Category: फिचर

  • एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    ११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरूलाई छ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीले पार्टीमा उहाँहरू दुवै जनालाई पार्टी काममा खटाउने निर्णय गरेको बताए । पार्टीभित्र राख्नुपर्ने कुरा सार्वजनिक गरेपछि स्थायी कमिटी सदस्य पाण्डे र तिमिल्सेनालाई कारबाही गरेको थियो ।

  • पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    ११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । आजै थुनछेक बहस भएको थियो । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो । भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

    १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्‍यो । कानूतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालिन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

  • वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

    वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

    ११ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो । यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विगतका वर्षमा पटक–पटक समस्या आउने तीन पिप्लेदेखि अन्तिम फोहर वयवस्थापनस्थल बञ्चरेडाँडासम्मको सडक मर्मतको काम भइसकेकाले फोहर व्यवस्थापनका लागि सहज हुन्छ ।

    उनेल भने, “विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र सडक मर्मतको काम पनि भइसकेकाले फोहरकै कारण नागरिकले सास्ती खेप्नुगर्दैन ।” राईका अनुसार तीन पिप्लेदेखि सिसडोलसम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन ।

    महानगरका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार ६०० मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन बञ्चरेडाँडा लग्ने गरिएको छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्ने गरेको छ ।

    सुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ मा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने हुन्छ । पछिल्लो समय महानगरले बञ्चरेडाँडामा लग्ने फोहर घटाउनका लागि ३२ वडालाई छ क्षेत्रमा निर्धारण गरेर फोहर वर्गीकरणको काम गरिरहेको छ ।

  • विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

    विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

    ११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उहाँले मनसुनका बेला हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए ।

    उनले उक्त निर्णयका बारेमा आम नागरिकसम्म पुगाउन सूचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गरे । “कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ”, उहाँले भन्नुभयो, “कारण देखाउनुपर्ने छैन, बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैको भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ ।” उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशनसमेत दिए ।


    पहिरोले सडक अवरुद्धका साथै सवारी साधनसमेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्या सिर्जना हुने गरेको बताए । “विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई हो”, उनले भने, “सूचना प्रवाह धेरै महत्वपूर्ण छ, विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिउधनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

  • पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    ११ असार, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।
    आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएसँगै अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिए ।

    उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरे । पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो । आदेश आजै आउने तयारी भएको जनाइएको छ ।

  • भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ११ असार, कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।
    नागरिक संस्था किन नेपाल,किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

    रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उनले बताए । उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पु¥याइएको थियो । रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

    सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ९डिआइजी० डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए । सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाका युवालाई बस्नका लागि प्रबन्ध गरिएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।

  • भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    ११ असार, चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् ।

    लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    ११ असार, काठमाडौं । शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।

    गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार राति दुवै बालबालिकाको खोजी गर्दा हृदय नारायण पासवानको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा प्लाइले ढाकेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

  • पाँच महानगरको आयो बजेट, बालेनले ल्याउन सकेनन्

    पाँच महानगरको आयो बजेट, बालेनले ल्याउन सकेनन्

    ११ असार, काठमाडौं । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत गरेका थिए । केही स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट रोकिएको छ भने केहीमा प्राविधिक कारण देखाइएको छ । कूल छ वटा महानगरमध्ये काठमाडौँ महानगरको बजेट तोकिएको समयमा प्रस्तुत हुन सकेन ।

    विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट प्रस्तुत गरिसक्दा सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरले भने आन्तरिक विवादका कारण समयसीमाभित्र प्रस्तुत गर्न सकेन । सङ्घीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौँ महानगरको बजेटका बारेमा आम चासो रहने गरेको छ । काठमाडौँ महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन । नगरसभा बस्न नसकेको र बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरको तर्फबाट कुनै पनि आधिकारिक धारणा सार्वजनिक हुन सकेको छैन ।

    सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहकाबीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ । महानगरको नीति तथा कार्यक्रम र बजेटकाबारेमा सम्बद्ध पदाधिकारीका बीचमा छलफल हुन सकेको छैन । यस्तै, देशका अन्य केही स्थानीय तहमा नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन ।

  • थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलको भेट

    थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलको भेट

    ११ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन् । जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन् ।

    नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ । दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे । “हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ”, मन्त्री पौडेलले भने ।


    थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरु चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उहाँहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए ।

    अन्तक्र्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराए । मन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउने कार्यक्रम छछ ।

  • देशभर मनसुनी वायुको प्रभाव

    देशभर मनसुनी वायुको प्रभाव

    ११ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही स्थानमा र बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    रासस
    ११ असार, चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको हो ।

    व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने पोखरेलले बताउनुभयो । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् ।

    विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनी बताँछन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।

  • इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

    इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

    ११ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो । मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए ।


    गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको सङ्ख्या र विवरणहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ भएको बताइएको छ । बिहान गाजा सहरको एउटा घरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको र धेरै घाइते भएको बासलले बताए । बीस महिनाभन्दा बढीको युद्धपछि क्षेत्रभरि अनिकाल परेका कारण हजारौँ प्यालेस्टिनी गाजामा खाद्यान्न रासन प्राप्त गर्ने आशामा दैनिक भेला हुने गरेका छन् ।

    हमासद्वारा सञ्चालित गाजा पट्टीमा स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनाको अन्त्यदेखि सहायता माग्दै गर्दा इजरायली आक्रमण्मा कम्तीमा चार सय ५० जनाको मृत्यु भएको र करिब तीन हजार पाँच सय जना घाइते भएका छन् । उद्धारकर्ताहरूका अनुसार तीमध्ये धेरै गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित साइटहरू नजिकै रहेका छन् ।

    गाजामा निजी रूपमा सञ्चालित फाउन्डेसनको सञ्चालन अराजक दृश्यहरूले बिगारेको छ । संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र प्रमुख सहायता समूहहरूले यसलाई इजरायली सैन्य उद्देश्यहरू पूरा गर्न डिजाइन गरिएको चिन्ताका कारण सहयोग गर्न अस्वीकार गरेका छन् । इजरायलले इरानसँग युद्धविराम गर्न सहमत भएको घोषणा गरेपछि इजरायलका विपक्षी नेताले मङ्गलबार गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । “अनि अब गाजा । यो त्यहाँ पनि समाप्त गर्ने समय हो । बन्धकहरूलाई फिर्ता ल्याउनुहोस्, युद्धको अन्त्य गर्नुहोस्”, यायर लापिडले एक्समा लेखे ।

  • सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

    सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

    एजेन्सी
    ११ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गरेका छन् । प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ । उनले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गरे । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन र सिङ्गापुरलाई ‘इतिहासको सही पक्षमा र निष्पक्षता र न्यायको पक्षमा उभिन’ काम गर्न आग्रह गरे ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष चीन र सिङ्गापुरलगायत देशहरूमा करको अवरोध सुरु गरेपछि संयुक्त राज्य अमेरिकामाथि परोक्ष रूपमा प्रहार गर्दै सीले भने, “विश्व आधिपत्यमा फर्किन सक्दैन वा जङ्गलको कानूनमा फिर्ता तानिन सक्दैन ।” बदलामा वोङले सीलाई ‘विश्वव्यापी अशान्ति र अनिश्चितता’ को समयमा सिङ्गापुर–चीन सम्बन्ध ‘पहिलेभन्दा बढी महत्त्वपूर्ण’ भएको विश्वास गरेको बताए । “हामी घनिष्ठ सम्बन्ध स्थापना गर्न सँगै काम गर्न सक्छौँ, सबै देशको फाइदाका लागि बहुपक्षवाद र नियम–आधारित विश्वव्यापी व्यवस्थालाई बलियो बनाउन जारी राख्न सक्छौँ”, वोङले भने ।


    सन् २०२४ मा संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको उत्तराधिकारी बनेका वोङले व्यापारमा निर्भर सहर–राज्यलाई ट्रम्पको करबाट नराम्रो असर पर्नसक्ने चेतावनी दिएका छन् । यद्यपि ट्रम्पले सिङ्गापुरमा आधारभूत १० प्रतिशत शुल्क लगाए पनि देश अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण दर्जनौँ अन्य देशमा लगाइएको धेरै उच्च करले गर्दा हुने विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ । बेइजिङमा आफ्नो बैठकपछि वोङ विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन उत्तरी चिनियाँ सहर तियान्जिन जानेछन् ।

  • इजरायल र इरानद्वारा युद्धविराम स्वीकार, १२ दिने युद्ध थामियो

    इजरायल र इरानद्वारा युद्धविराम स्वीकार, १२ दिने युद्ध थामियो

    एजेन्सी
    ११ असार, काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
    दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताए । नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउन लगायत इरान विरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको बताए । इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूलाई पनि क्षति पुर्‍याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उनले बताए ।


    “इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ”, उनले भने । इरानी सहरहरूमा भारी इजराइली हमलाहरू बिहान ४ बजे (स्थानीय समय) को केही समय अघिसम्म जारी रहेको थियो । त्यसपछि इरानी आक्रमणले इजराइलीहरूलाई सूर्योदय हुँदा बम आश्रयमा हतारमा पठायो । इरानी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र आठ जना घाइते भएको इजराइलको मागेन डेभिड आदोम (एमडिए) उद्धार सेवाले बताएको छ ।

    इरानले आफ्ना आक्रमणहरू रोक्नका लागि समयसीमा पार गरेको एक घण्टाभन्दा बढी समयपछि ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “युद्धविराम अब प्रभावमा छ । कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् ।’इरानी राज्य टेलिभिजनले युद्धविराम ७ः३० बजे (स्थानीय समय) मा लागू भएको तर इरानी अधिकारीहरूले ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको बताएको छ । केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले देश हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए ।

    “अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै ‘सम्झौता’ भएको छैन”, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेखेका छन्, “यद्यपि इजरायली शासनले इरानी जनता विरुद्धको आफ्नो अवैध आक्रमण तेहरान समय बिहान ४ बजे भन्दा पछि रोक्छ भने, हामीसँग पछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै मनसाय छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।”

  • इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

    इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

    ११ असार, काठमाडौं । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्याङ्कन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वय पश्चात् गरिएको जनाएको छ ।

    प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीका अनुसार, इराकको हालको सुरक्षा स्थिति हवाई उडान सञ्चालनका लागि पर्याप्त विश्वसनीय रहेको छ । उनले भने, “हवाई मार्ग पुनः सञ्चालनमा आएसँगै इराकको भौगोलिक महत्व थप मजबुत हुने विश्वास गरिएको छ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ । साथै, यसले वैश्विक उडानहरूको समय र इन्धन खर्च पनि घटाउनेछ ।”

    इराकले यसअघि जुन १३ मा सुरु भएको इजरायल–इरान द्वन्द्वपछि सम्भावित जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरूका लागि हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो । हाल सुरक्षात्मक मूल्याङ्कनका आधारमा सकारात्मक सुधार देखिएको भन्दै प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय लिएको हो ।

  • कतारमा इरानी आक्रमणपछि सोमबार उड्न नपाएका यात्रु आज उडे

    कतारमा इरानी आक्रमणपछि सोमबार उड्न नपाएका यात्रु आज उडे

    १० असार, काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उडेका छन् । सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए ।

    इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज मध्याह्न १२ बजे तय गरिएको थियो ।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो । जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । कतारबाट काठमाडौँ आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौँ आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ ।

    महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने उनले बताए । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ ।

    कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

  • भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    १० असार, काठमाडौं । सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसदहरुले समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले उक्त समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहेको जानकारी दिए ।

    व्यवस्थापन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको मन्त्री लेखकले जानकारी दिए । यो विषयमा प्रतिपक्ष र सत्तापक्षबीच सहमति भएको थियो ।

    सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दलले असहमति जनाएका छन् । गृहमन्त्री लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्री उपर छानबिनको माग गरे । “अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो, यस प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्छ”, उनले भने । बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिस्कार गरेका छन् ।

  • धुलिखेल–खावा  : ४ किलोमिटर सडकमा ४ वर्षदेखिको सास्ती

    धुलिखेल–खावा : ४ किलोमिटर सडकमा ४ वर्षदेखिको सास्ती

    १० असार, काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । चार किलोमिटर लम्बाईको यो सडक करिब चार वर्षसम्म सडक नबनेको र निर्माणले गति नलिएपछि ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले स्पष्ट गरेको छ । निर्माण सम्झौता रद्द भएको सो सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठकेकेदारमार्फत काम थाल्न अझै केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।

    उक्त सडकखण्डको स्तरोन्नतिको काम तोकिएको समयसीमाभित्र पूरा नभएपछि नियमानुसार ठेक्का रद्द भएसँगै सम्बद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ठेक्का लिएको थियो ।
    ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशत निर्माण कार्य भएको थिएन । सम्झौता अनुसारको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको ‘गौरी–पार्वती निर्माण सेवा’सँगको ठेक्का रद्द गरेको थियो ।

    उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले ‘निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी रकम जफतलगायत कारबाही नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश जारी गरेपछि सडकखण्ड निर्माणका काम अवरुद्ध भएको हो ।

    स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा अझै केही महिना लाग्ने भएकाले सवारीसाधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सिडिई सुमन योगेशले केही दिनमै नयाँ ‘स्टिमेट’ तयार गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिए । “नयाँ ठेक्काका लागि दुईदेखि साढे दुई महिना लाग्छ, भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी हुन्छ,” उनले भने, सो सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का खोल्न रु ४२ करोड स्रोत सुनिश्चित भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेशबाट पुनः ठेक्का प्रक्रिया अघि बढाउन कुनै बाधा पर्दैन । यसअघि लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक र विश्वसनीय जवाफ नआएकाले बाध्य भई ठेक्का रद्द गर्नु परेको हो । सो सडक निर्माण कार्यअन्तर्गत अहिलेसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम मात्रै भएको छभने केही स्थानमा नाली तथा ‘ड्रेन–वाल’ लगाउने काम पनि भएको छ । जिपलाइनदेखि तल खावासम्म सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा ‘कटिङ’ गर्न बाँकी रहेको छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षाले बगाएर खण्डहरझैँ बनाएको थियो ।

    समयमै निर्माणसम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीसाधनका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना परी कैयौँ यात्रु घाइते हुनाका साथै उनीहरूले सास्ती व्यहोर्नु परेको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डको राजमार्ग १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

    उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सो कार्यालयले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको ‘डिबिएम र आस्फाल’ कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै छिमेकी मित्रराष्ट्र चीनसँगको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीसहित दोलखा, रामेछाप जिल्ला पुग्ने यो सडकखण्डको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

  • भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    १० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन् ।

    उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ ।”

    अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण एवं तथ्यगत छानबीन गरी देखिने सशया समाधान गर्न नीतिगत, कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्ताव गर्ने गृहमन्त्री लेखकले बताए ।

    उनले अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सो को मस्यौदासहितको सुझाव पेश गर्ने पनि बताए ।


    “अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेश गर्ने र अध्यागमन व्यवस्थापन र नागरिकको आगमन तथा प्रस्थानमा समस्या सृजना हुन नदिन सम्बद्ध निकायबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्था बारेमा सुझाव पेश गर्नेछ”, कार्यादेशमा उल्लेख छ । अध्यागमन व्यवस्थापन र नागरिकको यात्रा सहजीकरण सम्बन्धमा अन्तरराष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेश अनुरुप कार्यान्वयन गर्न सकिने सुझाव पेश गरिने छ ।

    “भिजिट भिसा, श्रम भिसालगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिले बेहोर्नुपरेको समस्या तथा विदेशमा अवैधरुपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गर्न अपनाउनुपर्ने उपायका सम्बन्धमा सुझाव पेश गरिने छ”, कार्यादेशमा भनिएको छ । समितिले अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज र छिटो छरितो बनाइ सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने र विदेश प्रस्थान तथा आगमन गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने कार्यादेशमा भनिएको छ ।

    समितिले अध्यागमनको आगमन र प्रस्थानको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव दिने र आफ्नो कार्यविधि आफैँ निर्धारण गर्ने, समितिले आवश्यकताअनुसार सरकारी, गैरसरकारी संस्थाका पदाधिकारीलाई आमन्त्रण गरी सुझाव लिन सक्ने छ । समितिले तीन महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ ।

    पूर्वमुख्य सचिव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको छ । गृहमन्त्री लेखकले समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिए ।समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र) प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

  • बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

    बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

    १० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताए । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए ।

    “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,” प्रधानमन्त्री ओलीले भने, “हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ । लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।”


    प्रधानमन्त्री ओलीले संसद् जनताको बलिदान, सङ्घर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न आग्रह गरे । उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गरे ।

    “यो प्रणाली र संविधानको रक्षा गरौँ । यसको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ । यसमा सबै ढुक्क भए हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “म ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बदिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न । संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन ।”


    प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैङ्कको व्यवस्था गरी रु तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए । राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षाअनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न आग्रह गरे ।

  • प्रतिनिधिसभाबाट पारित भयो बजेट

    प्रतिनिधिसभाबाट पारित भयो बजेट

    १० ऋसँर, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेक्ँ ीथ्उ ।

    सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ) नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

    आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिउ ।

    सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट प्रस्तुत गरिएको थियो । यसअघिका बैठकमा विनियोजन विधेयकमाथि सामान्य र मन्त्रालयगत शीर्षकमाथि छलफल भएको थियो । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्न र स्पष्टीकरणको सम्बन्धित मन्त्रीले जवाफ दिउ ।

  • प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

    प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

    १० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्भ न्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।

    त्यस्तै उनले नै प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

  • घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

    घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

    १० असार, घोराही । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका ज्यामिरे दह सामुदायिक उपभोक्ता समूहकी अध्यक्ष रिना बस्नेतले बताइन् । उनका अनुसार अन्य समयमा ८० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउनेमा बिदाका दिनमा एक सयभन्दा बढी आउने गरेका छन् ।

    दहमा पानीको ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ज्यामिरे दह सामुदायिक वन ४८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा अवस्थित छ । पर्यटकलाई आकर्षण गर्न यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना बनाइएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार दहलाई पर्यटकीय क्षेत्र बनाउन डुङ्गा सञ्चालन गरिएको छ ।
    तालमा डुङ्गासहित पानीमा पौडन मिल्ने ‘लाइफ ज्याकेट’को व्यवस्था गरिएको डुङ्गा सञ्चालक आइते विकले बताए ।

    पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका उनको भनाइ छ । “प्राकृतिक रूपमा रहेको तालको स्तरवृिद्ध गरी ड्याम निर्माण गरिएको छ । दह निर्माण भएसँगै सौन्दर्य हेर्न लायक बनेको पर्यटक बताउँछन् । ताल अवलोकनमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको हो”, उनले भने ।


    डुङ्गा सञ्चालकका अनुसार बिदा र चाडपर्वको समयमा डुङ्गा सयर गर्नेको घुइँचो लाग्ने गर्दछ । डुङ्गा सयर गरेबापत प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको जनाउँदै आइते डुङ्गामा ताल घुम्न १५ देखि ४० मिनेटसम्म लाग्ने बताए ।
    ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यहाँको व्यापार पनि बढ्न थालेको उनको भनाइ छ ।

    दहमा दाङसहित बुटवल, नेपालगञ्ज, बर्दियाबाट पर्यटक आउने गरेका आइतेले जानकारी दिए । दहको विकासका लागि प्रतिक्षालय, खानेपानीलगायत पूर्वाधार विकास गर्न सके पर्यटकलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने घोराही–१० की सनम डिसीले बताए । प्रतिक्षालय नहुँदा अत्यधिक गर्मी र पानी पर्दा बस्न समस्या हुने गरेको छ ।

    यस क्षेत्रको विकास गर्न सके पर्यटकीय सम्भावना छन् । स्थानीयको आयस्रोत वृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुनेछन्”, उनले भने । यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्नेमा घोराही–१५ की रेखा केसीले जोड दिइन् । वर्षायामको समय भएकाले यहाँको सौन्र्दय हेर्न, डुङ्गामा सयर गर्न आन्तरिक पर्यटक आउने भएकाले दहलाई थप व्यवस्थित गर्नुपर्ने उनले बताए ।

  • समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    १० असार, मन्थली । समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो । समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवर्द्धनुँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली नगरपालिका–८ का बालकृष्ण माझीले बताए । आफ्नो संस्कारका बारेमा अरु समुदायका साथै माझी समुदायका युवालाई जानकारी गराउने उद्देश्यले अभियानका रूपमा संरक्षण गर्न पहल थालिएको उनको भनाइ छ ।

    यहाँका माझी समुदायको सङ्गठन मझे सावाका संयोजक बहादुर माझी र समाजशास्त्री प्राडा कृष्ण भट्टचन्दले यो समुदायको संस्कृति र पहिचाहनका बारेमा जानकारी प्रस्तुत गरेका थिए । मन्थलीको गाईखुराबाट सुरु गरिएको उक्त अभियानको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका लागि आर्थिक सहयोग नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान केन्द्रीय समितिले गरेको छ ।

  • एसिसी पुरुष यु–१६ क्रिकेट : नेपाल र जापान भिड्दै

    एसिसी पुरुष यु–१६ क्रिकेट : नेपाल र जापान भिड्दै

    १० असार, काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

    यससँगै नेपालले पहिला बलिङ गर्नेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।

    एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

  • आजको प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी

    आजको प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी

    १० असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

    बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

  • इरान भन्छ : ट्रम्पको दावि झुटो हो

    इरान भन्छ : ट्रम्पको दावि झुटो हो

    १० असार, काठमाडौं । इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभएको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए। उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए।

    अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरेललाई सजाय दिन जारी राख्ने बताए। तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए। सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए।
    ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ। तर पहिले दुवै देशले तिनले थालिसकेका अन्तिम सैन्य कारबाहीहरू सम्पन्न गर्ने उनले बताएका थिए।

    अहिले इजरेलले अभूतपूर्व शक्तिका साथ इरानमा निसानाहरूमा प्रहार गरिरहेको त्यहाँका रक्षामन्त्रीले बताएका थिए। इरानले चाहिँ इजरेलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरबाट मानिसहरूलाई अन्यत्र जान चेतावनी दिएको थियो। राष्ट्रपति ट्रम्पका अनुसार २४औँ घण्टाको अन्त्यपछि यो युद्ध आधिकारिक रूपमै टुङ्गिनेछ।

    राष्ट्रपति ट्रम्पले युद्धविरामको घोषणा भएको दाबी गर्नुभन्दा केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गर्दै त्यसलाई उसको परमाणु केन्द्रहरूमा अमेरिकाले गरेको हमलाको शक्तिशाली जवाफ भनेको थियो। इरानी हमलामा कुनै हताहती नभएको कतारले जनाएको छ। ट्रम्पले पनि त्यसको पुष्टि गरे। केही घण्टापश्चात् कतारले उसको हवाई क्षेत्र खुला गरेको थियो। कतार, अन्य खाडी राष्ट्र तथा राष्ट्रसङ्घ सबैले उक्त इरानी कारबाहीको निन्दा गरेका थिए।
    बीबीसीको सहयोगमा

  • अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    १० असार, बेनी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो ।

    हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो ।

    अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए ।


    उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भने ।

    अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए ।

    विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए । “दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने ।


    पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई–दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गर्दै आएका अजित सेञ्चुरीले बताए । पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले बताए ।

  • कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षति नभएको पुष्टि

    कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षति नभएको पुष्टि

    १० असार, काठमाडौं । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ।

    कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरे ।


    उनका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ।

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई अभिनन्दनको विजय नाम दिएको छ। उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन्। आइआरजीसीले अल उदीद अड्डालाई पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र को रूपमा उल्लेख गरेको छ।

    इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ। यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ। यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्।

    कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन्। कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।