२८ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि नैतिक संहिता लागू गरेको छ । अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तरराष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरणका साथै व्यवहारका माध्यमबाट आमनागरिकले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तीमा शुयात्रा (ह्याब अ नाइस जर्नी) भन्ने, नेपालभित्र प्रवेश गर्नेलाई कम्तीमा नेपालमा स्वागत छ (वेलकम इन नेपाल) भन्ने तथा कम र आवश्यक प्रश्नमात्र गर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहितामा खाडी मुलुकहरूमा श्रम÷काम गर्न प्रस्थान गर्दा सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोलीवचनमा मिठासपना दिने, देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मियता प्रदान गर्नेलगायत विषयहरू उल्लेख गरिएका छन् ।
उक्त नैतिक संहिताअनुरूपको व्यवहार देखिएको\नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा कक्षमा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्नेगरी सर्वेक्षणको पनि व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सर्वेक्षणमा स्वेच्छिक रूपमा आफूले प्राप्त गरेको सेवा तथा व्यवहारका विषयमा राय व्यक्त गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको विभागले आजै सूचना जारी गरी जानकारी गराएको छ ।
२८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले हस्ताक्षर गरे ।
दुवै पार्टीका नेताले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)मा एकताबद्ध हुने सहमति गरिएको हो ।”
आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी एकताको घोषणा गर्नेगरी समझदारी भएको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनका अनुसार लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकताका लागि औपचारिक तथा अनौपचारिक छलफल गरिएको थियो ।
२७ असार, काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ । यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
२७ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेको मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । “लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ”, नीतिमा भनिएको छ ।
यस्तै, लघुवित्त कम्पनीहरूबाट वैदेशिक रोजगारीमा जाने युवालाई धितो लिई वा नलिई प्रवाह भएको रु तीन लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा रु पाँच लाख गरिनेछ । लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तका लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
काठमाडौँ, २७ असारः पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६–१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
नेपालको जितमा पूर्णिमाले चार गोल गरिन् भने सेनु परियारले दुई गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क बटुलेको छ । यता भुटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन हुन् । खेलको १८औँ मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको ४५औँ मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।
त्योसँगै नेपालले खेलको पहिलो हाफमा ३(० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औँ मिनेटमा भुटानले एक गोल फर्कायो । भुटानका लागि केल्देनले गोल गरिन् । खेलको ६३औँ मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४(० मा पुर्याइन् । खेलको ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् ।
त्यसपछि खेलको ८८औँ मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६(१ को अवस्थामा ल्याइन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथी ६–१ को जित निकाल्यो । सोही प्रतियोगिताअन्तर्गत आजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९० को फराकिलो अन्तरले हराउँदै विजयी भएको थियो ।
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्नेगरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएका छन् ।
“सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ । यसबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको छ”, मौद्रिक नीति प्रस्तुत गर्नुहुँदै गभर्नर पौडेलले भने ।
वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ ।
त्यस्तै, खुला बजार कारोबार एवम् ब्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइने नीति राष्ट्र बैङ्कले लिएको छ । आगामी आर्थिक वर्ष २०८२\८३ मा पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
यसैगरी, आगामी आर्थिक वर्षका लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ प्रतिशतसम्म रहने प्रक्षेपण मौद्रिक नीतिमार्फत गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैङ्कदरलाई ६ दशमलव पाँच प्रतिशतबाट घटाइ ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशतबाट घटाइ दुई दशमलव ७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई पाँच प्रतिशतबाट घटाइ साढे चार प्रतिशत कायम गरिएको छ ।
वित्तीय प्रणालीमा देखिएका विद्यमान अवसर र चुनौतीको सम्बोधन गर्दै वित्तीय प्रणालीको दिगो विकास र विस्तारका लागि दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । निजी आवास खरिद गर्न प्रवाह हुने कर्जामा लचिलो नीति राष्ट्र बैङ्कले लिएको छ ।
काठमाडौँ, २७ असार :
थापाथलीस्थित राष्ट्र बैङ्कको नवनिर्मित भवन
काठमाडौँको थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको नवनिर्मित भवनको हालसालै खिचिएको दृश्य । नेपालको केन्द्रीय बैङ्कको रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति जारी गरेको छ । तस्बिर : सुबास ढुंगाना/रासस
“निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु दुई करोडबाट बढाई रु तीन करोड कायम गरिनेछ । पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ”, मौद्रिक नीतिमा भनिएको छ ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिने जनाइएको छ ।
कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले केही नयाँ व्यवस्था राष्ट्र बैङ्कले ल्याएको छ ।
