Category: फिचर

  • साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    ७ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

    साउनमा छिमेकी मुलुक भारतसँग रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । चीनसँग रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाखको निर्यात गर्दा रु २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

    साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र रु चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा रु १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, रु एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, रु तीन अर्ब सात करोडको फलामजन्य वस्तु र रु एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

    मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा रु १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल निर्यात भएको हो । समीक्षा अवधिमा प्लाईउड, फलफुल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।

  • नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    ७ भदौ, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराई-मधेस संरक्षण र बङ्कर टु व्यारेक कार्यक्रममा पनि सोहीअनुसार नतिजा प्राप्त भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।


    राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक महत्वको ‘काठमाडौँ–तराईरमधेस द्रूतमार्ग सडक आयोजना’को प्रगति भने उक्त आर्थिक वर्षमा ६७ दशमलव ५ मा सीमित भएको छ । दु्रत मार्गको प्रस्थान विन्दुदेखि ६.५ किमीसम्म पर्ने प्याकेज नं ११ मा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको तथा प्रस्थान विन्दु र सवारी अवागमन सम्बन्धमा निर्णय नहुँदा आयोजनाको भौतिकतर्फ वार्षिक लक्ष्य प्राप्त हुन नसकिएको मन्त्रालयले जनाएको छ । कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत १० दशमलव ५१, कर्णाली करिडोरको (घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला) सडक आयोजनाको दुई दशमलव पाँच र लाँलीबगर–दुल्लीकुनाको ११ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ ।

    कर्णाली करिडोरको बोक्चे गौडा र भीर गौडामा दुईरदुई सय मिटर तथा याङ्चु भीरमा ४०० चार सय मिटर लम्बाइको सडक निर्माण र खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रृज निर्माण सम्पन्न भएको छ । यस्तै बेनीघाट–आरुघाट–लार्केभञ्जयाङ् सडक आयोजनामा दुई दशमलव पाँच किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । सोही सडक खण्डको तातोापनी भीरमा सडक चौडा पार्ने कार्य पनि लक्ष्यअनुसार सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

    महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाअन्तर्गत गत आवसम्ममा १७ दशमलव ५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । गत आवमा सो सडकमा एक दशमलव आठ किलोमिटत नयाँ ट्रयाक निर्माण र एक दशमलव दुई किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने वार्षिक लक्ष्य लिएको थियो । यस्तै दार्चुला–टिङ्कर सडकखण्डमा दुई दशमवल तीन किलोमिटर नयाँ ट्रयाक निर्माण भएका मन्त्रालयले जनाएको छ ।

    भौगोलिक कठिनाइ भएका स्थानमा सडक पूर्वाधार निर्माणमा संलग्न नेपाली सेनाका एक सय आठ सकल दर्जाले वीरगती प्राप्त गरेका छन् । निर्माण सम्पन्न भएका त्रिशुली–सोमदाङ सडक आयोजनामा १२, कटारी–ओलखढुङ्गा सात, बेनी–जोमसोम १८, कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) ६२, नाग्मा–गमगढी एक, बेशिसहर–चामे तीन र जाजरकोट–डोल्पा एक गरी एक सय चार जनाले वीरगती प्राप्त गरेका छन् । ती सडक आयोजना निर्माणका क्रममा गैरसैनिकतर्फ २४ जनाले ज्यान गुमाएका छन् ।

    हाल निर्माणाधीन सडक आयोजनातर्फ कर्णाली करिडोरमा चार जना सैनिक र निर्माणाधीन विभिन्न सडक आयोजनामा २८ जना गैर सैनिकको क्षति भएको छ । बङ्करदेखि व्यारेक कार्यक्रमअन्तर्गत गत आवमा विभिन्न ७३ वटा संरचना निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत एक हजार नौ सय ९५ संरचना निर्माण गर्न बाँकी रहेको सेनाले जनाएको छ ।

