Category: फिचर

  • रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी

    रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी

    १४ साउन, काठमाडौं । रुसमा ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिका देखि जापानसम्म सुनामीको चेतावनी जारी भएको छ । यूएस जीओलोजिकल सर्वेका अनुसार रुसको पूर्वी तटीय क्षेत्रमा सो भूकम्प आएको हो । यसले प्रशान्त महासागरमा सुनामी आउने चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्र कमचट प्रायदिपस्थित पेट्रोपावलोव्स्कबाट १३६ किलोमिटर पूर्व र जमिनबाट १९ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

    स्थानीय सरकारी अधिकारीहरुले यो अहिलेसम्मकै ठूलो भूकम्प भएको बताएका छन् । हताहतीको खबर सार्वजनिक भइसकेको छैन । यूएसजीएसले जापान र रुसको तटीय क्षेत्रमा अबको तीन घण्टमा खतरनाक सुनामी पुग्ने बताएको छ । यसले अमेरिकाको अलास्कासहितका क्षेत्रमा असर पार्नेछ । ३.३ फिटसम्म उचाइको सुनामी आउने चेतावनी जारी गरिएको छ ।

  • नेपालमा फस्टाउँदो योग पर्यटन, योगा सिक्न हजारौं पर्यटक

    नेपालमा फस्टाउँदो योग पर्यटन, योगा सिक्न हजारौं पर्यटक

    ज्ञानमणि न्यौपाने
    १४ साउन, काठमाडौं चिकित्सा विज्ञान थप आधुनिकतातर्फ मोडिदा योगाभ्यासको प्रचलन पनि बढ्दै गएको छ । योग पहिलो पटक नेपालबाट शुरु भएको हो । यो नेपाल र भारतको आध्यात्मिक प्रक्रिया हो, जसले शरीर, मन र विचारलाई एकसाथ प्रभावित पार्छ । यसलाई बौद्ध, हिन्दु, जैन लगायत धर्मसँग जोडेर हेर्ने गरिन्छ । योग शब्द नेपालबाट उत्पन्न भएर भारत–चीन हुँदै एसियाभर फैलिएको शास्त्रीय विश्वास रहेको छ ।


    योगको सुरुवात शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ । शिव–पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत् खण्डमा यसको चर्चा छ । योग अहिले संसारकै एक प्रमुख स्वस्थकर विधिका रुपमा स्थापित भएको छ । भागवद् गीतामा समेत योग शब्दको पटक–पटक प्रयोग गरिएकाले धार्मिक तथा शास्त्रीय कालदेखि नै प्रयोग गरिएको पुष्टि हुन्छ ।

    नेपालबाटै मनुस्मृतिका पालादेखि योग शुरु भएकाले विदेशी नागरिकका लागि नेपाली योगा आकर्षक बनेको हो । पछिल्लो समय नेपालमा बर्सेनि हजारौं विदेशी योग सिक्नका लागि आउने गरेको योग गुरु डा. चिन्तामणाी गौतम बताउँछन् । उनका अनुसार अमेरिकी महादेश, यूरोपियन र एसियाका सबैजसो देशबाट नेपालमा हजारौं योग सिक्न आउने गरेका छन् ।


    काठमाडौं उपत्यकामा योग सिकाउनका लागि विभिन्न केन्द्रहरु खोलिएको छ । योगको बजार अहिले पोखरासम्म समेत पुगेको छ । गौतमबुद्ध, महर्षि पतञ्जलि, मनु, वाल्मीकि, विश्वामित्र लगायतले नेपालमा योगको अभ्यास गरेका थिए । त्यसो त भगवान श्री भोलेनाथले नेपालको हिमालयबाटै योगको शुरु गरेको मानिन्छ । योगको अभ्यासबाट मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने गौतम बताउँछन् ।

    योगमा पनि भारतको दाबी
    भगवान गौतम बुद्धको जन्मस्थललाई आफ्नो दाबी गर्ने भारतले योगलाई पनि आफ्नो देशबाट सुरु भएको कुरा बेलाबेलामा दाबी गर्ने गरेको छ । नेपालबाट शुरु भएको योगलाई भारतले संयुक्त राष्ट्रसंघमा भारतबाट शुरु भएको भनेर सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा गरेको उक्त प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । त्यसपछि १ सय ७७ देशले उक्त प्रस्तावमा समर्थन गरेपछि महासभाबाट उक्त प्रस्ताव पारित भयो । सन् २०१५ को जुन २१ देखि हरेक वर्ष यो दिवस मनाइन्छ । तर, योगको शुरुवात नेपाल भए पनि नेपालले भने यसबाट फाइदा लिन सकेको छैन ।


    नेपालले योगका बारेमा प्रचारप्रसार नगर्दासमेत अहिले हजारौं विदेशी योग सिक्न आउने गरेका छन् । प्रचारप्रसार गर्न सकेको अवस्थामा यसबाट नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने निश्चित छ । नेपालमा विक्रम संवत २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।


    वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन–अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । पछिल्लो समय भने योगको विकास बढ्दै गएको छ । यसले व्यावसायिक रुप लिएको छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख–शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।


    योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आर्युवेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एशोसियसन अफ नेपालले जनाएको छ ।

    नेपालमा जनशक्ति उत्पादन बढ्दो
    त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष स्नातकोत्तर अर्थात् मास्टर्स गर्नेहरु पासआउट भएका छन् । झण्डै ३० जनाले योगमा स्नातकोत्तर गरे । अब दोस्रो ब्याच पासआउट हुने तयारीमा रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विद्यावारिधि गर्नेको संख्या पनि एक दर्जन पुगिसकेको छ । डा. चिन्तामणि गौतम, डा. राजु अधिकारी, डा. पवनमान सुवेदी, डा. दीपक आचार्य लगायतले योग विज्ञानमा विद्यावारिधि गरेका छन् ।


    नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । अन्य संघसंस्थाले पनि योगको तालिम दिने गरेका छन् । नेपालभर योग सिकाउने ६ सय संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने नेपालीभन्दा पनि प्रायः विदेशी छन् ।

    नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । नेपालमा योग शिक्षा लिई विदेश गएका जनशक्तिले मासिक रु. एक लाखदेखि चार लाखसम्म प्रशिक्षण दिएरै कमाइरहेका छन् ।

    किन गर्ने योग ?
    हालका वर्षहरुमा योगको लोकप्रियता उल्लेखनीय रुपमा वृद्धि भएको छ । बिहानै उठेर मर्निङ वाक गर्ने, ध्यान तथा योग अभ्यासमा सहभागी हुने व्यक्तिहरुको संख्या दिनानुदिन बढिरहेको छ । धेरै मानिसले योगलाई स्वस्थ, सन्तुलित र दीर्घजीवी जीवनशैलीको आधारका रुपमा स्वीकार गरेका छन् ।


    विशेषज्ञहरुका अनुसार, योग न केवल रोग निवारणको प्राकृतिक माध्यम हो, यसले मानसिक, शारीरिक र आत्मिक सन्तुलन कायम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ । पछिल्ला विभिन्न अनुसन्धानहरुले पनि योगलाई दीर्घकालीन स्वास्थ्यका लागि अपरिहार्य अभ्यासका रुपमा पुष्टि गरेका छन् ।


    योग विशेषज्ञहरुका अनुसार, योगले मानिसलाई आत्मपहिचान गराउन मद्दत गर्दछ । नियमित योग अभ्यासबाट ‘म को हुँ ?’, ‘मेरो कर्तव्य के हो ?’ भन्ने गम्भीर प्रश्नप्रति उत्तर खोज्ने चेतना जागृत हुन्छ । यसले व्यक्तिगत अनुशासनको विकासका साथै सकारात्मक समाज र समुन्नत राष्ट्र निर्माणको परिकल्पनातर्फ प्रेरित गर्दछ ।
    योग गुरु डा. चिन्तामणि गौतम भन्छन्, ‘योग भनेको जीवन उपयोगी नियम हो । यो प्राकृतिक जीवनशैलीमा फर्कन सक्ने अचूक माध्यम पनि हो । जब हामी कृत्रिम जीवनशैली र असन्तुलित खानपानतर्फ आकर्षित भइरहेका हुन्छौं, योग अभ्यासले हामीलाई पुनः स्वाभाविक र सन्तुलित जीवनशैलीतर्फ डो¥याउँछ । यसले प्रकृति र जीवनलाई सँगसँगै अगाडि बढाउन मद्दत गर्दछ । समाजमा रोगव्याधी मात्र होइन, आपराधिक मनोवृत्ति कम गर्न पनि यसले ठूलो सहयोग गर्छ ।’


