१६ साउन, वाशिङ्टन डिसी । नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ । ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।
यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिए । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो ।
यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । विगत केही वर्षदेखि नेपालीहरूको जनघनत्व बढी भएको राज्यमा दूतावासले शिविर सञ्चालन गर्दै आएको छ, यसबाट सेवाग्राही खुसी भएका छन् ।
१६ साउन, वीरगञ्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरे ।
वीरगञ्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनःभरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगञ्ज आएको बताए । “अमलेखगञ्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उनले भने, “अमलेखगञ्जको जस्तै प्रविधि अपनाएर वीरगञ्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।”
प्रमुख सिंहले वीरगञ्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उनले भने, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।”
अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । “पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौतारिँदै आइरहनुभएको थियो”, उनले भने, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगञ्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए ।“भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उनले भने, “अमलेखगञ्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उनले भने, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगञ्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।”
इञ्जिनियर सिन्हाले अमलेखगञ्जको असल अभ्यासलाई पर्सामा पनि अनुशरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरको प्राविधिकसहितको टोलीले विहीबार नै वीरगञ्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो ।
समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजीकार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।
१६ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
१६ साउन, काठमाडौं । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।”
यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित सक्रिय आक्रमणकारी (शूटर) को रिपोटबारे सुरक्षा प्रतिक्रिया दिइरहेको छ र अस्पतालका गतिविधिमा व्यवधान आएको छ।” विशाल वाल्टर रीड मेडिकल सेवामा घाइते सैनिकको उपचार गरिन्छ । यसलाई अमेरिकी राष्ट्रपतिहरूको उपचार गर्न र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षण गर्न समर्पित गरिन्छ ।
१५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्नका लागि कामपाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको जनाउँदै उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए । कामपाले गत असारमा मात्रै गरेको अनुगमनका क्रममा १५९ मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उनले जानकारी दिए । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरबासीको आवश्यकता पूरा गराउन पानीको प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन तथा जारको नियमित अनुगमन गरिरहेको जनाएको छ ।
अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको विभागका प्रमुख न्यौपानेले उल्लेख गरे । कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि कामपाले सबैलाई आग्रह गरेको छ । कमजोरी पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबीजक गाडीमा लिएर हिँड्न निर्देशन दिइएको न्यौपानेले जानकारी दिए । त्यसैगरी, कामपाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘फोकल पर्सन’ ऋषि भुसालले जानकारी दिए । उनका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्नसक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । यसअघिका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए ।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे ।
१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । “निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुङ्ग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ”, उनले भने ।
पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले ती विमानस्थलमा यात्रु सङ्ख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको स्पष्ट पारे ।“कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको सङ्ख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्”, उनले भने, “यात्रु सङ्ख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षणलगायत सुविधा सो क्षेत्रमा पु¥याउनुपर्छ ।” नेपाल एयरलाइन्सको छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी काम गर्न निर्देशन दिइएको बताए । प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको उनको भनाइ छ ।
