१९ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन् ।
त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई÷दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
१९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
“सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राखे । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भने, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।”
प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता सहभागी थिए ।
१९ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको उक्त बैठकले उक्त निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । नेता पुनले भने, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ, यो विपक्षीले भनिरहेका छैनन्, आमजनताले मिडियाले भनिरहेका छन्, त्यसैले उहाँले राजीनामा दिएर अख्तियारलाई छानबिनमा सहयोग गर्नुपर्छ ।”
भिजिट भिसाको सन्दर्भमा सेटिङ भएको र अनियमितता भएको स्पष्ट तथ्य स्थापित रहेकाले त्यस विषयमा छानबिन हुनुपर्ने दलको बैठकले आज स्पष्ट निर्णय गरेको उनले जानकारी दिए । उनले हालसम्म सबै कोणबाट हेर्दा गृहमन्त्रीले राजीनामा दिने विषयबाट माओवादी पछि नहटेको र को तानिन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताए ।
“तर आजको विषयलाई विषयान्तर गर्न हुँदैन, आजको तथ्य स्थापित छ की अनियमितता भएको छ, हजारौँ मान्छेलाई सेटिङमा पठाइएकोे छ, जो सेटिङमा परेनन् उनीहरुलाई फिर्ता गरिएको छ, दुःख पनि दिइएको छ”, पुनले भने, “गृहमन्त्रीलाई दोषी भनिएको छैन, छानबिनका लागि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको निर्णय भएको छ ।”
१९ जेठ, दोधारा चाँदनी । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिए । उनका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन् ।” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।”
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ ।
बन्दरगाहका लागि प्रयोग हुने ४२।३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहँुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
१९ जेठ, हुम्ला । यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३र३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् ।
सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणधीन छन् । यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत्् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।” जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत्् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युत्को भरमा गाउँले छन् ।
जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरी विद्युत् वितरण गरेको छभने अदानचुलीमा हाल स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छभने वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुनःनिर्माण हुन सकेको छैन ।
ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभि प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार ओटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ ।
हुम्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सब स्टेशन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेशन निर्माण भइरहेको छ ।
हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियोे ।
मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।
रासस १९ जेठ, त्रिवेणी । शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो । जिल्लाको कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा सदरमुकाम निर्माण गर्ने महत्वकाक्षी योजनाअघि सारिएको थियो । तर शिलान्यास भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । हाल आएर सदरमुकाम निर्माणले गति लिएको छ ।
नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माणको काम अघि बढेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माणको काम थालिएकोमा अहिले थप भवन निर्माणको काम सुरु गरिएको छ । चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार पाँच सय २७ को लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माणको काम गरिरहेको छ ।
विसं २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी कामअघि बढिरहँदा अहिले दोस्रो चरणमा भ्याटबाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप काम अघि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।
समानान्तर–बुद्ध हिमाली जेभीले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवास गृह, सदरमुकामस्थल कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोला तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तार लगायतको काम गर्ने गरी ठेक्का प्राप्त गरेको आयोजनाका प्रमुख थापाले बताए ।
