Category: फिचर

  • एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा

    एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा

    ३ साउन, काठमाडौं । गत एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए ।


    उनले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उनका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उनले जानकारी दिए । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् ।

    वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए । उनले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिए ।

    अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उनले बताए । उनले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिए ।

    यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

  • ‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी

    ‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी

    एजेन्सी
    ३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको तर फोटो नछापिएको जनाएको छ ।

    ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “मैले रुपर्ट मर्डोकलाई यो अफबाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ ।
    “तर उहाँले छाप्नुभयो, अब म उहाँको काम र उहाँको ‘न्यून दर्जा’कोे पत्रिकाविरूद्ध मुद्दा दायर गर्छु ।” यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए ।

    रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भनेका छन् । पोस्टमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्यूजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नुहुनेछ । प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नु हुँदैन ।” ट्रम्पले एपस्टीनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए ।

    उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दाबी गरेको छ । संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्यूयोर्कको जेलमा एपस्टाइनले आत्महत्या गरेका थिए । वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उनी फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो ।

    बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टाइन प्रकरणमा ‘ग्रान्ड जुरी’को बयानको प्रतिलिपि जारी गर्न आग्रह गरेका थिए । जर्नलले रिपोर्ट गरेको छ, “ट्रम्पले आफुले लेखेको अस्वीकार गरेको उक्त कथित पत्र सङ्ग्रहका अन्य पत्रहरू जस्तै डरलाग्दो छ । यसमा टाइप गरिएको पाठका थुप्रै पङ्क्तिहरू छन्, जसमा मार्करले कोरिएको नाङ्गो स्त्रीको रूपरेखा समावेश गरिएको छ ।”

    “भावी राष्ट्रपतिको हस्ताक्षर कम्मरमुनि कोरिएको ‘डोनाल्ड’ हो, जसले यौनाङ्ग वरिपरीका केशको नक्कल गरेको छ,” जर्नलमा लेखिएको छ । “पत्रको अन्तमा भनिएको छ, “जन्मदिनको शुभकामना र हरेक दिन अर्को अद्भुत रहस्य हुन सकोस्।” ट्रम्पले पत्र लेखेको वा आकृति कोरेको अस्वीकार गर्दै जर्नलसँग भने, “यो म होइन । यो नक्कली कुरा हो।” उनले भने, “म महिलाको चित्र कोर्दिनँ । यो मेरो भाषा र शब्द पनि होइन।”

    न्यूजकर्पको ग्लोबल मिडिया कम्पनीलाई नियन्त्रण गर्ने मर्डोक फिफा क्लब विश्वकप फाइनलका लागि आइतबार न्यूयोर्क शहरबाहिर मेटलाइफ स्टेडियममा ट्रम्पसँगै थिए । मोर्डकको पत्रिकामा जनवरीमा ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग पहिलो पटक टिभी अन्तर्वार्ता दिने कन्जरभेटिभ अमेरिकीहरूको लोकप्रिय टिभी न्युज च्यानल फक्स न्यूजको पनि स्वामित्व छ ।

    राष्ट्रपति ट्रम्पले वर्षौंदेखि फक्स र यसका प्रस्तोताहरूको नियमित प्रशंसा गर्दै आएका छन् । केहीलाई आफ्नो प्रशासनमा नियुक्त पनि गरेका छन् ।
    ट्रम्पसमर्थित अति दक्षिणपन्थी शुभेच्छुकले लामो समयदेखि एपस्टिन काण्डमा केन्द्रित भएको पाइन्छ । उनले ‘गोप्य ग्राहक सूची’को अस्तित्व रहेको दाबी गर्दै आएका थिए । तर उनको हत्या उनको जेलको एक कोठामा घटनालाई ढाकछोप गर्ने उद्देश्यले भएको दावी गरिएको छ ।

    ट्रम्पका समर्थकहरूले जनवरीमा ट्रम्पको राष्ट्रपति कार्यालय फर्किएपछि रिपब्लिकनले आफ्ना प्रश्नहरूको जवाफ दिने अपेक्षा गरेका थिए तर अहिले उनीहरूले नै षडयन्त्रका सिद्धान्तहरू झूटा भएको बताउन थालेका छन् । न्याय विभाग र एफबीआईले यसै महिना सार्वजनिक गरेको मेमोमा एपस्टिनले ‘ग्राहक सूची’ राखेको वा शक्तिशाली व्यक्तिलाई ब्ल्याकमेल गरेको कुनै प्रमाण नभएको बताएको छ ।

