Category: फिचर

  • मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    ३१ असार, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग मोही तल्सिङको मुद्दा मिलाउन भन्दै कार्यालय परिसरमै घुस लिएको रकम रु २४ लाख ५० हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको हो । उदयपुरका घर भएका कार्यालय प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले आज छापा मारेको अख्तियारले जानकारी दिएको छ ।

  • भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    ३१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    ३१ असार, काठमाडौं । घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।

    उनले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

    केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् । उनी नेकपा एमालेबाट पर्सा ३ बाट प्रतिनिसभामा निर्वाचित हुन् ।

  • पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    ३१ असार, अर्घाखाँची । यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताए । ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।

  • डिजेल र पेट्रोलको मूल्य घट्यो

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    ३१ असार, काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    ३१ असार, काठमाडौं । काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमयरूपमा मृत भेटिएका हुन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ ।

    डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ । मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    रासस
    ३१ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उनले भने, “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”

    उनका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उनले भने ।


    अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको सङ्ख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउँछन् । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउँछन् ।


    उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए ।


    “रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ”, उनले भने, “तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

    निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ । निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् ।

    निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् ।

  • कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

    कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

    ३१ असार, घोडाघोडी । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको हो । प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेको छ ।

    विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए । मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए । घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् । यसलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरुमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए ।
    “सुरुमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परिरहेका छन् । कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । “अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्”, उनले भने । डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गर्दछन् ।

    भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । “तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्”, उनले भने । यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन आउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने श्रेष्ठको भनाइ छ । “प्लानिभेष्टा ग्यागेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने, घडियाल र डल्फिनसँगै यहाँ मगर गोहीले पनि बच्चा हुकाइरहेका छन् ।

  • सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    ३१ असार, अमरगढी । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

    यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए ।
    उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो । एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

    “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

    युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । रासस

  • को-कसले पाए चलचित्र पुरस्कार ?

    को-कसले पाए चलचित्र पुरस्कार ?

    ३१ असार, काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । यहाँ आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरे । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने गरिएको बताए ।


    उनले भने, “हामीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न विशेष समारोहको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेका छौँ । म अध्यक्षको पदभार ग्रहण गरेदेखि चलचित्र ऐन, स्टुडियो निर्माण तथा बक्सअफिसको पूर्ण कार्यान्वयन गर्ने लक्ष्यलाई पूरा गरेको छु । यो वर्ष क्षमता तथा दक्षता अभिवृद्धिका लागि हामीले काम गर्दैछौँ ।” उक्त समारोहमा ‘विशेष योगदान सम्मान’अन्तर्गत मरणोपरान्त प्रकाश व्यवस्थापक (लाइट म्यान) स्वर्गीय श्रवण मास्केलाई नगद राशि रु ५० हजारसहित सम्मान गरिएको छ । उनका भाइ सञ्जिव मास्केले उक्त सम्मान ग्रहण गरे ।
    अन्य कलाकारकर्मी अभिनेता निखिल उप्रेती, सुरक्षा पन्त, उत्तम केसी, प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरूङ, नाट्यकर्मी अनुप बराल, निर्देशक पर्शुराम चौधरी, प्रदर्शक नकिम उद्दीनलाई पनि ‘विशेष योगदान सम्मान’ मार्फत सम्मानित गरियो । स्वर्गीय माक्सेबाहेक अन्य सम्मानितलाई नगद पुरस्कार भने थिएन ।

    यस्तै, गत वर्ष विसं २०८१ मा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई नगद राशि रु २५ हजारसहित चलचित्र पुरस्कार प्रदान गरिएको छ । उक्त समारोहमा उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (पुजार सार्की), उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान (पीताम्बर), उत्कृष्ट लेखक दिपकराज गिरी (छक्का पञ्जा–५), उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र ‘गालय् वन’ (नेवारी भाषा) लाई प्रदान गर्नुका साथै निर्णायक समितिमार्फत प्रदान गरिने ‘प्रोत्साहन पुरस्कार’ अभिनेता प्रदीप खड्का (पुजार सार्की) लाई प्रदान गरियो ।


