Category: फिचर

  • साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

    साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

    ८ साउन, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ । डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो । ५ मंसिर २०८१ मा भएको सम्झौता अनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले निगमलाई हस्तान्तरण गरेको छ ।

    नयाँ डिपो पूर्णरूपमा स्वचालित एल३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ । यसैगरी इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।

    निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ । यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने जनाइएको छ । यस्तै अन्तर्राष्ट्रिय स्तरका मापदण्ड एपीआई, आईएसडीको पूर्णपालना गरिने निगमले जानकारी दिएको छ । निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको छ । निगम कार्यालय प्रमुख प्रदीपकुमार यादवले गत आव मंसिरमा निर्माण कार्य सुरु गरी दुई वर्ष (२०८४ मंसिर) भित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको जानकारी दिए ।

  • आइओई महासचिव सान्तोस र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता

    आइओई महासचिव सान्तोस र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता

    ८ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । बिहीवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए । साथै उनले सरकार र ट्रेड यूनियनहरुको भूमिका रचनात्मक रहेको पनि बताए ।


    महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्म नेपाल भ्रमणमा रहने छन् । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजिकरणका विषयमा चर्चा गरेका थिए ।

    साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मत्मक क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताए । ‘नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती हुँदा हामीसंग अवसर र चुनौती दुवै छन्, यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौं’, अध्यक्ष ढकालले भने । नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठन बीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैं उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताए ।

    सो अवसरमा उनले स्तरोन्नति पछिको अवस्थामा अन्तरराष्ट्रिय क्षेत्रमा आवश्यक सहजिकरणका लागी आइओई सधैं सकारात्मक रहेको बताए । नयाँ अवसरहरुमा नेपालका उद्यमिहरुलाई जोड्न पनि सहजिकरण गर्ने बताए । सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगादाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बनध निर्मार्ण तथा औद्योगिक वातावरणका बिषयमा आआफ्नो धारणा राखेका थिए ।

    १९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।

  • गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

    गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

    ८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुर्ब लामा शेर्पा छिन् । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।

    उनका अनुसार बा ३ ख ४३४५नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई दिउँसो पौन ४ बजेतिर ठक्कर दिएको थियो । सो क्रममा बालिकाको घटनास्थलमै मृत्यु भएको हो । चालकलाई पक्राउ गरेर अहिले प्रहरी प्रभागमा राखिएको छ ।

  • अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

    अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

    ८ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका लागि तोकिएको छ । एनबीसी न्यूजका अनुसार यो शुल्क कहिलेदेखि लागू हुन्छ र फिर्ता गर्ने प्रक्रिया के हो भन्ने कुरा अझै अस्पष्ट छ ।

    सन् २०२५ को अमेरिकी आर्थिक वर्ष ९अक्टोबर १, २०२४ (सेप्टेम्बर ३०, २०२५० मा शुल्क कम्तीमा २५० डलर तिर्नुपर्नेछ । यो शुल्क होमल्याण्ड सेक्युरिटी नेतृत्वले अझ बढाउन सक्नेछन् । आगामी वर्षहरूमा यो शुल्क मुद्रास्फीतिअनुसार समायोजन गरिने बताइएको छ । यो शुल्क सबै गैरआवासीय भिसा ९नन(इमिग्रान्ट भिसा० लिने पर्यटक, व्यवसायी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लागु हुने उल्लेख छ । तर भिसा वेभर प्रोग्राम अन्तर्गत अमेरिका प्रवेश गर्न पाउने देशका नागरिकलाई यो लागु नहुन सक्छ। यी देशहरूमा अस्ट्रेलिया, जापान, केही युरोपेली देशहरू लगायत रहेका छन् ।

    एनबीसी न्यूजका अनुसार यो शुल्क भिसा जारी हुनेबेला तिर्नुपर्छ। तर भिसा अस्वीकृत भयो भने यो शुल्क तिर्नुपर्दैन । यो यसअघि भिसा शुल्कभन्दा थप अर्थात् अतिरिक्त शुल्क हो । उदाहरणका लागि, एच(वानबी आवेदनकर्ताले पहिल्यै २०५ डलर तिर्ने गरेकोमा अब ४५५ डलरसम्म तिर्नुपर्नेछ । एनबीसी न्यूजका अनुसार फर्म–१९४ को शुल्क ६ डलरबाट २४ डलरमा वृद्धि भएको छ । यो शुल्क अधिकांश आगन्तुकले तिर्नुपर्छ ।