“बैङ्क तथा वित्तीय संस्थाले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी रु १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ । यसरी प्रवाह हुने रु १० लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ”, मौद्रिक नीतिमा भनिएको छ, “खाद्यान्न, बाली, पशुपन्छी, माछापालनलगायत कृषि व्यवसायसँग सम्बन्धित कार्यका लागि व्यक्ति वा व्यावसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुनेगरी विभिन्न अवधि र प्रकृतिका कर्जा प्रवाह गर्नसक्ने व्यवस्थालाई थप सरलीकरण गर्दै कार्यान्वयनको प्रभावकारी अनुगमन गरिनेछ ।”
नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेका जातका कृषि उपजको उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका लागि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै, हुलाकी राजमार्ग तथा मध्य–पहाडी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो (सङ्केत) लिएका होटल तथा रेष्टुरेन्ट र राजमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न उक्त क्षेत्रका उद्योग व्यवसायीलाई प्रवाह हुने कर्जाका लागि पनि केही नयाँ व्यवस्था ल्याइएका छन् । त्यस्तै, रु तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइने राष्ट्र बैङ्कले जनाएको छ । यस्तो कर्जामा आधार दरमा बढीमा दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी कर्जा प्रवाह हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लिएको व्यवस्थाअनुसार जाजरकोट, रुकुमलगायतका भूकम्प प्रभावित क्षेत्रमा परियोजना रहेका व्यावसायिक कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिले लिएको कर्जा पुनः तालिकीकरण वा पुनः संरचना गर्न चाहेमा बैङ्क तथा वित्तीय संस्थाले ऋणीको आवश्यकता र औचित्यका आधारमा ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी बुझाउनुपर्ने ब्याज रकमको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सक्नेछन् ।
ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने ‘मार्जिन’ प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा रु १५ करोडबाट बढाई रु २५ करोड बनाइएको छ । चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
वाणिज्य बैंकहरूको तरलता जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन आन्तरिक तरलता पर्याप्तता मूल्याङ्कन प्रक्रियासम्बन्धी मार्गदर्शन जारी गरिने पनि केन्द्रिक बैंकले जनाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्था, कर्जाको ब्याजदर गणना, सेवा शुल्क लगायतका विषयलाई समेटी उक्त नियमाकीय व्यवस्थामा आवश्यक संसोधन गरिने जनाइएको छ ।
नेपाल सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका निकायले वित्तीय श्रोत जुटाउन जारी गरेका डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकिने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । विकास बैंक तथा वित्त कम्पनीले विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत विभिन्न नियामकीय मापदण्ड कार्यान्वयनमा रहेको सन्दर्भमा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइएको छ ।
त्यसैगरी, बैङ्क तथा वित्तीय संस्थाले गैर बैङ्किङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पँुजीमा गणना गर्न सकिने व्यवस्था ल्याइएको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतीमा आफ्नो पुँजी बढाउन सक्ने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमार्फत ल्याएको सहुलियतपूर्ण कर्जासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गरिने जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैङ्किङ सम्पत्ति व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिने पनि राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत जनाएको छ ।
त्यस्तै, समस्याग्रस्त हुने अवस्थामा पुगेका बैङ्क तथा वित्तीय संस्थाको समस्याको पहिचान गरी सुधारात्मक कारबाही गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली परिमार्जन गर्ने नीति लिइएको छ । विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिने जनाइएको छ ।
त्यस्तै, विगतमा फरक आवश्यकता र चुनौती सम्बोधन गर्न स्थापित कतिपय संस्थाको कार्यदायरा पुनरावलोकन गर्न आवश्यक देखिएको र राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा साधन परिचालन अपेक्षित रुपमा हुन नसकेको सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन गरिने मौद्रिक नीतिमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको क्रेडिट स्कोरका आधारमा समेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।
यसैगरी, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैङ्कले जनाएको छ । विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैङ्क कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैङ्कमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुनेगरी ‘नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ ।
भन्सार स्वःघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ । सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरू विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचेजति कामले गति लिन नसक्नुका समस्याहरू पहिचान गरी स्पष्ट कार्ययोजनाका साथ लाग्न निर्देशन दिए । उनले सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेकामा चिन्ता व्यक्त गरे । यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने उनको भनाइ छ ।
“जनतालाई मलमा अनुदान दिने नीति छ तर मलचाहिँ समयमा पाइँदैन । यस खालको जनता अलमल्याउने कुरा नगरौँ । बरु अनुदान घटाऔँ, आपूर्ति बढाऔँ”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “हामीले देशको दू्रततर गतिमा विकास गर्नुछ । लागत अनुमान रु १२ अर्ब लागतबाट थालनी गरिएको कुनै आयोजना रु ५२ अर्बसम्म लाग्ने स्थिति पनि देखिएको छ । यो स्थिति कसरी आयो ? यस्तो अति लापर्वाह गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?”
