिएको बताए । चीन सरकारले मितेरी पुल तयार गर्नुपुर्व स्याफ्रुबेँसी–रसुवागढीको सडक तयार गर्ने योजनासहित काम गरिरहेको प्राविधिकहरूले बताएका छन् ।

    मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले ल्हेन्देखोलामा द्रुतगतिमा पूर्वाधार निर्माण अगाडि बढाइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरी नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलामा राखिएको ह्युमपाइप गएरातिको वर्षाले बगाएको उनले उल्लेख गरे ।

    खोलाको पानीलाई ह्युमपाइपबाट एकतृत गरी निर्माण अगाडि बढिरहेको सीमा सुरक्षा निकायले जानकारी पठाएकाले दसैँ अघि रसुवा–केरुङ सिधा यातायात सम्पर्क हुने विश्वास रहेको प्रजिअ पन्थीले बताए । स्थानीय प्रशासकको भूमिका निर्वाह गर्न बुधबार रसुवामा बहाली गरेका प्रजिअ पन्थीले बिहीबार सडकको स्थलगत निरीक्षण गरी नेपालतर्फको सडक शीघ्र मर्मत एवं पुनर्निर्माण गर्न निर्देशन दिए । पुनर्निर्माणका क्रममा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए । रासस

  • अष्ट्रेलिया सरकारद्वारा व्यापार प्रोत्साहनका लागि अतिरिक्त शुल्क कम गर्ने निर्णय

    अष्ट्रेलिया सरकारद्वारा व्यापार प्रोत्साहनका लागि अतिरिक्त शुल्क कम गर्ने निर्णय

    एजेन्सी
    १३ भदौ, काठमाडौं । अष्ट्रेलियाली सरकारले आर्थिक उत्पादनशीलता बढाउन र स्वतन्त्र व्यापार प्रोत्साहन गर्न ५०० भन्दा बढी ‘अतिरिक्त’ शुल्कहरू हटाउने निर्णय गरेको छ । कोषाध्यक्ष जिम चाल्मर्स, व्यापार मन्त्री डोन फ्यारेल र उद्योग तथा नवप्रवर्तन मन्त्री टिम आयर्सले बिहीबार जानकारी दिए अनुसार, टायर, रक्सीका गिलास र टेलिभिजनजस्ता वस्तुहरूमा लाग्ने साना शुल्कहरू आगामी आर्थिक वर्ष १ जुलाई सन् २०२६ देखि हटाइनेछ । यसले व्यवसायहरूलाई नियम पालनामा पर्ने झन्झट कम गर्नेछ ।

    कानबरामा सञ्चारकर्मीहरूलाई बोल्दै चाल्मर्सले भने, “यी अतिरिक्त शुल्कहरूले कहिलेकाहीँ लाभभन्दा बढी क्षति पु¥याउँछन् ।” उहाँले टायरमाथि लाग्ने वर्तमान शुल्कबाट वार्षिक ८० हजार अष्ट्रेलियन डलरभन्दा कम राजस्व जुट्ने बताए । तर ती शुल्क हटाउँदा व्यवसायहरूले वर्षेनी झन्डै ३२ मिलियन अष्ट्रेलियन डलर खर्च बचत गर्नेछन् । फ्यारेलले भने, “हामी हाम्रो कुरामा दायित्व लिएका छौँ । हामी अरु देशहरूलाई पनि व्यापार अवरोध हटाउन आग्रह गर्छौं । यो कुरामा हामी गम्भीर छौं भनी विश्वलाई देखाउँदैछौं ।”

    सरकारले सन् २०२४ मा तरकारी, फ्रिज र रबरजस्ता वस्तुहरूमा लाग्ने ४५७ अतिरिक्त शुल्क पहिले नै हटाइसकेको छ । यी थप कटौतीहरू आर्थिक सुधारका लागि अगस्त महिनामा आयोजित व्यापारिक समूह, ट्रेड युनियन र अर्थशास्त्रीहरूसँगको छलफलमा प्रस्तावित भएका थिए, जसले अष्ट्रेलियाको मन्द गतिमा रहेको उत्पादनशीलतालाई बढावा दिन सुझावहरू दिएका थिए । चाल्मर्सले बताए अनुसार, प्रस्तावित शुल्क कटौतीमा थप छलफल डिसेम्बरसम्म हुनेछ र अन्तिम सूची आगामी संघीय बजेटमा सार्वजनिक गरिनेछ, जुन सायद मे सन् २०२६ मा प्रस्तुत गरिनेछ ।

  • गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

    गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

    एजेन्सी
    १३ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यस्तो कार्यलाई ‘निर्दयी र अमानवीय अपराध’ भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरे । सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“आफ्नो आधारभूत अधिकार – भोजनको खोजीमा निस्केका सर्वसाधारणलाई लक्षित गरी बेपत्ता पारिएको खबर न केवल दुःखद छ, यो त यातनासँग बराबरको अपराध हो ।”

    उनीहरुको भनाइमा,“भोकाको अवस्थामा रहेका सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने कार्य तत्काल रोकिनुपर्छ ।” विज्ञहरूको अनुसार, गाजामा खाद्य वितरणमा संलग्न रहेको गाजा मानवीय प्रतिष्ठान (एक निजी संस्था जुन इजरायल र अमेरिकाको सहयोगमा स्थापना गरिएको हो) का वितरण केन्द्रहरूबाट एक बालकसहित कैयौं व्यक्तिहरू हराएको खबर आएको छ ।

    उक्त विज्ञप्तिमा भनिएको छ,“इजरायली सैनिकहरू सहायता लिन आएका व्यक्तिहरूको बेपत्ता पार्ने कार्यमा सिधै संलग्न छन् ।” साथै,“राज्यका सुरक्षा निकायहरूले हिरासतमा लिएका व्यक्तिहरूको अवस्था र स्थानबारे कुनै जानकारी नदिएकोले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मानिन्छ ।” विज्ञहरूका अनुसार,बेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी नदिनु, हिरासतको अस्वीकृति गर्नु र कानुनी प्रक्रिया नअपनाउनु जबरजस्ती बेपत्ता पारिएको अपराधमा पर्दछ ।

    संयुक्त राष्ट्रसंघले गत साता गाजाको एक प्रमुख क्षेत्रमा भोकमरी घोषणा गरिसकेको छ । त्यसको दोष उहाँले मानवीय सहायता आपूर्तिमा गरिएको व्यवस्थित अवरोधमा लगाएका थिए । इजरायले मार्चदेखि मे महिनासम्म गाजामा पूर्ण नाकाबन्दी गरेको थियो । त्यसपछिको चरणमा, संयुक्त राष्ट्रसंघका निकायहरूलाई पन्छाउँदै इजरायल र अमेरिकाको सहयोगमा गाजा मानवीय प्रतिष्ठान स्थापना गरिएको थियो, जसले खाद्य वितरणको कार्य सम्हालिरहेको छ ।

    विज्ञहरूका अनुसार,“हवाई आक्रमण र दैनिक गोलीबारीका कारण ती केन्द्रहरूमा सयौंको ज्यान गइसकेको छ ।” गाजा मानवीय प्रतिष्ठानले निजी सुरक्षाकर्मीहरू मार्फत सुरक्षाको व्यवस्था गरिरहेको भए तापनि, त्यसले बेपत्ता पारिएका घटनाहरू रोकेका छैन । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गत साता मात्र जनाए अनुसार, गएको मे महिनाको अन्त्यदेखि हालसम्म एक हजार ८५७ जना फिलिस्तीनी सहायता लिन जाँदा मारिएका छन्, जसमध्ये एक हजार २१ जना गाजा मानवीय प्रतिष्ठानका नजिकै मारिएका हुन् ।

    विज्ञहरूले चेतावनी दिँदै भनेका छन्,“अहिले यी वितरण केन्द्रहरूमा सहायता खोज्न जाने व्यक्तिहरू जबरजस्ती बेपत्ता पारिने थप जोखिममा परेका छन् ।”
    उहाँहरूले इजरायल सरकारलाई अपिल गरेका छन्,“पहिले नै संकटमा परेका जनसंख्याविरुद्ध भइरहेको यस्तो घृणित अपराध तुरुन्त रोक्नुपर्छ ।” त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन, निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारवाही गर्न आग्रह गरिएको छ ।

  • गर्मी छल्न कोप्रे झरना

    गर्मी छल्न कोप्रे झरना

    १३ भदौ, म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्षअघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । बेनी बजारबाट दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा कोप्रे झरना अवस्थित छ । सार्वजनिक बिदाका दिन बेनीका युवायुवती, किशोरकिशोरीदेखि प्रौढहरू कोप्रे झरनामा पुगेर रमाउने गर्छन् ।

