Category: फिचर

  • तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

    तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

    ९ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

    आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।

  • पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

    पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

    अञ्जली थापा/रासस

    ९ जेठ, हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।

    नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ ।

    नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।

    ‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।

    नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।

    लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।

    नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।

    एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ ।

    उनी भन्छन्, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ ।” । “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।

    त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउइन् । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छन् । तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन् ।

    उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।

    थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन् ।

    उनी भन्छन्, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए ।


    नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।

    थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।

    बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।

    वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।

    वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।

  • उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    रासस
    ९ जेठ, चितवन । जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं२०७५ देखि घरबास सुरु गरिएको हो । सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरुको आम्दानीको प्रमुख स्रात हो ।

    सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताए । हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक बिलबहादुर थापामगर बताउँछन् । उनले भने, “यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो । ”

    जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उनले बताए । चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ । घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउँछन् । आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उनी बताउँछन् ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताए । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिए । गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ । कोतघर रु एक करोड ३५ लाख खर्च गरेर बनाइएको छ ।

  • जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

    जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

    ९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुन्छ भनिन् ।

    उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।”

    मन्त्री डा राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । उनले भनिन्, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”

    मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गरिन् । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गरिन् ।

    आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् ।

  • उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

    उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

    ९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छिन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आएकी छिन् । उनले काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।

    विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्थिन् । उनले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्छिन । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी भइन् । त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाएकी हुन् । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आएकी हुन् । अहिले उनले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गरेकी छिन् । उनले हरेक वर्ष रू पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आएकी छिन् ।

    उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उनको पेसामा श्रीमान् सोमबहादुरले साथ दिएका छन् । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गरेका छन् ।

    “हाम्रो परिवारले मात्र रू सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भनिन् । “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”

    कृषिकर्म गरेर कोही पनि सानो नभइने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउँछिन् । उनले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गरिन् । उनी तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।

    उनीसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष रहेको छ । क्षेत्रीले भनिन् । “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।”

    क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थालेकी हुन् । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उनी त्यसको संस्थापक सचिवसमेत बनेकी थिइन् । बीस जना सेयर सदस्यबाट रु पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।

    काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गछिन् । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गरेकी हुन् । उनले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताइन् । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उनको भनाइ छ ।

    आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उनको इच्छाले समेत सार्थकता पाउँदै गएको उनको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उनले भनिन् ।

    फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यावसायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू छ करोड भित्रिने गरेको छ ।

  • बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    ९ जेठ, बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

    लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

  • देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

    देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

    ९ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

  • चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

    चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

    ९ जेठ, भरतपुर । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

    जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

    एजेन्सी
    ९ जेठ, टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् । प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् । “गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए”, टोकियो प्रहरीका प्रवक्ताले भने ।

    प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजाय सम्बन्धी कानूनको उल्लङ्घन’ को आशङु्कामा पक्राउ गरेको थप विवरण नदिई प्रवक्ताले बताए । मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए । रिपोर्टहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका थिए । ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशङ्कामा पक्राउ गरिएको पनि मिडियाले बताएका छन् । कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो ।

  • अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

    अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

    ८ जेठ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले बिहीबार देशमा सार्वजनिक रूपमा धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय ९चार्टर स्कूल० निर्माण गर्न रोक लगाउने घोषणा गरेको छ । देशमा चर्च र राज्यको ऐतिहासिक विभाजनको कारण बनेको एक मुद्दामा फैसला गर्दै धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय निर्माण गर्न रोक लगाउने निर्णय सुनाइएको हो ।

    करिब सबै ५० अमेरिकी राज्यहरूले चार्टर स्कूलहरूलाई अनुमति दिन्छन् र देशभर यस्ता लगभग आठ हजार विदालय रहेका छन् । तिनीहरू सरकारी अनुदानमा सञ्चालित छन् तर स्थानीय विद्यालय जिल्लाहरूबाट स्वतन्त्र रूपमा काम गर्छन् र उनीहरूलाई ट्युसन शुल्क लिन वा धार्मिक सम्बद्धता राख्न अनुमति छैन।

