Category: फिचर

  • उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    २३ भदौ, काठमाडौं । आज भएको जेन–जी प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।

    यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्र उपलब्ध थियो । तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।


    स्वास्थ्य मन्त्रालये घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सङ्घीय अस्पताललाई सर्कुलरसमेत जारी गरिसकेको छ । अहिले विभिन्न अस्पतालमा ३ सय भन्दा बढी घाइतेको उपचार जारी छ । आन्दोलनका क्रममा १९ जनाको ज्यान गइसकेको छ । यो पछिल्ला वर्षहरुमा सरकारले गरेको सबैभन्दा घातक दमन हो ।

  • बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    २३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

    बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    उता, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।


    त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जनाएको हो । यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

  • ‘जेन-जी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह, प्रधानमन्त्रीको राजिनामा माग

    ‘जेन-जी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह, प्रधानमन्त्रीको राजिनामा माग

    २३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा आज आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो । बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ । माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

  • नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    २३ भदौ, काठमाडौं । आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ ।

    यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

  • यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    २३ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।
    समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिए ।

    नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

  • आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    २३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् ।

    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

  • सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    २३ भदौ, काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने बताएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस हुने र तत्काल नतिजा देखिने गरी सबै तहका सरकारी निकायबाट नागरिकलाई सेवा प्रवाहको उचित प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ ।

    उक्त बैठकमा मुख्यसचिव अर्यालले राज्यको उपस्थिति देखिने गरी बजार अनुगमन तथा यातायात सञ्चालनलाई सहज बनाउने गरी गम्भीरताका साथ काम गर्न सम्बद्ध सबै पदाधिकारीलाई निर्देशन दिए । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत काठमाडौँ उपत्यका तथा उपत्यका बाहिर उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनताका गुनासो सङ्कलनका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने र प्राप्त भएका गुनासोको तत्काल सम्बोधन गर्ने निर्णय भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मासुलगायतका खाद्य सामग्रीको नमूना सङ्कलन, परीक्षण र आवश्यक नियमन प्रभावकारी तवरले गर्ने र यस प्रयोजनका लागि मोबाइल भ्यानसमेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

    गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय गर्ने बैठकको निर्णय छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आमनागरिकको यात्रालाई सुरक्षित तथा व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीमार्फत चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको लामो दूरीको रुट परमिटको व्यवस्था, भाडादर, यात्रुसीट क्षमताका आधारमा अनलाइन प्रणालीसमेतबाट टिकट बुकिङको व्यवस्था गरिने छ ।

    सडक विभागले सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने, विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक आगामी असोज १० गतेभित्र पुनःसञ्चालनमा ल्याउने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सञ्चालन गर्ने समयावधिर उडान सङ्ख्या वृद्धि गर्न रूपमा अस्वाभाविक हवाई यात्राको भाडादरको वृद्धि हुन नदिन आवश्यक नियमन र सहजीकरण गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले समाजमा अमर्यादित र अवान्छित गतिविधि हुन नदिई भयरहीत वातावरण र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने भनिएको छ ।

    प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चौपायामा फैलिएको लम्पीस्कीन रोग नियन्त्रणको उचित व्यवस्था मिलाइने छ । आन्तरिक राजस्व विभागले राजस्व छली नियन्त्रण गर्न वस्तु तथा सेवा बिक्री भएकै अवस्थामा वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी गर्न लगाउने, सो प्रयोजनका लागि बजार अनुगमनलाई सघन बनाइने भएको छ । राजस्व अनुसन्धान विभागले वस्तु तथा सेवाको अनौपचारिक कारोबारबाट हुनसक्ने राजस्व छली रूपमा गैरकानूनी कारोबार कडाइका साथ नियन्त्रण गर्न अनुगमन र निगरानीलाई सघन बनाउने बैठकको निर्णय छ । साथै बैठकका निर्णय कार्यान्वयनको प्रगति पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

  • भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    २३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन भनेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।

    मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।

    नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ ।

    सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले दावि गरे ।
    नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


    सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो । यसको देशव्यापी आलोचना भइरहेको छ ।

  • सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    २३ भदौ, दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ता आज सडक प्रदर्शनमा उत्रँदैछन् । उनीहरुले आज माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेका हुन् । सरकारले दिनयता सामाजिक सञ्जाल बन्द गरेको छ । यसको विरोधमा नयाँ पुस्ता सडक आन्दोलनमा आएको हो ।

