Category: फिचर

  • मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

    मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते


    २६ साउन, बरहथवा । सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको हो । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोरा ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते छन् ।

    दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गरेका उनीहरु सवार मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षीय प्रेमकुमार भगत घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ ।

  • तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

    तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै


    २६ साउन, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।

    सिरहा – ६ का प्रवीण यादव भन्छन्, “पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ । मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ ।” नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि रु ५० सम्म तिर्नुपरेको उनको भनाइ छ ।

    उनले भने, पहिले ठेक्का सम्झौताअनुसार रु २० लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए तापनि व्यवहारमा शुल्क झनै बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।” पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । सिरहा—६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।

  • सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत

    सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत


    २६ साउन, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

    त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५÷५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन् ।

    माइक्रोबसमा १८ जना सवार थिए । उनीहरुमध्ये दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए । यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    २६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे ।

  • बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    २६ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

  • नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

    नेप्से परिसूचकमा २७ अङ्कको गिरावट


    २६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो । आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ३१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ३१ र लघुवित्त समूह दुई दशमलव ३५ प्रतिशतले घटेको हो । बैंकिङ शून्य दशमलव ४१, वित्त एक दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् एक दशमलव ४१ र लगानी समूह दशमलव १७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७५, निर्जीवन बीमा एक दशमलव २४ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले घटेको छ ।

    रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ५३ करोड ८८ लाख ६० हजार ९५७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरे सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को नौ लाख २३ हजार ५४९ कित्ता शेयर किनबेच भएको छ ।

  • कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    २६ साउन, काँक्रेबिहार । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्साङ्कनका आधारमा करिडोर बन्ने भएको हो ।

    कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर राउटे बसोबास गर्छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एकवर्षे कार्यप्रगति सार्वजनिक गर्दै राउटेको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा राउटे करिडोर स्थापना गर्न लागिएको बताए ।


    राउटे बसाइँ सर्ने क्षेत्र समेटेर बनाइने करिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उनले बताए ।
    यस्तै राउटे समुदायका बालबालिकालाई शिक्षाको अवसरतर्फ अग्रसर गराउन आवश्यक सामग्री विकास गरी वितरण गर्नेदेखि आवश्यक क्षमता विकासका कार्यक्रम राउटे करिडोरमार्फत गरिनेछ । करिडारमार्फत राउटे समुदायको संरक्षण गर्न समानुकूल कानुनी प्रबन्धसमेत गरिनेछ ।

    राउटे समुदाय नेपालको मौलिक सांस्कतिक सम्पदा उल्लेख गर्दै मन्त्री भण्डारीले उनीहरूको संरक्षण र सशक्तीकरणमा राज्य तथा समाज दुवैको साझा जिम्मेवारी भएको बताए । आधुनिक शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको पहुँच अत्यन्त न्यून भए पनि राज्यले भत्ता, स्वास्थ्य जाँच र जीवनस्तर सुधारका विभिन्न कार्यक्रममार्फत उनीहरूलाई समावेश गर्न प्रयास गरिएको भए पनि उनीहरूको परम्परा तथा स्वतन्त्रताको सम्मान गरी विकासको मार्ग तय गर्न चुनौतीपूर्ण रहेको उनले बताए ।


    गत आर्थिक वर्षमा उनीहरूलाई आवश्यक लत्ताकपडा, त्रिपाल, खाद्यान्न सामग्रीलगायतका सहायता उपलब्ध गराइएको उल्लेख गर्दै विभिन्न गैरसरकारी सङ्घसंस्थासँगको समन्वयमा राउटेलाई मूल प्रवाहीकरणमा ल्याउने प्रयास भइरहेको मन्त्री भण्डारीले बताउनुभयो । यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने भण्डारीले बताए ।

