Category: फिचर

  • ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो

    ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल र इरान सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमत भएको दाबी गरेका छन्। उनले अबको केही घण्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताए । इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।

    डोनाल्ड ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कारबाहीहरूलाई अन्त्य गर्नेू काम थालेपछि अबको लगभग छ घण्टापछि त्यो लागु हुने बताएका थिए। ट्रम्पको घोषणामा सैन्य गतिविधिहरूका बारेमा समयबद्ध विवरणहरू भएता पनि त्यसमा युद्ध औपचारिक रूपमा अन्त्य हुने कुरा समावेश छ।

    अमेरिकी राष्ट्रपतिले इजरेल इरान द्वन्द्वलाई १२ दिनको युद्धू पनि भने। उनले आफ्नो सन्देशमा यो युद्ध वर्षौँसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने खालको भएपनि त्यसो नभएको र अब कहिल्यै त्यस्तो नहुने दाबी पनि गरेका छन्।
    बीबीसीका संवाददाता बर्न्ड डेबुस्मन जूनिअर ह्वाइटहाउसबाट पठाइएको उनको समाचार विवरणमा भन्छन् कि ट्रम्पको युद्धविराम घोषणका बारेमा इजरेल र इरानको प्रतिक्रिया थाहा पाउनै बाँकी छ। फेरि उनको यो घोषणपछि लडाइँ रोकिन्छ वा युद्धविराम लागु भएमा त्यो कायमै रहन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन।

    अमेरिकी सञ्चारमाध्यमहरूले नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरूलाई उल्लेख गर्दै कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामका निम्ति भूमिका खेलेको जनाएका छन्। तर ट्रम्पले गरेको युद्धविरामसम्बन्धी घोषणाप्रति इरानबाट औपचारिक प्रतिक्रिया आइनसकेको बीबीसी पर्सिअन सेवाकी पत्रकार घोनशेह हबिबिआजादले बताएकी छन्।

    इरानको सरकारी लगायतका सञ्चारमाध्यमहरूले त्यसलाई ट्रम्पको दाबी मात्रै भनेर जनाएका छन्, जुन हालका निम्ति घटनालाई सावधानीपूर्वक लिइएको सङ्केत हो। यसैबीच इजरेली सेना आईडीएफले तेहरानका विभिन्न जिल्लालाई लक्ष्यित गर्दै त्यहाँ हमला हुन सक्ने भनी मानिसहरूलाई अन्यत्र जान तीनवटा सूचनाहरू जारी गरेको छ। देशका विभिन्न भागमा विस्फोटका आवाज सुनिएको विवरण प्राप्त भएको छ।
    बीबीसीबाट

  • इजरायलद्वारा तेहरानमा शक्तिशाली आक्रमण, इरानी सुरक्षा निकाय र इभिन जेललाई निशाना

    इजरायलद्वारा तेहरानमा शक्तिशाली आक्रमण, इरानी सुरक्षा निकाय र इभिन जेललाई निशाना

    एजेन्सी
    इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको संरचना र प्रसिद्ध इभिन जेलमाथि हवाई प्रहार गरेको छ । इजरायलका अनुसार यो आक्रमण हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ । युद्धको ११औं दिनमा इजरायलले तीव्र बलप्रयोगका साथ इरानी ‘शासनका लक्षित संरचना’ हरूमा कारबाही गरेको जानकारी दिएको छ ।

    इजरायली रक्षा मन्त्री इस्राएल कात्जले उक्त कारबाहीलाई ‘अभूतपूर्व बल प्रयोगसहित शासनको नियन्त्रण संरचनामाथिको प्रहार’ भनी वर्णन गरे । उनका अनुसार आक्रमणका लक्ष्यहरूमा इभिन जेल, घरेलु बासिज मिलिसियाको कमाण्ड केन्द्र र इरानी सेनाको संरचना समावेश थिए । इभिन जेल राजनीतिक बन्दी र शासन विरोधीहरूलाई राख्ने ठाउँका रूपमा चिनिन्छ ।

    इजरायली सेनाले एक वक्तव्यमार्फत् आक्रमणको उद्देश्य ती संरचना निस्तेज पार्नु रहेको जनाएको छ, जुन इरानमा आन्तरिक सुरक्षाको निगरानी तथा शासनको स्थायित्व सुनिश्चित गर्ने काममा संलग्न थिए । साथै, तेहरान दक्षिणतर्फको पर्वतीय क्षेत्रमा अवस्थित महत्वपूर्ण फोर्डो युरेनियम समृद्धिकरण केन्द्र पनि निशानामा परेको थियो ।