    स्वस्थ जीवनशैली निर्माणमा योगको भूमिका महत्वपूर्ण छ । नियमित अभ्यासबाट शरीरलाई लचिलो, ऊर्जावान र रोग प्रतिरोधी बनाउन सकिन्छ । विशेषतः पछिल्लो समयमा बढ्दो अव्यवस्थित जीवनशैली, मानसिक तनाव, असन्तुलित आहार र शारीरिक निष्क्रियता जस्ता कारणले उत्पन्न भएका जीवनशैलीजन्य रोगहरुको नियन्त्रण तथा निवारणमा योग प्रभावकारी उपायको रुपमा स्थापित भएको छ ।
    योगले केवल स्वास्थ्यमा मात्र नभई शिक्षा, आचरण, भोजन संस्कृति र सोचमा समेत सकारात्मक प्रभाव पार्दछ । नियमित योग अभ्यासबाट आत्मविश्वास अभिवृद्धि हुने, क्रोध, तनाव, रिस जस्ता नकारात्मक भावनाहरु न्यून हुने र जीवनमा सकारात्मक सोच उत्पन्न हुने गरेका छन् ।

    योगले शरीरमा तनाव र चिन्ताका कारण उत्पन्न हुने हर्मोेनहरुलाई सन्तुलनमा ल्याउने कार्य गर्दछ । यसको परिणामस्वरुप मानसिक शान्ति प्राप्त हुने र दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य पनि सुदृढ हुने गर्दछ । त्यसैले हरेक उमेर समूहका मानिसका लागि योग अभ्यास अत्यन्तै लाभदायी र आवश्यक छ । आजको व्यस्त, तनावपूर्ण र प्रदूषित जीवनशैलीबाट मुक्त भई स्वस्थ, सन्तुलित र आनन्दमय जीवन बिताउन योग उत्तम अभ्यास साबित भएको छ । त्यसैले पश्चिमा देशका नागरिकहरु पूर्वीय दर्शन र योगका सन्दर्भमा बढी रुचीकर बन्न थालेका छन् ।

    वार्षिक ७ हजार पर्यटक आउँछन् नेपाल
    नेपालमा योग पर्यटन तीव्ररुपमा फस्टाउँदै गएको छ । विशेषगरी काठमाडौं र पोखरामा विदेशी योग पर्यटक बस्न रुचाउने गरेका छन् । गर्मी समयमा धेरै गर्मी नहुने र जाडो समयमा तापक्रम माइनसमा नजाने भएका कारणले गर्दा काठमाडौं, पोखरा लगायतका पहाडी क्षेत्र योग अभ्यासका लागि उपयुक्त मानिन्छ । यिनै कारणले ती क्षेत्रमा योगसम्बन्धी संस्था र पूर्वाधारमा लगानी पनि बढेको छ । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी पनि योग सिक्न आउने विदेशी पर्यटकको गन्तव्य बन्न थालेको छ ।


    हालसम्म नेपाल सरकारको कुनै पनि निकायले योग पर्यटनसम्बन्धी औपचारिक तथ्यांक संकलन नगरेको भए पनि निजी संस्थाहरुको विवरणले यसको वास्तविकता बताउन सकिन्छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अघिल्लो वर्षभन्दा सन् २०२४ मा नेपालमा पर्यटकको संख्या बढे पनि योग पर्यटनका लागि आएकाको संख्या उपलब्ध नभएको जनाएको छ । यसमा सबैभन्दा धेरै भारत र त्यसपछि अमेरिकाबाट नेपाल घुम्न आउनेहरु रहेका छन् ।


    नेपाल योगा एकेडेमी र पञ्चेश्वरी योगा रिट्रिटका तथ्यांकअनुसार, महामारीपछिको समयमा विदेशी योग पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । यस्ता संस्थाहरु नेपालभर करिब १५ वटा रहेका छन् । एक संस्थामा मात्र वार्षिक २ सय जना विदेशी योग टिचर बन्ने र ३ सय हाराहारीमा रिट्रिटका लागि आउने गरेका अनुमान गरिन्छ । त्यसलाई आधार मान्दा नेपालमा पछिल्लो एक वर्षमा करिब ७ हजार विदेशी योग पर्यटक आएका छन् । यी संस्थाबाहेक पनि व्यक्तिगत सम्पर्कबाट पनि नेपालमा योग पर्यटक आउने गरेका छन् ।


    यी पर्यटकले औसतमा प्रतिदिन ६ हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च गर्छन् । योग टिचर बन्ने अधिकांश विदेशीले झन्डै दुई महिनासम्म प्रशिक्षण सेवा लिन्छन् भने रिट्रिटका लागि आउनेहरु करिब १५ दिनसम्म बस्ने गर्छन् । यसबाट नेपालले महत्वपूर्ण विदेशी मुद्रा आम्दानी गरिरहेको छ ।

    नेपालमा अमेरिकन योगा अलाइन्सको प्रभाव
    नेपालमा योग अभ्याससँग सम्बन्धित संस्थाहरु हाल अमेरिकन योगा अलाइन्समा आबद्ध भइरहेका छन् । अमेरिकामा स्थापना भएको यो गैरनाफामूलक संस्थाले बालबालिका, युवा, वृद्ध र अन्य समूहका लागि विशेष योग पाठ्यक्रम विकास गर्छ । यसमा आबद्ध हुने प्रशिक्षकहरुले वार्षिक सदस्यता नवीकरण गर्नुपर्छ । यसअघि भारत र अष्ट्रेलियाका योग संघहरुको प्रभाव रहे पनि हाल अमेरिकन योगा अलाइन्सको प्रभाव बढ्दो छ ।

    योग अभ्यासका तीन स्वरुप
    नेपालमा योग अभ्यास तीन प्रकारले भइरहेको पाइन्छ ।
    शैक्षिक योग : औपचारिक रुपमा योग विषयमा अध्ययन गरेका प्रशिक्षकद्वारा प्रदान गरिने ।
    तालिमप्राप्त योग शिक्षक : सर्ट टर्म कोर्स पूरा गरेका व्यक्तिहरुले सिकाउने ।
    आध्यात्मिक योग : बाबा, साधु–सन्तमार्फत ध्यान, योग र आध्यात्मिक सेवा प्रदान गरिने ।

    कहाँबाट आउँछन् योग पर्यटक ?
    नेपालमा योग पर्यटनका लागि आउने विदेशीमध्ये युरोपेली देशहरु विशेषगरी फ्रान्सबाट सबैभन्दा धेरै आउने गरेका छन् । नेपाल र नेपालीलाई हेर्दा नेपालको सांस्कृतिक दर्शन र योगतर्फ फ्रान्सेलीहरु आकर्षित भएको फ्रान्सको एक विश्वविद्यालयमा नेपाली भाषा पढाइरहेकी प्राध्यापक सुमित्रा बुर्लाकोटी बताउँछिन् । उक्त विश्वविद्यालयले लामो समयदेखि नेपाली भाषा पढाइरहेको छ ।

    फ्रान्सपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा र खाडी मुलुक योग पर्यटकका प्रमुख स्रोत राष्ट्र हुन् । पछिल्लो समय चीनबाट आउने योग पर्यटकको संख्या पनि बढ्दो छ । भारतमा योग केन्द्रहरु भीडभाडयुक्त भएपछि र चिनियाँ नागरिकलाई भारतीयले हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि चिनियाँ योग पर्यटकले नेपाललाई शान्त र सहज गन्तव्यका रुपमा रोज्न थालेका हुन् ।

    नीतिगत अभाव र संरचनागत सम्भावना
    नेपालमा योग पर्यटनको सम्भावना उच्च छ, तर सरकारको नीतिगत ध्यानको अभाव देखिएको छ । योगा तथा रिट्रिट केन्द्रहरुलाई आधिकारिक रुपमा दर्ता गराउने व्यवस्था, कर छुट सुविधा, संरचनागत पूर्वाधार (बाटो, बिजुली, सञ्चार)मा लगानी, तथा एकान्त र शान्त वातावरणयुक्त क्षेत्रहरु योग ग्रामका रुपमा चिनाउने काम सरकारले गर्न सके यो क्षेत्र पर्यटन आम्दानीको अर्को बलियो स्रोत बन्न सक्नेछ ।