    यस्तै रणनीतिक महत्वको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणमा पनि गत आवमा शतप्रतिशत सफलता प्राप्त भएको वार्षिक प्रगतिमा उल्लेख छ । विश्वविद्यालयको भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिने लक्ष्य राखिएको आयोजनाको समष्टिगत भौतिक प्रगति ७४ दशमवल ०४ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ०२ प्रतिशत रहेको छ ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण भइरहेको उक्त विश्वविद्यालयको भौतिक पूर्वाधार, कानुन र पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको छ ।

    प्रकृति संरक्षण कार्यमा पनि नेपाली सेनाले असरदार भूमिका निर्वाह गर्दै आएको छ । सोही क्रममा उक्त आर्थिक वर्षमा दुई लाख ५४ हजार एक सय ३३ पट्रोल, ३७ हजार आठ सय ६७ एम्बुस, नौ हजार दुई सय २४ आकस्मिक छड्केलगायतका गतिविधि सञ्चालित गरिएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ । प्रकृति संरक्षणको सिलसिलामा हालसम्म एक सय १६ सैनिकले आफ्नो ज्यान गुमाएका छन् ।

    आर्थिक वर्ष २०८१–८२ मा रक्षा मन्त्रालयतर्फ तीन अर्ब ४५ करोड ८३ लाख ४० हजार बेरुजु रहेकामा त्यसको ६१ दशमलव ३९ प्रतिशत फछ्र्योट भएको मन्त्रालयले जनाएको छ । सो वर्ष ६० प्रतिशत बेरुजु फछ्र्योट गर्ने लक्ष्य राखिएको थियो ।

  • परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    ७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन् ।

    मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् ।


    पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन् । उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरिन् ।


    भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो । जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताइन् ।

  • बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

    बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

    ७ भदौ चितवन । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

    पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन ९माता तीर्थ औँसी० र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

    देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउँछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।


    श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, “वृद्धावस्थामा निकै समस्या हँुदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।” अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, “अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।” अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए । उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।


    दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा÷छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडिन् ।

    एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आएका छन् । उनले भने, “आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,” उनले भने, “बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।”

    बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आउनुभएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित हुन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । समाजमा देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, “जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु”, उनले भने, “सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।”

    देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा छन् । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।
    सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, “जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।”

    सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए । क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहनुभएका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उहाँले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, “समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।”

    यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।

  • भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    ७ भदौ, काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।

    गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।
    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उनले भने ।


    मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।

    यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।

    आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

  • आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

    आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

    ७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।


    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

    बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।

    मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • सङ्खुवासभामा भूकम्प : क्षतिको विवरण छैन

    सङ्खुवासभामा भूकम्प : क्षतिको विवरण छैन

    ७ भदौ, काठमाडौं । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्प जानेक्रम रोखिएको छैन ।

  • भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

    भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

    एजेन्सी
    ७ भदौ, नयाँ दिल्ली । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् । नयाँ कानुनले तास , पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको छ । ‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ नामको यो कानुन बिहीबार साँझ संसदको दुवै सदनबाट पारित भएको हो । अबदेखि यस्तो जुवा खेल, यसको प्रचार वा वित्तीय लगानी गरेमा पाँच वर्षसम्म कैद सजाय हुनसक्नेछ ।

    सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो कानुनले झूटो आशामा प्रयोगकर्तालाई फसाउने, लत लाग्ने, आर्थिक बर्बादी र सामाजिक संकट निम्त्याउने अनलाइन जुवा प्लेटफर्महरू नियन्त्रण गर्ने उद्देश्य राखेको छ ।” भारतको गेमिङ उद्योग विश्वकै ठूलो बजारमध्ये एक हो, तर नयाँ कानुनले ई–स्पोट्र्स र शैक्षिक खेलहरूलाई भने छुट दिएको छ । सरकारले यस्ता सकारात्मक खेलहरूलाई डिजिटल अर्थतन्त्रको अंगका रूपमा प्रवद्र्धन गर्ने बताएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “नयाँ कानुनले ई–स्पोट्र्स र सामाजिक खेलहरूलाई प्रोत्साहन गर्नेछ, तर समाजलाई अनलाइन जुवाका नकारात्मक असरबाट बचाउनेछ ।” उद्योगसम्बद्ध संघसंस्थाहरूले भने पूर्ण प्रतिबन्धको सट्टा नियमन र कर प्रणालीमार्फत समाधान खोज्न सुझाव दिएका थिए, किनकि प्रतिबन्धले प्रयोगकर्तालाई अवैध विदेशी प्लेटफर्मतर्फ धकेल्न सक्छ भन्ने चिन्ता उनीहरूको थियो ।

