Category: फिचर

  • देशका केही भागमा भारी वर्षाको सम्भावना

    देशका केही भागमा भारी वर्षाको सम्भावना

    २१ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।

    मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    २१ साउन, राजविराज । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

  • पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    २१ साउन, बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

  • उच्चस्तरीय विषयगत बैठकमा प्रधानमन्त्रीको सम्बोधन

    उच्चस्तरीय विषयगत बैठकमा प्रधानमन्त्रीको सम्बोधन

    २० साउन, आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ उच्चस्तरीय विषयगत बैठकमा सम्बोधन गरेका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका हुन् । उनले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए ।

  • प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

    २० साउन, आवाजा । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरुबीचको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको छ । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

  • अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    २० साउन, गण्डकी । गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एकरएकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गतवर्ष चारजना पर्यटकले ज्यान गुमाएका एक्यापका प्रमुख डा रविन कडरियाले जानकारी दिए । अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेको उनको भनाइ छ ।

    आव २०८०–८१ मा अन्नपूर्ण क्षेत्रमा २० जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । लेक लागेका कतिपय पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको एक्यापका प्रमुख कडरियाले बताए । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको उनले बताए ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, डा कडरियाले भने, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।” एक्याप कार्यालयले विगत दुई वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरू गरेको हो । पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । आव २०८०–८१ मा कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको पदयात्रा क्रममा लडेर मृत्यु भएको थियो ।

    “लामो दुरीको पदयात्रामा निक्किँदा एक्लै जानुहुँदैन, समूहमा वा पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”

    काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रर्दशक गुरुङले बताए । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको उनको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाव दिए ।


    शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक पुगेका थिए ।

    अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् ।

  • अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

    अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

    २० साउन, काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

    विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो ।

    सूचनामा भनियको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदैआएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएकोइ व्यहोरा जानकारीका लागि अनुरोध छ ।” छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था गरिएको छ ।

    उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

  • कुलिङ अफ पिरियड : समिति सभापति र सचिव जिम्मेवार रहेको छानबिन समितिको ठहर

    कुलिङ अफ पिरियड : समिति सभापति र सचिव जिम्मेवार रहेको छानबिन समितिको ठहर

    काठमाडौँ, २० साउन स् ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले सो विधेयकलाई अन्तिमरूप दिने क्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले उत्तरदायीपूर्ण र सचिवले परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर गरेको छ । समितिले आज प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सो प्रकरणमा संलग्न राजनीतिक व्यक्तिको राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिम गर्न सुझाव दिइएको छ ।

    गत जेठ २ मा परिमार्जनसहित सर्वसम्मत पारित गरेको समितिको निर्णय र मस्यौदा प्रतिवेदनमा सभापति रामहरि खतिवडाको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यलाई देखाई छलफल गरी सभामा पेस गर्नुपर्नेमा सो नगरी निश्चित व्यक्तिबीच अनौपचारिक बैठक बसी प्रतिवेदन पठाएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    मस्यौदा प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा सभापतिले उत्तरदायीपूर्ण र समन्वयकारी भूमिका वहन नगरेको समितिको निष्कर्ष छ । समितिका सचिव सुरजकुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रही प्रतिवेदन लेख्नेसमेत भूमिका रहेको हुँदा सचिवले पनि परिभाषित जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ ।

    सो विधेयकको समिति र उपसमितिमा हुने छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सहसचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रूपमा रहेका सहसचिव प्रारम्भदेखि नै संलग्न रहेको र विधेयकको प्रतिवेदन निज सहसचिवले जेठ ६ गते प्राप्त गरे पनि विधेयकको त्रुटि सच्याउन सम्बन्धित समितिलाई जानकारी गराई सुधार गर्न ध्यान नदिएको समितिको निष्कर्ष छ ।