    उनीहरूले एपस्टिनको जेलमा हत्या भएको भन्ने दाबीलाई पनि अस्वीकार गर्दै उनले आत्महत्या गरेको दावी गरेका छन् र उनीहरूले अनुसन्धानको बारेमा थप जानकारी जारी नगर्ने बताएका छन् । यदि ग्रान्ड जुरीको सुनुवाई वा प्रमाणहरू जारी गरियो भने यो परिवर्तन गरी सार्वजनिक हुनसक्ने आशङ्क ट्रम्पका आलोचकहरूले व्यक्त बताएका छन् ।

    ट्रम्पका एक प्रमुख आलोचककी छोरी एपस्टिनको मुद्दा हेर्ने संघीय अभियोजकलाई अचानक बर्खास्त गरिएको अमेरिकी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । एफबीआईका पूर्व निर्देशक जेम्स कोमीका पिता माउरिन कोमीलाई म्यानहट्टनमा सहायक अमेरिकी अटर्नीको पदबाट बर्खास्त गरिएको छ । कोमीले एपस्टिनका एक मात्र पूर्व सहयोगी गिस्लेन म्याक्सवेललाई पनि मुद्दा चलाएका थिए । म्याक्सवेलले सन् २००३ मा एपस्टिनलाई लेखिएका पत्रको पुस्तक तयार पारेका थिए ।
    उपराष्ट्रपति जेडी भान्सले एक्समा लेखेका छन्, “डब्लूएसजेले यसलाई प्रकाशित गरेकोमा लज्जित हुनुपर्छ । यो पत्र कहाँ छ ? के तपाईंले यो पुस्तक प्रकाशित गर्नुअघि हामीलाई कहिल्यै नदेखाइएको कुरा थाह पाउँदा छक्क पर्नुहुनेछ ?” यसैबीच डेमोक्र्याटिक सांसद प्याट रायनले लेखेका छन्, “मलाई लाग्छ, डोनाल्ड ट्रम्पले एपस्टिनका फाइलहरू सार्वजनिक गर्न किन इन्कार गरे भन्ने कुरा अहिले हामीलाई थाहा भएको छ ।”

  • नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

    नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

    ३ साउन, काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ । यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानको अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो ।

    शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन् । त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् । अन्य खेलाडीले नेपालमै नियमित प्रशिक्षण गर्ने जनाइएको छ ।

  • सगरमाथा आरोहणको वैकल्पिक मार्ग खोजिँदै

    सगरमाथा आरोहणको वैकल्पिक मार्ग खोजिँदै

    २ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मन्त्रालयमा आज मन्त्री पाण्डेको उपस्थितमा भएको उक्त छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीहरूका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको हो ।

    मन्त्री पाण्डेले बैठकमा बोल्दै भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । हरेक वर्ष यहाँ हजारौँ विदेशी र नेपाली आरोहीको चाप रहन्छ । उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नैपर्छ ।” बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली आरोही स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

    बटार्ड र शेर्पा सन् २०१८ देखि नै नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् । २०८१ सालमा पनि उहाँहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहणमार्फत नयाँ सम्भावनाहरूको अध्ययन गरेका थिए ।

  • लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री

    लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री

    काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरूको अन्तरराष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने बताए ।

    “हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तरराष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधानार्थ लाग्नेछौँ । गरिबीको अन्त्यविना मानवअधिकार स्थापना हुन सक्दैन । त्यसका लागि सीमान्तकृत समुुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ ।’’ उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरूलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाए ।

  • मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

    मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

    २ साउन, मुस्ताङ । यहाँको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ ।

    प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चाँैरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिए ।


    हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पु(याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चाँैरी छन् । यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन् । यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ । रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ । हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ ।

    बर्खायाममा उच्चलेकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ । याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन् ।

    यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरु आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताए । मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ । मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामुहिक गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए । यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ ।