    तर विधेयक समर्थकहरूका अनुसार सामाजिक मूल्य, मानसिक स्वास्थ्य र आर्थिक क्षतिको कारणले पूर्ण प्रतिबन्ध आवश्यक भएको हो । अधिकारीहरूले अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको जनाएका छन् । सरकारका अनुसार यस्ता प्लेटफर्महरूलाई ठगी, अवैध पैसाको कारोबार र आतङ्कवादको वित्तीय स्रोतसँग पनि जोडिएको पाइएको छ ।

    प्रविधिमन्त्री अश्विनी वैष्णवले भने, “नयाँ कानुनले पैसा खेलिने जुवा र सामाजिक खेलबीच स्पष्ट भेद गर्छ । यसले प्रतिस्पर्धात्मक ई–स्पोट्र्स र सुरक्षित शैक्षिक तथा सामाजिक डिजिटल खेलहरूलाई प्रोत्साहन गर्छ ।” सरकारी जानकारीपत्रमा भनिएको छ, “यो कानुनले निर्माणात्मक डिजिटल मनोरञ्जन र ठगीपूर्ण, झुटा नाफा देखाएर प्रयोगकर्तालाई फसाउने अनलाइन जुवा र फ्यान्टासी खेलहरूबीच स्पष्ट छुट्टयाएको छ ।”

  • नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    चितवन । यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन । अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए । सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ । डा कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन् ।

    नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए । काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ । अनुगमनपछि क्लीनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप विषय थाहा हुने उनले बताए । उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ । चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए ।

  • काठमाडौँ महानगरमा विपद्का घटनामा कमी

    काठमाडौँ महानगरमा विपद्का घटनामा कमी

    ६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विपद्का घटनामा कमी आएको जनाएको छ । आर्थिक वर्ष २०८०–८१ मा कामपामा ४३१ विपद्का घटना घटेका थिए । गत आर्थिक वर्ष २०८१–८२ मा ४२५ विपद्का घटना घटेको कामपाले जनाएको छ । कामपा नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार सङ्ख्यात्मक रूपमा विपद्का घटनामा गत आवमा कमी आए पनि शीर्षकगत रूपमा भने बढेको छ ।

    उनका अनुसार शीर्षकगत रूपमा रूख कटान र जल उत्पन्नसम्बन्धी विपद्का घटना बढेका छन् । आगलागीका कारण अघिल्लो आर्थिक वर्षमा ३११ घटना घटेकामा गत आवमा १५२ मात्र आगलागीजन्य घटना घटेको तथ्याङ्क कामपासँग छ । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेका हुन् । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।


    बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ । त्यसैगरी थोत्रा ग्यास सिलिण्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ ।

  • एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

    एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

    ६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराए ।

    सो अवसरमा आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गरे ।

    अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकोमा सबैलाई धन्यवाद दिए । “हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाइंहरु मुक्त भएका छन् । अध्यक्ष ओलीले भने, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।”

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने । “अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएका छन् । खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन ।”

    अध्यक्ष ओलीले भने, “पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।” कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित आफू एमाले पार्टीमा प्रवेश गरेको बताए ।

  • जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    ६ भदौ, चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उनले भने, “जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण देखिएको छ ।”

