Category: फिचर

  • स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    २ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    २ असार, दमौली । गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ । नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो । नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    २ असार, पाल्पा । यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

    दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित

    इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित

    २ असार, काठमाडौं । इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्। इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द गरिएको छ । कुनै पनि आगमन वा बहिर्गमन उडानहरू सञ्चालन भइरहेका छैनन् ।”

    इजरायली सेनाले इरानमा सैन्य र आणविक लक्ष्यमा आक्रमण गर्न थालेपछि शुक्रबारदेखि हजारौँ इजरायली नागरिक विदेशमा अलपत्र परेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायललक्षित जवाफी कारबाहीमा इजरायली शहरहरूमा सयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा आवासीय भवनहरू ध्वस्त भएका थिए र तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो।

    इजरायलको विमानस्थल प्राधिकरणका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा तेल अभिभ नजिकै रहेको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने पुष्टि गर्दै भनिएको छ, “कम्तीमा छ घण्टाको पूर्व चेतावनीसहित यसलाई पुनः सञ्चालन गर्ने सूचना दिइनेछ ।” “इजरायलका लागि उडान पुनः सुरु गर्ने निर्णय सुरक्षित ठानेपछि मात्र हुनेछ,” विज्ञप्तिमा भनिएको छ।


    यसैबीच, जोर्डन र इजिप्टको सिनाई प्रायद्वीपमा इजरायलको सीमा नाका खुला रहेको छ । उता आइतबार रातभर एक अर्का मुलुकमा आक्रमण जारी राखेका यी दुई मुलुकमा ठूलो मानवीय क्षति निम्तिसकेको छ ।

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

    २ असार, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पु्ष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा ३७ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?

    रासस

    २ असार, काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले रु एक अर्ब ७५ करोड र मधेस प्रदेशले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

    कर्णाली प्रदेश
    प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो । आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुभयो ।

    कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो । कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १।६६ प्रतिशत बजेट छुट्याइएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

    उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट रु ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट रु पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने रु १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट रु १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट रु चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट रु ५३ करोड ९७ लाख र विशेष अनुदानबाट रु ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुभयो । यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कूल बजेटमध्ये चालुतर्फ रू १० अर्व २० करोड ८१ लाख ४२ हजार अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ रू १९ अर्व ८३ करोड दुई लाख छ हजार अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत रु तीन अर्व ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रू एक करोड छुट्याएको छ ।

    सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रू एक अर्व ६५ करोड, सङ्घ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने रू नौ अर्व ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम रू आठ करोडलाई बजेटको स्रोत देखाइएको छ ।

    त्यसैगरी सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रू आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित रकम रू सात अर्व ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रू चार अर्व १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रू ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने रू ५१ करोड ६० लाखलाई आगामी आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ ।

    लुम्बिनी प्रदेश
    लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभयो । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । जसमध्ये, चालुतर्फ रु १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत छ ।

    लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु सात अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी रु ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व रु दुई अर्ब ८२ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट रु चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट रु ५१ करोड ४० लाख, विशेष अनुदानबाट रु ४० करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु दुई अर्ब परिचालन गर्नेगरी बजेटको स्रोत देखाइएको छ ।

    गण्डकी प्रदेश
    आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले रू ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ । आइतबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गर्नुभयो ।

    आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कूल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पूँजीगततर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०.८ प्रतिशत छ । यो प्रदेशले आगामी वर्षमा रू एक करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।

    गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रु ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ ।

    यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार उठाउने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी रु एक अर्व ७५ करोड आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

    बागमती प्रदेश
    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गर्नुभयो । बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट छुट्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ रु ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालुतर्फ ३८.६० प्रतिशत र पुँजीगततर्फ ६१.४० प्रतिशत हुन आउँछ ।

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट रु ६ अर्ब ७९ करोड चार लाख १३ हजार उठाउने लक्ष्य राखेको छ । सङ्घीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रु १४ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट रु १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ ।

