Category: फिचर

  • सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

    सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

    २९ असार, काठमाडौं । सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो । संस्थाका प्रवक्ता किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि ३१ गतेसम्म महोत्सव आयोजना गरिने बताए ।

    उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको नेपालको पहिचान रक्षार्थ सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको बताए । संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव आयोजना गर्न थालेको हो ।

    यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा अन्य लोकप्रिय कलाकारहरू विशेष प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा सहभागिताका लागि रु एक हजार तथा ५०० का टिकटको व्यवस्था गरिएको छ । टिकट संस्थानको कार्यालय र संस्थानको ‘वेबसाइट’मार्फत उपलब्ध जनाइएको छ ।

  • साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

    साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

    २९ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो ।

    खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता बनाएको थियो । खेलको १३औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता बनायो । उसका लागि सिना जहान शिखाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी सागोरिकाले गोल गरिन् ।

    खेलको दोस्रो हाफको सुरुआतमै दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । नेपालकी ‘डिफेन्डर’ सिम्रन राई र बङ्गलादेशकी सागोरिकाले एकअर्कामाथि मुक्का प्रहार गरेपछि ‘रेफ्री’ले दुवैलाई रातो कार्ड देखाएको थियो । नेपालले त्यसको केही समयमा ‘पेनाल्टी’ पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याइन् । त्यसपछि खेलको पाँच मिनेट बाँकी रहँदा ‘काउन्टर अट्याक’मा नेपालले बराबरी गोल ग¥यो ।

    पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै नेपाललाई २–२ को स्थितिमा पु¥याइन् । तर, बङ्गलादेशले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा विजयी गोल ग¥यो । बङ्गलादेशकी तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् । जितसँगै बङ्गलादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ९–१ गोलअन्तरले हराएको थियो । यसैगरी, नेपालको भने यो पहिलो हार हो । पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।

  • सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    २९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिन माग गरे ।

    कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरुबाट भइरहेको सेवाग्राहीको हितविपरीतको गतिविधि तत्काल बन्द गर्न र जरिवाना छुटको प्रबन्ध गर्न आग्रह रे । जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले झापाको झापा गाउँपालिकामा अवस्थित लसुना नाकालाई थप व्यवस्थित गर्न भन्सार कार्यालय स्थापना गरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन र भौतिक पूर्वाधारको यथोथित संरक्षण गर्न माग गरे ।

    जनमत पार्टीका सांसद अब्दुल खाँनले रसुवागढीमा काम गर्न गएका बर्दियाका नागरिक बाढीमा परी बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको खोज गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे । बाढीपहिरोका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगेको, दर्जनौँ सवारीसाधन बगाएको तथा जनधनको क्षति भएकाले तत्काल पुनः निर्माणको काम गर्न आग्रह गरे ।


    जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले तराई–मधेसका विभिन्न जिल्लामा खानेपानीको समस्या विकराल बन्दै गएकाले यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसलाई जलसङ्कट क्षेत्र घोषणा गर्न माग गरे । उनले पर्याप्त वर्षा नहुँदा सिँचाइ नहरबाहेकका क्षेत्रमा रोपाइँ हुन नसकेको बताए ।
    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून हुनु दुःखद् रहेको धारणा राखे ।

    मुलुकमा व्यापारघाटा चुलिँदै गएको, दाल, चामल, खाद्य पदार्थसमेत विदेशबाट आयात गरिँदा घाटाको ग्राफ बढेको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारमा बस्नेहरुले देश र जनताको हितमा काम नगर्दा व्यवस्थाकाविरुद्ध आवाज उठ्ने गरेको तर्क गरे । उनले सरकार प्रमुख र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति प्रकट गरे ।


    आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा खानेपानीको उपलब्धता हुन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई–मधेसमा खानेपानीको चरम अभाव देखिएको भए पनि सरकारकोतर्फबाट कुनै सार्थक प्रयास नभएकामा गुनासो गरे ।


