Category: फिचर

  • प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    १४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन आज साँझ त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

    राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

    १४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे ।

    प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधि सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत छन् । प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

    १४ असार, दमौली । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रुपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिए । उनले भने, “पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र सकिएको छ, मुख्य काम सकिएको खुसियालीमा निर्माण कम्पनीले अनौपचारिक हिसाबले कार्यक्रम गरेको हो ।”

    पाण्डेका अनुसार पूर्वी खण्डमा अब स–साना काम मात्रै बाँकी छ । ४१ दशमलव पाँच किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम पनि भइरहेका छन् । सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । यो खण्डको अन्तिम म्याद आगामी असार २९ गतेसम्म रहेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    १४ असार, वीरगञ्ज । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।

    मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल र सोही ठाउँका आकाश पटेल छन् । सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

  • एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    १४ असार, काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए । “यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ ।

    गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहिनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन आउने छ । सबै भाइबहिनीहरूलाई बधाई ” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री ओलीले विद्यार्थी नानीबाबुको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरू गर्न आग्रह गरेका छन् ।

  • शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    कञ्चनपुर, १४ असार : शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्कने बयस्क पाटेबाघले बस्तीमा पसेर गाईभैँसीजस्ता घरपालुवा जनावरको खान थलेपछि जनजीवन प्रभावित भएको हो । गएराति मात्र स्थानीय हेमा धामीको ब्याउने गाईलाई पाटेबाघले गोठबाट तानेर दुई सय मिटर पर लगेर खाएको घटना सार्वजनिक भएको छ । यसअघि देवकी पाण्डेयको लैनो भैँसी र कञ्जडो धामीको गाईलाई पनि गोठमैबाट तानेर बाघले खाएको थियो ।

    केही महिना पहिले गोठमै गाई दुहुँदै गरेकी मानमती धामीमाथि बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । वडा सदस्य जयराज पाण्डेयले बाघ साँझ पर्न नपाउँदै बस्तीमा देखा पर्न थालेको बताए । बाघ अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उनका अनुसार पाटेबाघको निगरानीका लागि निकुञ्ज कार्यालयले चारवटा स्वचालित क्यामेरा जडान गरेको छ । जसमा वयस्क बाघ देखिएको पुष्टि भएको छ । बाघको जोखिम न्यूनीकरणका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गस्तीमा छ भने वन रक्षकहरूले पनि निगरानी बढाएका छन् ।

    स्थानीय शिवी लुहार भन्छन्, “बाघ हिजो पनि देखिएको थियो, अस्ति पनि, अहिले त बस्तीमा राति हिँडडुल गर्न पनि डर लाग्न थालेको छ, कहिले मानवीय क्षति हुन्छ भन्ने चिन्ता बढेको छ ।” बाघमात्र होइन, हात्तीजस्ता अन्य जङ्गली जनावरहरूले पनि अन्नबालीमा क्षति पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । त्यसमा पनि बाघले गोठमै बाँधिएका चौपाया खाइदिन थालेपछि समस्या झन् जटिल बनेको छ ।

    स्थानीय बासिन्दाहरूको माग छ, “निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीमा विद्युतीय मेसवायर जडान गरियोस, जसले गर्दा जङ्गली जनावरको मानविय बस्तीमा प्रवेश रोक्न सकियोस ।” वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार निकुञ्ज छेउमै बस्ती भएकाले स्थानीय किसानले बर्सेनि हैरानी खेप्नुपर्छ, विद्युतीय तार जडानका लागि पटकपटक माग गरिरहेका छौँ, तर अझै काम अगाडि बढ्न सकेको छैन, बढ्ने अश्वासन पाइएकाले काम अघि बढनेमा विश्वस्त छौँ ।

    उनका अनुसार वडाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको छ । यसै आर्थिक वर्षभित्र केही क्षेत्रमा मेसवायर जडान हुने जानकारी पाइएको छ । जङ्गली जनावर नियन्त्रणका लागि स्थायी समाधानका लागि प्रभावकारी सुरक्षामूलक संरचना र सक्रिय निकुञ्ज प्रशासनको समन्वय अपरिहार्य भएको उनले बताए ।

  • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    काठमाडौँ, १३ असार । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।

    विभागले भनेको छ, “असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमासमेत भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको छ ।”

    महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ । यस प्रणालीको प्रभावले यही शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।

    तसर्थ, सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

    यस मनसुन प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने विशेष बुलेटिनमा उल्लेख छ । तसर्थ यस महाशाखाबाट जारी हुने तीनदिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि भनिएको छ ।

  • एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    भक्तपुर, १३ असारः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।

    परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३।६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।

    नन् ग्रेडेड अर्थात परीक्षामा अनुतीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागिमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ । परीक्षामा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबभन्दा बढी एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।


    त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा शर्माले बताए । पर्रीक्षार्थी कोशी प्रदेशमा २३ हजार ६३१ जना, मधेस प्रदेशमा ४२ हजार ७७९ जना, वागमति प्रदेशबाट २० हजार ९४६, गण्डकी प्रदेशबाट ११ हजार ३२८, लुम्बिनी प्रदेशबाट २८ हजार २७४ जना कर्णाली प्रदेशबाट १३ हजार ७६५ जना र सुदुरपश्चिम प्रदेशबाट २६ हजार ८७६ जना परीक्षार्थी उनुत्तीर्ण भएका छन् ।


    एसईइको नतिजा गत वर्षभन्दा यस वर्ष नतिजामा सुधार भएर आएको छ । बोर्डका अध्यक्ष डा शर्माले विगतका वर्षमा भन्दा यसवर्ष नतिजामा सुधार आएको बताउदै गतवर्ष अर्थात २०८० सालको एसइईको नतिजामा ४७ दशमलव ८६ प्रतिशत मात्रै उत्तीर्ण भएकोमा यसवर्ष २०८१ कोे नतिजामा १३।९५ प्रतिशतले सुधार भएर ६१।८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । नतिजा प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीलई शुभकामा व्यक्त गर्नु भएको छ ।
    एसइईका आज सार्वजनिक भएको नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा शर्माले यसवर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएको बताए ।

    समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको छ । विद्यार्थीलाई अंग्रेजी विषय पनि उस्तै गाह्रो भएको उहाँले बताउनुभयो । अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको उनले बताए । बोर्डका अनुसार, ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी एनजीमा परेका छन् । ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी असफल भएका छन् ।

    एसइईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताउनुभयो । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उनले जानकारी दिनुभयो । यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने भएको छ ।

  • भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बैतडी, १४ असारः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

  • पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    १३ असार, मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

    “हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उनले भने । समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

    “अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए । बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।

  • इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

    इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

    १३ असार, काठमाडौं । इरानले बुधबार आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ। इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।” मन्त्रालयका प्रवक्ता माजिद अखवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो कदमले हवाई यातायातलाई क्रमशः द्वन्द्वपूर्वको स्तरमा फर्काउने लक्ष्य इरान सरकारले लिएको छ ।”

    इजरायलसँगको पछिल्लो द्वन्द्वपछि यात्रुको सुरक्षाको कारण देखाउँदै इरानले बिहीबार दिउँसोसम्मका लागि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानस्थगन गरेको अखवानले बताए । उनले भने, “हालैका घटनाक्रमलाई ध्यानमा राख्दै र यात्रु र उडानहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो।” इजरायलले तेहरान र अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि इरानले जुन १३ मा आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

  • उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

    उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

    एजेन्सी
    १३ असार, काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन्। उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए । उनको भनाइ एक सातापछि पुष्टि भएको हो ।

    “उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुस्र्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौं,” दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायको जानकारीलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने । “गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुस्र्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप छ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ,” लीले भने ।


    राष्ट्रिय गुप्तचर सेवाको आँकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको सुरुमा हुन सक्छ’। “यसको प्रमाण के हो भने शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,” लीले भने । तयारी पहिले नै चलिरहेको सङ्केत गर्दै उनले भने, “उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारीहरू चयन गर्न सुरु गरिरहेको जानकारी छ।”

    तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुस्र्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौं सैनिक र कन्टेनरभर हतियार पठाएको छ । “उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौं तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,” लीले भने । गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्ति सम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

    दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भने, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।” प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो ।
    उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गरेका छन्, तर विस्तृत विवरण भने दिएका छैनन् ।

  • लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

    लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

    १२ असार, काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानिय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको हो।

    त्यसैगरी अर्को घटनामा, शक्रा र बराचित गाउँहरूबीच सडक निर्माणका लागि प्रयोग भइरहेको एक बुलडोजरलाई अर्को ड्रोन आक्रमणले लक्षित गर्दा एक जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन स्वास्थ्य कार्य सञ्चालन केन्द्रले जनाएको छ।

    लेबनानी सुरक्षाकर्मीले सिन्ह्वालाई दिएको जानकारीअनुसार, दुबै मृतकहरू हिजबुल्लाहसँग सम्बद्ध थिए। यी घटनाहरू इजरायल र हिजबुल्लाहबीच नोभेम्बर २७, २०२४ देखि लागू भएको युद्धविराम सम्झौताका बावजुद भएका हुन्। सो सम्झौताले गाजा क्षेत्रमा भएको युद्धपछि करिब एक वर्ष लामो संघर्ष अन्त्य गराएको थियो। यद्यपि, इजरायली सेनाले हिजबुल्लाहबाट हुने सम्भावित खतरा हटाउने उद्देश्यले छिटपुट रूपमा लेबनानमा आक्रमण जारी राखेको दाबी गर्दै आएको छ।

  • अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    १२ असार, टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का बिद्यार्थी हुन् । आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

    आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।

  • अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

    अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

    एजेन्सी १२ असार, अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो ।
    यसअघि ०।२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो भएको देखाएको छ। गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो ।

    जीडीपी घट्नुमा उपभोग खर्च र निर्यात अपेक्षाभन्दा कमजोर हुनु मुख्य कारण मानिएको छ। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेपछि लगाइएका व्यापक भन्सार शुल्कका कारण आयातमा तीव्र वृद्धि भएको छ । व्यापारिक साझेदारहरूबाट आयातमा लाग्ने नयाँ कर लागू हुनुअघि व्यापारीहरूले ठूलो मात्रामा सामग्री आयात गरी भण्डारण गरेकाले यो असर देखिएको हो ।

    जीडीपीको गणनामा आयात नकारात्मक रूपमा गनिन्छ, जसका कारण सरकारी खर्चमा गिरावट र उपभोगमा कमजोरीसँगै समग्र अर्थतन्त्रमा घटावट देखिएको हो । वाणिज्य विभागका अनुसार, हालको परिमार्जित अनुमानले उपभोग खर्च र निर्यातमा गिरावट देखाएको छ, यद्यपि आयातको गिरावटले केही हदसम्म त्यसको असरलाई न्यून तुल्याएको छ ।

    हाल अमेरिकी प्रशासनले अधिकांश व्यापारिक साझेदारहरूबाट आउने सामानमा १० प्रतिशत भन्सार कर घोषणा गरिसकेको छ, जुन अझै कार्यान्वयनको चरणमा पुगेको छैन । तर जुलाईमा सो निर्णय कार्यान्वयन हुने सम्भावना भएकाले बजारमा अनिश्चितता बढेको छ । राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र सवारीसाधन आयातमा समेत उच्च कर लगाएका छन् ।

    यस्ता कदमहरूले बजारमा अस्थिरता ल्याउनुका साथै आपूर्ति प्रणालीमा बाधा र उपभोक्ताहरूको मनोबलमा गिरावट ल्याएको अर्थविद्हरूको भनाइ छ । हालका लागि नीति निर्माताहरूले गर्मीयामभर आर्थिक तथ्याङ्कहरू नजिकबाट विश्लेषण गरिरहेकाले आगामी नीतिमा त्यसको असर देखिने अनुमान गरिएको छ ।

  • काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

    काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

    १२ असार, काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पाति नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

    काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिइन् ।


    कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिइन् ।


    यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उनले बताइन् । तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ । यी तीनवटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन् ।

  • ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    १२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए ।

    पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषाण गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन् ।

    उनले भने, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।” प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो ।

    सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो । यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलब २०, कञ्चनपुरमा ९६ दशमलब २१, अछाममा ९५ दशमलब ५५, डोटीमा ९६ दशमलब ५५, बाजुरामा ९७ दशमलब ३१, बझाङ ९५ दशमलब ६०, डडेलधुरामा ९६ दशमलब आठ, बैतडीमा ९६ दशमलब ५३ र दार्चुला जिल्लामा ९५ दशमलब ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीतिअनुरुप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो । देश भरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    १२ असार, काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

    यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताए ।
    साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उहाँहरुलाई सहज हुने मन्त्री डा राणाले बताइन् ।

    उनले भनिन्, “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रूपमा जानेलाई प्रोत्साहन गरेको भने होइन ।”

    मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीका समस्या धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिइन् । श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।

    उनले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एज्पलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

  • कमला नदीमा पुल निर्माण चाँडै

    कमला नदीमा पुल निर्माण चाँडै

    १२ असार, सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो । मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो ।


    उनले भने, “कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो । हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ ।” रु एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए । मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ ।

    सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, “थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ । पुल बनाउन यो रकम पर्याप्त छैन । सङ्घीय सरकारले पनि यसका लागि सहयोग गरोस् ।” निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ । वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ ।

  • अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

    अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

    एजेन्सी
    १२ असार, काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २।१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा सबैभन्दा कम वार्षिक रेकडै हो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मे महिनामा २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए। अस्ट्रेलियाको रिजर्भ बैंक अफ अस्ट्रेलियाको आन्तरिक मुद्रास्फितिको प्राथमिकताको मापन, वार्षिक कटौती गरिएको औसत दर अप्रिलमा २.८ प्रतिशतबाट घटेर मे सम्मको १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले यस वर्ष मे महिनामा उपभोक्ता मूल्य सूचकाङ्क २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।
    अष्ट्रेलियाको रिजर्भ बैङ्कको अन्तर्निहित मुद्रास्फीतिको वार्षिक औसत मापन यस वर्षको अप्रिलमा २.८ प्रतिशतबाट घटेर १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ । एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टले नोभेम्बर २०२१ पछि वार्षिक छाँटकाँट गरिएको औसत मुद्रास्फीतिको सबैभन्दा कम दर हो ।


    एबीएसले मे महिनामा खाद्य, मादक पेय पदार्थ, आवास, रक्सी र सुर्र्तीजन्य पदार्थले सिपिआईको वृद्धिमा सबैभन्दा ठूलो योगदान दिएको बताएको छ । अप्रिलमा ३.१ प्रतिशत रहेको खाद्य र मादक पदार्थको मूल्य गत बर्षको १२ महिनाको अवधिमा थप २.९ प्रतिशतले बढेको छ ।

    गत बर्षको अप्रिलमा ५.० प्रतिशत कायम रहेको भाडा मे महिना अर्थात् बितेका १२ महिनामा ४.५ प्रतिशत कायम भएको छ र यो डिसेम्बर २०२२ पछि सबैभन्दा कम वार्षिक वृद्धि हो । वृद्धिहरूमा १२ महिनामा बिजुलीको मुल्यमा ५.९ प्रतिशतले गिरावट आएको थियो, जुन सरकारी छुटहरूद्वारा सञ्चालित थियो । मोटर तथा इन्धनको मूल्य समान अवधिमा १० प्रतिशतले घटेर सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम अवस्थामा पुगेको छ ।

  • दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    १२ असार, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए ।
    मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।” मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनले भने, बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छाँै, जिआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ ।”

  • खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    १२ असार, पाटन । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

    “खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उनले भने ।

  • प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै

    प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै

    १२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राससलाई जानकारी दिए ।
    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तत्र्रिmया गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

    स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ । सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ । स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

    नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ । नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गर्नुभएको थियो ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए । सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यसअवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो । वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबीच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ ।

    नेपालको भौगोलिक अवस्थिति, प्रकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलकारूपमा परिचित छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

  • आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    १२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

  • फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    १२ असार, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो ।

    जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

    जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

    सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए । जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन् ।

    नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०÷१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।

    फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ ।

    स्थानीय बिमला राई भन्नुहुन्छ, “सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।” स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, “मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।”

  • गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

    गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

    एजेन्सी
    १२ असार, काठमाडौं । इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमण तथा गोली प्रहारका कारण बुधबार कम्तीमा ३८ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाका स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन् । गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ ।

    स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार, गाजाको केन्द्रमा रहेको नेतजारिम गलैंचामा अमेरिकी सहयोग प्राप्त खाद्य सहायता वितरण केन्द्र नजिकै खाना लिन पर्खिरहेका नागरिकहरूलाई लक्षित गरी गोली चलाइएको थियो । अल–अव्दा अस्पतालले १० वटा शवहरू प्राप्त भएको र ५३ जना घाइतेको उपचार गरिएको जनाएको छ ।

    त्यसैगरी, गाजाको दक्षिणी क्षेत्रमा पर्ने राफाहको उत्तरतर्फको अल–शकुश क्षेत्रमा भएको अर्को घटनामा इजरायली फायरिङबाट एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरको पूर्वी क्षेत्रमा रहेको अल–शुजैय्या क्षेत्रमा एक इन्धन स्टेशननजिक रहेको भवनमा भएको हवाई आक्रमणका कारण एउटै परिवारका सात सदस्यहरूको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । त्यस्तै, देर अल–बालाह, अल–नुसेरात शरणार्थी शिविर र जबालियामा भएका अन्य आक्रमणहरूमा पनि कम्तीमा १५ जनाको मृत्यु भएको तथा अरू केही हराइरहेका जनाइएको छ ।

    गाजाको पश्चिमी क्षेत्रमा रहेको अन्सार सरकारी भवन नजिक भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा एक महिला र एक बालक पनि परेका छन् । यी घटनाहरूमा इजरायली पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। यसैबीच, इजरायली सेनाले मंगलबार गाजाको दक्षिणमा एक सशस्त्र सवारीसाधन विस्फोटमा परेको घटनामा सात जना आफ्ना सैनिकको ज्यान गएको पुष्टि गरेको छ ।

    इजरायलले मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेको हो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता पाँच ७५९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १९ हजार ८०७ जना घाइते भएका छन्। युद्ध सुरु भएको सन् २०२३ को अक्टोबर यता गाजामा कूल ५६ हजार ७७ जनाको मृत्यु भएको र एक लाख ३१ हजार ८४८ जना घाइते भएको जनाइएको छ ।

  • मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु

    मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु

    एजेन्सी
    १२ असार, मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् । नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ।

    राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिए । गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।

    स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ । सन् २००६ यता लागूऔषधसँग सम्बन्धित हिंसात्मक घटनाहरूले मेक्सिकोमा करिब चार लाख ८० हजार जनाको ज्यान लिइसकेको छ भने एक लाखभन्दा दुई बढी व्यक्ति हालसम्म बेपत्ता छन् ।

  • अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

    अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

    १२ असार, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् ।

    अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए । एमालेमा प्रधानमन्त्री पदमा रहेका व्यक्तिले मासिक २५ हजार बुझाउनु पर्ने नियम बनाइएको छ । सामाजिक संजालमा भने राज्यको तलव कोष पार्टीलाई बुझाएको भन्दै आलोचना हुने गरेको छ ।

  • हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    ११ असार, काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो मार्ग रोज्नेगर्छन् ।

    सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । उहाँका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय यात्री हवाई मार्ग हुँदै हुम्ला आएका छन् । यहाँबाट यात्रुहरु सडक र हवाईमार्ग हुँदै हिल्सा जान्छन् भने त्यहाँबाट सडकमार्ग हुँदै चीन प्रवेश गर्छन् ।

  • इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

    इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

    १२ असार, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गरेका छन् । यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ ।


    “मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल सम्बद्ध कम्पनीलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गरे । उनको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “इरान विरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतङ्कवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गर्नु हो, जसले मध्यपूर्वभर आतङ्कवादलाई वित्त पोषण, हतियार र निर्देशन दिन्छ ।”

    लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मङ्गलबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए । दुई पक्ष दशकौँदेखि छायाँ युद्धमा फसेका छन् । इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ । इजरायलले जुन १३ मा सुरु भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो ।

    आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ । “हामीले एउटा महत्त्वपूर्ण चरण सम्पन्न गरेका छौँ तर इरान विरुद्धको अभियान समाप्त भएको छैन । हामी हालको उपलब्धिहरूका आधारमा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ”, इजरायली सेनाका प्रमुख इयाल जमीरले मङ्गलबार एक विज्ञप्तिमा भने ।