२५ असार, म्याग्दी । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताए । करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उनले बताए । आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्ती हुन् ।
धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गरेका छन् ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताए । बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरि गाउँपालिका–४ खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।
२५ असार, काठमाडौं । रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । एक जनाको भने सनाखत भएसँगै आजै अन्त्येष्टि गरिएको पनि उनले जानकारी दिए । उक्त बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । उनको आज परिवारले शव बुझेर आजै अत्येष्टि गरिएको हो ।
रसुवा बाढीमा अझै १९ जना बेपत्ता रहेका छन् । अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो की होइन भनेर पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । भेटिएका शवमध्ये पाँच शव मात्रै सनाखत गर्न सकिने खालका रहेको छ । चार वटा मानव अङ्गहरूमात्रै फेला परेको हो । ती शवको डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ ।
उक्त बाढीमा अझै दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । अहिले बेपत्ताहरूको विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । यस्तै रसुवाका विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूको उद्धार कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
२५ असार, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडियोरभिडियोलगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणका आधारमा निस्काशनरनिलम्बन गर्ने निर्णय गरेको हो ।
समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकमार राई, पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेत विरुद्ध परेको उजुरीमा समितिले स्पष्टीकरण सोधिएको थियो ।
निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणका आधारमा कांग्रेसको विधानअनुसार उहाँहरूलाई एक वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई छ महिनाको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरिएको हो । केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणको आधारमा कांग्रेसको विधानअनुसार उनीहरुलाई छ महिना र कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णय गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए ।
२५ असार, सिरहा । यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् । करिब रु २५ लाखमा निर्माण गरिएको सो भवनको आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश–प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, “समाजका अगुवाहरूले जग्गा दान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि बरदान सावित भएको छ ।
यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति पनि गरेका छन् ।” त्यसैगरी प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरी र समुदायको सहकार्य अपराध न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताए ।प्रहरीले सेवाग्राहीलाई दिने सेवाबारेमा स्पष्ट पार्दै उनले भने, “प्रहरी सेवा निःशुल्क हो । हामी विचौलियाविहीन, पारदर्शी र समुदायमैत्री सेवामा प्रतिबद्ध छौँं ।”
कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति र सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुरसम्बन्ध स्थापित गरेको छ ।”
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्तराम सर्माले समुदायसँगको सहकार्यलाई शान्ति सुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे । भवन निर्माण समितिका अध्यक्ष तथा समाजसेवी अस्मिनकुमार राउतका अनुसार विसं २०६७ मा गृहमन्त्री भीम रावलको पालामा गाउँमा डकैती जस्ता आपाराधिक घटनाले सताएको बेला पक्कीटोलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो ।
अहिले जीर्ण संरचनालाई स्थानीयले सहयोग जुटाएर पक्की भवनमा रूपान्तरण गरेका हुन् । अब उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी रुप दिन उनले माग गरे । यस कार्यमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आर्थिक सहयोग रहेको जनाइएको छ ।
२५ असार, बलेवा ।जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो ।
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ ।
२५ असार, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विंसं २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।
२५ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ ।
यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताए ।
बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (.बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख गरे । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
२५ असार, काठमाडौं । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०÷२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । यसैगरी उनले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्ने जनाइएको छ । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
२५ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधरणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
२४ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।
त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
२५ असार, ढोरपाटन । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उहाँले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।
२५ असार, बनियानी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२५ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिनसमेत आदेश गरेको छ ।
यो आदेशसँगै गभर्नर पौडेललाई तत्कालका लागि काम गर्न अवरोध हुने छैन । अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेललगायतले गत जेठ १३ गते गभर्नर नियुक्ति गैरकानुनी भएको उल्लेख गर्दै नियुक्ति बदरको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
२४ असार, काठमाडौं । रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।
कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
२४ असार, रसुवा । गत रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।
यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए । “ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उनले भने ।
२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । उक्त विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।
तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।
२४ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद दिएको छ ।
बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ । सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाकाहरूको सुसञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।
यस्तै क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । व्यवसायीका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीहरूको क्षतिको बिमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।
परिषद्को बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ । परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
यसैगरी यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान आएकाले पूर्व तयारी तथा प्रतिकार्यका लागि सजग एवं तयार रहन बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ । क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट फर्किएलगत्तै राखिएको परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पूर्वानुमान र कल्पनाभन्दा बाहिरको अप्रत्याशित विपद् उत्पन्न भई क्षति भएको देखिएको बताए ।
उनले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको तत्काल गर्नुपर्ने उद्धारका काममा सुरक्षा निकायबाट भइरहेको कामलाई निरन्तरता दिन आग्रह गरे । उनले बगाइएको मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सुचारु गर्न नेपालका लागि चिनियाँ राजदूतलाई आफूले आजै आग्रह गरेको जानकारी गराउँदै मुस्ताङको कोरला नाकालगायत वैकल्पिक मार्गलाई व्यवस्थित सञ्चालनको तयारी गर्नुपर्नेमा जोड दिए ।
