Category: फिचर

  • नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    ४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

    “पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्”, सशस्त्र प्रहरी बल नेपाल विओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, “उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ ।”

    सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर आजै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

  • अमेरिकामा निधन भएका नेपालीको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

    अमेरिकामा निधन भएका नेपालीको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

    ४ असार, गोरखा । अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् । गत जेठ अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिवारको गुनासो छ ।

    अन्त्येष्टिका लागि उनीहरुका बुबा निरबहादुर खाती दम्पतीले प्रयास गरे पनि जान नपाएका वडाअध्यक्ष होपबहादुर नेपालीले बताए । “मृतक सन्तोष परियारको कान्छा भाई सुवास परियार अमेरिकी सेनामा छन् । यताबाट बुबाआमा अन्त्यष्टिका लागि जान खोज्नुभएको थियो तर दूतावासमा कागजात मिलेको छैन”, उनले भने, “अब सेनामा रहेको भाइले नै काजकिरिया गर्नुपर्ने भयो ।”

    सन्तोष पहिले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत थिए । करिब १२ वर्ष दूतावासमा जागिर खाएपछि आठ वर्षअघि उहाँ जहान परिवारसहित अमेरिका गएका हुन् । गत जेठ २२ गते उहाँहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ ब्लकमा रहेको अपार्टमेन्टमा गोली लागी हत्या भएको अवस्थामा फेला परेको पालुङटार नगरपालिका– ८ का वडाअध्यक्ष होपबहादुर नेपालीले बताए । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको नेपालीको भनाइ छ ।

  • काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    ४ असार, काभ्रे । काभ्रेका स्थानीय तहले औसतः प्रदर्शन गरिरहेको देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१–०८२को प्रगति समीक्षा सोमबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो । धुलिखेल अस्पतालस्थित अडिटोरियम हलमा सम्पन्न समीक्षा कार्यक्रममा सो विवरण प्रस्तुत गरिएको हो ।


    कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ मा जिसस काभ्रेले विपदबाट आक्रान्त नागरिक तथा पालिकाहरुलाई विनाशबाट पुगेको क्षतिपछि राहत र उद्दारमा सहयोग गरेको जानकारी दिइयो । विपद् अनुगमन गरि सम्बन्धि निकायमा जानकारी गराउने तथा खानी र गिट्टी बालुवाको निरीक्षण गरिएको समेत जानकारी गराइयो । यस वर्ष काठमाडौ विश्वविद्यालयमा विश्व युवा सम्मेलन आयोजना समेत गरिएको थियो , जिससको यस वर्ष ७७.४ प्रतिशत वित्तिय प्रगती देखिएको छ ।


    बनेपा नगरपालिकाले आफ्नो वडाहरुमा विपद व्यवस्था समिति गठन गरेका जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा पाँच रुपैया थप गरेको कार्यक्रममा बताइयो । धुलिखेल नगरपालिकाले विद्यालयमा डिजिटल माध्यमबाट पढाउन सुरु गर्नुका साथै ५७.८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइयो ।

    पनौती नगरले भैंसी सुत्केरि भत्तावितरण गरि कृषकलाई प्रोत्साहन गरेको बताएको छ । संरक्षित क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल लिएको दावि गरिएको छ । नमोबुद्दले पर्यटन सुचना केन्द बनाएको र ११ हजार ६ सय ३३पशुको विमा गरेको तथ्यांक प्रस्तुत गरियो । अस्थाई आबासको रकम पूर्ण रुपमा वितरण गरेको दावि छ ।


    पाँचखाल नगरले १ हजार ५ सय ३१ व्यक्तिगत घटना दर्ता गरेको तथ्यांकले देखाएको छ। ५१ भन्दा बढि सामुदायिक वनमा फलफूल तथा जडिबुटी रोपेर आत्मनिर्भर बन्ने प्रयास गरेको बताएको छ । मण्डनदेउपुर नगरले जापानको एक नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरि शहर उन्मुख बन्ने प्रयास गरेको बताएको छ । विपदमा परेका नागरिकलाई ५० हजार नगद सहयोग गर्नुका साथै नगरले विद्यार्थीहरुको नाक, कान,घाँटीको निशुल्क जाँच सुरु गरेको दावि गरेको छ ।
    महाभारत गाउँ पालिकाले यस आजमा शून्य बेरुजु पालिका हुन सफल भई देशमा उदाहरणीय पालिकाको रुपमा प्रस्तुत भएको बताएको छ । बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्नुका साथै कफि राप्ने १ बोट हातमा २० को नोट अभियान मार्फत कृषकसँग सहकार्य गरिहेको बताएको छ । भुम्लु गाउँ पालिकाले डडेलो मुक्त पालिका घोषणा गरेको छ ।

    स्थानीय उत्पादन कोदो र फापरमा २० देखि ३० रुपैयाँ अनुदान दिएको बताइएको छ । प्रशाकिय भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडि बढेको बताइएको छ । पाँच पाण्डबको मुर्ति स्थापना गरि एसईईमा प्रथम स्थान हुने विद्यार्थीलाई १–१लाख रकम दिएर प्रोत्साहन गरिरहेको समेत जानकारी दिइयो ।
    बेथानचोक गाउँपालिकाले गत असोज १२–१३ गतेको विपद् डटेर सामना गरेको बताएको छ । यस गाउँपालिकाले ५३.५९ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।

