Category: फिचर

  • उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

    उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

    ११ भदौ, काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।


    यसअघि उखु किसानहरुले प्रतिक्विन्टल रु ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु ३५ उपलब्ध गराउने निर्णय भएको थियो । यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ ।

    वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए । उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी हुनुभएको थियो । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

  • एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

    एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

    एजेन्सी
    ११ भदौ, काठमाडौं । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो ।

    सम्झौताअनुसार १०३ नेक्स्ट–जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९ करोड डलर र जीई एरोस्पेससँग २० वर्षे इन्जिन मर्मत सेवा सम्झौताका लागि १३ अर्ब डलर विनियोजन गरिएको छ ।

    कोरियन एयरले विज्ञप्तिमा भनेको छ, “यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई अझ बलियो बनाउन गरिएको रणनीतिक निर्णय हो । अमेरिकी बजारमा गरिएको यो लगानीले एयरलाइनको परिचालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धा बढाउनेछ, साथै दीर्घकालीन व्यावसायिक सम्बन्धलाई सुदृढ गर्दै दिगो विकासलाई प्रोत्साहित गर्नेछ ।”

    खरिद अर्डरमा २० बोइङ ७७७–९, २५ बोइङ ७८७–१०, ५० बोइङ ७३७–१० र आठ बोइङ ७७७–८एफ मालवाहक विमान समावेश छन् । यी सबै विमान सन् २०३० को अन्त्यसम्म चरणबद्ध रूपमा डेलिभरी हुने तय गरिएको छ । हस्ताक्षर समारोहमा कोरियन एयर र हन्जिन समूहका अध्यक्ष तथा सिइओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष तथा सिइओ स्टेफनी पोप र जीई एरोस्पेसका कमर्सियल इन्जिन तथा सेवा विभागका अध्यक्ष तथा सिइओ रसेल स्टोक्स सहभागी थिए ।

  • चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

    चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

    एजेन्सी
    १० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण छ– छ लाख विद्यार्थी । यो ठूलो कुरा हो ।”

    चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको उनले बताए । “राष्ट्रपति सी मलाई चीन आउन चाहनुहुन्छ । यो निकै महत्त्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा सङ्कलन गरिरहेका छौँ । तर हामी चीनसँग राम्रो गर्नेछौँ”, ट्रम्पले भने । उनका अनुसार, अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ । यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा एक सय ४५ प्रतिशत कर लगाएको थियो । यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा एक सय २५ प्रतिशत कर लगाएको थियो ।

    जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोकिने सहमति गरेका थिए, तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाडेका छैनन् । गत हप्ता मात्रै उनले चिनियाँ निर्मित म्याग्नेटमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए । म्याग्नेटलाई उनले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ को रूपमा चित्रण गरेका थिए ।
    “यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन”, ट्रम्पले पत्रकारहरूलाई भने, “चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ । तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।” फक्स न्युजका अनुसार हाल करिब दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यसैबीच, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिकहरू, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गरेका थिए । तर ट्रम्पले जुन महिनामा पत्रकारहरूसँग चीनबाट विद्यार्थी स्वागत गर्ने पक्षमा आफू सधैँ रहेको दोहो¥याएका छन् ।

  • भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

    भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

    एजेन्सी
    १० भदौ, काठमाडौं । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो ।

    पाकिस्तानको राष्ट्रीय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ । उद्धारकर्ताहरूले मात्र कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पु¥याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ ।

    एनडिएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ । भारी मनसुनी वर्षा जारी रहँदा पाकिस्तानले हालै तीव्र बाढीको चेतावनी र निकासी अभियान चलाएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

    स्थानीय बासिन्दाले पूर्व चेतावनी नपाएको गुनासो गरेका थिए, तर अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् । धेरै पीडितहरू प्राकृतिक खोल्सामा बसोबास गर्नेहरू थिए । जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले आठ सयभन्दा बढीको ज्यान लिएको छ । विवादित काश्मीर क्षेत्रमा मात्रै दर्जनौँको मृत्यु भएको छ र भारत प्रशासित भागमा हजारौँ विस्थापित भएका छन् ।

    यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग)बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । भारतले अप्रिलमा काश्मीरमा २६ जना पर्यटक मारिएपछि उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।

    सिन्धु जल सन्धि विगतमा सन् १९६५ र सन् १९७१ का युद्ध र सन् १९९९ को ठूलो सीमा झडपसम्म पनि कायम रहन सफल भएको थियो । तर पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी, कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो । जसको परिणामस्वरूप मे महिनामा दुवै पक्षबीच मिसाइल आक्रमणसमेत भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएपछि मात्र आक्रमण रोकिन पुगेको थियो । त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।