    “यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ—आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौँ,” अध्यक्ष गौचनले भने, “करिव तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ ।” मार्चे लेक पुग्न बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन् ।

  • गगन भन्छन् : सङ्घीयता कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्छ

    गगन भन्छन् : सङ्घीयता कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्छ

    २ साउन, पाटन । कांग्रेस महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री थापाले सङ्घीयता कार्यान्वयनका उपलब्धि र कमीकमजोरीका विषयमा सबै गम्भीर भएर समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीय सरकारले प्रभावकारी काम गर्न नक्दा प्रदेश सरकारहरू सङ्घको प्रतिलिपि जस्तो मात्रै भएका भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।


    “प्रदेश सरकारले नयाँ र सृजनात्मक कार्यमा जोड दिनुपर्छ । सङ्घ र प्रदेशको संसद्लाई अहिलेको भन्दा बढी समावेशी बनाउनुपर्छ, निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ । यो बहसमा कांग्रेसले नेतृत्व गर्नुपर्छ । हाम्रो काम जिम्मेवारी लिने हो, यसका लागि आदिवासी जनजाति महासङ्घको महत्त्वपूर्ण भूमिका हुन्छ”, उनले भने ।


    नेपाल जस्तो विविधतायुक्त देशमा समुदाय, समूहको अधिकारका विषयमा अन्तरिम संविधान बनेको र त्यसको मर्म अनुसार विसं २०७२ को संविधान बनेको भन्दै महामन्त्री थापाले संविधानले सबैको अपनत्वको कल्पना गरेकाले यसका लागि सबैको पहलकदमी आवश्यक रहेको धारणा राखे ।

    “काँग्रेसले खुट्टा कमाउने हो भने आदिवासी जनजातिका मुद्दा सङ्कटमा पर्छन्, अब इतिहासको मात्रै कुरा गरेर पनि हुँदैन, इतिहासको चर्चा गर्दै प्रेरणा लिएर अगाडि बढ्नुपर्छ”, उनले भने, उनले जलवायु परिवर्तनको असरबाट आदिवासी जनजाति समुदाय सबैभन्दा बढी पीडित भएका भन्दै नेपालको जलवायु परिवर्तनको असरका विषयमा जनजाति समुदायले आफ्नो मुद्दा बनाएर उठाउनुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले समयमा महाधिवेशन सम्पन्न गरेर पार्टी नेतृत्वलाई भरोसा दिँदै अरु भातृसंस्थाको व्यवस्थापनका सन्दर्भमा मार्गसहित विश्वास दिलाएको उल्लेख गरे ।


    नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले समग्र मुलुक, नेपाल र नेपालीका लागि सङ्घर्ष गरेको आदिवासी जनजाति समुदायले आफ्नै अधिकारका लागि लड्नुपर्नेमा जोड दिए । उनले संविधानसभाबाट बनाइएको संविधानसँग हरेक जातजातिको जीवन जोडिएको बताउँदै मुलुक र संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र नेपाललाई स्थिरताको दिशामा लैजानुपर्ने धारणा राखे ।

  • अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइदै

    अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइदै

    २ साउन, काठमाडौं । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । मानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर सङ्घर्ष गरेका थिए ।


    यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, सङ्घर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रुपान्तरण गर्न सक्छ भन्ने देखाएको बताए । नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न विश्ववासीलाई महासचिव गुटरेसले आह्वान गरेका छन् ।

  • राहुघाटको म्याद तेस्रोपटक थपियो

    राहुघाटको म्याद तेस्रोपटक थपियो

    २ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी०ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

    हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो । कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।

    बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

    यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

  • कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    २ साउन, काठमाडौं । कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।

    साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा भव्य रूपमा मनाइने पर्व हो । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा आफ्ना सम्मुखका छिमेकीहरूलाई असभ्य शब्दले गाली गरेर मनाइने अनौठो पर्वलाई पछिल्लो समयमा केही हदसम्म सभ्य ढङ्गले मनाउन थालिएको छ ।