    ओक्लाहोमाको क्याथोलिक चर्चले सेभिलको सेन्ट इसिडोर नामक देशको पहिलो सार्वजनिक वित्त पोषित धार्मिक चार्टर स्कूल खोल्ने होडबाजी गरिरहेको थियो। तर ओक्लाहोमाको तल्लो अदालतले लगाएको प्रतिबन्धको पक्षमा चार र विपक्षमा चार मत परेको थियो । ओक्लाहोमाको सर्वोच्च अदालतले गत वर्ष केन्द्रीय राज्यमा प्रस्तावित क्याथोलिक चार्टर स्कूलको लागि सार्वजनिक वित्त पोषण संयन्त्र असंवैधानिक भएको फैसला सुनाएको थियो।

    चर्च र राज्य बीचको विभाजन संयुक्त राज्य अमेरिकामा एक आधारभूत सिद्धान्त हो, जुन संविधानको पहिलो संशोधनमा निहित छ। सर्वोच्च अदालतका धेरै निर्णयहरूमा यो विभाजनलाई समर्थन गरिएको छ। गत अप्रिलमा मौखिक बहसका क्रममा कन्जरभेटिभ न्यायाधीशहरूले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा समर्थित उक्त विद्यालयलाई सार्वजनिक रूपमा आर्थिक सहयोग गर्न अनुमति दिन खुला रूपमा प्रस्तुत भएका थिए।

    देशको सर्वोच्च अदालतमा कन्जरभेटिभको ६–३ को बहुमत छ, तर ट्रम्पले नियुक्त गरेका अर्का न्यायाधीश एमी कोनी ब्यारेटले सम्भवतः यस मामिलामा पक्षहरूसँग पहिलेको सम्बन्धका कारण मुद्दाबाट आफूलाई अलग गरेका छ् ।

  • दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

    दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

    एजेन्सी
    ९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गरेका छन् । भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गरे । यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र मारिएको ट्रम्पको तर्कका लागि ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई मञ्चमा परिणत गर्‍यो ।

    पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई चार मिनेटको भिडियो ठूलो स्क्रिनमा राख्न लगाएका थिए । “तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् । उनीहरूले श्वेत किसानलाई मार्छन् र जब उनीहरूले सेतो किसानलाई मार्छन्, उनीहरूलाई केही हुँदैन”, ट्रम्पले भने । ट्रम्पले समाचार क्लिपिङहरू पनि देखाए । जुन उहाँले आफ्नो दावीलाई समर्थन गरेको बताए । यद्यपि एउटामा वास्तवमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तस्बिर थियो ।

    “मृत्यु, मृत्यु, मृत्यु । भयानक मृत्यु”, ट्रम्पले भने । ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारी रूपमा बन्द गरेको छ । तर दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गरे । फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उजी शान्त रहे ।

    रङ्गभेद शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानूनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गरे । “होइन, होइन, होइन”, रामाफोसाले जवाफ दिए, “कसैले पनि जमिन लिन सक्दैन ।” उनले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत हुन् भनी जोड दिए । भिडियोमा रहेका राजनीतिज्ञहरू विपक्षी दलका थिए भने । दक्षिण अफ्रिकी नेताको भ्रमणलाई ट्रम्प र दक्षिण अफ्रिकामा जन्मेका उनका अर्बपति सहयोगी सहयोगी एलन मस्कले गरेको निराधार नरसंहार दावीपछि सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो ।

    ओभल अफिसमा समेत रहेका मस्क ‘श्वेत नरसंहार’ दाबीहरूका मुख्य चालक हुन् । रामाफोसा गल्फप्रिय अमेरिकी राष्ट्रपतिलाई मनाउने प्रयासमा दक्षिण अफ्रिकाका दुई शीर्ष गल्फर अर्नी एल्स र रेटिफ गुसेनसँग ह्वाइट हाउस पुगेका थिए । “हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ”, रामाफोसाले भने । तर रामाफोसाले भिडियो चलिरहँदा बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उनलाई बोल्न दिएनन् ।