    स्वतन्त्र सांसद योगेन्द्र मण्डलले विराटनगर रङ्गेलीमा निर्माणाधीन हुलाकी राजमार्गको काममा भइरहेको ढिलासुस्तीबारे चर्चा गर्दै स्थानीयवासीलाई धुलो र हिलोको समस्या समाधान गर्न माग गरे । नेपाली कांग्रेसका सांसद नागिना यादवले केही दलका सांसदले सदनमा अप्रमाणित विषयमा पटकपटक धारणा राखेका कारण सांसदहरुको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताइन् । नेकपा(एमालेंका सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

  • अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

    अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

    २९ असार, काठमाडौं । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो ।

    केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो । आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । परिपत्र सँगै अब चेक वा नगदबाट हुने कारोबार बन्द हुनेछ ।

  • काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    २९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।
    महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “

    आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च रु २५ अर्ब ११ करोड ४३ लाख ११ हजार र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम रु ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ”, उपप्रमुख डङ्गोलले भनिन् ।


    बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट रु २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने जनाइएको छ । यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रु चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ ।

    आगामी आवका लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ । महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।

  • गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

    गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

    २९ असार, काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ । सङ्घले सदस्यता सूचना प्रणाली ९एमआइएस० प्रणालीमार्फत सदस्यता वितरण भइरहेको र हालसम्म ७२ हजार सदस्य बनिसकेका जनाएको छ ।

    पत्रकार सम्मेलनमा अध्यक्ष केसीले लगभग पाँच हजार सदस्यको सदस्यता स्वीकृत हुन बाँकी रहेको बताए । उनले भने, “जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन् । विभिन्न देशमा अझै सदस्यता थप्ने कार्य जारी छ र यो सङ्ख्या अझ्र बढ्दै छ ।” अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मा राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म १५ एनसिसीको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

    उनले बाँकी देशमा अधिवेशन हुने क्रममा रहेको र विधानतः जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यात्मक प्रावधान रहेको उल्लेख गरे ।
    एनसिसीको अधिवेशनले १२औँ महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने अवगत गराउँदै अध्यक्ष केसीले त्यसका लागि अन्तरराष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको बताए ।

    अन्तरराष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल)को तीन महिना मात्रै बाँकी रहेको जिकिर गर्दै उनले सङ्घले स्थापनाकालदेखिका मुद्दालाई मुखरित गर्न नछाडेको उल्लेख गरे । सङ्घले हालको कार्यकालमा रु चार करोडभन्दा बढी रकम विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको जनाएको छ ।

    यसैगरी, वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीको हितमा सङ्घले भूमिका निर्वाह गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घका अध्यक्ष डा केसीलाई सरकारले लगानी प्रवद्र्धन समिति र वैदेशिक रोजगार बोर्डमा आमन्त्रित सदस्य चयन गरेपछि सङ्घ र सरकारबीचको औपचारिक सहकार्य अझ बलियो भएको तथा यसले सङ्घको वैधानिकता र प्रभावकारिता थप सुदृढ बनाएको सङ्घले जनाएको छ ।

  • खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    रासस
    २९ असार, बेलबारी । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन ।

    सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउँछन् । सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बू बताउँछन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन् । दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन् ।

    पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै बाह्र सय बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन् । किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताउनुुभयो । पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् ।

    लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउँछन् । पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनले पोखरीमा पानीको सतह घट्दै जानु र माछाहरू मर्न थालेपछि समस्या समाधानका लागि पहल भइरहेको बताए ।


    राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहनुभएका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुनसक्ने बताए ।


    मोरङका सबै सिमसारहरूको अध्ययनसमेत गर्नुभएका संरक्षण अधिकृत पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जङ्गल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो । पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ । कङ्क्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उनले बताए । उनका अनुुसार भू तथा जलसतहमा हुने नकरात्मक प्रभावका कारण पनि पानी सुक्नसक्ने हुन्छ ।

    यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताए । यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उनले जोड दिए ।

    अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहानहरू सुक्दा पनि बेतना सिमसारको जलासय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उनले बताए । उनले पारस्थितीकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिए ।

  • आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    २९ असार, बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने, “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उनको गुनासो छ ।

    सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उनले अकासे पानीका भरमा धान रोप्दै आएका छन् । यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उनले सुनाए । “यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो”, उनले भने, “पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।”

    मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।

    पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ । “पानी बन्दै पर्न छाड्यो”, उनले भने, “खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।” झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उनले खेती गर्दै आएका छन् ।


    “डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन”, घिमिरेले भने “सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।” समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।

    गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए । धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उनको भनाइ छ । “अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्”, उनले भने, “राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।”

    यसले धानको उत्पादनमा समेत ह्रास आउने उनले बताए । जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।

    छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ । मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।

    यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् ।

  • आलु बिक्री गर्न कोसेली घर

    आलु बिक्री गर्न कोसेली घर

    २९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

    गाउँपालिकाले वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।


    उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ । स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।“

    भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनका आधारमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो”, उनले भने, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ । बाँझो जमिन उपयोग गरेर सुरु गरिएको आलुखेती प्रवर्द्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ ।”

    आलुखेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको रु १५ लाख बजेटमध्ये रु आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको रु सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलुखेती लगाएको हो ।

    वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनीटिलर प्रयोग गरिएको थियो । यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।

    गाउँपालिकाले सञ्चालन गरेको आलुखेतीमा रु तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् । “भज्याङखर्कमा खुमल सेतो प्रजातिको र स्थानीय जातको आलु रोपिएको थियो, आलुसँगै मकैखेती पनि लगाइएको छ”, उनले भनिन्, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै सानासाना दानालाई भने बीउका रूपमा राख्छौँ । आलुको बीउलाई चिसापानीमै निर्माण गरिएको आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने तयारी गरिएको छ ।”

    छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसेमैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।


    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७औँ गाउँसभाबाट आव २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए ।

  • चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

    चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

    २९ असार, दमौली ।आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो ।

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय एवं देशविदेशमा आवश्यक समन्वय गरिने बताए ।
    चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ ।

    उनले भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।” साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिने छ । उनकाअनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

    नगरप्रमुख त्रिपाठीले भने, “भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण संवर्द्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।” नगरपालिकाले पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिकाभित्रका पर्यटनसँग आबद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउइने छ ।

    त्यस्तै घरबासहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं दर्ता र नवीकरण गरी ‘होमस्टे सर्किट’को विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रेलगायतका पहिचान संरक्षण तथा प्रवर्द्धन हेतुले भानु नगरको होमस्टे जाऊँ भन्ने नारालाई सार्थक तुल्याउन समुदायले सञ्चालन गरेका होमस्टे प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र व्यवस्थित रूपमा होमस्टे सञ्चालनमा सहयोग गरिने त्रिपाठीले उल्लेख गरे ।

  • आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

    आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

    २९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका हुन् ।


    ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए। ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

    नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

    त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।

    आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेका कारण भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् ।

    रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    २९ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

    म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

    २९ असार, काठमाडौं । म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् । सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार, विस्फोट गुम्बामाथि खस्दा त्यहाँ रहेका धेरै नागरिकहरूको ज्यान गएको हो । “गुम्बा शान्त र सुरक्षित हुने विश्वासमा बसेका मानिसहरू अचानक हवाई आक्रमणको शिकार बन्न पुगे ।”

    एक स्थानीय बासिन्दाका अनुसार, गुम्बा पूर्ण रूपमा ध्वस्त भएको छ र धेरै शवका शरीरका भाग छुट्टिएको अवस्थामा भेटिएका छन् । सन् २०२१ मा सैनिकले निर्वाचित सरकारलाई हटाएर सत्ताकब्जा गरेपछि म्यान्मा गृहयुद्धमा फसेको हो । सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र भएकाले सेना बारम्बार त्यहाँ आक्रमण गर्दै आएको छ । यो क्षेत्र केही महिनाअघि ७.७ रेक्टर स्केलको भूकम्पबाट पनि प्रभावित भएको थियो, जसले करिब तीन हजार ८०० जनाको ज्यान लिएको थियो ।

    युद्धविरामको घोषणा भए पनि सेनाले हवाई आक्रमण जारी राखेको छ । यसअघि, मे महिनामा भएको एक आक्रमणमा विद्यालयका २० विद्यार्थी र दुई शिक्षकको ज्यान गएको थियो । सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनाले म्यान्मामा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको छ ।

  • एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

    एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

    २९ असार, नयाँ दिल्ली । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा दुई सय साठी जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन–१ र इन्जिन–२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।

    ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्,“तपाईंले इन्धन किन बन्द गर्नुभयो ? “जवाफमा उनले ‘मैले बन्द गरेको होइन’ भनेका छन् । त्यसपछि विमानले केही बेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने संकेत देखिए पनि पाइलटले ‘आपतकालीन सन्देश’ पठाइसकेका थिए । त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रणबाहिर गएको थियो ।

    प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा लक गर्ने प्रविधि असफल हुन सक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ । तर, यो बाध्यकारी निर्देशन नभएको भन्दै एयर इन्डियाले सो सुझाव अनुसार निरीक्षण नगरेको जनाएको छ । प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको जनाइएको छ । साथै, विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको पनि उल्लेख छ ।

    दुर्घटनामा एक जना मात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन् । उहाँ विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन् । विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन् ।

    दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन । अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन् । बाँकी प्रमाण संकलन तथा विश्लेषणको कार्य जारी रहेको छ । एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ ।

  • त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

    त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

    २८ असार, काठमाडौंं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे ।

    त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि थप योगदान गर्ने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले भने, “थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुनेछ । आगामी दिनमा सेवा विस्तार र अस्पतालको आधुनिकीकरण प्रयासमा मन्त्रालयको सहयोग रहनेछ ।”

    अस्पतालका निर्देशक प्रा डा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए । बिरामीको सङ्ख्या अधिक हुने भए पनि आकस्मिक कक्षमा शय्या अभाव हुँदा एकै ‘बेड’मा दुई जनासम्म भर्ना गर्नुपर्ने अवस्था रहेकामा अब उक्त समस्या समाधानमा पनि योगदान पुग्ने उनको भनाइ थियो ।

  • नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    २८ असार, अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन–४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

    मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे । प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

  • बालिका बलात्कार र हत्या अभियोगमा इरानमा सार्वजनिक स्थानमा दिइयो फाँसी

    बालिका बलात्कार र हत्या अभियोगमा इरानमा सार्वजनिक स्थानमा दिइयो फाँसी

    २८ असार, इरान । इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिइएको छ । पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण मृत्युदण्ड खुला स्थानमा कार्यान्वयन गरिएको न्यायपालिकाले जनाएको छ । दोषी पुरुषले उत्तर–पश्चिमी इरानको बुकान शहरकी एक बालिकालाई बलात्कार गरी हत्या गरेका थिए । पीडित परिवार न्यायिक प्रक्रिया भरि संलग्न रहँदै आएको र अन्ततः सार्वजनिक रूपमा सजाय कार्यान्वयन गरियोस् भन्ने माग गरेका थिए ।

    प्रान्तीय न्यायाधीश नासेर अताबातीले भने, “घटनाले जनतामा गहिरो आक्रोश र भावनात्मक प्रतिक्रिया उत्पन्न गरेकोले मृत्युदण्डलाई सार्वजनिक रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो ।” यस घटनामा दोषीलाई मार्च महिनामा मृत्युदण्ड सुनाइएको थियो र पछि इस्लामी गणतन्त्र इरानको सर्वोच्च अदालतले पनि सो फैसला सदर गरेको थियो । इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ । यस्ता सार्वजनिक फाँसी झुण्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, इरान चीनपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने राष्ट्र हो ।

  • आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

    आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

    २८ असार, काठमाडौं । विगत २५ बर्षमा हैजा, इबोला र दादुराजस्ता रोगको प्रकोपको समयमा दिइने आपतकालीन खोपले यस्ता रोगबाट हुने मृत्युमा करिब ६० प्रतिशतले कमी आएको एक नयाँ अध्ययनले देखाएको छ । खोपका कारण त्यति नै सङ्ख्यामा सङ्क्रमणलाई पनि रोकथाम गरिएको विश्वास गरिएको छ । यसका लागि अर्बौं अनुमानित आर्थिक लागत खर्च भएको जनाइएको छ ।