    जनताको मतादेशमार्फत प्राप्त विधायिकी अधिकार सभा र संसदीय समितिले प्रयोग गर्ने संविधान र सम्बन्धित सभाको नियमावलीले व्यवस्था गरेको सम्बन्धमा सभा वा समितिले गरेका निर्णयको सम्मान र पालना गर्दै कार्यान्वयन गर्नु, गराउनु सरकारी निकाय र पदाधिकारीको कानुनी जिम्मेवारी भएको प्रतिवेदनमा उल्लेख छ । “यस संवैधानिक र कानुनी व्यवस्थाको आधारमा संसदीय समिति र सभाले पारित गरेको उक्त विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ को विषय हटाउन समूह बनाई सार्वजनिक रूपमा ‘लबिइङ’ गर्दै हिँड्नु परिभाषित जिम्मेवारी भएका पदाधिकारीको पदीय आचरण मान्न सकिन्न”, प्रतिवेदनमा लेखिएको छ ।

    राज्य व्यवस्था समितिले पारित गरेको सो विधेयकसम्बन्धी प्रतिवेदनमा रहेको विश्राम अवधि सम्बन्धमा मुख्यसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (कानुन) को प्रत्यक्ष संलग्नता नदेखिए पनि त्यससम्बन्धमा सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय नभएको समितिले ठहर गरेको छ ।

    “विधेयकको दफा ८२ को उपदफा ९४० र ९५० का बीच कानुनी तादात्म्यता सम्बन्धमा गम्भीर त्रुटि भएको देखिँदा यसमा संलग्न पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिमको सुझाव एवं निष्कर्ष छ”, प्रतिवेदनमा उल्लेख छ ।

    छानबिन समितिका सभापति जीवन परियारले सो विधेयकका सम्बन्धमा मिहीन रूपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन समितिका सदस्यले अन्तिममा नहेरेको र छलफल नगरिएको छानबिनका क्रममा पाइएको स्पष्ट पारे । उनले मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको र विधेयक मस्यौदामा मिलाउने जिम्मेवारीमा संलग्न पक्षले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादाम्यता नमिलेको सदनलाई जानकारी गराए ।

    प्रतिवेदनले सो त्रुटिका सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोही बमोजिमको व्यवस्था गर्न सुझाव दिएको छ । समितिले आगामी दिनमा यसखालका त्रुटि हुन नदिन मूल विधेयक र समितिको मूल प्रतिवेदन एकीकृत रूपमा हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ । विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिने, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई त्यससम्बन्धमा बढी जवाफदेही बनाउने, संवेदनशील छलफलमा गोपनीयता र पारदर्शितालाई सन्तुलनमा राख्न सोही अनुरूप सरोकारवालाबाहेक र अन्यलाई विचार गरी प्रवेश दिन समितिले सुझाव दिएको छ ।

    “समितिका निर्णयलाई एक रूपता कायम गर्न र मानवीय त्रुटि कम गर्न मार्गदर्शन तयार गरी लागू गर्ने, सभापतिले निर्णय प्रक्रियामा सबै सदस्यलाई विधेयकमा के–के परिमार्जन गरियो भन्ने विषयलाई वाचन गरी निर्णयमा सदस्यको हस्ताक्षर गर्ने पद्धतिको विकास गर्ने तथा समितिको अन्तिम प्रतिवेदन सभामा पठाउनुपूर्व अनिवार्य रूपमा समितिको बैठक राखी छलफल गराउनुपर्ने”, छानबिनको निष्कर्ष सुनाउँदै सभापति परियारले भने ।


    समितिले राज्य व्यवस्था समितिका सभापति, सचिव, सदस्य, विज्ञ, गृहमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य तथा प्रमुख सचेतक, संसद्मा रहेका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र सांसदसँग अन्तरक्रिया र छलफल गरेको उनले जानकारी दिए ।


    यसैगरी, समितिले मुख्यसचिव, उच्चपदस्थ कर्मचारी, संसद्का महासचिव, विभिन्न मन्त्रालयका सचिवसँग पनि प्रत्यक्ष साक्षात्कार गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ पटक बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिले आजै सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको थियो । सोमबार रातभर सिंहदरबारमा बैठक बसेर समितिले प्रतिवेदन तयार गरेको थियो ।

    प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।

  • उत्तराखण्डमा भीषण वर्षा र बाढी : कम्तिमा ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

    उत्तराखण्डमा भीषण वर्षा र बाढी : कम्तिमा ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