    इजरायली सेनाले भने अनुसार, फोर्डो केन्द्रको ‘पहुँच मार्गलाई अवरुद्ध गर्न’ सोमबार आक्रमण गरिएको हो । उक्त स्थानमा अघिल्लो दिन संयुक्त राज्य अमेरिकाले ‘बंकर बस्टर’ बम प्रयोग गरी आक्रमण गरिसकेको थियो । अमेरिका तथा इजरायलले इरानको आणविक कार्यक्रमलाई सम्भावित खतराको रूपमा लिएका छन् ।
    इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उता, इरानका आक्रमणहरूले इजरायलमा २४ जनाको ज्यान गएको पुष्टि गरिएको छ । तेहरानमा आक्रमणपछि विद्युत् आपूर्ति प्रणालीमा असर परेको र केही समयका लागि विद्युत् अवरोध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उता इजरायलको राष्ट्रिय विद्युत् कम्पनीले पनि देशको दक्षिणी भागमा रहेको ‘रणनीतिक संरचना’ नजिक क्षति पुगेको जनाएको छ, यद्यपि स्थान र कारण खुलाइएको छैन ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो दिन इरानी आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणले ‘पूर्णरूपमा नष्ट’ गरेको दाबी गरे । यद्यपि केही अधिकारीहरूका अनुसार त्यसको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्नेछ ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा बोल्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले फोर्डो स्थलमा क्षतिको देखिने प्रमाण भए पनि भूमिगत क्षति मूल्याङ्कन गर्न नसकिएको बताए । उनले आणविक संरचनामाथिको हतियारयुक्त आक्रमण कुनै पनि अवस्थामा हुनु नहुने कुरामा जोड दिए ।
    इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलका आक्रमणले आणविक कूटनीतिक पहलमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । उनले यो हस्तक्षेपले ‘शान्तिपूर्ण वार्ताको द्वार बन्द गर्न सक्ने’ टिप्पणी गरे । यस घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा प्रभाव देखिएको छ । प्रारम्भिक अवस्थामा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले वृद्धि भए पनि दिनको उत्तरार्धमा केही घटेको छ । चीनले दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै क्षेत्रीय तनावले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिएको छ ।

    युद्ध अझ गम्भीर मोडमा जान सक्ने संकेत देखिँदै गर्दा, अमेरिकाले आफ्ना नागरिकहरूलाई विश्वभर सतर्कता अपनाउन अनुरोध गरेको छ । बहरेनस्थित अमेरिकी दूतावासले स्थानीय तनावका कारण केही कर्मचारीहरूलाई अस्थायी रूपमा ‘टेलिवर्क’ मा स्थानान्तरण गरिएको जनाएको छ ।

  • क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

    क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

    काठमाडौँ, ९ असारः क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ । राष्ट्र बैंकले आज ‘बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्याउने समय एक वर्ष थपेको हो । संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा प्रवाह गर्ने र साना तथा मझौला उद्योगमा प्रवाह गर्नुपर्ने न्यूनतम १५ प्रतिशत कर्जाको सीमा पु¥याउनका लागि २०८५ असारसम्मको समयसीमा पाएका हुन् । यसअघि यस्तो क्षेत्रगत कर्जाको सीमा कायम गरिसक्न २०८४ असार मसान्तसम्मको समय दिइएको थियो ।

    एकीकृत निर्देशनमा संशोधन गरी वाणिज्य बैंकहरुले कृषि, लघु, घरेलु, साना उद्योगमा प्रवाहित कर्जा २०८२ असार समान्तसम्म ११ प्रतिशत, २०८३ असार मसान्तसम्ममा १२ प्रतिशत, २०८४ असार मसान्तसम्म १३ प्रतिशत र २०८५ असार मसान्तसम्म १५ प्रतिशत पु¥याइसक्नुपर्नेछ । यसअघि यस्तो क्षेत्रगत कर्जा २०८२ असार समान्तसम्म १२ प्रतिशत, २०८३ असार मसान्तसम्म १३ प्रतिशत र २०८४ असार मसान्तसम्म १५ प्रतिशत पुर्याइसक्नुपर्ने व्यवस्था थियो ।

    राष्ट्र बैंकले जारी गरेको संशोधित एकीकृत निर्देशनअनुसार विकास बैंकहरुले कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा र पर्यटन क्षेत्रमा न्यूनतम २० प्रतिशत र ‘ग’ वर्गका वित्त कम्पनीहरुले १५ प्रतिशत कायम गरिसक्नुपर्ने समयसीमामा पनि एक वर्ष थपेर २०८५ असार मसान्तसम्म कामय गरिएको छ । कृषि क्षेत्रमा तोकिएको न्यूनतम प्रतिशत कर्जा प्रवाह गरेका वाणिज्य बैंकले अन्य क्षेत्रमा तोकिएको प्रतिशत बमोजिम कर्जा लगानी गर्न नसकेमा नपुग प्रतिशत आफ्नो विशेषज्ञता भएको क्षेत्रमा थप लगानी गरी कुल प्रतिशतमा गणना गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    त्यस्तै, रु दुई करोडसम्मको क्षेत्रगत कर्जालाई पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने व्यवस्थासमेत राष्ट्र बैंकले गरेको छ । एकीकृत निर्देशनमा भनिएको छ, “परिस्थितिवश समस्यामा परेका रु दुई करोडसम्मका कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ ।”

    कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणका लागि केही सर्त राखिएका छन । जसमा यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नुपर्ने, पुनरतालिकीकरण र पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुस मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने र पुनरतालिकीकरण वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइनेलगायत सर्त छन् ।

  • खाडी क्षेत्रमा रहेका अमेरिकी अखडामा इरानी आक्रमण, बहराइन, कुवेत र ओमानसम्म प्रभाव

    खाडी क्षेत्रमा रहेका अमेरिकी अखडामा इरानी आक्रमण, बहराइन, कुवेत र ओमानसम्म प्रभाव

    एजेन्सी
    अमेरिकाले इरानमा गरेको आक्रमणको बदलामा इरानले मध्यपूर्वी भेगमा रहेका अमेरिकी अखडाहरुमा आक्रमण थालेको छ । इरानले इराक, करता, ओमान, कुवेत तथा बहराइनसम्मका सैन्य अखडामा आक्रमण थालेको छ । ती मुलुकका शहरहरुमा खतराजन्य साइरन बज्न थालेको छ । यूएईले समेत एयरस्पेस बन्द गरेको छ । ओमान, कुवेत र बहराइनमा साइरन बजेको खबर छ । साउदी अरबको आकासमा समेत अमेरिकी फाइटर जेट देखिएको छ । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा समितको आकस्मिक बैठक बोलाएका छन् ।

  • इरानले कतारस्थित अमेरिकी एयरवेशलाई आधार बनाएर आक्रमण थाल्यो

    इरानले कतारस्थित अमेरिकी एयरवेशलाई आधार बनाएर आक्रमण थाल्यो

    एजेन्सी
    इरानले कतारस्थित अमेरिकी एयर वेशमा आक्रमण थालेको छ । यससँगै कतारले आफनो एयरस्पेस बन्द गर्ने घोषणा गरेको छ । इरानले कतारस्थित अमेरिकी एयरवेशमा कम्तिमा ६ मिसाइल प्रहार गरिएको समाचारमा जनाइएको छ । यसलाई इरानले जवाफी कारवाही भनेको छ । अहिलेसम्म इरान र इजरायल मात्र यस युद्धमा जोडिएकोमा युद्धले कतार समेत अब प्रत्यक्ष प्रभावित बनेको छ । यद्दपी यहाँ इरानले आक्रामण गर्नेबारे पूर्वजानकारी सहित तयारी गरिएको समाचारमा उल्लेख छ ।

  • धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

    धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

    ९ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन् । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन् । डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उनले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएका थिए ।


    कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन । “चैते धान पाक्नै लागेको छ”, उनले भने, “एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ, वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।” लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उनलाई छ ।

    परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ । विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले बताए । उनका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र १२० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ ।

    कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ । यस वर्ष कञ्चनपुरमा कूल २६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ । चैते धानप्रति हेक्टर चार दशमलव छ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

    महाकाली सिँचाइको कमाण्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबेल लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ । बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लाागि कार्यक्रम सञ्चालन गरिएको छ ।

    सो अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ । त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ । जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन् । कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन् । उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ । चैते धानखेती गर्ने किसालाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ ।

    शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा वर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउँछन् । “धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ”, उनले भने, “गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ, देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ ।”

  • ६१ किलो सुन तस्करीका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

    ६१ किलो सुन तस्करीका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

    ९ असार, काठमाडौं । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

    सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिए । अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।

    त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । त्यसयता फरार रहेकी रोकालाई काठमाडौँको टोखाबाट यही असार ६ गते पक्राउ गरिएको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र आज थुनछेक बहस भएको थियो ।

  • द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

    द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

    ९ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, “मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहेका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।”

    मन्त्री डा राणाले सम्बन्धमा समृद्ध मुलुकमा रहेका नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन् । यही जुन १७ तारिखमा ‘अनलाइन पोर्टल’ खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको उल्लेख गर्दै उनले उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको र विवरण दर्ता गर्ने क्रम बढ्दै गएको जानकारी गराइन् ।


    मन्त्री डा राणाले भनिन्, “यही जुन १८ तारिखमा ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिषा उपलब्ध गराउनेलगायता काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ ।” यस सन्दर्भमा जोर्डन सरकारले १९ जुन २०२५ मा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनले बताइन् । साथै आएएलओ र आएओएमसँग पनि यस विषयमा सहजीकरणका लागि नेपाली राजदूतावासद्वारा पत्राचार भएको उनले बताइन् ।