    भिसा अवधि ननाघ्ने, अनधिकृत रूपमा काम नगर्ने लगायतका सर्तहरू पूरा गरिएमा यात्रा सकिएपछि शुल्क फिर्ता लिन सकिन्छ । तर फिर्ता कसरी, कहिले, कहाँबाट पाउने भन्ने अझै प्रस्ट छैन । यो शुल्क अहिलेसम्म कार्यान्वयनमा आएको छैन र कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल रहेको एनबीसी न्यूजले जनाएको छ । होमल्याण्ड सेक्युरिटीका प्रवक्ताका अनुसार यो शुल्क आप्रवासन प्रणालीमा इमानदारिता ल्याउने उद्देश्यले ल्याइएको हो ।

    सन् २०१६–२०२२ को बीचमा १–२ प्रतिशत मात्रै गैरआवासीय आगन्तुकहरू भिसाको म्याद नाघ्दासम्म बसेका थिए । तर, १ करोड १० मिलियन अनधिकृत आप्रवासीमध्ये करिब ४२ प्रतिशत कानुनी तरिकाले आएर म्याद नाघेर बसेको तथ्यांक छ । नयाँ शुल्कको व्यवस्थाले पर्यटक र विद्यार्थीहरू बढी प्रभावित हुनेछन् । अमेरिकामा सन् २०२६ मा अमेरिकाको २५० औँ वार्षिकोत्सव र फिफा वर्ल्ड कप जस्ता ठूला कार्यक्रम आयोजना गर्दैछ ।

  • टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा

    टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा

    न्यूयोर्क ।

    टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा हुँदैछ। पहिलो सुनुवाई मंगलबार २ बजेको लागि समय तोकेको छ। नेश्नल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त रुपमा जुलाई ७ तारिखमा मुद्धा दायर गरेको हो।
    युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन) का संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले एक विज्ञप्ति जारी गर्दै सँग टिपिएसमा रहेका नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्सको सदस्यता लिन आव्हान गरेका छन् । टिपिएस खारेजीको निर्णयले हजारौं नेपालीहरुको जीवनलाई प्रत्यक्ष असर पार्ने भएकोले टिपिएसवाहक नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिन आव्हान गरेको हो । अमेरिकी सरकारले मुद्धाको सुनुवाईको क्रममा वादीलाई मात्रै वा नेश्नल टिपिएस एलायन्सको सदस्यहरुलाई मात्रै कानुनी सुरक्षा प्रदान गर्न सक्ने गरी राहतलाई सिमित गर्न सक्ने सम्भावना भएकोले सबै टिपिएसवाहक नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिई संरक्षित हुन युटिपिएसएनले विज्ञप्तिमार्फत आव्हन गरेको हो । यो अदालतलाई अमेरिकी सरकारको आग्रह हो र मान्यो भने भन्ने सम्भावनाको लागि एनटिपिएसएको सदस्यता लिएमा नेपाली टिपिएसवाहकहरु पनि समेटिने भएकोले सदस्यता लिनु आवश्यक रहेको युटिपिएसएनको संयोजक शाहीको भनाई छ।


    झण्डै ७ हजार ८ सय नेपाली टिपिएस अन्तर्गत छन् । एनटिपिएसएको सदस्यता निशुल्क रुपमा लिन सकिन्छ भने सदस्यता लिई सकेपछि टिपिएस वाहकहरुको कानुनी तथा राजनीतिक शक्ति मजबुत तथा बलियो हुने छ भने अदालतका आदेशहरु (एनटिपिएसए) को सदस्यमा सिमित भएमा सदस्यता लिएका नेपाली टिपिएसवाहकहरु पनि सुरक्षित हुने छन् साथै टिपिएस संरक्षणका लागि चलिरहेको देशव्यापी आन्दोलनमा जोडिएर एकतावद्ध रुपमा लड्न सकिने र टिपिएस सम्बन्धि मुद्धा, वकालत तथा विभिन्न गतिविधिहरुको जानकारी समयमा नै उपलब्ध हुने विज्ञप्तीमा उल्लेख छ ।
    नेश्नल टिपिएस एलायन्सको नेतृत्वमा ३ वटा देश नेपाल, होण्डुरस र निकारागुवाको टिपिएस बचाउनको लागि मुद्धा दर्ता गरेको थियो ।
    नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी र निकारागुवाको तर्फबाट मारिया लेना लगायत रहेका छन्। संयोजक शाहीले क्यालिफोर्नियाको सानफ्रानिस्कोमा बसोबास गर्ने नेपाली समुदायलाई सुनुवाईको दिन अदालतमा उपस्थित भई नैतिक समर्थन गरी साथ र सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।