    थाइल्याण्डजस्ता देशले योग केन्द्रहरुलाई कर छुट प्रदान गरेर यो क्षेत्रको विकास गरिरहेको सन्दर्भमा नेपालले पनि अब सक्रिय भूमिका निर्वाह गर्न आवश्यक देखिएको छ । नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक पृष्ठभूमि योगका लागि अन्तर्राष्ट्रिय आकर्षण बन्न सक्ने क्षमतायुक्त छ । त्यसैले आवश्यक नीति, लगानी र समन्वयमार्फत योग पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

    यस्तो अवस्थामा गर्नु हुँदैन योगा
    नेपालमा पछिल्लो समय योग अभ्यासको दर बढेको छ भने हिमालयको देशबाटै योगा शुरु भएकाले नेपालमा योग सिक्नका लागि आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । योग गर्दा के–के कुराहरु गर्नु हुँदैन भन्ने जानकारी पनि सबैले राख्न जरुरी छ ।


    खाली पेट योग गर्नु उत्तम
    योग गर्नुभन्दा पहिले खाना खान हुँदैन । खाना खाएपछि योग गर्दा स्वास्थ्यमा प्रतिकूल असर गर्छ । भोमिटिङ, नोजिया र थकान बढी हुन सक्छ । खाना डाइजेस्ट गर्दा शरीरको शक्ति प्रयोग हुन्छ । त्यस्तो बेलामा योगा गर्दा थप समस्या निम्तिन सक्छ । त्यसैले खाली पेट योग गर्नु उत्तम हुन्छ ।

    चोट–पटक लागेका बेला
    तपाईलाई शरीरमा कहीं चोटपटक लागेको छ भने योगा गर्नु हुँदैन । कुनै भागमा चोट–पटक लागेको छ भने त्यहाँबाट थप रगत बग्ने, फ्युड बग्ने र चोट पटकमा इन्फेक्सनसमेत हुन सक्छ । त्यसैले चोटपटक लागेका बेला योगा गर्नु राम्रो होइन ।

    मोबाइल प्रयोग गर्नु हुँदैन
    योग गर्ने समयमा मोबाइलको प्रयोग गर्नु राम्रो होइन । योगा र मोबाइल दुवै एकसाथ गर्नु हुँदैन । यसले योगामा ध्यान दिन सकिंदैन । त्यसैले योगाको समयमा आफ्नो मोबाइल प्रयोग गर्नु राम्रो मानिंदैन । यसले नैराश्यता बढाउन पनि मद्दत गर्छ ।

    योग अनुकूल कपडा
    योग अभ्यासका लागि योग अनुकूलका कपडा मात्र प्रयोग गर्नुपर्छ । पसिना कम सोस्ने खालका कपडा लगाउँदा ध्यान केन्द्रित नहुन सक्छ । त्यस्तै, गलत कपडा प्रयोगले योग राम्रोसँग गर्न सकिंदैन भने कतिपय अवस्थामा कपडा च्यातिने हुन्छ । त्यसैले योगको समयमा सही कपडा प्रयोग गर्नुपर्छ ।

    योगको समयमा कुराकानी गर्नु हुँदैन
    योग गर्दै कुराकानी गर्दै गर्ने बानी पनि राम्रो होइन । यसले योगबाट हुने फाइदा हुन सक्दैन । त्यति मात्र होइन एक जनाले कुराकानी ग¥यो भने अरु सबैको समेत ध्यान विकेन्द्रित हुन्छ । त्यसैले योगको समयमा कुराकानी गर्नु राम्रो मानिदैन । योगको समयमा कम बोल्नु नै बुद्धिमान मानिन्छ ।

    टावेल नजिकै राख्न भुल्नु हुँदैन
    योगको समयमा टावेल आफू नजिकै राख्नु पर्छ । टावेल हुन नसके पनि हामीले रुमाल नजिकै राख्नुपर्छ । यसले पसिना सफा गर्न सहयोग गर्छ भने कहिलेकाहीं कपडा च्यातिएर हुने समस्याबाट पनि मुक्ति दिन्छ ।

    बलको प्रयोग गर्नु हुँदैन
    योगको समयमा बल प्रयोग गर्नु हुँदैन । उत्साहमा आएर जबरजस्ती योग गर्दा स्वास्थ्यमा प्रतिकूल असर हुन्छ । शरीरमा विभिन्न प्रकारका समस्या निम्तिन सक्छन् । त्यसैले बिस्तारै योग अभ्यास गर्नु राम्रो मानिन्छ ।

    नेपाल योग पर्यटनको उत्कृष्ट गन्तव्य
    डा. चिन्तामणि गौतम
    योगगुरु
    नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आध्यात्मिक चेतनाले गर्दा नेपाल अब योग पर्यटनको सम्भावनायुक्त गन्तव्यका रुपमा स्थापित हुँदैछ । म विगत दुई दशकदेखि नेपालमा योग प्रवद्र्धन र योग पर्यटन विस्तारमा सक्रिय छु । पछिल्ला केही वर्षयता नेपालमा ध्यान, फिजिकल फिटनेस र दर्शनशास्त्रमा चासो राख्ने विदेशी योग पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।


    योग केवल शारीरिक अभ्यास होइन, यो जीवन दर्शन हो । वैदिक जीवनशैली, आयुर्वेद, तन्त्र, ध्यान र आध्यात्मिक चिन्तनसँग जोडिएको विषय हो योग । यही कारणले आज विश्वभर मानिसहरु योगको खोजीमा छन् र नेपालजस्तो शान्त, पवित्र र प्राकृतिक सौन्दर्यले भरिएको मुलुक तिनका लागि आदर्श गन्तव्य बन्न पुगेको छ ।
    नेपालमा शिवको तान्त्रिक भूमि, गौतम बुद्धको ध्यान भूमि, ऋषिमुनिहरुको तपोभूमिको ऐतिहासिक पृष्ठभूमि छ । विश्वभरका आध्यात्मिक जिज्ञासुहरुका लागि नेपालको यो सन्दर्भले गहिरो प्रभाव पार्दछ । योगको उत्पत्तिसँग नेपाल पनि जोडिएको हो भन्ने सन्देश अहिले धेरै विदेशीहरुले दिन थालेका छन् ।


    नेपालमा योगका लागि विदेशी पर्यटक विशेषगरी काठमाडौं र पोखरा रुचाउँछन् । यी दुवै शहरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका योग एकेडेमी र रिट्रिट केन्द्रहरु स्थापना भएका छन् । पछिल्लो समयमा लुम्बिनी पनि योग अभ्यासका लागि महत्वपूर्ण स्थल बन्दै गएको छ । गौतम बुद्धको जन्मभूमिको रुपमा लुम्बिनीले ध्यान र शान्तिको वातावरण दिन्छ, जसले विदेशी योगी र आध्यात्मिक यात्रीहरुलाई आकर्षित गर्छ ।


    सरकारसँग अहिलेसम्म योग पर्यटनसम्बन्धी कुनै तथ्यांक छैन । तर, नेपाल योग एकेडेमी, योगमाण्डू, पञ्चेश्वरी योगा रिट्रिट लगायतका संस्थाका आन्तरिक तथ्यांक हेर्दा पछिल्लो दुई वर्षमा योग पर्यटन उल्लेखनीय रुपले बढेको छ ।
    नेपाल योग एकेडेमीबाट मात्रै वार्षिक २ सय जना विदेशी योग शिक्षक तयार हुन्छन् । टिचर ट्रेनिङका लागि नेपाल आउने विदेशी विद्यार्थी दुई महिनासम्म बसोवास गर्छन् ।

    उनीहरु दैनिक ६ देखि १२ हजार रुपैयाँसम्म खर्च गर्छन्, जसमा आवास, भोजन, प्रशिक्षण, ध्यान, आयुर्वेदिक उपचार, स्पा सेवा आदिका लागत सामेल छन् ।
    रिट्रिटका लागि आउने पर्यटकहरु भने एक सातादेखि १५ दिनसम्म बस्छन् । उनीहरुको उद्देश्य विश्राम, आत्मअन्वेषण र मानसिक सन्तुलन प्राप्त गर्नुहुन्छ । ध्यान, आसन, प्राणायाम, वैदिक दर्शन, सत्कर्म, योग वर्कशप, हाइकिङ, स्पा, पञ्चकर्म लगायतका कार्यक्रमहरु सञ्चालन हुन्छन् ।