    “यो कहाँ छ ?”, दक्षिण अफ्रिकी राष्ट्रपतिले आफ्नो सिटमा अनौठो ढङ्गले फेरबदल गर्दा भने । भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रङ्गभेदी युगको श्वेत–अल्पसङ्ख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो । भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलत रूपमा उनीहरूका चिहानहरू देखाएको भने ।


    एक विन्दुमा रामाफोसाले उनीहरु ‘यसबारे धेरै शान्तिपूर्वक कुरा गर्न’ आग्रह गरे । “हामीलाई नेल्सन मण्डेलाले सिकाउनुभएको थियो कि जहिले पनि समस्याहरू हुन्छन्, मानिसहरूले टेबुलको वरिपरि बसेर तिनीहरूबारे कुरा गर्नुपर्छ”, उनले भने । दुई च्याम्पियन गल्फरहरूले पनि ट्रम्पले उनीहरुलाई बोल्न आग्रह गरेपछि स्थितिलाई शान्त पार्न खोजेका थिए । “हामी हाम्रो देशमा सबै कुरा राम्रो भएको हेर्न चाहन्छौँ । यही मुख्य कुरा हो”, चार पटकको प्रमुख विजेता एल्सले भने ।

  • रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

    रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

    ८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएकामा नसकिएछि हेर्दाहेर्दैमा राखिएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ । गत मङ्गलबार संवैधानिक इजालसमा न्यायाधीश सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न सकेको थिएन । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ सुरु भएको होे ।

  • परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

    परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

    ८ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैगरी डा राणाले त्यस नेपाल सन २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुनलागेको जानकारी दिँदै निरन्तर रूपमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापानबाट त्यसपछिको अवस्थामा पनि नेपाललाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनीहरु बीच नेपाल–जापान सम्बन्धको ७० वर्षेको इतिहासका विविध पक्षमा पनि कुराकानी भयो ।

    सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको एसियाली मुलुक नेपाल र जापानले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन । सोही अवसरमा मन्त्री डा राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन् ।


    नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीलाई प्रोत्साहित गरिदिन विदेशमन्त्री ताकेसीसँग आग्रह गर्दै लगानी प्रतिफलका हिसावले अत्यन्त सम्भावना रहेको नेपालमा वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चिता प्रदान गर्न सरकारको तर्फबाट आवश्यक व्यवस्था गरिएको मन्त्री डा राणाले जानकारी दिइन् । परराष्ट्रमन्त्री डा राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि सदियौँ पुरानो सम्बन्ध रही आएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, “दुई देशबीच भगवान गौतम बद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो ।”

    लुम्बिनीलगायत नेपालको प्राकृतिक तथा सांस्कृतिक अलौकिक सम्पदाको अध्ययन एवं अवलोकनका लागि नेपालमा वर्षेनी हजारौँ जापानी पर्यटक आउने गरेका भन्दै मन्त्री डा राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो ।

    त्यस अवसरमा मन्त्री डा राणाले नेपालले यसै हप्ता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिनुभएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ । ज्येष्ठ नागरिकको सामाजिक एकान्ततासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन गत शनिबार जापान प्रस्थान गरेकी डा राणाले विदेशमन्त्री ताकेसीसँग आज भेट गरेकी हुन् ।

  • भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    ८ जेठ, चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ ।

    भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ । एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताउनुभयो । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उनले दिए ।

    सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए । सम्भावना रहेमा दुई महिना भित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ ।


    द्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ । धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिएपनि सार्थकता पाउन सकेको छैन ।

  • दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

    दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

    काठमाडौं । ८ जेठ, काठमाडौं । दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन्। सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ । योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य भागमा छुरा प्रहार भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । शंकास्पद व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरिएको र उनी गम्भीर घाइते भएको बताइएको छ ।

    “हामीले घटनाको उद्देश्य र परिस्थितिबारे गहन अनुसन्धान गरिरहेका छौं,” एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग भने, चार जनालाई छुरा प्रहार गरेको केही दिनपछि एक व्यक्ति पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ । सन् २०२१ मा प्रति एक लाख मानिसमा एक जनाको हत्या हुने गरेको दक्षिण कोरिया सामान्यतया निकै सुरक्षित देश हो । यो हत्या दर विश्वव्यापी औसत प्रति एक लाख छ जनाभन्दा निकै कम हो ।

  • बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

    बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

    अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन तयारीमा व्यस्त छ । विभिन्न क्षेत्रबाट प्राप्त सुझाव समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेट लेखन तयारीमा व्यस्त भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । अर्थ प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझाव ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित रहेको सचिवालयको भनाइ छ ।

    अर्थले २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।

    त्यसैगरी पूर्वअर्थ सचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विषयतगत संघसंस्थासँग छलफल गरेको थियो । विकास साझेदारसँग पनि छलफल भएको थियो । बजेट निर्माण सन्दर्भमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिन सार्वजनिक आह्वान गरेको थियो ।

    सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसद्‌मा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र निर्माण, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायत क्षेत्रगत प्रथामिकता राखिएको छ । १४ जेठमा संसद्‌मा आर्थिक सर्वेक्षण र १५ जेठमा बजेट पेस हुनेछ ।

  • पेस्तोलसहित दुई युवा पक्राउ

    पेस्तोलसहित दुई युवा पक्राउ

    ८ जेठ, तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो । उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने एकजना पक्राउ

    दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने एकजना पक्राउ

    ८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट रु २६ लाख ८० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तरराष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई रु चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

    रासस

  • व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    ८ जेठ, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायत वक्ताले पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना सुनिश्चितताका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला सञ्जालले अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    रासस

  • इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

    इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

    ८ जेठ, भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् ।


    पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए । रासस

  • गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

    गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

    ८ जेठ, बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए ।

    रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।

    पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ । जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उनले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताए ।


    रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताए । उनका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिए ।
    काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत रु १८ लाख लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिए । “सुरुमा ताराखोलाबाट बिरुवा लिएर रोपेका थियौं,, पछि सहकारीकै अगुवाइमा बिरुवा उत्पादन गरेका हौँ । सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि कार्यक्रममार्फत किसानलाई चिया खेतीमा अग्रसरता दिलायो”, उनले भन, “गत वर्ष परीक्षणका रूपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौँ, तर व्यावसायिकता थिएन, हाल चियाको उत्पादनसमेत बढ्दो छ । आफैँ चिया बनाउने उपकरणले चिया उत्पादनमा व्यावसायिकता ल्याउन सहज भएको हो । ग्रिन चिया किलोकै दुई हजारभन्दा बढीमा बिक्री गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाँडेर लगाएको चियाले आयआर्जनमा सघाउनेछ ।”

    पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए ।
    रासस

  • आज देशभर मौसम अदलबदलको सम्भावना

    आज देशभर मौसम अदलबदलको सम्भावना

    ८ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।

  • चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    ८ जेठ, भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक)स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् ।

    चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए ।
    तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उनले जानकारी दिए । कार्यशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए ।

  • निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

    निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

    एजेन्सी
    ८ जेठ, काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।” चामल अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले जापानमा ठूलो असर पारेको छ । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।

    कारकहरूमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठूलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि समावेश छ । सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ । इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए ।


    खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गरे । “अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो । म उहाँबाट समाधानको अपेक्षा गर्छु”, इसिबाले मङ्गलबार पत्रकारहरूलाई भने । विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएको बताइएको छ, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ ।

    सोमबार इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोजेका थिए । “उनले मलाई भनिन् कि जब हाम्रो दान गरिएको चामलको भण्डार समाप्त हुन्छ उनी चामल किन्न जान्छिन्”, इटोले भने, “यस्तो होइन कि हाम्रो परिवार पूर्ण रूपमा हामीलाई उपहार दिइएको चामलमा जीवन बिताइरहेको छ ।”

    तर बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको भन्दै आत्मसमर्पण गरे । पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उहाँको राजीनामा स्वीकृत गरेको’ बताए । “म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो”, इसिबाले भने, “चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन तर संरचनात्मक हो भन्ने मलाई लाग्छ । हामीले यसबारे पूर्ण छलफल गर्नुपर्छ र अवश्य पनि ती .चामलको मूल्य) घट्नुपर्छ ।”

    इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडिया–प्रेमी पूर्ववातावरण मन्त्री एवं लोकप्रिय पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिए । ४७ वर्षीया कोइजुमीले ‘चामलको बढ्दो मूल्यबीच बलियो नेतृत्व’ प्रदर्शन गर्ने अपेक्षा गरेको उनले बताए । टोकियोको एउटा रेस्टुरेन्टमा काम गर्ने ६८ वर्षीया मतदाता क्योको सातोले इटोको टिप्पणीबाट ‘स्तब्ध र निराश’ भएको बताए ।

    “मेरा लागि घरमा आइतबारको खानाका लागि मसँग चामलको एउटा मात्र भाग छ । मलाई चामल किन्नु पर्छ तर चामलको मूल्य पहिलेभन्दा दोब्बर छ”, उनले भने, “म हप्ताको दिनमा रेस्टुरेन्टमा कामदारहरूका लागि खाना खाएर जीवित छु । म पेन्सनभोगी हुँ तर मेरो पेन्सनले मात्र पुग्दैन, त्यसैले मलाई काम गर्नु पर्छ ।

  • भारतमा भवन भत्किदा छ जनाको मृत्यु

    भारतमा भवन भत्किदा छ जनाको मृत्यु

    एजेन्सी
    ७ जेठ, नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी महाराष्ट्र राज्यको एउटा पुरानो भवनको भाग मङ्गलबार राति भत्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । महाराष्ट्रको ‘कल्याण एस्टे क्षेत्र’ मा भवनभित्र मर्मत सम्भार भइरहेको बेला घटना भएको भारतीय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मर्मत कार्य गर्दा भवनको दोस्रो तलाको क्षत अचानक ढली भुइँमा खस्दा १२ जना उक्त भग्नावशेषमा फसेका थिए ।

    घटनामा छ जनाको तत्कालै मृत्यु भएको तथा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार अभियान तीन घण्टाभन्दा बढी चलेको प्रहरीले बताएको छ । घटनापछि, मनसुनको मौसम सुरु हुनुअघि सावधानीका रूपमा भवनका बासिन्दाहरूलाई भवनको संरचनात्मक परीक्षण गर्न चेतावनी जारी गरिएको छ ।

  • चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

    चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

    ७ जेठ, काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा बढी पिज्जा पसल रहेका छन् ।

    सन् २०१६ देखि २०२२ सम्म, तेस्रो तहका सहर र गाउँ -नगरहरूमा पिज्जा पसलहरूले वार्षिक १० प्रतिशतको दरले बृद्धि गरेका थिए, जुन ठूला सहरहरूमा भएको ७ दशमलव ६ प्रतिशतको तुलनामा बढी हो । सन् २०२५ देखि सन् २०२७ भित्र ती साना सहरहरूमा करिब १५ हजार नयाँ पिज्जा पसलहरू खुलने अनुमान गरिएको छ ।

    सन् २०२२ मा पहिलो पटक चीनमा अनलाइन (इन्टरनेटमार्फत) अर्डर गरिने पिज्जाको बिक्री प्रत्यक्ष पसलबाट भएको बिक्रीभन्दा बढी भयो, जसको हिस्सा ५८ प्रतिशत नाघ्यो । आगामी वर्षहरूमा यो अनुपात अझ बढ्ने विश्वास गरिएको छ । चीनमा पहिलोपटक सन् १९९० मा विदेशी लगानीमा आधारित पिज्जा रेस्टुराँ खुलेको थियो । त्यसबेला पिज्जालाई महँगो पश्चिमेली खाना मानिन्थ्यो र ठूला सहरहरूमा मात्र पाइन्थ्यो । तर पछिल्ला केही वर्षहरूमा पिज्जा ग्रामीण क्षेत्रसम्म लोकप्रिय हुँदै गएको छ ।