    कार्यालयका कीट नियन्त्रक राम केसीले यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका जानकारी दिए । उनीहरुको गत साउनयता मृत्यु भएको जनाउँदै उनले गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको बताए ।


    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक\एक जनामा सङ्क्रमण देखिएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए ।


    उनका अनुसार यो रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा बाहिर काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”, उनले भने ।

  • लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

    लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

    ६ भदौ, काठमाडौं । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

    प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ ।

    त्यसैगरी, नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विद्युत् प्रसारण लाइनको नयाँ रुट ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

  • सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

    सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

    ६ भदौ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता दिइरहेकोले सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

    अध्यक्ष दाहालले भने, “हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ । देशमा समृद्धि हासिल गर्न सुशासन अपरिहार्य छ ।”

    अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व रहेको उल्लेख गरे । उनले तीजलाई मौलिक पर्वका रूपमा मनाउन समेत आग्रह गरे । कार्यक्रममा स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएबापत स्वर्गीय सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो ।

    इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टल, १२ रेष्टुरेन्टका स्टल, बाल उद्यान रहेका आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

  • अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग

    अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग

    ६ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले उक्त सामग्री बुझेका छन् । सहयोग सामग्रीमा ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा तथा औषधि उपचार किटजस्ता सामग्रीहरू रहेका दूतावासले आज जनाएको छ ।

    यस किसिमको सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पु¥याउने विश्वास लिइएको छ । यसले नेपाल मात्र नभई अमेरिका पनि थप सुरक्षित हुने अमेरिकी दूतावासले जनाएको छ ।

  • साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    ६ भदौ, काठमाडौं । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो । यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

    आज खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् । त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् । खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।

  • कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

    कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

    ६ भदौं, काठमाडौं । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९कोइका०ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि बढाइने छ । उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले हस्ताक्षर गरे ।


    त्यस्तै ‘फ्रुट्स एण्ड भेचिटेबल भ्यालु चेन डेभलपमेन्ट प्रोजेक्ट’ दोस्रो चरण हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३१ सम्म सञ्चालन हुने यस परियोजनाको बजेट १० मिलियन डलर रहेको छ । सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गरे ।


    सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको अर्को परियोजनामा पनि हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले हस्ताक्षर गरे ।
    समारोहमा निर्देशक मूहनले नेपाल र कोरियाबीचको दीर्घकालीन साझेदारी, समावेशी र दिगो विकासप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा कोइकाको प्राथमिकता रहेको बताए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालका दिगो विकास लक्ष्य हासिल गर्न यसले खेलेको भूमिकाको प्रशंसा गरे ।


    नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल–कोरिया मित्रताको प्रतिविम्ब भएको बताउँदै नयाँ परियोजना सम्झौतालाई साझेदारी र प्रगतिका प्रतीकका रूपमा औँल्याए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोइकालाई यस ऐतिहासिक अवसरमा बधाई दिँदै नेपाल सरकार आगामी कार्यक्रमहरूको पहुँच र दिगोपन विस्तारमा सहकार्य गर्न तत्पर रहेको बताए ।


    सन् १९९१ देखि कोइकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । हालसम्म कोइकाले दुई हजार ९२१ जना स्वयंसेवकलाई नेपालमा परिचालन गरेको छभने दुई हजार २३० जना नेपाली निजामती कर्मचारीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता जनाएका छन् ।

    सन् २०१० मा नेपाललाई प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारमार्फत नेपालमा सहयोग उल्लेख्य रूपमा बढेको छ । सन् २०२५ सम्म आइपुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ । विकास सहयोगसम्बन्धी नयाँ रूपरेखा सम्झौता प्रक्रियामा रहेको र यसले नेपाल–कोरिया मित्रतालाई अझ सबल बनाउने अपेक्षा गरिएको छ ।

  • कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

    कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

    गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् । रासस

  • शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    कञ्चनपुर, ६ भदौ । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन् ।