    हालै पाकिस्तानले बारम्बार आरीघोप्टे वर्षाले ल्याउने बाढी र सामान्यभन्दा बढी वर्षा भोगिरहेको छ । देशमा मनसुनी मौसम जुलाईदेखि सेप्टेम्बरसम्म चल्छ ।
    विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । यस वर्षको वर्षाले सन् २०२२ को विनाशकारी बाढी दोहोरिने डर पैदा गरेको छ । सन् २०२२ को विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो र एक हजार सात सय ३९ जनाको मृत्यु भएको थियो ।

  • पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

    पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

    १० भदौ, काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा छलफल भएको हो ।

    छलफलमा अर्थमन्त्री पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी थिए ।

  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    १० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।

    उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

  • भोटेकोशीमा बोलेरो खस्यो  : दुई बेपत्ता

    भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता

    १० भदौ, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

    उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खोजी कार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  • वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    १० भदौ, वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।”

    निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाएका थिए । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।

  • अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    १० भदौ, मध्यविन्दु । यहाँका देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना सवार थिए ।

    घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइते हुनेहरूमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेकी छन् ।

  • तीज रमझम तस्वीरमा

    तीज रमझम तस्वीरमा

    १० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्तिमा तीजको दिन मङ्गलबार पूजाअर्चना गर्दै भक्तजनहरू । तस्बिर : सुरेश आचार्य / रासस
    तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन र पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिर: हरिराम भेटुवाल / रासस
    तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
    तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
    तिजको दिन मङ्गलबार बिहान भिसमिसे उज्यालोमै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
  • वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    रासस
    १० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।

    नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् ।

    त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।

  • कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना

    कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना

    १० भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

  • तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

    तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

    १० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।


    यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।

    परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

    “शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् ।


    राष्ट्रपति पौडेलले हरितालिका तीज पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

  • व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

    व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

    १० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।
    उनले भनेका छन्, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना ।” प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताए ।
    “प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”

    आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।

  • हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    १० भदौ, काठमाडौं । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
    केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन् ।

  • भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    १० भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे ।

    त्यसअवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । यस्तै, उपराष्ट्रपति सुआनले उहाँको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन् ।

    यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरिन् ।


    भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

  • पशुपतिनाथमा तीजको तयारी पूरा

    पशुपतिनाथमा तीजको तयारी पूरा

    १० भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
    दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।
    यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।

    चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।

    दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले बताए । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।

    पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको जानकारी दिइन् ।


    बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरू बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । विगतका वर्षमा जस्तै यसवर्ष पनि तीजका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने कोषले जनाएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागबाट मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।

    मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइ पर्वको दुई दिन अघिदेखि नै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था भएको छ । यसका साथै स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइलगायत व्यवस्था चुस्त रूपमा गरिएको कोषले जनाएको छ ।

  • भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

    भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

    ९ भदौ, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरेकी छिन् । उनलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गरे । उनले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गरिन् ।


    यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गरिन् । उनलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गरे । उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आएकी हुन् । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

    उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । साथै, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । नेपाल भ्रमण सम्पन्न गरी उनी आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

  • हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

    हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

    ९ भदौ, बागमती । हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए । मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।

    ‘‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ”, उनले भने, ‘‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ ।”
    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

    तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ । यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुनढुङ्गा खानी छ ।

    पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।

  • बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

    बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

    ९ भदौ, बेलायत । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिए ।


    मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गरेका थिए । उनले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे । कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गरे ।

  • कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

    कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

    ९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो ।

    कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बन्नुभएका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए । बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने उपसभापति गुरुङले जानकारी दिए ।

  • यस वर्ष घट्यो धान रोपाइँ

    यस वर्ष घट्यो धान रोपाइँ

    ९ भदौ, काठमाडौं । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो ।

    कोशी प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ । यसैगरी, मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

    कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाइँ कम भएको जानकारी दिए । “वर्षा कम हुँदा मधेस प्रदेशमा अझ ढिलो गरी रोपाइँ सम्पन्न भयो । वर्षा पर्याप्त नहुँदा रोपिसकेको धानलाई सिँचाइ सुविधा पुगेको छैन । यसले यस वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,” उनले भने ।


    मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा ४ दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो । विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

  • नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    ९ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो । आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्य दशमलव ३४, र जीवन बिमा समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव शून्य पाँच र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य तीन दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ७६ करोड ९६ लाख ७७ हजार ९५१ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सबैभन्दा बढी पाँच लाख ३७ हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।

  • दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

    दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

    ९ भदौ, काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए । बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत थिए । बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए । अन्तरराष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।

  • सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

    सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

    ९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१\८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन रु दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
    गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीनरतीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो । इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ । सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ ।

    गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुङ्गाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ । चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ ।

    महिला तथा विकट क्षेत्रका छात्ररछात्राको विद्यालय पहुँचमा सहजता पुर्‍याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ । सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ ।

    यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ ।

    डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन पिउने पानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ । पर्यटन तथा पर्यावरणलाई टेवा पु¥याउने उद्देश्यले काठमाडौँको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ ।

    गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ । शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ ।

  • आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

    आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

    ९ भदौ, लण्डन । बेलायत सरकारले आप्रवासीहरु बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तथाकथित शरणार्थी बसेको होटलहरूको महँगो प्रयोगलाई अन्त्य गर्ने प्रयास गर्दै शरण नपाएका आवेदकहरूको अपील छिटो सुन्नको लागि एक नयाँ स्वतन्त्र निकाय स्थापना गर्ने बताएको छ । यो बेलायती नागरिकको ठूलो समूहमा असन्तोषको विषय बनेको छ।

    लेबर सरकारले दक्षिणपूर्वी इङ्ल्यान्डको एक केन्द्रमा होटलमा शरण खोज्नेहरूलाई राख्न रोक लगाउने अदालतको फैसलाविरुद्ध अपिल गर्ने शुक्रबार जनाएको छ । अदालतको यो आदेशले देशभरका शरणार्थीलाई राख्ने होटलबाहिर विरोध प्रदर्शन र प्रतिवादको लहरको घोषणा गरेको थियो। बेलायतको ब्रिस्टल, एक्सेटर, ट्यामवर्थ, क्यानोक, नुनेटन, लिभरपुल, वेकफिल्ड, न्यूक्यासल, एबरडिन, पर्थ र मध्य लण्डनमा ‘शरण प्रणालीको अन्त्य’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारी समूहहरूलाई तितरवितर पारेको थियो भने अधिकारीहरूले आन्दोलन दबाउने क्रममा प्रदर्शनकारीहरूसँग व्यापक सङ्घर्ष गर्नुपरेको थियो । एभोन र समरसेट हेर्ने प्रहरी अधिकारी किथ स्मिथले भने, “हाम्रा अधिकारीहरूले वास्तवमै चुनौतीपूर्ण परिस्थितिको सामना गरेका छन्।” उनले भने, “अशान्तिका क्षणहरू भएपनि हामी यो भन्न पाउँदा खुसी छौँ । दुई विरोध प्रदर्शनहरू कुनै अप्रिय घटना बिना नै सकिएका छन्।”

    लिभरपूलको प्रदर्शनमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल व्यवहार गरेको र आक्रमण गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको थियो । दक्षिणपूर्वी इङ्ल्यान्डको एपिङस्थित एक होटलबाहिर १४ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रदर्शनको पछिल्लो लहर सुरु भएको छ । आइतबार र सोमबारका लागि थप कार्यक्रमहरूको योजना बनाइएको थियो । आइतबार बेलायतमा साप्ताहिक सार्वजनिक बिदा हो।

    पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्ममा ३२ हजार ३४५ शरणार्थीलाई बेलायतका होटलमा अस्थायी रूपमा राखिएको थियो ।
    सरकारले प्रारम्भिक शरण दावीहरूको काम घटाउन सङ्घर्ष गरिरहेको छ । पछिल्लो समय, सरकारको अपीलमा अदालतको सुनुवाईमा भएको ढिलाइले शरण आवास प्रणालीमा दबाबको सबैभन्दा ठूलो कारण बनेको छ । गृहमन्त्री यवेट कूपरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “हामीले शरण प्रणालीलाई पूर्ण अराजकताको अवस्थामा विरासतका रूपमा पाएका छौँ । यसलाई सफलतापूर्वक व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो ।

  • चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

    चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

    एजेन्सी
    ९ भदौ, काठमाडौं । चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १ देखि अगस्ट २३ सम्म ८२ करोड ३० लाखभन्दा बढी यात्रुहरूले रेलमार्गबाट यात्रा गरेका छन् । यो तथ्यांक चीन राज्य रेल समूह कम्पनी लिमिटेडले सार्वजनिक गरेको हो । यसले गत वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले वृद्धि देखाएको छ, जुन रेल यातायातमा ठूलो वृद्धिको सङ्केत हो ।

    यस अवधिमा दैनिक औसत एक करोड ५२ लाखभन्दा बढी यात्रुहरूले रेलमार्ग प्रयोग गरेका थिए । गर्मीको बिदा विशेष गरी विद्यार्थीहरूले घर फर्कने, परिवारसँग भेटघाट गर्ने तथा आन्तरिक पर्यटनका लागि यात्रा गर्ने चलनले रेलमार्गमा यात्रुको चाप अत्यधिक बढाएको छ ।