  • न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश

    न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश

    बिष्णु सिंह, न्युयोर्क।

    गोर्खाली समाज न्युयोर्कले भूपु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र न्युयोर्कमा रहेका नेपाली समुदायबीच एक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रियाको बिषय थियो : १, राष्ट्रिय बिकासमा प्रवाशी नेपालीको भूमिका २, बैदेशिक लगानी, नीतिनिर्माण र सांस्कृतिक संलग्नता ।

    यो समग्र देशको चासो र चिन्ताको बिषय थिए। भ्रष्टाचारले दरिद्र बनेको बर्तमान नेपालमा यी बिषयहरु निकै महत्वपुर्ण र गम्भीर थिए। माओबादी नेता श्रेष्ठले अमेरिकामा आएर सम्बन्धित शिक्षा हाशिल गरेका, बिषयबस्तुका जानकार र अनुभवि व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेर उपलब्ध ज्ञान नेपालको प्रगतिमा प्रयोग गर्न सके देशलाई फाइदा हुने अनुमान गर्न सकिन्थ्यो।

    कार्यक्रममा विशिष्ट महत्व दिएर बोल्न दिएकाहरुमा वकिल खगेन्द्र जिसी, संजय थापा, आनन्द बिष्ट, बिष्णुमाया परियार र अन्य जातजाति सस्थाका प्रतिनिधि थिए । सबैले एन आर एनको माग र सरोकार प्रति नेपाल सरकारले कुनै चासो नगरेको गुनासो गरे। साथै एन आर एनमा गुटबन्दी र पार्टी र नेता प्रति बढी झुकावले एन आर एनको चासो र चिन्ता ओझेलमा परेको बारे चिन्ता व्यक्त गरे। तर कसैले पनि कार्यक्रमको निर्धारित बिषयबस्तु ‘राष्ट्रिय विकासमा प्रवासी नेपालीको भुमिका’ मा बोलेको सुनिएन।


    तर बीचबीचमा कार्यक्रम संचालकले टीभीको तुक न ताकको आफ्ना अनुभव सुनाउन थाले। तिन-चार पटक यिनैले भाषण गरे। अनि बिषय बस्तुमा अध्ययन गरेर, नोट बनाएर उदहरणहरु समेटेर बोल्न माग गरेका बक्ताहरुले मौका पाएनन । त्यसैले बिस्तारै हल खाली भईसकेको थियो।

    पुर्व निर्धारित बिषय बस्तुमा कार्यक्रममा कुनै छलफल नै नगरेपछि सहभागीहरु कार्यक्रम सकिन अगाडि नै बाहिरिए। त्यसपछि कतिपय सहभागीहरुले यो गोर्खे कार्यक्रम समयको बर्बादी मात्र रहेछ भन्न थाले । यसरी सत्यनारायण मन्दिरको कार्यक्रममा नारायणकाजीले बिना कुनै उपलब्धि ४ घण्टाको समय सत्यनाश गरे। त्यसैले यस्तो गहन बिषयको छलफल कुनै समाजले नभई नेपाली समाजका बिज्ञ व्यक्तित्वहरु निम्त्याएर माओबादी पार्टिले आफ्नो पहलमा कार्यक्रम गर्नु पर्ने जिकिर गरेकाछन।

    समयलाई ठुलो महत्व दिने अमेरिका जस्तो देशमा आए पनि नेपालको गाउँले पाराले साझ ६ देखि ८ बजेसम्म कार्यक्रम गर्ने भनिएकोमा ७ बजेसम्म पनि शुरु भएको थिएन। अनि डिनर सहितको कार्यक्रम भने पनि पानी पिउने समेत चाजोपाजो थिएन। ७ बजे सम्महल अगाडिको लाईनमा २५ वटा मेचमा २० वटा खालि थिए। त्यहाँ कुनै सुचना पनि थिएन। एकदुई पत्रकार त्यहाँ बसेर समाचार सकलन गर्न खोजेका थिए। तर तिनलाई यौ विशिष्ट व्यक्तिहरुको लागि भनेर हटाईयो।