    मन्त्री डा राणाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको जानकारी गराइन् । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ । साथै उनले सरोकारवाला निकायहरूसँग समन्वय एवं द्रूत सुनुवाइ समूहको गठनमार्फत इजरायल र इरानबाट शीघ्र उद्धार तथा स्वदेश फिर्तीको पहल भइरहेको बताइन् ।


    मन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिइआएको बताइन् । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमार्फत अपिल गर्नुभएको थियो । त्यस्तै, सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका थिए । मन्त्री डा राणाले कतार र संयुक्त अरब इमिरेटसका परराष्ट्र राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूलाई पत्र लेखी अनुरोध गरेकी थिइन् ।

    त्यस्तै, ओमानमा आयोजित इन्डियन ओसन कन्फरेन्समा कतार र संयुक्त अरब इमिरेटसका परराष्ट्र राज्यमन्त्री र इरानका समकक्षीसँग भेटघाट गरी अनुरोध गरेको उनले जानकारी गराइन् । मन्त्री डा राणाले सीमासम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको र सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको बताइन् ।

    उनले भनिन्, “भारतमा बन्दी अवस्थामा रहेका नेपालीको उद्धार सम्बन्धमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ सामाजिक संस्थाको सहयोगमा हालसम्म ३६ जना नेपालीको उद्धार गरिएको छ । उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको र सम्भावित थप नेपालीहरूको खोजी कार्य जारी रहेको छ ।”

  • प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

    प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

    ९ असार, काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत सङ्कलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्नेलगायत माग राखिएको छ ।

    नेकपा (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर्वमन्त्री एवं महासङ्घका पूर्व अध्यक्ष केशव बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरू ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका कतिपय प्रावधानलाई परिमार्जन गर्न सुुझाव बुुझाएको छ ।

  • एक सातापछि नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    एक सातापछि नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    ९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव १५, वित्त शून्य दशमलव ७२, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३७ र लघुवित्त समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

    जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

    सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

    ९ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने बताए ।

    “गत जेठ २८ गते बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे छलफल तथा समिक्षा भएको र समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने देखिएको छ,” उनले भने, “सबै निकायले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयन गरी सोको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउने निर्णय भएको छ ।”

    सडक\राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अबरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

    उनका अनुसार यसैगरी तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू समेत तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरूद्ध भई सवारी साधनहरू चल्न नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

  • करेन्ट लागेर मुगुमा दश खच्चर मरे

    करेन्ट लागेर मुगुमा दश खच्चर मरे

    ९ असार, मुगु । विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा दश खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो । प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे ।

    उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो म बचेँ ।” उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गर्नुभयो ।

    छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् । गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए । केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए ।

  • वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

    वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

    ९ असार, गोरखा । सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।


    उनले भने, “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।”


    सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।

  • पाँचखालका छ हजार परिवारका घरघरमा खानेपानी

    पाँचखालका छ हजार परिवारका घरघरमा खानेपानी

    ९ असार, काभ्रे । यहाँको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् । आयोजनाले गत शनिबार बिहानदेखि औपचारिक रूपमा एकैपटक छ हजार परिवारको घरघरमा स्वच्छ पिउने पानी वितरण गरेको हो । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

    गत असोजको बाढीपहिरोले क्षतिग्रस्त आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि पाँचखाल नपा–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोसी नदीस्थित स्रोतबाट पानी ल्याई परीक्षण सकेर औपचारिक रूपमा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । पानी प्रशोधन केन्द्रको क्षमता ३९ लाख लिटर छ । केन्द्रसँगै रहेको ओभरहेड ट्याङ्कीमा पानी जम्मा गरी लक्षित प्रत्येक बस्तीबस्तीमा परीक्षण सकेर शनिबारदेखि सबैका घरघरघमा खानेपानी नियमित गरिएको लामिछानेले बताए ।

    “वितरणका क्रममा कतै ‘फल्ट’ देखिएको भए समितिको कार्यालयमा सूचित गर्न सार्वजनिक अपिल गरिसकेका छौँ”, लामिछानेले भने । उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याई उपभोक्ताका घरमा पानी पठाइएको छ । उपभोक्ता समितिले गत असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले क्षति पुर्याई धकेलेपछि विफल बनाइदिएको हो । बाढीपहिराले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो । खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो ।

    दातृ निकायसँगको समन्वय छलफलमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिक उद्घाटन बाँकी रहेको जनाएको छ । प्रतिघण्टा तीन लाख दुई हजार ४०० लिटर पानी तान्न सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको जनाइएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने आयोजनाले जनाएको हो ।