प्रधानमन्त्री ओलीले सम्झौता गरिएको ठेकेदार वा ढाँचाबाट काम नभए अर्को बाटो लिनुपर्नेमा जोड दिँदै यस खालको गतिले विकासमा अघि बढ्न नसकिने भएकाले कामको तरिकामा क्रान्तिकारी परिवर्तन गरी चुस्तदुरुस्त रूपमा गर्ने शैलीमा लाग्न आग्रह गरे । उपप्रधानमन्त्रीहरू, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरू, मुख्यसचिव र सचिवहरू सहभागी बैठकमा विभिन्न मन्न्त्रालयसँग सम्बन्धित विकास समस्याहरूको कारण र समाधानका उपायबारे चार घण्टा बढी छलफल भएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकासको लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अद्यावधिक स्थिति, समितिका यसअघिका बैठकका निर्णयहरूको कार्यान्वयन स्थितिबारे प्रस्तुतिकरण गरेका थिए ।
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने गरी बोलाइएको छ । त्यसपछि आजै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने समेत बताइएको छ ।
यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ । मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिचको टकरावले कार्यपालिका बैठक बस्न सकेको थिएन । नेपालको कानूनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
२७ असार, काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
२७ असार, काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो ।
सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।
जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।
राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।
यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन् । आज जारी गर्नुरेको सन्देशमा उनले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरुका अधिकारको समर्थन आवश्यक भएको बताए । युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरुलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा हो ।
२६ असार, काठमाडौं । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पु¥याउन सफल भएको छ । चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फछ्र्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ ।
अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ थान मात्र बाँकी छन् । एक हजार ३५७ मुद्दा रहेकामा एक हजार ३३५ मुद्दा फछ्र्यौट भई २२ थान मुद्दा मात्रै बाँकी रहेको उच्च अदालतले जनाएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्याय सम्पादनलाई छिटोछरितो बनाउने उद्देश्यले पुराना मुद्दा फछ्र्यौटलाई बढी नै ध्यान दिएको र लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सफल भएको बताए । “पाटन अदालतको इतिहासमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छौँ, मुद्दालाई १८ महिनाभन्दा बढी हुन नदिने गरी आधार तयार गरेर काम गरिरहेका छौँ”, मुख्य न्यायाधीश कुँवरले भने, “सर्वोच्च अदालतको पञ्चवर्षीय योजना लागू भएपछि त्यो योजना र निर्देशनबमोजिम काम गरिरहेका छौँ, न्यायसम्पादनका सम्पूर्ण सूचक पूरा गर्न सकेका छौँ ।”
अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार कूल मुद्दा १७ हजार सात रहेकामा वार्षिक फछ्र्यौट लक्ष्य ११ हजार ३२३ राखिएकामा ११ हजार २३४ मुद्दा फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षका छ कार्यदिन बाँकी भएकाले कार्यअवधि लक्ष्यअनुसार शतप्रतिशत काम पूरा हुने अदालतको योजना रहेको छ । लक्ष्यअनुसार ८९ थान मुद्दा यस आर्थिक वर्षमा फछ्र्यौट गर्न बाँकी छ ।
न्यायपालिकाको पाँचाँै पञ्चवर्षीय रणनीतिक योजनाले लिएका प्राथमिकता, लक्ष्य र कार्यक्रममा आधारित भई अदालतको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्ययोजनाको निर्माण काम गर्दा यही असार २५ गतेसम्म वार्षिक लक्ष्यको ९९ दशमलव २१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल मुद्दामा पाँच हजार ७७३ मुद्दा फछ्र्यौट गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार २३२ थान मुद्दा बढी फछ्र्यौट भएको छ । अदालतमा ३६ न्यायाधीश दरबन्दी भए पनि हाल २२ जना न्यायाधीश कार्यरत छन् ।
पाटन उच्च अदालतले छिटोछरितो न्याय दिने लक्ष्यका साथ अदालतमा दर्ता हुन आएका रिट निवेदनहरु अधिकांश छ महिनाभित्रै सक्ने लक्ष्यका साथ काम गरिहेको छ भने एक वर्ष नाघेका रिट निवेदनहरु बाँकी नरहेको जनाएको छ । व्यक्ति थुनामा रहेका थुनुवा मुद्दालाई एक वर्ष ननाघ्ने गरी फछ्र्यौटलाई प्राथमिकता दिएको र निवेदन÷प्रतिनिवेदन तीन महिना ननाघ्ने गरी प्राथमिकतामा राखी सुनुवाइ गरेको जनाएको छ । हाल छ महिना नाघेका रिटको सङ्ख्या १७, एक वर्ष नाघेका थुनुवा भएका मुद्दाको सङ्ख्या २८ र तीन महिना नाघेका निवेदन प्रतिवेदनको सङ्ख्या आठ बाँकी रहेको छ ।