    जसमा विश्वमै दुलर्भ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ, राज लहाँचे, सेतो कण्ठे धिप्सी, कासेघाँसे, बरी, नरक भ्याकुर, सुनौलो तोप चरा, बगाल बगेडीलगायत चरा निकुञ्जमा पाइन्छन् ।

    नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार ती दुर्लभ प्रजातिमध्ये सबैभन्दा सङ्कटापन्न अवस्थामा खरमजुर रहेको छ । निकुञ्जमा यस चराको सङ्ख्या निकै कम छ । घाँसेमैदानमा बासस्थान बनाउने यो चरा शुक्लाफाँटाको पहिचानसँगै जोडिएको छ ।

    यस्तै सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइन्छ । घाँसेमैदानदेखि लालपानी, मोहनपुर, सिंहपुरजस्ता क्षेत्रमा यसको उपस्थिति देखिन्छ । घाँसेमैदान र सिमसार क्षेत्र नजिकका काँटेदार रुखहरूमा यस चराले गुँड लगाउने गर्छ । एउटै रुखमा यस चराका दर्जनौँ गुँड रहने गर्दछन् ।

    ठूलो धनेस र राजलहाँचेजस्ता प्रजाति भने निकुञ्जको घना सालको जङ्गलमा पाइने चराविज्ञ डगौरा बताउँछन् । हिउँदमा बसाइँ सर्ने क्रममा आउने सेतो कण्ठे धिप्सी, ताल–तलाउ वरिपरि बस्ने सारस तथा विभिन्न किसिमका गिद्धहरू पनि यहाँ पाइन्छन् ।

    निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छन् । जसमध्ये चार प्रजाति डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । डङ्गर गिद्धको सङ्ख्या केही बढेको भए पनि बाँकी प्रजातिहरूको सङ्ख्या अत्यन्तै न्यून रहेको चराविज्ञ डगौरा बताउँछन् । निकुञ्जमा पाइने गिद्धका प्रजाति अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन०को रातो सूचीमा सूचीकृत रहेका छन् ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिउँदमा बसाइँ सारेर आउने चराहरूको गन्तव्यका रूपमा रहेको छ । कैले टाउके हाँसजस्ता दुर्लभ जलपन्छी हिउँदयाममा यहाँको तालतलाउमा आउने गर्दछ । नेपाल पन्छी संरक्षण सङ्घले गरेको पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब पाँच हजार ८८२ जलपन्छी पाइएका थिए । हिउँदयाममा सिमसार क्षेत्र चराले भरिभराउ हुने हुँदा यो निकुञ्ज पन्छी अवलोकनकर्ताका लागि पनि आकर्षण केन्द्र बनेको छ । तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा ७१ प्रतिशत भाग वनले ढाकेको छ, जसमा सालको वन ८० प्रतिशतभन्दा बढी छ । यिनै वन र घाँसेमैदान चराको मुख्य बासस्थान हुन् ।

    चराविज्ञ डगौराका अनुसार तालतलाउ जलकुम्भी र नरकटले ढाकिँदै गएर चराको खेल्ने ठाउँ साँघुरिँदै गएको छ । घाँसेमैदानमा चराको प्रजनन हुने बेला वैशाख–जेठतिर डढेलो लाग्दा गुँड र बासस्थान नष्ट हुने गर्दछन् । निकुञ्ज बाहिरका सिमसार क्षेत्र अतिक्रमण, खेतीपाती र संरचनात्मक विकासका कारण झन् सङ्कुचित बन्दै गएका छन् ।

    सामुदायिक वनमा हुने वृक्षरोपण पनि अर्को चुनौती बनेको छ । विज्ञहरूका अनुसार घाँसे फाँटमै प्रजनन गर्ने चरालाई यो कार्यले नोक्सान पुर्याइरहेको छ । “घाँसको फाँटमै धेरै चराले गुँड बनाउँछन्, त्यहाँ रुख लगाइएपछि उनीहरूको बासस्थान हराउँछ”, डगौराले भने ।


