Category: फिचर

  • बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    २ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ७ स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

    दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ ८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    २ भदौ, खलङ्गा । पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

    निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

  • मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    २ भदौ, सिरहा । लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने, ‘साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।”

    उनका अनुसार खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । “साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने देखिन्छ,” महासेठले भने ।

    उनले भदौको पहिलो सातासम्म थप दुई प्रतिशत रोपाइँ पनि सम्पन्न हुने विश्वास व्यक्त गरे । “यो वर्ष जिल्लामा ९० प्रतिशत हाराहारीमा रोपाइँ पुग्ने अनुमान छ,” तर जिल्लाको उत्तरी भेगमा भने केही क्षेत्रमा अत्यधिक खडेरीका कारण धान रोपोमै सुकेको देखिएको छ । यद्यपि दक्षिणी क्षेत्रमा यस्तो अवस्था नरहेको उनले स्पष्ट पारे । कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी आफूहरुले तथ्याङ्क तयार पार्ने गरेको उनको भनाइ छ ।

    जिल्लाको धानखेतीमा कमला नहरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । खडेरीका समयमा भूमिगत पानीको स्रोत तथा कमला नहरमार्फत सिँचाइ भएको जमिनमा प्रारम्भिक रोपाइँ गर्न सम्भव भएको थियो । केन्द्रका अनुसार कमला नहरबाट करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसान यसबाट प्रत्यक्ष लाभ लिएका छन् । सिरहामा कूल धान खेतीयोग्य ५४ हजार क्षेत्रफल जग्गा रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

    जिल्लामा धानबाली प्रमुख बाली हो । हरेक वर्ष करिब उस्तै परिमाणमा बर्खे धानखेती गरिँदै आएको छ । यस वर्षको प्रारम्भिक स्थितिमा देखिएको ढिलाइको बाबजुद साउन अन्त्यसम्म आइपुग्दा रोपाइँको गति उल्लेख्य बनेको छ । अब बाँकी रोपाइँ सम्पन्न भएसँगै आगामी हप्ता जिल्लामा रोपाइँ अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    २ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    रासस
    २ भदौ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए ।

    गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए । आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

    ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा रु एक करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।

    “तुदी पावरले थप रु २५÷२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,” गाउँपालिकाका अध्यक्ष भण्डारीले भने, “तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला ९ए०को रु ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुदैछ् ।”

    चिमखोला– मङ्गले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले रु ८० लाख खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् ।

    बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए ।


    सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए ।

    ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।

  • कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    २ भदौ, गलकोट । नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो ।

    जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।

    नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो । “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भने, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।”

    बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ-रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

    रासस

  • चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    २ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।

    राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो । यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।

    सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ । वाणिज्य बैंक बाहेक बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।

  • हालैका दुर्घटनाका बाबजुद पाकिस्तानमा पर्वतारोहण अभियान नरोकिने

    हालैका दुर्घटनाका बाबजुद पाकिस्तानमा पर्वतारोहण अभियान नरोकिने

    एजेन्सी
    २ भदौ, कराँची । हालै पर्वतारोहणका क्रममा विदेशी पर्वतारोहीहरूको मृत्यु भए पनि पाकिस्तानले उत्तरका पहाडहरूमा पर्वतारोहण अभियानमा कुनै प्रतिबन्ध लगाउने वा चेतावनी जारी गर्ने योजना नराखेको सरकारी अधिकारीहरूले बताएका छन् । गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्ला फाराकले भने, “पर्वतारोहीहरूलाई कठोर मौसम र सम्भावित जोखिमबारे पूर्ण जानकारी हुन्छ । त्यसका बाबजुद, उनीहरूले स्वेच्छाले यी चुनौती स्वीकार गरेर विश्वका अग्ला शिखरहरूमा हात हाल्छन् ।” गत मङ्गलबार ३७ वर्षीया चिनियाँ पर्वतारोही गुआन जिङ विश्वको दोस्रो अग्लो शिखर के–२ मा चट्टान खस्दा ज्यान गुमाएकी थिइन् । उनको शव शनिबार उद्धार टोलीले बरामद गरेको र हाल स्कार्दूको कम्बाइन्ड मिलिटरी अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।