२४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै आज आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरे ।
उनले भने, “नेपालका चीन नजिकै रहेको क्यान्जिङ मौसम केन्द्र र धुन्चेमा भएको केन्द्रले त्यहाँ फाटफुुट पानी परेको देखाएको छ । पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको दखोएको छैन । विश्व मौसम सङ्गठनको गाइडेन्स सिष्टमको भूउपग्रहमा आधारित वर्षा अनुमानका अनुसार पनि भोटेकोसी लजाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकोलगायत कारणले वर्षाका कारण बाढी आएको भन्ने देखिँदैन ।”
आज बिहान ३ बजेतिर तिब्बतबाट भोटेकोशी नदीमा एक्कासि बाढी पसेको थियो । पानीको सतह रसुवाको टिमुरेमा साढे तीन मिटर बढेको देखिएको पनि उनले बताए । रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे । उक्त बाढीका कारण हालसम्म मालवाहक गाडीसहित ६४ वटा सवारीसाधन बगाएको छ । पचपन्न जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सात जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन् ।
काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सो स्थानमा ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।
पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । आज रसुवा र चीनतर्फ आएको ठूलो बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा भयानक बाढी आएको छ । यसले तटिय क्षेत्रमा वितण्डा मच्याइरहेको छ ।
२४ असार, काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ ।
खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ ।
प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ । रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।
२४ असार, रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
ड्यालस । नेपाली मूलका बालबालिकाहरुलाई हिन्दू धर्म, संस्कार–संस्कृति र नैतिक शिक्षा सिकाउने उद्देश्यले आयोजित समर क्याम्प ड्यालसमा सम्पन्न भएको छ । नेपाली समाज टेक्सासद्वारा आयोजित समर क्याम्प शनिबार सम्पन्न भएको हो । समर क्याम्प उमेर समूहअनुसार सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरिएको थियो । गत साता जुनियर समर क्याम्प सम्पन्न भएको थियो । शनिबार भने सिनियर बालबालिकाहरुको दीक्षान्त (ग्राजुएसन) कार्यक्रम सम्पन्न गरेको छ ।
दुई दशकदेखि नेपाली बालबालिकाहरुलाई हरेक समर याममा डा. चिन्तामणि योगीले समर क्याम्प सञ्चालन गर्दै आएका छन् । १ सय ५७ जुनियर र १ सय ४४ सिनियर बालबालिकाले समर क्याम्पमा सहभागिता जनाएका थिए । नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले अमेरिकामा विद्यालय बिदाको सदुपयोग गर्दै लामो समयदेखि समर क्याम्प चलाउँदै आएका छन् ।
२४ असार, काठमाडौं । पोखरा महानगरपालिका–३३ बाघमारामा जन्मिएका होमनाथ गिरीको जीवन यात्रा संघर्ष, बलिदान र अन्ततः सफलतासँग जोडिएको छ । सामान्य ग्रामीण परिवेशमा हुर्किएका उनले बाल्यकालमै जिम्मेवारीको भारी काँधमा बोक्न थालेका थिए । गिरीले माध्यमिक शिक्षा परीक्षा ‘एसएलसी’ सकेपछि आइए अध्ययन थाले । तर, पढाइभन्दा बढी उनको ध्यान घरको आर्थिक अवस्थाले तान्यो । उनका बुवा खाडी मुलुक साउदी अरेबियामा लेबरको रुपमा काम गर्न पुगेका थिए । यही कारणले उनले आफ्नै पढाइ रोकेर बुवालाई स्वदेश फर्किन आग्रह गरे । बुवा घर फर्किएपछि भने होमनाथले नयाँ निर्णय गरे– संघर्षको बाटो समात्दै राजधानी काठमाडौं जाने ।
काठमाडौंको त्यो संघर्ष काठमाडौंमा प्रारम्भिक दिनहरु खासै सहज थिएनन् । केही समय आफन्तकहाँ बसे पनि चाँडै उनले आत्मनिर्भर बन्ने निर्णय गरे । उनले घर–घरमा जार बोकेर पानी पु¥याउने, ग्याँस सिलिन्डर तथा अन्य सामग्री डेलिभरी गर्नेजस्ता शारीरिक श्रमका कामहरु गर्न थाले । दुई वर्षसम्म निरन्तर त्यही काम गर्दै घर खर्च धान्न थाले । तर, धेरै आम्दानी नहुँदा पेट भर्ने भए पनि पर्याप्त भएन । विदेश जाने सपना मनमै राखेर उनले धेरैजनासँग सम्पर्क गरे । तर, सपना बेच्ने दलालहरुसँग धोका खाँदा मन कुँडिन्थ्यो । यस्ता धोखापछि पनि उनले हार मानेनन् । भित्री दृढता अझ बलियो बन्दै गयो ।
एक विज्ञापनले मोडिदियो जीवन शाही शासनको अन्त्यतिरको असहज वातावरणबीच उनले एक दिन दैनिक पत्रिकामा एउटा विज्ञापन देखे, इराक–कुवेत युद्धपछि कुवेतमा सेक्युरिटी कम्पनीमार्फत रोजगारीको अवसर खुलेको थियो । उनले आवेदन दिए, तर मनमा शंका थियो, ‘५२ किलो मात्र तौल भएको यो शरीरले सुरक्षा गार्डको काम गर्न सक्ला र ?’ तर आशा जिन्दगीको मूल कुरा हो । लामो प्रतीक्षापछि सन् २००४ मा १९ वर्षको कलिलो उमेरमै उनलाई अलअमाना सेक्युरिटी कम्पनीमा सामान्य सुरक्षा गार्डको रुपमा नियुक्ति मिल्यो । तलब थियो करिब ३२ हजार नेपाली रुपैयाँ, जुन त्यसबेलाका लागि राम्रो मानिन्थ्यो । यहींबाट उनको नयाँ जीवन सुरु भयो । कुवेत जानका लागि उनले सयकडा ५ रुपैयाँ ब्याजमा १ लाख ८० हजार रुपैयाँ तिरेर भिजिट भिसामा कुवेत पुगेका थिए । कुवेत पुगेपछि मात्रै वर्किङ भिसा लागेको थियो । समयसँगै गिरीले आफ्नो दक्षता, लगनशीलता र इमानदारीको बलमा कम्पनीभित्रै प्रगति गर्न थाले । कठिन परिश्रम र लगानशीलताले उनलाई कम्पनीको उच्च व्यवस्थापन तहसम्म पु¥यायो । अहिले उनी असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । सन् २०२५ सम्म आइपुग्दा उनका अधिनमा २ हजार ४ सय ५३ जना कर्मचारी कार्यरत छन्, जसमा १ हजार ५ सय ५४ जना नेपाली छन् । ३२ हजार तलबबाट सुरुआत गरेका गिरी आज कुवेतमा लाखौं रुपैयाँ आम्दानी गर्ने सीमित नेपालीहरुमध्ये एक हुन् ।
सहयोगी मन, नेपाली आत्मा होमनाथ गिरी केवल एक व्यावसायिक व्यक्ति मात्र होइनन् । उनी कुवेतस्थित नेपाली समुदायबीच एक सहयोगी, परोपकारी र संवेदनशील पात्रको रुपमा स्थापित छन् । चाहे कुवेतस्थित नेपालीहरुको समस्या होस् वा नेपालमा आएको कुनै प्राकृतिक विपत्ति– गिरीको मन कहिल्यै चुप लाग्दैन । उनले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा सहयोग पु¥याउँदै आएका छन् । नेपाली राजदूतावास, स्थानीय प्रशासन र कुवेती समाजले पनि उनलाई विश्वासिलो नेपाली प्रतिनिधिको रुपमा हेर्छन् ।
संघर्षबाट समृद्धितर्फ सानो कद, ५२ किलोको शरीर, तर आँखामा ठूलो सपना बोकेका थिए– होमनाथ गिरी । कास्कीको पोखरा महानगरपालिका–३३, बाघमाराबाट सुरु भएको उनको जीवन यात्रा आज कुवेतको ठूलो कर्पोरेट कार्यालयसम्म आइपुगेको छ । त्यो पनि कुनै सौभाग्यले होइन, निरन्तरको संघर्ष, इमानदार श्रम र असल मनले हो ।
अभाव र जिम्मेवारीको शुरुआत जब उनका बुबा साउदी अरेबियाबाट फर्किए, परिवारको आर्थिक अवस्था कमजोर थियो । उमेरले जवान तर काँधमा अभावको भारी बोकेका गिरीले आफ्ना व्यक्तिगत आकांक्षा त्यागे– परिवारका लागि । तर भित्रै कतै गहिरो सपना लुकेको थियो, एउटा राम्रो घर बनाउने, परिवारलाई सुरक्षित जीवन दिने र अझ परे अरुको जीवनमा पनि केही योगदान पु¥याउने । कुवेत पुगेपछि उनको जीवनले नयाँ मोड लियो । सामान्य सुरक्षा गार्डको रुपमा सुरु भएको करियर उनले इमानदारी, मेहनत र नेतृत्व क्षमताबाट उचाइतर्फ डो¥याए । विभिन्न तह पार गर्दै अहिले उनी कम्पनीमा मालिकपछि दोस्रो स्थान अर्थात् असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । उनको मातहतमा आज २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमध्ये १५ सयभन्दा बढी नेपाली छन् । सामान्य तलबबाट सुरु गरेको करियरले अहिले उनलाई कुवेतमै उच्च आम्दानी गर्ने सफल नेपालीमध्ये एक बनाएको छ ।
आज गिरीको परिवार फुर्सदमा कुवेत र नेपाल दुवै स्थानमा बसोवास गर्छ । आमा, श्रीमती, दुई छोरी र एक छोरासँग कुवेती बसोवास अनुमति कार्ड छ । परिवारका सबै सदस्यलाई जुनसुकै समयमा नेपाल आउने र कुवेत जाने सुविधा हुन्छ । नेपालमा उनले शैक्षिक क्षेत्रमा लगानी पनि गरेका छन् । आफ्नै सुन्दर घर पनि बनाएका छन् । तर त्योभन्दा ठूलो कुरा हो, उनी आफै नेपालीका लागि संकटमा परेका बेला भरपर्दो साथी बनेका छन् ।
विपतमा सँगसँगै होमनाथ बाढीपहिरो, डुबान, भूकम्प, जब–जब नेपालमा विपत्ति आउँछ, गिरीको मन थिचिन्छ । उनलाई लाग्छ, ‘यो मेरो पीडा नै हो ।’ त्यसैले उनी चुप बस्दैनन् । धरानका दृष्टिविहीन ५ वर्षीय बालकको आँखामा ज्योति फर्काउन उनले पहल गरे, आर्थिक सहयोग जुटाए र शल्यक्रिया सम्पन्न गराए । बालकले अहिले देख्न थालेका छन् । एक नेपाली फूटबल खेलाडीको मेरुदण्डमा चोट लागेपछि शल्यक्रिया आवश्यक प¥यो, त्यसबेला पनि उनी नै अगाडि सरे । कास्कीमा बाढीले घर बगाएको पीडित परिवारका लागि उनी आफैं नेपाल आएर घर बनाइदिए । त्यो परिवारका लागि उनी भगवान साबित भए । पाल्पाको अपाङ बालबालिकाका लागि सञ्चालित विद्यालयमा पनि उनले नियमित सहयोग पु¥याउँदै आएका छन् । यी त केही उदाहरण मात्रै हुन्, नेपालभरिका धेरै क्षेत्रहरुमा गिरीको सहयोग पुगेको छ ।