    २० साउन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो।

    धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ। हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ।

    प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ। प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। पूरै क्षतिको मूल्याङ्कन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

  • नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    २० साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

    उनले भने, “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ”, झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

    यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ ।

    कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षाको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उहाँका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।

  • मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    यतिबेला नेपालमा मनसुन जारी छ । मनसुनमा प्रकृति प्रफुल्ल हुन्छ । रुख विरुवा मैमत्त हुन्छन् र सारा संसारमा आफ्नो वैभव देखाउँछन् । यस्तै स्वरुप झल्कने गरी देशभरीबाट प्राप्त केही प्रतिनिधि तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

    केन्जो फूलसँगै लाम पोखरी फुङ्लिङ, २० साउनः समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी । यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः दिलकुमार लिम्बू÷रासस
    ढोरपाटन (बागलुङ), २० साउनः ढोरपाटन उपत्यका र पोखरा लेक ढुङ्गे देउरालीबाट देखिएको ढोरपाटन उपत्यका र पोखरा लेक । नेपालको एक मात्र सिकार आरक्षमा पर्ने यो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः डम्मर बुढामगर÷रासस
    मुस्ताङ, (जोमसोम) २० साउनः स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र। पछिल्ला केही वर्षयता मुस्ताङमा सडक सञ्जालको पहुँच पुगेसँगै मार्फामा पनि आधुनिक घरहरु बन्ने क्रम जारी छ । पर्यटकको सेवालाई दृष्टिगत गर्दै गाउँ छेउछाउमा सुविधासम्पन्न आधुनिक घरहरु बनेको हो । तस्बिरः सुशीलबाबू थकाली÷रासस
    हरियाली धानखेत सुनसरी, २० साउनः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको हरियाली धानखेत फाँट। जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिरः नवीन गड्तौला÷रासस
    फिक्कल (इलाम), २० साउन घोडाबाट दूध ढुवानी गर्दै कृषक दूध बिक्रीका लागि घोडालाई बोकाएर डेरीसम्म लैजाँदै इलाम सूर्योदय नगरपालिका–३ जिलगाउँका कृषक। यस क्षेत्रका कृषकहरुले विगत लामो समयदेखि दूध बोकाउन घोडा प्रयोग गर्दै आएका छन् । तस्बिरः रामकुमार लिम्बू÷रासस
  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    २० साउन, गाईघाट । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

  • बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो ।

    त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा यही साउन २१ गतदेखि विभिन्न तीन वटा टोली परिचालन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    सङ्घीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारका रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।

    सो अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभासमक्ष पेस गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    स्थानीय तहमा सुशासनको प्रवर्द्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न उपर्युक्त अनुुसारका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य भए पनि केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार सङ्घ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वयको जिम्मेवारी यस मन्त्रालयमा रहेको छ । सो जिम्मेवारीअनुरुप सभाबाट समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्ने विषयलाई यस मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।

  • कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

    कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

    २० साउन, काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

    त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।

    प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।

  • सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    २० साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

    सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २० साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    २० साउन, म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । “गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ”, उनले भने, “बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।”

    विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफँै उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    २० साउन, ढोरपाटन । काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

    उनले भने, “सडक खुलाउने प्रयास भइरहेको छ । राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।”

  • पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

    पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

    एजेन्सी
    २० साउन, कराँची । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै ७०० भन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडिएमएले जुन २६ मा सुरु भएको बर्षाले देशभरि विनाश निम्त्याएको जनाएको छ । मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका रहेको तथा घाइतेहरुमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष भएको पुष्टि गरेको छ ।

    पाकिस्तानी पत्रिका डनका अनुसार मौसमी बर्षाले एक हजार ६७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४२८ वटा गाईवस्तुको मृत्यु भएको छ भने प्रभावित समुदायका लागि थप कठिनाइ निम्त्याएको छ । एनडिएमएले २२३ वटा उद्धार अभियान सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रबाट दुई हजार ८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ । राहतमार्फत आवश्यक सामाग्रीहरू वितरण गरिएको जनाइएको छ ।