    मधेस प्रदेश
    मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । यो प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ रु ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

    मधेस प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । सङ्घ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट रु चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट रु ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट रु ३५ करोड ८२ लाख गरी जम्मा रु १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ ।

    सङ्घीय राजस्व बाँडफाँटवाट रु १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग रु दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेस प्रदेशले बजेट स्रोत देखाएको छ ।

    कोशी प्रदेश
    कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि रू ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पूँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३ प्रतिशत रहेको छ । कोशी प्रदेशको यो बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा १।७ प्रतिशतले बढी हो । कूल विनियोजनमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणतर्फको रकम रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये कोशी प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रू १२ अर्ब ३९ करोड ६० लाख र सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू चार अर्ब ९८ करोड ३४ लाखलाई बजेट स्रोत देखाइएको छ । सशर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट रु ३९ करोड़ १७ लाख र विशेष अनुदानबाट रू ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रू ३२ अर्ब ७४ करोड र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड ९९ लाखलाई बजेट स्रोत देखाइएको छ ।

    बाँकी अपुग रकम नगद चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट मौज्दातबाट रू तीन अर्ब १३ करोड ब्यहोर्ने गरी स्रोतको अनुमान गरिएको छ । कोशी प्रदेशसभामा त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो । कोशी प्रदेशले आगामी आर्थिक वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटमार्फत् राखेको छ ।

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    २ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२\८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

  • ढोरपाटन सडक सञ्जालमा जोडियो

    ढोरपाटन सडक सञ्जालमा जोडियो

    २ असार, म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।

    चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
    “मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो,” उनले भने, “डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।”

    बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरिया–मरेनी हँुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए ।


    उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

    बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

  • ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प

    ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प

    २ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौं’ भने । उनले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताए ।


    अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुनसक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ। उहाँले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।” इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।

    आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताए । तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनले एबीसीसँग भने, “अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन।”

    “उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ्,” स्कटले ट्रम्पलाई उद्धृत गर्दै भने । ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताए । ट्रम्पले भने, “यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।”

  • रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    १ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो । उता, सरकार भने विपक्षीलाई पेलेर अगाडी बढेको छ । खासगरी माओवादी केन्द्र सहमतीमा आएसँगै साना दललाई पेल्ने रणनीतिमा सरकार पुगेको हो । संसदमा सभामुखले आजबाट बजेटसँग सम्बन्धित विषय छलफलमा अगाडी बढाएका छन् ।

  • बूढानीलकण्ठमा दुईजना मृत फेला

    बूढानीलकण्ठमा दुईजना मृत फेला

    काठमाडौँ, १ असारः काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अन्जनाको टाउकामा चोट रहेको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अन्जना सो घरमा काम गर्ने गर्थिन् ।

  • कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

    कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

    १ असार, विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२–८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात् शून्य दशमलव तीन प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा एक दशमलव सात प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको जनाइएको छ । कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ९८ करोड ३४ लाख हुने जनाइएको छ । साथै ससर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट रु ३९ करोड १७ लाख र विशेष अनुदानबाट रु ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड छ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब १३ करोड व्यहोरिने मन्त्री मगरले बजेटमार्फत जानकारी दिएका छन् ।


    प्रस्तुत भएको बजेट कार्यान्वयनबाट प्रदेशको समग्र आर्थिक आधारहरुको सबलीकरण भई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने अनुकूल अवस्था सिर्जना हुने अपेक्षा गरिएको छ । यो बजेटले निजी क्षेत्रको लगानी वृद्धि गर्दै रोजगारीका अवसरको सिर्जना गर्न महत्वपूर्ण योगदान गर्ने, आन्तरिक राजस्व परिचालन सुदृढ गर्न, बजेट अनुशासन कायम गर्न र प्रदेश सरकारको लगानी प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्न सफलता मिल्ने बजेटले विश्वास लिएको छ । यसबाट सार्वजनिक वित्त व्यवस्थापना थप सुधार भई विकासमा तीव्रता आउनाका साथै प्रस्तावित बजेटको कार्यान्वयनबाट आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

  • इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

    इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

    १ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छिन् ।

    मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिइन् ।

    हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप(प्रमुखरप्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं ९७२–५३५३६०७४८, ०३५१००१११ र इ–मेलः [email protected] नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर\नियोग उप=प्रमुख कुमार राईलाई फोन नं ं९७४–५५६१६०४०, ,९७४४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ–मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

  • सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट

    सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट

    १ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको जानकारी दिए । यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजन गरिएको छ । विनियोजित कुल बजेटको चालुतर्फ ३० दशमलब ४९ प्रतिशत, पुँजीगततर्फ ५९ दशमलब २५ प्रतिशत हो ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारवाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ । सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने रु आठ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    १ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६० हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ४५ पर्नेछ ।

  • गण्डकीमा बजेटको ठूलो हिस्सा पूर्वाधारमा

    गण्डकीमा बजेटको ठूलो हिस्सा पूर्वाधारमा

    १ असोर, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सडक, पुललगायत भौतिक पूर्वाधार आयोजनातर्फ रु ११ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको कुल रु ३१ अर्ब ९७ करोड ९९ लाख बजेटको सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ओगटेको हो । यो चालु आवको तुलनामा भने रु ७२ करोडले कम हो ।

    चालु आवमा भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको थियो । उक्त मन्त्रालयको धेरै बजेट सडक र पुलका बहुवर्षीय आयोजनामा खर्च हुने गरेको छ । बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र –एक कृषि सडक, रणनीतिक महत्वका सडक तथा स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ ।

    उत्तर–दक्षिण सडकअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्ड, कास्की जिल्लाका सात ताल जोड्ने चक्रपथ, रुपा चक्रपथ, स्याङ्जाको ज्याग्दी करिडोर, म्याग्दी र बागलुङ जोड्ने दरबाङ–ढोरपाटन सडक, तमान–लाममेला–सोले सडक, गोरखाको चुवाडाँडा–पेल्चेत–कटुञ्जे–काशीगाउँ–केरौजा रुन्चेत सडक, चनौटे–ढिस्का–भच्चेक, शालिग्राम करिडोर र बुद्धसिंह मार्ग निर्माणलाई विशेष प्राथमिकता साथ बजेट विनियोजना गरेको आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिए ।
    एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रममार्फत गोरखाको अवुवा–बिर्दि–सेराबजार–पौवाटार, पर्वतको पातीचौर–बाजुङ–क्याङ–नागी र कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ तथा नवलपुरको आलोक चक्रपथ कालोपत्रका लागि बजेट विनियोजन गरिएको छ । ती आयोजनाअन्तर्गत आगामी आवमा ७० किमि सडक कालोपत्र हुने जनाइएको छ ।

    यस्तै सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई निरन्तरता दिइने आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिए । मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपुरको त्रिवेणी नाकासम्म सडकको विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले उल्लेख गरे ।


    दिगो र उत्थानशील पूर्वाधार विकासको लक्ष्यसहित सरकारले योजनाको प्राथमिकीकरण गरेको आर्थिक मामिलामन्त्री डा गुरुङले बताए । गरिब, अशक्त, अहसहाय, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित आवासको व्यवस्था गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ । जलवायु परिवर्तन अनुकूलित हुने गरी एकीकृत सुरक्षित बस्ती विकास तथा सहरी विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    सङ्घीय सरकार र स्थानीय तहको समन्वयमा सडक, ट्रष्ट ब्रिज पुल निर्माण तथा मर्मत कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । पदयात्रा र साइकिलिङका लागि गोरखाको मनाश्लु, लार्केपास–मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री डा गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेका सडक तथा पक्की पुलको मर्मतसम्भार कार्यलाई प्राथमिकता दिइएको छ ।

