Category: फिचर

  • उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    ५ भदौ, गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए ।

    “आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराएका थिए, उनको शव आज विहान गाउँलेले भेटेका थिए”, उनले भने । रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा आज विहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

  • निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग

    निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग

    ५ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा केही प्रावधान सच्चाउन माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को आयोजनामा माइतीघर मण्डलामा आज गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अभिभावकको पहिलो रोजाइ निजी विद्यालयको पढाइ’, ‘निजी विद्यालयको योगदान मजबुद अर्थतन्त्रको निर्माण’ र ‘सधैँ विभेद खप्नुपर्ने हामी निजी विद्यालय किन ?’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

    शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाइनुपर्ने उनीहरुको माग छ ।

    छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकहरुको माग छ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आज समितिबाट पारित भएको हो ।

  • एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    ५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

    सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । गरिब, असहाय तथा विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

    उनले भने, “छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।” निर्देशिका स्वीकृत भएसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउने छन् ।

  • संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

    संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

    ५ काठमाडौँ, ५ भदौस् मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै नेताहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिए ।
    प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको भूमि लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति अस्वीकार्य रहेको बताए ।

    उनले सम्पूर्ण राजनीतिक दलको सहमतिबाट सो सम्बन्धमा नेपाल सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिए । “यो विषयमा नेपालका सबै राजनीतिक दलहरू विगतमा जस्तै एक ठाउँमा उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीका तर्फबाट सबै दललाई एकढिक्का हुन आग्रह गर्दछु, मतमतान्तर र प्रतिस्पर्धा आआफ्ना ठाउँमा छन्, यसलाई घरेलु राजनीतिको विषय नबनाउँ, उग्र राष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,” कांग्रेस महामन्त्री थापाले भने, “हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ । हामीले यो ‘पोजिसन’ बनाउनुपर्ने छ ।”

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव योगेश भट्टराईले नेपालको सहमतिबिना छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेकको सम्बन्धमा गरेको सम्झौता नेपाली जनता, सरकार र संसद्लाई अस्वीकार्य रहेको बताए । “सो सम्बन्धमा सरकारको तत्कालको प्रतिक्रियाले मात्रै पुग्दैन”, उनले भने, “उक्त भूमि नेपालको हो, यसको रक्षार्थ सम्पूर्ण नेपालीको एक स्वर हुनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पूर्खाले बलिदान गरेर कायम गरेको भूमि जोगाउन सिङ्गो नेपाल एक हुनुपर्नेमा जोड दिए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा सर्वपक्षीय समझदारी गरेर सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा व्यक्त गरे ।


    “उत्तेजनात्मक अभिव्यक्तिको तरिकाले होइन, परिपक्व कूटनीतिक प्रयास गरियोस्”, सचिव पौडेलले भने, “प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा यो विषय स्पष्टसँग राखिनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले भारत र चीनले नेपालको सहमति नलिई लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि खोल्ने एकतर्फी सौदावाजी अस्वीकार्य भएको बताए । “यो सम्झौता अन्तरराष्ट्रिय कानुन र पञ्चशीलको सिद्धान्त विपरीत पनि छ, यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र रु”, उनले प्रश्न गरे, “महाकालीपूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुरालगातका क्षेत्र नेपालको अभिन्न भूभाग हुन्, यो सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि जोडदार आवाज र दबाब दिन आवश्यक छ ।”


    जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले राष्ट्रिय मुद्दामा सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपालको सहमतिबिना भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाए । उनले प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा उक्त विषयलाई स्पष्टसँग राख्नुपर्नेमा जोड दिए । “यो राष्ट्रको विषय हो, सिङ्गो संसद्मा यसबारे ध्यानाकर्षण भएको छ, सरकारले आवश्यक कूटनीतिक पहलकदमी लिनुपर्छ”, उनले भने ।


    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटिएको नेपालको नयाँ नक्सा अन्तरराष्ट्रिय समुदायलाई जानकारी नगराउँदा अहिले समस्या देखिएको बताए । उक्त भूभाग नेपालकै भएको सप्रमाण रहेकाले यससम्बन्धमा कुनै पनि मुलुकले गर्ने सहमति, सम्झौता नेपाललाई अस्वीकार्य हुने उल्लेख गरे । सरकारले नेपालको संविधानमा नै आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा स्पष्ट रहेको जनाएको छ ।

    नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा आमसञ्चारमाध्यममार्फत सार्वजनिक प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बुधबार स्पष्ट पार्दै भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण÷विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

    उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धिसम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहिआएको मन्त्रालयले स्पष्ट गरेको छ ।

  • सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    ५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरे ।

    “यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ, तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ”, उनले भने, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकमासहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । ‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् ।”

    कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरु र दर्शकहरुबीच भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोनन्ति हुने तयारी भएको स्मरण गराए । उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास दिलाए ।


    “मैले पहिला ग्यास र खानीको उत्खनन्को कुरा गर्दा उडानेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामी यार्सागुम्बा निर्यात गर्नतिर पनि लाग्नेछौँ”, उनले भने, “निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।”

  • ‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

    ‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

    एजेन्सी
    ५ भदौ, काठमाडौं । बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ । जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, इमेल ठेगाना, बैंक र वित्तीय विवरणहरूजस्ता कुनै पनि महत्वपूर्ण तथ्याङ्क प्रभावित नभएको जनाइएको छ । अरेन्ज बेल्जियमले बुधबार एक विज्ञप्ति जारी गरी भनेको छ, “साइबर आक्रमणबाट ह्याकरले एक आईटी प्रणालीमा पहुँच प्राप्त गरेको र ग्राहकका नाम, थर, टेलिफोन नम्बर, सिम कार्ड नम्बर, पियुके कोड, शुल्क योजना लिएको छ।”

    उनले भने, “घटना पत्ता लाग्नेबित्तिकै हाम्रो टोलीले प्रभावित प्रणालीमा पहुँचलाई अवरुद्ध ग¥यो र हाम्रो सुरक्षा उपायलाई थप कडा बनाएको छ।” फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्जको बेल्जियन व्यवसाय फर्मले सक्षम अधिकारीहरूलाई सचेत गराएको र प्रभावित ग्राहकहरूलाई इमेल र टेक्स्ट सन्देशमार्फत सूचित गरिने बताएको छ। “हामी उनीहरूलाई कुनै पनि शङ्कास्पद सञ्चारका लागि सतर्क रहन सल्लाह दिन्छौं,” ओरेन्ज बेल्जियमले भनेको छ।

  • कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    ५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए । उनले भने, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी ग¥यौँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”


    घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । उनले भने, “घटनास्थलको अध्ययनका क्रममा ‘सिसिटिभी फुटेज’ स्पष्ट देखिएन, घाइतेले भनेबमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ ।”

    समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा अझै उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेकामध्ये ४१ जना ‘डिस्चार्ज’ भइसकेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ । अस्पतालले डिस्चार्ज भने पनि धेरै कैदीबन्दी अस्पतालमा नै बसिरहेका छन् । उनीहरूले इच्छाएको कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।

    घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । यसैगरी, कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ । १५० जना अटाउने कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।

  • लागुऔषधसहित सात जना पक्राउ

    लागुऔषधसहित सात जना पक्राउ

    ५ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।

  • विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

    विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

    ५ भदौ, काठमाडौं । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्न भारत–चीनले एक सहमति गरेका छन् । यससँगै त्रिदेशीय विवाद पुनः सतहमा आएको छ । सो भूमि आफ्नो अभिन्न भूभाग रहेको नेपाल सरकारले प्रतिक्रिया दिएको छ । त्यसको केही घण्टा भित्रै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्रालयले भारत र चीनबीच लिपुलेक पासबाट सीमा व्यापार पुनः सुरु गर्ने भनी गरेको समझदारीप्रति व्यक्त गरेको धारणालाई आफूहरूले जानकारीमा लिएको बताएका छन् ।


    उनले भनेका छन्, यसबारेमा हाम्रो धारणा स्पष्ट र एकैनासको छ। भारत र चीनबीच लिपुलेकमार्फत सीमा व्यापार सन् १९५४ बाट सुरु भएर दशकौँदेखि चलिरहेको छ। हालैका वर्षहरूमा कोभिड र अन्य घटनाक्रमहरूका कारण व्यापार अवरुद्ध भएको थियो र दुवै देशले अहिले यसलाई पुनः सुरु गर्ने सहमति गरेका छन्।