    अध्ययनलाई सहयोग गर्ने गाभी भ्याक्सिन एलायन्सले अस्ट्रेलियाको बर्नेट इन्स्टिच्युटका अनुसन्धाताहरूसँग सहकार्य गरेर सार्वजनिक स्वास्थ्य र विश्वव्यापी स्वास्थ्य सुरक्षामा आपतकालीन खोप प्रयासको ऐतिहासिक प्रभावबारे विश्वको पहिलो नजर तानेकोे बताएको छ । गाभीकी प्रमुख सानिया निस्तारले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “पहिलो पटक हामी मानवीय र आर्थिक हिसाबले केही घातक सङ्क्रामक रोगको प्रकोपविरुद्ध खोपको प्रयोगबाट हुने फाइदाको विस्तृत मापन गर्न सक्षम भएका छौँ ।”

    विज्ञप्तिमा भनिएको छ, “यो अध्ययनले विश्वले प्रकोपबाट सामना गरिरहेको बढ्दो जोखिमको लागत प्रभावी प्रतिकारको रूपमा खोपको शक्तिस्पष्ट रूपमा देखाउँछ ।” बेलायती मेडिकल जर्नल (बीएमजे) ग्लोबल हेल्थमा यसै साता प्रकाशित अध्ययनमा सन् २००० देखि २०२३ को बीचमा निम्न आय भएका ४९ देशमा हैजा, इबोला, दादुरा, मेनिन्जाइटिस र एलो फिभरजस्ता पाँच वटा सङ्क्रामक रोगका २१० वटा प्रकोपको परीक्षण गरिएको थियो ।

    यी अवस्थामा खोपको प्रयोगले नाटकीय प्रभाव पारेको र उनीहरूले यी पाँच रोगहरूमा सङ्क्रमण र मृत्युको सङ्ख्या लगभग ६० प्रतिशत कम गरेको जनाइएको हो । केही रोगहरूको लागि खोपको प्रभाव धेरै नाटकीय थियो। खोपले एलोफिभरको प्रकोपको समयमा हुने मृत्युमा पूर्ण ९९ प्रतिशत र इबोलाका लागि ७६ प्रतिशतले कमी ल्याएको अध्धयनले देखाएको छ । यस्तै, आपतकालीन खोपले प्रकोपको विस्तारको खतरालाई उल्लेखनीय रूपमा कम गरेको पाइएको पनि बताइएको छ ।

    यसले २१० प्रकोपको समयमा गरिएको खोप प्रयासले अशक्तताका कारण हुने मृत्यु र जीवनबाट बच्नका लागि वर्षौंको लागत लगभग ३२ अर्ब अमेरिकी डलर लागेको अनुमान पनि गरेको छ। यद्यपि यो रकम समग्र बचतको महत्वपूर्ण अवमूल्यन हुन सक्छ, यसले प्रकोप प्रतिक्रिया लागत वा ठूला प्रकोपले सिर्जना गरेको व्यवधानको सामाजिक र समष्टिगत–आर्थिक प्रभावलाई ध्यानमा राख्दैन । उदाहरणका लागि, सन् २०१४ मा अनुमोदित खोपहरू अस्तित्वमा आउनुभन्दा पहिले पश्चिम अफ्रिकामा इबोलाको व्यापक प्रकोप र विश्वव्यापी रूपमा सङ्क्रमण देखा परेका थिए र यसका लागि पश्चिम अफ्रिकी देशहरूलाई मात्र ५३ अर्ब डलरभन्दा बढी खर्च भएकोे अनुमान गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले गत अप्रिलमा दादुरा, मेनिन्जाइटिस र एलोफिभरजस्ता खोपबाट बच्न सकिने रोगको प्रकोप विश्वव्यापी रूपमा बढिरहेको चेतावनी दिएपछि यो अध्ययन गरिएको हो । विश्वका आधाभन्दा बढी बालबालिकालाई सङ्क्रामक रोगविरुद्ध खोप लगाउन सहयोग गर्ने गाभीले विश्वव्यापी सहायता कटौतीको सामना गर्दै र गत महिना वासिङ्टनले समूहलाई सहयोग नगर्ने घोषणा गरेपछि नयाँ चरणको कोष सुरक्षित गर्ने प्रयास गरिरहेको छ ।

  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    २८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।

    दनुवारले चार जनाबाट रु आठ लाख र रोका मगरले दुई जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उता, डलर साटीदिन्छु भनी ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णुकुमार रुम्बा रहेका छन् ।