    सङ््घीय र स्थानीय तहसँगको समन्वयमा झोलुङ्गे पुल निर्माण र मर्मतका लागि पनि बजेट विनियोजन गरिएको जनाइएको छ । पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन् ।

    प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पूँजीगततर्फ रु १९ अर्ब नौ करोड ३३ लाख २४ हजार बजेट विनियोजन गरेको हो । प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा कमी, सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरणको बजेट कटौती आदि कारणले चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घटेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

  • भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।

    भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ । दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए । भारतमा एक साताकै बीचमा दोस्रो हवाई दुर्घटना भएको हो ।

  • आज देशैभर वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    आज देशैभर वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    १ असार, काठमाडौं ।हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते

    अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते

    एजेन्सी
    १ असार, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो।

    संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ’भयानक हिंसा’ को निन्दा गर्दै दोषीलाई ’कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताए । राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    “यो लक्षित राजनीतिक हिंसाको कार्य हो,” वाल्जले पत्रकारसँग भने, उनले भने, “शान्तिपूर्ण बहस हाम्रो लोकतन्त्रको जग हो । हामी हिंसा वा बन्दूकको नालबाट हाम्रा मतभेदहरूको समाधान गर्दैनौं।” मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उहाँका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।

    होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए । उनले भने, “हामी अहिले सक्रिय रुपमा ती व्यक्तिको खोजी गरिरहेका छौं ।”एबिसी न्यूजले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै भनेको छ, “दुवै घटनामा आक्रमणकारीले कानुन कार्यान्वयन गर्ने अधिकारीको भेष धारण गरेको अधिकारीहरूले अनुमान गरेका छन्।”

    स्थानीय टिभी स्टेशन केएसटीपीका अनुसार प्रहरीले खैरो केश भएका, निलो सर्ट र निलो पाइन्टमाथि कालो बडी आर्मर लगाएका एक गोरा व्यक्तिको खोजी गरिरहेको छ । गत जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरोरूपमा विभाजित भएको छन् । रिपब्लीकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन् ।

    वाल्जले भने, “हामी यस कठिन क्षणमा, मिनेसोटामा भएको यो दुःखद कार्यले हामी सबैलाई सम्झाउने काम गर्नुपर्छ। “लोकतन्त्र र कांग्रेसको हलमा, राज्यका घरहरूमा, स्कूल समितिहरूमा हुनेबहसहरू हाम्रा मतभेदहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र समाजलाई राम्रो ठाउँमा सार्ने एक तरिका हुन् ।

  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

    विदेश पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

    रासस
    १ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।

    पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट रु ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

    पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । त्यसैगरी, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपलिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौँ महानरपालिका–१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

  • मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

    रासस

    १ असार, पथरी । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

    शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छभने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।

  • मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    रासस

    १ असार, खोटाङ । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

    जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

    किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उभौली चाड औपचारिक रूपमा मैझारो ९समापन० गरिएको छ । किराती समुदायले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।

    उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।

    साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । उभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

    साकेला उभौली–उधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले बताए ।

    “साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा सांस्कृतिक चाड बनेको छ”, उनले भने, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सृजना गर्छ । त्यसैले साकेला उभौली–उधौली चाडलाई किरात समुदायले निकै महत्वका साथ मनाउने गरेका छन् ।”

    किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख २९ गते औपचारिक रूपमा सुरु गरिएको साकेला उभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनका अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएर समूहिक रूपमा साकेला सिली नाचेका थिए ।

    छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

    चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उभौली तथा उधौली चाड मनाउने गरिएको छ । साकेला उभौली तथा उधौली चाड किरात समुदायले साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरेका छन् । यो साकेला उभौली–उधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    रवीन्द्र काफ्ले / रासस

    १ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए ।


    मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।

    २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।

  • इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?

    इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?