    उक्त समारोहमा ‘विशेष चलचित्र पुरस्कार’ लिम्बू भाषाको चलचित्र ‘याक्कथुङ’ र मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई प्रदान गरियो । उक्त दुई चलचित्रले जनही नगद राशि रु दुई लाख प्राप्त गर्नेछन् । चलचित्र पुरस्कारको निर्णायक समितिका संयोजक कलाकार रमेश बुढाथोकी र सदस्यहरू रङ्ग संयोजक करुण थापा, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक सुचित्रा श्रेष्ठ र दीपेन्द्रकुमार खनाल रहेका छन् ।

  • कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    ३१ असार, कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो । “छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ । तीन दिनअघि कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

  • धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    ३१ असार, धरान । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

    उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।


    “रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने । कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।


    उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।
    रासस

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ३१ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    ३१ असार, काभ्रे । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

    सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

  • सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

    सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

    ३१ असार, काठमाडौं । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ । मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ । हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।

    झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा ‘मोर्टार’ प्रहार भएको र दर्जनौँ मानिस घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ । स्वेइदाको सडक सुनसान छन्, पसल बन्द छन् र अन्त्येष्टि समारोहको बीचमै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    ५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भने, “हामी अत्यधिक त्रासमा थियौं । गोला बारुद अनियमित रूपमा खसिरहेका थिए ।” इजरायली सेनाले घटनालाई मध्यनजर गर्दै स्वेइदामा केही ट्याङ्कहरूमा आक्रमण गरेको दाबी गरेको छ, तर विस्तृत विवरण दिएको छैन । यहीबीच, सिरियाली सरकारका रक्षा र गृहमन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।


    स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रण गर्न दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल–हिज्रीले सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै ‘अन्तर्राष्ट्रिय संरक्षण’ को माग गरे । देशमा १४ वर्ष लामो युद्धपछि बनेको अन्तरिम सरकार नेतृत्वकर्ता अहमद अल–शराअका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ ।

    शिक्षा मन्त्रालयले सोमबार स्वेइदा प्रान्तमा हुने भनिएका माध्यमिक तहका परीक्षा स्थगित गरेको छ । सिरियाको नागरिक युद्धअगाडि करिब सात लाख ड्रुज समुदाय रहेको अनुमान गरिएको थियो, जसको मुख्य बसोबास स्वेइदा प्रान्तमै छ । ड्रुज र बेदुइन समुदायबीचको पुरानै द्वन्द्वले यदाकदा हिंसात्मक रूप लिँदै आएको छ ।

  • शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

    शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

    ३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, विहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए ।

    उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरे । “कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस् ।”

  • मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

    मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

    ३० असार, दमौली । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ ।

    उनले भने, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।” पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो । विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

    प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

    ३० असार, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल गरेको हो ।

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ३० असार, देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

  • एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

    एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

    ३० असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव १३, होटल तथा पर्यटन शून्य दशमलव २५, लगानी एक दशमलव २५, जीवन बीमा एक दशमलव ३६ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

    त्यस्तै, लघुवित्त एक दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव १७, निर्जीवन बीमा एक दशमलव ०५, व्यापार शून्य दशमलव ६४ र अन्य समूह एक दशमलव २४ प्रतिशतले घटेको छ । माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै पाँच दशमलव ९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेको छ ।

  • घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    ३० असार, काठमाडौं । सोमबार अबेर मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भए । मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो अलिे सार्वजनिक भएको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् । उनै मन्त्री गुप्तालाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेको भन्दै आलोचना भइरहेको छ ।

  • संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

    संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

    ३० असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुन्दर र उन्नत बनाएर जनताका सपना पूरा गर्नका लागि संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरु समग्र राजनीतिक परिवर्तन र उपलब्धिको संस्थापन पक्ष भएको हैसियतले संविधान संशोधनबारे सदनमा स्पष्ट धारणा राख्न चाहेको बताए ।

    “हामी १० वर्ष संविधान कार्यान्वयनमा जाऔं, त्यसपछि यसको गम्भीर समीक्षा गरेर संशोधन गरौँ भन्दै आएका हौँ, यद्यपि संविधान अझै पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन,” अध्यक्ष दाहालले भने, “संविधान कार्यान्वयनका लागि अति आवश्यक ऐनहरू बन्न सकेका छैनन् । तरपनि नेपाली जनताको अपेक्षाअनुरूप जसरी शासन प्रणाली सञ्चालन हुनुपर्ने हो, जनतामा व्यवस्थाप्रति जसरी भरोसा बढ्नुपर्ने हो, त्यसको गम्भीर समीक्षा भने गर्नैपर्ने अवस्था आइलागेको छ ।” उनले यो असन्तुष्टि निर्वाचन प्रणाली, शासकीय संरचना, कार्यशैली र प्रणालीकै कारण त बढेको होइन भन्ने प्रश्न पनि गर्नुभयो ।