आत्मसन्तुष्टि सबैभन्दा ठूलो उपलब्धि ‘आत्मसन्तुष्टि नै ठूलो कुरा रहेछ । रोएको अनुहारमा मुस्कान ल्याउँदा प्राप्त हुने खुसी शब्दमा व्यक्त गर्न सकिँदैन’, उनी भन्छन्– ‘असहज परिस्थितिमा कसैलाई साथ दिन पाउनु नै मेरो सौभाग्य हो ।’ होमनाथ गिरी कुवेत र इराकमा रहेका हजारौं नेपालीका लागि यो नाम संकटमा परेका बेला सम्झिने पहिलो नाम हो । नेपालमा बाढी, भूकम्प, पहिरो होस् वा खाडी मुलुकमा मृत्यु, भोक, अलपत्र अवस्था, समस्या जहाँ भए पनि उनले टाढाबाट पनि आफ्नो कर्तव्य नबिर्सने आत्मीयता देखाउँदै आएका छन् ।
कुवेतमा कोही नेपालीको दुर्घटनामा परेर मृत्यु भयो भने सम्बन्धित निकायले पहिला सम्झिने व्यक्ति उनी नै हुन् । नेपाली संघसंस्था, स्थानीय प्रशासन र यहाँसम्म कि नेपाली दूतावाससमेत उनलाई संकटमोचकका रुपमा अगाडि राख्छन् । नेपाली दूतावासको सहकार्यमा कुवेतमा ज्यान गुमाएका नेपालीको शव स्वदेश फर्काउने कार्यमा होमनाथको भूमिका सबैभन्दा प्रमुख रहँदै आएको छ । यस्तो काममा उनी आर्थिक मात्र होइन, प्रशासनिक समन्वयमा पनि उत्तिकै सक्रिय हुन्छन् । कुवेतजस्तो इस्लामिक देशमा गैरमुस्लिमको अन्तिम संस्कारको वैधानिक विकल्प छैन । यदि मृत्यु हुने व्यक्ति वैधानिक कामदार भए भने कम्पनीले खर्च बेहोर्छ । तर, अवैधानिकरुपमा बस्ने नेपालीको मृत्युपछि भने खर्च उठाएर शव नेपाल पठाउनु निकै चुनौतीपूर्ण हुन्छ । यही चुनौतीमा होमनाथले सामुदायिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण दिएका छन् ।
दाता मात्र होइन, सहारा पनि घर फर्किन चाहने, तर टिकट नहुने नेपालीहरुलाई पनि उनले भुल्दैनन् । प्रतिमहिना सरदर ३–४ जनाको हवाई टिकट उनी आफैंले बेहोर्छन् । कुनै संघसंस्था नभईकन, कुनै प्रचारबिना– सिर्फ मानवीय मूल्य र अपनत्वको भावनाले । इराक र कुवेतमा अलपत्र परेका सयौं नेपालीहरुको उद्धारमा पनि उनले मुख्य भूमिकामा काम गरेका छन् । यो काम उनको आफ्नो काम होइन, उनी सरकारी कर्मचारी पनि होइनन् । न त उनमा यो काम गर्नका लागि कुनै औपचारिक दायित्व रहेको छ । तर, उनले यो काम वर्षौंदेखि निरन्तर गरिरहेका छन् । पछिल्ला वर्षहरुमा घरेलु कामदारका रुपमा धेरै नेपाली महिलाहरु कुवेत पुगेका छन् । तर, केही नेपाली महिला श्रम शोषण, तलब नपाउने, दुव्र्यवहार र सम्पर्कविहीन अवस्थाको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुको पहिलो फोन पुग्ने व्यक्ति पनि होमनाथ नै हुन् । उनले दूतावाससँग समन्वय गरेर महिलाहरुको उद्धार, आवास, उपचार र स्वदेश फिर्र्तीसम्मका काम आफैं सक्रिय भएर गरेका छन् ।
कोभिड महामारीमा बने ‘जीवनदाता’ सन् २०१९ को कोभिड महामारीले खाडी मुलुकका कामदारहरुलाई सबैभन्दा ठूलो असर पु¥यायो । हजारौं नेपाली कामविहीन, आम्दानीविहीन र बसोवासविहीन भए । यही बेलामा होमनाथ गिरीले आफ्नो कम्पनीलाई ‘सेन्टर अफ होप’ बनाइदिए । दैनिक १०० जनासम्मलाई महिनौंसम्म खाना खुवाए, आवासको व्यवस्था गरे । घर भाडा तिर्न नसक्ने नेपालीहरुलाई फ्री सेल्टरमा राखे ।
कम्पनीको उच्च पदमा पुगेकाले उनले कुवेती प्रशासनसँग सिधा समन्वय गर्दै सयौं नेपालीको उद्धार, परीक्षण, औषधि र सुरक्षित फिर्तीको व्यवस्थासमेत गरे । यस्तो काम गर्ने सरकारी संयन्त्र थिएनन्, त्यसैले गिरी आफैं अघि सरे । इराकका नेपाली कामदारहरुका समस्या हेर्ने जिम्मेवारी पनि कुवेतस्थित नेपाली दूतावासकै भएकाले गिरी इराकमा फसेका नेपालीको पनि जीवनरक्षाका लागि पनि खटिने गरेका छन् ।
कोभिडको बेलामा मात्र इराकबाट झण्डै ५० नेपालीको उद्धारमा उनको भूमिका प्रमुख रह्यो । उनीबारे थाहा पाएका अधिकांश नेपालीले एउटै कुरा भन्छन्, ‘हामीले गाह्रो पर्दा कसैको नम्बर बुझ्नुपरेन, सबैले एउटै नाम दिए, गिरी सर ।’ धेरैपटक कुवेतका अस्पताल, थानामा फसेका, वा काम पाएका तर तलब नपाएका नेपालीहरुलाई दूतावासले नभ्याए पनि होमनाथ गिरी एक्लैले सम्हालिरहेका हुन्छन् ।
कुवेत, मध्यपूर्वको एउटा शान्त, कानूनी रुपले कडाइ गरिएको देश, जहाँ अन्य धेरै इस्लामिक राष्ट्रसरह रक्सीको सेवन, बिक्री र ओसारपसार पूर्ण रुपमा निषेध गरिएको छ । तर, यथार्थ यो पनि हो, गोप्य तरिकाले कच्चा पदार्थ ओसारपसार गर्ने र घरेलु मदिरा उत्पादन गर्ने गिरोह बेला–बेलामा सक्रिय भइरहन्छ । चिन्ताको कुरा के छ भने यस्ता गिरोहमा नेपाली कामदारहरुलाई अघि सार्ने प्रवृत्ति बढ्दो छ । कानूनी चेतनाको अभाव, भाषा नबुझ्ने कमजोरी र आर्थिक लोभका कारण धेरै नेपाली अनजानमा आपराधिक जालोमा फस्ने गरेका छन् ।
यही समस्यालाई देखेपछि होमनाथ गिरीले केवल समस्या देखेर चुप बस्ने होइन, समाधानतर्फ सक्रिय हुने निर्णय गरे । उनले कुवेतमा जनचेतनामूलक अभियान सुरु गरेका छन् । जहाँ नेपाली कामदारहरुलाई कुवेती कानुनको जानकारी दिइन्छ, रक्सीको निषेधको अर्थ बुझाइन्छ र आपराधिक गिरोहबाट कसरी जोगिने भन्ने विषयमा सरल भाषामा बुझाउने काम गरिन्छ । निशुल्क कानूनी परामर्श दिइन्छ । जब कोही नेपाली रक्सीसम्बन्धी मुद्दामा फस्छ ।
उनी कम्पनी, प्रहरी प्रशासन र नेपाली दूतावाससँग समन्वय गरेर त्यस्ता व्यक्तिलाई न्यूनतम सजाय वा उचित प्रक्रियामार्फत उद्धार गर्न सक्रिय हुन्छन् । ‘धेरै नेपाली यस्ता छन्, जो आफ्नो गल्ती नबुझीकन मात्रै हैन, कसैले फसाएर पनि कारबाहीमा पर्छन्,’ उनी भन्छन्– ‘कानुनी जानकारी नहुनु नै ठूलो दुर्भाग्य हो । त्यसैले चेतना र परामर्श दुवै आवश्यक छन् ।’
मानव–सेवाको आत्मगौरव होमनाथको यिनै उदाहरणीय कार्य मानवीय सेवा, कानुनी चेतना, आप्रवासीको सुरक्षा लगायतका कारण उनी कुवेतमा नेपाली समुदायबीच सम्मानित व्यक्तिका रुपमा स्थापित भएका छन् । नेपाली दूतावास, कुवेती निकाय र विभिन्न संघसंस्थाले उनलाई पटक–पटक सम्मानित गरेका छन् । उनीसँग दर्जनौं सम्मानपत्र छन्, तर त्यो देखाउन कहिल्यै उनी इच्छुक छैनन् । उनी भन्छन्, ‘कसैको दुःखमा साथ दिन पाउनु सम्मानपत्रभन्दा धेरै ठूलो कुरा लाग्छ मलाई । आफैंलाई काम लाग्नेभन्दा अरुलाई काम लाग्ने कार्य गर्नु नै जीवनको साँचो अर्थ हो ।’ नेपालमै पनि उनले विभिन्न निकायबाट प्रशंसा–पत्र र सामाजिक कार्यका लागि सम्मान पाएका छन । तर, त्योभन्दा ठूलो पुरस्कार उनले आफैंलाई दिएका छन्, आत्मसन्तुष्टि र मानव–सेवाको आत्मगौरव । संघर्षबाट उठेका होमनाथको भूमिका केवल उद्धारमा सीमित छैन, आफ्नो कर्मभूमिमा बसेर कर्म मात्र होइन, कर्तव्य, संवेदना र सामाजिक उत्तरदायित्वको अनुकरणीय मिसाल बनिरहेका छन् । उनको जीवन कथा हजारौं नेपाली युवाका लागि प्रेरणा हो । जहाँबाट उनी हिंडे त्यो गाउँ, त्यो संघर्ष, त्यो अभाव, यही सब उनको ऊर्जा बन्यो । गिरी केवल सफल व्यावसायिक व्यक्ति मात्र होइनन्, संकटमा परेका नेपालीका लागि एउटा भरपर्दो काँध, आत्मीय साथी र उज्यालो विश्वास पनि हुन् । उनी विदेशमा बसेर पनि आफ्ना देशका नागरिकको दुःख–सुखमा साथ दिन सक्ने नेपालीपनको असल प्रतीक हुन् ।
एउटा देशको भाषा र लिपि अर्को देशका मान्छेले सहजै बुझ्न र पढ्न नसक्नु स्वाभाविकै हो । सबै सर्वविज्ञ हुन सक्दैनन् । त्यसैले अरुको भाषा नबुझ्ने मान्छे लाटोसरह नै हुने रहेछ भने त्यहाँको लिपि नजान्ने त झन् अन्धोसरह नै हुने रहेछ । यस्तै अनुभव यसपालिको विदेश भ्रमणका क्रममा स्वयम् आफंैले व्यहोर्नु प¥यो । यहाँ प्रस्तुत गर्न खोजेको काठमाडौंदेखि क्यानाडाको विनिपेगसम्मको यात्राको क्रममा बाटोमा भोगेको विषयवस्तु हो । खासमा कोरियाको सिओलस्थित एयरपोर्टको रेष्टुरेण्टको कुरा हो ।
उडान तालिकाअनुसार करिब ६ घण्टामा कोरियाको सिओलस्थित आईसीएन विमानस्थल पु¥याउने अनुमान छ । जहाजले जमिन छोडेर आकाशतर्फ उड्दै थियो । विमान कर्कश ध्वनिका साथ ढलपल गर्दै अक्कासिँदै गर्दाखेरी एक झट्का तलतिर स्वाट्ट झरे । लगभग सबैजना झस्याङ्ग हुन पुगे । त्यसले गर्दा मनमा केही अप्ठ्यारापन उब्जाइदियो । अनि सम्झें आजभन्दा लगभग २५ वर्षजति अगाडिको कुरा । त्यसबेला म परराष्ट्र मन्त्रालय (२०५२–२०६२ सम्म)मा कार्यरत थिएँ । मन्त्रालयका कर्मचारीहरु विदेशस्थित दूतावासहरुमा सरुवा भएर जाँदा प्रायःजसोले कोरियन एयरको उडान मन पराउँदैनथे । अरु जहाजको तुलनामा यसको टिकट सस्तो भए तापनि जहाज राम्रो मान्दैनथ्यो । तत्कालीन एकजना उपसचिवका अनुसार कोरियन एयरको जहाज अलि पुरानो र ठूलो आवाज हुने भएकाले प्रायः जान मान्दैन भनेको कुरा सम्झें ।