    रोशीले ४४ जना कृषकलाई पशुपालनमा अनुदान दिएको थियो । पालिकाको न्यायिक समितिमा दर्ता भएका ९ मुद्दा मध्य ५ मुद्दा मेलमिलाप भइसकेको बताएको छ । खानिखोलाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताएको छ । चौरीदेउराली गाँउपालिकाले व्यावसायीक खेतिलाई प्राथमिकता दिएको रसामाजिक सुरक्षा भत्ता घर घरमा गएर बाँडने गरेको बताइएको छ ।

    तेमाल गाउँपालिकाले दक्ष जनशक्तिको अभावको बीचमा पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर दिने गरेको जानकारी दिइयो । कार्यक्रममा सांसद गोकुल बास्कोटासहित काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत प्रसाद वाग्े समेत सहभागी थिए ।

  • तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प

    तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प

    ४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका थिए।

    त्यसबारे उनले थप विवरण दिएनन्। अमेरिकाले आफ्ना थप सैन्य स्रोतहरू उक्त क्षेत्रमा परिचालन गर्न लागेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताए। तर बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अधिकारीहरूले अमेरिका इजरेलको आक्रामक कारबाहीमा सामेल नहुने बताएका छन्। जी सेभेन देशका नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए।

    तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्कने भएका छन्। ट्रम्प फर्किए पनि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई शिखर सम्मेलनका बाँकी बैठक आयोजना गर्नु पर्ने छ। जी सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ। जी सेभेनको बैठकलाई बीचमै छाडेर ट्रम्प फर्किएको यो पहिलोपटक भने होइन।

    सन् २०१८ मा क्यानडामा नै भएको शिखर बैठकलाई पनि ट्रम्पले बीचमै छाडेर उत्तर कोरियाली नेता किम जङ् अनसँग भेट्न गएका थिए। यसपालि पनि उनी चाँडै बाहिरिने भएपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले, यदि अमेरिकाले युद्धविराम गराउँछ भने त्यो राम्रो कुरा हुने बताए।

    माक्रोँका अनुसार ट्रम्पले केही बेर अगाडि कुराकानीहरू भइरहेको उनलाई बताएका थिए। इरानको सरकारी सञ्चार माध्यमले राजधानी तेहरानमा मङ्गलवार सबेरै विस्फोटनहरू भएका विवरण दिएको छ। इजरेलले त्यहाँको उत्तरपूर्वी क्षेत्रबाट मानिसहरूलाई घर छाडेर जान भने लगत्तै ती विस्फोटन भएका हुन्।

    इजरेलमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको सङ्केत पाएपछि मानिसहरूलाई सुरक्षित रहन बजाइएका साइरनका आवाज आएका छन्। इजरेली सेनाले इरानबाट उत्पन्न खतरा निमिट्यान्न पार्न काम गरिरहेको बताएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इरानविरुद्धको सैन्य कारबाहीले मध्यपूर्व बदलिइरहेको बताए। इरानको सत्ता बताइएको भन्दा कमजोर रहेको त्यहाँका मानिसहरूले चाल पाइरहेको उनले बताए। बीबीसी

  • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    ४ असार, वीरेन्द्रनगर । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।


    गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याइ छ । किसानहरु हरेक दिन भ¥याङ ठड्याएर लिचीका दान चिप्ने चटारो देखिन्छन । रामघाट–११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्दै आएकी छिन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उहाँको आम्दानीको स्रोत हुन् । ‘‘यसपालि हावाहुरीले आँपमा असर ग¥यो तर लिची राम्रो फल्यो”, उनले बताइन् ।


    उनका अनुसार बोटमै प्रतिकिलो रु एक सयदेखि रु एक सय ५० सम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताउँछिन् । “वार्षिक रूपमा लिचीबाट मात्र एक लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भनिन्, “यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।”

    उनले थपिन्, ‘‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरु आफैँ बगैँचा मै आउने गर्नुभएको छ, यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मूल्य पाएका छौँ ।’’ रुपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त हुनुहुन्छ । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आउनुभएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “यो वर्ष कीरा लागेर लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन, तै पनि झण्डै एक लाख जति आम्दानी भयो”, उनले भने ।


    धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, “पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।” रामघाटमा सबै जसो घरघरमा दुई÷चार वटा लिचीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् । धमलाले थपे, “अहिले गाउँका धेरै किसान लिचीखेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिची आकर्षक बन्दै गएको हो ।” उनका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् ।

    हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’

    रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ । कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उनले भने, “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ ।”

  • लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    ४ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।

    लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताए । “घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भने ।


    गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । मङ्गलबार एक समारोहका बीच नवनिर्मित खानेपानी आयोजनालाई समुदायमा हस्तान्तरण गरिएको छ । गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए ।


    उनका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार ३०४ र स्थानीयवासीको १० लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी कूल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।

    आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिए ।

    “हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै”, उहाँले भन्नुभयो । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।

    आयोजना निर्माण सुरु भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिए ।

    यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ । योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।

  • स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

    स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

    ४ असार, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

    बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् । खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए ।

  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    ४ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

  • किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    ४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू“ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किएभमा ४४ जना घाइते भएका छन् ।” ओडिसामा अन्य छ जना र चेर्निगिभमा अर्का एक जना घाइते भएको उनले जानकारी दिए ।