    प्रहरीका अनुसार पीडितलाई छ हजार अमेरिकी डलरका लागि सात लाख नेपाली रकम दिनु भनी असार २२ गते भक्तपुरको चागुँनारायण नगरपालिका–४ हलछापस्थित जङ्गलमा लगी नक्कली पेस्तोल देखाई पीडितबाट मोबाइल र नगद रु सात लाख लिएर उनीहरू फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले बिहीबार चारै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ । पक्राउ परेकाहरूका साथबाट बा७६प ५९३१ नंको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं को मोटरसाइकल, नगद रु ६४ हजार ४०, चेक एक थान र मोबाइल १० थान बरामद गरिएको छ ।

  • प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

    प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

    २८ असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उनले जग्गाधनी पुर्जा वितरण भएको हो । प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देश विकासको गतिमा अग्रसर भएकाले निराश नहुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्दै मुलुकले गणतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेपछि शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा धेरै परिवर्तन भएका बताए ।

    फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम सो दलका सभापति एवं लोकतान्त्रिक आन्दोलनका आफ्ना सहयात्री शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गरिनेछ भने । “आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छ”, उनले भने । त्यस अवसरमा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने बताए ।

  • बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

    बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

    २८ असार, काठमाडौं । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।

    पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन् ।

  • स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो

    स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो

    २८ असार, काठमाडौं । स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्र रूपमा देखापर्न थालेका छन्। यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन–भिदेले भने, “स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै आवश्यक छ।’

    जुन महिनाको अन्त्य र जुलाईको सुरुमा स्पेनका धेरै स्थानहरूमा तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो। यसै साता स्पेनको मौसम विभागले केही भागहरूमा भारी वर्षा, हावाहुरी र डुबानको चेतावनी दिएको छ। प्राध्यापक मार्टिन–भिदेले बताएअनुसार यस्ता अत्यधिक तापक्रमले डढेलोको खतरा निकै बढाउँछ। यसै साता उत्तरपूर्वी कातालोनिया क्षेत्रमा मात्रै तीन हजार तीन सय हेक्टर जमिन जलेको छ। केही दिनअघिमात्रै सोही क्षेत्रमा ६ हजार हेक्टर जमिन, जसमा धेरैजसो खेतीयोग्य जमिन थियो, आगोले नष्ट गरेको थियो।

    “यस्ता डढेलो अत्यधिक गर्मीमा सजिलै फैलिन सक्छन्,” उनले भने, “हामीले पहिले नै कातालोनियामा ठूलो आगलागी देखिसकेका छौं र यो गर्मीभरि यस्ता भयावह दृश्य दोहोरिन सक्ने सम्भावना छ।” उनले थपे, “अत्यधिक तापक्रमपछि डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटनाहरू अब प्रत्येक वर्ष झनै सामान्य जस्तै हुनेछन्।” प्राध्यापकले जलवायु सम्बन्धी अध्ययनबाट थाहा पाइएको भन्दै भने, “आउँदा वर्षहरूमा तापक्रम अझै बढ्नेछ। यसले गर्दा गर्मीका यस्ता लहरहरू अझ चाँडै सुरु हुने, बढी दिनसम्म चल्ने र अझ तीव्र हुने छन्।”

    उनी विशेष गरी वृद्ध व्यक्तिहरूका लागि गर्मीको असर खतरनाक हुने बताउँछन्। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, गएको गर्मीमा गर्मीसम्बन्धी समस्याका कारण दुई हजार २० जनाको ज्यान गएको थियो, जसमा ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए। स्पेनमा बढ्दो तापक्रमका कारण डढेलो, आँधी, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ। यस्ता चरम मौसम घटनाहरू वर्षेनी झनै सामान्य बन्ने संकेत देखिन्छ। त्यसैले सर्वसाधारणदेखि राज्य निकायसम्म सबैले जलवायुको जोखिमप्रति सजग भई समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।