यतिखेर जहाज उडानको गतिविधि नियाल्दा मलाई पनि त्यस्तै लागिरह्यो । मनमा यस्तै–यस्तै कुरा खेलिरहेको थियो । झन् एक झट्का तल झरेकाले त मनमा चिसो नै गढिदियो । आखिर जहाजले लिनुपर्ने उचाइँ लिइसकेपछि केही भएन र मन शान्त भयो । चालकदलका सदस्यहरुको व्यवहार मिलनसार र सराहनीय लाग्यो । उनीहरुको सेवा र सहयोगप्रति आभारी नै छु ।
रातिको उडान भएकाले बाहिरको दृश्यको बारेमा अत्तोपत्तो भएन, एकैचोटी बिहानीपख सिओल हवाई मैदानमा जहाजको पाङ्ग्राले धरती स्पर्श गरेपछि मात्र थाहा भयो कोरिया पुगिएछ । जहाज आकाशमा उडिरहँदा र धरतीमा टेक्दाको अवस्था र अनुभव नै बेग्लै ।
जहाज आकाशमा उडिरहँदा मनमा अनेक किसिमका तर्कनाहरु ओइरिरहे । मानौं आफैंले जहाज उडाइरहेको हो कि जस्तो पनि लाग्ने । अझ देवताहरु पुष्पविमान चढेर यताउति गइरहन्छन् भन्ने कुरा गुरुहरुको प्रवचनमा सुनेको थिएँ । सायद त्यसकै नमूना त होलान् यी जहाज पनि । आखिर मान्छे पनि देवतासरह नै भइसकेका रहेछन् । यति ठुलो विमानहरु तयार गरेर उडाउन सक्ने । अनि मनमनै भन्छु– म पनि मान्छे, यी विमान बनाउने पनि मान्छे ।
फेरि मनले सोच्न पुग्छु, देवता बस्ने स्वर्ग भन्ने ठाउँमा पनि यही जहाजबाट पुग्न सकिएला कि । जान पाए हुन्थ्यो जस्तो पनि लाग्ने । तर, के हुन्थ्यो ? म कसरी जान सकुला र स्वर्ग । स्वर्ग त कता हो कता ? हाम्रो गन्तव्य नै फरक । हुन त जीवनयात्राको गन्तव्य पहिले नै निर्धारण भइसकेको हुन्छ । अहिले सोचेर मात्र कहाँ हुन्छ र ! जब हामी कोरियाको सिओलस्थित आईसीएन एयरपोर्टमा पुग्यौं र जहाजबाट उत्रियौं । त्यतिखेरको स्थानीय समय बिहानको ५ः१५ बजिरहेको थियो । एकछिन उभिएर एयरपोर्टको वातावरण नियालें । सबैलाई हतार नै भएको जस्तो लाग्छ । माहोल नै बेग्लै देख्यौं । बाह्य जगत उज्यालो भएको थिएन । तापनि कोही कसैलाई फुर्सद भएझैं लाग्दैन । सबैलाई आ–आफ्नै गन्तव्यमा पुग्न हतारो छ ।
हुन त हामी चढेको जहाजमा धेरै नेपालीहरु थिए । उनीहरु कोही न्यूयोर्क, डालास, आलाबामा, मिनियापोलिस र अन्य ठाउँहरुमा जान लागेका रहेछन् । अरु सेक्टरको हवाई यात्राभन्दा यो कोरिया सेक्टर (रुट)को भाडा अलि सस्तो पर्छ । तर, ट्रान्जिटमा भने अत्यासलाग्दो किसिमले बस्नुपर्ने ।
नढाँटीकन भन्नुपर्दा हामीले पनि यही कारणले यो सेक्टर रोजेका हौं । हाम्रो अर्को उडान १५ घण्टापछि मात्र हुने समय तालिका भएकोले यहाँ ट्रान्जिटमा बस्नुपरेको हो । कोरियाबाट सिधा क्यानाडाको विनिपेग उड्ने जहाज रहेनछ । त्यसैले अमेरिकाको मिनियापोलिस भएर जानपर्ने भएकाले डेल्टा विमानको टिकट लिएका छौं । मिनियापोलिसमा पनि ४ घण्टा ट्रान्जिटमा बसेर डेढ घण्टाको हवाई यात्रापश्चात् मात्र क्यानाडाको विनिपेग विमानस्थल पुग्ने रहेछ ।
कोरियामा लामो समय ट्रान्जिटमा बस्दा अत्यास लाग्नु स्वाभाविकै हो । त्यसैले अमेरिकामा कर्मथलो गरिबसेका विनय (छोरा)ले बाबुआमाप्रतिको सदाशयतामा एयरपोर्टस्थित ट्रान्जिट होटलमा कोठा बुक गरिदिएछ । होटलमा बस्न पाएकाले हामीलाई खासै अत्यासलाग्दो अवस्था सिर्जना भएन । बाबुआमाप्रति छोराले देखाएको कर्तव्य सम्झेर हामी खुसीले गद्गद् भयौं ।
सिओलस्थित यो आईसीएन एयरपोर्ट विशाल क्षेत्रमा फैलिएको रहेछ । यसको तुलनामा हाम्रो काठमाडौंस्थित एयरपोर्ट त कति सानो कति । यहाँ ड्युटी फ्री सामानका पसलहरु पनि कति राखेका हुन् । कसले मात्र किनेर लाने हुन् जस्तो लाग्ने । एकसे एक उस्तै पसल । मेरो नजरमा गरगहना, शृङ्गार, मदिरा, लुगाफाटाका पसलहरु नै सबभन्दा आकर्षक लाग्यो ।
हुन त अरु सामानका पसलहरु पनि नभएको होइन । अझ चिया कफीको साना पसलदेखि ठूला फास्ट फूड पसलसम्म पनि नभएको होइन । तर, सजावट र आकर्षणले गर्दा पहिलो नजर नै तिनै महँगा पसलमा पर्ने ।
जहाजबाट निस्कनासाथ हामीलाई इलेक्ट्रिक ह्विलचेयरमा राखेर गेट नं. २४६ नजिक पु¥याए । मिनियापोलिस जानका लागि यही गेट प्रयोग हुने रहेछ भन्ने थाहा भयो । कोरियाली ह्विलचेयर चालकले संकेत गर्दै उडान समय नभएसम्म यहीं बस्नु भने । हामीलाई यही राख्ने देखेर मैले हाम्रो त होटल बुक भएको छ भनेर मोबाइलमा होटल बुक भएको मेल देखाएँ ।
उनले पुनः ह्विलचेयरमा बस्न संकेत ग¥यो । हामीलाई लिएर चालकले अलि पर लिफ्ट नजिक पु¥याए । होटलबाट पठाएको मेलअनुसार मलाई जानकारी थियो । चौथो तलामा होटल छ भनेर । ऊ पनि ह्विलचेयर त्यही राखेर लिफ्टमा हामीसँगै आयो । उसले ट्रान्जिट होटलको काउण्टरसम्म पु¥याइदियो । कति सहयोगी भावका ह्विलचेयर चालक । उसले निर्वाह गरेको कर्तव्यप्रति हार्दिक नमन । अझ बेलुका ५ः०० बजे यहीं लिन आउँछु भनेर फर्कियो ।
File Photo
हामी होटलमा १३ मार्च, २०२५ को बिहान लगभग ५.४५ बजे (स्थानीय समय अनुसार) पुगेका थियौं । होटलको काउण्टरमा बसेकी (कोरियाली केटी) कर्मचारीलाई हाम्रो कोठा बुक गरेको प्रमाण देखाएँ । तिनी मुस्कुराउँदै अहिले ८ः०० बजेको छैन भनेर घडी देखाइन् । हुन पनि हामी होटलमा बस्ने समय बिहान ८ः०० बजेदेखि बेलुका ५ः०० सम्मको हो । त्यसैले होटलको काउण्टर अगाडिको प्रतीक्षालयमा आठ बजेको समयलाई कुरेर बस्यौं । त्यही बीचमा हामी एकछिन शौचालयतिर जान निस्केका थियौं । फर्कंदा त त्यहाँका सबै कुर्सीहरु भरिसकेका रहेछन् ।
कतै बस्ने ठाउँ नपाएकोले काउण्टर वरतिरको गोलमेच (सायद अध्ययन कक्ष हो कि ?) कुर्सीमा केही बेर बस्न थाल्यांै । सायद त्यहाँ बस्न नमिल्ने हो कि अथवा हाम्रो अप्ठ्यारापन बुझेर हो काउण्टरमा बसेकी तिनै केटीले हामीलाई बोलाउन आइन् । आठ बज्न अझै २०–२५ मिनेटको समय त बाँकी नै थियो । तैपनि हामीलाई कोठाको साँचो दिइन् । अनि ट्रान्जिट होटलको कोठामा आराम गर्दै अर्को उडानको लागि हामीले बचेखुचेको समय धकेलिरह्यौं ।
कति व्यस्त एयरपोर्ट । कोही आइरहने । कोही गइरहने । सबैलाई आफ्नै गन्तव्यमा पुग्न हतार । सलह जस्तै सबै यताउता सल्बलाइरहेका थिए । कसैलाई फुर्सद छैन । हामी पनि त्यही हुलमा मिसिएर आएका थियौं । कान्छी छोरीको परिवार भेट्ने उद्देश्यले अन्जानको गन्तव्य पछ्याउँदै यात्रारत थियौं । नवीनतम ठाउँको अनुभव संगाल्दै बिरानो देश (कोरिया)मा पुगिरहेका थियौं । बिरानो देशको रहनसहन, खानपान र भेषभूषा नै बैग्लै । यात्रुहरुप्रति गरिने आदर सत्कार नै अलग्गै । हाम्रो देशको भन्दा भिन्नै अनुभव ।
एयरपोर्टस्थित जनसम्पर्क हुने अधिकांश ठाउँ (पसल÷होटल÷रेष्टुरेण्ट आदि)का काउण्टरमा हँसिली मुद्रामा केटीहरु बसिरहेका भेटिन्छन् । झट्ट हेर्दा मूर्तिकारले बान्की मिलाएर मिहिनेतका साथ सुन्दर मूर्ति तयार गरेर राखे जस्तै लाग्ने । गोरी अनुहारमा मिल्दो सामान्य सौन्दर्य । तिनीहरु मुस्कुराउँदा पनि मोती नै बर्सिने हुने जस्तो लाग्ने । लहरै मिलेका सेता दन्त । कति आकर्षक । अझ आँखामा कोरिएका मसिनो धर्सोको गाजल कति सुहाएको । सुन्दरी प्रतियोगिताका लागि बसेकी हुन् कि जस्तो लाग्ने ।
तिनीहरुको काउण्टर अघिल्तिर कोही पुग्नासाथ मन्द मुस्कानमा अभिवादन गर्ने । कति शिष्ट कोरियाली संस्कार । बोलीबचनमा कति मिठास । आफ्नो व्यवसाय सुहाउँदो भेषभूषा र आभूषण पहिरिएका सुन्दरीहरुको आदर्शवाक्य कति मिठास । हुन त तिनीहरुको व्यावसायिक धर्म नै होला मुस्कुराउनु, अभिवादन गर्नु र आदर्शवाक्य बोल्नु । कति मीठो पाराले अंग्रेजी र कोरियाली भाषाबाट अभिवादन गर्ने । तर, आफूलाई भने राम्ररी अंगे्रजी बोल्न नै कठिन, कोरियनको त कुरै छाडौं । त्यसैले ठाउँ–ठाउँमा अप्ठ्यारो व्यहोर्नु परेको यथार्थ हो ।
होटलमा आराम गरेर बस्न पाएकाले समय ढल्कँदै गइरहेको पत्तो नै भएन । बिहान ८ः०० बज्नुअघि नै होटलमा बसेका थियौं । घडीले १२ः०० बजेको समय सूचना दिइरहँदा एकछिन त पत्यार नै लागेन । आखिर समय सूचक न हो, कहाँको पर्खेर बस्दो हो घडी ? उसको काम नै अघि बढ्ने हो । घडीको समय पछ्याउँदै रेष्टुरेण्टतर्फ जान कोठाबाट निस्कियौं । नजिकैको कोरियन फूड कोर्ट (रेष्ट्रेण्ट)तिर लाग्यौं ।
रेष्टुरेण्टमा काउण्टर अगाडि मानिसहरु लाइन लागेको देखेर अचम्म लाग्यो । एकचोटी लाइन लागेका मानिसहरुको अनुहार सर्सर्ती पढें । अधिकांश अनुहार कोरिया, चीन र थाई नागरिक हुन् कि जस्ता लाग्ने । खानेकुरा अर्डर गर्न लाइन लागेका रहेछन् । खानेकुरा अर्डर गर्दै बैंक कार्डबाट पैसा तिरिरहेको देखें । अझ अर्कोतर्फ स्वचालित मेसीनमार्फत आफैं अर्डर लिष्ट बनाएर बैंक कार्डबाट भुक्तानी गरे जस्तो पनि लाग्यो । त्यो दृश्य हेर्दाहेर्दै आफू त अक्क न बक्क । आफू त न अंग्रेजी राम्ररी बोल्न सक्ने, न त नयाँ प्रविधिमा अभ्यस्त । कसरी अर्डर गर्ने ?
