Category: फिचर

  • गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

    गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

    ६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा ज्यान लिने कार्य भैरहेको भन्दै त्यस्को निन्दा गरिएको छ।

    गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले सप्ताहान्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरेली गोली लागेर १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र अन्य १९ जनाको कुपोषणका कारण मृत्यु भएको जनाएको छ। इजरेलको विदेश मन्त्रालयले ती देशहरूका वक्तव्यलाई अस्वीकार गरेको छ र त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको छ। उक्त मन्त्रालयले सशस्त्र समूहहरूमाथि नयाँ युद्ध विराम र बन्धक रिहा गर्ने सम्झौतामा सहमत हुनुको सट्टा झूट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ।


    गाजामा विगत २१ महिनादेखि हमाससँगको युद्धको क्रममा इजरेलले अपनाइरहेको रणनीतिको निन्दा गर्दै थुप्रै अन्तर्राष्ट्रिय वक्तव्यहरू आएका छन्। तर यसपटकको सामूहिक घोषणा यसको स्पष्टताको लागि उल्लेखनीय देखिन्छ। यूकेसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटली, जापान, न्यूजिल्यान्ड र स्वीट्जरल्यान्डलगायत २७ देशका विदेश मन्त्रीहरू यो वक्तव्यका हस्ताक्षरकर्ता रहेका छन्। उक्त वक्तव्यको पाठ गाजामा जारी युद्ध अब अन्त्य हुनैपर्छ भन्ने घोषणाका साथ सुरु हुन्छ।

    त्यसपछि उक्त वक्तव्यमा चेतावनी दिइएको छ, गाजाका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको छ। इजरेली सरकारको सहायता वितरण गर्ने तरिका खतरनाक छ त्यसले अस्थिरतालाई बढावा दिन्छ र गाजाका मानिसहरूलाई उनीहरूको मानवीय आत्मसम्मानबाट वञ्चित गर्छ।’ ‘थोपा थोपा गरेर सहायता प्रदान गर्ने अनि पानी र खानेकुराजस्ता अति आधारभूत आवश्यकता पूरा गर्न खोजिरहेका बालबालिकासहित सर्वसाधारणको अमानवीय रूपमा ज्यान लिइएको कुराको हामी निन्दा गर्छौँ। ८०० भन्दा धेरै प्यालेस्टिनीहरू सहायताको खोजीमा रहेका बेला मारिनु भनेको निकै भयानक कुरा हो।’

    यूकेका विदेश मन्त्री डेभिड ल्यामीले पछि हाउस अफ कमन्समा बोल्दै गाजामा भयानक घटनाहरूको थुप्रो नै लागिरहेको र त्यस्ता घटनामा विवश, भोका बालबालिकाहरूको ज्यान लिने गरी हमलाहरू भैरहेका बताए। यो वर्ष गाजाका लागि थप ४० मिलियन पाउन्ड मानवीय सहायता घोषणा गर्दै ल्यामीले आफू ूइजरेलको सुरक्षा र यसको अस्तित्वको अधिकारको दृढ समर्थक रहेको तर त्यहाँको सरकारको कामलेूविश्वमा इजरेलको प्रतिष्ठामा अव्यक्त क्षति पुर्‍याइरहेको र इजरेलको दीर्घकालीन सुरक्षालाई कमजोर पारिरहेको बताए।

    इजरेलले गाजामा सहायता वितरणमा लागु गरेको ११ साताको पूर्ण प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएपछि र अमेरिकासँग मिलेर गाजा ह्युमेनिटेरिअन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित नयाँ सहायता प्रणाली स्थापना गरेपछि मे महिनायता खानेकुराको पर्खाइमा रहेका प्यालेस्टिनीहरू मारिएको विवरणहरू लगभग दैनिक जसो आइरहेका छन्। तर संयुक्त राष्ट्रसङ्घ र उसका साझेदारहरूले त्यस्तो प्रणाली असुरक्षित रहेको र त्यसबाट निष्पक्षता, तटस्थता र स्वतन्त्रताको मानवीय सिद्धान्तको उल्लङ्घन हुने भन्दै सहयोग गर्न अस्वीकार गरेका छन्।