    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेका अनुसार निकुञ्जभित्र दुर्लभ चराको संरक्षणका लागि कार्य अगाडि बढाइँदै आएको छ । घाँसेमैदानमा बासस्थान भएका चराको बासस्थानलाई डढेलोले बढी क्षति पुर्याउने गरेको देखिएको छ । कहिलेकाहीँ हुरीबतासले गर्दा लाग्ने ठूलो डढेलोले रुखमा गुँड बनाउने चरालाई पनि समस्यामा पार्ने गरेको छ । चोरी–सिकारी नियन्त्रण गर्न १४ वटा निकुञ्ज पोष्ट र नेपाली सेनाका १९ वटा पोष्ट स्थापना गरिएको छ ।

    अहिलेसम्म दुर्लभ चराको चोरी–सिकार भएको आधिकारिक तथ्याङ्क नभएको उनको भनाइ छ । स्थानीय बासिन्दालाई चरा संरक्षणसम्बन्धी तालिम, गोष्ठी र छलफलमार्फत सङ्घसंस्थाको सहयोगमा तथा निकुञ्ज आफैँले पनि चेतना फैलाउने कार्य गर्दै आएको छ । चराको प्राकृतिक बासस्थानमा खलल नपुगोस् भन्ने लक्ष्यसहित स्थानीय सरोकारवाला र निकुञ्ज प्रशासनले सहकार्य गर्दै आएका छन् ।

    शुक्लाफाँटा केवल चरामात्र होइन, पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, बाह्रसिङ्गा, नीलगाई, घडियाल गोही, चितुवालगायत दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो । यही जैविक विविधता र चराचुरुङ्गीको समृद्धिले गर्दा यो निकुञ्ज विश्वभरिका अनुसन्धानकर्ता र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

    rss

  • यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा

    यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा

    काठमाडौँ, ६ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    ६ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । जित मात्र पर्याप्त भने हुने छैन । अन्य टोलीको खेल समेत नेपाल अनुकूल आउनु पर्छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?

    ६ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।


    बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    राष्ट्रियसभाको बैठक १२ः१५ बजे बस्दैछ । आजको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
    गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

  • बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

    बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

    ६ भदौ, म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१–८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०–८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।

    गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् । म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताए । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उनले भने, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।”

    विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेका धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताए । “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उनले भने, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।”

    जन्मदर कम भएको र गाउँमा भएकाले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ प्रदीप पुनले बताए । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् । म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडाँै, चितवन, बुटवल र तनहुँमा बसाइँसराइ गरेर जाने गरेका छन् । सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झरेका छन्भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले बताए । “शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँसराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उनले भने, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।”

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताए । विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उनले बताए ।

  • वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    ६ भदौ, काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

  • गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

    गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

    एजेन्सी
    ६ भदौ, काठमाडौं । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।
    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी लगायतका नेताहरूले इजरायलको सुरक्षा क्याबिनेटले गाजा सहर कब्जा गर्ने योजना स्वीकृत गर्दै करिब ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णय र भविष्यको प्यालेस्टिनी राज्यलाई टुक्र्याउने बस्ती परियोजनालाई लिएर आपत्ति जनाए ।


    फ्रान्सका राष्ट्रपति म्याक्रोनले एक्समा लेख्दै भन्नुभएको छ, “यी कदमहरूले क्षेत्रलाई ‘स्थायी युद्धको चक्र’ मा डुबाउने खतरा छ ।’ उनले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँगको छलफलमा पनि इजरायलको आक्रमणले दुवै जनताका लागि विनाश निम्त्याउन सक्ने बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले गाजामा हुने आक्रमणलाई ‘खतरनाक वृद्धि’ भन्दै यसले जबरजस्ती विस्थापन, हत्या र ठूलो विनाश ल्याउने चेतावनी दिए ।