    आयोजनाअन्र्तगत भौतिकतर्फ सुनकोसी किनारमा छवटा इनार, चार–चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ‘ब्याकवास ओभरहेड ट्याङ्की’, दश नयाँ वितरण ट्याङ्की, छ ‘ब्रेक प्रेसर ट्याङ्की’ तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ । त्यसैगरी पाँचवटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, २३० किलोमिटर वितरण पाइप लाइनमध्ये २२० किलोमिटर पाइप लाइन सम्पन्न भएको समितिले जनाएको छ । कुल छ हजार ३७ धारा सञ्चालनमा छन् ।

    सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ साल असार १५ गते अढाई वर्ष अर्थात् २०७९ साल माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिराका कारण पूर्वाधारमा क्षति पुर्याएकाले पटकपटक समय थप्दा आयोजना लम्बिएको हो । उक्त नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदीकिनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

    रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजार लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार ४१५ नागरिक लाभान्वित भएका हुन् । जसमध्ये प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने पनि प्रक्षेपण गरिएको हो ।

    आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार ३०० प्रतिपरिवारले रु १८ हजारका दरले रकम बुझाएका हुन् । आयोजनाका लागि सम्झौताअनुसार २१४ विपन्न वर्गका उपभोक्ताले स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।

  • चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

    चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

    ९ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्वारा पट्रोलिङ बढाइएको छ ।

    निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३० स्पाई क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । यी क्यामेरा गोप्य रूपमा राखिएको छ । यसबाट निकुञ्जभित्र हुने चोरीसिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ । संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उनले बताए ।

    टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उहाँको भनाइ छ । यो टोली तीन महिना बस्नेछ । मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरीसिकारी बढ्ने जोखिम बढी हुन्छ । चोरीसिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ ।

  • श्रीमतीको हत्या अभियोगमा पक्राउ

    श्रीमतीको हत्या अभियोगमा पक्राउ

    ९ असार, वीरगञ्ज । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । “प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’

  • काठमाडौंका नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

    काठमाडौंका नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

    ९ असार, काठमाडौं । काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ । विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ ।

    नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    ९ असार, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

    विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

    त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

    राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

  • देशका विभिन्न स्थानमा ठूलो वर्षा, कहाँ कस्तो छ ?

    देशका विभिन्न स्थानमा ठूलो वर्षा, कहाँ कस्तो छ ?

    ९ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
    मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाका साथै एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

    चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

    ९ असार, म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने जानकारी दिए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए ।


    रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।

    माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

    प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ ९लिलो० माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।

    अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

  • इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?

    इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?

    एजेन्सी\रासस
    ९ साउन, काठमाडौं । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई क्षति पुर्‍याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा छलफल गर्न नाम नछाप्ने शर्तमा बोल्दै एक अमेरिकी अधिकारीले आइतबारको आक्रमणमा तिनीहरूको प्रयोगको पुष्टि गरेका छन् ।

    अमेरिका मात्र यी हतियारहरू खसाल्न सक्षम सेना हो र शनिबार एसियातर्फ बी–२ स्टेल्थ बमवर्षकहरूको आवागमनले अमेरिकाको सम्भावित गतिविधिको सङ्केत दिएको थियो । इजरायली नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एक हप्ता पुरानो इरानविरुद्धको युद्धमा सामेल हुने आफ्नो आशालाई लुकाएका थिएनन् । यद्यपि उनीहरूले साइट नष्ट गर्न ब्याकअप योजनाहरू पनि रहेको सुझाव दिएका थिए ।

    फोर्डोमा कत्तिको क्षति भएको थियो भन्ने कुरा आइतबार बिहान अस्पष्ट रह्यो । यो मिसनको व्यापक असर हुनसक्छ, जसमा इरानले आफ्नो आणविक कार्यक्रममा ट्रम्पको इच्छित वार्तामा संलग्न हुने र अमेरिकालाई अर्को मध्यपूर्व युद्धमा तान्ने कुनै पनि अवसरलाई खतरामा पार्नु समावेश छ । ‘बङ्कर बस्टर’ विस्फोट हुनुअघि सतहको गहिरो मुनि प्रवेश गर्न डिजाइन गरिएका बमहरूको वर्णन गर्न प्रयोग गरिने फराकिलो शब्द हो । यस अवस्थामा यसले अमेरिकी शस्त्रागारमा रहेको पछिल्लो जिबियु–५७ ए–बी म्यासिभ अर्डनान्स पेनेट्रेटर बमलाई जनाउँछ ।

    अमेरिकी वायुसेनाका अनुसार लगभग ३० हजार पाउन्ड (१३ हजार छ सय किलोग्राम) को यो सटिक–निर्देशित बम गहिरो गाडिएका र कडा बङ्कर र सुरुङहरूमाथि आक्रमण गर्न डिजाइन गरिएको छ । यसले विस्फोट हुनुअघि सतहबाट लगभग दुई सय फिट (६१ मिटर) मुनिसम्म प्रवेश गर्नसक्ने विश्वास गरिन्छ र प्रभावकारी रूपमा प्रत्येक क्रमिक विस्फोटसँगै गहिरो र गहिरो ड्रिल गर्दै बमहरू एकपछि अर्को खसाल्न सकिन्छ । आइतबार बिहानको आक्रमणमा कतिवटा प्रयोग गरिएको भन्नेबारे तुरुन्तै थाहा हुन सकेको छैन ।