सोहीअनुसार अहिले निर्माणका काम अघि बढेको उहाँले बताउनुभयो । विसं २०८२ वैशाख २९ गते निर्माणको सम्झौता भएको र विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको आयोजना प्रमुख थापाले बताए । आयोजनाको काम सुरु गर्न विविध कारणले ढिलो भएको र अब निर्धारित समयमा सम्पन्न गराउनका लागि आफूहरू लाग्ने उनले बताए । “सदरमुकामस्थलमा निर्माणको काम अहिले धमाधम अघि बढेको छ, निर्धारित समयमा थालिएका काम सम्पन्न गराउने गरी हामी लागि परेका छौँ”, आयोजना प्रमुख थापाले भने ।
नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्टाइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालयहरू निर्माण हुनेछ । अहिले सङ्घस्तरका कार्यालयहरू निर्माणको काम अघि बढेको छ । तर प्रदेश मातहतका कार्यालय निर्माणको काम थालिएको छैन ।
नमूना सदरमुकाम निर्माणको गुरु योजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय , पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरु योजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।
काठमाडौं । आज सार्वजनिक सवारी सञ्चालकहरुले देशैभरी बन्द आह्वान गरेका छन् । सार्वजनिक सवारी नचल्दा यात्रुको विचल्ली भएको छ । अत्यावश्यक काममा निस्कनु पर्ने यात्रु समेत आज विचल्लीमा परेका छन् । राजधानीसहितका शहर र राजमार्ग सुनसान देखिएको छ । यात्रुले हिँडेर गन्तव्यतर्फ लम्किरहेको देखिन्छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।
काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् । बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ । यसै मेसोमा राइड सेयरिङको नाममा बढी भाडा असल्ने धन्धा समेत फस्टाएको छ ।
१९ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।
दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।
एजेन्सी १९ जेठ, काठमाडौं । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।
घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने, “अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्,जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको बताए ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो । गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।
यता, इजरायली रक्षा बल (आइडीएफ) ले आइतवार एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता वितरणस्थलमा आफ्ना गोलीबाट घाइते भएकोबारे जानकारी नभएको उल्लेख गरेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सञ्चारमाध्यमहरूले इजरायली सेनाको उपस्थितिको उद्देश्य ‘आतङ्ककारी तत्व’ विरुद्ध लक्षित कारबाही रहेको बताएका छन् ।
यसबीच, इजरायलले मार्च २ तारिखदेखि गाजातर्फ जाने सीमाहरू बन्द गर्दै मानवीय सहयोगको आपूर्ति कटौती गरेको थियो । मे २२ देखि सीमित मात्रामा सहायता पुनः प्रवेश गर्न दिइएको छ । मार्च १८ मा हमाससँग दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतवारसम्म कुल चार हजार १४९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १२ हजार १४९ जना घाइते भएका छन् ।
एजेन्सी १९ जेठ, काठमाडौं । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो । कीभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ ।
हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको मागको सामना गरिरहेको छ । गत महिना सीमा नजिकै तालिम लिइरहेका छ जनाको रुसी आक्रमणमा मृत्यु भएको थियो, जसलाई एक युक्रेनी विपक्षी नेताले सेनाको नेतृत्वद्वारा गरिएको ‘अपराध’ को संज्ञा दिएका थिए । “आज, जुन १ मा युक्रेनी सेनाको एक तालिम इकाई अवस्थित स्थानमा मिसाइल आक्रमण गरेको युक्रेनी सेनाले एक विज्ञप्तिमा जनाएको छ ।”
स्थानीय समय अनुसार दिउँसो १२ः५० बजे सम्म कम्तीमा १२ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ । यसबाहेक, आइतवार नै रुसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त क्षेत्रमा मस्कोले नयाँ स्थलआधारित आक्रमण सुरु गर्न सक्ने भन्दै कीभले चिन्ता व्यक्त गरेको छ ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार, रुसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको र सीमा पारि ५० हजार भन्दा बढी सैनिकहरू परिचालन गरिसकेको छ । सुरक्षा कारणवश सो क्षेत्रमा २०० भन्दा बढी गाउँहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।
१९ जेठ, पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । राज्य विपद् व्यवस्थापन अधिकारीहरूले असममा आठ जना र अरुणाचल प्रदेशमा नौ जनाको मृत्यु भएको र तीमध्ये धेरैको भूस्खलनमा मृत्यु भएको बताएका छन् ।
छिमेकी राज्य मिजोराममा भूस्खलन हुँदा अन्य पाँच जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मेघालयमा छ जनाको ज्यान गएको छ भने नागाल्यान्ड र त्रिपुरा राज्यमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
पछिल्ला तीन दिनमा निरन्तर मुसलधारे वर्षाका कारण यस क्षेत्रका धेरै जिल्लाका लागि चेतावनी स्तर चेतावनी जारी गरिएको छ । हिमालयबाट निस्केर भारतको उत्तरपूर्वबाट बङ्गलादेशको डेल्टातर्फ बग्ने शक्तिशाली ब्रह्मपुत्रसहित मुसलधारे वर्षाले बढेका नदीहरूले यस क्षेत्रभरि आफ्ना किनारहरू भत्काएका छन् । भारतीय सेनाले मणिपुर राज्यभरि ‘व्यापक उद्धार अभियान’ मा सयौँलाई बचाएको बताएको छ ।
“मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ”, सेनाले शनिबार भन्यो, “खाना, पानी र आवश्यक औषधिहरू उपलब्ध गराइएको छ ।” मेघालय राज्यका मुख्यमन्त्री कोनराड के साङ्ग्माले अधिकारीहरूलाई ‘विशेष गरी भूस्खलन जोखिममा रहेका र तल्लो क्षेत्रहरूम’ उच्च सतर्कतामा रहन आदेश दिएका छन् । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा वर्षाको मौसममा अकस्मात् बाढी र पहिरोका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ ।
जुनदेखि सेप्टेम्बरसम्म चल्ने भारतको वार्षिक मनसुन मौसमले तीव्र गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ, तर यसले व्यापक मृत्यु र विनाश पनि ल्याउँछ । दक्षिण एसिया तातो हुँदै गइरहेको छ र हालका वर्षहरूमा मौसमी ढाँचामा परिवर्तन देखिएको छ, तर वैज्ञानिकहरू तातो हुँदै गएको पृथ्वीले मनसुनलाई कसरी असर गरिरहेको छ भन्ने बारेमा स्पष्ट छैनन् ।
गत महिना भारतको आर्थिक राजधानी मुम्बई सामान्यभन्दा दुई हप्ता चाँडो सुरु भएको मनसुनी वर्षाले डुबानमा परेको थियो । मौसम पूर्वानुमानकर्ताहरूका अनुसार मनुसुन लगभग एक चौथाई शताब्दीमा सबैभन्दा चाँडो भएको थियो ।
१८ जेठ, पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालन गराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले आज विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनका क्रममा भएको अवरोधहरूप्रति ध्यानाकर्षण गराउँदै बन्द हड्तालमा पनि पर्यटक सवारीसाधनहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति र सबै पक्षसँग आग्रह गरे ।
यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढ्ने भन्दै विज्ञप्तिमा पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधारमध्ये एक भएको र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरुको साझा दायित्व भएको भनिएको छ । बन्द नै समाधान नभएको भन्दै परिषदले सबै सरोकारवाला निकायहरू प्रति गम्भिर ध्यानाकर्षण सहित शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले अहिले गण्डकी प्रदेशमा यातायात प्रभावित बनाएका छन् ।
१८ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए ।
काठमाडौँ प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला÷जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।
प्रजिअ तिवारीद्वारा आज जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जेठ १९ गतेदेखि लागू हुनेगरी तोकिएको स्थान बाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो दुई महिनासम्म कायम रहने जनाइएको छ ।
१८ जेठ, काठमाडौं । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । यहाँको निषेधित क्षेत्र तोड्न खाजेपछि आज दिउँसो पक्राउ गरिएकामा अहिले राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराले बताए ।
रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।
१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने चेतावनी दिएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उनले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासमा जोड दिँदै भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्नुपर्नेमा जोड दिए । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुु¥याइने जनाइएको छ । रु ४९ अर्ब ४२ करोडको लागतमा बन्ने सो आयोजनाको ‘हेडवक्र्स’मा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमिका रूपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य र आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । उनले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुरमा रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता काममा गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे । प्रधानमन्त्री ओलीलेसुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गरे ।
१८ जेठ, पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आज अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भए । राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरे । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा उनले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।
भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भए । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।
ललितपुर, १८ जेठ :
रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै
वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पु¥याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए ।
१८ जेठ, काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाएका छन् । यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाएका हुन् । यातायात व्यवसायी तथा मजदुरले सोमबारदेखि सवारीसाधन थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए । प्रदेश सरकार र सङ्घ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उनको भनाइ थियो ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजजुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।’
निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले घोर भत्र्सना गरेको छ । ‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा।दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।
काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन् । सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ । आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए । उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ । ‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्दछौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
१८ जेठ, काठमाडौं । राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा समेत लिएको छ । प्रहरी नियन्त्रणमा लिइएकाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।
उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताएका छन् । उनका अनुसार उनीहरू नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्ने भन्दै अघि बढेका थिए । सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिनेक्रममा झडप समेत भएको थियो । उनीहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भोलीबाट आन्दोलन अझै चर्किने चेतावनी दिएका छन् ।
काठमाडौं केन्द्रित राजावादीको आन्दोलनबारे माओवादी केन्दैका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध चलेको छ । प्रचण्डले शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा राजावादी आन्दोलनमा भाडाका मान्छे आएको टिप्पणी गरेका थिए । उनले यो आन्दोलन धेरै दिन नटिक्ने समेत बताएका थिए ।
जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफुले आन्दोलनमा भाडाका मान्छे ल्याउने गरेको प्रचण्डलाई स्मरण भएको प्रतिक्रिया दिए । शनिबार बालुवाटारमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राप्रपाले शुक्रबारबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । राप्रपाका नेताहरुले आन्दोलन अझै चर्काउने बताएका छन् । उनीहरुले राजसंस्था पुनस्र्थापनाको माग गरिरहेका छन् ।
१८ जेठ, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सव शुभारम्भ गरिएको छ । आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए ।
माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए । उनीहरुले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए । उनका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब दुई सय जना सहभागी छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
“आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित भएका छौँ”, पदयात्रा टोलीलाई स्वागत गर्दै उनले भने, “हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।” यसअघि काठमाडाँै र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ ।
आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।
जेठ २० गते हुने आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।
अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।
पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।
१८ जेठ, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको काम धमाधम भइरहेको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का अनुसार अहिले कामले गति लिएको छ । यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ । आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरका काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।
जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक विस्तारको काम भने आनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीबाट भइरहेको छ । पूर्वी खण्डको काम २०७७ वैशाखदेखि सुरु भएको हो भने पश्चिम खण्डको काम २०७८ भदौदेखि सुरु भएको हो । यो आयोजनामा भूगोल हेरेर २१ देखि ४५ मिटरसम्म सडक फराकिलो बनाउने लक्ष्य छ । आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा चिटिक्क देखिएको सडक । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा कालोपत्र करिब अन्तिम चरणमा पुगेको छ । तस्बिर: कृष्ण न्यौपाने / रासस
४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार यस सडक विस्तारका दौरान कुल २८८ स्थानमा कल्भर्ट बनाउनु पर्ने छ । कुल २९ वटा साना–ठूला पुल निर्माण गर्नुपर्नेछ । साइड ड्रेनतर्फ कुल १००.८५ किलोमिटर निर्माणको लक्ष्य छ ।
१८ जेठ, भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर–नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्नेगरी बोलपत्र आह्वान गर्दै रु १७ करोडमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै रु ३१ करोड पुर्याउँदा पनि विभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भेगकाले यो सडकलाई पूरा गर्न भक्तपुर– नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको बताइएको छ । केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैँले कालोपत्र गर्न लागेको हो । बागमती प्रदेश सरकारको रु ५९ करोडको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौँको साँखु नौ किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सुरु भएको राजावादी आन्दोलन आज तेस्रो दिन प्रवेश गरेको छ । शनिबार नारायणहिटी अगाडी आन्दोलनको तयारी गरिरहेका पूर्वराजा समर्थकलाई सरकारले निषेधाज्ञा लगाएको थियो । त्यसपछि आन्दोलनकारी बालुवाटार मोडिएका थिए । आज भने आन्दोलन नारायणचौरमा केन्द्रित हुने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए ।
उनले आन्दोलनमा सहभागी सहयोगी सबैलाई धन्यवाद समेत भनेका छन् । गणतन्त्र दिवसका अवसरमा एमालेले आह्वान गरेको प्रदर्शनको तुलनामा राजावादी आन्दोलनमा जनसहभागिता बढेको भन्दै राप्रपाका नेताहरु उत्साहित छन् ।
१८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे ।
खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
१८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरे । उनले हेल्पलाइन सेवा सञ्चालन भएसँगै सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्यामा कमी आउनाका साथै यसको नियन्त्रणमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्यमन्त्री पौडेलले भने, “हेल्पलाइनबाट पाइने परामर्श सेवाबाट सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि प्राप्त गरेका छौँ । उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता कसरी घटाउन सकिन्छ भन्नेतर्फ मन्त्रालय केन्द्रित भएका योजनाबद्ध काममा जोड दिएका छौँ ।” उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न सबै तहमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्वास्थ्य सचिव डा विकास देवकोटाले पछिल्लो समय युवाहरूमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताको विषय भएको बताए । उनले भने, “पछिल्लो समय भेपको प्रयोग बढेको देखिन्छ । युवाहरूलाई यसको लत नियन्त्रण गर्न के गर्ने भनेर मन्त्रालयले योजनाबद्ध रूपमा पहल गरिरहेको छ ।
प्रभावकारी नतिजाका लागि स्वास्थ्य मन्त्रालयसँगै सबै सरोकार भएकाको समन्वय र सहकार्य आवश्यक पर्दछ । जनचेतना फैलाउनाका साथै व्यक्ति, घर, विद्यालय, कार्यस्थललगायत ठाउँमा सुर्तीजन्य पदार्थको सेवन निरुसाहित गर्ने वातावरणलाई बनाउनुपर्छ ।”
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पु¥याउने सङ्घसंस्था र पत्रकार गरी सात जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम वर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत गरिएको छ । हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिएको छ । यस वर्षको नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ रहेको छ ।
एजेन्सी १८ जेठ, काठमाडौं । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरू एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।
क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ । पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् ।
एजेन्सी\रासस १७ जेठ, काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा उक्त टिप्पणी गरेका हुन् । जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गरेका छन् । प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोजेका छन् । बेइजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्सजस्ता सहयोगीहरूसँग सुरक्षा सम्बन्धलाई गहिरो बनाएका छन् ।
विश्वभरका रक्षा अधिकारीहरूको सहभागिता रहेको साङ्ग्रिला संवादमा हेगसेठले भने, “चीनले खडा गरेको खतरा वास्तविक हो र यो तत्त्काल हुन सक्छ।” “इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेइजिङले गरिरहेको छ,” उनले भने । हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण गरिरहेको र ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास’ गरिरहेको चेतावनी दिए । बेइजिङले ताइवानमाथि सैन्य दबाब बढाएको छ र टापुको वरिपरि धेरै ठूला अभ्यासहरू गरेको छ, जसलाई प्रायः नाकाबन्दी वा आक्रमणको तयारीको रूपमा वर्णन गरिन्छ। हेगसेठले संयुक्त राज्य अमेरिका ‘साम्यवादी चीनको आक्रामकतालाई रोक्नको लागि पुनः उन्मुख भइरहेको’ बताउँदै एशियामा रहेका अमेरिकी सहयोगी र साझेदारहरूलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान गरे ।
एजेन्सी १७ जेठ, काठमाडौं । गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूद्वारा सार्वजनिक गरिएको वक्तव्यमा तीमध्ये लगभग पाँच हजार जना बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता रहेको उल्लेख गरिएको छ, जुन प्रारम्भिक परीक्षण, किमोथेरापी वा रेडियसन थेरापीका लागि हो । गाजामा प्रारम्भिक रोग पहिचान तथा अनुगमनका लागि आवश्यक उपकरणहरूको अभावले बिरामीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
“क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरूमध्ये ६४ प्रतिशत औषधिको मौज्दात शून्य रहेको छ,” वक्तव्यमा उल्लेख गरिएको छ । क्यान्सर पीडितहरू ‘गम्भीर स्वास्थ्य, सामाजिक, मानसिक तथा आर्थिक समस्याबीच जीवन यापन गर्न बाध्य छन्’ भन्ने तथ्यमा समेत जोड दिइएको छ । यसबीच, गाजा क्षेत्रमा मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ, जुन इजरायली सैन्य गतिविधिहरू निरन्तर जारी रहँदा थप जटिल बनिरहेको छ ।