    उनले लिपुलेकमाथिको नेपाली दाबीको जवाफ दिने क्रममा त्यसको औचित्य प्रमाणित गर्न नसकिने र त्यो ऐतिहासिक तथ्य र प्रमाणहरूमा आधारित नभएको पनि दोहोर्‍याएका छन्। उनले कुनै पनि भूभागमाथि गरिएको एकपक्षीय कृत्रिम विस्तार सम्बन्धि दाबी बचाउ गर्न नसकिने प्रकारको रहेको पनि उल्लेख गरेका छन्।

    भारतले नेपालसँग सहमति भएका विद्यमान सीमासम्बन्धी मुद्दाहरू संवाद र कूटनीतिका माध्यमबाट हल गर्न भारत सिर्जनात्मक अन्तर्क्रियाका लागि खुला रहेको बताएको छ । त्यसअघि नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत–चीनबीच सीमा व्यापार गर्न भएको सहमतिप्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्‍याएको थियो।

    चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउने सहमति भएको उल्लेख गरिएको थियो। उक्त सम्झदारीपछि संवाददाताहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्रालयले लिखित प्रतिक्रिया सार्वजनिक गरेको थियो। नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ, नेपालको परराष्ट्र मन्त्रालयले भनेको छ।

    ूनेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ। प्रधानमन्त्री केपी ओलीले निकट भविष्यमा गर्ने भनिएको भारत भ्रमणको तयारी चलिरहँदा केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका नेपालका दुई छिमेकीबीच पछिल्लो समझदारी भएको हो। भारत जानुअघि प्रधानमन्त्री ओली शाङ्घाई कोअपरेशन अर्गाइनेजशनको बैठकमा भाग लिन चीन जाने विवरण पनि आएको छ।

    परराष्ट्र मन्त्रालयले कूटनीतिक ढङ्गले नेपाल भारत सीमा समस्या हल गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ, विज्ञप्तिमा भनिएको छ।

    सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सो नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो। गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीबिनै यो नाकाबाट कैलास मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः सुरु गर्ने समझदारी गरेका थिए। हालै भारत भ्रमणमा पुगेका चीनका विदेशमन्त्री वाङ यीसँग लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि फेरि खुला गर्ने सहमति भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताएका छन्।


    सन् २०१५ मा भारत र चीनले लिपुलेक क्षेत्रलाई व्यापारिक नाकामा विस्तार गर्ने सहमति गरेपछि नेपालले दुवै देशसँग असन्तुष्टि प्रकट गरेको थियो। तात्कालिक प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पनि त्यसबारे विमति व्यक्त गरेका थिए। नेपाली अधिकारीहरूका अनुसार त्यस बेला चीनले नेपालले पठाएको कूटनीतिक नोटको उत्तर दिएको भए पनि भारत मौन बसेको थियो।

  • एउटै खोलामा छ, जलविद्युत् आयोजना

    एउटै खोलामा छ, जलविद्युत् आयोजना

    ५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना होे । यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए ।

    सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छभने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेघावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ तीन दशमलव पाँच मेघावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र चार दशमलव पाँच मेघावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।

    ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । “मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छभने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, उनले भने, “स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।”

    गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमा उत्साह बढेको बताउँछन् । “हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ ।”

  • पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    ५ भदौ, बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

    वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।

    यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    ५ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    ५ भदौं, काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरे । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।


    यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो ।

    भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए । प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।

  • ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ५ भदौ, ढोरपाटन । यसवर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् । निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताए । झण्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उनले गुनासो गरे ।


    “अघिल्लो वर्ष कम उत्पादन भए पनि यस वर्ष अधिकांश स्याउका बोट रित्तो छन् । जलवायु परिवर्तनका कारण समस्या भएको छ । पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो । पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन । लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको छ”, सापकोटाले भने, “यस वर्ष त अचम्मै भयो, रूखमा एउटा÷दुई वटा दानाबाहेक देखिँदैनन् । स्याउका बोट सबै खाली छन् । यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ ।”

    किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताए । स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको उहाँको भनाइ छ । इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ नफलेको घर्तीले सुनाए । “पोहोर परार सालमा एक\डेढ लाखको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन”, उनले भने, “हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन । हिउँ परे त स्याउ राम्रो उत्पादन हुन्थ्यो, वर्षा नै नहुँदा यो समस्या आयो ।” जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेको छभने बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले यस वर्ष उत्पादनमा ठूलो मात्रामा गिरावट आएको बताए ।

  • ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    एजेन्सी
    ५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै लेखेका छन् ।


    एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गर्नुभएको बिषयलाई समाचारमा उल्लेख गरिएको छ । यस्तो अनुसन्धान हुन्छ कि हुँदैन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । ट्रम्प प्रशासनले राष्ट्रपतिका राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका डेमोक्र्याटिक नेताविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ ।

    अमेरिकी नेताले केन्द्रीय बैंकको दर निर्धारण समितिमा रहेका कुकलाई लक्षित गर्दै पावेलविरुद्ध पटक–पटक लिखितरूपमा आरोप लगाएपछि यो निर्देशन आएको हो । फेडले यस वर्ष महत्वपूर्ण कर्जा दरमा कुनै परिवर्तन गरेको छैन । कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए । सन् २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थिए । उनले सोही महिनाको अन्त्यमा सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सपथ लिएका थिए । कुकले यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आर्थिक सल्लाहकार परिषद्मा काम गरिसकेका छन् ।
    हालैका महिनाहरूमा केन्द्रीय बैङ्कले मुद्रास्फीतिमा अमेरिकी करनीतिको प्रभावको निगरानी गर्न दरहरू स्थिर राख्ने अडान लिएका छन् । ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ व्यक्तिको संज्ञा दिएका छन् । ट्रम्पले यसअघि पनि फेडको मुख्यालयको अत्यधिक महँंगो जीर्णोद्धार नै पावेललाई पदबाट हटाउनुको कारण हुनसक्ने बताए । फेडको अध्यक्षका रूपमा पावेलको कार्यकाल सन् २०२६ मेमा समाप्त हुँदैछ।

  • नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ

    नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ

    ४ भदौ, बागमती । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका– ८ निवासी ४५वर्षीय सूर्यबहादुर नेगी, सोही ठाउँका ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका– १ भाल्चे निवासी ४१ वर्षीय नाम्केल तामाङलाई पक्राउ गरेको हो ।

    उनीहरुको कोठाभित्र खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा पम्प लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ५० थान फेला परेको र आवश्यक परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी सङ्घलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र एक थान १० ग्राम सक्कली सुन भएको पुष्टि भएकाले चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बरामद् सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

    बाँकी ४९ थान सुन जस्तो देखिने नक्कली पहेँलो धातुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । पक्राउ परेका चारै जनामाथि ठगी उद्योग कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

  • चक्कु प्रहारबाट युवकको मृत्यु

    चक्कु प्रहारबाट युवकको मृत्यु

    ४ भदौ, रौतहट । यहाँस्थित यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो ।

    गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु¥याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिए । लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । मृतकको शव सनाखत भई आफन्तलाई बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।

  • नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

    नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

    ४ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह दुई दशमलव शून्य तीन र म्युचुअल फण्ड शून्य दशमलव शून्य छ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ५८ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

    जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४०, निर्जीवन बिमा शून्य दशमलव ५८, व्यापार एक दशमलव शून्य छ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव शून्य तीन प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २५ करोड नौ लाख ७९ हजार २४० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को २६ लाख ५७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • लुम्बिनीमा ६ अर्ब लागतमा इन्धन डिपो बन्दै, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

    लुम्बिनीमा ६ अर्ब लागतमा इन्धन डिपो बन्दै, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

    ४ भदौ, काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो । कुल रु पाँच अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा उक्त डिपो निर्माण गरिनेछ । काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले आज निगमलाई उक्त डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) हस्तान्तरण गरेको छ ।

    सो डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो । जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ । नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने छ ।

    डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठ वटा ’वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ । पूर्ण रुपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ ।

    असोजमा बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण गरिने निगमले जनाएको छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डिपिआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थान्तरण गर्न लागिएको जानकारी दिए । काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियर सक्षम रहेको बताए ।


    काठमाडौँ विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । “भलबारीमा दुई÷तीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्न सक्छ”, उनले भने, “भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो ।“

    निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मङ्सिरमा काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको थियो । डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ विधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।

    उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । यस्तै पर्ती जग्गा भोगचलन गरिरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निगमले जनाएको छ । लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले हाल भलवारीमा प्रादेशिक कार्यालय संचालन गरिरहेको छ । करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ ।