    बमले परम्परागत वारहेड बोक्छ, तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानले फोर्डोमा उच्च संवर्धित युरेनियम उत्पादन गरिरहेको पुष्टि गरेको छ । जसले गर्दा जिबियु–५७ ए–बी लाई सुविधामा प्रहार गर्न प्रयोग गरियो भने आणविक सामग्री यस क्षेत्रमा छोड्न सक्ने सम्भावना बढेको छ ।
    यद्यपि अर्को इरानी आणविक साइट नतान्जमा सेन्ट्रिफ्यूज साइटमा इजरायली आक्रमणले वरपरको क्षेत्रमा नभई साइटमा मात्र प्रदूषण निम्त्याएको आइएइएले बताएको छ । अमेरिकी लडाकू विमानहरूले पनि नातान्जमा प्रहार गरेका छन् ।

    इजरायली हवाई आक्रमणले लक्षित भइसकेको नतान्जपछि फोर्डो इरानको दोस्रो आणविक संवर्धन केन्द्र हो । आइएइएले ती आक्रमणहरूले सुविधाको भूमिगत सेन्ट्रिफ्यूज हलहरूमा ‘प्रत्यक्ष प्रभाव’ पारेको विश्वास गरेको छ । फोर्डो नतान्जभन्दा सानो छ र तेहरानबाट करिब ६० माइल (९५ किलोमिटर) दक्षिणपश्चिममा कोम सहर नजिकैको पहाडको छेउमा निर्मित छ ।

    यो सन् २००६ को आसपास निर्माण सुरु भएको विश्वास गरिन्छ र यो सन् २००९ मा पहिलो पटक सञ्चालनमा आएको थियो । त्यही वर्ष तेहरानले सार्वजनिक रूपमा यसको अस्तित्व स्वीकार गरेको थियो । चट्टान र माटोमुनि अनुमानित ८० मिटर (दुई सय ६० फिट) हुनुका अतिरिक्त साइट इरानी र रूसी सतह–देखि–हावा मिसाइल प्रणालीहरूद्वारा सुरक्षित छ भनिन्छ । यद्यपि ती वायु रक्षाहरू सम्भवतः पहिले नै इजरायली अभियानमा प्रहार भइसकेका छन् । इजरायलले इरानका धेरैजसो वायु रक्षाहरू ध्वस्त पारेको दाबी गरेको छ ।

    अझै पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि आक्रमण गर्ने लक्ष्य यसको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई उन्मूलन गर्ने बताएका छन् । उनले इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि खतरा भएको बताए । अधिकारीहरूले फोर्डो त्यो योजनाको हिस्सा भएको बताएका छन् ।
    सिद्धान्तमा जिबियु–५७ ए–बी लाई वजन बोक्न सक्षम कुनै पनि बमवर्षकले खसाल्न सक्छ, तर अमेरिकी वायुसेनाका अनुसार हाल अमेरिकाले आफ्नो बी–२ स्पिरिट स्टेल्थ बमवर्षकलाई मात्र बम डेलिभर गर्न कन्फिगर र प्रोग्राम गरेको छ । बी–२ केवल वायुसेनाद्वारा उडाइन्छ र नर्थरोप ग्रुम्यानद्वारा उत्पादन गरिएको हो ।

    निर्माताका अनुसार बी–२ ले ४० हजार पाउन्ड (१८ हजार किलोग्राम) को पेलोड बोक्न सक्छ तर अमेरिकी वायुसेनाका अनुसार उसले कुल वजन करिब ६० हजार पाउन्ड (२७ हजार दुई सय किलोग्राम) सहितका दुईवटा जिबियु–५७ ए÷बी बङ्कर बस्टरहरू लोड गरेको बी–२ को सफल परीक्षण गरेको छ ।

    नर्थरोप ग्रुम्यानका अनुसार रणनीतिक लामो दूरीको भारी बमवर्षकको इन्धन नभर्दै लगभग सात हजार माइल (११ हजार किलोमिटर) र एक पटक इन्धन भर्दा ११ हजार पाँच सय माइल (१८ हजार पाँच सय किलोमिटर) को दायरा छ र घण्टौँमा संसारको कुनै पनि विन्दुमा पुग्नसक्छ । अमेरिका संलग्न हुने कि नहुने भन्ने कुरा हालका दिनहरूमा अस्पष्ट थियो ।

    क्यानाडामा भएको जी–७ बैठकमा ट्रम्पलाई वासिङ्टन सैन्य रूपमा संलग्न हुनका लागि के चाहिन्छ भनेर सोधिएको थियो र उनले भने, “म त्यसको बारेमा कुरा गर्न चाहन्नँ ।” त्यसपछि बिहीबार ट्रम्पले ‘दुई हप्ता’ भित्र आफ्नो आणविक कार्यक्रमका बारेमा इरानसँग वार्ताको सम्भावनालाई अर्को मौका दिन संलग्न हुने कि नहुने निर्णय गर्ने बताए । अन्तमा निर्णय गर्न दुई दिन मात्रै लाग्यो ।

  • फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु

    फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु

    एजेन्सी
    ९ असार, काठमाडौं । फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य तीन जना घाइते भएको अनुसन्धानमा संलग्न एक स्रोतले जनाएको छ । स्थानीय समयअनुसार बिहान ४ः३० बजेको समयमा गौल्ट गाउँमा आक्रमण भएको थियो ।

    प्रारम्भिक जानकारीअनुसार दुलहा र दुलही पार्टीबाट निस्कँदै गर्दा नकाबपोश आक्रमणकारीले गोली चलाएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ । आक्रमणकारीमध्ये एकको दुलाहा र दुलही बोक्ने गाडी सुरक्षाका लागि भाग्दै गर्दा त्यसले दिएकोे ठक्करबाट मृत्यु भएको र दुलहीको आक्रमणकारीको गोली लागी मृत्यु भएको थियो । स्रोतका अनुसार गोली काण्डमा संलग्नको खोजीका लागि करिब १०० जना प्रहरी परिचालन गरिएको छ ।

  • इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ?

    इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ?

    एजेन्सी\रासस
    ९ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो, इरान अब कुन बाटो अँगाल्न सक्छ ?
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सार्वजनिक रूपमा यसलाई ‘पूर्ण रूपमा सफल’ भन्दै, इरानका मुख्य आणविक पूर्वाधारहरू ‘सम्पूर्ण रूपमा नष्ट’ गरिएको दाबी गरे । उनले यसलाई ‘उल्लेखनीय सैन्य उपलब्धि’ का रूपमा प्रस्तुत गरेका छन् । तर विज्ञहरू भने यस दाबीप्रति सावधानीपूर्ण दृष्टिकोण अपनाइरहेका छन् र पूर्ण मूल्याङ्कन नहुञ्जेल निष्कर्षमा पुग्न नहुने सुझाव दिइरहेका छन् ।

    अमेरिकी रक्षा अधिकारीहरूका अनुसार आक्रमण विशेष गरी तीन मुख्य आणविक केन्द्रहरूमा केन्द्रित थियो, जसमा भूमिगत प्रशोधन केन्द्र फोर्दो पनि पर्दछ । यो केन्द्र झण्डै ९० मिटर गहिराइमा अवस्थित छ र विगतमा संवर्धित युरेनियम प्रशोधनको प्रमुख स्थलको रूपमा चिनिँदै आएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यस आक्रमणबाट इरानको आणविक कार्यक्रममा ‘गम्भीर क्षति पुगेको’ बताएका छन् । तर उपग्रह चित्र तथा अन्य स्वतन्त्र स्रोतहरूले यसको यथार्थ मूल्याङ्कन गर्न केही समय लाग्ने देखिएको छ ।

    फ्रान्सस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाकी विज्ञ हेलेओइज फायेका अनुसार, फोर्दो वरिपरि देखिएको गतिविधिले संवर्धित युरेनियम अन्यत्र सारिएको संकेत गर्न सक्छ । यसले अब अन्तर्राष्ट्रिय निरीक्षण संस्थाहरूका लागि चुनौती उत्पन्न गर्नेछ । धेरै विज्ञहरूले औंल्याएअनुसार, भौतिक संरचनाहरू नष्ट भए पनि इरानले दशकमै संचित गरेको प्राविधिक ज्ञान कायम रहनेछ । हजारौं वैज्ञानिक र प्राविधिक कर्मचारीहरूका अनुभव र सीप सहजै समाप्त हुँदैनन् ।

    लन्डनस्थित किङ्स कलेजका प्राध्यापक आन्द्रेयस क्रिगले यो कारबाहीलाई ‘उच्च जोखिमयुक्त र अनिश्चित परिणाम दिने’ बताएका छन् । उनका अनुसार, “फोर्दो जस्तो गहिरो भूमिगत केन्द्रमाथिको आक्रमणले तत्काल ठोस परिणाम दिन्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।” इरानको तर्फबाट तत्काल ठोस जवाफ नआए पनि परराष्ट्र मन्त्री अब्बास आरागचीले यस आक्रमणलाई ‘एक गम्भीर सीमारेखा पार गरेको’ भन्दै टिप्पणी गरेका छन् ।
    भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले आफ्नो प्रतिक्रिया सावधानीपूर्वक तर स्पष्ट सन्देश दिने गरी प्रस्तुत गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो आवाज पु¥याउने प्रयास गर्नेछ, तर ठूलो सैन्य टकरावबाट बच्ने प्रयत्न पनि गर्न सक्छ । विश्लेषक माइकल होरोविट्जका अनुसार सम्भावित विकल्पहरूमा अमेरिकी सैन्य सम्पत्तिहरूमाथि सीमित कारबाही, होरमुजको जलडमरूका बन्द गर्ने, वा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्ने कदम हुन सक्छन्। तर यी विकल्पहरू सबै गम्भीर जोखिम बोकेका छन् ।

    च्याथम हाउसका अनुसन्धानकर्ता रेनाड मन्सूरले इरान अहिले ‘आफ्नो अस्तित्वको रक्षा गर्ने अवस्थामा’ रहेको बताउँछन् । उनका अनुसार अल्पकालीन रूपमा तनाव बढ्न सक्ने भए पनि दीर्घकालमा वार्ताको बाटो खुल्ने सम्भावना रहन्छ । अन्य विश्लेषकहरूले इरानले सायद अमेरिकी सम्पत्तिमाथि प्रत्यक्ष आक्रमण नगरी इजरायली स्वार्थलाई लक्ष्य गर्न सक्ने बताएका छन्, जसले अमेरिका सिधै युद्धमा तानिने जोखिमलाई कम गर्नेछ ।

    राष्ट्रपति ट्रम्पले सैन्य दृष्टिले यसलाई सफलता मानेका छन् । तर केही विश्लेषकहरू भन्छन् – यदि इरानले दीर्घकालीन रणनीति अपनायो भने, उसले कूटनीतिक र राजनीतिकरूपमा अमेरिकी प्रशासनलाई अप्ठेरोमा पार्न सक्छ । यस घटनाले न केवल इरान–अमेरिका सम्बन्धमा तनाव बढाएको छ, तर सम्पूर्ण क्षेत्रीय सुरक्षा सन्तुलनमा पनि नयाँ चुनौतीहरू थपेको छ ।

  • संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

    संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

    ८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए ।

    सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिनुभएको मुख्य सचेतक बर्तौलाले बताए । सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिए ।

  • तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

    तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

    ८ असार, मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो ।

    मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनलेृ जोड दिए । भाँचिएको स्पान पूर्ण रूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी दिए । पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो ।

    आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो । निर्माणाधीन उक्त पुल भत्केपछि लामो प्रतीक्षामा रहेका स्थानीय बासिन्दा चिन्तित छन् । सडक विभागले आर्थिक वर्ष २०७७–७८ मा कूल रु २२ करोड ५५ लाख चार हजारमा ठेक्का सम्झौता गरेको थियो । चार वटा स्पानसहित कूल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कूल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।

    पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौँ आवतजावत गर्न सकिनेछ । सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो ।

  • मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    ८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ ।

    त्यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम÷स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम÷स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट गरे । छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरुलगायत सहभागी थिए ।

  • पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    ८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष-सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना-हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार पशुपतिमा विद्युतीय शवदाहगृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध रु १० करोड ३३ लाख ९१ हजार ३० बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरिएको हो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरू उपर सजायको मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

  • इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    ८ असार, इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।

    घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • ‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

    ‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

    ८ असार, न्यूयोर्क । नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन् । जसले कविको जन्मभूमि यल (पाटन), काठमाडौँ उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।

    पारिवारिक वातावरणमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। कार्यक्रममा कवि महर्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।

    कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यलको सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे । उनले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । उनले भने, “महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे। अरू वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि थिए। साथ साथै नदिया लिवाङ, राम खत्री, बद्री पौडेल आदिको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो। यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र फूडमाण्डुको सहयोगमा सम्पन्न भएको हो। ओड टु यल अहिले Amazon, Flipkart, र Daraz उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

  • अमेरिकी हमलाको इरानले गर्यो निन्दा

    अमेरिकी हमलाको इरानले गर्यो निन्दा

    काठमाडौं । ईरानको परमाणु ऊर्जा संगठन (एईओआई)ले अमेरिकाले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकाले ईरानका तीन परमाणु इलाकामा हमला गरेको हो । एईओआईले अन्तरराष्ट्रीय परमाणु एजेन्सी (आईएईए)को सुमेत आलोचना गरेको छ । आईएईए यस मामलामा उदासीन बसेको भन्दै इरानले आलोचना गरेको हो । आइएइए समेत यसमा मिलेमतो रहेको इरानको आरोप छ । इरानले अंतरराष्ट्रीय समुदायसँग हमलाको निन्दा गर्न अपिल समेत गरेको छ ।