पुनरावेदन दायर भई फैसला भएका सात हजार ८४४ मुद्दाहरुमध्ये करिब १२ दशमलव ६४ प्रतिशत मुद्दा उल्टी भएको देखिन्छ भने रिट क्षेत्रधिकारतर्फ ४० दशमलव ४२ प्रतिशत रिट जारी भएको छ । अदालतबाट ५९ दशमलव ५८ प्रतिशत रिट खारेज भई अन्तिम आदेश भएको छ । यस अदालतबाट विकास निर्माण, कर, राजस्वलगायतका विषयसँग सम्बन्धित पुराना मुद्दा बाँकी नभएको अदालतले जनाएको छ । रिट निवेदनमा अन्तरिम आदेश माग गरेको अवस्थामा अन्तरिम आदेश छलफललाई हप्तामा निश्चित दिनहरु तोकी प्राथमिकतापूर्वक सुनुवाइ गरिरहेको अदालतको रजिष्टार पौडेलले जानकारी दिनुभयो ।
उक्त अदालतको मुख्य न्यायाधीश कुँवरका अनुसार समयमै इजलास बस्ने, इजलास व्यवस्थापन, कानुन व्यवसायीका सहयोगका कारण लक्ष्यअनुसार मुद्दाको फछ्र्यौट गर्न सकिएको हो । “इजलास व्यवस्थापन सकेसम्म छिटो न्याय दिनुपर्छ भन्ने लक्ष्यअनुसार भइरहेको छ”, उनले भने, “सेवाग्राहीको सन्तुष्टिलाई ध्यानमा राखेर काम गरिरहेका छौँ, अदालतको जनआस्था वृद्धि गर्न निरन्तर लागिरहेका छौँ, अहिलेको उपलब्धिले काम गर्ने उत्प्रेरणा बढेको छ, काम गर्न सकिने रैछ भन्ने मनोबल बढेको छ ।”
हेटाँैडा इजलाससहित केही अदालतले दुई वर्ष नाघेका मुद्दा झारे शून्यमा उच्च अदालत पाटन हेटौँडा इजलाससहित चार जिल्ला अदालतले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छन् । जिल्ला अदालतमा दोलखा, रामेछाप, नुवाकोट र धादिङले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारेका छन् । जिल्ला अदालत काठमाडौँमा दुई वर्ष नाघेका मुद्दा एक हजार ९०४ थान, भक्तपुरमा १३१ थान, लतिपुरमा चार थान, काभ्रेपलाञ्चोकमा ३२ थान, सिन्धुपाल्चोकमा र रसुवामा एक÷एक थान, मकवापुरमा दुई थान, चितवनमा १० थान र सिन्धुलीमा ३० थान बाँकी रहेका छन् ।
मुद्दा फछर्र्यौट सङ्ख्यालाई हेर्दा जिल्ला अदालत काठमाडौँ र सिन्धुलीले सबैभन्दा काम फछ्र्यौट गरेको देखिन्छ । काठमाडौँले ५० दशमलव १८ प्रतिशत र सिन्धुलीले ५० दशमलव १७ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् । सबैभन्दा बढी नुवाकोटले ७७ दशमलव ९९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । त्यसपछि धादिङले ७७ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
जिल्ला अदालतको कम मुद्दा फछ्र्यौट भएको विषयमा मुख्य न्यायाधीश कँुवरका अनुसार मातहतका जिल्ला अदालतलाई पनि मुद्दा फछ्र्यौटमा परेका समस्याका विषयमा छलफल गरी निकास दिने प्रयास भइरहेको छ ।
उच्च अदालत पाटनमा पुराना मुद्दा फछ्र्यौटको दैनिक तथ्याङ्क प्रस्तुति, मासिक प्रगति समीक्षा, मातहत अदालतसमेतको मासिक र चौमासिक समीक्षामार्फत कार्यसम्पादन अवस्थाको स्वमूल्याङ्कन गरी सोहीअनुरुपका आवश्यक रणनीतिहरु अवलम्बन गरेको जनाएको छ । मुद्दाको विषयवस्तुका आधारमा शीघ्र किनारा गर्नुपर्ने प्रकृतिका मुद्दाहरूलाई अग्राधिकार दिइ सुनुवाइमा प्राथमिकता दिने, मेलमिलापलाई प्राथमिकतामा राखी उल्लेख्य सङ्ख्याका मुद्दाहरु मेलमिलापको प्रक्रिया पठाउने गरेको छ ।
न्यायिक कामकारबाहीमा सूचना प्रविधिसम्बन्धी विकसित पद्धति, सफ्टवेयर, मोड्युल तथा एप्लिकेशनहरुको अधिकतम प्रयोग गरी कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने प्रयास गरेको बताइएको छ । अदालतले सेवाग्राहीहरुको सुविधाको लागि अनलाइन तारेख तथा विद्युतीय माध्यमबाट साक्षीको बकपत्र गर्ने गरिएको, एसएमएसमार्फत मुद्दा दर्ता भएको जानकारी दिने व्यवस्था गरेको छ ।
न्यायमा सहज पहुँच स्थापित गर्न निःशुल्क रूपमा निवेदनका ढाँचा उपलब्ध गराउने गरिएको, अदालतमा वैतनिक कानुनी व्यवसायीमार्फत असमर्थ पक्षका लागि निःशुल्क कानुनी सेवा, वैतनिक कानुन व्यवसायीद्वारा कारागार भ्रमण गरी थुनुवा कैदीलाई आवश्यक कानुनी सेवा प्रदान गर्ने एवं मुद्दामा स्वेच्छिक ‘प्रोबोनो’ सेवाको परिचालन गरिएको जनाएको छ । “सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मुद्दालाई छिटोछरितो सम्पादन गर्ने प्रयास गरिरहेको छौँ”, मुख्य न्यायाधीश कुँवरले भने, “यसले न्यायलयको जनआस्था वृद्धि गर्न सहयोग पुगेको छ ।”
२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो ।
उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो । बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ (रु १३ अर्ब ८८ करोड ९३ लाख) र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत (रु १४ अर्ब २३ करोड ६३ लाख) प्रस्ताव गरिएको छ ।
बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ । बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित पनि गरेको छ । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो ।
२६ असार, काठमाडौं । नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा बाढीबाट विस्थापित बनेका नागरिकलाई सुरक्षितरुपमा गन्तव्यतर्फ पठाइएको छ । सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीको सहयोगमा अस्थायी पदमार्ग खोली आज ४८५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोबाट रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रुपमा बन्द भएपछि अस्थायी बाटो बनाएर उनीहरुलाई सुरक्षित स्थानमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा फसेका दुई वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित स्थानमा सारेका छन् ।