    पाँच वर्षयता यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा समेत राँको बाल्ने, साथीसङ्गी मिलेर देउडा खेल्ने, सुखदुःख साटासाट गर्ने र सेवाभावका काम गरेर सम्पन्न गरिँदै आएको छ । बिहीबार जुम्ली एकता सेवा समाजको सहकार्यमा सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, शिक्षाप्रेमी, बुद्धिजीवी र स्थानीय नागरिकको सहभागिता तथा प्रहरी प्रशासनको समन्वयमा साउने सङ्क्रान्ति सम्पन्न गरिएको छ ।

    सामाजिक बेथिति, विकृति र भ्रष्ट कार्य निराकरणको प्रेरकका रूपमा लिइने यस पर्वले सामाजिक सद्भाव, आपसी मेलमिलाप तथा भाइचारा सम्बन्ध कायम गर्दै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार यो साउने सङ्क्रान्ति पर्व नेपालभरि नै मनाइन्छ । यसमा कण्डारकको लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमुलो, जडीबुटी, फलफूल र गेडागुडी आदि मिसाएर एउटा उल्का (राँको) बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन रहिआएको छ ।

    आचार्यका अनुसार जुम्लामा यस दिन जुम्लामा धेरै उज्यालो हुन्छ । सर्वत्र हरेक घरमा १२–१५ वटा राँका बालिन्छन् । सारा गाउँ उज्यालो हुन्छ, वारिपारि सब देखिन्छ । यसरी राँको बाल्ने र फाल्ने चलन छ । एउटा वल्लो गाउँकाले पल्लो गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्, “ए फलाना गाउँका, लुतो लैजा, पाब्डो (सडेको चिज) लैजा, हिलाउने, चिलाउने बिझाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउती सब लैजा’ भनेर भन्ने, पुकार्ने चलन छ ।” यो एउटा आपसी मनोविनोद, हाँसोठट्टा र खेलठट्टाको कुरा पनि हो ।

    सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र यहाँको मौलिक पर्व साउने सङ्क्रान्तिबीच अन्तरसम्बन्ध रहेकाले एकसाथ मनाइएको बताउनुभयो । जुम्ला एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले मौलिक संस्कृति र परम्पराको संरक्षणले हरेक भेग, क्षेत्र र समुदायको पहिचान कायम भइरहने बताए ।

    देउडा गायिका सुनसरा शाहीले देउडा सुखदुःखका व्यथा ओकल्ने मात्र नभई समाजमा भएका बेथिति, विकृति, विसङ्गति र अनियमितताको आवाज भएको बताइन् । सबै खाले कुराको सङ्गम र मूल स्रोत देउडा भएकाले यसको संरक्षण तथा विकासका लागि राज्यले उच्च प्राथमिकता राखेर काम गर्नुपर्ने उनले सुनाइन् । करिब पाँच हजार सर्वसाधारण सम्मिलित रहेको सुर्खेतमा मौलिक देउडा र सांस्कृतिक पर्व साउने सङ्क्रान्ति देउडा खेल्दै लुतो फालेर सम्पन्न गरिएको छ ।

  • बामदेव गौतमको पार्टी राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    बामदेव गौतमको पार्टी राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    २ साउन, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्षनेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो ।

    नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।
    नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ । एकतासभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको हो ।

    उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।

  • कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुन सक्ने

    कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुन सक्ने

    २ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२\८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् ।

    कामपा शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा कामपामा स्थायी बसोबास भएको प्रमाण संग्लग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।

    शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान सङ्कायमा ११ हजार ५९०, व्यवस्थापन सङ्कायमा चार हजार १६४, मानविकी सङ्कायमा ३२, शिक्षा सङ्कायका लागि ९५ र कानुन सङ्कायका लागि दुई सय ५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकेको कामपाले जनाएको छ ।

    छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः०० देखि १०ः०० बजेसम्म हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०\३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।

    परीक्षाको नतिजा प्रकाशनपश्चात मेरिट सूचीका आधारमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको कामपाको भनाइ छ ।

    कामपाले उक्त कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन विद्यार्थीको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको छ । कामपाले अनिवार्य रूपमा कार्यन्वयनमा ल्याएको उक्त व्यवस्थाले विद्यार्थीलाई शिक्षा प्राप्त गर्न ठूलो सहयोग पुगेको विश्वास लिएको छ ।

  • नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    २ साउन, काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।
    प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए ।


    प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।

    यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

  • गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    २ साउन, काठमाडौं ।अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१–८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०\८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१\८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०\८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । यसअघि आव २०७७\७८ मा सबैभन्दा धेरै ९अर्थात् रु १४ खर्ब ५४ अर्ब ४४ करोड०को कारोबार भएको थियो ।

    त्यसैगरी वर्ष २०८१ को असार मसान्तमा रु ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१\८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । सो आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।

    त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१\८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    २ साउन, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

    “करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ”, लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने । जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ ।

    उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर रु ९०० देखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु ४० करोड लगानी भएको छ । यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए ।

  • मध्यराती सकियो एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

    मध्यराती सकियो एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

    २ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


    उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ ।

    पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्को सङ्गठित सदस्य भएको बताए । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।

  • बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

    बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

    एजेन्सी
    २ साउन, लण्डन । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो बेलायतमा यो सरकारको पालामा भएका थुप्रै योजनाबद्ध परिवर्तनहरूमध्ये एक हो । यद्यपि, आलोचकहरूले यो निर्णयलाई सङ्केत गर्दै बेलायतको लोकतन्त्र ‘सङ्कटमा’ रहेको तर्क गरेका छन् ।

    मतदानको उमेर परिवर्तन विवादास्पद छ । तथापि, आलोचकहरूले नयाँ–मताधिकार प्राप्त किशोरहरूले लेबर पार्टीलार्ई समर्थन गर्ने सम्भावना बढी हुने बताएका छन् । प्रधानमन्त्री केइर स्टार्मरले भने, “उनीहरू काम गर्न बाहिर जानको लागि योग्य छन् कर तिर्न योग्य छन् त्यसैले उनीहरूले कर भुक्तान गर्छन् । मलाई लाग्छ, १६÷१७ वर्षका किशोरकिशोरीले मतदान गर्न पाउनु स्वभाविक हुन्छ। “

    स्टार्मरले भने, “मेरो विचारमा यदि कसैले कर तिर्छ भने उसले आफ्नो पैसा केमा खर्च गर्न चाहन्छ र सरकार कुन दिशामा जानुपर्छ भन्ने कुरा बताउने अवसर पाउनुपर्छ।” यो घोषणा कार्यान्वयनमा लानका लागि सरकारले संसद्बाट कानुनी प्रावधान ल्याउनुपर्छ । अहिलेको सरकारसँग कानुन परिवर्तनका लागिसहज बहुमत छ । अनलाइन तथ्याङ्कका अनुसार विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोरकिशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन्।

    यसपहिले इयू सदस्य राष्ट्रअष्ट्रियाले सन् २००७ मा मतदानको उमेर १६ वर्ष बनाएको थियो । यो १६ बर्षमा मताधिकार दिने इयूको पहिलो राष्ट्र हो । यसबाहेक अर्जेन्टिना, ब्राजिल, इक्वेडर र क्युबाले पनि यो अभ्यास गर्दै आएका छन् । स्कटल्यान्ड र वेल्समा क्षेत्रीय संसद्को निर्वाचनका लागि विद्यमान मतदान उमेरसँग आम निर्वाचनलाई जोड दिँदै लेबर मन्त्रीहरूले यो परिवर्तन ‘बेलायतको लोकतन्त्रको आधुनिकीकरण’ गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

    यसपहिले अष्ट्रेलिया र क्यानाडामा प्रयोग भइरहेको स्वचालित मतदाता दर्ता लागू गर्ने प्रावधान सरकारले अघि सारेका अन्य योजनाबद्ध परिवर्तनहरू हुन् । बेलायतद्वारा जारी गरिएको बैंक कार्डहरू मतदान केन्द्रहरूमा आईडीको एक स्वीकृत फारम बनाउने पनि सरकारले नयाँ योजनामा ल्याएको छ । पूर्ववर्ती कन्जरभेटिभ सरकारले ल्याएको चुनावी कानुनमा गरिएको परिवर्तनपछि मतदाताले फोटो आइडी देखाउनुपर्ने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार गत वर्षको निर्वाचनमा करिब सात लाख ५० हजार मतदाताले मतदान गरेका थिएनन् ।