    यसबाहेक, अधिकारीहरूले लाइफ ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पहरू आपूर्ति गरेका छन् । ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायतासमेत प्रदान गरिएको जनाएको छ । एनडिएमएले धेरै क्षेत्रहरू प्रभावित रहेको उल्लेख गरेको छ भने प्रान्तीय र सङ्घीय निकायहरूसँगै संयुक्त अभियानहरू सञ्चालन भइरहेको डनले जनाएको छ ।

    पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अगस्ट ४ देखि अगस्ट ७ सम्म उत्तरी क्षेत्रहरूमा भारी वर्षा र चट्याङ्को पूर्वानुमान गरेको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पञ्जाब र इस्लामाबादमा वर्षा हुने सम्भावना छ भने गिलगिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ । बलुचिस्तानले अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने तटीय क्षेत्रहरूमा हल्का वर्षाको साथ सिन्धमा पनि आद्र्रता बढ्ने अपेक्षा गरिएको छ ।

    पन्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अलि काठियाले आइतबार अगस्ट ५देखि सुरु हुने अनुमान गरिएको मनसुन वर्षाको छैटौँ चरणको चेतावनी दिनुभएको छ । वर्षाले चेनाब र झेलम नदीमा बाढी आउदा जोखिम बढ्ने उहाँले बताउनुभएको छ । लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौँ जिल्लाहरू प्रभावित हुने सम्भावना जनाउदै अगस्टमा जुलाईको तुलनामा वर्षा बढी हुने पिडिएमएले चेतावनी दिएको छ । डनले मुर्री र गल्लियात दुवै लोकप्रिय पर्यटन क्षेत्रमा कमजोर भवन र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने बताएको छ ।

  • भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    २० साउन, काठमाडौं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको बापाट्ला जिल्लामा खानीमा काम गर्ने क्रममा भएको दुर्घटनामा छ कामदारको ज्यान गएको पुष्टि गरिएको छ । घटनामा १० जना कामदार घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार, दुर्घटना शुक्रबार साँझ भएको हो । खानीमा ढुंगा निकाल्ने कार्य भइरहेका बेला एक ठूलो चट्टान खस्दा केही कामदारहरू मलबामुनि पुरिएको जनाइएको छ । घटनाका बेला करीब १६ जना कामदार खानी क्षेत्रमा कार्यरत थिए ।

    उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालित भई जीवित व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सक्रिय भएको थियो । घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिशा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । यो दुःखद घटनाप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूबाट प्रभावकारी सुरक्षा उपायको माग उठ्न थालेको छ । घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

    १९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । आज प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएका उहाँले हनुमानढोका दरबार सङ्ग्र्रहालयको पनि अवलोकन गरेका हुन् ।

    राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे ।

    सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूलचोकलगायतका स्थानको अवलोकन गरे । सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वज्राचार्य काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

    तुर्कमेनिस्तान, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुपुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे दुबई अन्तरराष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेका हुन् ।

    उनलाई तुर्कमेनवासी अन्तरराष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।

  • माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

    माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

    १९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिकाअन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको उनले बताए ।


    बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरिएको प्रवक्ता सापकोटाले बताए । “प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ । त्यस कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाउन साङ्गठनिक एकता कायम गर्ने निर्णय गरिएको छ”, उनले भने ।


    नेकपा (विप्लव) लगायत क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षासमेत गरिएको छ । बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतक प्रस्ताव गर्दै खबरदारी गरेको छ । यही साउन १६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

  • अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    १९ साउन, काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । अभौतिक मुद्राको प्रयोग गरी नगद रु ७८ लाख ३० हजार ३८८ भन्दा बढी कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    १९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।

    यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।

  • भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    १९ साउन, खलङ्गा । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले आग्रह गरेका छन् ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    १९ साउन, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।

    त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    १९ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।

    अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए ।

    मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

    नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

    मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

  • बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    १९ साउन, गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिएका छन् ।

    उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

  • दुबई पुगे प्रधानमन्त्री

    दुबई पुगे प्रधानमन्त्री

    १९ साउन, दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट दुुबइको उडानबाट दुुबई आएका हुन् । साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट० अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।