    गत मङ्गलवार संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जीएचएफको सहायता वितरण स्थल वरपर ८ साताअघिदेखि ६७४ जनाको ज्यान गएको जनाएको थियो। त्यस्तै संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता सामग्री बोकेका गाडीका लस्कर चल्ने बाटोमा अन्य २०१ जनाको ज्यान गएको विवरण उनी उक्त कार्यालयले दिएको छ। आइतवार उत्तरी गाजाको एउटा नाकानजिकै संयुक्त राष्ट्रसङ्घको सहायता बोकेका गाडीहरू जाँदै गर्दा त्यसतर्फ मानिसहरूको भीड अघि बढ्दा ६७ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेली सेनाले तत्कालको खतरा हटाउन भीडमाथि चेतावनी स्वरूप गोली चलाएको बताएको छ।

    यी घटनाहरूपछि विश्व खाद्य कार्यक्रमले गाजाको भोकमरीको सङ्कट निराशाको नयाँ स्तरमा पुगेको चेतावनी दिएको थियो। मानवीय सहायताको अभावमा मानिसहरूको ज्यान गइरहेको छ। कुपोषणका कारण ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको खाँचो परेको छ, संयुक्त राष्ट्रसङ्घको सो निकायले भनेको छ।


    २७ देशले जारी गरेको वक्तव्यमा गाजाको पूरै २१ लाख जनसङ्ख्यालाई दक्षिणी रफाह क्षेत्रमा तथाकथित मानवीय सहर मा सार्ने भन्ने इजरेली प्रस्ताव अस्वीकार्य रहेको उल्लेख गर्दै मानिसहरूलाई स्थायी रूपमा बलपूर्वक विस्थापन गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हुने भनिएको छ। उनीहरूले इजरेल, हमास र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल, बिना सर्त र स्थायी युद्ध विरामको माध्यमबाट यो डरलाग्दो द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन्।

    उनीहरूले चेतावनी दिँदै आफूहरू तत्काल युद्धविराम र सुरक्षा तथा शान्तितर्फको राजनीतिक मार्गको समर्थन गर्नका लागि थप कदम चाल्न तयार रहेको बताएका छन्। त्यस्तो सन्देशलाई धेरैले प्यालेस्टाइन राज्यलाई मान्यता दिन सकिने सङ्केतका रूपमा अर्थ्याएका छन्। थुप्रै देशले त्यस्तो कदम चालेका छन् तर युके अनि फ्रान्स लगायतका अन्य देशहरूले त्यसो गरेका छैनन्।

    इजरेलको विदेश मन्त्रालयका प्रवक्ता ओरन मार्मर्स्टीनले त्यस्तो आलोचनाको खण्डन गरेका छन्। सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासको नेतृत्वमा इजरेलको दक्षिणी क्षेत्रमा भएको हमलायता गाजामा कम्तीमा ५९,०२९ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
    बीबीसीबाट

  • बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

    बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

    ६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुने मानिसको सङ्ख्या पुष्टि गरेका हुन्।


    अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना हुँदा उक्त विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको त्यहाँका एक विद्यार्थीले बीबीसी बाङ्ग्लालाई बताएका छन्।
    हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको ठानिन्छ। विद्यालयको ढोकाबाहिर धेरै अभिभावकहरू उभिएका थिए, विद्यार्थीहरू पनि बाहिर निस्किँदै थिए । सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले बताए। घाइतेहरूलाई भेट्न उनी अस्पताल गएका थिए।

    वायुसेनाले एक विज्ञप्तिमार्फत दुर्घटनामा परेको एफ ७ जेटले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी सामना गरेको बताएको छ। ज्यान गुमाउनेमा विमानका पाइलट समेत रहेको वायुसेनाले जनाएको छ। अधिकारीहरूका अनुसार विमानका पाइलटले मानिसहरूको घनत्व कम भएको ठाउँमा विमान लैजान खोजे पनि समयमै त्यसो गर्न सकेनन्।

  • चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

    चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

    ६ साउन, काठमाडौं । जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका(११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका १ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सोमबार राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • आज ४३औं बीपी स्मृति दिवस मनाइँदै

    आज ४३औं बीपी स्मृति दिवस मनाइँदै

    ६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

    नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

    वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् ।

    जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।

    विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

    विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

    प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो ।

    बीपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ ।

    सङ्ग्रहालयमा बीपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

    यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।

  • शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    ६ साउन, काठमाडौं । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर कारोबारीलाई पक्राउ गरेको छ ।

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न लगाई सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा आज पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनका अनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

  • भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

    भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

    ६ साउन, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

    भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए ।
    भवनको काम हेर्दै आउनुभएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए ।उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ ।

    बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए । सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

  • करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

    करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

    ६ साउन, किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

  • चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

    चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

    ६ साउन, चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।

    गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए । उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।

    कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उजले जानकारी दिए । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७३० जना छन् । जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।

  • लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

    लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

    ६ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०–८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
    गत आर्थिक वर्ष २०८१–८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ ।

    अघिल्लो आव २०८०–८१ मा भने एक हजार १२० सवारी दुर्घटनामा एक हजार ६९३ जना घाइते भएका थिए । अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

    लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट रु १७ करोड ८३ लाख ८३ हजार ४११ जरिवाना सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१\८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    सवारी नियम उल्लघनवापत सङ्कलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०–८१ को भन्दा रु ४१ लाख ४५ हजार ९१६ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेबाट रु १७ करोड ४२ लाख ३७ हजार ५०३ जरिवाना सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को तुलनामा आव २०८१र८२ मा जरिवाना रकम बढी सङ्कलन भए पनि सवारी नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षमा भन्दा कमी देखिएको छ । ६३ हजार १६ ले कमी हो ।

    आर्थिक वर्ष २०८०–८१ मा दुई लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने आर्थिक वर्ष २०८१–८२ कारबाहीमा पर्ने सवारीको सङ्ख्या एक लाख ७० हजार ८० रहेको प्रहरी उपरीक्षक शर्माले बताए । प्रहरी उपरीक्षक शर्माका अनुसार सवारीसाधनको कारबाही सङ्ख्यामा कमी देखिए पनि जरिवाना दस्तुर वृद्धि भएको छ । यसबाट सबैभन्दा बढी रूपन्देहीमा ५० हजार ४४१ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड आठ लाख ४९ हजार १२ जरिवाना सङ्कलन भएको छ ।

    रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत रु एक करोड १८ लाख ८७ हजार तीन र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमार्फत रु चार करोड ८९ लाख ६२ हजार नौ जरिवाना सङ्कलन भएको हो । यस्तै बाँकेमा ३७ हजार ४३५ वटा सवारीसाधनबाट रु तीन करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट रु दुई करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट रु एक करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा आठ हजार ३०० सवारीसाधनबाट रु एक करोड छ लाख नौ हजार जरिवाना सङ्कलन भएको छ ।

  • तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

    तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

    ५ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।

  • अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    ५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

    जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे । त्यस्तै दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।

    सोअवसरमा रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रशारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । त्यस्तै रसुवा जिल्लामा केही समयअघि बाढीले पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।


    अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनःनिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनःनिर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । “आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनःनिर्माणलाई छिटो अघि बढाउँछौँ”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।

  • जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

    जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

    ५ साउन, महेन्द्रनगर । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

    कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्ला माथिबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारका क्रममा विमलेशको अस्पतालमा मृत्यु भएको थियो ।

    घटनाको अनुसन्धानका क्रममा विमलेशको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि झा गेष्टहाउसबाट भागेको सिसिटिभी क्यामेरामा कैद भएको थियो । मृतक विमलेश र पक्राउ परेकी युवती झा गेष्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    ५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ । आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।

    थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ ।

  • पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

    पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

    ५ साउन, भरतपुर । नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो । उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए ।

    पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पु¥याएको थियो । मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

  • पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

    पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

    ५ साउन, पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताएका छन् । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पुस्तकालय स्थापना र सहयोगी दाताहरुलाई सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरुको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै आमजनमानसमा बुझाउन पुस्तकालयको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे ।


    “मैले त तल्लो तलामै राखौँ भनेको हो, माथि राख्नुभयो, तर पनि राम्रो छ, धेरै बहुमूल्य किताब छन्, उसै त कांग्रेसीहरु पढ्दैपढ्दैनन् भन्ने छ, यहाँबाट साथीहरूले आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श राम्रो छ भन्ने थाहा पाउँछन्, व्यापक बुझाउनु छ, मिडियालगायतका सम्पूर्ण साथीहरूमा बुझाउन सकियो भने सबैभन्दा पुरानो पार्टीले बहुमत ल्याउन सक्छ, सिद्धान्त र आदर्श धेरै महत्त्वपूर्ण र राम्रो छ,” उनले भने ।


    सभापति देउवाले पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने धारणा राखे । उपसभापति धनराज गुरुङले अध्ययनले ज्ञानको अभिवृद्धि हुने भएकाले अध्ययन बिना द्वन्द्व, झगडा र विनाशको शृङ्खला बढ्ने बताए । उनले अध्ययनको कमीले गर्दा नेपाली राजनीतिमा ज्ञानको शृङ्खला घट्दै गएको र कांग्रेसले पुस्तकालय निर्माण गरेर यसलाई चिर्ने प्रयास गरेको बताए ।


    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय पार्टी विभागको काम गर्ने तरिका बदलिएको बताए । पार्टीका विभाग सक्रिय भएका छन्, पार्टीको केन्द्रीय कार्यालय परिसर ज्ञानको मन्थनको केन्द्र हुनुपर्छ, ज्ञानको उत्पादनलाई परिणामसँग कसरी जोड्ने भनेर ध्यान दिएका छौँ, पुस्तकमाथि छलफल गर्ने हामीमाथिको प्रश्न र चुनौतीलाई चिर्न सक्नुपर्नेछ, पुराना कुरा इतिहासको संरक्षण गर्दै नयाँ समाजका नयाँ कुरालाई सिक्न र ग्रहण गर्न तत्पर छौँ”, उनले भने ।


    उनले आकर्षक पुस्तकालय निर्माण गर्न रु ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउने व्यक्ति सम्पर्कमा नआएकाले यसका बाबजुद पनि रु एक करोडको कोष जम्मा भएको बताए । उनले पार्टीको स्रोत र साहित्य सिर्जनाका कुराहरुमा काम गर्ने समेत विभागको काम रहेको भएकाले पार्टीमा योगदान गर्नेहरूको ग्रन्थ समेत प्रकाशन गर्ने सोच रहेको बताए ।


    पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पुस्तकालयलाई व्यवस्थित बनाउँदै पार्टीको विचार, आस्था र सिद्धान्तलाई परिस्कृत बनाउँदै नेपालको विभिन्न आन्दोलनमा नेपाली कांग्रेसले पु¥याएको योगदान हरेक नेपालीसम्म पु¥याउँदै सकारात्मक सन्देश दिन ध्यान दिनुपर्नेमा जोड दिइन् ।

    पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नेपाली कांग्रेसले सबैलाई आफ्नो विचारमा सशक्त बनाउन पुस्तकालय तथा स्रोत केन्द्रमार्फत प्रभावकारी भूमिका खेल्न सक्ने बताए । पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले प्रबुद्ध व्यक्तिहरुलाई पार्टी कार्यालयमा बोलाएर बहसको शृङ्खला चलाएर गतिशील बनाइरहेको बताउँदै संस्थागत कोष अभिवृद्धिमा जोड दिए ।

  • एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

    एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

    ५ साउन, काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राखे । प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।

    अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

    बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो । बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ । बैठक भोलि पुनः ११ बजे बस्ने जनाइएको छ ।

  • एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन

    एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन

    ५ साउन, गोरखा । गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए । आव २०८०–८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । उनले भने, ‘‘पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।’’ गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

    सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । उनका अनुसार सङ्ग्रहालयका खुला गरिएदेखि हालसम्मको तथ्याङ्कमा यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । विसं २०६५ मा सङ्ग्रहालय सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको थियो ।

    सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् । करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ । सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् ।

  • कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    ५ साउन, काँक्रेविहार । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।


    सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ । यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२–८३ मा उक्त शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

  • खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    ५ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज राति अनुगमनमा निस्किएका छन् । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।


    बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमिं, २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए ।
    उनले भने, “मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”

    पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेष्ट)को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेष्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डिएमए एच–२’, ‘आई– ३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार पानी वितरण पश्चात उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।

  • रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    ५ साउन, काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

    नेपाल इन्स्योरेन्स कम्पनीमा रु एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा रु ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा रु ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी युनाइटेड अजोडमा रु ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

    रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

  • राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    ५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
    लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमता वृद्धि हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

    केन्द्रीय बैंकको मार्गदर्शनलाई आधार मानेर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ । यस्तो नीति सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था गर्नुपर्नेछ । त्यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनुपर्ने र अप्रत्यासित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि उक्त कोषको रकम प्रयोग गर्न सकिनेछ । कोषबाट भएको खर्चको विवरण केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्नेछ ।

    मार्गदर्शन अनुसार, भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ । लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको बर्षको वित्तीय विवरणका आाधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ । नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, कर्जासँग स्म्बन्धित शर्तहरुले लाभांश वितरणमा बन्देज नगरेको अवस्था हुनुपर्ने जनाइएको छ ।

  • राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध : सेवाग्राही समस्यामा

    राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध : सेवाग्राही समस्यामा

    ५ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।
    राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले दावि गरे ।

    उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर÷जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् ।

    विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाईनमार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराएको छ । अफलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाईन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँको दावि छ ।

  • साउने सोमबारमा पशुपतिमा भीड, चारै ढोका खुला गरियो

    साउने सोमबारमा पशुपतिमा भीड, चारै ढोका खुला गरियो

    ५ साउन, काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताए । साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

    साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।

  • इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    एजेन्सी
    ५ साउन, काठमाडौं । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्। विशेषगरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठह¥याइएको छ। शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।

    तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, “नागरिकहरूले पानीको मागको दबाब कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।” इरानका अधिकारीहरूले हालैका दिनहरूमा यस्तै अपील जारी गर्दै धेरै प्रान्तका बासिन्दाहरूलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।

    तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ। तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ। अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिबारको समाचारमा जनाएको छ।

  • मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    ४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।” पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।

  • धरहरा चढ्ने दोब्बरले बढे

    धरहरा चढ्ने दोब्बरले बढे

    ४ साउन, काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । यही साउन १ गतेदेखि बिहान ८ः०० देखि बेलुकी ८ः०० बजेसम्म धरहरा खुल्ला गरिएको छ । समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । “बिहान ८ः०० देखि बेलुकी ७ः०० बजेसम्म टिकट खुल्छ । समय थप हुँदा निकै राम्रो भएको छ । यहाँ आउनेहरू विगतमा निकै बढेका छन्”, उनले भने ।


    त्यसअघि दैनिक बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो । त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन् । साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए । उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ । विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ ।

  • नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री

    नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री

    ५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गरेका हुन् ।

    “गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई ” प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन् । सिङ्गापुरमा आज भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

  • प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी

    प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी

    ४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उनको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ–आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए । भ्रमणको मिति भने मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने उनले बताए । स्रोतहरुका अनुसार उनी भदौ अन्तिम साता भारत जानेछन् ।

  • नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    ४ साउन, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए ।

    उनका अनुसार घाइते तीनै जनाको अवस्था खतरामुक्त छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आज दिउँसो ढुङ्गा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

  • पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    ४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।
    आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन समूह एक दशमलव २४, जीवन बीमा एक दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बीमा एक दशमलव ३७ र अन्य समूह तीन दशमलव ३६ प्रतिशतले बढेको छ ।

    उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९८ करोड ५५ लाख ५२ हजार ९८९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएको छ ।