    विश्लेषकहरूका अनुसार, पिज्जाको माग बढ्नुमा सजिलो परिकार, नयाँ स्वादको खोजी, स्थानीय परिकारसँग मिल्दोजुल्दो बनावट र ग्रामीण क्षेत्रका उपभोक्ताहरूको खर्च गर्ने क्षमतामा बृद्धिले योगदान र्पुयाएको छ । चीनमा जनसङ्ख्याको अनुपातमा पिज्जा पसलको सङ्ख्या अझै कम रहेको प्रतिवेदनमा भनिएको छ ।

    चीनको पिज्जा बजारको विकास त्यसको खुला उपभोक्ता संस्कार र दीर्घकालीन आर्थिक क्षमता दर्शाउने सङ्केत रहेको उद्योग विश्लेषकले बताए । यो प्रदर्शनी सन् २०२५ शाङ्हाईमा सञ्चालन भइरहेको छ र यसमा ७५ वटा देश तथा क्षेत्रका पाँच हजारभन्दा बढी खाद्य कम्पनीहरू सहभागी छन् ।

  • ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

    ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

    एजेन्सी
    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन् । परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन बर्षसम्ममा यसलाई कार्यान्वयनमा ल्याइने योजनामा उल्लेख छ । बेइजिङले बुधबार ‘गोल्डेन डोम’लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।

    स्थानीय समय अनुसार मङ्गलबार ह्वाइट हाउसमा ट्रम्पले भने, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु । हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौँ । ट्रम्पले भने, “एकपटक पूर्ण रुपमा निर्माण भएपछि ‘गोल्डेन डोम’ क्षेप्यास्त्रलाई विश्वका अन्य देशबाट प्रक्षेपण गरिए पनि र अन्तरिक्षबाट प्रक्षेपण गरिए पनि त्यसलाई रोक्न सक्षम हुनेछ ।” “यो हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण छ,” उनले भने ।


    उनले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताए । ट्रम्पले यसको कुल मूल्य करिब १७५ अर्ब अमेरिकी डलर रहेको बताए पनि संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित सङ्ख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

    उनले भने, “‘गोल्डेन डोम’को विस्तृत लक्ष्य छ र यसले अन्तरिक्ष, समुद्र र जमिनमा रहनेगरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्नेछ।” पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भने, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोन बाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो । यो गोल्डेन डोम योजनाको नामाकरण इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमबाट आएको हो जसले सन् २०११ मा सञ्चालनमा आएदेखि हजारौँ छोटो दूरीका रकेट र अन्य प्रोजेक्टाइलहरूलाई रोकेको छ।

    संयुक्त राज्य अमेरिकाले विरोधीहरूबाट विभिन्न क्षेप्यास्त्र खतराहरूको सामना गरिरहेको छ तर ‘गोल्डेन डोम’ इजरायलको आइरन डोमको सामना गर्न डिजाइन गरिएको छोटो दूरीका हतियारहरू भन्दा उल्लेखनीय रूपमा भिन्न छन्। सन् २०२२ को मिसाइल प्रतिरक्षा समीक्षाले चीन र रुसबाट बढ्दो खतरालाई औँल्याएको छ । ब्यालेस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा बेइजिङले वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

    वासिङ्टनले योजना घोषणा गर्दै युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ । बेइजिङले बुधबार उक्त योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यसले ’विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता’लाई कमजोर पार्ने बताएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।” माओले भने, “यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउँछ, हतियारको होडबाजीलाई बढावा दिन्छ र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ ।

  • प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    ७ जेठ, काठमाडौं । म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकबाट भागेका थिए ।

    उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताए । गत वैशाख ३१ गते उनलाई काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो ।

  • पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    ७ जेठ, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिए ।

    यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।

  • त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    ७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मापरेको छ । अख्तियारले बुधबार नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार उपस्थित हुनेगरी साँझ छाडिएको छ ।

    उनी यसअघि विमानस्थल अध्यामगन कार्यालयको प्रमुख थिए । उनलाई पक्राउ गर्नुका साथै छापा मार्नुको कारण मानव तस्करीसँग सेटिङ गरेको आरोप लागेको स्रोतले बताएको छ । उनको मोबाइल अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा संलग्नता रहेको पाइएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको समेत स्रोतको दावि छ ।


    प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।