आगामी दशकलाई पर्यटन प्राथमिकता दशक घोषणा गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री पाण्डेले सङ्घीय मन्त्रालय र निकाय, तीनै तहका सरकार निजी क्षेत्रलाईसँगै राखेर पर्यटन संवाद कार्यक्रम गरिएको बताए । नीतिगत तथा कानुनी सुधारलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न विभिन्न योजना अघि सारिएको बताए । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको प्रयास भइरहेको जानकारी दिए ।
छलफलमा सांसदहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुङ्गो लगाउन, पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको योजना बनाउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाउनुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउन सुझाव दिए ।
१५ साउन, काठमाडौं । टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्ने भएको छ। आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ ।
चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए । उनले भने, “एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ । आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।”
‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारले अभिनय गर्ने भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नुहुने छ ।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गरे । उनले यस वर्ष तराई-मधेसमा सुक्खा लागेकाले राम्रो खेती हुन नसकेक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्नभण्डारका रुपमा रहेको तराई-मधेसमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।
प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिए । विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताए ।
१५ साउन, काठमाडौं । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताको एसिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ । बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ ।
१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको हो । पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताए ।
यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताइन् । उनले भनिन्, “मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधानविपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।” लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो ।
विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएका बेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बनेका थिए ।यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णय विरूद्ध सर्वोच्च अदालत जानुभयो । हाल उक्त मुद्दा विचाराधीन छ ।
१५ साउन, दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।”
स्थानीयस्तरमा बजार नपाएपछि काठमाडाँैस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले बताए । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उनको भनाइ छ । “उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु”, मल्लले भने । “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।”
एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ । यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्षअगाडि देखि कागतीखेतीमा लागेका मल्ल थप निराश बनेका छन् । उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पु¥याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ ।
१५ साउन, गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो । पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ ।
बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।”
बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।
“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन”, उनले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।
ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।
१५ साउन, तानसेन । तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडाध्यक्ष यादवसिंह कार्की, तानसेन–१ का वडाध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष जेसीज सुनिलकुमार बस्याल, जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्कीलगायतका जेसीज पदाधिकारीले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरे ।
“विपन्न वर्गका विद्यार्थी झोलालगायत शैक्षिक सामग्रीका कारण पढाइबाट वञ्चित हुन नपरोस्, भनेर एक वर्षलाई पुग्ने शैक्षिक सामान उपलब्ध गराएका छौँ”, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्यले भने । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले उक्त विद्यालयका विद्यार्थीलाई सघाउन रु ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरे । रासस
१५ साउन, काठमाडौं । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको छ । हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।
Two people (C) sit out on a breakwater after much of coastal Japan went on tsunami alert following a 8.7 magnitude quake in the sea off eastern Russia, along Tokyo Bay in Chiba City, Chiba prefecture on July 30, 2025. A powerful 8.7 magnitude earthquake off Russia’s far east has prompted tsunami alerts across parts of the Pacific including Japan, Hawaii, Russia and Ecuador, and warnings along the California coast, US authorities said. (Photo by Philip FONG / AFP)
रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ । रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् ।
Residents watch the ocean in Samoa’s capital city of Apia on July 30, 2025, as a tsunami warning is in effect. Tsunamis hit parts of Russia’s Far East and Japan on July 30 after a huge magnitude 8.8 earthquake, with warnings in place around the Pacific of waves of over three metres (10 feet) in places. (Photo by Manaui FAULALO / AFP)
भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ । “भित्ताहरू हल्लिरहेका थिए”, एलिजोभ्स्कीकी एक बासिन्दाले राज्य मिडिया ज्वेज्दालाई भने, “राम्रो कुरा के हो भने हामीले सुटकेस तयार पारेका थियौँ, ढोकानजिकै पानी र लुगाफाटासहितको एउटा सुटकेस थियो । हामीले तुरुन्तै त्यो उठायौँ र बाहिर भाग्यौँ, यो धेरै डरलाग्दो थियो ।”
Emergency tape near a downed power line and fallen tree in the front yard of a home after severe weather on First St. South in Stillwater, Minn., on Tuesday, July 29, 2025. (Carlos Gonzalez/Star Tribune via AP)
संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् । जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो ।
A man walks along the beach during a precautionary tsunami warning following an earthquake off the coast of Russia, in Buenaventura, on Colombia’s Pacific coast, Wednesday, July 30, 2025. (AP Photo/Santiago Saldarriaga)
दिउँसो सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन । हवाईमा होनोलुलुका मेयर रिक ब्लान्गियार्डीले बासिन्दाहरू र हजारौँ आगन्तुकहरूलाई भवनहरूको माथिल्लो तलामा वा उच्च ठाउँमा सुरक्षित रहन भनेका छन् । बुधबारको भूकम्प कामचटका क्षेत्रमा सन् १९५२ पछि सबैभन्दा शक्तिशाली थियो । क्षेत्रीय भूकम्प निगरानी सेवाले ७.५ म्याग्निच्युडको परकम्पनको चेतावनी दिएको छ ।
Boys stand on a terrace overlooking the coastline during a precautionary tsunami warning following an earthquake off the coast of Russia, in Buenaventura, on Colombia’s Pacific coast, Wednesday, July 30, 2025. (AP Photo/Santiago Saldarriaga)
युएसजिएसका अनुसार भूकम्पको केन्द्रविन्दु त्यही वर्षको विशाल ९.० म्याग्निच्युडको भूकम्पको लगभग समान ठाउँमा छ । त्यस वर्षको भूकम्पले प्रशान्त–व्यापी सुनामी निम्त्याएको थियो । कम्तीमा छ वटा परकम्पनले यस क्षेत्रलाई थप हल्लाएको छ । यसमा ६.९ म्याग्निच्युडको एउटा र अर्को ६.३ मा सूचीबद्ध छ । अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले इक्वेडर, उत्तरपश्चिमी हावाइयन टापुहरू र रुसका केही तटहरूमा ज्वारभाटाको स्तरभन्दा तीन मिटरभन्दा माथिका छालहरू आउन सक्ने बताएका छन् ।
Pillar Point Harbor in Half Moon Bay, Calif., Wednesday, July 30, 2025, after a tsunami advisory was lifted Wednesday and no damage was reported in the harbor. (Santiago Mejia/San Francisco Chronicle via AP)
चिली, कोस्टारिका, फ्रेन्च पोलिनेसिया, गुआम, हवाई, जापान र प्रशान्त महासागरका अन्य टापु र टापु समूहहरूका केही तटहरूमा एकदेखि तीन मिटरको छालहरू आउन सक्ने बताइएको छ । अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, टोङ्गा र ताइवानसहित अन्य ठाउँमा एक मिटरसम्मको लहर आउन सक्ने सम्भावना छ ।
१५ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
१५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ । मन्त्री शाहीसँगै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही नेतृत्वको टोलीले युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यतामा ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसमेत गरेको बताए ।
त्यस अवसरमा नर्वेमा सफल ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे विज्ञहरूले जानकारी गराएको उनले जानकारी दिए । कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले पाँचवर्षे नोरपार्ट परियोजनाका उपलब्धिहरूको समीक्षा पनि गरेका थिए । यस परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन् ।