    उनका अनुसार, यो कदमले गाजामा पहिले नै वञ्चित अवस्थामा रहेका प्यालेस्टिनी जनताको पीडा झन् बढाउनेछ । उनले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने इजरायलको निर्णयलाई उल्ट्याउन आग्रह गरे । उनका अनुसार सबै प्रकारका बस्ती विस्तार अन्तर्राष्ट्रिय कान्रनको उल्लङ्घन हो र यसले प्यालेस्टिनी राज्यको सम्भावना कमजोर पार्छ । जर्मन सरकारले पनि इजरायलको सैन्य आक्रमणलाई बढाउने कदमको विरोध गरेको छ । सरकारी प्रवक्ता स्टेफेन मेयरले पत्रकारहरूसँग भने, “यी कार्यहरूले कसरी युद्धविराममा लैजान्छ वा सबै बन्धकहरूको रिहाइमा मद्दत गर्छ भन्ने बुझ्न गाह्रो छ ।”

    बेलायतका विदेशमन्त्री लामीले पनि ई–१ बस्ती योजनाको विरोध गर्दै भने, “यदि यो कार्यान्वयन भयो भने, यसले प्यालेस्टिनी राज्यलाई दुई टुक्रा पार्नेछ, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ र दुई–राज्य समाधानलाई गम्भीर रूपमा कमजोर पार्नेछ । त्यसैले इजरायलले यो निर्णय फिर्ता लिनैपर्छ ।” अल जजिराका अनुसार, जेरुसेलमको पूर्वमा पर्ने ई–१ क्षेत्रमा करिब तीन हजार पाँच सय आवासीय एकाइहरू निर्माण गर्ने योजना छ, जसले विद्यमान माले अदुमिम बस्ती विस्तार गर्नेछ ।

    इजरायलभित्र पनि आलोचना भएको छ । विपक्षी नेता यायर लापिडले ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णयलाई ‘भ्रम’ भन्दै आलोचना गरे । उनले यसले सैनिकहरूलाई अनावश्यक बोझ पार्ने र ‘ड्राफ्ट–डजिङ’ (सैनिक भर्तीबाट पन्छिन खोज्ने प्रवृत्ति) बढाउने बताउ । उनले एक्समा लेख्नुभएको छ, “गाजा जित्ने भ्रममा ६० हजार जगेडा सैनिक बोलाइएको छ । यो सरकार देशकै इतिहासमा सबैभन्दा खराब हो । यसरी हामी युद्ध जित्न सक्दैनौँ ।”

  • गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    एजेन्सी
    ६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी मानवीय सङ्कटलाई अझ खराब बनाउने डरलाई गम्भीर बनाएको छ।

    “गाजामा शत्रुता तीव्र हुनुको अर्थ थप हत्या, अधिक विस्थापन, अधिक विनाश र थप आतङ्क हो,” रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० का प्रमुख प्रवक्ता क्रिश्चियन कार्डनले एएफपीलाई बताए । “गाजा एक बन्द ठाउँ हो, जहाँबाट कोही पनि उम्कन सक्दैन र यहाँ स्वास्थ्य सेवा, खाना र सुरक्षित पानीको पहुँच घट्दै गएको छ,” कार्डनले भने । प्रवक्ताले भने, “यसबीच मानवीय सहायताकर्मीहरूको सुरक्षा दिन प्रतिदिन बिग्रँदै गइरहेको छ। यो असहनीय छ।”

    आइसिआरसीले गाजाको जमीनमा सक्रिय भूमिका खेलिरहेको छ र प्यालेस्टिनी लडाकू समूहको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा हमासले लिएका इजरायली बन्धकहरूको हरेक आदानप्रदानमा संलग्न रहेको छ। सरकारी निकायबाट प्राप्त तथ्याङ्कका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गाजामा युद्ध भड्काउने उक्त आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको थियो। हमासले अपहरण गरेका २५१ बन्धकमध्ये ४९ जना अझै पनि गाजामा बन्धक बनाइएका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले विश्वास गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६२ हजार १२२ प्यालेस्टिनीको मृत्यु भएको छ। गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको कारण नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव हुन सकेन ।