    राउटेको मुख्य जीविकोपार्जन काठका सामग्री बनाएर विनिमय प्रणालीमार्फत अन्न वा अन्य सामग्री प्राप्त गर्नु हो । कृषि, पशुपालन वा स्थायी रोजगारीमा उनीहरूको संलग्नता छैन । उनीहरू आफ्नै भाषा बोल्छन् । मौखिक परम्परा र नृत्य, गीतमार्फत सांस्कृतिक अभिव्यक्ति गर्ने यस समुदायको नेतृत्व मुखियाले गर्छन् । कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटेको हालको सङ्ख्या १३५ छ ।

  • अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

    अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

    २६ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सन् २०२५ अगस्ट १५ मा अलास्कामा महत्वपूर्ण शिखर सम्मेलनको आयोजना हुन गइरहेको छ । उक्त बैठकमा युक्रेनमा युद्धविरामका सम्भावनाहरू छलफल गरिनेछ । यो सन् २०२१ पछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन सङ्कटलाई ‘२४ घण्टाभित्र समाधान गर्ने’ प्रतिज्ञा गर्दै आएका थिए । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ ।

    यद्यपि, यस वार्ताबाट ठोस प्रगति हुनेमा विशेषज्ञहरूले आशङ्का व्यक्त गरेका छन्, किनभने ट्रम्प र पुटिन दुबै फरक–फरक अडानबाट वार्तामा सहभागी हुँदैछन् । साथै, अमेरिकाका केही प्रमुख साझेदार राष्ट्रहरूले युक्रेनको सहभागिता बिना हुने कुनै पनि सम्झौताले वैधता नपाउने चेतावनी दिएका छन् ।
    ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणका क्रममा पुटिनसँगको तीन घण्टा लामो कार्य बैठकपछि अलास्का बैठकको योजना सार्वजनिक भएको हो ।

    पुटिनको प्रस्ताव र ट्रम्पको प्रतिक्रिया
    द वल स्ट्रिट जर्नल अनुसार, पुटिनले हालै ट्रम्प प्रशासनलाई युद्धविरामको प्रस्ताव दिनुभएको छ, जसमा युक्रेनले केही भूभाग छोड्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायले रुसको दावीलाई मान्यता दिनुपर्ने शर्तहरू समावेश छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार दिएको भनाइमा भू–स्वामित्वको ‘आदानप्रदान’ समेत सम्भव हुनसक्ने संकेत दिएका छन् । यद्यपि उनले विस्तृत जानकारी दिएका छैनन्, युक्रेन र उसका साझेदारहरूले उक्त भनाइप्रति तत्काल असन्तोष जनाएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अलास्का बैठकमा आफ्नो सरकारलाई सहभागी नगराइनुले दीर्घकालीन शान्ति सम्भव नहुने चेतावनी दिएका छन् । लेन्स्कीले भने, हामीबिना गरिने कुनै पनि निर्णय, त्यो हाम्रो विरुद्धमा गरिएका निर्णय हुन्। ती निर्णयहरू मृत हुनेछन्, ती कहिल्यै लागू हुने छैनन् ।”

    अन्तर्राष्ट्रिय प्रतिक्रिया
    युरोपेली आयोग, फ्रान्स, इटाली, बेलायत, जर्मनी, पोल्याण्ड र फिनल्याण्डका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनका अन्तर्राष्ट्रिय रूपमा मान्य सीमाहरूलाई जबर्जस्ती परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् । साथै, युक्रेनको सार्वभौमिकतासम्बन्धी कुनै पनि वार्तामा युक्रेनको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताएका छन् । यसअघि सन् २०२५ जुलाई २३ मा इस्तानबुलमा सम्पन्न रुस–युक्रेन वार्ता कुनै ठोस सहमति बिना समाप्त भएको थियो, तर बन्दी विनिमयका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाइएको थियो ।