मङ्गलबार बिहान ल्हेन्दे खोलामा एक्कासी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी तीन सुरक्षाकर्मीसहित १४ नेपाली र छ जना चिनियाँ नागरिक हराइरहेका छन् । हालम्म चार जनाको शव तथा पाँच वटा मानव अङ्ग मात्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ । अन्य शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । अहिले सो नाका पूर्ण रुपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रुपमा ठप्प छ । सञ्चारका साधनले समेत काम गर्न छाडेका छन् । यसैबीच, काठमाडौँ उपत्यकामा हुनसक्ने डुबानलगायत विपद्को सामना गर्न २४सै घण्टा तैनाथी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका सशस्त्रका प्रत्येक गण, गुल्म र सुरक्षाबेसमा करिब चार सय बढी फौजलाई उद्धार सामग्रीसहित तयारी राखिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
२६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले आगामी दिनमा विपद्को जोखिम आकलन गरी पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले आगामी साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको उनले जानकारी दिए ।
२६ असार, काठमाडौं । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् ।
उनका अनुसार “सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ । यही असार २४ गते बिहान ९ः३० बजे सङ्घीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ ।
कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए ।
गोरखा, २६ असारः मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् । गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैचामा काम गर्दैआएका थिए । स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
२६ असार, वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए । अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।
२६ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
२६ असार, काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ ।
ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने गरेकाले दुई हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् । भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडकबाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् ।
धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । अधिकांश भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् । कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाडौँ–हुम्लाको सिमीकोट र काठमाडौँबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् ।
काठमाडौँबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौँबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जानसकिन्छ । ओझा होलिडेज, रिचा ट्राभल्स एन्ड टुर्स, इको ट्रेक, हेरिटेज टुर्स एन्ड ट्राभल, सनि ट्राभल, ट्रेकर सोसाइटीलगायत आधा दर्जन बढी कम्पनीले सर्वाधिक रूपमा कैलाश मानसरोवर टुर गराउँछन् ।
भारतको मुम्बईस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौँमा भिसा कुरिरहनुपरेको दुःखेसो पोखे । दूषित प्रिन्सेस काठमाडौँमा बसिरहेका उनीहरू चाँडै भिसा आउने प्रतीक्षामा छन् । सिजनमै कैलाश मानसरोवर यात्रामा व्यवधान आउँदा समस्या भएको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कैलाश मानसरोवरका लागि विदेशीले दुई हजार ५०० देखि तीन हजार डलरमा प्याकेज खरिद गरेका हुन्छन् । उनीहरूले दुई हजार हाराहारी डलर हवाई टिकटमा आफैँ खर्च गर्नुपर्छ । यसरी पाँचदेखि सात हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ ।
“विदेशीलाई ल्हासाबाट प्रवेश अनुमति आउँछ, पासपोर्ट दिएपछि तीन दिनमा भिसा आउने गरेको थियो । हाल विदेशी आइसकेपछि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेका छन् । भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ । आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको छ”, व्यवसायीले भन्ने गरेका छन् ।
रसुवा नाका पहिरोले अवरुद्ध भएपछि भिसा पाएकाहरूलाई नेपालगञ्ज, हुम्ला हुँदै गन्तव्यमा पु¥याउनका लागि पहल भइरहेको व्यवसायीले बताएका छन् । बसाइँ लम्बिँदा पर्यटक बेखर्ची हुने र कतिपय फर्किन अवस्थामा रहेका भन्दै व्यवसायीले जानकारी दिएका छन् । नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीले बताउने गरेका छन् । यसरी वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन् ।