    इन्स्टिच्युट फर पब्लिक पोलिसी रिसर्च थिङ्क ट्याङ्कका कार्यकारी निर्देशक ह्यारी क्विल्टर–पिनरले सन् १९६९ पछिको बेलायतको निर्वाचन प्रणालीमा भएको यो सबैभन्दा ठूलो सुधार भएको बताए । उनले मतदानको उमेर घटाउने र स्वचालित मतदाता दर्ता लागू गर्दा मतदाता नामावलीमा ९५ लाखभन्दा बढी व्यक्ति थपिने बताए । “हाम्रो लोकतन्त्र सङ्कटमा छ, र हामी यस्तो बिन्दुमा पुग्ने खतरा छ जहाँ राजनीतिले आफ्नो वैधता गुमाउँछ,“ उनले परिवर्तनको समर्थन गर्दै भने ।

    प्रमुख कन्जरभेटिभ विपक्षीले लेबर पार्टीले १६ र १७ वर्षका युवाले अझै पनि चुनावी उम्मेदवारका रूपमा उभिन, चिट्ठाको टिकट वा रक्सी किन्न वा विवाह गर्न नसक्ने दावी गरेको छ । “यो लेबर पार्टीको निर्लज्ज प्रयास हो, जसको अलोकप्रियताले उनीहरूलाई परामर्श बिना नै ठूलो संवैधानिक परिवर्तन गर्न तर्साइरहेको छ,” पार्टीका समुदायका प्रवक्ता पल होम्सले भने ।

  • बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

    बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

    एजेन्सी
    २ साउन, ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ । पूर्व प्रधानमन्त्री हसीनाको गृहनगर गोपालगञ्जमा उनको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को ¥यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।

    झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू थुप्रिएका देखिन्थ्यो । कफ्र्यू लागू गर्न जिल्लामा एक हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ । “गोपालगञ्जमा कानूनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,” प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको गृहनगर गोपालगञ्ज हो भने मा उनकी छोरी हसिनाले पनि यस जिल्लाबाट चुनाव लड्नुभएको थियो ।

    गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताएका छन् । विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो । “तीमध्ये तीनजनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा चोट लागेको छ,” उनले भने ।


    १८ वर्षीय मिस्त्री रामजन शेखको गोली लागेर मृत्यु भएको उनको परिवारका सदस्यले एएफपीलाई बताए । रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, “तिनीहरूले उनको छातीमा कुल्चेका थिए। जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ ।” एएफपीले उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन । बङ्गलादेशी सेनाले ‘अनियन्त्रित भीड’लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ ।

    “तर, सुरषाकर्मीको हस्तषेपपछि भीड थप आक्रामक भयो, डुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ । नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले भने, “रहमानप्रति कुनै पनि अनादर स्वीकार्ने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।”

    “सरकारको संरक्षणमा नेताहरूले मुजिबुर रहमानविरुद्ध लगातार मानहानि गरिरहेका छन् । उनी कुनै पनि अनादर स्वीकारिने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।” मानव अधिकारवादी संस्था ऐन ओ सलिश केन्द्रले गोपालगञ्जका जनतामाथि अत्यधिक बल प्रयोग गर्नु र उनीहरूमाथि गोली चलाउनु मानव अधिकारको मापदण्ड र संविधानको ठाडो उल्लङ्घन भएको बताएको छ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले एनसीपीको ¥यालीलाई असफल पार्ने प्रयास ‘उनीहरूद्वारा भएको जनताको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन’ भएको बताए ।

  • काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    २ साउन, काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।

    डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेङ्गीको जोखिम झन बढ्ने महानगरले जनाएको छ ।

    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्र्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् । डेङ्गी रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

    डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षण रहेको भुषालले जानकारी दिए । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने छ ।

    डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिनसक्ने सामान जस्तै बोतल, टायर, प्लाष्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेट राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन महानगरको आग्रह छ ।

  • धरहरा अब १२ घण्टा खुला

    धरहरा अब १२ घण्टा खुला

    २ साउन, काठमाडौं । धरहरा १२ घण्टा खुल्न थालेको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने गरी तोकिएको छ । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे ।

    यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएकोमा बिहीबारदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए । “अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ”, प्रवक्ता नारायण भने । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ ।

    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट रु चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ । इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।

  • आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ, १ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ । आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो । आज तीन सय ११ कम्पनीको तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर एक लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ दशमलव १७ को कारोबार भएको छ । आज दुई सय ४० कम्पनीको शेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छभने कारोबार रकम पनि बढेको छ ।

    आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी ‘अन्य’ समूह पाँच दशमलव शून्य नौ प्रतिशतले बढेको छ । लगानी समूह तीन दशमलव १७ प्रतिशत, जीवन बिमा तीन दशमलव १४ प्रतिशत, हाइड्रोपावर तीन दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ ।

    बैंकिङ एक दशमलव ७६, विकास बैंक एक दशमलव ९५, फाइनान्स दुई दशमलव ८०, होटल तथा पर्यटन दुई दशमलव ६०, उत्पादन तथा प्रशोधन दुई दशमलव ९४, माइक्रोफाइनान्स दुई दशमलव ५०, निर्जीवन बिमा दुई दशमलव १८ र व्यापार एक दशमलव ७६ प्रतिशतले बढेका छन् । आज ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआबिएल स्टेबल फण्डको शेयर शुल्य सबैभन्दा बढी सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

  • रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

    रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

    १ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ । रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो । र्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए ।


    “रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो”, उनले भने, “पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरुले रुचाएको र क्षमतावान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौ ।” पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधै हाबी हुने स्पष्ट पारे । रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउदै आएको छ । सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ ।

    “लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अङ्कभार निर्धारण गरिएको छ”, प्रवक्ता झाले भने, पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।

  • वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    १ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगमले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ख्णको किस्तावापत कूल रु ५३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

    निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले उल्लेख गरेको छ । जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्म रु सात अर्ब ९२ करोड १४ लाख ६३ हजार किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

  • एमाले सचिवालय बैठक ७ घण्टादेखि जारी

    एमाले सचिवालय बैठक ७ घण्टादेखि जारी

    १ साउन, काठमाडौं । नेकपा ९एमाले० को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो पौने दुई बजेदेखि बैठक सुरु भएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा दोस्रो विधान महाधिवेशनको तयारीको सन्र्दभमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनबारे सचिवालयका सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

    विधान महाधिवेशनका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि सचिवालयका सवै सदस्यले आ–आफ्नो धारणा राखिरहेका छन् ।


    सचिव योगेश भट्टराईका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले सम्मानजनक रुपमा व्यवस्थापन गर्ने जानकारी दिए । शुक्रबार पार्टीको पोलिटव्युरो बैठक बस्ने भएकाले विधान महाधिवेशनको तयारीका सन्र्दभका छलफल भइरहेको उनले बताए । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ । एमालेले महाधिवेशनका लागि तयारी गर्न यही साउन २ गते पोलिटब्युरो तथा साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठक डाकेको छ ।

  • महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    १ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७–० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ ।

    श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे । खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् । त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् ।

    मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५० गोलको अग्रता दिलाइन् । खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन् । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दैै ७–० गोलअन्तरले विजयी दिलाइन् । नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।

  • जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए सजाय भोग्न तयार छुः मन्त्री अधिकारी

    जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए सजाय भोग्न तयार छुः मन्त्री अधिकारी

    १ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन् । वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गरे ।
    भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे ।


    आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पु¥याउने काम भएकामा खेद व्यक्त गरे ।

    विवादित उक्त ‘अडियो रेकर्ड’ र जग्गा प्रकरणका सन्दर्भमा सत्यतथ्य समाचार बाहिर ल्याउन आमसञ्चरकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले भने, “चरित्र हत्या गर्ने उद्देश्यका साथ अडियो रेकर्ड सार्वजनिक भएको छ । आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् । जिम्मेवार आमसञ्चारमाध्यमले पनि विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनुपर्‍यो । त्यसमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।”

  • बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, पुग्यो १९,५५०

    बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, पुग्यो १९,५५०

    १ साउन, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको जानकारी गराएको छ अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो । सरकार, रोजगारदाता र श्रमिकका संगठनहरूको समेत प्रतिनिधित्व रहने समितिले दिएको सिफारिसका आधारमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक तोकेको हो । श्रम ऐन अनुसार हरेक दुई–दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्छ ।