    संविधान संशोधनले नेपाली जनताका अधिकार अझै संस्थागत गर्नुपर्नेमा जोड दिँदै उनले उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल तथा समुदायको पहिचान र अधिकार संरक्षणका लागि हुनुपर्ने बताए । उनले भने, “संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी, संविधानको अग्रगामी संशोधन गर्ने, शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, सिमाङ्कन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय सङ्घीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने दुईतिहाई बहुमत जुटाउने काम म प्रतिबद्धता जनाउँछु ।”

    आफूहरूले तुलनात्मरूपमा अहिलेको उत्कृष्ट संविधानमा समेत फरक मत राखेर आएको स्मरण गर्दै टालटुले र कर्मकाण्डी सुधारबाट नेपाली समाजको रुपान्तरण नहुने अध्यक्ष दाहालले बताए । उनले भने, “म प्रतिपक्षी दलको नेताका हैसियतले फेरि जोड दिएर के भन्न चाहन्छु भने लाखौं जनताले यसै गणतन्त्रलाई सुन्दर र उन्नत गणतन्त्र बनाएर आफ्ना सपना पूरा गर्न चाहेका छन् । जनता गणतन्त्रका पक्षमा, अग्रगमनका पक्षमा छन् । उनीहरु यही गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा सर्भिसिङ गर्न चाहन्छन् ।”

    दलहरूबीच थुप्रै मतभेद भए पनि शान्ति सम्झौताका सबै सहयात्री भएको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, “गणतन्त्रका हामी सहयात्री हौँ । हामीले आत्मसमीक्षा र आफूलाई सच्च्याउने कठोर सङ्कल्प नगर्ने भने अन्यथा जनताको धैर्यताको सीमा सधैं रहीराख्ने भन्ने हुन्न विष्फोट हुन्छ र सबैलाई त्यसको निम्ति सतर्क हुन अपील गर्दछु ।” उनले आजको बैठकमा सरकारलाई दर्जनौं प्रश्न राखे । पछिल्लो समय घुस काण्ड बाहिरिँदा समेत प्रधानमन्त्री नबोलेको विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाए । उनले विगतमा घुस खानेको अनुहार पनि हेर्दिन भनेर भनेको विषय स्मरण गराए ।

  • घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

    घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

    ३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापन : चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

    कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उनको जोड थियो । संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताए । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागू गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उनको धारणा छ ।

    अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले उल्लेख गरे । यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने बताए । मधेस प्रदेशमा पानी नपरेका कारण धान रोप्न नपाएको उल्लेख गर्दै महामन्त्री थापाले कलको पानी पनि सुक्दा तराईवासी समस्यामा परेको बताए । तीनै तहका सरकारले खुला ठाउँ छोड्न नचाहँदा विपद्का बेला समस्या हुने गरेकाले बेलैमा ध्यान दिन उनले सचेत गराए ।

    कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख डा डिला सङ्ग्रौला र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापाले विपद्सम्बन्धी अन्तरदेशीय सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने बताए । विपद्का बेला ६० प्रतिशत क्षति जल उत्पन्न प्रकोपका कारण हुने भएकाले बर्सातमा सचेत हुन पनि उनीहरुको आग्रह छ ।

  • नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    ३० असार, दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो । आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए ।
    हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ । मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए । उनीहरु साथीहरुसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । छ जना साथीहरु पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए । नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो ।

    साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो । स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

  • स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

    स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

    एजेन्सी
    ३० असार, काठमाडौं । एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ । मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी हो।

    मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्को लगानीको एक्स एआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजीपीटी प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपनएआईसँग प्रतिस्पर्धा गरिरहेको छ । यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआर्ईलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेकोे रिपोर्टमा उल्लेख छ ।

    मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कको लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ । एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलीजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लीट’ जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो सङ्केत प्रकट गरेका थिए । मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबीच थप व्यावसायिक साझेदारी हुने बताए ।

  • आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

    आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

    एजेन्सी
    ३० असार, काठमाडौं । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताएका छन् । शनिबार एक पत्रकार सम्मेलनमा नोएमले यी पाँच राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताए । तर उनीहरूको नाम भने खुलाएनन् ।

    उनले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ‘एलिगेटर अल्काट्राज’ डिटेन्सन सेन्टरको सफलतापूर्वक उद्घाटन गर्न डीएचएससँगको सहकार्यको प्रशंसा गरे ।
    फ्लोरिडा एभरग्लेड्स (.घाँसे मैदान) मा अवस्थित केवल आठ दिनमा निर्माण गरिएका डेड–कोलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्टमा ३९ वर्ग माइल (१०० वर्ग किलोमिटर) क्षेत्रमा बनेको संरचनामा बन्दीहरूको पहिलो समूहलाई जुलाईको सुरुमा त्यहाँ स्थानान्तरण गरिएको थियो ।

    यो केन्द्र हालको अमेरिकी प्रशासनको अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने तीव्र प्रयासको एक हिस्सा हो । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासन र समर्थकहरूबाट प्रशंसा प्राप्त गरेको छ, तर यसले मानव अधिकारका पक्षधरबीच स्थितिको बारेमा चिन्ताजनक रिपोर्टहरू आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

  • श्रीलङ्काले एक महिनामा भित्रायो ६३ करोड ५० लाख डलर रेमिट्यान्स

    श्रीलङ्काले एक महिनामा भित्रायो ६३ करोड ५० लाख डलर रेमिट्यान्स

    ३० असार, काठमाडौं । श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो । सन् २०२४ मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो ।

    सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा विप्रेषण तीन अर्ब ७० करोड डलरभन्दा बढी रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो । श्रीलङ्काका लागि विप्रेषण नै वैदेशिक आयको प्रमुख स्रोत हो । श्रीलङ्काबाट सन् २०१९ मा तीन लाख १२ हजार ८३६ जनाले वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।

  • यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

    यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

    ३० असार, काठमाडौं । यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चार माध्यमले जानकारी दिएको हो । यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर पोलियो खोप प्रदान गर्नेछन् ।

    अभियान १२० अत्यधिक जोखिमयुक्त जिल्लामा केन्द्रित छ ।
    सरकारको नियन्त्रणमा रहेका १२ क्षेत्रमा सञ्चालन भइरहेको अभियानको आवश्यकता बढ्दो सङ्क्रमण दरले देखाएको छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य निकायका अनुसार सन् २०२० यता यमनमा पोलियोका २८२ नयाँ सङ्क्रमण भेटिएका छन्, जसमा ९८ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । युद्धका कारण सन् २०२३ मा देशभर पोलियो खोप दिने दर ४६ प्रतिशतसम्म झरेको थियो ।

    विश्व स्वास्थ्य संगठनको यमन प्रतिनिधि फेरीमा कुलबिबाली जेर्बोले भने, “यमनमा लामो द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र खोपको न्यून पहुँचका कारण पोलियो पुनः फैलिने ठूलो जोखिममा छ । यस्तो अवस्थामा खोप अभियान अत्यावश्यक छ ।” त्यसैगरी बाल संरक्षण संस्था युनिसेफका प्रतिनिधि पिटर हकिङ्सले भने, “खोप नलगाइएका बालबालिकाका लागि पोलियो अझै गम्भीर खतरा हो। खोपमार्फत हाम्रा बालबालिकालाई सुरक्षित राख्न सकिन्छ।”

    यमन सन् २०१४ यता गृहयुद्धमा फसेको छ । विद्रोही समूहले राजधानी साना र देशको उत्तरी भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा छिमेकी मुलुकहरूको गठबन्धनले मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो । युद्धका कारण यमन हाल विश्वकै एक गम्भीर मानवीय संकटमा परेको मुलुक बनेको छ, जहाँ करोडौँ नागरिक भोक, गरिबी र सेवा सुविधाको अभावमा जीवन यापन गरिरहेका छन् ।

  • बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    ३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

    विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।

    “धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन,” उनले भने, विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

    बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।

    विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए । छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    ३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।