    नेपालमा हाल १५ वटा योग संस्थानहरु छन् जसले नियमित प्रशिक्षण र पर्यटनसँग जोडिएका सेवाहरु दिइरहेका छन् । योगमाण्डूले मात्र हरेक वर्ष करिब ५ सय जना टिचर उत्पादन गर्छ । संस्थागत रुपमा मात्र होइन, व्यक्तिगत रुपमा तालिम दिने प्रशिक्षकहरुको संख्या पनि उल्लेखनीय छ ।


    नेपालमा योग अभ्यासका लागि युरोपेली देशहरु, विशेषतः फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, स्विट्जरल्यान्ड आदि प्रमुख स्रोत हुन् । त्यस्तै अमेरिका, अष्ट्रेलिया, क्यानडा र जापानबाट पनि राम्रै संख्यामा पर्यटक आउने गरेका छन् । पछिल्लो समय चीनबाट पनि पर्यटकको चाप बढ्दै गएको छ । भारतमा केही असहजता बढेपछि चिनियाँ पर्यटक नेपालतर्फ आकर्षित हुन थालेका हुन् ।
    नेपालमा योग पर्यटनको सम्भावना भए पनि यो क्षेत्र अझै सरकारी प्राथमिकतामा परेको छैन । योगका नाममा सञ्चालन भइरहेका एकेडेमी तथा रिट्रिट सेन्टरहरु आज पनि ‘होटल’ भनेर दर्ता गरिन बाध्य छन् ।

    सरकारले अझैसम्म योग, ध्यान तथा आयुर्वेदसँग सम्बन्धित सेवाहरुलाई छुट्टै विधागत मान्यता दिइसकेको छैन । थाइल्याण्ड, भारत वा श्रीलंकाले जस्तै ‘ट्याक्स फ्री योग जोन’, ‘रिट्रिट भ्याली’ जस्ता अवधारणा ल्याउन सकिने सम्भावना छ । नेपालमा डाँडाकाँडा, जंगलको छेउ, शान्त एकान्त स्थानहरु प्रशस्त छन् । जहाँ अन्तर्राष्ट्रिय स्तरका योग केन्द्रहरु स्थापना गर्न सकिन्छ ।

    तर, सरकारले न बाटो बनाएको छ, न बिजुली, न पूर्वाधार । मैले बारम्बार आग्रह गर्दै आएको छु– सरकारले कुनै डाँडोलाई योग क्षेत्र भनेर छुट्याओस्, त्यहाँ न्यूनतम पूर्वाधार बनाओस्, छाता संगठनमार्फत एकेडेमीहरुलाई समन्वय गराओस् । यसले नेपालमा योग पर्यटनको सुनौलो भविष्य निर्माण हुनेछ ।


    कोरोना महामारीको समयमा भने सिंगो योग क्षेत्र शून्य अवस्थामा पुग्यो । यात्रा प्रतिबन्ध, क्वारेन्टाइन, होटल बन्द, तालिम स्थगित सबै ठप्प भए । तर, महामारीपछिको पुनरागमनमा योगको महत्व झन् बढेर आएको छ । मानिसहरु स्वास्थ्य र मानसिक सन्तुलनप्रति झनै जागरूक बनेका छन् ।
    हाम्रो एकेडेमीमा महामारीपछि फेरि विदेशीहरु आउन थालेका छन् । झन् ती आउनेहरु अब योगलाई केवल ‘फिटनेस’ नभई ‘लाइफ स्टाइल’का रुपमा बुझ्न थालेका छन् ।
    नेपालमा योग पर्यटनको सम्भावना मात्र होइन, सजीव आवश्यकता छ । यसले नेपाली अर्थतन्त्रमा रोजगारी, राजस्व र अन्तर्राष्ट्रिय सञ्जाल ल्याउन सक्छ । तर, यसका लागि राजनीतिक इच्छाशक्ति, नीतिगत स्पष्टता र पूर्वाधार विकास अनिवार्य छ ।
    म यो क्षेत्रसँग मेरो जीवनको दुई दशक जोडिएको अनुभूत गर्छु । मैले आफैं संस्थागत रुपमा हजारौं विदेशीलाई प्रशिक्षण दिएको छु । तर, अझै पनि म भन्न सक्छु– नेपालमा योग पर्यटनले आकाश छुने सम्भावना छ । त्यसका लागि हामीले अब नीति, लगानी र दृष्टिकोण प्रष्ट पार्नुपर्छ ।

  • गण्डकी प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

    गण्डकी प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

    १४ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    १४ साउन, त्रिशूली । आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

    बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।

  • गाजामा ‘अनिकालको सबैभन्दा खराब अवस्था’

    गाजामा ‘अनिकालको सबैभन्दा खराब अवस्था’

    एजेन्सी
    १४ साउन, काठमाडौं । “अनिकालको सबैभन्दा खराब अवस्था हाल गाजा पट्टीमा भइरहेको छ”, खाद्य सङ्कटसम्बन्धी अग्रणी अन्तर्राष्ट्रिय प्राधिकरणले मङ्गलबार तत्काल कारबाही नगरेमा ‘व्यापक मृत्यु’ हुने भविष्यवाणी गर्दै नयाँ चेतावनीमा भनेको छ । अझै पनि औपचारिक अनिकाल घोषणा गर्न बाँकी रहेको यो चेतावनीले गाजामा कमजोर भएका बालबालिकाहरूको तस्बिर र लगभग २२ महिनाको युद्धपछि भोकमरीका कारण दर्जनौँको मृत्यु भएको रिपोर्टमाथि आक्रोश निम्त्याएको छ ।

    अन्तर्राष्ट्रिय दबाबले इजरायललाई सप्ताहन्तमा गाजाका केही भागमा लडाइँमा दैनिक मानवीय विराम र हवाई सहायता सहितका उपायहरू घोषणा गर्न बाध्य बनाएको छ । संयुक्त राष्ट्रसङ्घ र भूमिमा रहेका प्यालेस्टिनीहरूले केही परिवर्तन भएको छैन भन्छन्, र निराश भीडले डेलिभरी ट्रकहरू गन्तव्यमा पुग्नुअघि नै घेरेर खाली गरिरहन्छन् । एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण वा आइपिसीले गाजा दुई वर्षदेखि अनिकालको सँघारमा पुगेको तर हालैका घटनाक्रमहरूले स्थिति ‘नाटकीय रूपमा बिगारेको’ भनेको छ । यसमा इजरायलको ‘बढ्दो कडा नाकाबन्दी’ समावेश छ ।

    Israeli activists take part in a protest against the war in the Gaza Strip, Israel’s measures regarding food distribution and the forced displacement of Palestinians, in Tel Aviv, Israel, Tuesday, July 22, 2025. (AP Photo/Ohad Zwigenberg)

    औपचारिक अनिकाल घोषणाका लागि त्यस्तो प्रकारको आँकडाको आवश्यकता हुन्छ र जुन दुर्लभ छ– जुन गाजामा पहुँचको अभाव र भित्रको गतिशीलताले धेरै हदसम्म अस्वीकार गरेको छ । आइपिसीले केवल केही पटक मात्र अनिकाल घोषणा गरेको छ– सोमालियामा सन् २०११ मा, दक्षिण सुडानमा सन् २०१७ र सन् २०२० मा र गत वर्ष सुडानको पश्चिमी डार्फर क्षेत्रका केही भागहरूमा ।

    तर स्वतन्त्र विशेषज्ञहरूका अनुसार उनीहरूले गाजामा के देखिरहेका छन् भनेर जान्नका लागि औपचारिक घोषणाको आवश्यकता छैन । “जसरी एक पारिवारिक चिकित्सकले प्रायः प्रयोगशालामा नमूनाहरू पठाएर नतिजाका लागि प्रतीक्षा नगरी देखिने लक्षणहरूको आधारमा उनीसँग परिचित बिरामीको निदान गर्न सक्छ, त्यसै गरी हामी पनि गाजाका लक्षणहरूको व्याख्या गर्न सक्छौँ । यो अनिकाल हो”, ‘मास स्टारभेसनः द हिस्ट्री एन्ड फ्युचर अफ फेमिन’ का लेखक तथा वर्ल्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशकले भन्नुभयो ।