    किएभका मेयर भिटाली क्लिट्स्कोले यसअघि राजधानीको सोलोम्यान्स्की जिल्लामा रुसी आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएका थिए । “किएभमा भएको आक्रमणका क्रममा। घाइतेहरूलाई चिकित्सकले सहयोग गरिरहेको ठाउँको विपरीत घरमा ६२ वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो”, उनले भने । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले ‘किएभमा आवासीय भवनहरू’ मा नयाँ रूसी आक्रमणको निन्दा गर्दै टेलिग्राममा मस्कोले ‘नागरिकहरू विरुद्धको युद्ध जारी राखेको’ बताए ।

    संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरे तापनि मस्कोले युक्रेनमाथि आक्रमण जारी राखेको छ । वार्ता रोकिएको छ । मस्कोले किएभ र उसका युरोपेली सहयोगीहरूले माग गरेको ‘बिना शर्त’ युद्धविरामलाई अस्वीकार गरेको छ भने युक्रेनले रुसको मागलाई ‘अल्टिमेटम’ भनेर खारेज गरेको छ । सोमबार जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जी–७ शिखर सम्मेलनको छेउमा कुरा गर्ने आशा गरेको बताए । तर युक्रेनी नेता अमेरिकी राष्ट्रपतिको प्रस्थानपछि जी–७ मा आइपुग्ने अपेक्षा गरिएको थियो । तर इजरायलले इरानमा आक्रमण बढाउँदा ट्रम्पले आफ्नो बसाइ छोटो पारेका छन् ।

  • इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

    इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

    एजेन्सी
    ४ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका छन् । “इजरायली ड्रोनहरूले नागरिकहरूमा गोली हाने । केही मिनेटपछि इजरायली ट्याङ्कहरूले नागरिकहरूमा धेरै गोली हाने, जसले गर्दा ठूलो सङ्ख्यामा शहीद र घाइते भए” उनले भने ।


    इजरायली सेनाले एएफपीलाई उक्त घटनाको ‘जाँच’ गरिरहेको बताएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछि घटनाको परिणाम स्वरूप ‘५१ जना शहीद र दुई सयभन्दा बढी घाइते नासेर मेडिकल कम्प्लेक्समा आइपुगेका छन्, जसमा २० जनाको अवस्था गम्भीर छ’ भनेको छ । गाजा पट्टी इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच २० महिनाभन्दा बढीको युद्धले ध्वस्त भएको छ र जमिनमा स्थिति निरन्तर बिग्रिरहेको छ ।

    हमासद्वारा प्रशासित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार इजरायलले मार्च १८ मा युद्धविरामपछि यस क्षेत्रमा आक्रमण पुनः सुरु गरेदेखि पाँच हजार एक सय ३९ जनाको मृत्यु भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्युको सङ्ख्या ५५ हजार चार सय ३२ पुगेको छ ।

  • भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

    भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

    ३ असार, काठमाडौं । भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीहरू पहिले नै तेहरान छोडेर गएको बताएको छ । “यातायातका सन्दर्भमा आत्मनिर्भर रहेका बासिन्दाहरूलाई पनि विकासशील अवस्थालाई ध्यानमा राख्दै सहरबाट बाहिर जान सल्लाह दिइएको छ”, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।

    इजरायलको सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबैले’ तुरुन्तै ‘इरानी राजधानी छोड्नुपर्ने बताएपछि यो चेतावनी आएको हो । तेहरानमा करिब एक करोड मानिस बस्छन् । नयाँदिल्लीले तेहरानबाट सयौँ किलोमिटर उत्तरपश्चिममा ‘केही भारतीयलाई आर्मेनियासँगको सीमा हुँदै इरान छोड्न सहयोग गरिएको’ बताएको छ । गत वर्ष सरकारी तथ्याङ्कअनुसार करिब १० हजार भारतीय रहेका इरानमा कति जना नागरिक प्रभावित भएका छन् भन्ने विवरण विदेश मन्त्रालयले दिएको छैन । हजारौँ भारतीय पनि इजरायलमा छन् र नयाँदिल्लीले आफ्ना नागरिकहरूलाई ‘सतर्क रहन’ चेतावनी जारी गरेको छ ।

  • इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए

    इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए

    ३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो ।

    “शुक्रबारको आक्रमणपछि सङ्कलन गरिएको स्याटेलाइट तस्वीरको निरन्तर विश्लेषणको आधारमा आइएइएले नतान्जमा भूमिगत संवर्धन कक्षहरूमा प्रत्यक्ष प्रभावहरू सङ्केत गर्ने थप जानकारी पहिचान गरेको छ,” आइएइएले एक्समा सम्प्रेषित एक विज्ञप्तिमा भनिएको छ। आईएईएले यस विषयमा थप विवरण उपलब्ध गराएको छैन । नातान्जले आफ्ना दुई संवद्र्धन प्लान्टहरूमा युरेनियम संवद्र्धन गर्न प्रयोग गरिने ७० वटा उपकरणहरूलाई पू्रयोगमा ल्याएको छ । तीमध्ये एउटा प्लान्ट भूमिगत छ ।

    तेहरानले आणविक अस्त्र विकास गर्न लागिेको भनी गरिएका दावीहरूको खण्डन गर्दै आएको छ तर ६० प्रतिशतसम्म युरेनियमलाई संवद्र्धन गर्दै आएको छ । यो मात्रा सन् २०१५ मा अमेरिका र इरानले प्रमुख शक्तिराष्ट्रहरूसँग गरेको सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी हो ।