    यसअघि जर्मन पर्वतारोही तथा ओलम्पिक विजेता लौरा डाहलमेयरको पनि काराकोरम श्रृङ्खलामा मृत्यु भएको थियो । फाराकले पाकिस्तान सरकारले पर्वतारोहण अभियानका लागि आवश्यक पूर्वाधार, उद्धार सुविधा, सुरक्षा र सहज वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको बताए । “यी अभियानहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड हुन्, जसले प्रत्यक्ष रूपमा लाखौँ डलरको आम्दानी ल्याउँछ । हजारौँ स्थानीयले मेदेखि सेप्टेम्बरसम्म यिनै अभियानबाट आम्दानी गर्छन्”, उनले भने । हरेक वर्ष सयौँ पर्वतारोहीले उत्तरी पाकिस्तानका शिखरहरूमा आरोहण गर्ने प्रयास गर्छन् । तर हिमस्खलन, आकस्मिक मौसम र भूस्खलनका कारण दुर्घटनाहरू सामान्य रूपमा हुने गरेका छन् । यस वर्ष मनसुन असामान्य रूपमा बढी भएकाले आकस्मिक बाढी र पहिरोले चुनौती थपेको छ ।

  • गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

    गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी
    २ भदौ, काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए । दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप चार जनाको ज्यान गएको छ ।


    त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको बास्सालले बताउनुभयो । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् । इजरायली सेना हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गर्दैछ । एक सातादेखिको यो अपरेशनले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।


    संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् । इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन गहिरिँदै गएको हो । यसैबीच, इजरायली रक्षा मन्त्रालयले गाजा सिटीबाट नागरिकहरूलाई सुरक्षित क्षेत्रतर्फ सार्न नयाँ तयारी थालिएको जनाएको छ । तर हमासले यसलाई गाजा सिटीमाथि कब्जा जमाउने योजनाको रूपमा व्याख्या गर्दै विरोध जनाएको छ ।


    यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो । त्यसपछि सुरु भएको इजरायली कारबाहीमा हालसम्म ६१ हजार ८९७ भन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ।

  • युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

    युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

    एजेन्सी
    २ भदौ, काठमाडौं । युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टनको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति ट्रम्पले रूसी समकक्षी नेता पुटिनसँग गत शुक्रबार शिखर सम्मेलन गरेका थिए ।

    उक्त बैठकले कुनै सम्झौताका लागि अघि बढ्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम गर्न असम्भव देखिएको बताएका थिए । युक्रेन र यसका युरोपेली सहयोगीहरूले पुटिनको अडानलाई समय खर्च गर्ने तर रुसको युद्धभूमिको प्रगतिलाई अघि बढाउने नयाँ रणनीतिको रूपमा आलोचना गरेका छन्।

    बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट युक्रेनबारे ट्रम्पसँग बृहत् छलफल गर्न र उहाँलाई युक्रेनको पक्षमा उभ्याउने माहोल सिर्जना गर्ने अभियानका साथ वासिङ्टन पुग्नेछन्। ह्वाइट हाउस जान लागेकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले जेलेन्स्कीलाई आइतबार ब्रसेल्समा हुने बैठकका लागि स्वागत गर्ने बताए ।


    इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स पनि वासिङ्टन जानेछन् । जर्मन सरकारले मर्जलाई अमेरिका जान लागेको पुष्टि गर्दै जर्मनीले ’युक्रेनमा द्रूत शान्ति सम्झौतामा चासो राख्ने’ प्रयास गर्ने बताएको छ । अलास्काबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई नेता पुटिनसँगको छलफलबारे जानकारी गराउने बताइएको छ। रुस र युक्रेनबीचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय भनेको सीधै शान्ति सम्झौतामा जानु हो जसले युद्धको अन्त्य गर्नेछ।

    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “युद्धविरामका सम्झौताहरू अक्सर रोकिँदैनन्।” रूसी र अमेरिकी नेताहरूको अलास्का सम्मेलनपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले शनिबार भन्नुभयो, “यो परिवर्तनले ‘परिस्थितिलाई जटिल बनाएको’ बताएका थिए ।

    यदि मस्कोमा ’आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले दशकौंसम्म आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने बृहङ्गम इच्छाशक्ति राख्ने धेरै प्रयास गर्न सक्छ,” युक्रेनका राष्ट्रपति जेलेन्स्किीले सामाजिक सञ्जालमा लेखेका छन् । युरोपेली नेताहरूले सुरुदेखि नै पुटिनसँग ट्रम्पको सम्पर्कप्रति असहजता व्यक्त गर्दै आएका छन् ।

  • एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एजेन्सी
    १ भदौ, काठमाडौं । एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हडताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ । समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर क्यानाडा रुजका उडान सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिएको हो।

    क्यानडाको राष्ट्रिय ध्वजाबाहक कम्पनीले आइतबार साँझदेखि उडान सुरु गर्ने योजना बनाए पनि उडान सामान्य अवस्थामा फर्कन अझै केही दिन लाग्ने चेतावनी दिएको छ । आगामी सातदेखि १० दिनभित्रका केही उडान रद्द हुने बताइएको छ । एयर क्यानाडाका ‘क्याबिन क्रु’ले तलब विवादका कारण शनिबार बिहानै हडतालमा सहभागिता जनाएका थिए । त्यसको केही घण्टापछि क्यानडाका श्रम नीतिमन्त्री प्याटी हज्दुले हडताल रोक्न र दुवै पक्षलाई बाध्यकारी मध्यस्थता गर्न बाध्य पार्ने कानुनी प्रावधान लागू गर्नुभएको थियो ।


    “क्यानडा श्रम संहिताको धारा १०७ र औद्योगिक समितिको आदेशले एयर क्यानाडाको हडताल अन्त्य गरेको छ । हडतालका कारण ७०० भन्दा बढी उडानहरू स्थगित भएका छन्,” मोन्ट्रियलस्थित क्यानडा एअरलाइन्सले भनेको छ। क्यानेडियाली सार्वजनिक रोजगार युनियन (सियुपिई) ले कामदारको आन्दोलनको नेतृत्व गर्दै आएको छ, जसले तलब वृद्धिका साथै बोर्डिङ प्रक्रियाको समयमा समेत क्षतिपूर्ति नपाएको बिषयलाई सम्बोधन गर्न माग गरेको छ ।

    सरकारले औपचारिक रूपमा काममा फर्कन आदेश जारी नगर्दासम्म आफ्ना सदस्यहरू हडतालमा बस्ने यसअघि नै उसले बताएको थियो। हडतालसँगै युनियनले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट भएमा यात्रुलाई विमानस्थल नजान आग्रह गरेको थियो । सियुपिइले तुरुन्तै काममा फर्कने निर्देशनबारे प्रतिक्रिया जारी गरेन तर क्यानाडा सरकारको हस्तक्षेपलाई ‘एयर क्यानाडाले उनीहरूले माग गरेको कुरा दिएर निष्पक्ष वार्ता गर्न इन्कार गरेकोमा पुरस्कृत गरेको’ भनेर आलोचना गरेको छ।

    सियुपिइले एक विञप्ति जारी गर्दै भनेको छ, “यसले भयानक नजिर स्थापित गरेको छ।” युनियनले औदोगिक समितिका अध्यक्ष मेरिसे ट्रेम्ब्लेले यसअघि एयर क्यानडाका लागि कानुनी सल्लाहकारको रूपमा काम गरेको पनि उल्लेख गरेको छ । “हडताल अन्त्य गर्ने कि नगर्ने भन्ने विषयमा ट्रेम्ब्लेको निर्णय ‘स्वार्थको द्वन्द्वको लगभग अकल्पनीय प्रदर्शन’ थियो,” युनियनले आफ्नो फेसबुक पेजमा गरेको पोस्टमा उल्लेख गरेको छ। क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले दैनिक करिब एक लाख ३० हजार यात्रुहरूलाई सेवा दिन्छ भने यसले विश्वका विभिन्न १८० शहरहरूमा सीधा उडान गर्दछ।

  • हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

    हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

    रासस
    १ साउन, काठमाडौं । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि सुरु हुँदैछ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा यही भदौ २ र ३ गते काठमाडौँमा हुने बैठकको तयारी पूरा भएको समितिले जनाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को प्राविधिक सहयोगमा आयोजना हुन लागेको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । अफगानिस्तानको सरकारलाई नेपालले हालसम्म मान्यता नदिएका कारण बैठकमा आमन्त्रणा गरिएको छैन् ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा सभामुख देवराज घिमिरे विशिष्ट आतिथि रहनुहुनेछ । यही भदौ २ गते बिहान ९ः३० बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ । समारोहमा राष्ट्रपति पौडेल, सभामुख घिमिरे, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो तथा विभिन्न देशबाट आउनुभएका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन् । उद्घाटन समारोहपछि विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् ।

    बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब ३० जना तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहनेछ । साथै साझेदार संस्थाहरू, नेपालको सङ्घीय संसद् र सरकारी अधिकारीहरूका सम्बन्धित विज्ञहरू पनि यस कार्यक्रममा सहभागी हुनेछन् । वन तथा वातावरण तथा परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वयमा बैठक आयोजना हुन लागेको हो ।

    आयोजक समितिका संयोजक वीरबहादुर बलायरले बैठकको तयारी पूरा भएको जानकारी गराउँदै कार्यक्रममा हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा परेको असर, जोखिम र त्यसक्षेत्रका अवसरबारे विस्तृत र गहन छलफल हुने बताए । उनले भने, “जलवायु परिवर्तनको ठूलो असर हिन्दुकुश क्षेत्रमा परेको छ, जैविक विविधता पनि लोप भएर गइरहेको छ । यसलाई न्यूनीकरण गर्न बेलैमा साझा पाइला चालेर केही गर्न सकिन्छ कि भन्ने उद्देश्य यो कार्यक्रम गर्न लागेका हौँ ।”

    विश्व समुदायले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या भोग्नु परिरहेको परिप्रेक्षमा हिन्दुकुश राष्ट्रका सांसदहरूलाई एउटै मञ्चमा बसेर समस्या समाधानका लागि साझा धारणा बनाउन प्रयत्न गरिएको उनको भनाइ छ । हिन्दुकुश हिमालय एक जैविक विविधता र सांस्कृतिक रूपमा धनी पर्वतीय क्षेत्र हो, जुन अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी आठ देशमा फैलिएको छ ।

    हिन्दुकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नवीन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुशुमदेवी थापाले बताउनुभयो । राजनीतिक र संसदीय नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गर्दा प्राप्त हुने निष्कर्षलाई भावी दिनमा सम्बन्धित देशका जलवायु नीति तर्जुमा तथा जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, क्षेत्रीय रणनीति तयार पारी कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

    हिन्दुकुश हिमालय क्षेत्रले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणको प्रभावसँगै तीव्र सामाजिक–आर्थिक परिवर्तनबाट विभिन्न सङ्कटको सामना गरिरहेको छ । यसबाट पारिस्थितिक प्रणाली, प्राकृतिक स्रोत, जीविकोपार्जन र मानव जीवनमा गम्भीर प्रभाव पारिरहेको छ । ज्वलन्त पर्वतीय मुद्दालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रूपमा उठाउने बैठकको सङ्कल्प छ ।

    बैठकमा परराष्ट्र मन्त्रालयबाट समन्वय गरिरहनुभएका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र वायु प्रदूषणसँग सम्बन्धित प्रमुख समस्याका साथै साझा चुनौती र अवसरबारे संसदीय अभ्यास तथा बुझाइलाई नवीन ढङ्गबाट अभिवृद्धि गर्न बैठक सहयोगी हुने बताए ।
    विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको मुलुकमा पर्दछ ।

    वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ( दशमलव ३ डिग्री सेल्सियस देखि ) दशमलव ७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् ।

    परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको छ । वन मन्त्रालयका जलवायु परिर्वतन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव मात्र नभई सम्भावना र अवसरबारे पनि कार्यक्रममा पर्याप्त छलफल हुने जानकारी दिए ।

  • राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    १ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

    “एउटा उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनले नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

    “नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ”, राष्ट्रपतिले भने । विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

    विदेशसचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरुसँग छलफल गर्ने अवसर मिलेको बताए ।

  • प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    १ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए ।

    भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

  • ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    १ भदौ, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर आज सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताए ।

    खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको प्रहरीले जनाएको छ । यी सवारीसाधन काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको प्रमुख अधिकारीले बताए ।

  • भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    १ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।

    प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

    अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताउए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।


    विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।


    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।


    चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

    रासस

  • गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    एजेन्सी
    १ भदौ, काठमाडौं । गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् । “हामीसँग अर्को विकल्प छैन,” उनले भने, “यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौं ।”

    यस प्रकारको अवस्था अहिले गाजाको सामान्य दिनचर्या बनेको छ । प्रत्येक थोपा पानी अत्यन्तै मोल हुने भएकोले मानिसहरू पिउने, पकाउने, धुने र नुहाउने कार्यका लागि पानीलाई बाँडीचुँडी प्रयोग गरिरहेका छन् । पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको स्टक गर्दै बाँच्न संघर्ष गरिरहेका छन् । जब पानी आउँदैन, केही मानिसहरू समुद्रको पानी बोतलमा भरेर प्रयोग गर्न बाध्य हुन्छन् — जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ ।

    बाइस महिनायता इजरायलको आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्त सीमित भएको छ । ईन्धन र बिजुलीको आपूर्तिमा रोक, समुद्री पानी शुद्ध गर्ने केन्द्रहरूको बन्द अवस्थाले यो संकटलाई अझ चर्काएको छ । पानीका पाइपलाइनहरू नष्ट भएका छन्, इनफ्रास्ट्रक्चर बमबारीमा ध्वस्त छ र अधिकांश इनार अब पहुँचयोग्य छैनन् ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनआरडब्लुए० का अनुसार अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा साप्ताहिक झन्डै १० हजार ३०० जना पानीजन्य संक्रमण ९विशेषगरी झाडापखाला० का बिरामीहरू उपचारका लागि पुगिरहेका छन् । युनिसेफले दिएको तथ्यांकअनुसार, फेब्रुअरीमा झाडापखालाको दर २० प्रतिशत मात्र थियो, जुन जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ — जसले बालबालिकामा निर्जलीकरणको खतरा बढाएको छ ।

    अहिले धेरै मानिसहरू गहिरो जमिनबाट निकालिएको खार पानी (नुनिलो र अशुद्ध) पिउन बाध्य छन्, जुन पहिले सफा गर्न वा खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो । गाजाको पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, उनीहरूले अस्पताल र नागरिकहरूलाई प्राथमिकता दिएर पानी बाँडिरहेका छन्, जसको अर्थ नाली र ढल सफा गर्न चाहिने पानी रोक्नु परेको छ । “खाना बिना केही दिन बाँच्न सकिन्छ, तर पानी बिना होइन,” शोब्लाकले बताए ।

    इजरायलले हालै केही पाइपलाइन पुनः जडान गरेको छ र एउटा शुद्धिकरण केन्द्रलाई बिजुली दिएको छ । साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा मिस्रको सीमामा बन्न लागेको नयाँ शुद्धिकरण केन्द्रबाट पानी आपूर्ति सुरु हुने आशा गरिएको छ । तर, मानवीय सहायता समूहहरूले चिन्ता व्यक्त गर्दै, यदि इजरायलले अझै नयाँ सैन्य कारबाही थाल्यो भने, विशेषगरी गाजा सहर र मुवासी क्षेत्रमा, पानी र सहायता पुनः अवरुद्ध हुन सक्ने बताएको छ । मुवासीको शिविरमा बसोबास गरिरहेका होस्नी शाहीन भने, “यो पानीले बच्चालाई पेट दुख्ने बनाउँछ । जब छोराछोरीलाई यो पानी दिनुपर्छ, हामी सुरक्षित छौं जस्तो लाग्दैन ।”

  • चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने

    चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने

    एजेन्सी
    १ भदौ, बेइजिङ । चीनका उच्च कूटनीतिज्ञले आफ्नो साझा सीमाका बारेमा वार्ताका लागि आगामी साता भारत भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले शनिबार जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले दिल्लीको निमन्त्रणामा सोमबारदेखि बुधबारसम्म चीन–भारत सीमा विवादमा २४औँ विशेष प्रतिनिधिको बैठकका लागि भारत भ्रमण गर्नुहुनेछ । हिउँले ढाकिएको, अग्लो हिमाली सीमा पार गरेर हुने दुई छिमेकीबीचको विगतको व्यापार सामान्यतया परिमाणमा सानो थियो, तर यसको प्रतीकात्मकताको लागि कुनै पनि पुनरुत्थान महत्त्वपूर्ण छ। सन् २०२० मा सीमावर्ती सेनाबीच भएको भीषण झडपपछि दुईदेशबीचको प्रत्यक्ष कारोबार बन्द भएको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार वाङले सोमबार नयाँ दिल्लीमा वार्ता गर्ने अपेक्षा गरिएको छ । उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने नयाँ दिल्लीको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ विदेशमन्त्री वाङले जुलाईमा बेइजिङ भ्रमण गरेका भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् । यी दुई ठूला आर्थिक शक्तिबीच दक्षिण एसियामा रणनीतिक प्रभावका लागि लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी करवृद्धि गर्ने घोषणाका कारण विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलमा फसेपछि उनीहरू सम्बन्ध सुधार्न लागिपरेको देखिन्छ ।

    चिनियाँ र भारतीय अधिकारीहरूले हालैका हप्ताहरूमा दुई देशबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। सिधा उडान पुनः सुरु गर्ने र पर्यटक भिसा जारी गर्ने सम्झौतालाई पनि उनीहरूको सम्बन्ध पुनर्निर्माणको प्रयासको एक भागको रूपमा हेरिएको छ।

  • कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    १ भदौ, बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उनले भने , “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए ।

    विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

    निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ । रासस

  • करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    १ भदौ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

  • इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

    इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

    १ भदौ, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियान अर्मेनिया र बेलारुसको दुईदिने भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इरानका राष्ट्रपतिका राजनीतिक सल्लाहकार मेहदी सानाईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त भ्रमणको घोषणा गरेका छन् । सानाईले अर्मेनिया र बेलारुससँग विशेष गरी व्यापारिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुधार गर्ने र सहयोगका दस्तावेजमा हस्ताक्षर गर्ने विषय भ्रमणका क्रममा राष्ट्रपतिको कार्यसूचीमा रहने बताए । उनले भ्रमण जुनको अन्त्यमा हुने तय गरिएको तर राष्ट्रपतिको व्यस्थताका कारण स्थगित गरिएको जानकारी दिए ।


    सन् १९८८ देखि नागोर्नो–काराबाख को पहाडी क्षेत्रमा विवाद रहँदै आएको अर्मेनिया र अजरबैजानबीच अगष्ट ८ मा वासिङ्टनमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पेजेस्कियानको अर्मेनिया भ्रमण हुन लागेको हो । शान्ति सम्झौतामा दक्षिणी अर्मेनियामा ट्रान्जिट करिडोर निर्माण गर्ने सम्झौता समावेश गरिएको छ । उक्त परियोजनाको विशेष विकास अधिकार संयुक्त राज्य अमेरिकालाई प्रदान गरिएको छ। इरानले यस क्षेत्रमा अन्तरक्षेत्रीय खेलाडीहरूको उपस्थितिको बारम्बार विरोध गर्दै आएको छ र यस क्षेत्रको भूराजनीति र ऐतिहासिक सीमाहरूमा कुनै पनि परिवर्तन नगर्न चेतावनी दिएको छ।

  • युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    १ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

  • वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना

    वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना

    १ भदौ, काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।

    त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ ।

  • कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना

    कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना

    १ भदौ, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    १ भदौ, भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जानकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

  • रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

    रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

    १ भदौ, काठमाडौं । रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ । मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।” यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो ।
    अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरि खोजी र उद्धार कार्य जारी छ । आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा शुरू भएको थियो । स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लङ्घनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन् ।

  • देशभर यसरी मनाइयो कृष्णाजन्माष्टमी (फोटो फिचर)

    देशभर यसरी मनाइयो कृष्णाजन्माष्टमी (फोटो फिचर)

    आज देशभर कृष्णाजन्माष्टमी मनाइएको छ । यस अवधिमा देशभरीका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । आज ललितपुरको पाटनमा अधिक भीड लाग्ने गर्छ र राष्ट्रपति रामचन्द्र पौडेल समेत सो मन्दिरमा सरीक भएर पूजा पाठ गरेका छन् ।

    यस्तो छ देशभरीका कृष्ण मन्दिरमा आज देखिएको माहोल

    राष्ट्रपति पौडेल काठमाडौँ, ३१ साउन : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार श्रीकृष्ण जन्माअष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शनका क्रममा । तस्बिर : किरणराज विष्ट/रासस
    (250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — Devotees line up to worship Lord Krishna during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)
    (250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — A girl receives tika during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)
    (250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — Devotees line up to worship Lord Krishna during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)
    लाखे नाच काठमाडौँ, ३१ साउन : श्रीकृष्ण जन्माअष्टमीको अवसरमा शनिबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा लाखे नाच प्रस्तुत गरिँदै । तस्बिर : किरणराज विष्ट/रासस
    लाखे नाच दमौली(तनहुँ)), ३१ साउन : तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा शनिबार साँझ लाखे नाच प्रस्तुत गर्दै नेवार समुदाय । तस्बिर : कृष्ण न्यौपाने/रासस
    राधाकृष्णको पूजा नवलपुर (नवलपरासी), ३१ साउनः श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शनिबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ मा रहेको राधाकृष्ण मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । तस्बिरः टेकराज पोखरेल÷रासस
    श्रीकृष्ण जन्माष्टमीको अवसरमा जमजुङकाे मध्यनेपाल नगरपालिकामा ईस्कोन करापुटारले शनिबार निकालेको रथयात्रामा सहभागी हुँदै भक्तजन। तस्बिर : देवेन्द्र गुरुङ/रासस
  • जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    ३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै विषयमा विस्तृत छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

    उनले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका संवादहरूलाई ‘गम्भीर र फलदायी’ भएको उल्लेख गर्दै, पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिए । यो भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन दिनअघि सम्पन्न वार्तापछि तय गरिएको हो । अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्धविराम घोषणा वा ठोस सहमति भएको छैन ।

    राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका सबै चरणमा सहभागी गराउन आग्रह गर्दै, आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ताका लागि पूर्णतः तयार रहेको दोहो¥याए । “महत्वपूर्ण विषयहरू नेताहरूको तहमा सिधा छलफल गर्न आवश्यक छ,” उनले भने, “त्रिपक्षीय वार्ताको ढाँचा प्रभावकारी र उपयुक्त हुनेछ ।” उक्त उच्चस्तरीय भेटवार्ताबाट युक्रेन युद्ध अन्त्यका प्रयासहरूलाई गति मिल्ने र अन्तर्राष्ट्रिय शान्ति पहलमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • भारतका विदेश सचिव आइतबार नेपाल आउँदै

    भारतका विदेश सचिव आइतबार नेपाल आउँदै

    ३१ साउन, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आउने भएका छन् । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार फर्किनेछन् । आगामी महिना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी छ ।

  • रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

    रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

    ३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो ।

    सोही आधारमा आज उहाँलाई कारागार सरुवा गरिएको जोशीले बताए । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उहाँलाई जहाजमार्फत त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए । भीड बढी भएकाले उहाँको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ । रासस