    निम्न तीनवटै अवस्था पुष्टि भएमा कुनै क्षेत्रलाई अनिकालका रूपमा वर्गीकरण गरिन्छः
    कम्तीमा २० प्रतिशत घरपरिवारमा खानाको चरम अभाव छ, वा मूलतः भोकमरीमा छन् । कम्तीमा ३० प्रतिशत बालबालिकाहरू ९छ महिनादेखि पाँच वर्षसम्मका० तीव्र कुपोषण वा दुर्बलताबाट पीडित छन्, यसको मतलब तिनीहरू आफ्नो उचाइका लागि धेरै पातला छन् । र प्रति १० हजारमा कम्तीमा दुई व्यक्ति वा पाँच वर्षमुनिका चार बालबालिका दैनिक भोकमरी वा कुपोषण र रोगको अन्तरक्रियाका कारण मरिरहेका छन् ।

    जुलाई २५ सम्मका उपलब्ध जानकारीमा आधारित यो रिपोर्टले सङ्कट ‘चिन्ताजनक र घातक मोडमा’ पुगेको बताउँछ । यसले धेरैजसो गाजामा खाद्यान्न खपतका लागि अनिकालको सीमा — युद्ध सुरु भएयताकै सबैभन्दा निम्न स्तरमा — र गाजा सहरमा तीव्र कुपोषणका लागि पुगेको आँकडाले सङ्केत गरेको बताएको छ । रिपोर्टले गाजा सहरमा पाँच वर्षमुनिका प्रत्येक एक सय बालबालिकामध्ये झण्डै १७ जना तीव्र कुपोषणमा परेको बताएको छ ।

    बढ्दो प्रमाणले ‘व्यापक भोकमरी’ देखाउँछ । अत्यावश्यक स्वास्थ्य र अन्य सेवाहरू ध्वस्त भएका छन् । विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा तीनमध्ये एक जना मानिस एक पटकमा केही दिनसम्म खाना बिना नै बस्छन् । अस्पतालहरूले पाँच वर्षमुनिका बालबालिकाहरूमा भोकमरीसँग सम्बन्धित मृत्युको तीव्र वृद्धि भएको रिपोर्ट गर्छन् । बीस लाखभन्दा बढी जनसङ्ख्या भएको गाजा विनाशकारी क्षेत्रका बढ्दो सानो क्षेत्रहरूमा निचोडिएको छ ।

    मे महिनामा आइपिसीको पछिल्लो विश्लेषणले यदि इजरायलले आफ्नो नाकाबन्दी हटाउन र आफ्नो सैन्य अभियान रोक्न नसकेमा गाजा सम्भवतः अनिकालमा पर्ने चेनावनी दिएको थियो । यसको नयाँ चेतावनीले तत्काल र ठूलो–स्तरको कारबाहीको आह्वान गर्दछ र चेतावनी दिन्छः “अहिले कार्य गर्न असफल भएमा पट्टीका धेरैजसो भागमा व्यापक मृत्यु हुनेछ ।”

    Israeli soldiers drive on their armored personnel carrier back from inside the northern Gaza Strip into southern Israel, Tuesday, July 29, 2025. (AP Photo/Ariel Schalit)

    इजरायलले युद्धभरि विभिन्न मात्रामा सहयोग सीमित गरेको छ । मार्चमा यसले हमासलाई बन्धक मुक्त गर्न दबाब दिन इन्धन, खाद्यान्न र औषधि लगायत सबै सामानहरूको प्रवेश बन्द गरेको थियो । इजरायलले मेमा ती प्रतिबन्धहरू सहज बनायो तर अराजकता र हिंसाले ग्रस्त भएको अमेरिकी समर्थित नयाँ सहायता वितरण प्रणालीलाई पनि अगाडि बढायो । परम्परागत, संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता प्रदायकहरूले इजरायली सैन्य प्रतिबन्धहरू र लुटपाटका घटनाहरूले डेलिभरीमा बाधा पुर्‍याएको तथा अपराधीहरू र भोकाएको भीडले प्रवेश गर्ने सहायता सामग्री बोकेका सवारी साधनहरूमा आक्रमण गरेको बताएका छन् ।

    इजरायलले गाजामा कतिवटा सहायता ट्रकहरू प्रवेश गर्न सक्छन् भन्नेमा कुनै सीमा छैन भनेको छ, तर संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र सहायता समूहहरूले बढ्दो भोकमरीको सामना गर्न नवीनतम मानवीय उपायहरू पनि पर्याप्त नभएको बताएका छन् । सोमबार एक वक्तव्यमा, डाक्टर्स विदाउट बोर्डर्सले नयाँ हवाई सहायतालाई अप्रभावी र खतरनाक भन्दै ट्रकहरूभन्दा कम सहायता पुर्‍याउने बताए ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा कोही भोकै मरिरहेको छैन र इजरायलले युद्धभरि पर्याप्त सहायता आपूर्ति गरेको दावि गरेका छन् । उनले भनेका छन् । “अन्यथा, त्यहाँ कुनै गाजाबासी हुने थिएनन् ।” इजरायली सेनाले सोमबार ‘गाजामा जानाजानी भोकमरीका झूटा दाबीहरू’ भन्दै आलोचना गरेको थियो । इजरायलको सबैभन्दा नजिकको सहयोगीले अब असहमति जनाएको देखिन्छ । “ती बालबालिकाहरू धेरै भोकाएका देखिन्छन्”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हालका दिनहरूमा गाजाका तस्बिरहरूको बारेमा भने ।

  • रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै

    रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै

    एजेन्सी
    १४ साउन, काठमाडौं । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् ।

    यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा, कडा आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन् । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ ।


    “यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । रुसी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आरोप अस्वीकार गर्दै भने, “रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन ।”

    युक्रेनी वायुसेनाले जनाएको अनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनहरू मारिएका छन् । यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमाथिको आक्रमणमा २३ वर्षीया गर्भवती महिला डायना सहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए । नुभयो । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ।

    युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिए । “कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्,” उनले सामाजिक सञ्जालमा लेखे । रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रूसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।

  • नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

    नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

    १३ साउन, काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए ।


    बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

    बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ । दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

  • नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

    नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

    १३ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी छन् ।

    “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उनले भनिन्, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।” बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन् ।

  • चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

    चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

    १३ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । “सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तरराष्ट्रिय सन्धिसम्झौताद्वारा सिर्जित दायित्वका आधारमा नयाँ कानुन बनाउने प्रयत्न भएको हो”, मन्त्री चौरसियाले भने, “न्यायपालिकालाई साधनस्रोत सम्पन्न बनाई अदालतको कार्यबोझ घटाउने प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानुनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन सरकार लागेको छ ।”

    कानुन मन्त्रालयले विधायन ऐन कार्यान्वयनमा आएको, हालसम्म विभिन्न मन्त्रालय र निकायहरूबाट ६ वटा नियमावली, पाँचवटा विनियमावली, तीनवटा निर्देशिका र सातवटा कार्यविधि मन्त्रालयमा दर्ता भएका जनाएको छ । मन्त्रालयले ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारीको नियुक्ति गरी निःशुल्क कानुनी सहायता सुविधा पु¥याइएको जनाएको छ । निःशुल्क कानुनी सहायता परियोजनाअन्तर्गत हालसम्म एक हजार १७९ कानुनी परामर्श र ७९९ वटा मुद्दा दर्ता भएका छन् । कानुनी सहायतालाई प्रभावकारी बनाउन निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक तयार गरिएको र त्यसलाई चालु आवभित्रै पेस गरिने उक्त मन्त्रालयले जनाएको छ ।

  • प्रधानमन्त्रीबाट रानी-जमरा कुलरिया थप सिँचाइ र जलविद्युत उद्घाटन

    प्रधानमन्त्रीबाट रानी-जमरा कुलरिया थप सिँचाइ र जलविद्युत उद्घाटन

    १३ साउन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो ।

    सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ । प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।


    प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको हो भनेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।