    एरानले तीनदेखि पाँच प्रतिशतसम्म प्रवद्र्धित युरेनियमको प्रयोग आणविक ऊर्जा प्लान्टलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिएको २० प्रतिशतसम्म संवर्धित युरेनियमलाई चिकित्सा प्रयोग (क्यान्सर रोगको निदान) का लागि आइसोटोप उत्पादन गर्न प्रयोग गरिएको जनाउने गरेको छ। आणविक बम निर्माण गर्न संवर्धनलाई ९० प्रतिशतमा धकेल्नुपर्छ । आईएईएका प्रमुख राफेल ग्रोसीले आफू तत्काल इरान जान इच्छुक रहेको बताएका छन् ।

  • ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

    ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

    ३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन ससक्छन् ।”

    यसैबीच, तेहरानबाट प्राप्त सूचना अनुसार इरान र इजरायलबीच लगातार पाँचौं दिन पनि हवाई आक्रमण भइरहँदा मङ्गलबार तेहरानमा ठूलो विस्फोटका आवाजहरू सुनिएका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहँचमा कठिनाई भइरहेको इरानी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । “धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्,“ हाम मिहान पत्रिकाले समाचारमा उल्लेख गरेको छ । मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन् ।

    के कारणले अवरोध भएको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन । इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध अभूतपूर्व हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापकरूपमा इन्टरनेट सेवा अवरूद्ध बनेको छ ।

  • चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

    चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

    ३ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।
    चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

    नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । यस अवधिको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब रु २५ लाख बढी आम्दानी भएको उनले बताए । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

    हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई रु २००, विद्यार्थीलाई रु १३५, ज्येष्ठ नागरिकलाई रु १००, बालबालिकालाई रु ७५, ‘सार्क’ मुलुकका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ । चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् ।

    यसैगरी, अवलोकनकर्ताको आकर्षणका लागि वन्यजन्तुको उचित व्यवस्थापनका साथै हरियाली प्रवद्र्धन र सरसफाइ बढाइएको छ । चिडियाखानामा रहेको एक मात्र दुर्लभ ‘रेडपाण्डा’ केही दिनअघि मरेको छ । उक्त रेडपान्डा गत जेठ ३१ गते मिर्गौला फेल भएर मरेको प्रमुख साहले बताए । विसं २०७२ सालमा ल्याइएको रेडपान्डा अवलोकनकर्ताको मुख्य आकर्षक थियो । चिडियाखाना व्यवस्थापनले रेडपान्डा पाइने गौरीशङ्कर संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र इलाम क्षेत्रबाट एक जोडी रेडपान्डा चिडियाखानामा ल्याउनका लागि प्रक्रियाअघि बढाइसकेको जनाएको छ ।

    त्यसैगरी, चिडियाखानामा एउटा मात्रै गैँडा रहेको अवस्थामा विश्व वातावरण दिवसका अवसर पारेर गत जेठ २२ गते चितवनबाट ल्याइएको एक जोडी गैँडा थप गरिएको छ । वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा ती गैँडा थप गरिएका हुन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

    हाल चिडियाखानामा पाँचवटा वयस्क पाटेबाघ रहेका छन् । खोरको कमीले ती बाघको व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । व्यवस्थापनले दुई जोडी बाघलाई मात्र पालैपालो फरकफरक स्थानमा अवलोकनका लागि राख्ने र बाँकी एक बाघलाई भने खोरको अभावका कारण ‘होल्डिङ’मा राख्ने गरेको छ । दुई भाले बाघसँगै राख्दा आपसमा लडेर मर्नसक्ने खतराका कारण जोडी बाघलाई मात्रै सँगै राख्ने गरिएको हो ।

    तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । जावलाखेलस्थित सदर चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ । पहिलो ३० वर्षको अवधि समाप्त भएपछि वन मन्त्रालयले हालै मात्र अर्को थप ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल ११७ प्रजातिका एक हजार ३०० वन्यजन्तु तथा पक्षी रहेका छन् ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    ३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।

  • रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    ३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    नौकुण्ड गापा वडा नं ५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्य गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

    शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ ।

  • राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

    राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

    ३ असार, लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

    शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका र हराएका गरी कूल दुई सय ५२ जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको म्याड्रिडस्थित नेपाली दूतावासका सहचारी विपीन चन्दले राससलाई जानकारी दिनुभयो ।

    नयाँ राहदानी बनाउनका लागि आवेदन दिनेमा राहदानी क्षति भएका र नष्ट भएकाको सङ्ख्या धेरै रहेको उनले बताए । शिविरबाट करिब ३५ हजार यूरो अर्थात् झण्डै रु ५५ लाख राजस्व सङ्कलन भएको चन्दले बताए । आलिकान्ते क्षेत्रमा बसोबास गर्ने नेपालीको सहजताका लागि राहदानी विभागसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गरेर राहदानी सेवा प्रदान गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवालाई नेपाल समाज एसोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्का लगायतका नेपाली सङ्घ संस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

    घुम्ती शिविरमार्फत बेनिड्रोमै सेवा पाउँदा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीहरूले राहत मिलेको भन्दै खुसी व्यक्त गरेको शिविर संयोजक असिम लोप्चनले बताए । शिविरमा काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, मुर्सिया, टोरटोसालगायतका क्षेत्रमा बस्ने नेपालीले सेवा लिएको उनले बताए ।

    राहदानीसम्बन्धी समस्या परेका आलिकान्ते क्षेत्रका नेपालीको सहजताका लागि दूतावासलाई आग्रह गरेर घुम्ती शिविर सञ्चालन गरिएको संयोजक लोप्चनले बताए । शिविरमा दूतावासका द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपीन चन्द, राहदानी विभागका नायब सुब्बा ज्योत्सना काफ्ले, दूतावासका कर्मचारी लक्ष्मण शर्मा खटिएका थिए । एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, नेपाल समाज एसोसिएसनका अध्यक्ष केसरबहादुर थापालगायतले शिविरको समन्वय र सहजीकरण गरेका थिए ।

  • चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

    चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

    ३ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ ।

    जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख एक हजार तीन सय ७४ मेट्रिक टन उत्पादन भएको हो । गतवर्ष १७ हजार ६ सय ७० हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार सात सय ५५ हेक्टर पुगेको कृषि ज्ञान केन्द्र मोरङको प्रमुख दिपा देवले बताए ।


    अघिल्लो साल चैते धानको मूल्य प्रतिमन रु एक हजार दुई सयसम्म पुगेकोमा यस वर्ष आघा घटेर प्रतिमन ६०० मा कारोबार भइरहेको बेलबारी–९ का धान काँटा व्यवसायी हरेराम शाहले जानकारी दिए । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ११ भाङबारीका किसान वीरेन्द्र खत्रीले भने, “भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूस रु आठ सय मन हुँदा चैते धान ६ सय छ ।”

    कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् । चैते धानमा हर्दिनाथ १, चैते ५, चैते ६ र राम धान किसानले रोप्ने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

  • एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो

    एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो

    काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो।

    दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। मारिएकाहरूको पहिचानलाई डीएनएको माध्यमबाट पुष्टि गर्ने कामलाई निकै समय लाग्ने बताइएको छ। शुक्रवार घटनास्थलबाट ब्ल्याक बक्स भेटिएको थियो। भारतका नागरिक उड्डयन मन्त्री राममोहन नायडुले दुर्घटनाको कारण पत्ता लगाउन त्यो निकै सहायक हुने बताए।

    अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ६० सेकेन्ड नबित्दै उक्त विमान बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालका चिकित्सकहरूको आवास रहेको भवनमा बज्रिएको थियो। शनिवार सो कलेजका जुनिअर डक्टर्स असोसिएसनका अध्यक्ष डा. धवल गामाटीले अस्पतालमा २७० शव पुष्टि भएको बताए। तिनमा २४१ शव विमानका यात्रु तथा चालक दलका सदस्यहरूको भएको विश्वास गरिएको छ।

    आफन्तहरूले दिएका डीएनएका नमुनामा आधारित भएर परीक्षण गर्दा ३० जनाको शव पहिचान भइसकेको बताइएको छ। आइतवार लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय अगाडि करिब १०० मानिस भेला भएका थिए। उनीहरूले मारिएकाहरूको सम्झनामा मैनबत्ती बालेका थिए। उक्त समुदायका एकजना अगुवाले आफ्ना प्रियजन गुमाएका परिवार उनको पहिचान गर्न भारत गएको र अस्पतालमा डीएनए परीक्षणको नतिजा कुरिरहेको बताए।

    त्यहाँ भेला भएका धेरैले यो दुर्घटना किन र कसरी हुन गयो भन्ने जबाफ खोजिरहेको ती अगुवाले बताए। भारतको विमान दुर्घटना अनुसन्धान निकाय (एएआईबी)ले अनुसन्धानको नेतृत्व गरिरहेको छ भने उसलाई अमेरिका र यूकेका टोलीहरूले सघाइरहेका छन्। हवाई यात्रा ट्र्याक गर्ने वेबसाइट फ्लाइटरेडार२४को डेटा अनुसार, उक्त बोइङ ड्रिमलाइनर ७८७(८ करिब ११ वर्ष पुरानो विमान थियो। उसले गत दुई वर्षमा अहमदाबाद र लन्डनको ग्याटविक विमानस्थलबीच २५ वटा उडान भरेको थियो।

    बिहीवारको दुर्घटनापश्चात् भारतको उड्डयन नियामक निकाय डीजीसीएले एअर इन्डियाका बोइङ ७८७-८ अनि ७८७-९ विमानहरूमा थप सुरक्षात्मक परीक्षणको आदेश दिएको छ। शुक्रवार भारतीय प्रधानमन्त्रीले दुर्घटनास्थलको निरीक्षण गरेका थिए भने एकमात्र जीवित यात्रु विश्वासकुमार रमेशसहित घाइतेहरूलाई भेटेका थिए।

  • वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी

    वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी

    ३ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।

    उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।”

    वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिए । उनले भने, “यो व्यवस्थाले उपत्यकावासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक समाधान खोजिरहेका छौँ ।”

    रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौँमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गरे । वर्षात्को समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले प्रतिक्रिया दिए ।


    उनले भने, “त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परीक्षण गरिएको छ । अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।” विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए ।


    मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू यहाँ २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरोलगायत मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ । विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो ।

  • सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

    सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

    ३ असार, काठमाडौं । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो ।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो ।


    तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो ।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो ।

    नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।

    त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।

  • आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    ३ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द

    पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द

    एजेन्सी
    ३ असार, काठमाडौं । पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् । इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो । सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने नागरिकका लागि प्रवेश दिइने पाकिस्तानी अधिकारीले बताएका छन् । इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तका वरिष्ठ अधिकारी कादिर बख्श पिरकानीले एएफपीसँग भने, “चाघी, वाशुक, पञ्जगुर, केच र ग्वादर गरी पाँचवटै जिल्लाका सीमा सुविधाहरू स्थगित गरिएको छ।”