अझ आफूसँग भने नेपाल र भारतमा मात्र चलाउन मिल्ने बैंक कार्ड थियो । हुन त आफूसँग अमेरिकी डलरका केही नोट खल्तीमा नभएको होइन । तर, यहाँ डलरमा कारोबार गर्दा फिर्ता आउने पैसा डलरमै पाइने हो–होइन थाहा छैन । कोरियन पैसा फिर्ता आए के गर्नु ? अन्त चल्ने हैन होला । अल्मलिएँ केहीबेर । तर, खाना त खानु नै थियो ।
कुन खाना कसरी अर्डर गर्नुपर्ला भनेर काउण्टर माथितिर झुण्ड्याइएको मेनु (खानेकुराको विवरण र मूल्यसूची)मा ट्वाल्ल परेर हेरिरहें । मेनुमा अंग्रेजी र कोरियाली भाषा लिपीबाट लेखेको भएर अलिअलि बुझें । राम्ररी बुझ्न सकेन । अर्डरअनुसारको बिल तिरेपछि भित्र अर्को काउण्टरबाट खानेकुरा उपलब्ध हुने रहेछ । सेल्फ सर्भिस सिस्टमको रेष्टुरेण्ट रहेछ । तर, हामीलाई मिल्ने दालभात जस्ता खानेकुरा पाउने सैकेत देखिनँ । अब के गर्ने ? झन् अन्योल थपियो ।
हुन त विनयले हामीलाई मिल्ने खाना पाउन सक्ने भनेर राज इण्डियन रेष्टुरेण्टको नाम नदिएको होइन । तर, त्यो रेष्टुरेण्ट एयरपोर्ट बाहिर पो रहेछ । एयरपोर्ट बाहिर जान हामीसँग कोरियन भिसा नभएकाले बाहिर जाने कुरै भएन । त्यसैले जसोतसो यही फूड कोर्टको खानेकुराबाट काम चलाउने निधो ग¥यौं ।
हामी यहाँ आउनुभन्दा केही दिनअघि मात्र मच्छेगाउँ निवासी कृष्णकुमार श्रेष्ठ (आफन्त)ले दक्षिण कोरियाको विकासक्रम तीव्र गतिले अघि बढिरहेको मुक्तकण्ठ सुनाएका थिए । उनी केही महिना अघि मात्र तालिमको सिलसिलामा दक्षिण कोरिया पुगेर फर्केका हुन् ।
उनका भनाइअनुसार कोरियाका अधिकांश ठाउँमा स्वचालित मेसिनको माध्यमबाट स्वयम् सेवा गर्ने, पसलहरुमा सामान किन्दा स्वचालित मेसिनमा आफंै बिल तयार गर्ने र कार्डबाट भुक्तानी गर्नुपर्ने छ । नगद पनि भुक्तानी गर्न सकिन्छ, तर नगद भुक्तानी गर्दा बाँकी पैसा फिर्ता नआउने समस्या पनि सुनाएका थिए । झट्ट ती कुरा पनि सम्झें । आफूले पनि केही गरी ठूलो नोट मेसिनमा छिराउन प¥यो भने बाँकी पैसा फिर्ता नआउने हो कि भन्ने मनमा कताकता अप्ठ्यारो लागेको पनि थियो । एकछिन घोत्लिएर सोचें । यदि त्यस्तै भयो भने त मसँग भएको अमेरिकी डलरको १०० वा ५० दरका नोटको बाँकी पैसा खेर जाने भो ! यसो फर्केर शान्तासँग साउती गरें ।
‘के गर्ने हो ? सबैले कार्डबाट मात्र पैसा तिरिरहेको छ । हामीसँग यहाँ पैसा तिर्न मिल्ने कार्ड छैन । हामीसँग भएको डलरबाट ति¥यो भने बाँकी पैसा फिर्ता आएन भने के गर्ने ?’’ ‘त्यस्तो हुने भए त भएन नि’, तिनले भनिन् । एकछिन त । आ …..! केही नखाउँ क्यारे भन्ने सोच पनि नआएको होइन । आखिर यहाँ १०÷२० डलरको खाएर बाँकी पैसा त्यसै खेर फाल्नुभन्दा नखानु नै वेश । यस्तैमा मनले धाप मार्दै भनिरहेझैं लाग्यो, ‘स्यावास् ! बिनसित्तै पैसा खेर फाल्ने काम तिमीले नगर । पैसा कमाउन कति गाह्रो छ भनेर तिमीलाई भनिरहन पर्दैन । तिम्रो साथमा केही खानेकुरा भए त्यसैबाट काम चलाउ । मनलाग्दी खर्च नगर ।’ हुन त, हामीसँग बिस्कुट र अरु केही ड्राइफूड नभएको होइनन् तर त्यतिले पुग्ला नपुग्ला । भोक त मस्तैले लागेको छ ।
मनमा अर्कै कुरा उब्जिन्छ । भोक भनेको भोक नै हो । भोकको अगाडि कसैको केही लाग्दैन । सितिमिति भोकको सामना कसैले गर्न सक्दैन । भित्री मनले पनि भनिरहेछ ‘तिमीलाई भोक ठूलो कि डलर ? खल्तीमा पैसा राख्दैमा भोक मेट्दैन । केही खानेकुरा अर्डर गर्नु र खाइहाल । भोकभाकै यात्रा नगर ।’ दुबै कुरा ठीकै हो । अब के गर्ने ? दोधारमा परियो । अब परेन फसाद? जहाज उड्ने समय पनि निकै बाँकी छ, जहाजमा दिएको खानाले पुगिहाल्छ भनेर चित्त बुझाउन पनि सकिन्न । यसरी अल्मलिएर सोचमा डुबिरहँदा काउण्टर अगाडि लाइन बसेका सबै गइसकेका थिए । सायद सबैले आफ्नो अर्डर सकाएर गएका होलान् । म त झस्याङ्ग नै भएँ । काउण्टरवालाले मलाई ट्वाल्ल परेर हेरिरहे जस्तो लाग्यो । त्यहाँ टाँङ्गिएका मेनुतर्फ आँखा डुलाइरहें । खानेकुराको समुचित नाउँ अंग्रेजी अक्षर भएकोले पढ्न सकें । तर, त्यसअन्तर्गतको अन्य परिकारको नाउँ भने कोरियाली भाषा लिपीको भएर केही बुझ्न सकेन ।
प्रायःजसो खानामा पोर्क र बीफको परिकार । त्यस्तो खाना त आफूलाई हुँदै भएन । खानेकुराको मूल्य भने अंग्रेजीमा लेखेको भए तापनि कोरियाली मुद्राको रहेछ । हामीले खोजेको दालभात त कतै लेखेको पाइएन । निकै अलमलमा परें । नौलो ठाउँ र परिवेशमा भाषाको कारण लाटो भएको एकातिर जिउँदै छ । अर्को झन् कोरियाली लिपिको मेनु देखेर त अन्धो नै भएँ । जे पर्ला अर्डर गरिहालौं जस्तो पनि लाग्यो । तर, फरकपनको खानेकुरा आउने हो कि भनेर अर्डर गर्न सकेन ।
एकछिन त अक्क न बक्क नै परें । हुन त नयाँ ठाउँ र परिवेशमा केही नयाँ कुराको अनुभूति बटुल्न पाइरहेकोमा मनमा कताकता उत्साह र उमङ्ग भने जग्मगाइरहेछ । तर, के गर्नु ? आफूले खोजेको कुरा नपाएपछि । ‘हिस्स बुढी खिस्स’ भनेजस्तै भएँ । केही त खानैपर्ला भनेर त्यहाँ टाँगिएको मेनुमा बारबार आँखा डुलाउँछु । ज्यान जाला कोरियन लिपी बुझ्न सकेको होइन । अधिकांश खानेकुराको परिकार कोरियाली मात्र पाउने भएर फसाद । त्यसमा पनि पोर्क (बंगुरको मासु) र बीफ (गाईको मासु)को परिकार । कतैकतै मनले कताकता गुन्गुनाइरहेछ । ‘यात्रा त हो, जहाँ जे उपलब्ध हुन्छ हसुरिहालौं ।’ तर, अन्तरमन मानिरहेको छैन ।
काउण्टरमा भने मान्छेहरु आइरहेका छन्, गइरहेका छन् । अर्डर गरी भित्र पसेकाहरु भने खानेकुरा मज्जाले चपाइरहेका थिए । आफू भने हेरेको हेरै । त्यत्रो फराकिला ठाउँमा लामबद्ध छरिएका मेच टेबुलहरु प्रायः सबै भरिएका थिए । अझ कोही आउँदै थिए । कोही जाँदै थिए । मानौं कुनै बिहे भोजको कार्यक्रम भैरहेको छ । आखिर रेष्टुरेण्ट न हो खाइसकेपछि केका लागि बसिरहन्छ र । हामीले पो खान नै पाएको छैन, भित्र केका लागि पस्ने ?
आखिरमा एउटा उखान सम्झना आयो ‘जहाँ समस्या त्यहाँ उपाय ।’ भने जस्तै काउण्टर अगाडि निकै बेर घोत्लिएर मेनु हेर्दै थिएँ । आखिर एउटा कुनामा चिकेनको परिकार लेखेको देखें । धन्य ! खिस्रिक भएको मन तीन हात उफ्रयो । चिकेनवाला खानेकुरा खान पाउने भएर । त्यही अर्डर गर्ने निधो गरें । ती खानेकुरा चाहिँ बर्गर हो । पल्छितिर फर्केर शान्तालाई सोधें । ‘यहाँ भात नपाउने रहेछ । बर्गर पाउने रहेछ, खाने हो ?’ तिनले बर्गर भनेको बुझेनछ । उत्निखेरै ‘बर्गर त नखाने । भात पाउँदैन र ?’ भनिन् । ‘भात नपाउने रहेछ’ भनें । ‘त्यसो भए बम (बोन ब्रेड) काटेर तल माथि राखेको छ नि ऊ….. त्यो छ नि !’ भनेर मेनुको कुनापट्टि लेखेको चिह्न देखाइन् ।
‘बाबु (विनय)ले त्यस्तै ल्याएर ख्वाएको हैन ? मलाई मनपर्छ भनेकी थिएँ नि त्यही लिए हुन्छ नि’ भनिन् । मैले पनि त्यही बर्गर लिन खोजेको थिएँ । ‘त्यही बर्गर लिने त हो नि’ भन्दा तिनी दङ्ग परिन् । बर्गर खानेकुराले बितेको कुरालाई सम्झाइदियो । सन् २०१६ मा हामी पहिलो पटक अमेरिका पुगेका थियौं । त्यसबेला भ्रमणको सिलसिलामा शिकागोबाट न्यूयोर्क, वाशिङ्टन डिसी र एटलाण्टा पुगेका थियौं । त्यसबेला बाटोमा भात खान पाउने भनेर इण्डियन होटल खोज्दै गएका थियौं । शान्ताले अरु खानेकुरा मन पराउँदैनथी । बरु भोकै बस्न तयार हुने यताउतिको खानेकुरा मन नपराउने । त्यतिखेर विनयले आमालाई खाना खुवाउन अनेक तरिका अपनाउनु परेको थियो ।
यस्तैमा एकदिन एटलाण्टाको ओलम्पिक पार्कमा घुम्दै थियौं । पार्कमा विश्राम गरिरहँदा विनयले हामीलाई भोक लागेको होला भनेर बर्गर ल्याइदियो । खाँदाखाँदै विनयले ‘यो कस्तो लाग्यो माँ ?’ भनी सोधे । शान्ताले तुरुन्तै जवाफ फर्काए ‘यस्तो भए त मन पर्छ नि मलाई’ भनिन् । अनि विनयले ‘माँ पनि …. ! यस्तो खानेकुरा मनपर्छ भनेर पहिल्यै भन्नु पर्दैन ?’ भने । हामी सबै हाँस्यौं । अहिले त्यही सम्झेर बर्गर अर्डर गर्ने निधो गरें ।
खानेकुरा त मिल्यौ भनौं । बिल तिर्न फेरि उही समस्या आउने देखियो । आफूसँग अमेरिकी डलर छ । आफूलाई अंग्रेजी राम्ररी बोल्न पनि नआउने । कसरी के भनेर अर्डर गर्ने ? द्विविधामा नै छु । काम चलाउ दुईचार टुटुफुटेका अंग्रेजी शब्द कनीकुथी बोल्न नसक्ने त होइन । त्यसैले चिकेन आइटमको बर्गर मगाएँ । आफूसँग अमेरिकी डलर मात्र भएको कुरा पहिले नै जानकारी गराएँ । उसले ‘ओके नो टेन्सन !’ भन्यो।
धन्य ! बर्गर अर्डर गरेर ५० डलरको नोट थमाएँ । उसले बिलको रकम कटाएर बाँकी रकम डलर नै फिर्ता ग¥यो । २ वटा बर्गरको बिल रकम २७ हजार कोरियन मुद्रा अर्थात् झण्डै १९ डलर । यसको मतलब नेपाली पैसाभन्दा सस्तो रहेछ कोरियन पैसा । कोरियन पैसा फिर्ता गरेको भए अर्को समस्या पर्ने । बिलको पैसा तिरेपछि अलि पल्तिर कुनाको काउण्टरमा जान इशारा गरे । भित्रतिर जाँदा पो थाहा भयो, फरक खाना समूहका लागि अलग्गै भान्साको काउण्टर रहेछ ।
बर्गर लेखेको काउण्टर त अलि परै रहेछ । त्यहाँ पुगेर कागज देखाएँ । ‘५ मिनेट पर्खनू’ भनेपछि अगाडिको खालि सीटमा बस्यौं । एकैछिनमा माइकबाट नम्बर भन्यो । आफूसँग भएको बिलको साथमा दिएको कागजमा के लेखेको छ भनेर पल्टाएर हेर्दा पो थाहा भो, त्यो माइकबाट बोलेको नम्बर हाम्रै परेछ । नम्बर भएको त्यो कागज देखाएँ, अनि हाम्रो खानेकुरा अगाडि सारिदिए । फरक परिवेशको भाषा र लिपि नजान्नाले केही अप्ठ्यारो परिस्थितिको सामाना गर्न पुगें ।
यस्तै २०५८ सालतिर अफिसको कामको सिलसिलामा म्यानमार भ्रमण पुगेको थिएँ । त्यहाँ पनि बर्मेली भाषाको अनभिज्ञताले गर्दा बाटोमा सानोतिनो अप्ठ्यारो भोग्नु परेको थियो । खासै ठूलो समस्या भने होइन । म्यानमार (बर्मा)को यांगून (रंगून) भ्रमणकै सिलसिलामा एकपटक यांगूनबाट बर्माको पुरानो राजधानी माण्डलयसम्म जान रात्रीबस प्रयोग गरेको थिएँ । त्यहाँसम्मको बाटोको दूरी ३८९ माइल टाढा पर्ने रहेछ । बाटोमा खाना खान बस रोक्दा बर्मेली भाषा नजान्नाले केही अप्ठ्यारो महसुस गर्नु परेको थियो । आफूले केही अंग्रेजी शब्द बोल्दा होटलका कामदारले नबुझ्ने । उनीहरुले भनेको आफूले नबुझ्ने ।
त्यसबेला त्यहाँ भोकै बस्न परेको थिएन । खाना खान होटलमा बस रोक्नुभन्दा पहिला नै सबै टेबुलमाथि बाटाभरि भात राखेर माथिबाट थालले छोपेर राख्ने गर्दा रहेछन् । भात खानेहरुले त्यही बाटामा राखेको भात झिक्दै आफूलाई चाहिने मात्रामा थपीथपी खान्थे । दाल, तरकारी र अचार भने कामदारले अलग्गै ल्याइदिन्थे । माछा, मासु (कुखुरा÷खसी) वा अन्य केही खानेकुरा चाहिएमा अलग्गै अर्डर गर्नुपर्ने । भाषा नजानेकाले त्यस्ता खानेकुरा मगाउन सकिनँ । बाटोमा जातेआते गर्दा सादा खानाकै भरमा पेट भरेको थिएँ ।
त्यही क्रममा माण्डलयबाट अलि उचाइँमा रहेको पिइन्उल्वीन भन्ने ठाउँ (यसलाई बर्माको दार्जिलिङ भन्दा रहेछन् । किनभने पहाडी इलाका भएकाले शीतल हुने ठाउँ रहेछ।)मा गएको थिएँ । त्यतातिरका नेपालीहरुको निम्तोमा गएको थिएँ । त्यहाँ नेपालीहरु धेरै बस्दा रहेछन् । त्यहाँ पुग्दा नेपालकै कुनै जिल्लातिर पुगेको अनुभव भएको थियो ।
त्यहाँसम्म पुग्न माण्डलयबाट ४० माइलको दूरी पार गर्नुपर्ने रहेछ । त्यता जाँदा बाटोमा चियाखाजाको लागि गाडी रोके । मलाई कोक खान मन लागेर कोकाकोला भनेर मागेको त हत्तपत्त होटलवालाले ट्वाइलेट पो देखाइदियो । मैले होइन भनेपछि अलि अंग्रेजी बोल्न सक्ने व्यक्तिले मेरो कुरा सुनेर कोक ल्याइदियो । फिस्स हाँसे म आफैं ।
ट्रान्जिट होटलमा बसेको समय पनि सकिन लाग्यो । बेलुकी ५ः०० बज्नुभन्दा केही मिनेट अघि नै कोठाबाट निस्केर काउण्टरमा साँचो बुझाएँ । हामीलाई ह्विलचेयरवाला आउने भनेकाले काउण्टरमा सोधें । उनीहरु त पहिले नै आएर बसेका रहेछन् । हामीलाई लिएर जहाज लाग्ने ढोका (गेट नं. २४६) निर पु¥याए । लामो प्रतीक्षापछि निर्धारित समय (कोरियाको स्थानीय समयअनुसार बेलुका ७ः३० बजे)मा डेल्टा–डिएल१७० विमान अमेरिकाको मिनिपोलिसको लागि उड्यो । जहाजले उचाइँ लिएर ४१ हजार फिटभन्दा माथिसम्म उडिरहेको थियो, मानौं आकाश नै छुने गरी ।
तर, आकाश त कता हो कता टाढा ? कसरी छुन सकिएला र ? आखिर मनको भ्रान्ति न हो । मेरो मन भने जहाजले लिएको उचाइँभन्दा कैयौं गुणा उचाइँमा उडेको छ । अझ भनौं जहाजको रफ्तारभन्दा कयौं गुणा बढीको रफ्तारमा मनमस्तिष्क दौडिरहेको छ । यस्तैमा जहाज लगभग १२ः३० घण्टाजति उडेपछि अमेरिकाको मिनिपोलिस हवाई मैदान उत्रियो ।
हाम्रो अन्तिम गन्तव्य क्यानाडाको विनिपेग भएकाले यता पनि लगभग ४ घण्टाको ट्रान्जिट समय छ । यताको ट्रान्जिट समय कम भएकाले त्यति अत्यासलाग्दो भएन । अझ भनौं यहाँको केही पसलहरुमा आफूलाई आवश्यक सामान किन्नुपर्दा पनि सजिलै अनुभव गरें । किनभने आफूसँग अमेरिकी डलर भएकोले नगदै भुक्तानी गर्दा पनि केही फरक नपर्ने रहेछ ।
मिनियापोलिस एयरपोर्ट पुगेपछि काठमाडौं एयरपोर्टमा बुझाएको लगेजहरु संकलन गरेर क्यानाडा जानका लागि उतातिर जहाजको लागि राख्नु पर्ने रहेछ । लगेजहरु संकलनका लागि पर्खेर बस्दा हाम्रो चारवटा लगेजमध्येको एउटा मात्र आइपुगेछ । बाँकी तीनवटा आएको देखिएन । अनि लगेज व्यवस्थापनको इन्चार्जसमक्ष कुरा राखें । उनले यता नआएको लगेजको लागि अन्तिम गन्तव्यमा पुगेर त्यतै उजुरी गर्नुपर्छ भने । केही हदसम्म ढुक्क त भएँ । तर, समयमा आउने हो कि हैन ।
अनि अमेरिकाको टेक्ससमा बसिरहेका विनयलाई तीनवटा लगेज यता आइनपुगेको र क्यानाडा पुगेपछि त्यतै उजुरी गर्नुपर्छ भनेको कुरा बताएँ । उनले चिन्ता लिनुपर्दैन, सोधखोज गरौंला । ढिलै भए पनि आउँछ भनेकाले ढुक्क भएँ । हुन त, पहिले छोरी क्यानाडा जाँदा पनि अन्तिम गन्तव्यमा पुग्दा लगेज आएको थिएन रे । सम्बन्धित एयरलाइन्समा लगेज नआएको बारेमा उजुरी दर्ता गरेर आएपछि लगेज आइपुग्नासाथ आफू बसेको ठाउँमा ल्याइदिए रे । त्यसैले ढुक्क नै छु । तर, मनमा भने खुल्दुली लागिरहेकै छ, लगेज कहिले आउने हो । नियमित सेवन गर्नुपर्ने अधिकांश औषधीहरु त्यही लगेजमा राखेको थिएँ । हुन त हप्ता दिन जतिको लागि त अलग्गै राखेको औषधी साथमै थियो ।
चारघण्टाको ट्रान्जिट बिताएपछि डेल्टा–डिएल३६५६ जहाजले हामीलाई लिएर राति ९ः५५ (स्थानीय समय)मा उड्यो । उडान तालिकाअनुसार नै लगभग १ः३४ मिनेटको उडानपश्चात् हामीलाई क्यानाडाको विनिपेग विमानस्थलमा उता¥यो । विमानस्थलमा हामीलाई लिन ज्वाइँ आइरहनु भएको कुरा विनिताले पहिले नै भनेकी थिइन् । त्यसैले ढुक्क नै छौं । धन्य सबै लगेजहरु यता आइपुगेछ । सबै लगेजहरु बटुलेर निस्कने क्रममा यहाँको अध्यागमनमा केही सोधपुछ गर्ने कार्य भएकाले बाहिर निस्कन केही ढिला हुन पुग्यो । अध्यागमनको लागि थप जानकारी ज्वाइँबाट प्राप्त गरेपछि हामीलाई गन्तव्यमा जान संकेत ग¥यो ।
अध्यागमनमा अलि चासो लिएर सोधपुछ गर्नुको कारण अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले लिएको नीतिको कारण भन्छन् । पहिला यस्तो हुने गर्दैनथ्यो अरे । हामीलाई एयरपोर्टमा लिन युवराज आचार्य (ज्वाइँको साथी) पनि आउनुभएको रहेछ । सामान्य शिष्टाचार आदान प्रदानपश्चात् हामी त्यहाँबाट गन्तव्यतर्फ लाग्यौं । लगभग आधा घण्टाको बाटो तय गरिसकेपछि विनिपेगको विनकावा रोडस्थित अपार्टमेण्टमा पुग्यौं ।
एयरपोर्टबाट निस्केदेखि नै बाटोको दायाँबायाँतिर लामबद्ध लस्करै चाँदीझैं टल्केका हिउँले हामीलाई स्वागत गर्न पर्खिबसेका रहेछन् । कतैकतै सोहोरेर थुपारेका हिउँका थुम्काथुम्कीले हामीलाई हेरिरहेका थिए । हामीले पनि के कम छौं र मन प्रफूल्लित पार्दै टाढैबाट नजर लाउँदै ती हिउँका अवशेषलाई अभिवादन ग¥यौं । दायाँबायाँतिर आँखा डुलाउँदै निर्धक्क बाहिरको चिसोको अनुमान गर्दै गयौं । हाम्रो स्वागतका लागि आतुर भई प्रतीक्षारत विनिता र निविधि सम्मुख उभिन पाउँदा खुसीको सीमा नै रहेन । यतिखेर समय सूचक (घडी)ले रातको १२ः४५ बज्यो भनेर हाम्रो आँखा तानिरहेको पत्तो नै भएन । विनिताले आमाबुबाको लागि तयार गरिराखेको मीठो खाना खाएपछि निद्रादेवीको काखमा लुटपुट गर्दै कतिखेर निदायौं पत्तो नै भएन ।
२३ असार, पेरिस । पेरिसको आइफिल टावर वरिपरि सदा भीडभाड नै हुन्छ । पर्यटकको लहर, सेल्फीको माहौल अनि विश्वकै प्रतिष्ठित गन्तव्यको मोह । त्यही भीडमा आइतबारको दिन नेपाली ढाका टोपी र नेपाली पहिरनमा सजिएर उभिन्छन्– प्रशान्त उप्रेती । जो आफैंलाई ‘भुइँमान्छे’ भन्न रुचाउँछन् । प्रशान्त त्यहाँ सेल्फी खिच्न आएका होइनन्, न त अरुको सेल्फी खिच्नलाई । उनी आइतबार छुट्टीमा फुर्सद निकालेर झण्डै ३५ मिनेट गाडी हाँकेर आइफिल टावर पुग्छन्– नेपाली किताब बेच्न । हातमा केही थान पुस्तक हुन्छन्, अनुहारमा मुस्कान अनि आत्मविश्वासको चमक । ‘यहाँ नेपाली किताब देखेर धेरै विदेशी चकित हुन्छन्,’ प्रशान्त सुनाउँछन्, ‘केही त यत्रो भीडमा नेपाली पात्र भेटिएकोमा खुसी हुँदै किताब पनि किन्छन् ।’
पछिल्लो ६ महिनादेखि उनले आइतबारको दिनलाई नेपाली साहित्यको प्रवद्र्धनमा समर्पित गरेका छन् । उनी नेपालबाट मगाएका नेपाली कपडामा आइफिल टावर पुग्छन्, जसले उनलाई अरुभन्दा अलग चिनाउँछ । ब्राण्डेड लुगाको मोहभन्दा पहिचानको आत्मगौरव उनीसँग बलियो छ । उनी भन्छन्, ‘पहिचान लुकाएर हैन, देखाएर बाँच्नुपर्छ । म नेपालबाटै मगाएका नेपाली कपडा लगाउँछु ।’ पेरिसमा बसेको झण्डै डेढ दशक भइसक्यो । फ्रेन्च भाषा र सभ्यता अध्ययन गर्न सन् २००७ मा फ्रान्सको ग्रोनभ्ल गएका उनी दुई वर्षपछि पेरिस सरे । सुरुमा हस्पिटालिटी क्षेत्रमा काम गरे, सात वर्षजति पसिनाको मूल्य बुझ्दै । सन् २०१६ मा उनले आफ्नै व्यवसाय सुरु गरे– नेपाली रेष्टुरेन्ट ।
अहिले उनी र उनकी श्रीमतीले छुट्टाछुट्टै दुईवटा नेपाली रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । आठ वर्षीय छोरासहितको परिवार पेरिसमा बस्छ, तर नेपाललाई उनी मन, मुटु र कर्मले जोडिरहेका छन् । आइतबारको त्यो झण्डै आधा घण्टा यात्रा प्रशान्तका लागि केवल किताब बेच्ने अभियान होइन, आत्मसन्तुष्टि र पहिचानको यात्रा हो । उनी भन्छन्, ‘किताब बेच्नु व्यापार मात्रै होइन, संस्कृति बाँड्नु पनि हो ।’ आइफिल टावरको छायाँमा उभिएर उनले नेपाल, नेपाली र नेपालीपन बोक्ने काम गरिरहेका छन्– शब्दको झोला बोकेर, मौन तर सशक्त सन्देशसहित ।
कोमाबाट उठेपछि पुनर्जन्मजस्तो जीवन सन् २०१९ । संसारभरि कोभिडको त्रास थियो । यही त्रासले प्रशान्त उप्रेतीको जीवनलाई समेत हल्लाइदियो । रोगले मात्र होइन, त्यसले भित्रभित्रै चिथोरेर उनलाई मृत्युको मुखसम्म पु¥यायो । एक दिन अचानक हर्टअट्याक आयो । सात दिनसम्म कोमामै रहे । बाँच्ने सम्भावना निकै कम थियो । तर, उनले मृत्युलाई जिते । कोमामा हुँदा कसैले सामाजिक सञ्जालमा उनको नाममा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेको थियो ।
त्यसको खबर उनले आफूलाई होस आउनेबित्तिकै थाहा पाए । त्यो क्षण उनको मनभित्र गहिरो चोट पुग्यो । त्यही घाउले उनलाई करिब दुई वर्षसम्म डिप्रेसनमा डुबायो । तर, उनी हार मानेनन् । आज उनी फेरि मुस्कुराइरहेका छन्– नयाँ जीवन लिएर, नयाँ सोचका साथ । पेरिसको जीवनशैलीमा आफूलाई ढाल्दै प्रशान्त अहिले व्यवसाय, साहित्य र समाजसेवामा एकसाथ सक्रिय छन् । नेपाली समुदायसँग जोडिएका उनले पुस्तकप्रतिको मोहलाई आफ्नो अभियान बनाएका छन् ।
‘हामी हजारौं यूरोको आइफोन किन्छौं, तर दस यूरोको किताब किन्न हिच्किचाउँछौं,’ उनी भन्छन्, ‘त्यही सोच बदल्न मैले किताब बेच्न थालेको हुँ ।’ प्रशान्त युरोपकै साहित्यिक राजधानी मानिने पेरिसमा नेपाली किताब बेचिरहेका छन् । नेपालबाट किताब मगाउँछन्, र पेरिसमा नेपाली तथा केही उत्साही विदेशी ग्राहकलाई बेच्छन् । तर, यो व्यापार होइन । उनले रोगीको सहायता र समाजसेवाका लागि किताब बिक्रीबाट केही रकम छुट्याउने पुस्तकलाई प्राथमिकतामा राखेर बेच्ने गरेका छन् । ‘त्यस्ता पुस्तक बिक्री भएको रकम समाजसेवामा जान्छ भन्ने थाहा छ, त्यसैले त्यो बेच्दा गर्व लाग्छ,’ उनी भन्छन् ।
प्रशान्तले नेपाली मूलका बालबालिकाले लेखेका कविता संकलन गरेर क्यालेन्डर प्रकाशन गरेका छन् । तस्बिरसहितको त्यो क्यालेन्डर बच्चाहरुको सृजनात्मक क्षमताको दस्तावेज हो । ‘फोटो छापिएपछि बच्चाहरुलाई थप प्रोत्साहन मिल्छ,’ उनी भन्छन् । त्यस्तै, उनले ‘बुलबुल’ नामक साहित्यिक कार्यक्रममार्फत प्रत्येक महिना १५ हजार रुपैयाँ बराबरको साहित्यिक पुरस्कार वितरण गर्ने गरेका छन्, लेखन संस्कृतिको प्रवद्र्धनका लागि ।
चितवनको पर्सामा जन्मिए पनि प्रशान्त उप्रेतीको पारिवारिक जरो काभ्रेको माटोमा जोडिएको छ । बाल्यकाल चितवनमा बिताएका उनले जीवन भने संसारको विविध रंगसँगै पेरिसमा बुनिरहेका छन्, तर नेपाली पहिचानलाई केन्द्रमा राखेर । आइतबारको दिन आइफिल टावर वरिपरि हजारौं पर्यटकको भिड हुन्छ । यही भिडमा नेपाली ढाका टोपी, नेपाली कपडा र काँधमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै देखा पर्छन् उनी । त्यो आत्मगौरव, पहिचान र मायाको प्रतीक हो, जसलाई लिएर उनी पेरिसका सडक चहार्छन् । उनको शरीर पेरिसमा भए पनि मन अझै नेपालमै अडिएको छ । यही भावनाले उनलाई निरन्तर नेपाली भाषा, साहित्य र समाजसेवामा जोडिराखेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सक्रिय सदस्य रहेका प्रशान्त उप्रेती नियमित रक्तदाता पनि हुन् । उनीसहितले स्थापना गरेको रक्तदाता सञ्जाल आज झण्डै २१ देशमा फैलिएको छ । नेपाली युवाहरुलाई रगतदानजस्ता मानवीय काममा जोड्ने उद्देश्यसहितले उक्त अभियान सुरु गरेको प्रशान्तले बताएका छन् । प्रशान्तले ६० पटकभन्दा धेरै रक्तदान गरिसकेका छन् । यस्तो उदाहरणीय कार्यले उनलाई केवल एक व्यवसायी या अभियन्ता बनाएको छैन, उनी ‘समर्पित नेपाली’को प्रतीक बनेका छन्, जहाँ देशको माया र मानवीय सेवाको सम्मिश्रण भेटिन्छ ।
नेपाली किताब बेच्ने, नेपाली बालबालिकाको कविता प्रकाशित गर्ने, साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने, रक्तदानजस्ता काममा जुट्ने प्रशान्तको जीवन एउटा शान्त तर प्रभावकारी क्रान्ति जस्तै लाग्छ । त्यो क्रान्तिको मूल मन्त्र हो– ‘नेपाली भएर बाँच्ने, जहाँ भए पनि नेपाली हुने ।’ आइफिल टावरजस्तो अन्तर्राष्ट्रिय स्थलमा नेपालको झण्डा बोकेर उभिनु र त्यो झण्डालाई कर्म, भाव र पहिचानले जीवन्त बनाउनु, यही हो प्रशान्त उप्रेतीको जीवनकथा । शब्दहरुमा नेपाल, रगतमा मानवता र काँधमा झण्डा बोकेर आइफिल टावरबाट अगाडि बढिरहेका छन्, प्रशान्त उप्रेती भुँइमान्छे ।
२३ असार, काठमाडौं । “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।” गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् ।
गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो । “डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के”, उनले भनिन्, “बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।”
सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, “सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।” सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । “तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन”, उनले भनिन्, “मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।”
अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । “भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्”, उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, “त्यसैले यो कदम उठाउन बाध्य हुनुप(यो ।” सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुसी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेखेका थिए । “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नुहुँदैन ।”
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल ः अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइन् । सामाजिक सञ्जाल आधुनिक समाजको अङ्ग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।
“छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जङ्गलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ”, सञ्चारविज्ञ भुवन केसीले भने, “सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्र्ने प्रणालीको विकास गर्नुपर्छ ।” उनले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भने, “सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।”
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गरिन् । “सूचनाबाट अफबाह फैलाउन हुँदैन”, उनले भनिन् । जानाजान अमर्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष शर्माले क्यामेरा बोकेर हिँड्ने र ‘कन्टेन्ट क्रिएट’ गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधैँ जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्ले छलफलको आयोजना गरिएको अवगत गराए ।
२३ असार, काठमाडौं । टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ ।
नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसँै–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल गरिएको हो । टोखा–छहरेखोला सुरुङमार्गको वातावरणीय अध्ययन प्रतिवेदन निर्माण र स्वीकृतिका सम्बन्धमा देखापरेका समस्या र परियोजनाको सम्भाव्यताका सम्बन्धमा चिनियाँ पक्षले गर्नुपर्ने कार्य र उत्पन्न असमझदारी हल गर्न वन मन्त्रालय तथा अन्य निकायले गर्नसक्ने आवश्यक सहजीकरणका निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुवँरले जानकारी दिए ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि भौतिक प्रगति ९२ प्रतिशत पुगिसकेको र निर्माण सम्पन्नपश्चात् सञ्चालन गर्नुपर्ने हुनाले सञ्चालनको कानुनी प्रबन्ध, ढाँचा र त्यसमा देखिएका समस्याका विषयमा छलफल गरिएको छ । यो विषय नेपालकै पहिलो अभ्यास हुन लागेका कारण यसको विस्तृत तयारी गर्न जोड दिइएको थियो ।
चीन सरकारको अनुदानमा निर्माण भइरहेको स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिमा कूल लम्बाइ ८२ किमीमध्ये हालसम्म ३८ किमी कालोपत्र सम्पन्न भएको तथा नयाँ आर्थिक वर्षमा ठेक्का लगाउन बाँकी १९ किमी पनि ठेक्का लगाउने प्रबन्ध मन्त्रालयले गरिरहेको छलफलमा अवगत गराइएको छ । कुनै सहजीकरण आवश्यक भएमा प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलगायतको सहभागिता थियो ।
२३ असार, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत रु तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।
२३ असार, जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिए । कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए ।
त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह परार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताए । साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।
२३ असार, कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ । सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,” स्थानीय हवलदार चौधरीले भने,, “अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।”
वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् । स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।
थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउनुहुन्छ । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु चार सयदेखि रु एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताउनुभयो ।
“प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्”, उनले भने, “तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।” थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।
थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ । “फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ”, थारु अगुवा रेवन चौधरीले भने, “जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।”