Category: फिचर

  • नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

    नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

    १४ असोज, काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ ।

    कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ । वसन्तपुरस्थित कुमारीघरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

    कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाई गरिएको छ ।

  • दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

    दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

    १४ असोज, काठमाडौँ । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।” साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।

  • इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

    इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

    १४ असोज, काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब एक हजार अवैध टिन खानी बन्द गर्ने आदेश दिएका छन् । गत सेप्टेम्बर–१ मा सुरु गरिएको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ ।

    “बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गा देखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी गरिएको प्राबोवोले बताए । उनले सबै तस्करी मार्गहरू आललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको बताए ।

    अवैध खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायनशास्त्री भर्ती गर्न भन्सार महानिदेशालयलाई निर्देशन दिएका छन् ।

  • भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    एजेन्सी
    १४ असोज, काठमाडौं । भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ । टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ ।

    यसै गरी उत्तरी र मध्य भियतनाममा बिजुली बाढीको प्रभाव पछि कटौती भएको रिपोर्ट गरिएको छ । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले सोमबार पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीलाई आँधीबेहरी र त्यसपछिको बाढीलाई द्रुत रूपमा सम्बोधन गर्न आग्रह गर्नु भएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १४ असोज, काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।


    तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

  • युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

    युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

    १४ असोज, काठमाडौं) । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । यससँगै नेपालले इतिहास रचेको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा राती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो ।

    पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे । नेपालको लागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो ।

    नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए । यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।

  • एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

    एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

    १३ असोज, काठमाडौं । एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ । पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् । भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् ।


    आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा समेत सहभागी नभएपछि स्थिति झनै बिग्रियो । पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, “मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस् । हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ । वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन् । ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठूलो गौरव हो ।”

    फाइनलपछि करिब एक घण्टा ढिलाइ गर्दै गरिएको समारोहमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने, “भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसिसीले मलाई जानकारी गराएको छ । यसैसँगै आजको प्रस्तुती समारोह समाप्त हुन्छ ।” यस घटनापछि पाकिस्तानका कप्तान सलमान अघा असन्तुष्ट देखिए । उनले भने, “प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो । यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन् । हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ ।”

    यस पटकको एसिया कप विशेष संवेदनशील मानिएको थियो, किनकि यसअघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबीच घातक झडप भएको थियो । प्रतियोगिताका अघिल्ला खेलमै राजनीतिक सङ्केतहरू र मैदानमै आक्रामक शैली देखिँदा तनाव बढेको थियो । अघाले अन्त्यमा भने, “यो पहिलोपटक देखिएको घटना हो । यसरी चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन । यो क्रिकेटका लागि राम्रो होइन ।”

  • अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

    अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

    रासस\एएफपी
    १३ असोज, मिचिगन । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन् । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए । आपत्कालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको थियो र पार्किङ क्षेत्रमै आक्रमणकारीलाई मारेको ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीले पत्रकार सम्मेलनमा बताए ।


    रेनीका अनुसार सुरुमा दुई मृतक पुष्टि भए पनि, पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ । उनले आठ जना घाइते भएको पुष्टि गरे । जसमा एकजनाको अवस्था गम्भीर छ । प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई सो क्षेत्रमै हुर्किएको र सैन्य सेवामा संलग्न भइसकेको व्यक्ति बताएका छन् । आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानी बनेको छ । तस्बिरहरूमा आक्रमणकारीले ट्रक भवनतर्फ चलाएको देखिन्छ, जसको पछाडि दुईवटा अमेरिकी झण्डा झुण्ड्याइएका थिए ।

    एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले पत्रकार सम्मेलनमा भने, “एफबिआईले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यसलाई हामी लक्षित हिंसाको कार्यका रूपमा हेरेका छौँ ।” रेनीका अनुसार आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित थिए, जसले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गरेको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईहरूमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेखे, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ ।”

    मोर्मोन चर्चले पनि विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ । “पूजास्थलहरू शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन् । हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सन् १८३० मा स्थापित मोर्मोन चर्च विश्वभर लाखौँ अनुयायीहरूसहित पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ । यसका अनुयायीहरूले आफूलाई इसाई समुदायको हिस्सा माने पनि, यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ ।

    संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ । पछिल्ला हप्ताहरूमा युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्च तथा विद्यालयमा भएको सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएको छ । पछिल्लो आक्रमणसँगै राजनीतिक विभाजन झन् गहिरो बनेको छ । राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई लक्षित गर्दै ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाएका छन् । त्यसविरुद्ध कडा अभियान सुरु गरेका छन् ।

  • श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

    श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

    १३ असोज, कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।
    एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा रहेको बताएको छ । गम्पाहा, कुरुनेगला, अनुराधापुरा, गाले, रत्नपुरा र कालुतारासहित क्यान्डी जिल्लाका केही भागहरू पनि उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।

    साथीहरूको सङ्गतलाई विद्यार्थीहरूमा लागु औषध प्रयोगको प्रमुख कारणकको रूपमा उद्धृत गरिएको छ । यसै गरी लागु औषध रोकथाम नीतिहरूको कमजोर कार्यान्वयन तनावपूर्ण पारिवारिक वातावरण, उपेक्षा, गरिबी, कुपोषण र समुदायहरूमा लागुऔषधको सहज उपलब्धताले लगायतका कारणले दुव्यसनस् बढेको एनडीडिसिबीले जनाएको छ । यस प्रवृत्तिलाई नियन्त्रण गर्न, एनडीडिसिबीले वातावरणीय तथा मिडिया अभियानहरूसँगै विद्यालय, युवा, परिवार, कार्यस्थल र समुदायमा आधारित पहलहरूसहितका कार्यक्रमहरू सुरु गरिरहेको बताएको छ ।

    परामर्श सेवाहरू विस्तार गरी मध्यम र उच्च जोखिम भएका बच्चाहरूलाई विद्यालय वा व्यावसायिक शिक्षामा फर्कनु अघि एनडीडिसिबीको युवा उपचार केन्द्रमा उपचारका लागि पठाउने व्यवस्था गरेको जनाइको छ । यसैबीच, प्रहरीले स्थानीय मिडियालाई बताए अनुसार यस वर्ष जनवरी ९१ देखि अगस्ट९ ३१ को बीचमा २०६ बच्चाहरूलाई लागुऔषधसँग सम्बन्धित अपराधका लागि हिरासतमा लिइएको थियो। लागुऔषधको दुरुपयोग विरुद्ध लड्न विद्यालयहरूमा १५ हजार ६०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

  • प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

    प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

    १३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।

    नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष छन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

  • आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    १३ असोज, काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।
    प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए ।

  • एकैदिन एक लाख ११ हजार बाहिरिए

    एकैदिन एक लाख ११ हजार बाहिरिए

    १३ असोज, काठमाडौँ, बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए ।


    अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिएका बताए । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए । ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

  • सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    १३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।

    फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

    बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए ।

  • धौलागिरि हिमाल आरोहण सुरु

    धौलागिरि हिमाल आरोहण सुरु

    १३ असोज, म्याग्दी । यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सेभेन समिट टे«क्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् ।

    स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट टे«क्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए ।

    उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए । पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

    गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

    छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो ।

    राष्ट्रिय समाचार समिति (रासस)

  • मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

    १३ असोज, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

    सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९ दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।

    तर यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।

    राष्ट्रिय समाचार समिति (रासस)

  • गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

    गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

    १३ असोज, गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।
    बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ¥याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
    “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पु¥याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

    जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाए । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

  • यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

    यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

    १३ असोज, म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु। पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु। ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली रु। ३५ हजारमै पाइएको बताए ।


    “तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य रु. ४०\४२ हजार थियो,” उनले भने, “मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशै मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ ।” नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए ।


    श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट दुई हजार पाँच सय च्याङग्रा काठमाडौ पु¥याएका छन् । गत वर्ष काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलो रु। एक हजार तीन सयका दरले बिक्री गरेकोमा यसपाली रु। एक हजार दुई सय ५० का दरले बिक्री गरेको श्रेष्ठले बताए । दसैका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौ, चितवन र बुटवलका बजारमा झारिएका भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपाली मुस्ताङबाट मात्र भेडाच्याङग्रा मात्र झरेका छन् ।

    पोषिलो, स्वास्थ्यप्रद्र्धक, शक्तिव्रद्र्धक, स्वादीलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए । यसबर्ष रु. ३५ करोडभन्दा बढी मूल्य बराबरको १४ हजार छ सय ६८ भेडा च्याङग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । सात हजार छ सय ६८ मुस्ताङका किसानले पालेका, छ हजार आठ सय ६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणी अर्यालले बताए ।


    किसानले अधिकतम च्याङग्रालाई रु। ३५ हजार र भेडा ९च्यालु०लाई रु। २८ हजारमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङग्राको शरिरमा रौ छोटो हुन्छ । लोमान्थाङ गाउँपालिका– ३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङग्रापालनबाट जिविकोपार्जन गरेको बताए । उनले यसपाली ५० वटा च्याङग्रा बिक्री गरेको बताउनुभयो । मुस्ताङी भेडाच्याङग्राको ठूलो बजार पोखरा हो ।

    म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङग्राको खपत बढी हुने गरेको छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो ।


    हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङग्रापालक किसानको प्रमुख चुनौति हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रीएकाले भेडाच्याङग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

  • आज घर घरमा फूलपाती भित्र्याइँदै

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    १३ असोज, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्” उनले भने ।


    फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

  • काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

    काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

    १३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । उनले भने, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”

  • आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

    आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

    १३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

    तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी , बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

  • आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

    १३ असोज, काठमाडौं । वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ । छैटौँ दिन शनिबार स्कन्दमाता र सातौँ दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो ।

    आठौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

  • अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    १३ असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं। को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका।–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । दुर्घटना रातको दुई बजे भएको स्थानीयले बताएका छन् ।

  • ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

    ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

    १२ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकार राजनीतिक प्रतिशोधको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए ।
    पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७–२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए ।

  • अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

    अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

    १२ असोज, साउथपोर्ट । अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताए । उनका अनुसार शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो ।

    साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताए । यस अघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए ।

  • भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

    भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

    १२ असोज, तमिलनाडु । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए ।

    अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भिड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो । भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध मुद्दा दर्ता गरेको छ । वरिष्ठ प्रहरी अधिकारी एस। डेभिडसन देवसिरवथमले भने, “मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।”वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् । विजयले विज्ञप्ति जारी गर्दै भने, “मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।”

    उनले प्रत्येक पीडित परिवारलाई २० लाख रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरे । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतङ्क फैलिनुअघि आफ्ना समर्थकलाई पानीको बोतल फ्याँक्दै गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो । राज्य प्रहरी प्रमुख जी। वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगे ।
    “मानिसहरूलाई तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनु पर्‍यो”, उनले भने ।
    दश हजार मानिस आउने अनुमान भए पनि झण्डै २७ हजार जनाको उपस्थिति भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो । बचेका १९ वर्षीय बी. कनिष्कले भने, “अचानक भीडले मलाई तल धकेल्यो । म बेहोस भएँ ।” अरू प्रत्यक्षदर्शीहरूले पनि खराब सङ्गठन, लामो पर्खाइ र घटनास्थलमा प्रहरीको अभावले दुर्घटना निम्त्याएको बताए । स्थानीय मिडियाले रूखमा चढेका केही समर्थक तल खसेपछि आतङ्क फैलिएको उल्लेख गरेको छ ।

    भारतमा भीड नियन्त्रणमा कमजोरीका कारण यसअघि पनि ठूला दुर्घटनाहरू भएका छन् । यस वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष सोही राज्यमा हिन्दू प्रार्थना सभाका क्रममा १२१ जनाको मृत्यु भएको थियो । यसै वर्ष जुन महिनामा, बेङ्गलुरुमा क्रिकेट उत्सवका क्रममा ११ प्रशंसकले भिडले किचिएर ज्यान गुमाएका थिए । विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए । सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गर्दै उनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो भीड जुट्ने गरेको छ ।

  • सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

    सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

    १२ असोज, काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

    सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

    १२ असोज, काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

    निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दसैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

  • ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

    ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

    १२ असोज, काठमाडौैं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।


    बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

    पुनःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत् गृहको विपरित गोरखा तर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५÷१५ मिटर गरी ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ ।

    बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा सहभागिताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ । यसैगरी प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताए ।

  • ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

    ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

    १२ असोज, काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ ।

    आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।”

    यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

  • दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

    दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

    १२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’

    हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ ।’

    उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् । ‘यही समयको माग हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’