    नयाँ व्यवस्था अनुसार अब आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ हुनेछ । जसमा महँगी भत्ता ७ हजार ३ सय ८० हुनेछ । कुल जोड्दा १९ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक हुनेछ । अब दैनिक ७ सय ५४ रुपैयाँ ज्याला हुनेछ । प्रतिघण्टा १ सय १ रुपैयाँ ज्याला पाइने छ । आंशिक काम गर्नेका हकमा प्रतिघण्टा १ सय ७ रुपैयाँ ज्याला पुगेको छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार ३ सय थियो । श्रमिकको दैनिक पारिश्रमिक ६ सय ६८ थियो ।

    आंशिक समयमात्र काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा थियो । सरकारले बढेको न्यूनतम पारिश्रमिकलाई सोही अनुपातमा तोकेको छ । पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य दिनुपर्छ । स्थानीय तहमा समेत सरकारले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक तोक्नुपर्छ । यो रकमभन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न पाइँदैन ।

  • हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

    हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

    एजेन्सी
    १ साउन, काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो । एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८।१ प्रतिशत बजार हिस्सा लिएको छ । यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो । साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।

    यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ । एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, “चीन–अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ ।” उनले भने, “मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।” यता, हुवावे र अमेरिका बीच लामो समयदेखि विवाद चलिरहेको छ ।
    अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ । सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ। पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३।९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो । एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।

  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

    धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

    १ साउन, रामपुर । र्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।


    “यस मार्गमा ढुङ्गा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पु¥याउनेछ”, नगर प्रमुख थापाले भने । यस मार्गमा आव ०८१–०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । वडा नं ३ स्थित केलादीमा ५५७ मिटर, ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १९५ मिटर इन्टरलक, ८ स्थित भुजात क्षेत्रमा ६७८ मिटर ढुङ्गा छाप्ने र २१० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा ११४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इन्टरलक राख्ने र ढुङ्गा छाप्ने काम भएको छ ।

    यसैगरी, वडा भानघाट र तातोपानीघाटमा प्रतीक्षालय निर्माण गरिएको छ । यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो । धार्मिक महत्वको कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

  • जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक

    जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक

    एजेन्सी
    १ साउन, टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ । “यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो”, जापान राष्ट्रिय पर्यटन सङ्गठन (जेएनटिओ) ले एक विज्ञप्तिमा भनेको छ ।

    ‘स्कूलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो सङ्ख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको सङ्गठनले बताएको छ ।
    चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो सङ्ख्या बढेको हो । तर हङकङका यात्रुहरूको सङ्ख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटिओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ ।

    सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए । भूकम्प कहिले आउनेछ भनेर ठ्याक्कै थाहा पाउन असम्भव भए पनि चिनियाँ सहरका बासिन्दाहरूमा डर पैदा गर्ने भविष्यवाणीहरू व्यापक रूपमा फैलिएको छ । केही पोस्टहरूले जापानी मङ्गा कमिकलाई उद्धृत गरेका छन् । लेखकको सपनामा आधारित उक्त कमिकले सन् २०२५ जुलाईमा ठूलो प्राकृतिक प्रकोपको भविष्यवाणी गर्दछ ।

    जापानी अधिकारीहरूले बारम्बार अफवाहहरू झुटो भएको बताएका छन् । सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या दोब्बर गरेर वार्षिक छ करोड पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । अधिकारीहरूले उनीहरू पर्यटकहरूलाई देशभर समान रूपमा फैलाउन चाहेको र वसन्तको चेरी फूल वा शरदको चम्किलो रङहरूको तस्बिर खिच्न उत्सुक पर्यटकहरूको अवरोधबाट बच्न चाहेको बताएका छन् । तर इटालीको भेनिस जस्ता अन्य विश्वव्यापी पर्यटक आकर्षणमा जस्तै पुरानो राजधानी क्योटो जस्ता गन्तव्यहरूमा बासिन्दाहरूबाट बढ्दो प्रतिरोध आएको छ ।