    शान्त र एकान्त वातावरणमा छङछङ गर्दै झर्ने झरनाको फेदीमा बसेर रमाइलो महसुस गर्न पाइने कोप्रे झरना घुम्न गएकी बेनीकी प्रिती छन्त्यालले अनुभव सुनाइन् । “व्यस्त दैनिकी र सहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा आनन्द महसुस भयो”, उनले भनिन् । “बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ ।” हिउँदमा सानो हुने कोप्रे झरना बर्खामा ठूलो हुने गर्छ ।

    भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । करिब एक सय ५० मिटर अग्लो झरनाको फेदीबाट नजिकै अवलोकन गर्न सकिन्छ । घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द हुने बेनीका आनन्द पुनले बताउनुभयो । कोप्रे झरनामा भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा टिकटक, रिल्स र स्टोरी बनाउने गर्छन् ।

    बर्खायाममा कोप्रे झरनामा दिनभरजसो चहलपहल हुने बेनी नगरपालिका–२ का बासिन्दा नारायणबहादुर कार्कीले बताउनुभयो । कार्कीले झरना परिसरमा व्यक्तिगत लगानीमा चौतारी बनाएर बर र पिललको रुख रोप्नुभएको छ । बेनी नगरपालिकाले रु दुई लाख ५० हजार खर्चेर आश्रयस्थल, पार्किङस्थल र बस्नका लागि फलामको बेञ्च राखेको छ । थप पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई लाख विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए ।


    गण्डकी प्रदेश सरकारमार्फत बेनीको हाडेभिरबाट बगरफाँट कोप्रे झरनाको नजिकै दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको क्रममा छ । सडक सहज र थप पूर्वाधारका साथै प्रचारप्रसार गरी कोप्रे झरनालाई बर्खायामको गन्तव्य बनाउन जोड दिएको नगरप्रमुख केसीले बताए ।

  • थाईल्यान्डमा ‘काजिकी’ तुफान, पाँच जनाको मृत्यु, सयौं प्रभावित

    थाईल्यान्डमा ‘काजिकी’ तुफान, पाँच जनाको मृत्यु, सयौं प्रभावित

    एजेन्सी
    १३ भदौ, बैंकक । थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो र बाढी ल्याउँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मौसम विभागले यस क्षेत्रभर अझै केही दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । काजिकी तुफानले भियतनाम, लाओस, थाईल्यान्ड जस्ता देशहरूमा बाढी, पहिरो र ठूलो क्षति गर्न सक्छ । ‘काजिकी’ भन्ने शब्द जापानी भाषा हो, जसको अर्थ एउटा समुद्री माछा हो ।

    यो तुफानले सोमबार भियतनाममा प्रवेश गरेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि यो लाओस हुँदै थाईल्यान्डको उत्तरतर्फ सरेको थियो, जहाँ यसले ठूलो मात्रामा क्षति पु¥याएको हो । थाईल्यान्डको प्रकोप व्यवस्थापन तथा न्यूनीकरण विभागका अनुसार, १२ वटा उत्तरी प्रान्तहरूमा तुफानको असर परेको छ । नान, चिआङ राई र मे हङ सोन जस्ता क्षेत्रमा अचानक बाढीकम कारण धेरै गाउँहरू सम्पर्कविहीन बनेका छन् ।

    तुफानका कारण सात जना अझै बेपत्ता छन् भने ६ हजार ३०० भन्दा बढी नागरिक र एक हजार ८०० घरधुरी प्रभावित भएका छन् । बुधबार, पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र चिआङ माईमा आएको पहिरोले दुई जनाको ज्यान लिएको पुष्टि गरिएको छ । प्रकोप विभागले भनेको छ,“केही स्थानमा जलस्तर अझै बढ्न सक्छ, सावधानी अपनाउन जरुरी छ ।” थाई मौसम विभागले उत्तरी, उत्तरपूर्वी र मध्य क्षेत्रहरूमा अर्को हप्ता सम्म निरन्तर वर्षा हुने बताएको छ ।

    वर्षा जूनदेखि सेप्टेम्बरसम्म सामान्य भए पनि, विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण चरम मौसमीय घटनाहरू थप खतरनाक र अप्रत्याशित बन्न थालेका छन् । सन् २०११ मा आएको विनाशकारी बाढीले थाईल्यान्डभर ५०० भन्दा बढीको मृत्यु गराएको थियो र लाखौं घरहरूमा क्षति पु¥याएको थियो ।

  • छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु , एक घाइते

    छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु , एक घाइते

    १३ भदौ, अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले राससलाई बताए ।

    घटनामा घाइते कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको मा प्रहरी नायब उपरीक्षक खनालले बताए ।

  • मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    १३ भदौ, दमौली । मुग्लिन–पोखरा सडक योजना ९पश्चिम खण्ड० अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।

    मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।

  • आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

    आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

    १३ भदौ, काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।

    यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

  • कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

    कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

    १३ भदौ, गुल्मी । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ ।

    उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले राससलाई जानकारी दिए । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए । उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

  • जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय

    जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय

    १३ भदौ, काठमाडौं । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    १३ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ भने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।

  • जडिबुटीमा बसमा द्रुत गतिको स्कुटर ठोक्कियो, दुई युवकको मृत्यु

    जडिबुटीमा बसमा द्रुत गतिको स्कुटर ठोक्कियो, दुई युवकको मृत्यु

    १३ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

    काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

  • विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

    विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

    एजेन्सी
    १३ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।
    विदेशी पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको समयावधि बढाउन आवेदन दिन सक्नेछन् । यद्यपि, चिनियाँ पत्रकारहरूले केवल ९० दिनको भिसा मात्र पाउनेछन्।

    संयुक्त राज्य अमेरिकाले अहिलेसम्म सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधिको लागि भिसा जारी गर्दै आएको छ, यद्यपि कुनै पनि गैर–आप्रवासी भिसा १० वर्षभन्दा बढीको लागि मान्य हुँदैन। प्रस्तावित परिवर्तनहरू फेडरल रजिस्टरमा प्रकाशित गरिएको थियो तिनीहरू लागू हुनु अघि सार्वजनिक टिप्पणीको लागि छोटो अवधिको सुरुवात गरे। ट्रम्पको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले अनिर्दिष्ट सङ्ख्यामा रहेका विदेशीहरूले अनिश्चितकालका लागि आफ्नो अध्ययन लम्ब्याएको आरोप लगाएको छ।

    “विगतको प्रशासनले विदेशी विद्यार्थी र अन्य भिसा बाहकलाई अनिश्चितकालका लागि अमेरिकामा बस्न अनुमति दिएको छ, जसले सुरक्षा जोखिम निम्त्याएको छ, करदाताको अकथनीय डलर खर्च गरेको छ र अमेरिकी नागरिकलाई असुविधा भएको छ,” विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
    वाणिज्य विभागको तथ्याङ्कअनुसार सन् २०२३ मा अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान पुर्‍याएका अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी नागरिक र करदातालाई कसरी चोट पुर्‍याएका छन् भन्नेबारे विभागले केही बताएको छैन ।

    संयुक्त राज्य अमेरिकाले सन् २०२३ र सन् २०२४ को शैक्षिक सत्रमा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गरेको छ, जुन कुनै पनि अन्य देशको तुलनामा बढी हो । यसले राजस्वको महत्त्वपूर्ण स्रोत प्रदान गर्दछ किनकि विदेशीहरूले सामान्यतया पूर्ण ट्यूशन शुल्क तिर्छन्। अमेरिकी कलेज र विश्वविद्यालयको नेतृत्वको प्रतिनिधित्व गर्ने एक समूहले पछिल्लो कदमलाई अनावश्यक नोकरशाही अवरोधको रूपमा निन्दा गरेको छ जसले शैक्षिक निर्णय प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएको छ । यसले सम्भावित विद्यार्थीहरूलाई थप रोक्न सक्छ, अन्यथा अनुसन्धान र रोजगारी सिर्जनामा अवरोध पुर्‍याउँछ।

    “यो प्रस्तावित नियमले विश्वभरका प्रतिभाशाली व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको योगदानको कदर गरिएको छैन भन्ने सन्देश दिन्छ,” उच्च शिक्षा र आप्रवासनसम्बन्धी ‘प्रेसिडेन्ट्स एलायन्स’का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिरियम फेल्डब्लमले भने । उनले भने, “यो अन्तर्राष्ट्रिय विद्यार्थीका लागि मात्र हानिकारक छैन, यसले अमेरिकी कलेज र विश्वविद्यालयहरूको उच्च प्रतिभालाई आकर्षित गर्ने क्षमतालाई पनि कमजोर पार्छ र यसले हाम्रो विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतालाई कम गर्छ।”

