Category: फिचर

  • मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

    मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

    १२ भदौ, सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ । पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने बताइएको छ । आयोजनाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइरालाले भने, “यो संरचना निर्माणपछि पूर्वपश्चिम तर्फ सवारीसाधन ओभरपासबाटै गुड्नेछन् भने उत्तर—दक्षिण तर्फका सवारीसाधन मुनिबाट क्रस हुने व्यवस्था मिलाइनेछ ।”

    सोही योजनाअन्तर्गत लहान चोकमासमेत अर्को ओभरपास निर्माण सुरु भइसकेको छ । विद्युत् पोल नसरिएकाले त्यहाँ केही प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डमा हालसम्म ६६.५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।

  • बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध

    बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध

    १२ भदौ, काठमाडौं । अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।

    सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए । उनले भने, “कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।”


    विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपक अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपक अवरुद्ध छ ।
    पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपक अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ । तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपक अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्णरूपक अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

    “रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,” विभागको तथ्याङ्कमा उल्लेख छ, “दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।”

  • पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

    पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

    उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै प्रधानमन्त्रीको सचिवालयले काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

    भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गरेको बताइएको छ ।


    अध्यक्ष ओलीले “पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ ।

    केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन”, अध्यक्ष ओलीले भन्नुभएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ । साथै प्रधानमन्त्रीको निजी सचिवालयले वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • गाजामा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना

    गाजामा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना

    एजेन्सी
    १२ भदौ, काठमाडौं । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गाजा पट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना एको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ । ओएचसिएचआरका प्रवक्ता थमिन अल–खितानले इजरायली कब्जा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताए ।

    सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारहरूको हत्यासम्बन्धी प्रश्नको उत्तर दिंदै उनले भने, “हामीलाई थाहा छ कि पाँच पत्रकारमध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन् । यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो ।”

    उनले भने, “सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन् । यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ ।” अल–खितानले अस्पतालहरूलाई लक्षित गरेजस्तै पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको प्रस्ट पारे ।

    उनले इजरायली कब्जा अधिकारीहरूले यी घटनाहरूको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानहरूले परिणाम दिनैपर्छ, न्याय हुनुपर्छ’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताए । ओएचसिएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदमहरू नदेखेको र अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक नभएको बताए ।

  • पूर्वी चाडमा हैजाका कारण ७५ जनाको मृत्यु

    पूर्वी चाडमा हैजाका कारण ७५ जनाको मृत्यु

    एजेन्सी
    १२ भदौ, काठमाडौं । पूर्वी चाडमा हैजाको प्रकोपका कारण जुलाइदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
    स्वास्थ्य अधिकारीहरुले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्यमन्त्री अब्देलमादजिद अब्देराहिमले बुधबार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक साता लामो खोप अभियान सञ्चालन गर्ने घोषणा गरे । अब्देराहिमले भने, “सरकारले यस रोगको फैलावट रोक्नका लागि पानी, सरसफाइ र स्वच्छताका उपायहरूलाई थप कडाइका साथ लागु गरेको छ।

    जुलाई १३ मा ओउडाई प्रान्तको डोगुइ शरणार्थी शिविरमा पहिलो हैजाको घटना फेला परेपछि करिब २० हजार सुडानी शरणार्थी रहेको शिविरमा हैजासँग सम्बन्धित चार जनाको मृत्यु भएको थियो। गत जुन महिनामा विश्व स्वास्थ्य सङ्गठनले सुडानमा हैजाका बिरामी बढ्न सक्ने र चाडलगायत छिमेकी देशहरूमा फैलनसक्ने चेतावनी दिएको थियो।

  • अफ्रिकामा ८२ हजार भन्दा बढी मानिस बेपत्ता

    अफ्रिकामा ८२ हजार भन्दा बढी मानिस बेपत्ता

    एजेन्सी
    १२ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले सशस्त्र द्वन्द्व र हिंसाका कारण अफ्रिकामा अहिले ८२ हजारभन्दा बढी व्यक्ति वेपत्ताको सूचीमा रहेको जनाएको छ । केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा आईसीआरसीका अफ्रिका क्षेत्रीय निर्देशक प्याट्रिक युसुफले भने, “यो आँकडा बेपत्ता भएकाहरूको एउटा सानो अंशमात्र हो ।” आईसीआरसी र यसको अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनका साझेदारहरूले सन् २०२४ मा उक्त महादेशमा ७५५ पारिवारिक पुनर्मिलनको सुविधा प्रदान गरेका र पाँच हजार ८३ परिवारहरूलाई प्रियजनहरू कहाँ छन् भन्ने निश्चित समाचार प्रदान गरेका विज्ञप्तिमा उल्लेख छ ।