भ्रमणका दौरान मन्त्री शाही र नर्वेका विदेश मन्त्रालय तथा जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूबीच पनि भेटवार्ता भएको थियोे । त्यस अवसरमा भविष्यका सहकार्य, क्षमता विकास र नेपालमा संरक्षण परियोजनाहरूका लागि वित्तीय सहयोग विस्तारबारे छलफल भएको थियो । नर्वेजियन विकास सहयोग संस्था नोराडसँग दीर्घकालीन संरक्षण पहलहरूबारे छलफल भएको कोषका सदस्य–सचिव सुवेदीले बताए । भ्रमणले नेपाल–नर्वे सम्बन्धलाई संरक्षण र अनुसन्धानका क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ । शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री शाही आज स्वदेश फर्कने कार्यक्रम छ ।
१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।
एजेन्सी १५ साउन, काठमाडौं । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा रहेको सानो सहर बोवेन नजिकको स्पेसपोर्टबाट परीक्षण उडानमा प्रक्षेपण गरेको थियो ।
अस्ट्रेलियाली समाचार आउटलेटहरूद्वारा प्रकाशित भिडियोहरूमा २३ मिटर रकेट प्रक्षेपण टावरलाई खाली गरेको देखिन्छ र दृष्टिबाट बाहिर खस्नुअघि हावामा उडिरहेको देखिन्छ । घटनास्थल माथि धुवाँको लहरहरू उठेको थियो । हताहतको कुनै भएको खबर आएको छैन । कम्पनीले फेसबुकमा पोस्ट गरेको वक्तव्यमा प्रक्षेपणलाई सफलताको रूपमा स्वागत गरेको छ । एक प्रवक्ताका अनुसार सबै चार हाइब्रिड–चालित इन्जिनहरू प्रज्वलित भए र पहिलो उडानमा २३ सेकेन्ड इन्जिन बलेको समय र १४ सेकेन्डको उडान समावेश थियो ।
गिलमोर स्पेस टेक्नोलोजीजले मे र यस महिनाको सुरुमा रकेटको अघिल्लो प्रक्षेपणहरूको योजना बनाएको थियो, तर प्राविधिक समस्या र खराब मौसमका कारण ती कार्यहरू रद्द गरेको थियो । सिइओ एडम गिलमोरले एक विज्ञप्तिमा रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी भएको बताए । “निस्सन्देह म अधिक उडान समय मन पराउँथे तर यसबाट खुसी भएँ”, उनले लिङ्कडइनमा लेखे। गिलमोरले फेब्रुअरीमा एक निजी रकेट कम्पनीले आफ्नो पहिलो प्रयासमा सफलतापूर्वक कक्षमा प्रक्षेपण गर्नु ‘लगभग नसुनिएको’ कुरा थियो ।
रकेटले जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीले पहिले नै बताएको थियो । “प्रक्षेपण स्थलको पूर्वाधार ‘अक्षुण्ण रह्यो’”, विज्ञप्तिमा भनिएको छ । स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि पूरा भएको प्रक्षेपण ‘ठूलो उपलब्धि’ थियो भने । “यो हाम्रो क्षेत्रमा भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगको विशाल छलाङतर्फको महत्त्वपूर्ण पहिलो कदम हो”, उनले फेसबुकमा लेखे ।
गिलमोर स्पेस टेक्नोलोजीजसँग निजी कोषकर्ताहरू छन् र यस महिना एरिस रकेटको विकासका लागि देशको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्रदान गरिएको थियो । यसले अस्ट्रेलियामा नयाँ अन्तरिक्ष प्रविधिहरूको विकास र व्यावसायीकरणलाई अगाडि बढाउन सन् २०२३ मा सरकारसँग फर्मको पाँच करोड २० लाख अस्ट्रेलियन डलर अनुदान सम्झौतालाई पछ्याएको थियो ।
एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार यो देश सयौँ उप–कक्षीय वाहन प्रक्षेपणको स्थल भएको छ तर अस्ट्रेलियाबाट कक्षमा दुईवटा मात्र सफल प्रक्षेपण भएको छ । पहिलो एरिस परीक्षण उडान ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो ।
एजेन्सी १५ साउन, काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् । उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् । यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।
राजधानी बेइजिङमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ, जसमध्ये सबैभन्दा बढी क्षति उत्तरपूर्वी उपनगर मियुनमा देखिएको छ । यस्तै, राजधानीलाई घेरेको हेबेइ प्रान्तमा पहिरोले ८ जनाको ज्यान लिएको छ र अझै ४ जना बेपत्ता छन् । प्रत्येक गर्मी याममा चीनमा यस्तो प्राकृतिक विपत्ति हुने गर्दछ । जलवायु परिवर्तनका कारण वर्षा, बाढी र गर्मी जस्ता चरम मौसमका घटनाहरू अझै तीव्र र बारम्बार हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक देश हो, तर चीनले सन् २०६० भित्र कार्बन–न्यूट्रल बन्ने लक्ष्य राखेको छ । नवीकरणीय ऊर्जा उत्पादनमा पनि चीन विश्वकै अगुवा मुलुकमध्ये एक हो ।
१५ साउन, काठमाडौं । पाकिस्तानको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीच एक सहमति भएको छ, जसअनुसार अब हरेक वर्ष क्यान्सर भएका करिब आठ हजार बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ । यो सहमति अनुसार पाकिस्तानले बालबालिकाको क्यान्सर उपचारका लागि बनाइएको एक विशेष अन्तर्राष्ट्रिय योजना (कार्यक्रम) मा सहभागी भएको छ । यस योजना अन्तर्गत गुणस्तरयुक्त औषधीहरू पीडित बालबालिकालाई निःशुल्क दिइनेछ । डब्लुएचओले दिएको जानकारी अनुसार पाकिस्तानमा हाल क्यान्सर भएका बालबालिकाको बाँच्ने दर करिब ३० प्रतिशत मात्रै छ । यो दर सन् २०३० सम्म ६० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।