  • करेन्ट लागेर एकको मृत्यु

    करेन्ट लागेर एकको मृत्यु

    १३ साउन, भरतपुर । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।
    उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

    गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

    १३ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को पुगेका थिए । विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भए । निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) भए ।


    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भएका छन् । युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भए । महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भए । यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा मनामूर्ति भुर्तेल निर्वाचित भए ।

  • देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

    देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

    १३ साउन, सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउन योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम गर्नेगरी काम गरिरहेको बताए ।


    प्रधानमन्त्री ओलीले भने, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ ।” रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उनले यो आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    प्रधानमन्त्री ओलीले १२० वर्षदेखिको परम्परागत सीपबाट सुरू भएको यो सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीयको जनसहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता प्राप्त भएको बताए । देश विकासका लागि प्रतिबद्ध रहेका उहाँले यो सिँचाइ आयोजना निर्माणबाट नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । यस आयोजनाले ग्रामीण जीवनशैली परिवर्तन कृषि उत्पादनमा वृद्धि ऊर्जामा आत्मनिर्भर खाद्य सुरक्षामा टेवा पु¥याउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।


    प्रधानमन्त्री ओलीले भने, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सिँचाइ आयोजनाको तेस्रो चरणको काम अघि बढाउन विश्व बैंकसँग ऋण लिने निर्णय गरेको छ ।” उनले मधेसमा देखिएको सुक्खाग्रस्त समस्याका साथै खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोडिङ जडान गर्न लागेको जानकारी दिए । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज हुनसक्ने भएकाले सरकारको ध्यान यसतर्फ गएको उनले बताए ।


    सुनकोशी मरिन डाइभर्सन, भेरी बबै सिँचाइ आयोजना, तम्मोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निमार्ण पूरा गर्न सरकारले ध्यान दिएको उनले बताए । सामाजिक संस्कृति, सभ्यता मूल्यमान्यताविपरीत एकथरीले जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा खाली लेख्ने, हरेक विकासका काममा विरोध गर्ने गरेकोप्रति उनले असन्तुष्टी व्यक्त गरे ।


    ऊर्जा जल स्रोत सिँचाइमन्त्री दिपक खड्काले दुई ठूला दल एक ठाउामा उभिएर काम गर्दा राजनीतिक परिवर्तन र देश विकासको सवालमा प्रतिफल दिइरहेको बताउँदै हरेक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले यो सिँचाइ आयोजनामा निर्माण भएको विद्युत् गृहबाट वार्षिक राम्रो आम्दानी हुने देखिएको उल्लेख गरे ।


    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिँचाइ आयोजनाको निर्माण भएबाट मुलुकले समृद्धिको आधार तय गरेको अनुभव भएको सुनाए । उनले सुदूरपश्चिम जलस्रोतमा धनी भए पनि यसको सही सदुपयोग हुन नसकेकाले उपयोग गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्रीले प्रदेशका महत्त्वपूर्ण सडक सञ्जाल, गेटा विश्वविद्यालय र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँकी खण्डको निमार्णका लागि पर्याप्त बजेट छुट्याउन व्यावस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।


    जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहिलो तथा दोस्रो चरणमा निर्माण भएको नहरसहितको सिँचाइ प्रणालीबाट १४ हजार ३०० क्षेत्रफल जग्गामा सिँचाइ पुगेको र विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिए । सिँचाइ प्रणालीबाट स्थायी रूपमा सिँचाइ सुविधा उपलब्ध हुँदा धान, गहुँ र मकैको उत्पादकत्व वृद्धि भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले यो सिँचाइ आयोजनाको कर्णाली नदीमा रहेको मुख्य मुहान (इन्टेक) को स्थलगत निरीक्षण अनुगमन गरेका थिए । प्रधानमन्त्रीको स्थलगत निरीक्षण टोलीमा ऊर्जा जल स्रोत तथा सिँचाइमन्त्री खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री शाह, मन्त्रालय र सिँचाइ विभागका पदाधिकारीहरूको सहभागीता थियो ।

    आर्थिक वर्ष २०६७–०६८ देखि निर्माण सुरू गरिएको यो आयोजनाको पहिलो चरण २०७४–०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०–०८१ मा सम्पन्न भएको हो । अद्यावधिक गुरुयोजनाअनुसार २०८२ मसान्तसम्म रु २० अर्ब ५८ करोड ५६ लाख बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।
    विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो सिँचाइ आयोजनाअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । साथै सिँचाइ प्रणालीअन्तर्गत नै जानकी गाउँपालिका–९ कटाँसेमा निर्माण पूरा भएको विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    सिँचाइ आयोजनाको लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको सिञ्चित क्षेत्र २० हजार ३०० हेक्टर हुनेछ । तेस्रो चरणको काम पूरा भएमा यो सिँचाइ आयोजनाबाट कूल ३८ हजार ३०० हेक्टर क्षेत्रफलको जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयका प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।

  • ‘भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ’

    ‘भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ’

    १३ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासलाई उस्तै समस्याको रूपमा लिन नहुनेमा जोड दिइएको थियो । सांसद प्रतिमा गौतमले वन क्षेत्रभित्र पर्ने खाली जग्गा वन क्षेत्रभित्रै राख्नुपर्ने बताउँदै हदबन्दी छुट जुन प्रयोजनको लागि लिएको हो सोही प्रयोज जग्गाको प्रयोग हुनुपर्ने बताए । उनले “भूमि र वनको विषयमा प्रदेश र स्थानीयसँग समन्वय गर्नुपर्छ, सुकुम्बासीको नाममा राजनीति गर्ने गरी विधेयक ल्याउनुहुँदैन ।”


    सांसद विनिता कठायतले भूमिसम्बन्धी विधेयक सामान्य जनताका निम्ति वा पहुँचवालाका लागि ल्याइएको हो भनेर प्रष्ट हुनुपर्ने धारणा राखिन् । उनले वास्तविक सुकुम्वासी र भूमिहीन दलित कति छन् भन्नेबारे स्पष्ट तथ्याङ्क हुनुपर्नेमा जोड दिइन् । सांसद सोविता गौतमले भूमिसम्बन्धी ऐनमा हालसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणबद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताइन् । उनले भने, “भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरू जोसँग भूमि छैन, निरीह छ, तिनलाई राज्यले संरक्षण गर्नुपर्छ । उनीहरू सरकारले भूमि सरकारले दिनुपर्छ, तर त्यसो भन्दै गर्दा राज्यले स्ष्ट लक्ष्य र आवश्यकताअनुसार कानुन बनाउनुपर्छ ।”

  • न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए

    न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए

    १३ साउन, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए ।

    सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए ।
    नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू रहेको ६३४ फिट अग्लो गगनचुम्बी भवनमा गोली चलेको हो । गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औं सामूहिक गोलीकाण्ड हो ।

    प्रहरी अधिकारीहरुले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका छन् र गोली चलाउनुको कारण अझै स्पष्ट नभइसकेको बताएका छन् । गोली चलाउने व्यक्ति एमबीडब्ल्यू गाडी चढेर आएका थिए । उनीसँग एम–फोर राइफल र एक रिभल्बर पनि थियो । उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन पनि फेला परेको छ । साथै उनीसँग नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स पनि भेटिएको छ ।

  • ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार

    ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार

    १३ साउन, काठमाडौं । ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो ।

    स्कटल्यान्डस्थित आफ्नै गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग उच्चस्तरीय बैठकमा उक्त सम्झौता गरेपछि त्यसलाई सबैभन्दा ठूलो उपलब्धि भनी टिप्पणी गरेका थिए । युरोपेली सामानमा ३० प्रतिशत अमेरिकी करबाट बच्नका लागि अगस्ट १ को समयसीमा अगावै नेताहरूले करिब एक घण्टामा सम्झौता गरेका थिए ।

    ‘हामीले सम्झौता गरेका छौं, यो सबैका लागि राम्रो हो । यो सायद कुनै पनि क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले भने । ट्रम्पका अनुसार १५ प्रतिशतको आधारभूत कर युरोपको महत्त्वपूर्ण अटोमोबाइल क्षेत्र, फर्मास्युटिकल्स र सेमीकन्डक्टरसहित सबैतिर लागू हुनेछ । ट्रम्पले सम्झौताको एक हिस्साका रूपमा २७ सदस्य राष्ट्र रहेको ईयूले संयुक्त राज्य अमेरिकाबाट ‘७ खर्ब ५० अर्ब डलर मूल्यको ऊर्जा’ खरिद गर्न सहमत भएको र ६ खर्ब डलर थप लगानी गर्न सहमत भएको बताए ।