    तर यी सकारात्मक नतिजाका बावजुद आईसीआरसीले अफ्रिकामा हराएका व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको बताएको छ। परोपकारी संस्थाका अनुसार सुडानमा भएको द्वन्द्व यो वृद्धिको प्रमुख कारण हो र द्वन्द्वका क्रममा हराएका व्यक्ति पत्ता लगाउन सात हजार ७०० भन्दा बढी अनुरोध गरिएको छ । आइसिआरसीले भनेको छ, “छिमेकी चाड र दक्षिण सुडानबाट आउने अनुरोधहरूको बढ्दो सङ्ख्याका कारण यो आँकडा सन् २०२३ को तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ ।

    अफ्रिकी देशहरूमा सुडानबाट भागेर आएका मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।” आईसीआरसीले अफ्रिकामा बेपत्ता हुने घटनाको दृश्यता र यस क्षेत्रमा हराएका व्यक्तिहरूको मुद्दालाई रोक्न र प्रतिक्रिया दिन थप अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेको छ। चाडमा दर्ता भएका हराएका व्यक्तिको सङ्ख्या दुई हजार ५७७ पुगेको छ । सन् २०२३ को तुलनामा यो २७५ प्रतिशतको वृद्धि हो । दक्षिण सुडानमा पनि यो अवस्था दोहोरिएको छ । दक्षिण सुडानमा वेपत्ता व्यक्तिहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको र छ हजार ५९७ जना पुगेको विज्ञप्तिमा उल्लेख छ। चाड र दक्षिण सुडानमा द्वन्द्व सुरु भएदेखि नै सुडानी शरणार्थीको ओइरो लागेको आइसिआरसीले जनाएको छ ।

  • वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

    वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

    १२ भदौ, वीरगञ्ज । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो ।

    छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

    १२ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

  • बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव, आज अधिकांश स्थानमा वर्षा

    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव, आज अधिकांश स्थानमा वर्षा

    १२ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

    सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

    १२ भदौ, बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताए । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए ।


    यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

    दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

    महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।

  • अब पोखराबाट अष्ट्रेलिया उडान

    अब पोखराबाट अष्ट्रेलिया उडान

    सिबी अधिकारी/ रासस

    १२ भदौ, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए ।
    आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ ।

    “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने । यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

    यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । उता, भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।

    भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

  • अब ठूलो पर्दामा ‘हरिबहादुर’

    अब ठूलो पर्दामा ‘हरिबहादुर’

    १२ भदौ, काठमाडौं । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

    गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत भए । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै उनले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

    अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेखेको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।


    अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिए । निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।


    गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।

  • देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    १२ भदौ, नवलपुर । यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिए । “हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ । अबको केही दिनमा जग ढलानको काम हुन्छ”, उनले भने ।


    वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताए । मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उनले बताए । ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । यस्तै, १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ ।

    जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको आवास हुनेछ । अस्पतालमा एक्स–रे कक्ष, शल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि आवश्यक पर्ने कोठाहरू निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उनले बताए । पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ ।

  • ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रियामा यस्तो तथ्यबारे जानकारी दिइएको हो ।

    सिएमसी नेपालका निर्देशक डा पशुपति महत मानसिक स्वास्थ्य, यसको राष्ट्रिय नीति तथा रणनीतिबारे आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कअनुसार कर्णालीमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी भएको बताए । ११ दशमलव सात प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको जनाउँदै उनले यसको रोकथामका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने धारणा राखे ।


    कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताए । उनले भने, “हाल रोग लाग्नेभन्दा पनि लुकाउने समस्या छ, यो सोचनीय कुरा हो । धेरै थोरै मात्र हो सबै मानिसमा मानसिक स्वास्थ्य समस्या छ । यसमा समयमै गम्भीर बनौँ”, उनले भने ।


    मन्त्री भण्डारीले कर्णाली प्रदेशले देशका सात प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनस्तरमा पुर्याएको बताए । सोही मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्य आधारभूत अधिकार भएको बताए । स्वास्थ्यले तत्काल र शिक्षाले दीर्घकालीन प्रभाव पार्ने भएकाले जतिसक्दो मानव स्वास्थ्य संरक्षणका लागि सबै सरोकार भएकाहरू सचेत बन्नुपर्ने उनको भनाइ थियो ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक शक्ति सुवेदीले प्रदेशका विभिन्न जिल्लाका समस्याबारे अध्ययन गरेर विभिन्न प्रकारका औषधि आपूर्तिको काम भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि सबै लाग्नुपर्ने बताए ।

  • प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नेछन् । उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कर्नेछन् ।

  • रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    ११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो ।

    उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । आज बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो । केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो । आत्मदाह गर्नु अघि उनले उक्त घटनामा आफू संलग्न रहेको स्वीकार्दै भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

    सो भिडियोका अनुसार साह पासवानका पूर्व प्रेमिका हुन् । उनीहरुबीच प्रेम भएर पनि परिवारले छुटाएकाले आफू तनावमा परेको उनले बताएका छन् । गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो ।

  • भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

    भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

    ११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो ।

    राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको जनाएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको पर्यटन व्यवसायीलाई राहत मिल्ने बताए । वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा धेरै होटल छन् । तर, अपेक्षाकृत रुपमा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको थिएन । यहाँको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।

  • नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

    नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

    ११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिए ।


    प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्ने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भने, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।” भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उनको भनाइ थियो ।

    मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताए । यसैबीच, उनले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गरे ।

    खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उनले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उनको भनाइ छ ।

  • काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ

    काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ

    ११ भदौ, काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौँ महानगरपालिका–३१ का ५४ वर्षीय गोपाल तण्डुकार, रामेछाप, शैलुङ दोरम्बा गाउँपालिका–७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौँ महानगरपालिका–२४ का ५० वर्षीय सानुकाजी महर्जन तथा काठमाडौँ महानगरपालिका–१८ का ४५ वर्षीय राजु नापित रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवातास खेलाइ रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख २१ हजार रुपैयाँ नगद र दश बुक ताससहित पक्राउ गरेको हो ।” पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रवक्ता बोहराले बताए ।

  • अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

    अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

    ११ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ । प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम ९डिएनए सफ्टवेयर० र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो ।

    नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा आज एक समारोहबीच अमेरिकी दूतावासले उक्त प्रविधि हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो्छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।


    उक्त प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तरराष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै यस उपकरणले लागुऔषधको स्क्रिनिङमा क्षमता अभिवृद्धि हुने उनले बताए । प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासका लागि विगतका वर्षमा विभिन्न परामर्श, तालिम र उपकरणसमेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताए ।


    आधुनिक प्रविधिको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थमसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

  • संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

    संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

    ११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए । संविधानको धारा १३७ को संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था रहेको छ । त्यसको ९१० मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने छन् भनिएको छ ।

    “संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन, न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो”, प्रधान न्यायाधीश राउतले आज पत्रकारसँग भने, “संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई संवैधानिक अधिकार दिएको छ, त्यही प्रयोग गरेर मैले इजलास गठन गरे ।”

    संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरु फैलाउने भएको उल्लेख गर्दै उनले भन्नुभयो, “संवैधानिक इजलास गठनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गरेको छ, अदालतको गरिमा, मर्यादा, पारदर्शी र जिम्मेवार बनाउन लागिरहेको छु ।” सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा एक वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उनको भनाइ थियो । बीचमा केही समय रोकिएको संवैधानिक इजलास आजदेखि सञ्चालनमा आएको छ । संवैधानिक इजलासमा २२८ मुद्दा छन् ।

  • साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप

    साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप

    ११ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् रु १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले रु पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा रु ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।

    वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति सात दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् रु ४० अर्ब ऋण उठाइएको हो । बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा एक दशमलव ९६ प्रतिशत अर्थात् रु चार अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ ।

    त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि रु चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा रु ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट आठ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

  • विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    ११ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।

    घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    ११ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।

  • सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    ११ भदौ, बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।

    दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य छ । पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

    खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

    एजेन्सी
    ११ भदौ, काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ ।
    स्पेसएक्सको ‘स्टारशिप’ एउटा अत्याधुनिक पुनः प्रयोगयोग्य अन्तरिक्षयान हो, जसले मानिस र मालसामानलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगलग्रह र अन्य अन्तरिक्ष गन्तव्यहरूमा लैजान सक्षम छ । स्टारशिपले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण, अन्तरिक्ष पर्यटन र दीर्घकालीन अन्तरिक्ष अन्वेषणका लागि नयाँ सम्भावनाहरू खोल्दैछ ।

    स्पेसएक्सले टेक्सासस्थित आफ्नो स्टारबेस सुविधाबाट भएको यो प्रक्षेपण सुरुमा आइतबार गर्ने योजना थियो, तर भूमिगत प्रणालीमा देखिएको समस्या र प्रक्षेपण पुनः तालिका मिलाउनुपर्ने कारणले एक दिन पछि सारिएको थियो । सोमबारको प्रक्षेपण प्रयासमा, प्रक्षेपण ४० सेकेन्डअघि रोकिएको थियो र स्पेसएक्सले सामाजिक संजाल प्लेटफर्म एक्समा खराब मौसमका कारण यो उडान रद्द गरिएको जानकारी दिएको छ ।

    कम्पनीले भनेको छ,“हामी अहिले अर्को उपयुक्त समय खोज्दैछौं र छिट्टै नयाँ प्रक्षेपण मिति तय गर्नेछौं ।” दशौं उडान परीक्षणमा अघिल्ला मिशनहरूजस्तै स्टारशिपको पहिलो पेलोड पठाउने र पुनः प्रवेश गर्ने विभिन्न प्रयोगहरू गरिने अपेक्षा गरिएको छ । यी प्रयोगहरू प्रक्षेपण स्थलमा माथिल्लो चरणको सुरक्षित फिर्ता सुनिश्चित गर्न केन्द्रित छन् ।

    स्पेसएक्सको स्टारशिप अन्तरिक्षयान र सुपर हेभी रकेटलाई संयुक्त रूपमा स्टारशिप भनिन्छ, जुन पृथ्वीको कक्ष, चन्द्रमा, मार्स र त्यसभन्दा पर रहेका गन्तव्यहरूमा चालक दल र मालसामान बोक्न सक्ने पूर्ण रूपमा पुनः प्रयोगयोग्य यातायात प्रणाली हो ।

  • आज विश्व ताल दिवस, संरक्षणमा जोड

    आज विश्व ताल दिवस, संरक्षणमा जोड

    ११ भदौ, काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ । मानवका निम्ति पेयजलको आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको महत्त्वपूर्ण स्रोत तालहरूले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन् । बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन्भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ११ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

    सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

    ११ भदौ, सिरहा । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२\८३ मा प्रारम्भिक चरणका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ । सघन सहरी आयोजनाका इञ्जिनियर उदयनारायण चौधरीले भने, “सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ ।

    अब हामी चाँडै नै सडकको काम सुरु गर्छौँ । चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छौँ ।” नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुनेछ ।

    अहिले रिस्कुवासीलाई सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झन्झट नहुने उनीहरू बताउँछन् ।

    गोलबजार–१० निवासी क्षेत्रकुमार आले भन्छन्, “सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।” गोलबजारका व्यापारी सञ्जय यादवले नयाँ सडकले पहाड र तराईबीच हुने ढुवानी सहज बनाउने बताए । यस सडकले उदयपुरको उत्पादनलाई गोलबजारको व्यापारिक केन्द्रसम्म ल्याउन र त्यहाँबाट तराईको उपज पहाड पठाउन सहज हुने भएकाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले भने, “पहाडमा हुने उत्पादन तराईमा र तराईमा हुने उत्पादन पहाडमा पठाउन सजिलो हुनेछ । ढुवानी लागत कम हुँदा व्यापारमा प्रतिस्पर्धा बढ्नेछ ।”

    आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेस प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इञ्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ । पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । उनले भने, “कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगतझै बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्दछु ।” साथै उनले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए ।
    सिरहा–उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्नेछ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोको भनाइ छ ।

  • इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा पनि तत्काल कारवाही नहुने

    इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा पनि तत्काल कारवाही नहुने

    ११ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

    विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीसाधनको सहजताका लागि आवश्यकताअनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भए बमोजिम अग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटी नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ ।