Category: फिचर

  • बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

    बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

    २९ साउन, बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।


    बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाइसकेको छ । बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन् ।

    बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । अहिले पनि वर्षा भइरहेकाले बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

  • हत्या आरोपमा दुई जना पक्राउ

    हत्या आरोपमा दुई जना पक्राउ

    २९ साउन, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् ।

    उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । फनिलाल यादवको यही साउन १४ गते हत्या भएको थियो । उनी घरमा एक जना भान्सेको सहयोगमा बस्दै आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट खुकुरी र एकजोर चप्पल बरामद गरेको थियो ।

    प्रहरीका अनुसार, घटनापछि अनुसन्धान सुरु गरिएको र घटनास्थल नजिकैको सिसीटिभी फुटेज तथा छुटेको चप्पलको आधारमा साउन २३ गते प्रशान्त मण्डललाई पक्राउ गरिएको हो । मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरी पक्राउ परेका थिए । हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले गरिरहेको छ । जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थपगरी अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

    नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

    २९ साउन, पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताए ।

    “जिम्मेवार र बुझ्न सक्ने जमात तयार ग¥यौँ भने राम्रो समाज बन्छ, हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ, आजको कार्यक्रमले हामी सबैलाई प्रेरित गरेको छ, डिजिटल माध्यमको सदुपयोगका विषयमा हुने यस्ता गहन छलफलले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने जमात तयार हुनेछ”, उनले भने ।

    उनले जबसम्म नागरिकले कुन सूचना कसले मलाई किन दियो भन्ने छुट्याउन सक्दैनन्, तबसम्म समस्या आइरहने बताए । संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग हुनुपर्नेमा जोड दिए ।

  • अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    २९ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि रु दुई लाख जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए । धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।


    “बजार अनुगमनका क्रममा त्रुटि भेटिएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ‘ख’ बमोजिम जरिवाना तोकिएको हो”, प्रमुख न्यौपानेले भने । महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई आग्रह गरेको छ ।

  • नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    २९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी ९गेम चेन्जर० काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

    उनले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्नेगरी सबै किसानलाई व्यावसायिक भैँसीपालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवन बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराए ।


    प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालको आफ््नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेल्वे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ÷तराई मधेस दु्रत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न समेत मन्त्रीहरुलाई आग्रह गरे । “मेरा यी कुराहरु प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ”, प्रधानमन्त्री ओलीले भने, “मौलिक ढङ्गले हामी अघि बढ्नुपर्छ । साँच्चै माइलस्टोन हुने खालका काम गरौँ ।”

    कार्यक्रममा चालु आर्थिक वर्ष २०८२\८३ मा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

  • इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

    इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु


    एजेन्सी
    २९ साउन, काठमाडौं । इराकको राजधानी बग्दादको पूर्वी क्षेत्र उरमा बुधबार बिहान एक निजी घरमा भयावह आगलागी हुँदा एकै परिवारका सात जना सदस्यको मृत्यु भएको छ । नागरिक सुरक्षा विभागका प्रवक्ता अला मोहम्मदले जानकारी दिँदै भने, “हामीले तत्काल उद्धार टोली परिचालन गरेका थियौं, तर आगो यति छिटो फैलियो कि पीडितहरूलाई बचाउन सकिएन ।” यद्यपि, आगो नियन्त्रणमा ल्याएर वरपरका अन्य घरहरूमा फैलिनबाट जोगाइएको उनले बताए । आगलागीको कारण पत्ता लगाउनका लागि आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

    इराकमा पछिल्लो समय गर्मीको तीव्र लहरका कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन् । देशका विभिन्न भागमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि आगलागीका घटना बढेका छन् । यसअघि, साउनको पहिलो साता इराकको वासित प्रान्तको राजधानी कुतस्थित एक ठूलो सुपरमार्केटमा भएको आगलागीमा कम्तीमा ६१ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनपछि बग्दादकै पूर्वी क्षेत्रमा भएको अर्को घरमा आगलागी हुँदा चार जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए ।

  • ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

    ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु


    एजेन्सी
    २९ साउन, काठमाडौं । ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् । अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ ।

    ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताए । भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

  • इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

    इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु


    एजेन्सी
    २९ साउन, काठमाडौं । बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)ले जनाएको छ । यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा जीर्ण डुंगामा यात्रा गर्ने गर्छन् ।

    यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “लाम्पेदुसा नजिक फेरि एकपटक यस्तो पीडादायक दुर्घटना भएको छ । हालसम्म २० शव फेला परिसकेको र झण्डै यति नै संख्यामा मानिसहरू अझै हराइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।” इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले पनि यो घटना पुष्टि गर्दै उक्त डुंगा लाम्पेदुसाबाट १४ नौटिकल माइल टाढा दुर्घटनाग्रस्त भएको जानकारी दिए । प्राप्त विवरणअनुसार, उक्त डुंगामा जम्मा ९७ जना आप्रवासी सवार थिए ।

    इटालीको समाचार संस्था अन्साले जनाएअनुसार, मृतकमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन्, जसको शवलाई लाम्पेदुसा स्थित शवगृहमा लगिएको छ । उद्धार भएकाहरूका अनुसार, मंगलबार साँझ लिबियाको त्रिपोलीबाट दुईवटा डुंगा प्रस्थान गरेका थिए । तीमध्ये एक डुंगा डुब्न थालेपछि त्यसमा रहेका केही यात्रुहरू अर्को डुंगामा सरेका थिए । अत्यधिक भारका कारण त्यो डुंगा पनि डुब्न थालेको हो ।

    लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रकी सह–निर्देशक क्रिस्टिना पाल्माका अनुसार, हालसम्म ६० जना जीवित उद्धार गरिएकालाई सो केन्द्रमा लगिएको छ ।
    सम्बन्धित अधिकारीहरूका अनुसार, समुद्रमा आप्रवासीहरू सङ्कटमा परेका देखेर इटालीको अर्थसम्बन्धी सुरक्षानिकायको विमानले उद्धारको सूचना दिएको थियो ।

    यूएनएचसीआरले दिएको जानकारीअनुसार, चालु वर्षको आरम्भदेखि हालसम्म भूमध्यसागरको केन्द्रीय मार्गमा ६७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन् । इटालीको गृहमन्त्रालयका अनुसार, यस वर्ष अहिलेसम्म ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेका छन् ।

    गृहमन्त्री पियान्तेदोसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै भने, “यस्ता जोखिमपूर्ण समुद्री यात्राहरूलाई प्रस्थानस्थलमै रोक्न आवश्यक छ, साथै मानव तस्करीमा संलग्न निर्दयी समूहहरूको विरुद्धमा कडा कारबाही गर्नुपर्छ ।” प्रधानमन्त्री श्रीमती जियोर्जिया मेलोनी नेतृत्वको सरकारद्वारा उत्तर अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी आप्रवासन नियन्त्रणका लागि सहयोगस्वरूप तालीम तथा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

  • प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

    प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी


    २८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराए ।

    “अन्तरराष्ट्रिय मञ्चमा नेपालले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको हित प्रवर्द्धनका लागि महसुस हुनेगरी आवाज उठाएको छ”, प्रधानमन्त्री ओलीले भने, “सम्मेलनका मुख्यसत्र र विषयगत गोलमेच कार्यक्रममा भएको नेपालको सहभागिता र सम्बोधनले नेपालको अन्तरराष्ट्रियस्तरमा छविमा बढोत्तरी हुनुका साथै नेपालले निर्वाह गर्नसक्ने नेतृत्वदायी भूमिकाको सन्देश प्रवाह भएको छ ।”

    उनले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताए । सम्मेलन पारवाहनलगायतका चुनौतीको सामनाका उपायहरू खोज्न र ‘अवाजा प्रोग्राम अफ एक्सन’ पारित गर्न सफल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरुका विकासको आकांक्षा पूरा गर्ने नयाँ र बलियो प्रतिबद्धता गरेको उनको भनाई छ ।

    सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकारप्रमुख, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्षहरूसहित करिब १०० मुलुकको प्रतिनिधित्व थियो । प्रधानमन्त्री ओलीले सम्मेलनको ‘प्लेनरी’मा आफूले अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्ष तथा नेपालका तर्फबाट सम्बोधन गरेको र अतिकम विकसित समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै भूपरिवेष्टित विकासशील मुलुकहरूले सामना गर्दै आएका समस्याहरू उठाएको अवगत गराए ।


    उनले आफ्नो मन्तव्यलाई यी मुलुकमा पूर्वाधार अभाव, बजारको सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असरलगायत समस्याहरूमा केन्द्रित गरेको बताए । “यी समस्याहरूको समाधानका लागि भूपरिवेष्टित विकासशील मुलुकहरूबीच आपसी सहयोग र साझेदारी विस्तार गर्नुपर्ने र विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने विषयमा जोड दिएको छु”, प्रधानमन्त्री ओलीले भने, “देशको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दा स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेल्वे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोर निर्माणमार्फत सीमापार सम्पर्क (क्रस–बोर्डर कनेक्टिभिटी) विस्तारमा नेपालले गरिरहेको कामको चर्चा गरेँ । साथै यसतर्फको हाम्रो यात्रामा थप सहयोग गर्न छिमेकी मुलुकहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गरेको छु ।

  • एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

    एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

    २८ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१र८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन् ।

    एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौँ परिसरले जनाएको छ । यस्तै ग्यास चुहावट भएर ४५, वन जङ्गलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ ।


    ‘प्रहरी कन्ट्रोल रुम’मा अपराधसम्बन्धी सूचना प्राप्त हुने बित्तिकै परिसर मातहतका युनिटबाट सम्बन्धित स्थानमा परिचालित हुने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताए । पछिल्लो एक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको उनले जानकारी दिए । यस्तै २४ प्रतिशत घटनामा १० मिनेट, २१ प्रतिशत घटनामा १५ मिनेट, नौ प्रतिशत घटनामा २० मिनेट, दुई प्रतिशत घटनामा २५ मिनेट, एक प्रतिशत घटनामा ३० मिनेटभित्र प्रहरी सम्बन्धित स्थलमा पुगेर शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउने गरेको कार्यालयले जनाएको छ । केही घटनामा भने ३० मिनेटभन्दा बढी समय लागेको तथ्याङ्कमा उल्लेख छ ।


    ट्राफिक जाम, घटनास्थलको पहिचान, सूचनाको विश्लेषण र प्राथमिकीकरणका कारण केही स्थानमा पुग्नका लागि समय लागेको जानकारी दिँदै जतिसक्दो चाँडो घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले विभिन्न उपाय अवलम्बन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ । प्रहरी हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, प्रहरी मोबाइल एप, रेडियो सेट, कार्यालय तथा व्यक्तिगत फोन सम्पर्क तथा व्यक्ति स्वयम् उपस्थित भई प्रहरीमा सूचना आउने गरेको छ । गत वर्ष मात्रै काठमाडौँ प्रहरीमा चार लाख २८ हजारभन्दा बढी अपराधका सूचना प्राप्त भएको थियो ।


    प्रहरी तथ्याङ्कले धर्ना, विरोध र्‍याली, अनसन र तालाबन्दीलगायत सुरक्षा चुनौतीका घटना काठमाडौँमा भएको देखाउँछ । गत वर्ष नेपालभर भएका धर्नामध्ये काठमाडौँमा ४२ दशमलव ७३ प्रतिशत र विरोध र्‍याली २१ दशमलव ६१ प्रतिशत तथा उपत्यकाभित्र काठमाडौँमा मात्रै ८१ दशमलव ६८ प्रतिशत धर्ना र ७४ दशमलव शून्य छ प्रतिशत विरोध र्‍याली भएका छन् । त्यस्ता धर्ना, विरोध प्रदर्शन, विरोध र्‍याली, तालाबन्दीलगायत घटना नियन्त्रणमा लिन तीन लाख ८६ हजार ९४० प्रहरी जनशक्ति परिचालित गर्नुपरेको परिसरले जनाएको छ । गत वर्ष काठमाडौँमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित विरोध, समाजवादी मोर्चा र व्यवस्था विरोधी राजनीतिक दल तथा समूहको विरोध प्रदर्शनलगायतका घटना भएका थिए ।

  • भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने

    भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने


    २८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराए । “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

  • जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

    जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते


    २८ साउन, म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन् । दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् । घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

    मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने


    २८ साउन, मुस्ताङ । यहाँको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गर्न करिब रु चार करोड बजेट विनियोजन गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथ, मुक्तिनाथ रानीपौवा बजार, कागबेनी र दामोदरकुण्ड धार्मिकस्थललगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

    विनियोजित बजेट समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी कार्यान्वयन गर्ने अध्यक्ष भुुसालले बताए । कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्धस्थल निर्माणलगायतका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला र प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

    त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजारक्षेत्रमा छपनी ढुङ्गा विच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । मुक्तिनाथ विकास समितिले लेक लाग्ने समस्याबाट बचाउन सूचनामूलक ‘ब्रोसर’ र केही थान ‘होर्डिङ बोडर्’ निर्माण गर्ने जनाएको छ । मुक्तिनाथ विकास समितिले आव २०८१\८२ मा भुक्तानी दिन बाँकी रकम २० लाख ६७ हजार ३२१ रूपैयाँ रहेको जनाएको छ । समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको र सोको भुक्तानी बुझाउन बाँकी रहेको उल्लेख गरेको छ ।

    दश करोड बढी भेटी सङ्कलन

    मुक्तिनाथ विकास समितिको खातामा रु १० करोड ३९ लाख ९८ हजार भेटी बापत्को रकम मौज्दात रहेको जनाइएको छ । भक्तजनले रसिद काटेको र नगद चढाएको भेटी गरी उक्त रकम जम्मा भएको हो । यहाँ मुक्तिनाथ विकास समितिको पाँच वटा बैंक तथा वित्तीय संस्थामा सात वटा खाता सञ्चालनमा छ । भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यायल र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । विदेशी भक्तजनले चढाएको दान भेटी सहज रूपमा सटही हुन नसक्दा त्यसरी राखिएको हो ।

    समितिका अनुसार विदेशी मुद्रा सटही हुन बाँकी रहेको अमेरिकी डलर ९१८, मलेसियन रिङ्गेट १५०, क्यानेडियन डलर १००, सिङ्गापुर डलर १५, अष्ट्रेलियन डलर २०० र भारतीय मुद्रा १७ लाख एक हजार ५४८ रूपैयाँ रहेको छ । यसैगरी यहाँ सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालयमा राखिएको समितिले जनाएको छ । मुक्तिनाथ विकास समितिले आव २०८१\८२ मा रु २२ लाख ६७ हजार ५८२ रूपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्युटर तथा स्टेशनरी, कर दाखिलालगायत २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ ।

  • सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

    सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि


    २८ साउन, काठमाडौं । किमाथाङ्का । यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
    बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् । स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छ ।

  • ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’

    ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’


    २८ साउन, देउखुरी । पंछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले भने, “प्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ ।”

    चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताए । जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ । चौधरीका अनुसार चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो । उनी भन्छन, “चरा खतराको सूचकमात्रै होइन अवसर हो ।” अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुन्द्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उनले जानकारी दिए ।


    चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताए । चौधरीले भने, “चराको विषयमा गहिरो तरिकाले अध्ययन भएको छैन । चरालाई के कारणले असर गरेको छ, त्यसका बारेमा अध्ययन हुनुपर्छ ।” देउखुरीमा चरा अध्ययन गर्न पर्यटक आउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । विज्ञ चौधरीले चरा संरक्षणका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्व उजागर गर्ने उदेश्य रहेको बताए ।

    उनले आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानहरूको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने र क्षमता अभिवृद्धि गर्ने बताए । डिभिजन वन कार्यालय दाङ देउखुरीका वन अधिकृत महेन्द्रराज वाग्लेले दाङमा भएका चरालाई कसरी संरक्षण गर्ने विषयमा सबै सचेत हुन आग्रह गरे । चराको महत्त्वका विषयमा स्थानीय समुदाय र स्थानीय सरकारलाई पर्याप्त जानकारी दिनुपर्ने उनको धारणा छ । उनले भने, “स्थानीय जनतालाई चरा संरक्षण गर्न प्रेरित गर्नुपर्छ, त्यसका साथै चराको बासस्थान जोगाउनुपर्छ ।”

    लुम्बिनी प्रदेशका वन निर्देशक प्रभात सापकोटाले चराको संरक्षणका विषयमा सोच्ने र स्थानीय स्तरमा काम गर्ने गर्नुपर्ने बताए । पछिल्लो समय चराका विषयमा सामान्य तथ्याङ्क सार्वजनिक गरिए पनि यसलाई बृहत् रूपमा अध्ययन गर्नुपर्नेमा उनको जोड थिए । निर्देशक सापकोटाले विभिन्न समुदाय र समूहसँग समन्वय गरेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले चराले मानिसले रोपेका बाली बिरुवाका कीरा खाएर सहयोग गर्ने गरेको बताए ।

    “चरा संरक्षणमा मन्त्रालयले पहल गर्नेछ”, उनले भने, “चराको बासस्थान सुरक्षा गर्नुपर्छ, त्यसका लागि प्राविधिक काम महत्त्वपूर्ण हुन्छ । चरा संरक्षणमा सहयोग गरेर सामाजिक संस्थाले सरकारलाई सहयोग गर्ने काम गरेका छन् ।” पर्यावरणीय दिगो बिकासका प्रमुख डिल्लीबहादुर रावतले पृथ्वीको कूचीकार गिद्ध संरक्षण गर्नुपर्नेमा जोड दिँँदै त्यसका लागि सबै निकाय निरन्तर सक्रिय हुनुपर्ने बताए । उनले जलविद्युत्का हाइटेसन तारका कारण समस्या परेकाले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

  • पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए

    पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए


    २८ साउन, काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहत्थियार तथा बमको प्रयोग गरेर भवनहरूमा तोडफोड गरेका थिए ।

    एक स्थानीय अधिकारीका अनुसार, सैनिकहरू जब आक्रमणस्थलतर्फ जाँदै थिए, त्यहीबेला विद्रोहीहरूले उनीहरूलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा ९ जना सैनिकको मृत्यु भयो । यस घटनामा थप ६ जना सैनिक घाइते भएका छन् । हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन, तर बलोचिस्तानमा बलोच मुक्ति सेना सबैभन्दा सक्रिय सशस्त्र समूह हो, जसले पछिल्लो समय धेरै आक्रमणहरू गरेको छ ।
    यही दिन, अमेरिकाले बलोच मुक्ति सेनालाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको घोषणा गरेको छ । यसअघि उक्त समूहलाई कम कठोर सूचीमा राखिएको थियो, तर पछिल्लो आक्रमणहरूका कारण प्रतिबन्ध कडा बनाइएको हो ।

    मानव अधिकारकर्मी र बलोच पृथकतावादीहरूको भनाइमा, पाकिस्तानी सुरक्षाकर्मीहरूले विद्रोह नियन्त्रण गर्ने क्रममा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या गर्ने कार्यहरू गर्दै आएका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।

  • अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु

    अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु


    २८ साउन, काठमाडौं । टेक्सास स्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति पेला पारेको बताएको छ ।

    प्रहरीका अनुसार एक ३२ वर्षीय संदिग्धले स्टोरको पार्किङबाट कार चोरी घटनास्थलबाट भागेको थियो । पीडितमध्ये एकजना चोरी भएको गाडीको मालिक रहेको बताइएको छ । प्रहरीले संदिग्धले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएको र घटनाको उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी रहेको पुष्टि गरेको छ ।
    बन्दुक हिंसा संयुक्त राज्य अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कटहरू मध्ये एक बनेको छ । यो हिंसाले गहिरो मानवीय, आर्थिक र मनोवैज्ञानिक प्रभावहरू छोड्ने बारम्बार हुने सामूहिक गोलीबारीका अतिरिक्त बन्दुक–सम्बन्धित अपराधहरूको उच्च दरको अनुभव गरिरहेको छ ।

  • गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा

    गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा


    २८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ ।

    इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ, जसले विश्वभर आलोचना निम्त्याएको छ । “हामी आपूर्तिहरू संकलन गर्न चाहन्छौं । सबैले भन्छन्, ‘अझै मानवीय सहायता भित्रिन दिनुपर्छ’ — तर त्यो अझै पर्याप्त रूपमा भइरहेको छैन,” डब्लुएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले बताए । उनका अनुसार, हाल ५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य अवस्थामा छ ।


    संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा दुर्भिक्षको अवस्था आउन थालेको चेतावनी दिएका थिए, जसको कारण इजरायलद्वारा सहयोग आपूर्ति कडा रूपमा प्रतिबन्धित गरिएको हो । पीपरकोर्नले बताएअनुसार डब्लुएचओले आवश्यकभन्दा कम आपूर्ति मात्रै भित्र्याउन सकेको छ । धेरै सामग्रीहरूलाई अझै इजरायली पक्षले प्रवेश गर्न नदिएको उनले बताए । “हामीले समाचारमा सुनिरहेकै अनुसार, सम्भावित आक्रमण अघि अस्पतालहरूलाई शीघ्र रूपमा आपूर्ति पु¥याउन चाहन्छौं,” उनले भने, “तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन ।”
    उहाँका अनुसार, गाजामा मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।


    उत्तरी गाजास्थित अल–शिफा अस्पतालमा शैय्या क्षमता २४० प्रतिशत पुगेको छ भने अल–आहली अस्पतालमा ३०० प्रतिशत छ । “हालको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । भोकमरी र कुपोषण गाजालाई लगातार प्रभावित गरिरहेको छ,” उनले बताए । अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ । गत जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका, जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो । तीमध्ये दुई हजार ५६२ बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्, जसमध्ये ४० जना अहिले पनि उपचार केन्द्रमा छन् ।

  • राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

    राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा


    २७ साउन, काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिएका छन् । सभाको आजको बैठकमा समय माग गरेर बोल्दै उनले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पारे ।

    “समितिका सदस्यको मनसायअनुसार विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उनले भने, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”

  • कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

    कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा


    २७ साउन, दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए । सभापति देउवाले भने, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।”

    उनले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो । देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।”

    सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उनले आफूलाई धेरै सहयोग गरेको स्मरण गरे । सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गरेका थिए ।

  • प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्

    प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्


    २७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णताः दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।

    “यो आयोग काम नगर्न वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो”, प्रधानमन्त्री ओलीले भने । “भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छौैँ । मुलुकको विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्का साथ २०८४ सम्म जान्छ । हामी ‘टालाटुली बाटुली, कति राम्री पुतली’ भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन ।”

    उनल अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुनेगरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे । गोष्ठीमा गृहमन्त्री रमेश लेखकले मानिसलाई गुजाराका लागि एक महत्त्वपूूर्ण साधन जमिन भएकाले जमिन नभएकाले लालपुर्जा पाउनुपर्ने संवैधानिक हकको कार्यान्वयनका लागि सरकारका तर्फबाट सबै सहयोग हुने विश्वास दिलाए ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लामो समयदेखि थाँती रहेको भूमिको समस्याका लागि अहिलेको सरकारले विशेष पहल लिएर कानुनी तर्जुमाका सार्थ आयोग गठन गरी कामलाई तीव्रता दिएको बताए । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपुर्जा वितरणसम्मको योजना बनाइ तिनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी दिए ।

  • सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज

    सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज


    २७ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन खारेज भई निर्देशनात्मक आदेश आएको जानकारी दिए । रिटमा लिखित आदेश आउन भने बाँकी रहेको उनले बताए । रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निस्कासन गरिएको थियो । उक्त निर्णयविरुद्ध ढकालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

  • जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

    जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण


    २७ साउन, धनुषा । जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । गुठी संस्थानले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो । महासङ्घले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले जानकारी दिए ।
    आक्रमणमा परी र महासङ्घका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव महतो, पत्रकार दिवाकर रायलगायत छ जनाभन्दा बढी पत्रकार घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । महासचिव महतोको खुट्टामा चोट लागेको छ । अध्यक्ष बन्जाराको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ भने दिवाकरको टाउकोमा चोट लागेको छ ।
    जनकपुरधामस्थित भूतनाथ महादेवको दक्षिणतिर पत्रकार महासङ्घले चार कट्ठा जग्गा लिजमा लिएको छ ।

    नेपाल बार एसोसिएसन जनकपुरधामले भने साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा कानुन व्यवसायीलाई गाडी पार्किङ गर्न आह्वान गरेको थियो । महासङ्घको जग्गा बारले बलजफ्ती कब्जा गरेपछि विवाद सुरु भएको हो । प्रदेश अध्यक्ष बनजाराले गुठीसँग विधिवत् रूपमा सबै प्रक्रिया पूरा गरेर वार्षिक रु तीन लाख एक हजार १०० भाडा तिर्नेगरी चार कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले गुठीसँग २० वर्षका लागि जग्गाको सम्झौता भएको बताए ।


    अध्यक्ष बन्जाराले बारसँग वार्तासमेत भएको उल्लेख गर्दै भने, “बारसँग हाम्रो मौखिक सम्झौता पनि भएको थियो । हाम्रो जग्गाको पछाडि पनि जग्गा छ, यो जग्गा प्रयोग गर्नुस् बाटोको समस्या भए फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भएको थियो, तर आज एकाएक उहाँहरू आक्रमणमा उत्रिनुभयो ।”

    अध्यक्ष बनजाराले यस विषयमा जिल्ला अदालतमा रिट परेको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएकाले त्यसैबाट टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । महासङ्घका महासचिव महतोले साउन १९ गते महासङ्घको गुठी संस्थानसँग चार कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले जेठ ७ गते गोरखापत्रमा तीन वटा जग्गाको लागि सूचना प्रकाशित भएकामा विभिन्न सङ्घ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासङ्घको प्रस्ताव पारित भएको बताए ।


    “यस विषयमा साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरिएको छ । गुठीले साउन ९ गते हाम्रो प्रस्ताप स्वीकृत भएको जानकारी दिएपछि यही साउन १९ गते सम्झौता भएको हो”, महासचिव महतोले भने, “न्यायका लागि वकालत गर्ने कानुन व्यवसायी नै यसरी आक्रमणमा उत्रिनु निन्दनीय छ । हामी खेद प्रकट गर्दछौँ ।”

  • भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी

    भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी


    २७ साउन, काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर हराइरहेका छन् । यस्तै, पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट


    २७ साउन, काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३०० ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो ।

    गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

  • पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै

    पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै


    २७ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ। असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण गरेका थिए ।

  • दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता

    दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता


    २७ साउन, काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ ।

    जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ अग्नि र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई निकासी सल्लाह जारी गरेको छ । यस क्षेत्रका उद्धारकर्मीहरूले धेरै मानिसको खोजी गरिरहेका छन् ।कुमामोटोमा, तिनीहरूले तीन व्यक्तिलाई खोजी गरिरहेका थिए । निकासी केन्द्रतर्फ गाडी चलाउने क्रममा तीन जनाको परिवार भूस्खलनको चपेटामा परेको थियो । दुई जनालाई जिउँदै निकालियो तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । प्रान्तमा अन्य दुई जना बेपत्ता भएका छन् ।

    कुमामोटो र नजिकैको फुकुओका प्रान्तमा बढेको नदीमा खसेर अन्य धेरै मानिस बेपत्ता भएको पनि रिपोर्ट गरिएको छ । टेलिभिजन फुटेजले हिलो पानी बगिरहेको, भाँचिएका रुख र हाँगाहरू बगाएको र बासिन्दाहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाएको छ । प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको र प्रभावित क्षेत्रका अन्य व्यक्तिहरूलाई सहायता गरिरहेको बताए । उनले बासिन्दाहरूलाई ‘आफ्नो जीवन बचाउनका लागि कार्यहरूलाई प्राथमिकता दिन’ प्रोत्साहित गर्दै ‘अधिकतम सावधानी अपनाउन’ आग्रह गरे । भारी वर्षाले जापानको बौद्ध ‘बोन’ छुट्टी हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ ।


    उत्तरी क्युशुमा काकोशिमा र हाकाटा जोड्ने बुलेट रेलहरू र स्थानीय रेल सेवाहरू सोमबार बिहान स्थगित गरिएको छ । वर्षा कम भएका क्षेत्रहरूमा सेवाहरू आंशिक रूपमा पुनः सुरु गरिएको थियो । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोमा करिब छ हजार घरपरिवार विद्युत्विहीन भएका छन् ।

  • दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

    दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश


    २७ साउन, काठमाडौं । कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक सुरक्षाको चिन्तालाई उद्धृत गर्दै राजधानीबाट दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ । भारत लाखौँ बेवारिसे कुकुरहरूको घर हो र सहरको मिडियाहरूले विशेष गरी बालबालिका र वृद्धहरूमाथि घातक आक्रमणहरूबारे नियमित रूपमा रिपोर्ट गर्छन् । उपलब्ध सबैभन्दा पछिल्लो तथ्याङ्क अर्थात सन् २०१२ को भारतको पशुधन जनगणना अनुसार दिल्लीको सडकमा कम्तीमा ६० हजार बेवारिसे कुकुर बस्छन् ।

    केहीले अहिले यो सङ्ख्या धेरै उच्च रहेको बताएका छन् । सहरभरका पार्कहरू र आवासीय छिमेकहरूमा ठूला प्रतिस्पर्धी कुकुरका समूहहरूले गस्ती गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वव्यापी रेबिजबाट हुने मृत्युको एक तिहाइभन्दा बढी भारतमा हुने गरेको छ । नसबन्दी कार्यक्रमको अभाव र कुकुर मार्ने कानूनी प्रतिबन्धका कारण यो सङ्कट बढेको छ ।

    अदालतले सहरका अधिकारीहरूलाई आठ हप्ताभित्र कुकुर आश्रय स्थापना गर्न र समातिएका कुकुरहरूको दैनिक रेकर्ड राख्न भनेको छ । “के महत्त्वपूर्ण छ र जुनबिना सम्पूर्ण अभ्यास व्यर्थ जान्छ, एउटा पनि बेवारिसे कुकुरलाई छोड्न सकिँदैन”, अदालतले भनेको छ । यो करिब तीन करोड मानिसहरू बस्ने महानगर दिल्ली र यसको स्याटेलाइट उपनगरहरूमा लागू हुन्छ ।

    अदालतले कुकुरहरूलाई हटाउन बाधा पुर्‍याउने पशु कार्यकर्ताहरू विरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ । साथै अदालतले कुकुरको टोकाइ रिपोर्ट गर्न २४ घण्टे हेल्पलाइन स्थापना गर्न र अधिकारीहरूले रेबिज विरोधी खोपहरू उपलब्ध भएका ठाउँहरूको सार्वजनिकीकरण गर्नुपर्ने पनि आदेश दिएको छ ।भारतीय संसद्मा पेश गरिएको तथ्याङ्कले सन् २०२४ मा कुकुरको टोकाइबाट ३७ लाखभन्दा बढी घटना र रेबिजबाट ५४ संदिग्ध मानव मृत्यु भएको देखाएको छ ।

    अन्य अनुमानहरूले यो सङ्ख्या लगभग दुई गुणा बढी हुने अनुमान गरेका छन् । दिल्लीमा मात्रै हरेक दिन कुकुरको टोकाइका करिब दुई हजार घटना भएका छन् । मध्यमवर्गीय छिमेकमा, दिल्लीका धेरै बेवारिसे कुकुरहरू औपचारिक मालिकहरू नभए पनि त्यहाँका बासिन्दाहरूका प्रिय छन् । केही कुकुरलाई जाडोमा न्यानो राख्नका लागि विशेष कुकुर ज्याकेटहरू लगाइएका हुन्छन् । तर तिनीहरू मानिसहरूका लागि पनि खतरा हुन् । भारतीय सञ्चारमाध्यमहरूले आक्रामक कुकुरका समूहहरूद्वारा साना बालबालिकाहरूमाथि आक्रमणका घटनाहरू नियमित रूपमा रिपोर्ट गर्छन् ।

  • दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी

    दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी


    एजेन्सी
    २६ साउन, काठमाडौं । दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाँय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्नासम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो । शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने अनुमान गरिएको थियो । चो र उनकी पत्नी चुङ क्युङ–सिम दुवैलाई उक्त अभियोगमा दोषी ठहराइयो र क्रमशः दुई र चार वर्षको जेल सजाय सुनाइयो।

    सन् २०२३ मा अधिकांश सजाय भुक्तान गरेपछि चुङलाई पेरोलमा रिहा गरिएको थियो । आठ महिनाको जेल जीवनपछि चोलाई शुक्रबार रिहा गर्ने तयारी भइरहेको छ । न्यायमन्त्री जुङ सुङ–होले स्वतन्त्रता दिवसको अवसरमा क्षमादानको घोषणा गर्दै सोमबार पत्रकार सम्मेलनमा भने, “राज्यमा उनीहरूको योगदान र अपराधको गम्भीरतालाई ध्यानमा राख्दै हामीले २७ जना प्रमुख सरकारी अधिकारी र राजनीतिज्ञलाई क्षमादानको सूचीमा समावेश गरेका छौं।”

    पूर्व राष्ट्रपति मून जे–इनका सहयोगी तथा कानुनविद् चोलाई सन् २०१९ मा न्याय मन्त्रालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो । त्यसको केही समयपछि, उनको परिवार शैक्षिक भर्ना घोटालामा फसेको थियो । उनीहरुलाई सन्तानका लागि कलेजमा भर्ना हुन नक्कली कागजातहरूको प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

    उनलाई अमेरिकी विश्वविद्यालयमा आफ्नो छोरालाई पठाउन दिइएको अनलाइन परीक्षामा नक्कली कागजात प्रयोग गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो। सियोलको सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले चोलाई सजाय सुनाउँदै भनेको थियो, “चो दम्पत्तीले कलेजको प्रोफेसरको रूपमा आफ्नो पदको दुरुपयोग गर्दै धेरै वर्षसम्म भर्ना प्रक्रियामा बाधा पुर्याएको र उनको अपराधको प्रकृति गम्भीर रहेको उल्लेख छ ।

  • मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत

    मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत


    एजेन्सी
    २६ साउन, काठमाडौं । मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अंकले कमी हो। मलेसियाको तथ्यांक विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई संकेत गर्छ। उक्त अवधिमा श्रम शक्तिको संख्या ०.८ प्रतिशतले वृद्धि भई एक करोड ७३ लाख ७० हजार पुगेको छ। साथै, श्रम शक्ति सहभागिता दर पनि ०।१ प्रतिशतले वृद्धि भई ७०.८ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ।

    त्यसैगरी, रोजगारी प्राप्त व्यक्तिहरूको संख्या ०.९ प्रतिशतले बढेर एक करोड ६८ लाख ५० हजार पुगेको छ भने बेरोजगार व्यक्तिको संख्या एक प्रतिशतले घटेर ५ लाख २० हजार ९ सय मा झरेको छ। रिपोर्टमा मलेसियाको श्रम बजार आगामी महिनाहरूमा स्थिर रहने अपेक्षा गरिएको छ । यद्यपि, केही चुनौतीहरू पनि विद्यमान छन् ।तर, सरकारले अगाडि सारेका डिजिटलीकरण, प्राविधिक तालिम र लगानी प्रोत्साहनसम्बन्धी नीतिहरूले मध्यमदेखि दीर्घकालीन अवधिमा श्रम बजारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।