    कार्यक्रम भरि बक्ताहरुबाट सुनिएको बिषय नै एन आर एनको लफडा र दोहोरो नागरिकता मात्र थियो। अब अहिले अमेरिकाले नै दोहोर नागरिकता लिनेको अमेरिकी नागरिकता चैट पारिदिने समाचारहरु व्यापक भईसकेको छ। यसले गर्दा अब “एकपटकको नेपाली सधैको नेपाली हुन् ” नेपालको मात्र नागरिकता लिनुपर्ने देखिएको छ। यसले गर्दा एन आर एनका राजनीति पनि चैट हुने देखिएको छ। अब कि नेपाली मात्र बन। या सिर्फ अमेरिकन मात्र बन्नु पर्ने देखिएको छ।

  • रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो

    रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो

    ८ साउन, काठमाडौं । रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्। बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्। चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।


    असार २४ गते रसुवामा आएको बाढीले मितेरी पुल बगाएको थियो। उक्त पुल बगाउँदा चीनतर्फ गएका २०३ जना नेपालीहरू अलपत्र परेका थिए। त्यसदिनदेखि उनीहरूलाई चिनियाँ पक्षले खाने बस्ने व्यवस्था गरेको थियो। नेपाल फर्किएका उनीहरूलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्था स्थानीय प्रशासनले गरेको छ।

  • प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

    प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

    ८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको छ । सबै कार्यालयमा परिपत्र पुगेको बताइएको छ ।

    आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको प्रहरीको भनाई छ । केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा आइजिपी दीपक थापाले यस विषयमा सहमति जनाएका थिए । साथै आरोपित सबै व्यक्ति दोषि नहुने भएकाले समेत यसले उनीहरुको प्रतिष्ठामा असर पुग्ने गरेको छ ।

  • ‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

    ‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

    ८ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक–एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भए । त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ ।

    सङ्घ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो । यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।

  • मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

    मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

    ८ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेशमा लामो समयदेखि पानी नपर्दा खडेरीको सामना गर्नु परेको छ । जसले गर्दा धान रोपाई प्रभावित बनेको छ ।

  • संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार, नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद बैठक राप्रपा र रास्वपाले भने निरन्तर बहिष्कार गरिरहेका छन् ।

  • चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

    चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

    ८ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए ।

    सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् । वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८–२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो । मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् ।

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताए । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ । वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

    सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ ।

  • १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

    १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

    ७ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार सो कम्पनीलाई छनौट गरिएको आशयपत्रको सूचना जारी गरेको छ । अब एक साताभित्र उक्त कम्पनी उपर उजुरी नआए सोही कम्पनीले १० वटा कम्पनीको लेखापरीक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यससँगै उक्त कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो । गत वर्ष पुसमा राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक विदेशी लेखापरीक्षकलाई नेपालका वाणिज्य बैंकहरुको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यू–एलपीआर) का लागि आशयपत्र बुझाउन आहृवान गरेको थियो । यसरी आशयपत्र बुझाउने विदेशी लेखापरीक्षकमध्ये राष्ट्र बैंकले बंगलादेशको हाउलदार युनुस कम्पनीलाई छानौट गरेको थियो ।

    यो छनौटविरुद्ध आशयपत्र बुझाउने अर्को कम्पनी मेहरा जेकेएसएस एसएसबीडीआईका तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालाई विपक्षी बनाएर सर्वोच्च अन्तरिम आदेश माग गर्दै रिट दायर भएको थियो । तर, गत असार ९ गते न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलाजले अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको पनि राष्ट्र बैंकलाई प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो । यो कम्पनीले लेखापरीक्षण सुरु गरेपछि राष्ट्र बैंक तोकेको मापदण्डअनुसार छनौट भएका १० वटा ठूला वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको गुणस्तर मूल्यांकन स्वतन्त्र रूपमा हेरिनेछ । जसअनुसार कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भए–नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भएद्दनभएको, खराब कर्जाको अवस्थालगायत पक्षको लेखापरीक्षण हुनेछ । सरकारले सन् २०२१ डिसेम्बर २२ मा आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफं लिँदा १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र रुपमा लेखापरीक्षण गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको थियो ।

  • अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

    अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

    ७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताएका हुन्।

    जापानका प्रधानमन्त्री शिगेरु इशिबाले त्यस्तो सम्झौताको स्वागत गरेका छन् तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताएका छन्। जापानका मुख्य व्यापार वार्ताकार रायोसी आकाजावाले एउटा फेसबुक पोस्टमा ूमिसन पूरा भएकोू ह्यासट्यागसहित ह्वाइट हाउसको भ्रमण गरेको उल्लेख गरेका छन्। सम्झौताबारे विस्तृत जानकारीका लागि बीबीसीले वासिङ्टनस्थित जापानी दूतावाससँग सम्पर्क गरेको छ।


    ूमैले भर्खरै इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, मलाई लाग्छ जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता भएको छ, ट्रम्पले मङ्गलवार साँझ ह्वाइट हाउसमा आयोजित एउटा कार्यक्रममा भने। उनीहरूका वरिष्ठ मानिसहरू यहाँ थिए र हामीले यसबारे लामो र कठिन काम गर्‍यौँ। यो सम्झौता सबैका लागि ठूलो कुरा हो। म जहिले पनि भन्छु सहमति सबैपक्षका लागि ठूलो हुनुपर्छ। यो ठूलो सम्झौता हो, उनले थपे।

    ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार सम्झौता पनि बुधवार घोषणा हुने र चाँडै नै अन्य सम्झौता हुने बताएका छन्। बीबीसीले व्यापार सम्झौताको विस्तृत विवरणका लागि ह्वाइट हाउससँग सम्पर्क गरेको छ। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार पत्रकारहरूसँग बोल्दै भने, ,वार्ताको परिणामलाई कुन अर्थमा बुझ्ने भन्ने सन्दर्भमा वार्ता र सम्झौताको विस्तृत विवरण सावधानीपूर्वक जाँच नगरेसम्म म यस विषयमा छलफल गर्न सक्दिनँ।

    यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीहरूको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए। यो एप्रिल २ तारिखमा लिबरेसन डे भनेर ट्रम्पले देशमा हुने आयातहरूमा विभिन्न अतिरिक्त शुल्कहरू लागु गर्ने घोषणा गर्दाको समयमा जापानलाई लगाइने भनिएको २४ प्रतिशतको दरभन्दा एक अङ्कले बढी थियो।


    विश्वभरिका धेरै अमेरिकी व्यापारिक साझेदारहरूलाई अतिरिक्त कर लगाइने घोषणा गरिएको एप्रिलको ट्यारिफ योजना विश्वव्यापी बजार उथलपुथल भएपछि ९० दिनका लागि रोकिएको थियो। जसले टोकियोका व्यापार प्रतिनिधिहरूलाई वासिङ्टनमा आफ्ना समकक्षीहरूसँग वार्ता गर्न समय दिएको थियो।

    टोकियोमा जापानको बेन्चमार्क शेअर सूचकाङ्क निक्केई २२५ बुधवार बिहान २।५ प्रतिशत भन्दा बढीले बढेको थियो। प्रसारण संस्था एनएचकेले जापानी कार निर्माता कम्पनी माथिको विद्यमान कर कटौती हुने जानकारी दिएपछि टोयोटा, निसान र होन्डाजस्ता विशाल मोटर उद्योगका शेअर मूल्यले ठूलो फड्को मारेका थिए। प्रधानमन्त्री शिगेरु इशिबाले पछि देशका कार निर्माताहरूले अब अमेरिका निर्यात गर्दा २५ प्रतिशतको साटो १५ प्रतिशत तिर्नु पर्ने बताए।

    जापानको संसदको माथिल्लो सदनको चुनावमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएपछि प्रधानमन्त्री शिगेरु इशिबालाई पदबाट हट्न दबाव परिरहेका बेला यो सम्झौता भएको हो। एलडीपीले गत वर्ष नै जापानको शक्तिशाली तल्लो सदनमा आफ्नो बहुमत गुमाइसकेको थियो।

    बीबीसीबाट

  • पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

    पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।
    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् । आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस थियो ।

    नेपालको राजनीतिलाई जहानियाँ राणा शासनबाट प्रजातन्त्रतर्फ लैजाने नेतृत्व गरेका बीपी र पुष्पलालप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरे । ‘बीपी र पुष्पलालालाई स्मरण गरिरहँदा आज म मतभेद र मनभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

    यहीँनेर प्रधानमन्त्री ओलीले पुष्पलालको प्राण त्यागको विषय स्मरण गरेका हुन् । ‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन,’ प्रधानमन्त्री ओलीले भने । ओलीकाअनुसार पुष्पलालले देखेको तानाशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत् २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो ।

    नेपाली कांग्रेसले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने पुष्पलालको सोच पटक पटक नेपालको राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको र सफलता समेत प्राप्त भएको बताए । २०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गरे झैं हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्‍को पुनर्स्थापना २०६३ सालमा भएको बताए । जसले नेपालको राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाइ शाताब्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्‍यो ।

    हन्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने आनिवानी अनुरूप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले अगाडि भनेका छन्, ‘आज काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यहीँ एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।’

  • प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

    प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

    ७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा उनले त्यसतर्फ लक्षित गर्दै सिंगौरी खेल्न आफूले छुट दिएको जिकिर गरे ।

    ‘अहिले पनि केही साथीहरू ल त भनेर अलि अलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन् । उहाँहरूलाई मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु’ प्रचण्डले भने, ‘जति सिंगौरी खेल्न मन लाग्छ खेल्नुस् भनेर दिएको छु । अस्ति डेढ महिना परामर्श भनेर देशभर लिएरै हिंडे, योभन्दा बढी गर्ने के हो जनवाद ?’
    साथै, उनले आफ्नो कमजोरी भन्ने नै फरक मत राख्नेहरूप्रति उदार हुनु रहेको बताए ।

    ‘कतिपय साथीहरूले भन्नुहुन्छ, म अलिकति बढी विचारलाई असहिष्णु भएँ कि १ मेरो कमजोरी भिन्न मतलाई दमन गर्ने होइन । भिन्न मतप्रति अलि बढी उदार हुने मेरो कमजोरी हो,’ उनले भने । यी विषयमा पार्टीभित्र आफ्नो बढी आलोचना हुने गरेको पनि स्वीकार गरे । ‘मेरो पार्टीभित्र अलि बढी आलोचना हुने गरेको छ। मैले कसैलाई कारबाही गरिनँ, कमरेड किरण, बाबुराम, बादल, अरु अरु थुप्रै थुप्रै’ प्रचण्डले भने, ‘कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिं छैन । तर, कतिपय साथीहरूलाई लाग्छ, ननिकालेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि के लाग्छ भन्ने छ । तर, त्यो पनि सत्य होइन ।’

  • अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

    अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

    ७ साउन, अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले आफूले तयार गरेका व्यक्तिहरुलाई अमेरिका जान बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै खातामा रकम जम्मा गर्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका मध्ये घिमिरेले यसअघि पनि यस्तै गरी ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार १८ वैशाख २०८२ मा पनि यसैगरी ६१ लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

  • काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

    काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

    ७ साउन, काठमाडौं । माल्दिभ्समा भएरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कांस्य जितेको छ । मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

    लिग चरणमका हेल्प नेपाल तेस्रो र पोर्ट अथुरिटी चौथो नै भएको थियो । यही दुई टोलीबीच तेस्रो स्थानको लागि खेल भएको छ । ६ टोली सहभागि प्रतियोगितामा हेल्प नेपाल र कीर्गिस्तानको बिस्केक–किर्गिस्तानले समान ११ अंक जोडेपनि अंक रेसियोमा झिनो अन्तरले पछि परेपछि हेल्प नेपाल तेस्रो हुँदा फाइनल पुग्न असफल भएको थियो ।

  • यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

    यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

    ७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बिहान सातै प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको साढेपानीमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ।

    त्यस्तै टीकापुरमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ। बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। राति सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

    चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

    ७ साउन, काठमाडौं । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत बिन्दुले वृद्धि भएको हो ।

    प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरू जस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ । सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे ।

    यी समूहहरूमा इन्टरनेट पहुँच क्रमश स् ५२ प्रतिशत र ६९ दशमलव दुई प्रतिशत पुगेको छ । यसैबिच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरू बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ ।

  • पाथिभरामा बनाइयो घण्टी गेट

    पाथिभरामा बनाइयो घण्टी गेट

    ७ साउन, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ ।

    यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुराना त्रिशूलहरुको पनि व्यवस्थापन गर्नका लागि घण्टी र त्रिशूल पार्क निर्माण गरेको हाङ्बाङले बताए ।
    घण्टी गेटका लागि १० लाख, मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म घण्टी झुन्ड्याउन १० लाख र घण्टी त्रिशूल पार्कका लागि १० लाख गरी जम्मा ३० लाख रुपियाँको लागतमा उक्त कार्य सम्पन्न भएको छ । यस अघि मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी लिलामीमा राख्ने कुराले निक्कै चर्चा पाउनुका साथै चौतर्फी आलोचना भएको थियो । त्यसपछि अहिले भक्तजनहरूले चढाएको पुराना घण्टी र त्रिशूलको व्यवस्थापनका लागि घण्टी गेटसँगै पार्क निर्माण गरिएको हो ।

  • नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

    नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

    ७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।

    उक्त राष्ट्रिय रणनीति निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थसचिव घनश्याम उपाध्याय, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्‍व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले रणनीति सार्वजनिकमा सहभागी थिए ।

    एडीबीले नेपालमा पहिलो पटक विश्‍व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेम वर्क तयार गरेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने दाबी गरिएको छ । एडीबीसँगको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको अर्थमन्त्री पौडेलले बताए । १६औं योजनासँग तादात्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उनले सुनाए ।

    राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गरेको कोस्वाले जनाए । ‘हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंसा गर्छौं,’ उनले भने, ‘नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आबद्ध गरिएका लगानी परियोजना नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालासँग काम गर्न एडीबी तयार छ ।’

    रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीले जनाएको छ 
    एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।

  • संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    ७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

    एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

    ७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए ।

    दुई दिनसम्म चलेको चलेको केन्द्रीय कमिटी बैठकको समापनमा मध्यराती बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए । उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए । उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएको नेताहरुको भनाई छ । यससँगै एमालेमा फर्किएर सक्रिय राजनीति गर्ने विद्यादेवी भण्डारीको चाहना पुरा नहुने भएको छ ।

  • क्यान र कुवेत क्रिकेटबिच सम्झौता

    क्यान र कुवेत क्रिकेटबिच सम्झौता

    ७ साउन, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ । क्यानअनुसार दुई देशबिच प्रत्येक वर्ष होम एन्ड अवेका आधारमा कम्तीमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेल खेलिने गरि सम्झौता भएको छ । सम्झौता दुई देशचि क्रिकेटमा रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रमा एसोसिएट राष्ट्रबिचको प्रतिस्पर्धालाई बढावा दिन एक महत्वपूर्ण कदम भएको क्यानले उल्लेख गरेको छ । यस सहमति सन् २०२६ देखि लागु हुने बताइएको छ ।

    नेपालले हालै आइसीसी टी–२० विश्वकप २०२४ मा विश्व मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गरेको र कुवेतले यस वर्षको अन्त्यमा आइसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेको छ । यस्तो अवस्थामा दुई देशबिचको सम्झौता सकारात्मक पहल भएको पनि क्यानले जनाएको छ । यसले उदीयमान खेलाडीहरूको लागि प्रतिस्पर्धात्मक वातावारण बनाउन सहयोग पुग्ने क्यानले जनाएको छ । नेपाल र कुवेत दुवै आइसीसी टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटको एउटै समूहमा रहेका छन् ।

  • क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस

    क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस

    ७ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द विष्टले बिपीको योगदानबारेमा चर्चा गरे । उनले नेपालको राजनीति बिपी पथमा चल्दा जनताको अभीष्ट छिट्टै पूरा हुने बताए ।

    आजभन्दा ५० वर्षअघि बिपीले विश्वभर छरिएर रहेका नेपालीलाई एकता सूत्रमा बाँध्ने उद्देश्यका साथ भारतमा पहिलो पटक जनसम्पर्क समितिको स्थापना गरेको विष्टले स्मरण गरे । उनले भने, ‘‘बिपीमा मेलमिलापको सिद्धान्त थियो। उहाँको त्यही भावनाले विश्वभरका नेपालीलाई एकताबद्ध गर्न जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको थियो । हाल विश्वका ३८ देशमा कांग्रेसको जनसम्पर्क समिति छ। अमेरिकाका ३७ राज्यमा च्याप्टर छ र यसले बिपीको उद्देश्य अनुरुप काम गरिरहेको छ ।’’

    नेपाललाई र नेपालीलाई कुनै गाह्रोसाह्रो पर्दा विश्वका विभिन्न देशका जनसम्पर्क समितिहरूले सहयोग गर्दै आएको चर्चा गर्दै उनले आपसी एकता र मुलुकको हितका लागि बिपीले देखाएको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा आर्टिसिया सिटी, लस एन्जल्सका मेयर अली सज्जाद, त्रिविका पूर्व उपकुलपति डा. तीर्थराज खनिया, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, एनफा अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेता सुदेश भट्टलगायतको उपस्थिति थियो। यस्तै प्रमुख अतिथि विष्टले च्याप्टर सभापति पाठक, नेता नबीन पोखरेल, कार्यक्रम संयोजक राजेश निरौलालगायतले लस एन्जल्समा वर्सेनि यस्ता कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गरे ।

  • फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

    फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

    ६ साउन, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो।

    उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि फूलचोकी क्षेत्रमा गएको बताए । उनका अनुसार खोज्नेक्रममा रातको १२ बजे विद्यार्थीलाई फेला पार्न सफल भएको जानकारी दिए । विद्यार्थीलाई जंगलबाट सहज सम्पर्कमा ल्याउन बिहान ५ बजेको उनको भनाइ छ। जंगलमा गुगल म्यापले काम नगरेको र बाटोको जानकारी नभएकोले उद्धारमा ढिलाइ भएको बताए ।

  • हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

    हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

    ६ साउन, काठमाडौं । ‘हनी ट्र्‌याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् । नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् । उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी० मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार चन्दले ०८१ भदौमा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।

    त्यसपछि उनीहरूबीच सहमतिमै सम्बन्ध कायम भएको थियो । तर, पछि चन्दले सोही सम्बन्धलाई हतियारबनाउँदै ती पुरुषलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै त्रास देखाउन थालिन् । त्यसपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही पश्चात् कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो ।

    यसरी त्रास देखाएर विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

    नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

    ६ साउन, काठमाडौं । नेटवर्किङ बिजनेसको आडमा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

    बेरोजगार युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कम्पनीको कार्यालय स्थापना गरी बेरोजगार युवाहरुलाई सीप सिकाएर राम्रो तलब सुविधासहित रोजगारी दिलाउने भन्दै ठगी धन्दा चलाएका थिए ।

    कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको प्रहरीको भनाइ छ । ‎सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो ।‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो । यी दुइ कम्पनीले विभिन्न प्रलोभन देखाएर पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    सोही क्रममा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक सायल गाउँपालिका–२ डोटीका २६ वर्षीय नरेश बोहरा, कम्पनीका व्यवस्थापक दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी तथा कर्मचारीहरू अछामका कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रवीन्द्र शाहीलाई पक्राउ गरेको हो ।

    अन्य कर्मचारीहरू दोधाराचाँदनी नगरपालिका–२ कञ्चनपुरकी २२ वर्षीया मनीषा सिंह, बेल्डाकी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, सिगास गाउँपालिका–६ बैतडीकी २२ वर्षीया सुनिता साउँद र बडिकेदार गाउँपालिका–४ डोटीकी २२ वर्षीया कमला चिमालालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

    रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

    ६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आग्रह गरेका छन् । मंगलबार दिउँसो सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् ।

    छलफलमा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए । सभामुखको सचिवालयकाअनुसार घिमिरेले भनेका छन्, ‘भिजिट भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन, सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ ।’ संसद्‌मा जारी रहेको अवरोधले आफूलाई अप्ठ्यारो महसुस गराएको सभामुख घिमिरेको भनाइ छ । ‘सभामुखकारुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु, मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ’, घिमिरेले भने ।

    सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको उल्लेख गर्दै घिमिरेले थपेका छन्, ‘तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ ।’ संसद्‌‌ चलाउने वातावरण बनाउन सभामुख घिमिरेले सरकार र विपक्षी दलहरू दुवैलाई आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘ तपाईंहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन, तर संसदीय गतिविधि प्रभावित भएको छ ।’

    छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर काम सुरू गरेको बताए । यो काम प्रमुख विपक्षी दलको सहमतिमा भएको उल्लेख गर्दै अगाडि थपेका छन्, ‘सरकार विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन, रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिरहेको छ ।’ चौरसियाले एउटा सहमतिको बिन्दुमा पुग्न रास्वपा र राप्रपालाई लचिलो हुन आग्रह गरे । यसमा सरकारले आवश्यक गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

    रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरेको भनेर धन्यवाद दिए । तर, आफूहरूले उठाएका मुद्दा धेरै गम्भीर रहेको भन्दै उनले भने, ‘यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ ।’ राप्रपा उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणमा आफूहरूले मुद्दा उठान गरिसकेका बताए । ‘तर, विपक्षी दल बिना सहमतिमा फर्कन सक्ने अवस्थामा छैनौं, सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ, बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्‌लाई जानकारी दिएको छैन’, उनले भने ।