जुन २५ देखि जुलाई नौ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटलमै बसिरहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ । अमेरिकाबाट आएका भारतीय मूलका नागरिक १० दिनपछि भिसा प्रक्रिया पु¥याएर बुधबार ल्हासा पुगेको एक कम्पनीले जनाएको छ । “समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा हामी व्यवसायी परेका छौँ । टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको छ”, कैलाश यात्रा गराउने सोहम जर्निस प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले गुनासो गरे ।
एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेको स्मरण गर्दै व्यवसायी पाठकले यस वर्ष मुस्किलले एक हजार पर्यटक पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कम्पनीले सन् २०१९ मा झन्डै चार हजार जनालाई मानसरोवर यात्रा गराएको थियो ।
एसोसियसन अफ कैलास टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन् । मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो । सो संस्थाले जनाएअनुसार वार्षिक २५ हजारसम्म पर्यटक नेपाल भएर मानसरोवर जाने गरेका छन् । त्यहाँ पुग्न नेपालगञ्ज–सिमिकोट–हिल्सा सबभन्दा नजिकको रुट पर्ने हुनाले हरेक वर्ष उल्लेख्य सङ्ख्याका पर्यटक यो मार्ग भएर गन्तव्यमा पुग्छन् ।
मानसरोवार जान भारतीय नागरिकलाई रु अढाई लाखदेखि तीन लाख र गैरआवासीय भारतीय नागरिकलाई कम्तीमा रु १० लाख लाग्ने टुर कम्पनीहरूले जनाएका छन् । कैलाश मानसरोवरमा भारतीय मूलका, तर विश्वका विकसित देशहरू अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियामा बस्ने गैरआवासीय भारतीयहरू बढिजसो जाने गरेका छन् ।
२६ असार, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :। गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ– ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । परोपकार पुण्याय, पापाय परपीडनम् ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।
२६ असार, गलकोट । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पु¥याएको छ ।
जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पु¥याएको छ ।
यस्तै, त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको बताइएको छ । बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्, दुई गोठमा पूर्ण क्षति भएको छ ।
टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति पु¥याएको छ । टेकबहादुरको गोठमा रहेको एक गोरु मरेको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ । त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब रु एक अर्ब चार करोड बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले बताए ।
२६ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् ।
बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ ।
अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ ।
पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।”
्लोमान्थाङ—२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ ।
“यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उनले भने । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरे ।
२६ असार, काठमाडौं । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा सो नगरी कानुन उल्लङ्घन गरिएको भन्दै संसद्बाट पारित बजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सम्मानित सर्वोच्च अदालतबाट मर्यादाक्रमअनुसारको तलबमान निर्धारण गर्न परमादेश जारी भएकाले सो आदेश यथाशीघ्र कार्यान्वयन गर्न र राष्ट्रिय श्रम आयोग गठनलगायतका विषय सम्बोधन गर्न आग्रह गरेको छ । बैठकले आगामी छ महिनाको अर्धवार्षिक कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट पास गर्ने निर्णयसहित समसामयिक विषयका प्रस्ताव पारित गरेको छ ।
सहकारी घोटाला, भिजिट भिसालगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कडा कारबाहीको माग गर्दै बैठकले सङ्घीय निजामती सेवा ऐन प्रतिनिधिसभाबाट पारित हुँदा सार्वभौम संसद्ले पारित गरेको विषयलाई तोडमोड गरी थपघट गर्ने कार्यको आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याउन तथा सङ्घीय शिक्षा ऐनमा शिक्षक महासङ्घसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
संविधानप्रदत्त ट्रेड युनियन अधिकार, पेसाकर्मीको वृत्तिविकास, सेवासुविधा र राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारको ‘ग्यारेन्टी’ गर्नेगरी सेवा सञ्चालन गर्ने ऐनहरू जारी गर्नसमेत महासङ्घले सरकारसँग आग्रह गरेको छ । यस्तै, सरकारी निकाय तथा विद्यालय, क्याम्पस, स्वास्थ्य सेवा तथा सार्वजनिक संस्थाहरूमा अस्थायी, करार, आउटसोर्सिङमा काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षाको सुविधा प्रदान गर्न र आवश्यक स्थानमा दरबन्दी निर्धारण गरी स्थायी नियुक्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सेवा निवृत्त राष्ट्रसेवकहरूको जीवनस्तर सुधार गर्न राज्यका यातायात, औषधि उपचारलगायत क्षेत्रमा कम्तीमा ५० प्रतिशत छुट सुविधा प्रदान गर्न र महँगी भत्ता प्रदान गर्न, मूल्यवृद्धि नियन्त्रण गर्दै आमश्रमिक पेसाकर्मीको जीवनस्तर सहज बनाउने योजना ल्याउनसमेत आग्रह गरिएको छ । यस्तै, युवा श्रमशक्ति पलायन हुनबाट रोक्न स्वदेशमा रोजगारी सृजना र विदेशमा मृत्युवरणमा परेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