    जेनजी सोमबार माइतीघर मण्डलामा भेला हुने छन् । टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलाइएको छ । नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ देखि सडक आन्दोलनमा जेनजीले आफ्नो सहभागीता बढाएका छन् । उनीहरुको आन्दोलनलाई काठमाडौंका मेयर बालेनदेखि कुलमान घिसिङसम्मले समर्थन गरेका छन् ।

  • लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    एजेन्सी
    २३ भदौ, काठमाडौं । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।

    स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ । माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।

    इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।

    दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल) ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।
    गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।

    सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।

    सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ । इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।

    हुथीहरूको नयाँ आक्रमणबीच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ । त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीनवटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ ।

  • इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    २३ भदौ, काठमाडौं । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबीच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । घटनाको पुष्टि इराकको आन्तरिक मामिला मन्त्रालयले आइतबार गरेको हो । शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो ।

    इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ । झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि संख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।

    घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ । झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दशकौं लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठूलो मात्रामा हातहतियार समेत रहेको हुन्छ ।

  • विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    २३ भदौ, टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन् । लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन् ।


    सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उहाँलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ । शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

    जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए । अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।

  • सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    २२ भदौ, गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरे । महाधिवेशनमा तीनवटा दस्तावेज र सातवटा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएका थिए । ती समूहमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


    छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    यस्तै, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिए । प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताए ।


    “जबज सिद्धान्त हो, मूल कानुन होइन । यो मार्गदर्शक सिद्धान्त हो, यसको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौँ । यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढ्नेछौँ”, अध्यक्ष ओलीले भने । उनले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गरे ।
    विधान संशोधनसम्बन्धी प्रस्तावबारे प्रष्ट पार्दै उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको र त्यो निन्दनीय भएको बताए ।

  • हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    २२ भदौ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।

  • सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन सरकारको पुनः आग्रह, भिपिएन प्रयोग नगर्न चेतावनी

    सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन सरकारको पुनः आग्रह, भिपिएन प्रयोग नगर्न चेतावनी

    २२ भदौ, काठमाडौं । सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो ।

    सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्कविन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकार भएकाहरूमा पुनः आग्रह गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेपश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा पुनः जानकारी गराइन्छ ।”

    सम्मानित सर्वोच्च अदालतको आदेश परिपालनाका लागि समेत लागि यही भदौ ९ मा नेपाल सरकार (मन्त्रिपरिषद्)बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिकाबमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि यही भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तोकिएको समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले सूचीकरण हुन पटक पटक आह्वान गरेको पनि मन्त्रालयले स्मरण गराएको छ । “यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं ०८०–सिएफ–००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका ‘अनलाइन’ तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको पनि अवगत नै छ”, विज्ञप्तिमा उल्लेख छ, “मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाललाई निष्क्रिय गराइसकेपछि यही भदौ २२ सम्ममा ‘स्मार्ट आइडिया प्राइभेट लिमिटेड’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्राइभेट लिमिटेड’ दर्ता भई सक्रिय भइसकेका छन् । यसैगरी, सामाजिक सञ्जालहरू ट्विटर ९एक्स० र विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराई सकिएको छ ।”

    प्रवक्ता ठाकुरले नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको र त्यस्ता सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भिपिएन) प्रयोग नगर्न÷नगराउनसमेत अनुरोध गरे । मन्त्रालयले सरकारको निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको जनाउँदै यसमा सहयोग गर्न आमनागरिक र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

  • सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेस असन्तुष्ट

    सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेस असन्तुष्ट

    २२ भदौ, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टी जनाएको छ । यसबारे छलफल गर्ने तयारीमा पार्टी रहेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए । एमाले बाहेकका सबै पार्टीले सरकारको सो निर्णयको चर्को विरोध गरिरहेका छन् ।

  • खग्रास चन्द्रग्रहण सुरु, शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    खग्रास चन्द्रग्रहण सुरु, शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    २२ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको हो । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले बताए ।


    नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

    यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।
    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन ।

    आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ । वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ । धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ । शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

    नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रो अनुसार ग्रहण सेप्टेम्बर ७ तारिकको राति र नेपाली पात्रो अनुसार भदौ २२ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।


    चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ । वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानीनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।
    आज राति ११ः१५ बजेदेखि बिहान ००ः३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उहाँले बताउनुभयो । बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । आफैं हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आह्वान गरेको छ ।

    एक्काइसौँ शताब्दीमा पर्ने ८५ वटा चन्द्रग्रहणमध्ये यो एक भएको उनले बताए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने । सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानीनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् । वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ ।

    खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर मानिन्छ । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य बताउँछन् । यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । नेपालका साथै यूरोप, अफ्रिका, र एसिया र अष्ट्रेलियाबाटसमेत आज रातिको चन्द्रग्रहण देखिने समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए ।


    यो चन्द्रग्रहण उत्तर तथा दक्षिण अमेरिकाबाट भने नदेखिने पनि उनले सुनाए । ग्रहणको समयमा यो रातो देखिने हुनाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ । आज राति ९ः१३ बजेदेखि नै विरल छायाँले ढाक्न सुरु गर्ने समितिले जनाएको छ । राति ११ः१५ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्नेछ । राति ११ः५६ बजे खग्रास ग्रहणको मध्य समय हुनेछ । राति १२ः३७ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राति ०२ः४० बजे विरल छायाँले ढाक्न छोड्नेछ । चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिक रूपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ ।

  • सुनचाँदीको मूल्य निरन्तर उकालो

    सुनचाँदीको मूल्य निरन्तर उकालो

    २२ भदौ, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ ।

    आज एक तोला चाँदी रु दुई हजार ५०० मा किनबेच भइरहेको छ । गत बुधबार एक तोला सुन रु दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु दुई हजार ४८० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    २२ भदौ, सिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् । उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

    सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रु दुई लाख ८२ हजार ८०० बराबरको कपडा र रु दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य रु ५ लाख ३२ हजार ८०० बराबर रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

  • उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

    उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

    २२ भदौ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो । सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ । “हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ”, अध्यक्ष ऐरले भने, “दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ ।”

    तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टल माछा उत्पादन हुने उनले बताए । उनका अनुसार माछा बिक्रीबाट सङ्कलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ । “पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ”, अध्यक्ष ऐरले बताए ।“छ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ ।” गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ ।

    “अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ”, अध्यक्ष ऐरले भने, “यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ ।” वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन् । पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ । तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताँछन् ।

  • एक करोड लगानीमा बागलुङमा खुल्यो साबुन उद्योग

    एक करोड लगानीमा बागलुङमा खुल्यो साबुन उद्योग

    २२ भदौ, ढोरपाटन । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका छन् । उनीहरु दुवै स्नाकोत्तर उत्तीर्ण छन् । उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् ।

    परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले छ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् ।


    विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका छन् । रु ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा रु एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताए ।


    उनले भने, “अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हाँै, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन् ।”

    साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गर्ने तीर्थले बताए । आफूहरूले वार्षिक रु ५० लाख बराबरको कारोबार गर्ने उनको भनाइ छ । दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई रु ५० मा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनले बताए ।

  • पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

    पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

    २२ भदौ, लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुपुगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात पनि कम हुँदैन ।

    डुम्रे–बेँसीसहर सडक छेउ तथा मस्र्याङ्दी नदी नजिकै रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित यो झरना पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनाको आनन्द लिन आउने गरेका स्थानीय सुदीप पन्तले बताए ।


    बेँसीसहर नगरपालिका–७ की अस्मिता थापाले भनिन्, “सडक छेउमै झरना रहेकाले यसको आनन्द लिन प्रायः कोहीले छुटाउँदैनन् ।” झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन आनन्दित हुने उनको भनाइ छ । त्यसैगरी अर्का पर्यटक शङ्कर श्रेष्ठले साथीभाइसँग झरनाको फोटो खिच्न र पौडी खेल्न रमाइलो हुने गरेको बताए ।
    झरना रहेको स्थल व्यवस्थित भने हुनसकेको छैन ।

    पर्यटक ईश्वर सेढाइँले बाढीपहिरोका कारण सौन्दर्य नै परिवर्तन हुन थालेकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । । “यहाँ पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङको पनि राम्रो सम्भावना छ”, उनले भने,
    झरनालाई व्यवस्थित गर्न बेँसीसहर नगरपालिकाले प्रयास गरिरहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “झरना रहेको स्थल व्यवस्थित गर्न रु नौ लाख विनियोजन गरेका छाँ ।”

    झरनामा मस्र्याङ्दी नदीको पानी तानेर पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउनेलगायत नगरपालिकाका योजना छन् । सो झरनामा क्यानोनिङ तथा ¥याफ्टिङ पनि सञ्चालन गर्ने तयारी छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार लमजुङ बेँसीसहर रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने नगरपालिकाको अपेक्षा छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । बाह्रै महिना झरना झर्ने बनाउन लागिएको नगरप्रमुख अर्यालले बताए ।

  • एमाले विधान महाधिवेशन बन्दसत्रमा प्रतिवेदनमाथिको समूहगत सुझाव प्रस्तुतीकरण हुँदै

    एमाले विधान महाधिवेशन बन्दसत्रमा प्रतिवेदनमाथिको समूहगत सुझाव प्रस्तुतीकरण हुँदै

    २२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


    महाधिवेशनको बन्दसत्र बिहान ८ः०० बजेबाट सञ्चालन हुनेछ । उहाँका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नुहुनेछ ।

    यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन् ।
    समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।


    त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको छ ।

  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा तीन महिनादेखि उडान ठप्प

    फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा तीन महिनादेखि उडान ठप्प

    २२ भदौ, फिक्कल । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१\८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् ।

    विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् ।

    यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए ।

    “पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।” नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ ।

    इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उनले भने, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।”

    तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् ।

    स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए ।

  • रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

    रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

    २२ भदौ, ललितपुर । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार “तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याइएको हो । नगरप्रमुख महर्जनका अनुसार तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ ।

    स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए । “पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो”, उनी भन्छन् । “अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ ।” महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २२ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

    मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

    २२ भदौ, महोत्तरी । भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो । “मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ”, महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन्, “देवर्षि पितृ तर्पणसँगै पितृपक्ष सुरु भएको मानिने मैथिल परम्परा छ ।” आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गत स्वजनलाई तर्पण दिइनेछ ।

    पितृपक्षमा दिवङ्गत पितृको दुई प्रकारका श्राद्ध विधान छ । पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यसपक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ ।

    त्यसैगरी पितृपक्षभित्रै दिवङ्गत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ । एकोपार्वणमा एकोदिष्ट (दिवङ्गत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकोपार्वण’ भनिएको पण्डित झाको भनाइ छ । मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू आफ्नो बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् ।

    मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । यो परम्पराले आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको भीड भएको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।

    असोज कृष्णपक्षको अवधिलाई पितृपक्ष (मैथिली बोलीचालीमा पितरपक्ष) र सोह्रश्राद्ध भनिने गरिएको छ । यसपक्षमा पितृहरु (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।


    पितृपक्षमा बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिबास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायतका नदीतटमा तर्पण दिने यजमान (श्राद्ध गर्ने कर्ता) लाई सङ्कल्प पढाउन पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई धपेडी पर्ने गर्छ ।

    पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू मैथिल पितृपक्षमा तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । यस पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष)सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।


    मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिने चलन छ ।

    दसैँं, तिहार र छठजस्ता मुख्य चाडवाडअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास गरिन्छ । यी पर्वबाहेक घरमा आयोजन गरिने माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादिसहितका शुभकार्य) अघि पनि पितृहरूलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने हिन्दू वैदिक परम्परा रहेको भङ्गाहा–५ का बासिन्दा मैथिल कर्मकाण्डी पुरोहित चन्द्रकान्त झा बताउनुहुन्छ ।

    वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको झाको कथन छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

  • भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

    भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

    २२ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार शनिबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

    शनिबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् । दिवङ्गतहरू स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

  • आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

    आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

    २२ भदौ, मुग्लिन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

    यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए । उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ ।

    उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ । उनले भने, “हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरूको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।” उहाँका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।

    चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए । न्वांगीमा चेपाङ झाँक्री ९पान्दे०ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

    राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ ।

    चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको अध्यक्ष चेपाङले बताए । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ । चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

  • वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

    वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

    २१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

    उनले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए । तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।