    शान्ति सम्भावनामा चुनौतीहरू
    युद्धविराम कार्यान्वयन गर्नका लागि सेनाको फिर्ता, सुरक्षा प्रत्याभूति र विवादित भूभागहरूको भविष्यबारे सहमति आवश्यक पर्नेछ — जुन विषयहरू अति जटिल र विगतदेखि नै समाधानविहीन छन् । विज्ञहरूका अनुसार, यदि कुनै सम्झौता भए पनि स्पष्ट कार्यान्वयन संयन्त्र नहुनाले त्यसले दीर्घकालीन स्थायित्व पाउन सक्दैन । यस शिखर बैठकले युक्रेन सङ्कट समाधानतर्फ सार्थक प्रगति गर्छ वा हालको जटिल अवस्थालाई अझै गहिरो बनाउँछ भन्ने कुरा दुबै नेताको संवादद्वारा तय हुनेछ । विश्वासको अभाव र कठोर अडानबीच, युद्धविराम सम्भव भए पनि सहज हुने सम्भावना न्यून देखिन्छ ।

  • नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

    नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी
    २५ साउन, काठमाडौं । नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् । शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिए ।

    फारुका अनुसार, आक्रमणपछि आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसका कारण मृतकको शव संकलन कार्यमा कठिनाइ भएको छ । यस्तै, कैयौँ गाउँले थप आक्रमणको त्रासमा आफ्नो घर छाडेर विस्थापित भएका छन् ।
    सांसद फारुले बताएअनुसार, उक्त वन क्षेत्रमा करिब पाँच हजारभन्दा बढी आपराधिक समूहका सदस्य लुकेर बसेका छन् र निरन्तर आसपासका बस्तीहरूमा हमला गरिरहेका छन् । “उनीहरूलाई नियन्त्रणमा ल्याउन हवाई कारबाही अत्यावश्यक देखिन्छ,” उनले बताए ।

    नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ भने राज्य सरकारले पनि स्थानीय सुरक्षा बल गठन गरेको थियो। तर, हिंसा यथावत् रहँदै आएको छ । संघीय तथा प्रादेशिक सरकारहरूले यस्ता समूहसँग बारम्बार वार्ता तथा शान्ति सम्झौता गरेका छन्, तर ती सम्झौता लामो समय टिक्न सकेका छैनन् । पछिल्लो पटक सरकारको समर्थनमा केही धर्मगुरुहरूले एक प्रभावशाली समूहसँग वार्ता गराए पनि स्थानीयहरू त्यसमा पूर्ण विश्वास गर्न सकिरहेका छैनन् ।

  • जनकपुरमा रेल र कार ठोक्किए

    जनकपुरमा रेल र कार ठोक्किए

    २५ साउन, महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१ ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।

    स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

  • महाकालीमा दुई बालिका बेपत्ता

    महाकालीमा दुई बालिका बेपत्ता

    २५ साउन, दोधारा चाँदनी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।

    “महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ”, उनले भने, खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

  • गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

    गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

    २५ साउन, रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेप्त्ता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ । चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएको क्षेत्र हो । हराएको सूचना पाउँना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

  • जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    २५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए ।

    “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

  • ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    २५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
    नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    २५ साउन, धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् ।

    कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

  • रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    २५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा उक्त परिमाणको मल उपलब्ध रहेको तथा आवश्यक बिक्री वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
    खेतीपातीको समयमा रासायनिक मल सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयले आवश्यक पहल र प्रयत्न गरिरहेको मन्त्रालयले जनाएको छ । सोहीअनुसार कृषि सामग्री कम्पनीमा कुल २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । त्यसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी सात हजार ६५३ मेट्रिक टन तथा पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दातमा छ ।

    त्यसैगरी, साल्ट टे«ड्रिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । त्यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी नौ सय ४२ मेट्रिक टन, पोटास एक हजार ७८५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवका लागि ६ लाख मेट्रिक टन मलको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट व्यवस्थापन गरिएको छ । हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

    त्यसैगरी, मार्गस्थ अवस्थामा रहेको रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन रहेको छ । सोमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट टे«डिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ । गत आवको ३० हजार ९८३ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास छ सय ११ मेट्रिक टन छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानले सहज रूपमा रायायनिक मल पाउने गरी सरकारको तर्फबाट आवश्यक पहल भएको छ ।

  • कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    २५ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    २५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही रु १५ लाखमा खरिद गरिएको छ ।

    दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।


    यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले रु ७ लाख ७५ हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही रु ५ लाखमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु रु ३ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही रु दुई लाखमा अनुबन्ध गरेको छ ।

    एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम रु १० लाख र अधिकतम रु १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम रु ५ लाख र अधिकतम रु १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम रु २ लाख र अधिकतम रु ५ लाख मूल्य राखिएको थियो । योसँगै आठ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठवटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।

    आठवटै टोलीको खेलाडी सूची

    जनकपुर बोल्ट्स स् आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।

    सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।

    कर्णाली याक्स : सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।

    चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।

    काठमाण्डु गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।

    विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।

    पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।

    लुम्बिनी लायन्स : रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।

    शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले रु ३९ लाख, काठमाडौँले रु ३७ लाख, लुम्बिनीले रु ३२ लाख, कर्णालीले रु २९ लाख, विराटनगरले रु २७ लाख, सुदूरपश्चिमले रु २४ लाख, जनकपुरले रु १९ लाख ७५ हजार तथा पोखराले रु ११ लाख खर्च गरेको छ ।

  • रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    २५ साउन, काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा रु ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी रु आठ करोड ७३ लाख तथा सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको बीमा दाबी भएको छ ।

    प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स रु पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा रु ४७ लाख, सिद्धार्थ प्रिमियर रु ३१ लाख र प्रभु इन्स्योरेन्स रु २८ लाख बराबरको बीमा दाबी परेको छ । लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

  • आज गाईजात्रा पर्व मनाइँदै

    आज गाईजात्रा पर्व मनाइँदै

    काठमाडौँ, २५ साउनः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

    प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

    पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

  • अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

    अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

    एजेन्सी
    २५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी मूलका लागूऔषध तस्कर समूहहरूमाथि सम्भावित सैन्य कारबाहीको विकल्पहरूबारे समीक्षा गरिरहनुभएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यो पहल अमेरिकाद्वारा केही महिनाअघि यस्ता समूहहरूलाई ‘विदेशी आतङ्ककारी संगठन’ घोषणा गरेपछि अघि बढाइएको हो । न्यूयोर्क टाइम्स का अनुसार राष्ट्रपति ट्रम्पले पेन्टागनलाई ती कार्टेलहरू विरुद्ध आवश्यक सैन्य विकल्पहरू तयार गर्न निर्देशन दिनुभएको छ । द वाल स्ट्रीट जर्नल ले पनि राष्ट्रपति कार्यालयले विशेष सैन्य बलहरूको प्रयोग, खुफिया सहयोग र अन्य उपायहरूबारे योजना तयार गर्न आदेश दिएको उल्लेख गरेको छ । सम्भावित कुनै पनि कारबाही विदेशी साझेदारहरूसँग समन्वयमा गरिने बताइएको छ ।

    यद्यपि, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले प्रतिवेदनको औपचारिक पुष्टि नगरे पनि राष्ट्रपति ट्रम्पको प्रमुख प्राथमिकता अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको स्पष्ट पार्दै, कार्टेल र आपराधिक गिरोहहरूलाई आतङ्ककारी संगठन घोषणा गर्नुको पछाडि यही उद्देश्य रहेको बताइन् । अमेरिकाले फेब्रुअरी महिनामा भेनेजुएलाको ट्रेन दे अरागुवा, मेक्सिकोको सिनालोआ कार्टेल लगायत आठवटा लागूऔषध तस्कर समूहहरूलाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको थियो । पछिल्लो समय थप रूपमा कार्टेल अफ द सनस नामक समूहलाई पनि सूचीमा समावेश गरिएको छ, जुन समूहमाथि विगत दुई दशकदेखि अमेरिका तर्फ ठूलो मात्रामा लागूऔषध पठाएको आरोप छ ।

    संयुक्त राज्यले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोलाई उक्त समूहको नेतृत्वकर्ता मानेको छ, यद्यपि भेनेजुएलाले यस आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ‘अनर्गल आरोप’ भनेको छ । राष्ट्रपति ट्रम्पले यही वर्ष जनवरी २० तारिखका दिन कार्यभार सम्हालेपछि, लागूऔषध तस्करीलाई राष्ट्रिय सुरक्षामा गम्भीर खतरा ठहर गर्दै सम्बन्धित समूहहरूलाई आतङ्ककारी संगठनको सूचीमा राख्ने प्रक्रिया सुरु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

    अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हालैको एक अन्तर्वार्तामा, “अब यी समूहहरूलाई केवल आपराधिक गिरोहका रूपमा होइन, सशस्त्र आतङ्ककारी संगठनका रूपमा हेर्न आवश्यक छ,” भन्दै, कानून कार्यान्वयनमात्र होइन, अब राष्ट्रिय सुरक्षा तहमा प्रतिक्रिया आवश्यक रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले मार्च महिनामा मेक्सिकोका कार्टेलहरूमाथि कडा कारबाही गर्ने घोषणा गर्दै ती समूहहरूले अमेरिका तर्फ लागूपदार्थ तस्करी गर्नुका साथै हिंसा र आपराधिक क्रियाकलाप फैलाएको आरोप लगाएका थिए ।
    यसबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकाको सम्भावित सैन्य हस्तक्षेपबारे चिन्ता व्यक्त गर्दै, “हामी सहकार्य गर्न तयार छौं, संवादमा प्रतिबद्ध छौं, तर हाम्रो भूमि भित्र विदेशी सैनिक उपस्थितिलाई कुनै हालतमा स्वीकार गरिँदैन,” भन्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन् । राष्ट्रपति शेनबाउमले हालसम्म लागूऔषध तथा आप्रवासन समस्या समाधानका लागि अमेरिकी प्रशासनसँग निरन्तर संवाद गर्दै आएकाछन् ।

  • न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

    न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

    एजेन्सी
    २५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।

    चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्यूयोर्क शहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । “आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,” नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । संदिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन ।

    दैनिक दशौं हजार पर्यटक आउने शहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औं स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो । न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो । गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।

  • थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

    थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

    एजेन्सी
    २४ साउन, काठमाडौं । थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही शङ्कास्पद व्यक्तिको पर्यटक र विद्यार्थी भिसाको म्याद नाघेको थियो । प्रहरीले ५३ वटा मोबाइल फोन, चिनियाँ भाषाका कागजात र ८० हजार भाट (दुई हजार ५०० अमेरिकी डलर) नगद बरामद गरेको छ । अधिकारीहरूले उक्त समूहलाई अनधिकृत क्रेडिट व्यवसाय सञ्चालन गरेको र राज्यमा गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्।

  • प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

    प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

    २४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराए । प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद ।” श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

  • विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

    विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

    २४ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएर यो पर्व मनाइएको छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिएको छ ।

    आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिएको गौतमले बताउनुभयो ।
    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

    आजका दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुँसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ ।
    यस अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलमा आज राखी बाँध्ने विशेष कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमार रामसिंह ऐरले राससलाई जानकारी दिनुभयो । केन्द्रले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका अवसरमा राखी बाँध्ने विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा पूर्वमन्त्री, पूर्वसांसदलगायत समाजका विभिन्न क्षेत्रका महानुभावको सहभागिता रहेको उनले बताए । यस अवसरमा आज काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचुड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।

    नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्हीका रूपमा मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्ने परम्परा रहिआएको छ । बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृत व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

  • असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    २४ साउन, काठमाडौं । “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक ।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । “घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ,त् हिँडेपछि सास्ती । अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ”, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्छिन् ।


    कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठ\असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोसित छन् । वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको aछ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छिन् ।


    सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँड्डुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण काम भएको बताए । सडक खन्ने पनि जनताले कसरी हिँड्डुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उहाँले बताउनुभयो। “मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन रु विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा”, उनले भने, “वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँड्डुल गर्न सक्ने बनाउनुपर्छ ।”

    कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए । शङ्खमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ । किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए ।

    वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने”, उनी भन्छन्, “विकासको नाममा उल्टै नागरिकको दैनिकी नै नराम्ररी प्रभावित हुनेगरी काम गर्नु निन्दनीय छ ।” यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गर । “खाल्टो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथल बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ । यो जनप्रतिनिधिको लापरबाही हो ।”

    काठमाडौँ महानगरपालिका–३१ का वडाअध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन् । “५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी हाल ४२ इन्चको ठूलो ढल राखिएको छ । खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो”, उनले भने, “पाइप, ढल राख्न सडक खन्नै प¥यो । हिलोमा ग्राभेल गर्न सकिँदैन । स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन–चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि ।”

  • पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो । दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उनले जानकारी दिए । घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

    आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए । उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् । न्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • नदीले बगाएर एक जना बेपत्ता

    नदीले बगाएर एक जना बेपत्ता

    २४ साउन, दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो ।

  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    २३ साउन, नारायणगढ । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत)को जटिल प्रसूति गराइएको थियो ।

    अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । सो सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो । यस वर्ष विश्व स्तनपान सप्ताहको नारा, ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने छ । पहिलो छ महिनामा पूर्ण स्तनपानलाई बढावा दिन र आमाका लागि सुरक्षित सहयोगी वातावरण बनाउन जोड दिइएको छ ।

    अस्पतालमा सुत्केरी आमाहरूलाई स्तनपानका लागि परामर्श र दूध सङ्कलन सेवा उपलब्ध गराइँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताए । उनले भने, “हामी यहाँ जन्मने बच्चाहरूले आमाकै दूध खाउन् भन्ने चाहन्छौँ । केही आमाले आधुनिक जीवनशैली र भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिए पनि यो पूर्ण रूपमा गलत हो ।”

    अस्पतालले भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने योजना बनाएको छ । अस्पतालकी स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा काउन्सिलरको रूपमा कार्यरत सकुन्तला ढकालले स्तन गाँनिएका वा बच्चाले राम्ररी दूध नचुसेका आमाहरूको सल्लाह र उपचार गरिने बताइन् । उनका अनुसार यहाँ विशेष मेसिनको प्रयोगबाट दूध निकालिने र आवश्यकताअनुसार भण्डारण वा सिधै प्रयोग गरिने व्यवस्था छ ।

    उनले भनिन्, “कतिपय नयाँ आमाहरू दूध चुसाउन अप्ठ्यारो मान्नुहुन्छ, हामी उहाँहरूलाई यसको महत्व र बच्चा स्वस्थ हुने कुरा बुझाउँछौँ, अनि उहाँहरू सहमत हुनुहुन्छ ।” अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलका अनुसार नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि स्तनपान अत्यन्त आवश्यक छ । उनले आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वहरूले कुपोषण हटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए ।

  • तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    २३ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत ७ गतेदेखि काम सुरु भएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको ‘प्याकेज १’ अन्तर्गत व्यास नगरपालिका ५ र ऋषिङ गाउँपालिका १ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको उनले बताए ।


    एक सय ४० मिटर अग्लो बाँध निर्माणअन्तर्गत अहिले बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उच्च बाँधको ठूलो कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील मानिने भएकाले त्यसलाई ख्यालमा राखेर काम भइरहेको उनको भनाइ छ ।

    विसं २०८० कात्तिक २० गतेदेखि जग खन्ने काम सुरु भएकामा विसं २०८१ असारमा सकिएको थियो । ऋषिङ गाउँपालिका(१ र व्यास नगरपालिका ५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम थालिएको भण्डारीले जानकारी दिए ।

    “डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिएको छ”, उनले भने । विसं २०७८ भदौ १४ गतेदेखि प्याकेज १ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सुरु भएकामा हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

    भण्डारीका अनुसार ‘प्याकेज २’ अन्तर्गतको विद्युत्गृहभित्र संरचनागत कार्यहरू सम्पन्न भएर उपकरण जडान भइरहेको छ । ‘प्याकेज(२’ अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र ‘प्याकेज ३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनसहित आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

    एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएको छ ।