  • बोइङले चीनलाई बेच्दैछ ५०० विमान

    बोइङले चीनलाई बेच्दैछ ५०० विमान

    एजेन्सी
    ५ भदौ, काठमाडौं । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ । यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा कम वृद्धि हुनेछ। ब्लुमबर्गका स्रोतका अनुसार यो सम्झौता वासिङ्टन र बेइजिङबीच जारी व्यापार युद्धमा दीर्घकालीन सम्झौतामा निर्भर रहनेछ ।

    ब्लूमबर्गका अनुसार बोइङ सम्झौता सम्भवतः अमेरिका–चीन व्यापार सम्झौताको एक प्रमुख पक्ष हुनेछ, जसको स्रोतहरूले चिनियाँ अधिकारीहरूले उनीहरूलाई कति विमानहरू आवश्यक पर्दछ भनेर आन्तरिक एयरलाइन्सहरूको सर्वेक्षण सुरु गरेको बताएका छन्। गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार घाटालाई सम्बोधन गर्न विश्वका व्यापारिक साझेदारहरूलाई नयाँ कर लगाएका छन्।

    अमेरिकाको सबैभन्दा ठूलो उत्पादन निर्यातक कम्पनी बोइङबाट विमान खरिद गर्दा ट्रम्पको व्यापार नीतिका कारण देखिएको असन्तुलनलाई कम गर्नेछ ।
    गत जुलाईमा ह्वाइट हाउसले जापानले १०० बोइङ जेट र इन्डोनेसियाका ५० विमान खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । ट्रम्पले अन्तर्राष्ट्रिय व्यापारलाई पुनर्जीवित गर्ने प्रयासमा चीनलाई विशेष लक्षित गरेका छन्।

    वासिङ्टन र बेइजिङले यस वर्ष एकअर्काका उत्पादनमा कर वृद्धि गरेका छन् । विवादका कारण कुनै बिन्दुमा प्रतिशोधात्मक कर वृद्धि तीन अङ्कको स्तरमा पुगेको थियो । यसले बोइङ जेटको डेलिभरीमा अस्थायी रोकसहित व्यापारमा गिरावट आएको छ। यद्यपि, दुवै पक्षले मे महिनामा अस्थायी रूपमा शुल्क घटाउन सहमति जनाउँदै ९० दिनको म्याद थप गरेका छन्।

    सन् २०१७ को नोभेम्बरमा ट्रम्पको राजकीय भ्रमणका क्रममा बेइजिङले ३७ अर्ब अमेरिकी डलरभन्दा बढीमा ३०० वटा एकल र ‘ट्वीन आइल’ विमान खरिद गर्न सहमति जनाएको थियो । बोइङले सन् २०१८ यताकै सबैभन्दा बढी विमान आपूर्ति गर्दा गत वर्षको तुलनामा दोस्रो त्रैमासिकमा घाटा कम भएको बताएको थियो ।

  • विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

    विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

    ६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समिति बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र समितिमा छलफल भई आज पारित भएको हो ।


    माओवादी केन्द्रले विधेयकका सम्बन्धमा पाँच बुँदे फरकमत समितिमा दर्ता गराएको छ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि आफूहरुले उठाएका विषय विधेयकमा सम्बोधन हुन नसकेकाले फरक मत राखिएको जनाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विना जयसवालले फरक मत राखेका छन् ।

  • अरनिको राजमार्ग सञ्चालनमा

    अरनिको राजमार्ग सञ्चालनमा

    ५ भदौ, काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए । “पहिरोका कारण माथिल्लो भागमा रहेको मानव बस्ती जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो”, उनले भने, “पहाडी धरातल र लेदो बगी रहने गरेका कारण सो स्थानमा समयसमयमा समस्या आउने गरेको छ ।”

    ग्याविन पर्खाललगायतका अन्य संरचनाको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन जारी राखेको सडक विभागले जनाएको छ । पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र आज अपराह्नदेखि ठूला सवारीसाधनसमेत सञ्चालन हुन थालेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।


    यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए । दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।

  • एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    ५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

    गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।

    एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।