    गर्मी यात्राको यो सिजन चीनमा सबैभन्दा व्यस्त मानिन्छ, जहाँ मानिसहरू लामो दूरीको यात्रा गरी आफ्ना परिवार र आफन्तसँग भेटघाट गर्दै गर्मीको छुट्टी बिताउँछन् । यस बढ्दो यात्रु संख्यालाई व्यवस्थित गर्न चीन राज्य रेल समूहले धेरै पहलहरू अगाडि सारेको छ । लोकप्रिय मार्गहरूमा अतिरिक्त रेल सेवा सञ्चालन गर्ने, अधिकतम क्षमता सुनिश्चित गर्ने र यात्रुको चापलाई सहज रूपमा व्यवस्थापन गर्ने उपायहरू लागू गरिएको छ ।

    यसका साथै, यात्रुहरूको सुविधा र अनुभवलाई अझ उत्कृष्ट बनाउन स्थानीय सांस्कृतिक तथा पर्यटन संस्थासँग सहकार्य गरेर यात्रालाई अझ रमाइलो र उपयोगी बनाउने प्रयास पनि भइरहेको छ । यसले यात्रुलाई गन्तव्य स्थानको सांस्कृतिक र पर्यटकिय सौन्दर्यसँग परिचित गराउने काममा सहयोग पु¥याएको छ ।

    यसरी चीनको रेल यातायात प्रणाली गर्मी यात्राको चरम सिजनमा पनि प्रभावकारी रूपमा काम गर्दै आएको देखिन्छ । यात्रुहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुधार र क्षमता विस्तारमा निरन्तर ध्यान दिइरहेको यो तथ्यले चीनको आधुनिक र समृद्ध रेल प्रणालीको प्रतिविम्ब हो ।

  • ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ९ भदौ, ढोरपाटन । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

    गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

    गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।

    दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भने, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।”

    दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।

    यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आएका कुशलराज बेलवासेले बताए ।

    “हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उनले भने, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”

  • विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब

    विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब

    ९ भदौ, काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१\८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।

    अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।


    आव २०८१\८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।
    सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७।७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

  • जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    ९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

    एकीकृत निर्देशिका अनुसार, पुनः संरचना गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइने प्रबन्ध छ । जग्गा विकास तथा भवन निर्माणको अनुमतिका लागि सम्बन्धित निकायमा पेस गरेको प्रमाणसमेत लिनुपर्नेछ । कृषि कर्जाको भुक्तानीको तालिकाका सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ । इजाजत प्राप्त संस्थाले कृषि उपज कृषियोग्य जमिन, कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी १० लाख रुपैयाँसम्मको खाद्यान्न बाली, पशुपन्छी, माछापालानलगायतका कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्नेछन् ।

    कर्जा सुरक्षणको रुपमा राखिएको धितो मूल्याङ्कन बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य धितो मूल्याङ्कनकर्ताबाट गर्न सकिनेछ भने सो मूल्याङ्कन गरेबापत् ऋणीसँग धितो शुल्क लिन पाइने छैन । किसानले तरकारी खेतीका लागि कर्जा माग गरेमा किसानले उत्पादन गरी बजारमा ल्याउन चार महिनाको समय लाग्ने भएमा कर्जाको किस्ता चार÷चार महिनामा हुने गरी कायम गर्नुपर्नेछ ।

    त्यसैगरी त्यस्तो कर्जाको पर्याप्त मात्रामा ग्रेस अवधि प्रदान गर्नुपर्नेछ । ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि ०।२५ प्रतिशत र दोस्रो वर्ष ०।५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा उल्लेख छ । संस्था स्वयम्ले धितो मूल्याङ्कन गरी प्रवाह भएको कर्जालाई प्राथमिकतामा राखी सम्बन्धित संस्थाको आन्तरिक लेखापरीक्षणमार्फत नियमित अनुमगन तथा मुल्याङ्कन गर्नुपर्नेछ ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपज उत्पादनका लागि बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्नुपर्नेछ । ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था ०.२५ प्रतिशत र दोस्रो वर्ष ०.५ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । कर्जामा आवश्यक ग्रेस अवधि प्रदान गर्न वा ब्याज पुँजीकरण गर्न सकिनेछ ।

    हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेका तीन करोड रुपैयाँसम्मका उत्पादनमूलक उद्योग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताका आधारमा होटल , रेष्टुरेन्ट स्तरीकण गर्नेसम्बन्धी निर्देशिका बमोजिम खाद्य स्वच्छता स्तरीकरणसम्बन्धी प्रमाणपत्र लिएका होटल तथा रेष्टुरेन्टलाई आधार दरमा बढीमा दुई प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर तोक्नुपर्नेछ ।