    चागी जिल्लाको सीमाका एक अधिकारी अट्टा उल मुनिमले इरान प्रवेशलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिए । उनले भने, “सीमा बन्दले सीमामा हुने ‘व्यापार गतिविधिमा कुनै प्रतिबन्ध गर्ने छैन’ र इरानबाट आफ्नो देश फर्कन आवश्यक पर्ने पाकिस्तानी नागरिकहरू स्वदेश फिर्ता हुन सक्नेछन् ।” “हामीले आज करिब २०० जना पाकिस्तानी विद्यार्थी आउने अपेक्षा गरेका छौं,” अट्टाले भने । आइतबार पाकिस्तानी विदेशमन्त्री इशाक डारले ४५० पाकिस्तानी तीर्थयात्रीलाई इरानबाट उद्धार गरिएको र अझै धेरैले यसलाई अनुसरण गर्न बाँकी रहेको बताए । आणविक हतियार भएको एक मात्र मुस्लिम बहुल देश पाकिस्तानले इजरायलको आक्रमणविरुद्ध ’इरान सरकार र त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउने’ शुक्रबार बताएको छ ।

    पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलको आणविक क्षमताप्रति विश्व सचेत र सशंकित हुनुपर्ने चेतावनी दिएका छन् । इजरायल अघोषित भए पनि मध्यपूर्वको एक मात्र आणविक शक्ति हो । यदि द्वन्द्व चर्कियो भने पाकिस्तानले तेहरानलाई समर्थन गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् तर इस्लामाबादका अधिकारीहरूले आफ्नो देशले ‘नैतिक र कूटनीतिक ऐक्यबद्धता’ मात्र देखाएको बताएका छन्।

    सुन्नी बहुल पाकिस्तानको शिया बहुल इरानसँग ९०० किलोमिटर ९५६० माइल० भन्दा बढी सीमा साझा छ। दुई छिमेकीबीचको सम्बन्ध जटिल रहेको छ, पाकिस्तान अक्सर तेहरानमाथि अमेरिकी नेतृत्वको प्रतिबन्धबाट सावधान रहन्छ र रियादसँगको सम्बन्धलाई पनि ध्यानमा राख्छ । सायदी अरबले बारम्बार पाकिस्तानी अर्थव्यवस्थालाई बचाउन मद्दत गरेको छ । दुई देशबीचको द्विपक्षीय व्यापार करिब तीन अर्ब अमेरिकी डलर रहेको छ र अधिकारीहरूले आगामी वर्षहरूमा यसलाई बढाएर १० अर्ब डलर पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै

    इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै

    एजेन्सी
    ३ असार, काठमाडौं । अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो ।

    भियतनामी सरकारका एक अधिकारीले एएफपीसँग कुरा गर्दै युएसएस निमित्जमा जुन २० मा आयोजना हुने भनिएको स्वागत समारोह रद्द गरिएको पुष्टि गरेका छन् । ती अधिकारीले अमेरिकी दूतावासको पत्र शेयर गर्दै रक्षा मन्त्रालयले ‘आपतकालिन परिचालन आवश्यकता’का कारण कार्यक्रम रद्द गर्न लागेको जानकारी दिएका छन्। हनोईस्थित अमेरिकी दूतावास र निमित्जका प्रवक्ताले एएफपीसँग यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।

    इजरायल र इरानबीच बढ्दो हवाई युद्धको चौथो दिन तनाव कम गर्न अन्तर्राष्ट्रिय आह्वानको बावजुद विश्वको सबैभन्दा ठूलोमध्येको एक युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान गरेको हो । इरानी अधिकारीहरुका अनुसार इजरायलले गरेको आक्रमणमा परी उच्च सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ इरानीको मृत्यु भएको छ ।

    त्यसको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र ’प्रभावकारी, लक्षित र थप विनाशकारी कारबाही’ गर्न सक्ने चेतावनी दिएको छ ।
    इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानको क्षेप्यास्त्र आक्रमणले तेल अभिभस्थित अमेरिकी दूतावासको भवनमा हल्का क्षति पुगेको बताए ।

  • अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की

    अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की

    एजेन्सी
    ३ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने एउटा मुद्दा भनेको युक्रेनले खरिद गर्न तयार रहेको रक्षा प्याकेज हो।” तीन वर्षभन्दा बढी समयदेखि रुसी सेनाविरुद्ध आफ्नो देशको लडाईंको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिले भने, “संयुक्त राज्य अमेरिकाको मद्दत बिना कसरी लड्न र बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ र चाहन्न पनि ।“

    उनले भने, “मलाई लाग्छ, अमेरिका र युरोपबीचको गठबन्धन टुट्न नदिन हामी सबैले काम गर्नुपर्छ ।” जेलेन्स्कीले जी–७ शिखर सम्मेलनलाई आफूले ’अत्यन्त महत्वपूर्ण’ अवसरका रूपमा हेरेको र त्यहाँ हामी सबैले ‘रुसी राष्ट्रपति भ्लादिमिर’ पुटिनलाई रोक्न कस्तो दबाब दिन सक्छौं ताकि उहाँले आक्रमण र युद्ध रोक्न बाध्य हुनुपरोस् ।” उनले भने, “हामी रोकिएको रुसी सम्पत्तिको युक्रेनी हितमा प्रयोगका बारेमा नेताहरूसँग छलफल गर्नेछौँ र प्रतिबन्धबारे पनि छलफल गर्नेछौँ ।” यसअघि, नेता जेलेन्स्कीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनसँग भियनामा आफ्नो छोटो यात्राको क्रममा भेटवार्ता गरेका थिए ।

    जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँ र बेलेनले युक्रेनको युद्धपछिको पुनर्निर्माणका बारेमा अस्ट्रियाको अन्तिम योगदानको बारेमा कुरा गर्नुभएको थियो । यसमा जसमा बारूदी सुरङ सफा गर्ने, ऊर्जा सहयोग र खाद्य सुरक्षाजस्ता बिषय समावेश छन् । अस्ट्रियाका राष्ट्रपतिले आफ्नो देश सैन्य रुपमा तटस्थ रहे पनि राजनीतिक रुपमा त्यस्तो नभएको बताए । युक्रेनमाथि आक्रमण गर्नुअघि अस्ट्रियाको रूससँग राम्रो सम्बन्ध थियो, तर यसको अझै पनि केही आर्थिक सम्बन्धहरू छन् तर ती सम्बन्धहरू विगत तीन वर्षमा उल्लेखनीय रूपमा बिग्रिएका छन् । अस्ट्रियाको अति दक्षिणपन्थी विपक्षी एफपीओई पार्टीले जेलेन्स्कीको भ्रमणको आलोचना गरेको छ ।

  • इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु

    इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु

    एजेन्सी
    २ असार, काठमाडौं । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”

    प्रत्यक्ष प्रशारणबाट उनले भने, “इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।”
    यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका थिए । “इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,” उनले एक विज्ञप्ति जारी गरी बताएका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गरेका थिए । त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

  • अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    २ असार, काठमाडौं । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनीरसञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।


    प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शत्प्रतिशत जरिवानासमेत गरी रु एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिए । मतियारका रूपमा काम गरेकाले उप–कार्यकारी निर्देशक सङ्गम पौडेलको हकमा भने अन्य आरोपीको भन्दा आधा सजायको मागदाबी गरिएको छ ।

    विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६–०७७ देखि आव २०८१र८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायत महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू रितपूर्वक बरामद गरी अनुसन्धान गर्दा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।

    उक्त करछलीका सम्बन्धमा अनुसन्धान गर्दा शेयरधनीरसञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ । दायर अभियोजनमा प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गन एनसिएम पोर्टल आव २०७६–७७ देखि नै सञ्चालनमा ल्याएकामा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउनेरछिपाउने कार्य गरेको दाबी गरिएको छ ।

    अनुसन्धानका क्रममा उक्त कम्पनीले अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरू सुदीप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत)लाई विभागले पटकपटक ताकेता गर्दासमेत उपस्थित नभई फरार रहेको विभागले जानकारी दिएको छ । कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरित कार्य गरी विभिन्न तवरले रु ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको विभागको दाबी छ ।

    प्रतिवादीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलसमेतले एकापसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणि भएको विभागले जनाएको छ ।

    विभागल भनेको छ, “उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी शेयरधनी÷सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिकाअनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शत्प्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुलउपर गरी त्यसबाट कानुनसम्मत् ब्याजसमेत लगाई कैद सजायको मागदावी लिइएको छ ।”

    यता कम्पनीका उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारका रूपमा काम गरेको दाबीसहित विभागले मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराउने मागदाबी लिई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को अनुसूची २० बमोजिम उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

  • विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    २ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

    असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए । निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको राससलाई जानकारी दिए । गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

  • बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

    बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

    २ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीचको सहकार्यमा असर नपर्ने बताएका छन् । आगामी आवको बजेटबारे प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले बजेटलाई देखाएर एमाले र कांग्रेसबीच दूरी बढाउने प्रयास भइरहेको बताउँदै त्यसले द्विदलीय साझेदारीमा फरक नपर्ने उल्लेख गरे ।

    “कांग्रेस र एमालेका बीचमा कहीँकतै दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भनेर प्रयास भइरहेका छन् । त्यो व्यर्थको प्रयास नगर्न म आग्रह गर्न चाहन्छु । एमालेले कांग्रेसको जस्तो बजेट ल्याएको र कांग्रेसले एमालेको जस्तो बजेट ल्याएको भनेर दुई दलबीच दूरी सिर्जना गर्न प्रयास गरेको देखिन्छ”, अर्थमन्त्री पौडेलले भने, “त्यो व्यर्थको प्रयास छोडिदिए हुन्छ । त्यो ऊर्जा र समय अरु कुनै रचनात्मक काममा लगाउँदा हुन्छ । बजेटभित्र छिरेर कांग्रेस र एमालेका बीच फुट ल्याउने प्रयास नगर्दा हुन्छ ।”

    सरकारले संसद्मा पेस गरेको वार्षिक आय र व्ययको अनुमानमाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र बिग्रनुमा अहिलेको नभई पूर्ववर्ती सरकार जिम्मेवार रहेको आरोप लगाए । अघिल्लो सरकारले लिएका खराब नीतिलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्ने उनले बताए ।

    चालु आवको बजेटमार्फत सरकारले करका सिद्धान्तभन्दा विपरीत रहेको अग्रिम आयकरको व्यवस्था हटाएको अर्थमन्त्री पौडेलले बताए । आम्दानी नगर्दै आयकर लगाउने विगतको अभ्यासलाई सच्च्याइएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणमा वित्तीय कारबाही कार्यदलको‘ग्रेलिष्ट’मा पर्नुको कारण पूर्ववर्ती सरकार भएको आरोप अर्थमन्त्री पौडेलले लगाए ।

    “देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने छ । त्यसका लागि रणनीति, कार्ययोजना बनेका छन्”, उनले भने, सघन निगरानी सूचीबाट चाँडै बाहिर निस्कन र भविष्यमा यस्तो अवस्था आउन नदिन रणनीति बनाएर अघि बढ्ने गरी बजेट ल्याएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणको मामिलामा अनुसन्धान र अभियोजनका काम कमजोर हुँदा ग्रेलिस्टमा परेकामा अब त्यसलाई प्रभावकारी बनाइने अर्थमन्त्रीले बताउनुभयो ।

    आगामी आवको बजेटको स्रोत र खर्चको अनुमान कार्यान्वयन हुने प्रकृतिको रहेको, बजेटको आकार यथार्थपरक रहेको बताउँदै अर्थमन्त्रीले स्रोतको व्यवस्थापन हुन सकेन भने बजेट कार्यान्वयन हुन सक्दैन भन्नुभयो । उहाँले आय र व्यय दुवैको अनुमान यथार्थपरक भएको भएको बताउनुभयो ।

    “यसपटकको बजेटमा म सबैभन्दा बढी प्रस्तावित विनियोजन मात्र होइन स्रोत पनि यथार्थपरक र कार्यान्वयनयोग्य हुनुपर्छ भन्नेमा सचेत थिएँ । बजेटमा राजस्व परिचालन, अन्तरराष्ट्रिय सहयोग र आन्तरिक ऋणको तथ्यपरक अनुमान भएको छ”, अर्थमन्त्रीले भन्नुभयो ।

    अघिल्लो सरकारले महत्वाकाङ्क्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यो सम्भव देखिएको उहाँले उल्लेख गर्नुभयो । “विगतमा ४१ प्रतिशतसम्म राजस्व बढ्नसक्ने अनुमान गरेर बजेट ल्याएका उदाहरण हामीसँग छन् । तर आगामी आवको बजेट चालु आवको संशोधित राजस्व अनुमानको तुलनामा १७ प्रतिशत मात्रै बढ्ने भनेर आन्तरिक राजस्वको अनुमान गरिएको छ”, उनले भने, “चुहावट नियन्त्रण गर्ने, करका दायरा विस्तार गर्ने, कर प्रशासन चुस्त बनाउनेजस्ता कार्यबाट हामी १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य पूरा गर्छौं ।”

    वैदेशिक स्रोतको अनुमान गर्दा पनि पूर्वतयारी सकिएका र कार्यान्वयनको चरणमा जान योग्य आयोजना र कार्यक्रम हेरेर मात्रै अनुमान गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ । बजेटको परीक्षण कार्यान्वयनका क्रममा हुने पनि उनले बताए । सार्वजनिक ऋण बढेको र ऋणको पासोको चुनौती थपिएको भनिए पनि सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आन्तरिक र बाह्य ऋणको अनुमान गरेको अर्थमन्त्रीले बताए ।

    आगामी आवको बजेट बनाउँदा आर्थिक अनुशासन कायम गर्न साना तथा खुद्रा आयोजना छर्ने र आर्थिक अनुशासनबाट विचलित हुने गरी बजेट पेस नभएको उनले बताए । भूमि बैंकको प्रयोग, प्रभाव र नतिजा विश्लेषण नगरिकन विरोधका लागि मात्रै विरोध नगर्न पनि उनले प्रतिपक्षी दलहरुलाई आग्रह गरे । बाँझो जमिन सदुपयोग गर्ने र उत्पादकत्व बढाउनका लागि भूमि बैंकको अवधारणा आएको उनले बताए ।

  • रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत

    रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत

    २ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गरेका हुन् ।

    त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसद दामोदर पौडेलले निर्वाचनका बेला मतदातासमक्ष गरिएका वाचाअनुसार विकास–निर्माणका काम गर्न नसकिएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एस)का मेटमणि चौधरीले सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक कुन क्षेत्रमा कति बजेट छुट्याउँदा मुलुकको गार्हस्थ्य उत्पादन बढ्छ, अर्थतन्त्रको आकार बढ्छ र उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल हुन्छ भन्ने स्पष्ट नभएको बताए ।

    नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका हितराज पाण्डेले सङ्घीयताको मर्मअनुसार वित्त हस्तान्तरण हुन नसकेको बताए । वित्तीय समानीकरण अनुदान बढाएर सशर्त अनुदानको हिस्सा घटाउँदै जानुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए ।

    सोही पार्टीका रामकुमार राईले मुलुकभित्र पर्याप्त सङ्ख्यामा रोजगारी सिर्जना गर्न उद्योग, कृषिलगायत क्षेत्रलाई बजेटले प्राथमिकतामा राख्न नसकेको बताए । सोही पार्टीका छिरिङडम्डुल लामाले कर्णाली प्रदेश र हुम्ला जिल्लालाई बजेटमार्फत विकासमा सरकारले विभेद गरेको आरोप लगाए । नेपाली कांग्रेसकी कान्तिका सेजुवालले स्थानीय तहका आफ्नै ऐन, नियम, कानूनसमेत भएकाले सङ्घ सरकार बाट बजेट मात्र पठाएर उनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताए ।


    विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल यही असार ५, ६ र ७ गत हुने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम असार ६ गते हुने सभामुख देवराज घिमिरेले बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।