एजेन्सी २६ असार, टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिएका छन् । “केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ”, उनले मङ्गलबार गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।”
उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए । मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए । सयौँ मानिस सुतिरहेका बेला क्याबिनहरूलाई बगाएको थियो र पानीको धाराले क्याम्पलाई बगाएको थियो ।
एबटका अनुसार मङ्गलबार साँझसम्म पाँच जना क्याम्पर र एक सल्लाहकार अझै बेपत्ता छन् । साथै क्याम्पसँग सम्बन्धित नभएको अर्को बच्चा पनि बेपत्ता भएका छन् । “हाम्रो हृदय र दिमागमा यस समुदायका मानिसहरू, विशेष गरी अझै हराएका मानिसहरूभन्दा महत्त्वपूर्ण अरू केही छैन”, एबटले भने । राज्यका अन्य ठाउँमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ । टेक्सास गेम वार्डन्सका बेन बेकरले पानी र माटोका कारण हेलिकप्टर, ड्रोन र कुकुरहरू सम्मिलित खोजी र उद्धार प्रयासहरू अत्यन्त कठिन भएको बताए ।
“जब हामी यी उद्धार गर्ने प्रयास गरिरहेका हुन्छौँ, यी ठूला थुप्रोहरू धेरै अवरोधकारी हुन सक्छन्, र यी थुप्रोहरूमा गहिरो प्रवेश गर्न, यो धेरै खतरनाक हुन्छ”, बेकरले भने, “यो अत्यन्त विश्वासघाती, समय खपत गर्ने हो । यो फोहोर काम हो, पानी अझै छ ।” अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले मङ्गलबार छिमेकी राज्य न्यु मेक्सिकोको अल्बुकर्कबाट एक सय ८४ माइल ९दुई सय ९६ किलोमिटर० दक्षिणमा रहेको सानो सहर रुइडोसोमा आकस्मिक बाढी आपत्काल घोषणा गरेको छ ।
अधिकारीहरूले रिपोर्ट गरे कि धेरै व्यक्ति अचानक आएको बाढीले फसेका छन्, धेरै घरमा क्षति भएको छ । एनडब्लुएसले रियो रुइडोसो २० फिट (छ मिटर) भन्दा बढी उचाइमा पुगेको हुनसक्ने बताएको छ । विपद्को केन्द्रविन्दु हन्ट सहरमा, एएफपी टोलीले उद्धारकर्मीहरूलाई हेलिकप्टरहरू माथि उडिरहेको अवस्थामा भग्नावशेषका थुप्रोहरूमा खोजी गरिरहेको देख्यो । चौबिस वर्षीय जेभियर टोरेस आफ्ना हजुरबुबाको शव फेला पारेपछि आफ्नी हजुरआमाको शव खोज्दै हिलोमा खनिरहेका थिए ।
उनले नदीले बगाएका दुई बालबालिकाको शव पनि फेला पारे । अधिकारीहरूले आगामी दिनहरूमा थप भारी वर्षाको चेतावनी दिएका छन् । यसले खोजी कार्यलाई प्रभावित पार्न सक्छ । यद्यपि बेकरले यसले खोजी प्रयासहरूलाई ‘नरोक्ने’ बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रथम महिला मेलानिया ट्रम्पसँग टेक्सास भ्रमण गर्ने कार्यक्रम छ ।
“हामीले चारैतिरबाट धेरै हेलिकप्टर ल्यायौँ, तिनीहरू वास्तविक पेशेवर थिए, र तिनीहरू धेरै मानिसलाई बाहिर निकाल्न जिम्मेवार थिए”, ट्रम्पले भने । यसैबीच, ट्रम्प सरकारको कोष कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको र उद्धार अभियानको व्यवस्थापनलाई लिएर प्रश्नहरू बढेका छन् । कहिलेकाहीँ तनावपूर्ण प्रेस सम्मेलनका क्रममा बेकरले आपत्कालीन प्रतिक्रियाको गतिमाथिको प्रश्नलाई छाडे । “अहिले, यहाँको यो टोली मानिसहरूलाई घर फर्काउनमा केन्द्रित छ”, उनले भने ।
क्लाइमेट सेन्ट्रल रिसर्च समूहका मौसम विज्ञ शेल विङ्क्लेले सुक्खा माटोले कम वर्षा अवशोषित गर्दा भूगोल र असाधारण खडेरीमा प्रकोपको सीमालाई दोष दिए । “टेक्सासको यो भाग, कमसेकम केर काउन्टी बाढीमा विशेष गरी, चरमदेखि असाधारण खडेरीमा थियो।।। हामीलाई थाहा छ कि मेदेखि तापक्रम औसतभन्दा माथि छ”, विङ्क्लेले पत्रकारहरूलाई भने । सङ्गठनका मिडिया निर्देशक टम डि लिबर्टोले राष्ट्रिय मौसम सेवामा कर्मचारी अभावले प्रकोप निम्त्याएको बताए । “तपाईँले त्यो अनुभवलाई प्रतिस्थापन गर्न सक्नुहुन्न”, उनले भने ।
एजेन्सी २६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् । एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् । अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरुबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने अपेक्षा गरिएको छ ।
भेटका लागि ह्वाइट हाउसको रूचीबारे केही ठोस विवरण बाहिर आएका छैनन् । ट्रम्प प्रशासनले कर र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरिरहेको र महत्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न खोजिरहेको बेला यो बैठक हुन लागेको हो । यद्यपि, यी पाँच राष्ट्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता अन्य अफ्रिकी मुलुकहरूमा जस्तो अत्यधिक खनिज सम्पदा भने छैन । ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायता एजेन्सी युएसएआईडीको औपचारिक बन्दको औपचारिक थालनी भएको केही दिनपछि यो भेला हुने भएको हो ।
एएफपीसँग कुरा गर्ने पाँच देशका अधिकारीहरू ह्वाइट हाउसको रूचीबारे जानकारजस्तो देखिन्थे । लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईका प्रेस सचिव कुला फोफानाका अनुसार लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईले निमन्त्रणा स्वीकार गर्नुभएको र यस्ता भेट राष्ट्रको हितमा लगानी गर्न चाहने जोकोहीसँग पनि गर्न सकिने बताए । उनले भने, “हाम्रो चासो लगानी गर्ने व्यापार र संलग्नता साझेदारहरूलाई महत्व दिने हो ।” भेटबारे गाबोनी राष्ट्रपतिका प्रवक्ता थियोफेन बियोगेले भने, “यो बैठकले ‘हाम्रो अर्थतन्त्रको औद्योगीकरणमा केन्द्रित’ सहकार्यको अवसर प्रदान गर्नेछ ।
२६ असार, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।
भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ,“सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।” यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।
२५ असार, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।
२५ असार, काठमाडौं । सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका विषयमा उहाँहरूले उत्पादन र रोजागारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु गर्न सुझाव दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले घरजग्गाको धितो बाहेक परियोजना कर्जा सहज रूपमा दिने व्यवस्था गर्न सुझाव दिए । उनले कुल कर्जाको हाल ६५ प्रतिशत ऋण घरजग्गा धितोमा दिइएकाले त्यसमा पुनःविचार गर्न सल्लाह दिए । बैंकिङ क्षेत्रको साधन–सोत सार्वजिक सम्पत्ति भएकाले हाल रु ७० खर्ब निक्षेप हुँदा लगानीकर्ताको पुँजी रु ४ खर्ब ४ अर्ब मात्र प्रयोग भएको अवस्थालाई ध्यान दिई सन्तुलित विकास हासिल गर्न विवेकशील लगानीको अभ्यास सुरू गर्नुपर्ने उनको भनाइ थियो ।
विदेशी मुद्राको हालको विनिमय दर व्यवस्था पुनरावलोकन गर्न अध्ययन र पूर्व तयारी गरी अघि बढ्न सुझाव दिदै उनले बैंकिङ क्षेत्रबाट हुने आन्तरिक र बाह्य कारोबारको निगरानी गरी अवैध र अवाञ्छित क्रियाकलाप रोक्ने प्रभावकारी व्यवस्थाको खाँचो औंल्याए । अर्का अर्थविद नरबहादुर थापाले अधिकतम तरलता र ब्याजदर न्यून हुँदासमेत लागनी नभइरहेको अवस्थालाई ध्यान दिएर विनियोजन विधेयकलाई मेल खानेगरी आगामी मौद्रिक नीति तर्जूमा गर्न सुझाव दिए ।
उनले भने, “अर्थतन्त्र चलायमान नहुनु भनेको निराशाको परिस्थिति सिर्जना हुनु हो । सहरी क्षेत्रका घडेरी सर्वसाधारणको पहुँचभन्दा माथि छ । वैज्ञानिकरूपमा कृषि क्षेत्रका विकासका लागि लगानी ज्यादै न्यून भएकाले बढाउनुपर्छ ।”
बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले श्रोत कम भएको नाममा बजेट सानो आकारको घोषणा गर्ने कार्यले आर्थिक नीतिलाई सङ्कुचन गर्ने धारणा राखे । उनले भने, “मौद्रिक नीति खुकुलो, संयमित, अनुशासित र अर्थतन्त्र चलायमान भएर अघि बढने खालको हुनुपर्छ । खास गरी साना र मझौला उद्योगको मनोवल बढाउनुपर्छ ।”
पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले अब आउने मौद्रिकक नीतिले विगतमा हतारिएर गरिएका कामकारवाही सच्याउने विश्वास व्यक्त गरे । उनले भने, “उच्च व्यावसायिकता र दीर्घकालीन सोचका साथ मौद्रिक नीति आउनुपर्छ । कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी व्यावसायिक गर्न चाहलेलाई केन्द्रमा राखेर मौद्रिक नीति बनाइनुपर्छ ।”
समिति सदस्य एवं अर्थविद् डा स्वर्णीम वाग्लेले मुलुकका आर्थिक संरचना र प्रक्रिया पनि राजनीतिक चङ्गूलको चपेटामा परेको प्रतिक्रिया दिए । सांसद विनोद चौधरीले अहिले भइरहेको लगानी निस्प्रभाविको अवस्थामा सुधार ल्याउन लगानीकर्ता प्रोत्साहन गर्ने तथा बैँकलाई पनि कर्जा फर्कने सुनिश्चिताको वातावरण बनाउन आवश्यक रहेको बताए । त्यसअवसरमा अहिले मुलुकको शोधानान्तर बचत र ४ खर्ब ९१ अर्ब तथा विदेशी मुद्रा सञ्चिति रु २५ खर्ब ६९ अर्ब उच्च रहेको तथ्याङक प्रस्तुत गरियो ।
मुद्रास्फ्रिति ४ दशमलव २ प्रतिशत मात्र रहेको तथा बैकिङ क्षेत्रमा रु ७ खर्बभन्दा बढी कर्जायोग्य रकम रहेको र कर्जाको ब्याजदर एकल अङ्कमा झरेको तथ्याङक प्रस्तुत गरियो । पछिल्लो समय आयात तथा निर्यातमा बृद्धि हुन थालेको तथा जलविद्युत्, सडक सञ्जाल, सूचना तथा सञ्चार प्रविधि र पर्यटन पूर्वाधार निर्माणमा उल्लेखनीय कार्य भएको जानकारी दिइयो ।
२५ असार, झापा । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्गबहादुर खड्काका अनुसार खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालक गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा उनीहरू दुवैको मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए । मृतकहरूको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालकको अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यसैगरी स्कुटीको पछाडि सवार राजवंशीको २७ वर्षीया बुहारी उर्मिला राजवंशी र उनका तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते छन् । उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।