  • अफ्रिकाका दुई ऐतिहासिक स्थल विश्व सम्पदा सूचीमा थप

    अफ्रिकाका दुई ऐतिहासिक स्थल विश्व सम्पदा सूचीमा थप

    २८ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्थाले (युनेस्को) शुक्रबार ‘क्यामरुन’ र ‘मलावीका’ दुई सांस्कृतिक स्थलहरूलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । अफ्रिकी महादेशको प्रतिनिधित्व बढाउने लक्ष्य युनेस्कोको प्राथमिकतामा रहँदै आएको छ ।

    क्यामरुनको उत्तर क्षेत्रको मण्डारा पर्वत क्षेत्रमा पर्ने ‘डिय–गिड–बिय’ भू–दृश्यलाई सूचीमा समावेश गरिएको हो । यो स्थल १२ औँदेखि १७ औँ शताब्दीसम्मको बीचमा विकास भएको अनुमान गरिएको छ । यहाँ पुरातात्त्विक अवशेष, सिँचाइका लागि बनाइएका पाखेबारी तथा धार्मिक स्थलहरू रहेका छन् ।


    मलावीबाट समावेश गरिएको स्थल भने ‘मुलाञ्जे’ नामक पहाडी शृङ्खला हो, जुन देशको दक्षिणी भागमा अवस्थित छ । स्थानीय समुदायले यस स्थानलाई देवी–देवता, आत्मा र पुर्खाहरूको वासस्थलका रूपमा पवित्र मान्दै आएका छन् । संस्थाकी प्रमुख अड्री आजुले अफ्रिकी महादेशलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउँदै आएका छन् ।

    यद्यपि, यो महादेश अझै पनि विश्व सम्पदा सूचीमा कम प्रतिनिधित्व भएको क्षेत्रका रूपमा रहिरहेको छ । विश्व सम्पदा सूचीमा कुनै स्थलको नाम समावेश भएपछि त्यस स्थानमा पर्यटक आगमन बढ्ने सम्भावना रहन्छ, साथै संरक्षणका लागि आर्थिक सहायता प्राप्त हुने अवसर पनि वृद्धि हुन्छ । यस्तो सूचीमा परेका स्थलहरूलाई प्रदूषण, द्वन्द्व र बेवास्ता जस्ता जोखिमबाट जोगाउन संरक्षणको व्यवस्था गरिन्छ ।

  • ‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

    ‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

    २८ असार, काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताए ।

    टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली तथा विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

    टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन गराउनसमेत सरकासँग माग गरे । उनले नेपालस्थित चिनीया राजदूतावासँग कुटनीतिक पहल गरी भिषा प्रकृयालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । टानले बाढीबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

  • महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    २८ असार, दोधारा चाँदनी । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

    त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ ।

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    २८ असार, दरशथचन्द । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीपमा सवार अन्य छ जना घाइते भएका छन् ।

    डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

  • क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

    क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

    २८ असार, वालिङ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१–८२ देखि बनाउन सुरू गरेको उनले बताए ।
    “चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ”, उनले भने, “अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।” समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ ।

    मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उहाँको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ । “क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासको रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ”, गाउँपालिकाका अध्यक्ष तिवारीले भने, “यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।”

    क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उहाँका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

  • गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या २२९ पुग्यो

    गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या २२९ पुग्यो

    एजेन्सी
    २८ असार, काठमाडौं । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको छ । आज जारी गरिएको एक विज्ञप्तिमा गाजाको सरकारी मिडिया कार्यालयले मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा रहेको आफ्नो घर बाहिर लक्षित इजरायली ड्रोन हमलामा अबु आइशा मारिएको पुष्टि गरेको छ ।

    मिडिया कार्यालयले प्यालेस्टिनी पत्रकारहरूको ‘व्यवस्थित लक्षित र हत्या’ भन्दै कडा निन्दा गरेको छ । कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै प्रेस र युनियन निकायहरूलाई गाजामा मिडिया व्यवसायीहरू विरुद्ध भइरहेको अपराधको निन्दा गर्न आग्रह गरेको छ ।
    वक्तव्यमा मानव अधिकार सङ्गठनहरू र व्यावसायिक पत्रकारिता सङ्घहरूसँगै अन्तर्राष्ट्रिय समुदायलाई ‘प्यालेस्टिनी जनता विरुद्धको नरसंहारको अपराध’ भन्दै यस विरुद्ध निर्णायक कदम चाल्न आह्वान गरिएको छ ।