    हाल भलवारी डिपोमा पेट्रोलका लागि पाँच सय १९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि दुई सय ८० किलोलिटर क्षमताको भण्डारण ट्यांक रहेको छ । वर्तमान खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून तथा सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव भएकाले डिपो स्थान्तरण गर्नुपरेको निगमले जनाएको छ । बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणको माग गर्दै आएका छन् ।

  • हेवा खोला बेलिब्रिज सञ्चालनमा आयो

    हेवा खोला बेलिब्रिज सञ्चालनमा आयो

    ४ भदौ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’को आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका छन् । गत वर्ष असोज १२ गते आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि निर्माण गरिएको ७० मिटर लामो ‘बेलिब्रिज’को आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे । उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ ।

    बेलिब्रिज निर्माणपछि सहज रुपमा राजमार्ग खुला हुनुका साथै ताप्लेजुङ जिल्ला र पाँचथरको उत्तरी भेगका तीन वटा गाउँपालिकाको आवागमन सहज भएको छ । उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ । मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको सडक पुल यसअघि २०८० असार २ गते आएको बाढीले बगाएको र सोही स्थानमा थियो । करिब एक महिना लगाएर निर्माण गरेको नयाँ बेलिब्रिज पनि ०८१ असोज १२ गते आएको बाढीले बगाएको थियो ।

    हेवा खोलामा ‘डाइभर्सन’का माध्यमबाट सवारीसाधन आवतजावत गर्दै आएकामा वर्षायाम सुरु भएपछिको बाढीले पटकपटक उक्त डाइभर्सन बगाउँदा यात्रु एवं स्थानीय जनताले दुःख व्यहोरिरहेका थिए । गत चैतदेखि बेलिब्रिज निर्माण कार्य थालिएको थियो । ‘दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभी’ले जडानको कार्य अन्तिम चरणमा पु¥याएको समयमा गत जेठ ३१ गते अचानक बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो ।

    यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनी ‘गार्डेन रिचसिप विल्डर्स एण्ड इञ्जिनियरिङ’लाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीहरुले गत साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका थिए ।
    बेलिब्रिजका लागि आवश्यक पहुँचमार्गसहितका संरचना निर्माण भएपछि आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

    प्रमुख भट्टराईका अनुसार भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको ‘लञ्चिङ सेट’ र पुल जडान गर्न इञ्जिनियर तथा प्राविधिकहरु रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान गर्न सफल भएको हो । बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा नवनिर्मित बेलिब्रिजको आज उद्घाटन गर्नुहुँदै । बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराइएको र सङ्घीय सरकारको रु तीन करोड ४९ लाखको लागतमा बेलिब्रिज जडान तथा संरचना निर्माण कार्य सम्पन्न गरेको हो । तस्बिरःरवीन्द्र काफ्ले/रासस
  • माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

    माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

    ४ भदौ, पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।

    थुनामा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको दाहालको सचिवालय सदस्य भण्डारीले बताए ।

  • स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    ४ भदौ, जनकपुर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रञ्जिता साहलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

    सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो । मुख्यमन्त्री सिंहलाई महोत्तरीस्थित विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र सरोकारवालाले सो अस्पतालमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्यहोरा दर्शाउँदै गत मङ्गलबार ज्ञापनपत्र बुझाएका थिए ।

    मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका थिए । स्पष्टीकरण सोधिएकामाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहितापालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउने पत्रमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले सेवाप्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    ४ भदौ, झापा । माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो । झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।

  • भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

    भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

    ४ भदौ, भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।

    पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ । पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ । पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ ।

  • काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

    काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

    ४ भदौ, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरे । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

    यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए । कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए ।


    साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    ४ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।


    बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

  • ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ४ भदौ, काभ्रे । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।


    काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    ४ भदौ, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

    ४ भदौ, ढोरपाटन । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।


    यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई÷दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् ।

    स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरु एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भुतप्रेत र राक्षेसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

    सुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ । एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेको हुँदा उनीहरुको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउँछन् ।
    ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उनको भनाइ छ । पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरु अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन् ।


    “बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्ती मगरले भने, “उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा ग¥यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।”

    बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए । यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ ।

  • कर्णालीमा बुधबार सार्वजनिक बिदा

    कर्णालीमा बुधबार सार्वजनिक बिदा

    ४ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।


    दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।