    एजेन्सी
    १ असार, काठमाडौं । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पु¥याएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै भनेको छ, “इजरायलले नटान्ज र फोर्डोमा इरानको भूमिगत युरेनियम संवद्र्धन स्थल र इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्रमा आक्रमण गरेको छ ।

    इरानी अधिकारीलाई उद्धृत गर्दै आईएईएले शुक्रबार इरानको नातान्ज आणविक स्थलको जमिनभन्दा माथिको एक महत्वपूर्ण भाग नष्ट भएको जनाएको छ । आणविक प्रसारमा विशेषज्ञता हासिल गर्ने अमेरिकास्थित संस्था इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटी (आइएसआइएस) ले भूउपग्रहीय तस्वीरको विश्लेषण गरेको प्रतिवेदनमा उक्त स्थलको विद्युत् आपूर्तिमा ‘व्यापक’ क्षति पुगेको उल्लेख छ ।

    भूमिगत संरचनामा विद्युत् आपूर्ति हुन नसकेमा युरेनियम संवद्र्धनका लागि प्रयोग गरिने मेसिनका सेन्ट्रिफ्युजमा ठूलो क्षति पुग्न सक्ने आइएसआइएस इन्स्टिच्युटले जनाएको छ । यदि जगेडा विद्युतको स्रोत गुम्यो भने कमसेकम युरेनियम संवद्र्धन प्लान्ट तत्कालका लागि काम नलाग्ने अवस्थामा पुग्नेछ । तेहरानको दक्षिणमा रहेको फोर्डोमा भएको क्षति सामान्य रहेको इरानले जनाएको छ । विज्ञहरूका अनुसार इस्फाहानस्थित युरेनियम संवद्र्धन केन्द्र वरपर भण्डारण गरिएको युरेनियमको भण्डारमा आक्रमणले कस्तो प्रभाव पारेको हुन सक्छ भन्ने जानकारी लिन अहिले नै असम्भव छ।

    इन्टरनेसनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली भाएजले एएफपीसँग भने, “यदि इरानले ‘गोप्य केन्द्रहरू’ मा युरेनिायम ठूलो मात्रामा स्थानान्तरण गर्न सफल भयो भने ‘इजरायलको आक्रमण बेकार हुनेछ।” भाएजले भने, “इजरायलसँग ‘नाटान्ज र फोर्डोमा भण्डारण सुविधाहरू नष्ट गर्न’ आवश्यक विशाल शक्तिशाली बमहरू छैनन् । इजरायलले इरानको आणविक कार्यक्रमलाई क्षति पुर्याउन सक्छ तर यसले कार्यक्रमलाई नष्ट गर्न सक्ने सम्भावना छैन।”

    हतियार नियन्त्रण सङ्गठनका विशेषज्ञ केल्सी डेभेनपोर्टका अनुसार ती केन्द्र नष्ट गर्न अमेरिकी सैन्य सहयोग आवश्यक पर्छ । उनले भने, आक्रमणबाट नौ जना इरानी आणविक वैज्ञानिकको हत्या भए पनि इजरायलको अभूतपूर्व आक्रमणले इरानले आणविक हतियारमा निर्माण गरेको विशेषज्ञतालाई मेटाउन नसक्ने देखिन्छ।” आइएइएले प्रभावित क्षेत्रमा विकिरणको स्तर नबढेको बताएको छ ।

    “इरानको युरेनियम संवद्र्धन केन्द्रमा आक्रमण गर्दा हानिकारक विकिरण निस्किने सम्भावना निकै कम छ,“ डेभनपोर्टले भने । तर इरानको एक मात्र आणविक ऊर्जा केन्द्र बुशहरमा भएको आक्रमणले स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने उनले बताए । इजरायलले आक्रमण सुरु गरेपछि आइएइएका प्रमुख राफेल ग्रोसीले आणविक केन्द्रहरूमा ‘कहिल्यै आक्रमण गर्न नहुने’ र इरानी स्थलहरूलाई लक्षित गर्दा ‘इरान, यस क्षेत्र र त्यसभन्दा बाहिरका मानिसहरूका लागि गम्भीर परिणाम’ न्म्त्यिाउनसक्ने बताएका थिए ।

    संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा तेहरानको आणविक गतिविधिलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा पछि हटेपछि विशेष गरी युरेनियम संवद्र्धनमा इरान बिस्तारै पछि हटेको छ। मे महिनाको मध्यसम्ममा देशमा ४०८.६ किलोग्राम युरेनियम रहेको अनुमान गरिएको छ, जुन आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी तयारी हो ।

    (250614) — TEHRAN, June 14, 2025 (Xinhua) — This photo taken on June 13, 2025 shows a car damaged during Israeli airstrikes in Tehran, Iran. Early Friday, Israel carried out airstrikes on Tehran and other cities across Iran. Amir Saeid Iravani, Iran’s UN envoy, said that at least 78 people were killed as a result of Israel’s strikes, while 320 others were injured, most of whom were civilians. (Xinhua)

    भियनास्थित आइएइएको परिभाषाअनुसार इरानसँग सैद्धान्तिक रूपमा करिब १० वटा आणविक बमका लागि पर्याप्त आवश्यक सामग्री छ। संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाका अनुसार युरेनियम उत्पादन गर्ने इरान एक मात्र गैरआणविक शक्ति सम्पन्न राष्ट्र हो । आईएईएले संयुक्त राष्ट्रसङ्घको निकायसँग इरानको सहयोगको अभावको आलोचना गर्दै आएको छ, तर यसले भनेको छ कि ‘जारी, आणविक कार्यक्रमको अघोषित संरचना बनाइएको कुनै विश्वसनीय सङ्केत छैन’।

    तेहरानले आणविक हतियार विकास गर्ने महत्वाकाङ्क्षालाई निरन्तर अस्वीकार गर्दै आएको छ । डेभनपोर्टले यो आक्रमण इरानमा आणविक हतियारको वकालत गर्ने समूहलाई बलियो बनाउन सक्ने कारण हुनसक्ने चेतावनी दिएका छन् । “इजरायलको आक्रमणले इरानलाई प्राविधिक रूपमा पछाडि धकेलेको छ, तर राजनीतिक रूपमा आक्रमणले इरानलाई आणविक हतियारको नजिक धकेलिरहेको छ,” डेभनपोर्टले भने ।

  • हेवाखोला बेलिब्रिज भाँचियो, कामदार घाइते, चारको अवस्था गम्भीर

    हेवाखोला बेलिब्रिज भाँचियो, कामदार घाइते, चारको अवस्था गम्भीर

    ३१ जेठ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।

  • इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह

    इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह

    ३१ जेठ, काठमाडौं । वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताए । बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो ।

    इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन् । इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए । इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो । उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,” संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने ।

    अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ । इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।

    सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन् ।

    आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन् ।

  • वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

    वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

    एजेन्सी
    ३१ जेठ, काठमाडौं । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ । एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ। छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन विस्तार जारी राखेको र अझै चार जना बेपत्ता रहेको जनाएका छन् ।


    एजेन्सिका अनुसार बाढीले २१ हजार हेक्टरभन्दा बढी धानको खेत, हजारौँ हेक्टर तरकारी खेती डुबानमा परेको जनाइएको छ । बाढीले घरहरू पनि डुबानमा पारेको ट्राफिक अवरुद्ध भएता पनि नदीको सतह बिस्तारै घट्दै गएको जनाइएको छ ।

  • नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

    नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

    ३१ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।

    सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् ।

  • ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

    ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

    ३१ जेठ, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए ।


    सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

    २३ दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए । पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

  • इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?

    इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?

    ३१ जेठ, काठमाडौं । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ ।

    इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ । इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरुका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् । यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो । दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।

    संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताए । आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गरे । उनले सामाजिक सञ्जाल एक्स मार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताए ।