एजेन्सी ११ जेठ, काठमाडौं । रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ । रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समयमा युक्रेनले गरेको निरन्तर ड्रोन आक्रमणका कारण रूसको हवाई यातायात प्रभावित भएको पनि जनाए ।
लावरोभले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएका शान्ति प्रयासहरूलाई युरोपेली मुलुकहरूले असफल बनाउन युक्रेनलाई उक्साएको आरोप लगाउँदै रूस सधैं वार्ताका लागि खुला रहेको र शान्तिपूर्ण समाधानमा पूर्ण रूपमा समर्पित रहेको बताए । हाल सम्झौताको दोस्रो चरणमा काम भइरहेको जानकारी दिँदै लावरोभले मस्यौदा विश्वसनीय र दीर्घकालीन शान्तिका लागि आवश्यक सर्तहरूको रूपरेखा भएको उल्लेख गरे । कैदीहरूको आदानप्रदान पूरा भएपछि रूसले मस्यौदा युक्रेनमा पठाई थप छलफलका लागि तयार रहेको उनले स्पष्ट पारे ।
एजेन्सी १० जेठ, काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ । नयाँ तथ्याङ्कले १० दिनअघि मे १३ मा दुई हजार ४५ जना सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो अद्यावधिकको तुलनामा सङ्क्रमित दर करिब ५० प्रतिशतले वृद्धि भएको देखाउँछ ।
एमपोक्स बिफर जस्तै सङ्क्रमित विरामीबाट सर्ने एक सङ्क्रामक रोग हो । ज्वरो आउने, रूघा लाग्ने, छालामा घाउमा देखा पर्ने र लामो समयसम्म निको नहुने यसका सामान्य लक्षण हुन् । सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलो पटक पहिचान गरिएको यो रोग सन् २०२२ देखि व्यापक रूपमा फैलिनुअघि सामान्यतया एक दर्जन अफ्रिकी देशहरूमा मात्र सीमित थियो। डब्लुएचओले सन् २०२४ मा एमपक्स सङ्क्रमणबाट जोगिन उच्च स्तरको चेतावनी जारी गरेको थियो ।
सङ्क्रमण बढेसँगै राजधानी फ्रीटाउनमा रहेको प्रहरी प्रशिक्षण केन्द्रलाई ४०० शैयाको अस्पताल बनाई उपचार सेवा दिन थालिएको सियरा लियोनका अधिकारीहरूले बताएका छन् । एक दशकअघि सियरा लियोन इबोला महामारीबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक थियो । इबोलाका कारण यहाँ सन् २०१४ देखि २०१६ को बीचमा करिब चार हजार व्यक्तिको मृत्यु भएको थियो । अन्य अफ्रिकी राज्यहरूमा एमपक्सको सङ्क्रमणहरू बढिरहेको देखिएको छ । विशेष गरी कङ्गो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यामा एमपक्सबाट हजारौँ व्यक्ति सङ्क्रमित भएका छन् ।
१० जेठ, राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐ)० मा ५१।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयले जनाएको छ ।
सन् २००९ को मे महिनामा अत्यधिक ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । युएई र्पथ्वीकोसबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिन्छ यो विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ । युएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण ९मरुभूमि० का लागि चिनिन्छ । वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट सङ्केत भएको बताएका छन् ।
विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ । ग्रीनपीसको एक अध्ययनअनुसार सन् २०२२ मा जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै भीषण गर्मीको लहरको उच्च जोखिम देखिएको थियो ।
संयुक्त अरब इमिरेट्स (युएई) लगायत छ वटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युतको तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।
उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उहाँसहित अन्य पाँच जनाको पनि ज्यान गएको छ । सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ । सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो,“हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”
दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ । सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए । उनले भने, “आगलागीमा आठ जनाको जलेर मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
घाइतेहरूलाई बिभिन्न स्थानमा राखी उपचार भइरहेकोले घाइते हुने व्यक्तिको स्पष्ट सङ्ख्या अझै सङ्कलन भइरहेको छ ।” आगलागी कसरी सुरू भयो यसबारे कारण खुल्न सकेको छैन । राजधानीका भीडभाड र विपन्न अनौपचारिक बस्तीहरूमा बारम्बार डढेलो लाग्ने गर्छ । केन्याली रेडक्रसका अनुसार स्थानीय समुदायको सहयोगमा अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनुअघि ४० घर प्रभावित भएका थिए।
१० जेठ, काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने दावि गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको भन्दै दुःख व्यक्त गरेको छ ।
विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्णसहयोग रहनेसमेत उल्लेख छ ।
मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ । अहिले अध्यागमनको सेटिङमा गृहमन्त्रीको सचिवालयलाई समेत जोडेर दावि गरिएको छ ।
१० जेठ, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका(१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिएका छन् । उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।
१० जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुमाथि उठेको प्रश्नको स्पष्टीकरण दिएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै आफुले आर्थिक अनियमितता गरेको प्रमाणित भए मन्त्री पदमात्र नभएर राजनीतिबाटै राजिनामा दिने बताएका छन् । उनीमाथि अध्यागमन विभागको सेटिङमा भिजिट भिसामा विदेश मान्छे पठाउँदा कमिसन लिएको र त्यो कार्यमा मन्त्रीको सचिवालयका मानिस समेत जोडिएको भन्दै आरोप लागिरहेको छ ।
उनले आजै संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबस्ने दावि समेत गरे । आफुविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको दावि समेत लेखकको छ । तर, उनको दल स्वयमः नेपाली कांग्रेसका नेताहरुले समेत राजिनामा दिएर सघाउन सार्वजनिक रुपमै आह्वान गरिसकेका छन् ।
रासस १० जेठ, काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनका अनुसार ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट) मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को हत्या भएको छ । त्यसैगरी लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) को पनि हत्या गरिएको फाउण्डेशनका अध्यक्ष डा मदन परियारले जानकारी दिए । ऐनबमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना हुने पनि व्यवस्था छ । छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता प्रकट गर्दै उजुरी दिन आनाकानी गर्ने र यदि उजुरी दर्ता गरेपनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियार बताउँछन् । अन्तरजातीय विवाह गरेकै कारण थुप्रै जोडी र दलित परिवार विस्थापित भएका छन् ।
विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्को बैठकले सर्वसम्मतिबाट ‘जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८’ पारित गरेको थियो । ऐन व्यवस्थापिका–संसद्बाट पारित भएलगत्तै दैलेख तोली गाविस–२ धनीगाउँ निवासी सन्तबहादुर दमार्इं र सोही स्थान बस्ने राजकुमारी शाहीबीच प्रेम सम्बन्ध कायम भई दुवैको आपसी समझदारीमा प्रेमविवाह गरेको निहँुमा राजकुमारी शाहीको माइतीपक्षले २०६८ साल भदौ १४ गते सन्तबहादुरका बाबु सेतेलाई साङ्घातिक आक्रमण गरेपछि निजको मृत्यु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता पर्शुराम रम्तेलले ऐनको प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताउँछन् । “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ । तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि विभेदको जीवन बाँचिरहेको छ”, उनले भने । दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन् ।
रासस १० जेठ, पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् ।
मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छभने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् । होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ । मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
१० जेठ, काठमाडौं । गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका १०० वटा तस्बिर समेटिएका छन् । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बिहान संयुक्त रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यर्होर्नु परेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले हालै यहाँ सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमालसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिनेछ । ग्राहकहरुको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग गर्ने विश्वास महाप्रबन्धक सिद्धराज राईले व्यक्त गरे । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।
जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवद्र्धनबाट वैदेशिक आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विश्वका आठ हजार मिटरभन्दा उच्च १४ वटा हिमशिखरमध्ये आठ वटा नेपालमा छन् । मुलुकमा आठ हजार मिटर माथिका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला छन् । सात हजार मिटरमाथि का ९० र छ हजार मिटरमाथिका एक हजार ३१० गरी एक हजार ७९२ वटा हिमाल छन् ।
१० जेठ, काठमाडौं । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गत मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए । ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन् । कूल ३२ परिवार विस्थापित भएको उनले बताए ।
विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ ।
जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
१० जेठ, सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी ६१ वर्षका भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ । भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”
पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”
पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण सङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।
नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन्, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”
काठमाडौँ,४ जेठः माउन्टेन फ्लाइटबाट आइतबार बिहान देखिएको सगरमाथा आसपास हिमश्रङ्खलाको दृश्य । तस्बिरः हरिराम भेटुवाल\रासस
सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”
शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्याल बताउँछन् । नी भन्छन्, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनी बताउँछन् । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उनी प्रश्न गर्छन् ।
file
हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन् । उनी भन्छन्, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”
सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।
“पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्थे । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउँछन् । उनी भन्छन्, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”
तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।
सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ । नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।
१० जेठ काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
१० जेठ, भक्तपुर । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।
नेपालको पहिलो अन्तरराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धिअर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।
१० जेठ, बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
१० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ । रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप ९टिएमजी०’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो । अघिल्लो कन्जरभेटिभ सरकारको हस्तक्षेपपछि यसले लगभग दुई वर्ष लामो प्रक्रियापछि बिक्रीको लागि निष्कर्ष निकालेको हो ।
‘अमेरिका–इमिरेट्स कन्सोर्टियम रेडबर्ड आईएमआई’ले सन् २०२३ को अन्त्यतिर टिएमजीका लागि सम्झौता गरिसकेको छ । अबुधाबीको प्रेस सेन्सरसिपको उच्च हस्तक्षेपका कारण अभिव्यक्ति स्वतन्त्रतामा पर्न सक्ने सम्भावित असरको चिन्ताका बीच अघिल्लो बेलायती सरकारले पत्रिकाको द्रूत पुनविक्री सुरु गरेको थियो । रेडबर्ड क्यापिटल पार्टनर्सले शुक्रबार टीएमजीसँग भएको सम्झौताले यसलाई ‘एकमात्र नियन्त्रण मालिक’ बनाएको र सन् १८५५ मा स्थापित पत्रिकाको ‘विकाशमा नयाँ युगको सुरूवात’ गरेको बताएको छ।
द टेलिग्राफलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न रेडबर्डको विकास रणनीतिमा डिजिटल सेवा, सदस्यता र पत्रकारितामा पूँजी लगानी समावेश हुनेछ । अमेरिकी समूहले आगामी दिनमा पत्रिकाको स्वरूप कस्तो बनाउने भन्ने बिषयमा ‘प्रिन्ट मिडियाको विशेषज्ञता र द टेलिग्राफको सम्पादकीय मूल्यमान्यतालाई कायम राख्ने दृढ प्रतिबद्धता भएका बेलायतका अल्पसङ्ख्यक लगानीकर्ताहरूसँग छलफल गरिरहेको’ बताएको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ । आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २ः३० बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ ।
यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ । यसअघि मे सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च तापक्रम थियो । यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ । म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको यस विश्वविद्यालयले तुरुन्त यो कदमलाई ‘गैरकानूनी’ भन्दै आलोचना गरेको छ र यसले क्याम्पस र समग्र देश दुवैलाई ‘गम्भीर हानि’ पुर्याउने बताएको छ ।
हार्वर्डले भर्नाको निरीक्षण गर्न र यो यहुदी–विरोधी र ‘जागृत’ उदार विचारधाराको केन्द्र हो भन्ने आफ्नो दाबीलाई अस्वीकार गरेकामा यस विश्वविद्यालयसँग ट्रम्प क्रुद्ध हुनुहुन्छ । हार्वर्डले एक सय ६२ जना नोबेल पुरस्कार विजेता उत्पादन गरेको छ । “तत्काल प्रभावकारी, हार्वर्ड विश्वविद्यालयको विद्यार्थी र आदानप्रदान आगन्तुक (सेभिस) कार्यक्रम प्रमाणीकरण रद्द गरिएको छ”, गृहमन्त्री क्रिस्टी नोएमले आइभी लिगको संस्थानलाई पत्रमा लेखेको पत्रमा विदेशी विद्यार्थीहरूलाई संयुक्त राज्यमा अध्ययन गर्न अनुमति दिने मुख्य प्रणालीलाई उल्लेख गर्दै लेखेका छन् ।
हार्वर्डले तुरुन्त जवाफी कारबाही गर्दै यो कदमलाई ‘गैरकानूनी’ भनेको छ र यसविरुद्ध लिइएका अन्य दण्डात्मक उपायहरूको विरुद्धमा सरकारलाई मुद्दा हालेको छ । “हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने हार्वर्डको क्षमतालाई कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ”, विश्वविद्यालयले वक्तव्यमा भनेको छ, “हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्न तुरुन्त काम गरिरहेका छौँ । यो बदलाको कारबाहीले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने खतरा निम्त्याउँछ र हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाउँछ ।”
गत महिना ट्रम्पले हार्वर्डले सरकारी मागहरू स्वीकार नगरे निजी संस्थालाई राजनीतिक पर्यवेक्षण बाहिर राखिनेछ भन्दै उक्त विश्वविद्यायलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न रोक्ने धम्की दिएका थिए । “मैले तपाईंलाई मेरो अप्रिलको पत्रमा व्याख्या गरेझैँ विदेशी विद्यार्थीहरू भर्ना गर्नु एउटा विशेषाधिकार हो, सबै विश्वविद्यालयले यो विशेषाधिकार कायम राख्न विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रम नियमहरू अन्तर्गत रिपोर्टिङ आवश्यकताहरू सहित गृह मन्त्रालयका आवश्यकताहरूको पालना गर्नुपर्दछ”, नोएमले लेखेका छन् ।
“गृह मन्त्रालयलाई सान्दर्भिक जानकारी प्रदान गर्ने धेरै अनुरोधहरूको पालना गर्न तपाईंको अस्वीकारको परिणामस्वरूप यहुदी विद्यार्थीहरूका लागि शत्रुतापूर्ण असुरक्षित क्याम्पस वातावरण कायम राख्दै, हमासको समर्थनकारी सहानुभूतिलाई बढावा दिँदै र जातिवादी ‘विविधता, समानता, र समावेशी’ नीतिहरू प्रयोग गर्दै तपाईंले यो विशेषाधिकार गुमाउनुभएको छ”, उनले लेखेका छन् ।
विश्वविद्यालयको तथ्याङ्कअनुसार २०२४–२५ शैक्षिक वर्षमा हार्वर्डको भर्नाको २७ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी थिए । “यो घटनाक्रमले पहिले नै भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि के अर्थ राख्छ भन्ने कसैलाई थाहा छैन”, चौथो वर्षकी अमेरिकी विद्यार्थी एलिस गोयरले भने, “हामीले भर्खरै समाचार प्राप्त गर्यौँ, त्यसैले मैले धेरै अन्तर्राष्ट्रिय साथीहरूबाट सन्देशहरू पाइरहेकी छु, र मलाई लाग्छ सबैजना – कसैलाई थाहा छैन, सबैजना अलिकति त्रसित छन् ।” “मलाई शङ्का छ कि मानिसहरूले त्यसो गर्नेछन्”, नोएमले पत्रमा सुझाव दिएअनुसार विद्यार्थीहरूले स्वेच्छाले अन्य संस्थानहरूमा स्थानान्तरण गर्छन् कि भन्ने प्रश्नमा गोयरले भन्नभयो, “म आशा गर्छु कि सायद त्यहाँ कानूनी लडाइँ हुनसक्छ ।”
एजेन्सी ९ जेठ, काठमाडौं । इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा र्पुयाइएको छ । इजिप्टमा प्रत्येक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । यी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियमको उल्लङ्घन र सडकको कमजोर अवस्था रहेका छन् । केही वर्षयता इजिप्टले दुर्घटना न्यूनीकरणका लागि नयाँ सडक तथा पुल निर्माण गर्दै पुराना संरचनाहरूको मर्मतसमेत गरिरहेको छ ।
एजेन्सी ९ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिएका छन् । यो सटासट तीन वर्षदेखि जारी द्वन्द्वकालीन अवधिमा सबैभन्दा ठूलो हुने बताइएको छ । गत साता इस्तानबुलमा सम्पन्न वार्तामा युक्रेन र रूसले एक अर्काका एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाएका थिए ।
यद्यपि, घटनासँग नजिकबाट संलग्न एक वरिष्ठ अधिकारीका अनुसार यो सटासट प्रक्रिया अझै पूर्णरूपमा सम्पन्न भइसकेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत यस सटासट सम्पन्न भएको घोषणा गरे । तर, ती अधिकारीले सटासटको प्रक्रिया हाल जारी रहेको र औपचारिक रूपमा सम्पन्न नभएको स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै यस्तो सटासटले भविष्यमा सकारात्मक सङ्केत दिन सक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।
तीन वर्षदेखि जारी युद्धको क्रममा दुवै देशमा हजारौं युद्धबन्दीहरू रहेका छन् । अनुमानअनुसार, रूसी पक्षले युक्रेनी युद्धबन्दीहरू ठूलो सङ्ख्यामा नियन्त्रणमा राखेको छ, जसको सङ्ख्या आठ हजारदेखि १० हजारबीचमा रहेको बताइएको छ । दुवै पक्षले युद्धबन्दीहरूमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार नगरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि बन्दीहरू दुवै देशमा यातना तथा अमानवीय व्यवहारको शिकार भएको पुष्टि गरेको छ ।
रूसले केही बन्दीहरूलाई अदालती कारवाहीमा पेस गरेको, कैयौंलाई यातना दिएको र केही युक्रेनी बन्दीहरू बन्दी अवस्थामै मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् । साथै, कब्जा गरिएको युक्रेनी भूभागबाट केही नागरिकहरू रूस लैजाने गरिएको विश्वास गरिन्छ । यसै वर्ष, पत्रकार भिक्टोरिया रोश्चिनाको मृत्युपश्चात उहाँको शव रूसबाट युक्रेन फिर्ता गरिएको थियो । युक्रेनका हराइरहेका व्यक्तिहरूका लागि जिम्मेवार आयुक्त आर्तुर दोब्रोसेर्दोभले गत महिनामा सञ्चारमाध्यमलाई जानकारी दिँदै भन्नुभयो,“हाल करिब ६० हजार व्यक्ति हराइरहेका छन्, जसमध्ये १० हजार को बन्दी अवस्थाको पुष्टि भएको छ । ”
एक उच्च अधिकारीका अनुसार, “प्रत्येक सटासटमा यस्ता व्यक्तिहरू समेत फिर्ता हुने गरेका छन्, जसको अवस्थाबारे पहिले केही जानकारी थिएन ।” सन् २०२२ मा मारीउपोलमा भएको सैन्य घेराबन्दीको क्रममा धेरै युक्रेनी सैनिकहरू बन्दी बनाइएका थिए । त्यसबाहेक, सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेयता पनि केही युक्रेनी नागरिकहरू रूसी नियन्त्रणमा रहेको जनाइएको छ । रूसी युद्धबन्दीहरूको सङ्ख्या युक्रेनी पक्षमा तुलनात्मक रूपमा कम रहेको अनुमान गरिएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्धकालभर रूसी सैनिकहरूलाई बन्दी बनाएर भविष्यका सटासटहरूका लागि ‘विनिमय कोष’ तयार राख्न आवश्यक भएको बताउँदै आएका छन् ।
In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)
सन् २०२४ मा युक्रेनी सेनाले रूसको कुस्र्क क्षेत्रमा गरेको आक्रमणको क्रममा सयौं रूसी सैनिकहरूलाई बन्दी बनाएको थियो । त्यसक्रममा केही उत्तर कोरियाली सैनिकहरू पनि बन्दी बनाइएको उल्लेख गरिएको छ, जसले रूसको पक्षबाट लडाइँमा सहभागी भएको बताइएको छ । साथै, युक्रेनले रूसी सेनासँग मिलेर काम गरेको आरोपमा केही नागरिकहरूलाई जेल सजाय दिएको छ, जसलाई भविष्यका विनिमय सम्झौतामा समावेश गरिने अनुमान गरिएको छ ।
गत वर्ष, रूसको आक्रमणलाई समर्थन गरेको अभियोगमा सजाय पाएका युक्रेनी आर्थोडक्स धर्मगुरुलाई पनि युद्धबन्दी सटासटमा समावेश गरिएको थियो । रूसले यस वर्षको सुरुवातमा कुस्र्क क्षेत्रबाट आफ्ना केही नागरिकहरू युक्रेनको सुमी क्षेत्रमा लगिएको जानकारी दिएको थियो र उनीहरू अझै फर्कन नसकेको जनाएको छ । इस्तानबुलमा भएको पछिल्लो वार्तासम्म, दुवै पक्षबीच कायम रहेका सीमित संचार माध्यमहरूमा युद्धबन्दी तथा शवहरूको सटासट र रूसले युक्रेनी बालबालिकाहरू फर्काउने विषय प्रमुख थिए ।
९ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूसुचित गरेको छ । विभागले आज सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवं आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि सर्वसाधारणलाई आग्रह समेत गरेको छ । व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरुले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात सङ्कलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताए ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकको रुपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानुनी प्रावधान छ । विभागले तालिम प्रदायक संस्थाहरुलाई वैदेशिक रोजगारमा जाने कामदारको लागि मापदण्ड पूरा गरी तालिम सञ्चालन गर्न सुसूचित गराएको छ ।
अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीलाई अनिवार्य उपस्थित र तालिमका लागि आवश्यक न्यूनतम भौतिक एवं अन्य स्रोतसाधनसम्बन्धी मापदण्ड पूरा नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो । मापदण्ड पूरा नगरी तालिम सञ्चालन भइरहँदा वैदेशिक रोजगारीमा जाने कामदारले पर्याप्त मात्रामा सुसूचित हुन नसकेको विभागले जनाएको छ ।
“सुरक्षित र मर्यादित रुपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको भनी यस विभागमा जनगुनासो आइरहेको हुँदा त्यस्ता संस्थाहरुले वैदेशिक रोजगारमा जाने कामदारको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै मापदण्ड पूरा गर्नपर्नेछ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरिन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।
मन्त्री डा राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेकी छिन् । भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि कुराकानी डा राणको सचिवालयले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।
९ जेठ, काठमाडौं । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।
अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त थिए । “कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।
“अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । हाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।
उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका छन् ।
९ जेठ, पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जनताको हकअधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको दावि गरेका छन् । राष्ट्रिय युवासङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना देखेर उत्साहित नहुन सुझाव दिए । उनले राजावादीले गर्ने भनेको आन्दोलनलाई खिसिटिउरी समेत गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इङ्गित उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”
“प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास नियन्त्रण गर्न तथा रोक्नका लागि आवश्यक तयारीसहित अग्रभागमा युवा सङ्घ आउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रुपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना काम–कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”
अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने बताए ।
आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए । युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।
९ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।
आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।
९ जेठ, हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।
नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ ।
नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।
‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।
नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।
लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।
नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।
एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ ।
उनी भन्छन्, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ ।” । “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।
त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउइन् । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छन् । तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन् ।
उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।
थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन् ।
उनी भन्छन्, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए ।
नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।
थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।
बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।
वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।
वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।