    भोन डेर लेयनले रुसी स्रोतहरूबाट टाढा विविधीकरण गर्ने ब्लकको प्रयासको एक भागका रूपमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास, तेल र आणविक इन्धनको ‘महत्त्वपूर्ण’ खरिद तीन वर्षमा हुने बताए । ईयूका २७ देशका तर्फबाट वार्ता गर्दै भोन डेर लेयनले सामान र सेवाहरूमा वार्षिक १९ खर्ब डलरको व्यापारिक सम्बन्ध बचाउन कडा प्रयास गरिरहेको थियो । ‘यो राम्रो सम्झौता हो,’ ईयू प्रमुखले पत्रकारसँग भनिन्, ‘यसले स्थिरता ल्याउनेछ, एट्लान्टिकको दुवै किनाराका हाम्रा व्यवसायका लागि यो धेरै महत्त्वपूर्ण छ ।’ उनले विशेष गरी विमान, केही रसायन, कृषि उत्पादन जस्ता रणनीतिक उत्पादनहरू र महत्त्वपूर्ण कच्चा मालमा द्विपक्षीय भन्सार शुल्क छुटमा सहमति भएको बताइन् ।

    ट्रम्प दोस्रो कार्यकालका लागि गत जनवरीमा ह्वाइट हाउस छिरेपछि अमेरिका र ईयूबीच भन्सार शुल्कमा निकै धेरै गलफत्ती चलेको थियो । अझै पनि अमेरिकाले ईयू राष्ट्रबाट आउने कारहरूमा २५ प्रतिशत, स्टिल र एल्युमिनियममा ५० प्रतिशत र सम्पूर्ण वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क तोकेको छ । जबकि वासिङ्टनले यसलाई बढाएर ३० प्रतिशतसम्म पुर्‍याउने धम्की दिएपछि ईयू अमेरिकासँग भन्सार शुल्कका बारेमा वार्ता गर्न बाध्य भएको हो । ईयूले विमानदेखि मदिरासम्मका महत्त्वपूर्ण उद्योगहरूका लागि भन्सार शुल्क छुटको माग गरिरहेको थियो भने फ्रान्स र जर्मनीका कार, मोटरमा लगाइएको चर्को भन्सारका कारण पहिले नै पीडित थिए ।
    ‘१५ प्रतिशत करलाई कम आकलन गर्नु हुँदैन, तर यो हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो हो,’ भोन डेर लेयनले भनेकी छन् । अमेरिकासँगको उक्त सम्झौतालाई ईयू सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गरेपछि नयाँ कर लागू हुनेछ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यस सम्झौताको तत्काल प्रशंसा गर्दै यसले ‘ट्रान्सएट्लान्टिक व्यापार सम्बन्धमा अनावश्यक वृद्धि’ हुनबाट जोगाएको बताए । तर जर्मन निर्यातकर्ताहरू भने अझै पनि कम उत्साहित देखिएका छन् । औद्योगिक समूहहरूको शक्तिशाली बीडीआई महासंघले उक्त सम्झौताले ‘पर्याप्त मात्रामा नकारात्मक परिणामहरू’ ल्याउने बताएको छ ।

    संयुक्त राज्य अमेरिकाका लागि ईयूको शीर्ष निर्यातकर्ताहरूमध्ये एक आयरल्यान्डले सम्झौताको स्वागत गरेको छ, तर यसको विदेश मामिला र व्यापार विभागको एक बयानमा भने आधारभूत करप्रति ‘खेद’ व्यक्त गरेको छ । ईयूले स्टिलमा सम्झौताका लागि दबाब दिएको थियो जसले भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकामा निश्चित कोटा प्रवेश गर्न दिन सक्छ । स्टिल ‘जस्तो छ त्यस्तै रहनेछ’ भन्दै ट्रम्पले यसलाई अस्वीकार गरेका थिए, तर ईयू प्रमुखले स्टिलका लागि पछि ‘भन्सार शुल्क कटौती गरिनेछ र कोटा प्रणाली स्थापना गरिनेछ’ भनी जोड दिएकी थिइन् ।

    यदि स्कटल्यान्ड वार्ता असफल भएको भए ईयूका सदस्य राष्ट्रहरूले अगस्ट ७ देखि विमान र कारहरूसहित १ खर्ब ९ अर्ब डलर (९३ अर्ब युरो) का अमेरिकी वस्तुहरूमा प्रति–भन्सार शुल्क लगाउन अनुमति दिएको थियो । उता, ट्रम्पले पनि अगस्ट १ सम्ममा वासिङ्टनसँग सम्झौता नगरे ईयू राष्ट्रसहित अन्य दर्जनौं देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिएका थिए ।

  • मधेशमा आज पनि छैन ठूलो वर्षाको सम्भावना

    मधेशमा आज पनि छैन ठूलो वर्षाको सम्भावना

    १३ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    त्यसैगरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेन पनि सुक्खाग्रस्त मधेशमा भने आज पनि वर्षाको सम्भावना देखिएको छैन ।

  • यस्तो बन्यो नागढुंगा सुरुङमार्ग

    यस्तो बन्यो नागढुंगा सुरुङमार्ग

    १३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । मंगलबार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।

    त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए । सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए । यो सुरुङमार्ग १ जनवरी २०२६ बाट सञ्चालनमा ल्याउने तयारी छ ।

  • चाडबाडको याम सुरु, आज नाग पञ्चमी

    चाडबाडको याम सुरु, आज नाग पञ्चमी

    १३ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

  • कति हो नेपालले धान्न सक्ने बाघको संख्या ?

    कति हो नेपालले धान्न सक्ने बाघको संख्या ?

    १३ साउन, काठमाडौं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संंख्या ३५५ पुगेको छ ।

    नेपालमा बाघको संंख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

    वर्तमान अवस्थामा नेपालमा बाघको संंख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संंख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको संंख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् ।
    नेपालमा बाघको संंख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी०, विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

    जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको संंख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिए । उनले भने, ‘त्यसैले अहिले बाघको संंख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।’ उनले बाघको संंख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिए ।

    पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संंख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संंख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको संंख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गरेका डा. चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गरे। उनले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र बासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताए ।

    ‘बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ’, निर्देशक डा पोखरेलले भने, ‘मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।’ उनले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् ।
    त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्यांक छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संंख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको संंख्या बढेर २३५ पुगेको थियो ।

    विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा। घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्नसके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नुपर्छ ।’ बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ ।

    नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको संंख्या रहेको अनुमान थियो । त्यो संंख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो ।

    विश्ववन्यजन्तु कोषको तथ्या‌ंकअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको संंख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्या‌ंक अनुसार विश्वमा बाघको संंख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् ।

    निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको संंख्या धेरै भयो भन्न नमिल्ने बताए । गुणस्तरीय घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको संंख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रसस्त सम्भावना रहेको उनको तर्क छ ।

    मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरुले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सहअस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहनका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।’

    देशभरका खोरमा १८ समस्याग्रस्त बाघ

    बाघको संंख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

    हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको संंख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक बाघ खोरमा राखिएका छन् ।

    यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनी सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।

    बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्पमाथिसमेत बहस सुरु भएको छ ।

    – भीष्मराज ओझारासस

  • थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

    थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

    १२ साउन, काठमाडौं । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए ।

    घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए । “उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए । ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ । थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन् ।

  • टिमुरे सुक्खा बन्दरगाहमा १ अर्बको क्षति, नयाँ विकल्प खोज्न सुझाव

    टिमुरे सुक्खा बन्दरगाहमा १ अर्बको क्षति, नयाँ विकल्प खोज्न सुझाव

    १२ साउन, काठमाडौं । रसुवमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा २४ असारको बाढीले १ अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । यो परियोजना निर्माण गरिरहेको तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीचको छलफलमा उक्त जानकारी गराइएको हो। म्यानेजर लीका अनुसार भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल ४ सय मिटर भत्किएको छ ।


    २ सय ५० युनिट सवारीसाधन पार्किङ गर्न मिल्ने गरी बनाइएको कंक्रिट ढलान पूर्णरूपमा क्षति भएको छ । २ वटा गोदाममा माटो र ढुंगा भरिएको छ । २ वटा लोडिङ÷अनलोडिङ सेडमा क्षति पुगेको छ । यीसमेत कुल १ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताएका छन् । बन्दरगाह निर्माणमा खटिएका कामदारमध्ये १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भएको समेत उनले बताए । सुक्खा बन्दरगाह परिसरमा बनाइएका संरचनामध्ये प्रशासनिक भवनमात्र ठिक अवस्थामा रहेको उनले बताए ।

    यो आयोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । आयोजना लागत २ अर्ब १६ करोड रहेको छ । छलफलका क्रममा निर्माण कम्पनीका म्यानेजरले त्यहाँ सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य स्थानमा छनोट गर्नुपर्ने उनले सुझाव दिए । त्यसबारे मन्त्रालयमा छलफल गरी निर्णय लिइने कार्यकारी निर्देशक गजुरेलले बताए ।

    यो बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको छ । १६ अक्टोबर २०१४ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । १० अप्रिल २०१५ मा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो । निर्माण सम्बन्धमा २०७६ सालमा हस्ताक्षर भएसँगै आयोजना अगाडि बढेको हो । यो आयोजना निर्माण अवधि १६ फागुन २०८२ सम्म छ ।

  • सिन्धुलीबाट वेपत्ता होयु परिवार पोखरामा रहेको पुष्टी

    सिन्धुलीबाट वेपत्ता होयु परिवार पोखरामा रहेको पुष्टी

    १२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा रहेको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमले यसको पुष्टी गरेका छन् ।
    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका थिए । १२ जना पोखरामा सम्पर्कमा आएको आफन्त बच्छु हायूलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    गोलन्जोर गाउँपालिका६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले आज दिनभर खोजेको थियो । प्रहरीले उनीहरु पोखराको लेकसाइडस्थित एक होटलमा गएर बसेको सूचना पाएको थियो । उनीहरू गत शनिबार पोखरा लेकसाइडमा रहेको होटल जननी पुगेको पाइएको छ । उनीहरुबारे थप जानकारी भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

  • सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खोल्न २० अर्ब एफडीआई स्वीकृत

    सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खोल्न २० अर्ब एफडीआई स्वीकृत

    १२ साउन, काठमाडौं । सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार उद्योग विभागबाट उक्त उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।


    चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४ सिन्धुलीमा उक्त उद्योग स्थापनाको प्रस्ताव गरेको हो । उद्योगले वार्षिक २ लाख टन मासु र ५५ हजार टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको उत्पादन) गर्ने लक्ष्य राखेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।

    यो उद्योगले ५ हजार १ सय ५६ जनालाई रोजगारी दिने भएको छ । उद्योगबाट वार्षिक डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात हुनेसमेत प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

  • मुग्लिनमा ट्याङ्‍करसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार एकको मृत्यु

    मुग्लिनमा ट्याङ्‍करसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार एकको मृत्यु

    १२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । सोमबार दिउँसो ४ः४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।

    मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको जनाएको छ । घाइते अर्का व्यक्तिको पहिचान खुलेको छैन । शरीरका विभिन्न भागमा चोट देखिएका अन्दाजी ३५ वर्षका घाइते युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    ठक्कर दिने तेल ट्याङकरका चालक तनहुँ बन्दीपुर गाउँपालिका–१ घर भएका ३५ वर्षीय प्रेम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–२९ चौधकिलो भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार जुगेडी प्रहरी चौकीबाट ३ किलोमिटर टाढा मुग्लिनतर्फ दुर्घटना भएको हो ।

  • सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

    सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

    १२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । रहस्यमयी तरिकाबाट हराएका उनीहरुका आज दिनभर खोजतलास गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।

    सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको थियो । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् । स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझेसँगै आज उनीहरुको खोजि गरिएको थियो । हायु सिमान्तकृत समुदायमा पर्छ । उनीहरुले केही दिन अगाडी मात्र सरकारले दिने सामाजिक भत्तावापत एक वर्षको ८ लाख भन्दा बढी रकम बुझेको समेत खुलेको छ ।
    यी हुन वेपत्ताहरु
    १. उर्मिला हायू -आमा-५२ वर्ष

    २. कमला हायू -छोरी-२७ वर्ष

    ३. कोमल माया हायू -बुहारी-२३ वर्ष

    ४. उषा हायू -छोरी-२२ वर्ष

    ५- सुजता हायू -छोरी-२२ वर्ष

    ६. अस्मिता हायू -छोरी-१८ वर्ष-

    ७. शान्ता हायू -छोरी-१२ वर्ष

    ८. राजु हायू -छोरा-२९ वर्ष

    ९. हिमाल हायू -छोरा-२४ वर्ष

    १०. लालबहादुर हायू -छोरा-१६ वर्ष

    ११. बेगबहादुर हायू – छोरा-१४ वर्ष

    १२. लक्की हायू -छोरा-११ वर्ष

    १३. सुवर्ण हायू -छोरा-१२ वर्ष

    १४. ओमकुमारी हायू -छोरी-१० वर्ष

    १५. अर्जुन हायू -नाती-१ वर्ष

    १६. रियासा हायू -नातिनी-४ वर्ष

  • प्रतिकूल मौसमका कारण गोसाइकुण्डबाट दुई युवकको शव ल्याउन कठिन

    प्रतिकूल मौसमका कारण गोसाइकुण्डबाट दुई युवकको शव ल्याउन कठिन

    १२ साउन, काठमाडौं । मौसम प्रतिकूलताको कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित गोसाइकुण्डमा भेटिएका दुईजनाको शव काठमाडौ ल्याउन सकिएको छैन। लगातार वर्षाको कारण उक्त क्षेत्रमा हेलिकप्टर जान र ल्याण्ड गर्न असम्भव भएपछि उनीहरुको शव तीर्थ यात्री बस्न बनाईएको पाटीपौवामा राखिएको छ।

    सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज तैनाथ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए। स्नान गर्ने क्रममा बेपत्ता दुवै जनाको शव नेपाली सेनाको श्री श्रीनाथ गण सुरक्षा पोष्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले साउन १२ गते बिहान करिब ११ बजे गोसाईकुण्डबाट बाहिर निकालेका थियो ।

    गोसाइकुण्डमा स्नान गर्ने क्रममा साउन ११ गते मोरङ जिल्लाको बेलवारी नगरपालिका ११ बस्ने २५ वर्षीय मनोज न्यौपाने र सोही जिल्लाको विराटनगर महानगरपालिका–३ बस्ने २९ वर्षीय सुजन ढकाल डुवेर बेपत्ता भएका थिए। मौसम सफा भएपश्चात भोलि हेलीकप्टरद्वारा दुवै जनाको शव काठमाडौ ल्याउने तयारी रहेको बताइएको छ ।

  • टिपर दुर्घटनामा वेपत्ता तीन जनाको शव फेला

    टिपर दुर्घटनामा वेपत्ता तीन जनाको शव फेला

    १२ साउन, काठमाडौं । गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक मितिमा सुर्खेतमा फेला परेको हो ।

    यति बिल्डर्स प्रा।लि।मा जेसिभि अपरेटर पदमा कार्यरत धनबिरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो भने सोमबार मात्र मृतकका दाइले शवको पहिचान गरेको डिससपी बिष्टले बताए । टिप्पर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका –२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

    गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो । वडा नम्बर ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ जाँदै गरेको टिप्पर भेरीनदिमा खस्दा टिप्परमा रहेका तीनै जना बेपत्ता भएका थिए । टिप्परको अगाडिको भाग भने बुधबार घटनास्थलभन्दा करिब चार सय मिटर तल नदिको जाजरकोटतर्फको भागमा फेला परेको थियो ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    १२ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो समय दुई वटा केन्द्रमा पछिल्लो २४ घन्टामा सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ। सिन्धुपाल्चोककको नुर्पुगाउँ केन्द्रमा १२२.२ र धनकुटाको त्रिवेणीमा ११२.६ मिलिमिटर वर्षा भएको छ।

    सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता

    १२ साउन, काठमाडौं । गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

    गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।