पाकिस्तानमा हरेक वर्ष आठ हजारभन्दा बढी बालबालिकामा क्यान्सर पत्ता लाग्ने गरेको छ, तर धेरैलाई उपचारको राम्रो सुविधा नपाइने हुँदा धेरै बालबालिका समयमै बचाउन सकिँदैन । यो योजना संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँग मिलेर सञ्चालन गरिनेछ। युनिसेफले औषधी किन्ने र पाकिस्तानसम्म ल्याउने काम गर्नेछ । डब्लुएचओले पाकिस्तानको संघीय र प्रान्तीय सरकारलाई प्राविधिक सल्लाह, तालिम र अन्य आवश्यक सहयोग पनि गर्नेछ । पाकिस्तानका स्वास्थ्य मन्त्री मुस्तफा कमालले यो सम्झौताबाट धेरै बालबालिकाको जीवन जोगिन सक्ने आशा व्यक्त गरे । उनले भने, “यदि यो सहकार्यले एउटा मात्र बालबालिकाको ज्यान पनि बचाउन सक्यो भने, त्यो नै ठूलो मानव सेवाको काम हुनेछ ।
एजेन्सी १५ साउन, काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरुको सुरक्षाका लागि सामाजिक सञ्जालमा ‘युट्युब’ लाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चार मन्त्री अनिका वेल्सले बुधबार क्यानबेर्रामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए । यस प्रतिबन्धले आगामी डिसेम्बर १० देखि प्रभाव पार्नेछ । पहिला युट्युबलाई यसको शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्रीका कारण केही समयका लागि छुट दिइएको थियो । तथापि, इसेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले युट्युबले बालबालिकामा हानिकारक सामग्रीको पहुँच पु¥याउने जोखिम रहेको भन्दै सरकारलाई यसलाई प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेका थिए ।
प्रधानमन्त्री अल्बानेजले भने, “हामी सामाजिक सञ्जालका ती प्लेटफर्महरूलाई उचित नियन्त्रणमा राख्न इच्छुक छौं, जसले बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्छन् । यो मात्र पहिलो कदम हो, तर यसले निश्चित रूपले सकारात्मक प्रभाव पार्नेछ ।” सञ्चार मन्त्री वेल्सले थपे, “यो निर्णय अभिभावकहरूको भलाइलाई प्राथमिकतामा राखेर गरिएको हो र हामी प्रविधि कम्पनीहरूबाट आउने कानुनी दबाबबाट प्रभावित हुने छैनौं ।”
युट्युबका प्रतिनिधिले गुगलमार्फत यो निर्णयप्रति आफ्नो चिन्ता व्यक्त गर्दै आगामी कदमहरूबारे विचार गरिरहेको जानकारी दिएका छन् । सरकारले उमेर प्रमाणिकरण प्रविधिको परीक्षणको परिणामको पर्खाइमा छ र त्यसपछि प्रतिबन्ध कसरी कार्यान्वयन गर्ने स्पष्ट पार्नेछ । यस विषयमा थप जानकारी पाउँदा खुशी हुनेछौं । बालबालिका र अभिभावकहरूको सुरक्षामा सबैको सहयोग महत्वपूर्ण छ ।
१४ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश पिताम्बर शर्माको इजलासले आज यौन दुव्र्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
यौन दुव्र्यवहारको कसुरमा यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । सोही विषयमा थप अध्ययनका लागि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको हो । मधेसवाणी साप्ताहिक पत्रिका प्रकाशनलगायत सञ्चार उद्यमीसमेत रहेका झा २०७७ साल फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए । करिब छ महिनाजति उक्त प्रदेशको प्रदेशको प्रमुखका रुपमा काम गरेका थिए । आज अदालतले यौन दुव्र्यवहारको कसुरमा थुनामा पठाउने आदेश गरेको हो ।
१४ साउन, काठमाडौं । शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ ।
को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको थियो भने साँझमा साङ्घाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ । “मङ्गलबार रातिदेखि बुधबार बिहान १०ः०० बजेसम्म प्रभावित मानिसहरूलाई स्थानान्तरण गरिएको राष्ट्रिय प्रसारणकर्ता सिसिटिभीले जनाएको छ ।
चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ भने निङ्बो सहरबाट गरिएको प्रसारणमा बासिन्दाहरूलाई पानीबाटै आवतजावत गरेको देखाएको छ । यसैबीच, चीनले रूसको कामचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि आफ्नो समुद्री तटमा सुनामीको चेतावनी पनि दिएको हो ।
एजेन्सी १४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्दै भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताएका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै भने, “भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।”
उनले अमेरिका–भारतबीचको व्यापार घाटालाई ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताए । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरीदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएका छन् । भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरीदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ,” ट्रम्पले उल्लेख गरेका छन् । यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार, यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिँदै चेतावनी दिए । यदि सो अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिनेछ । भारत र अमेरिका बीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन ।
हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुहरूमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ । साथै, राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग पनि व्यापार सन्तुलन कायम गर्न नयाँ ट्यारीफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उनले ५० प्रतिशतसम्म आयशुल्क लगाउने सम्भावना व्यक्त गरे ।
१४ साउन, भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा सम्पन्न भएको छ । भैरहवाको रमादा होटलमा बसेको बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत १५ जना सांसदहरू नियमित बैठकमा सहभागी थिए । संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले संसद्मा रास्वपाले नेपाली जनताको मुद्दा स्थापित गराउन सफल रहेको बैठकको ठम्याइरहेको बताए । यस्तै भिजिट भिसा आवरणमा भएको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करीको मुद्दा संसद्मा स्थापित गर्न रास्वपा सफल भएको उनले बताए ।
उनका अनुसार रास्वपा निजमति विधेयक, भ्रष्टाचारका मुद्दा, मालपोत प्रकरण लगायतका विषय अझै आन्दोलमै रहेका छ । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्ता पक्षले सुनुवाइ नगरेको विषयमा पनि हामीले बहुआयमिक पक्षबाट छलफल गरेका छौँ,” सञ्चारकर्मीसँगको कुराकानीमा परियारले भने, “संसद् जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायीकामा पनि कार्यपालिकालगायत अन्य पार्टीको हस्तक्षेप, संसद्मा निजामति सङ्घीय विधेयकमाथि जुन प्रकारको आक्रमण भयो, कुलिङ अफ पिरियडमा जुन किसिमको बेइमानी भयो त्यसको विषयमा रास्वपाले जनताका मुद्दा संसद्मा स्थापित गराएको छ ।”
रास्वपाले अहिले गरिरहेको हस्ताक्षर अभियानमा अहिले केन्द्रिय नेता तथा सांसदहरू भैरहवामा गएर अभियानमा सहभागी हुन आएको परियारले बताए । उनले भैरहवा विमानस्थल सञ्चालनदेखि लुम्बिनीका पर्यटन व्यवसायीको मुद्दाप्रति रास्वपा गम्भीर रहेको र यसबारे संसद्मा कुरा उठाउने आश्वासन दिए । भैरहवामा भएको बैठकमा भने आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ छ । उनले भने, “हामीले उम्मेदवारीको लागि आह्वान गरेका छौँ, र यो पार्टीको विषय भएकाले रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा संसदीय बैठकमा छलफल भएन ।”
उनले अबको आन्दोलनलाई अझ फराकिलो दायरामा गर्ने बताउँदै भ्रष्टाचारको विरोध सडक र सदनबाट गर्ने जिकिर गरे । उनले तत्कालकै लागि पार्टीको संसदीय दलको नेता परिवर्तन नगर्ने सङ्केत पनि गरे । सभापति रवि लामिछाने दोषी ठहर नभएकाले बैठकमा यस विषयमा कुनै छलफल नभएको उनको भनाइ छ ।
१४ साउन, बरहथवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।
प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ ।
१४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुनस् अवरुद्ध भएको छ । २४ असारमा आएको बाढीले यो सडक खण्ड दुई साता अवरुद्ध भएको थियो । त्यसपछि अस्थायी सञ्चालनमा आएको यो सडकमा बुधबार मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्ट नजिक गरी ८ स्थानमा क्षति पुगेको छ । यस भेगमा ५ सय ४० मिटर क्षति पुगेको कार्यालयले जनाएको छ । सडक पुन: पूर्णरूपमा अवरुद्ध भएको छ ।
स्याफ्रुबेसी–दोभान सडक अन्तर्गत लाङटाङ जलविद्युत् आयोजना प्लान्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको समेत कार्यालयको विवरणमा उल्लेख छ । टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको छ । साथै, यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ । टिमुरे भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत् आयोजनाको आवास क्याम्पको वर्कसपमा दुई युनिट फोर्ड पिकअप गाडी आज बाढीले बगाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका–१ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिनरवाल बाढीले भत्काएको छ । अहिले दुवै पुल जोखिममा रहेको कार्यालयले जनाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा समेत बाढीले बगाएको कार्यालयले जनाएको छ । २४ असारको बाढीबाट प्रभावित त्रिशूली–३ए जलविद्युत् र त्रिशूली ३बी आयोजनाको हब स्टेसनमा समेत थप क्षति भएको पाइएको छ । आजको बाढीले मानवीय क्षति भने भएको छैन ।
१४ साउन, काठमाडौं । गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । एक सय ६९ जना घाइते हुँदा चट्याङका कारण दुइृ सय ८३ घरपरिवार प्रभावित भएका छन् ।
सो अवधिमा सर्पदंशका ६६ घटना हुँदा आठ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा दुई सय छ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ । यस्तै, पहिरोका मात्रै २४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २७६ घटना हुँदा आठ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच, जनावर आक्रमणका तीन घटना भएका छन् ।
१४ साउन, बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी दिए । कांग्रेस बागमतीमा आन्तरिक कलहका कारण सरकार नै संकटमा पर्ने अवस्था आएको छ ।