    यसले गाजा पट्टीमा पत्रकारहरूको सुरक्षा गर्न तत्काल उपायहरू गर्न, मिडियाका कर्मचारीहरूलाई जानाजानी लक्षित गर्न रोक्न र अन्तर्राष्ट्रिय अदालतमा जिम्मेवारहरूलाई मुद्दा हालेर जवाफदेहिता सुनिश्चित गर्न पनि आह्वान गरेको छ । मानव अधिकार सङ्गठनहरू र संयुक्त राष्ट्रसङ्घका रिपोर्टहरूका अनुसार इजरायली सेनाले आक्रमणका क्रममा पत्रकार र मिडिया संस्थाहरूलाई जानाजानी लक्षित गरेको छ । चार सयभन्दा बढी पत्रकार घाइते भएका छन्, दर्जनौँ पक्राउ परेका छन् र गाजा पट्टीमा सञ्चालन हुने अधिकांश स्थानीय र अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूको कार्यालयहरू ध्वस्त पारिएका छन् । यसबाहेक, सबै स्थानीय रेडियो स्टेसनहरू व्यापक विस्थापन र बिजुली र इन्टरनेट पहुँचको गम्भीर अभावका कारण सञ्चालन बन्द गर्न बाध्य भएका छन् ।

  • पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

    पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

    एजेन्सी
    २८ असार, काठमाडौं । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका कारण असार १२ देखि हालसम्म ९८ जनाको ज्यान गएको छ भने कम्तीमा १८५ जना घाइते भएका छन्। यो जानकारी शुक्रबार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले दिएको हो। पछिल्लो २४ घण्टामा मात्र वर्षासम्बन्धी घटनामा आठ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। पञ्जाब प्रान्तमा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ, जसमध्ये २० जना बालबालिका रहेका छन्।

    त्यसपछि खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाले ज्यान गुमाएका छन्। प्रशासनले आगामी दिनहरूमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तल्लो भू(भाग र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। देशका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको प्राधिकरणले जनाएको छ।

  • गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्धः अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

    गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्धः अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

    एजेन्सी
    २८ असार, काठमाडौं । गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेपछि संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि लगाइएको अमेरिकी प्रतिबन्धप्रति युरोपेली संघले गहिरो खेद व्यक्त गरेको छ । युरोपेली संघका प्रवक्ता अनोआर एल अनौनीले भने, “युरोपेली संघ संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रणालीप्रति पूर्ण समर्थन व्यक्त गर्दछ, र संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति हामी गहिरो खेद व्यक्त गर्दछौं ।”


    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार उक्त प्रतिबन्धको घोषणा गर्नुभएको हो । उहाँले गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेको आरोप लगाउँदै उक्त निर्णय लिइएको बताए । संयुक्त राष्ट्रसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदमले अन्तर्राष्ट्रिय अभ्यासमा गम्भीर असर पार्ने खतरा रहेको जनाउँदै उक्त निर्णय पुनरावलोकन गर्न आग्रह गरेको छ ।


    संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले पनि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसी० अन्तर्गत कार्यरत व्यक्तिहरू विरुद्ध हुने व्यक्तिगत आक्रमण तथा धम्की तत्काल रोक्नुपर्नेमा जोड दिनुभएको छ । केही समयअघि अमेरिकाले प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने विषयमा संलग्न चार आईसीसी न्यायाधीशमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

    इटालीमा जन्मिएकी फ्रान्चेस्का अल्बानेसे सन् २०२२ देखि संयुक्त राष्ट्रसंघका विशेष विज्ञको भूमिकामा कार्यरत छिन् । हालै उहाँले प्रकाशित गर्नुभएको प्रतिवेदनमा केही बहुराष्ट्रिय कम्पनी, विशेषतः अमेरिकी कम्पनी, इजरायलको कब्जा, रंगभेद र गाजामा भइरहेको हिंसाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ उठाइरहेका छन् भन्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनप्रति इजरायलले कडा आपत्ति जनाएको छ भने प्रतिवेदनमा नाम उल्लेख गरिएका केही कम्पनीहरूले पनि असहमति जनाएका छन् ।