    ट्रम्प प्रशासनले यसअघि चालेका कदमपछि विश्वविद्यालयहरूले आफ्नो शैक्षिक वर्ष सुरु गर्न थालेको र धेरैले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना कम भएको रिपोर्ट गरिरहेका बेला यो घोषणा गरिएको हो। यद्यपि, ट्रम्पले आफ्ना समकक्षी सी जिनपिङसँगको न्यानो सम्बन्धको प्रशंसा गर्दै अमेरिकामा चिनियाँ विद्यार्थीको सङ्ख्या दोब्बर गरेर छ लाख पुर्‍याउन चाहेको बताएका छन् ।
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीको भिसा ‘आक्रामक’ रूपमा रद्द गर्ने यसअघिको प्रतिबद्धताबाट पछि हटेको उनको यो भनाइले पुष्टि गर्छ । अमेरिकी विदेश मन्त्रालयले गत हप्ता ट्रम्पले पदभार ग्रहण गरेयता छ हजार विद्यार्थीको भिसा रद्द गरेको बताएको थियो। ट्रम्पले विश्वविद्यालयहरूलाई संघीय अनुसन्धान कोषको अर्बौ डलर पनि निलम्बन गरेका छन् । उनको प्रशासनले उनीहरूले यहुदीविरुद्ध काम नगरेको दाबी गरेको छ भने अमेरिकी संसद् (कङ्ग्रेस) ले निजी विश्वविद्यालयहरूको अनुदानमा तीव्र रूपमा कर बढाएको छ।

    आफू निर्वाचित हुनुअघि एक सम्बोधनमा उपराष्ट्रपति जेडी भान्सले कन्जरभेटिभहरूले विश्वविद्यालयहरूमाथि आक्रमण गर्नुपर्ने बताए । ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यमा पत्रकार भिसाको समयावधि घटाउने प्रस्ताव गरेका थिए । तर उनका उत्तराधिकारी जो बाइडेनले उक्त प्रस्ताव खारेज गरेका थिए ।

  • खोलामा डुबेर चार किशोरको मृत्यु

    खोलामा डुबेर चार किशोरको मृत्यु

    १३ भदौ, सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । चारैजना पौडी खेल्ने क्रममा डुबेका थिए ।

    डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । घट्नास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुसल घर फर्किएका छन् । धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरहरुको समूह नुहाउनका लागि गएको थियो ।

  • बाढीले बगाउँदा भक्तपुरमा बालिकाको मृत्यु

    बाढीले बगाउँदा भक्तपुरमा बालिकाको मृत्यु

    १३ भदौ, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ । भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

    भैँसी चराउन उनी दिदी सङ्गीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताए । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो ।

  • ‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क

    ‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क

    १२ भदौ, गण्डकी । पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ ।
    एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ ।

    आव २०८०\८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि एक्यापको भनाइ छ । ‘एक्याप’को आँकडाअनुसार अघिल्लो आवमा दुई लाख २२ हजार १८० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा गत आवमा पर्यटक सङ्ख्या बढेर दुई लाख ७८ हजार ११३ पुगेको थियो । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक थिए ।

    आव २०८०\८१ मा पर्यटक प्रवेश शुल्कबापत रु ३८ करोड ९४ लाख ६१ हजार ४८३ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाले दक्षिण एसियाली मुलुकका पर्यटकका लागि रु एक हजार र अन्य विदेशी पर्यटकका लागि रु तीन हजार प्रवेश शुल्क तोकिएको बताए । पर्यटक शुल्कलगायतबाट हुने आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको उनको भनाइ छ ।

    “एक्यापका लागि सरकारले छुट्टै बजेट दिँदैन, आन्तरिक आम्दानीबाट कार्यालय, कर्मचारी व्यवस्थापदेखि वार्षिक कार्यक्रम सञ्चालन हुने गर्छन्”, आयोजना प्रमुख डा कडरियाले भने, “स्थानीयस्तरमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत बजेट र कार्यक्रम कार्यान्वयन हुन्छ ।” चालु आवका लागि रु ३८ करोडको बजेट स्वीकृत भएको उनले बताए ।

    \
    ‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी ‘एक्याप’मै रहने र जडीबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोगबापत उठ्ने रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । ‘एक्याप’भित्र सञ्चालित जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क, निषेधित क्षेत्र प्रवेश शुल्क आदिबाट पनि राज्यलाई महत्वपूर्ण लाभ पुगिरहेको उनको भनाइ छ ।

    विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क सङ्कलन भएको जनाइएको छ । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । उपल्लो मुस्ताङ घुम्ने पर्यटकले ५०० डलर र नार फू जाने पर्यटकले एक हजार डलर तिर्ने गरेका छन् ।

    पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा दुई मुख्य पर्यटकीययाम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रहने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । आव २०७९\८० मा जम्मा एक लाख ७२ हजार १०८ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन् ।

    वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।

  • पोखरामा ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने

    पोखरामा ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने

    १२ भदौ, कास्की । पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा सुधार गर्न एशियाली विकास बैंक (एडिर्बी)ले सहयोग गर्ने भएको छ । यहाँको दिगो सहरी यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि सो सहयोग प्राप्त हुन लागेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा नेपालमा यो परियोजना सञ्चालन गर्न लागिएको हो ।

    यसमध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुनेछ । महानगर प्रमुख आचार्यले भने, “परियोजना सञ्चालन गर्न आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्नेछ । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ ।”

    पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार एसियाली विकास बैंकले प्राथमिकताका साथ यस क्षेत्रको यातायात व्यवस्थापनका लागि ‘इमोबिलिटी’परियोजना सञ्चालनमा चासो दिएको बताइन्छ । महानगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एडिबीको मुख्यालय पुगेर पोखरामा इमोबिलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए । पोखरामा इमोबिलिटी परियोजना सञ्चालन गर्न आवश्यक नीतिगत व्यवस्थाका सम्बन्धमा आज छलफल भएको छ ।

    गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायीसमेत सरोकारवालाको सहभागितामा भएको उक्त कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड दिनुपर्ने सुझाव दिइएको थियो । यसका साथै चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवासम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बसस्टपको पूर्वाधार तयार गर्नेलगायत विषयमा छलफल भएको हो ।

    नगर प्रमुख आचार्यले यातायात व्यवसायीलाई सेवाको गुणस्तर सुधार गर्न र जनस्वास्थ्य तथा पर्यावरणप्रति सचेत बन्न आग्रह गरे । पोखरालगायत समग्र गण्डकी प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्नेगरी प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको प्रतिनिधिमण्डल परियोजनाका विषयमा भइरहेको छलफलमा सहभागी भएको हो ।

  • शून्य भन्सार सुविधामा स्वदेशी उत्पादन अमेरिका निर्यात गर्ने तयारी

    शून्य भन्सार सुविधामा स्वदेशी उत्पादन अमेरिका निर्यात गर्ने तयारी

    १२ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रतकिूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने बताए ।


    मन्त्री भण्डारीले भने, “मुलुकभित्र अन्तरराष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्नेछौँ । यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्त्व राख्ने छ ।” उनले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी)मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको जानकारी दिए ।


    नेपालली वस्तुको व्यापारले पछिल्लो समय विश्वबजारमा प्राथमिकता पाइरहेको बताउँदै उनले सङ्घीय सरकारले आमउपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिमा अघि बढिरहेको बताए । उनले गलैँचा, पश्मिनाजस्ता वस्तु नेपालीका पहिचान भएकाले यस्ता उद्योगको संरक्षण गरी उत्पदान बढाउनेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।


    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सङ्कोचबिना लगानी गर्न आग्रह गरे । उनले भने, “सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउनेछ । हामी निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशको सम्भावनालाई यथार्थमा बदल्न चाहन्छौँ, सबमा सबैको सहयोग जरुरी छ ।”

    मुख्यमन्त्री शाहले सुदूरपश्चिममा जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खनिजलगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यहाँको आर्थिक रुपान्तरणका लागि यी क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको धारणा राखे । कार्यक्रमका अधिकांश सहभागीले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावनासहित आवश्यक पूर्वाधार रहेकाले त्यहाँ लगानीका लागि ढिलाइ गर्न नहुने धारणा राखेका छन् ।

  • राष्ट्रपति पौडेल सङ्खुवासभामा

    राष्ट्रपति पौडेल सङ्खुवासभामा

    १२ भदौ, खाँदबारी । राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ पुगेका छन् । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ ।

    राष्ट्रपति पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गरे । राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गरेका छन् ।

  • डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

    डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

    १२ भदौ, अमरगढी । यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
    मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए । उनका अनुसार ठाँटा बजारबाट डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो ।

    त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    रासस