६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ।
पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
६ जेठ, कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ ।
हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, “हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।”
हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए ।
पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
६ जेठ, त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।
एजेन्सी ६ जेठ, काठमाडौं । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ । नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ । वाणिज्य मन्त्रालयले आइतबार जनाए अनुसार ती शुल्कहरू तीन दशमलव आठ प्रतिशतदेखि ७४ दशमलव नौ प्रतिशतसम्म हुनेछन् र भोलिपल्ट लागू हुनेछन् ।
नयाँ शुल्कहरू अमेरिका र चीनले एक अर्काका सामानमा व्यापक कर कटौती गरेको केही दिनपछि आएको छ । विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा हलचल ल्याएको निर्मम व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ । बेइजिङले व्यापक व्यापार विवाद भएका देशहरू विरुद्ध बारम्बार एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको छ । अप्रिलमा चीनले फ्रान्सको निर्यात–निर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टी–डम्पिङ उपायहरू लगाएको थियो ।
एजेन्सी ५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् । ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ ।
रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्धविरामको प्रतिबद्धता बिना समाप्त भयो । दुवै पक्षले एक अर्कामाथि आरोप लगाए । युक्रेनले मस्कोलाई कम–स्तरका अधिकारीहरूको ‘नक्कली’ प्रतिनिधिमण्डल पठाएको आरोप लगायो । वार्तापछि ट्रम्पले युक्रेनमा भएको ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपतिसँग फोनमा कुरा गर्ने घोषणा गरे । रुसले युक्रेनको ठूलो भागलाई ध्वस्त पारेको छ र लाखौँ मानिस विस्थापित भएका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र नाटो अधिकारीहरूसँग पनि कुरा गर्ने बताए र ‘युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध।।। अन्त्य हुने’ आशा व्यक्त गरे । जनवरीमा पदभार सम्हालेयता ट्रम्पले द्वन्द्व अन्त्य गर्न चाहेको कुरा पटक–पटक जोड दिएका छन् । हालै बिना शर्त ३० दिने युद्धविरामको आह्वानलाई समर्थन गरेका छन् ।
अहिलेसम्म उनले मुख्यतया युक्रेनमाथि दबाब बढाउनमा ध्यान केन्द्रित गरेका छन् र पुटिनको आलोचना गर्नबाट टाढा रहेका छन् । यसअघि मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वमा बैठकको आवश्यकतामाथि जोड दिएका थिए । अमेरिकी राष्ट्रपतिले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क पनि दिएका छन् ।
अमेरिकी अधिकारीहरूसमेत उपस्थित भएको इस्तानबुलमा भएको वार्तामा कुनै ठोस प्रस्तावबिना रुस र युक्रेनले प्रत्येक एक हजार कैदी आदान–प्रदान गर्न र सम्भावित युद्धविरामबारे विचारहरू साटासाट गर्न सहमत भएका थिए । युक्रेनका प्रमुख वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ पुटिन र जेलेन्स्कीबीच बैठक हुने बताए । रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।
“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने । युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसपछि पुटिनमाथि युद्धविरामको आह्वानलाई जानाजानी बेवास्ता गरेको आरोप लगाएका छन् र रुसविरुद्ध नयाँ प्रतिबन्धहरूका लागि दबाब दिएका छन् । बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।
“राष्ट्रपति पुटिनसँग राष्ट्रपति ट्रम्पको भोलिपल्टको कुराकानीलाई ध्यानमा राख्दै नेताहरूले बिना शर्त युद्धविरामको आवश्यकता र राष्ट्रपति पुटिनले शान्ति वार्तालाई गम्भीरताका साथ लिनका लागि छलफल गरे, , बेलायती प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले भने, “यदि रुस युद्धविराम र शान्ति वार्तामा गम्भीरताका साथ संलग्न असफल भएको अवस्थामा प्रतिबन्धको प्रयोगबारे पनि उनीहरुले छलफल गरे । जेलेन्स्कीले आइतबार भ्याटिकनमा पोप लियोको उद्घाटन समारोहपछि भएको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग सम्भावित प्रतिबन्धबारे पनि छलफल गरेका थिए ।
५ जेठ, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।
“पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्। लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दुःखी’ बनाएको बताएका छन् ।
“हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भनको छन् । “जो एक लडाकु हुन्,” बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्ने सुभेक्षा प्रकट गरेकी छिन् । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् ।
“मलाई थाहा छ, उहाँले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उहाँको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्दछौँ,” उनले भनेकी छिन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।
यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ । हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्णरूपमा निको पार्ने विधि होइन।
विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडेनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ । बाइडेनले यसै वर्षको जनवरीमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपतिका रूपमा पद छोडेका थिए ।
उनका कार्यकालको अधिकांश समय उनको स्वास्थ्य र उमेरलाई लिएर डेमोक्र्याट मतदातालगायत अन्य अमेरिकीहरूले वृद्ध नेताले कार्यभार सम्हाल्नु सम्भव होला भन्ने आँकलनबीच आफ्नो कार्यकाल सकुशल पूरा गर्दै उनले आफ्नो स्थानमा राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्व राष्ट्रपति कमला ह्यारिसलाई अघि सार्दै सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।
५ जेठ, काठमाडौं । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे । मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए ।
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शमा ओली लक्षित कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र दिवस, मूल समारोह समितिमा नगएपछि प्रधानमन्त्री ओलीले बालेनको नाम समितिबाट हटाउन निर्देशन दिएका थिए ।
त्यसको प्रतिउत्तरमा बालेनले स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आइ डन्ट सर्पोट योर करप्ट सिस्टम ।’ उनको यो स्टाटससँगै महानगरमा एमाले बालेन द्धन्द्ध अझ बढ्ने स्पष्ट देखिएको छ ।
५ जेठ, काठमाडौं । हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ । आज गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्यायन टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।
“हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन छैन । भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान छ । तर के भएको हो ? भन्ने विस्तृत अध्ययन गरिने आजको निर्णय छ,” उनले भने, “यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा छन् । जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्याङ्कन गर्ने निर्णय भएको छ ।”
जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फ्ट्ने खतरा बढिहरहेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसुचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । “हुम्लाको घटनामा अहिले हिमताल विस्फोट भएको हो या होइन भन्ने राम्रोसँग तथ्य बाहिर नआउन्जेल केही भन्न मिल्दैन, तर हिमताल फुट्ने जोखिम हिमाली भेगमा बढ्दो छ । सतर्कता र पूर्वतयारीमा जोड दिनुपर्छ,” उनले भने ।
५ जेठ, काठमाडौं । सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ । विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरे ।
सो सम्मान स्वास्थ्य तथा जनसङ््ख्यामन्त्री प्रदीप पौडेलले ग्रहण गरे । हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पु(याउने व्यक्ति तथा संस्थालाई डब्लुएचओले पुरस्कृत गर्ने गरेको छ । यसअघि नेपालले सूर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिसकेको छ । सो कदमलाई ऐतिहासिक मान्दै नेपाललाई सम्मान गरिएको हो ।
५ जेठ, दमौली । जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस ५ जेठ, टेक्सस । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका अतिरिक्त न्यूजर्सी र कनेक्टिकट राज्यबाट नेपाली पोसाक, राष्ट्रिय झण्डा र ब्यानरसहित नेपाली सहभागी भएका थिए ।
नेपाल उत्सव कार्यक्रमको उद्घाटन न्यूयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले गरेका थिए । उहाँहरुले नेपाली कला संस्कृतिको प्रशंसा गरे । नेपाली समुदायले हरेक वर्ष आयोजना गर्ने नेपाल उत्सव कार्यक्रममा प्रस्तुत गरिने कला संस्कृतिले न्यूयोर्कलाई थप विविधतायुक्त सहर बनाउनमा सहयोग पुगेको धारणा उनीहरुको थियो ।
न्यूयोर्कको व्यस्त क्षेत्र म्यानहाटनमा पञ्चेबाजासँगै, भजन, देउडा तथा हुड्केली, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोलगायत कला संस्कृति प्रदर्शन गरिएको थियो । नेपाल डे परेड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न कार्यक्रम र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले रुचीपूर्वक अवलोकन गरेका थिए । हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा आयोजना गरिने नेपाल डे परेड कार्यक्रमले नेपाललाई विश्व सामु चिनाउनुका साथै विदेशी समुदायको ध्यान आकर्षण गराउने गरेको नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बताए।
गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका एक दर्जन बढी संस्थाको सहभागितामा नेपाल डे परेड कार्यक्रम आयोजना गरिएको थियो । एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षता भएको परेडमा मनिता गुरुङले संयोजक भूमिका निर्वाह गरेका थिए । सन् २०१६ देखि सुरु गरिएको नेपाल डे परेड कार्यक्रमले नेपाली समुदायमा राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको नेपाली समुदायका अगुवाहरु बताउँछन् ।
नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया छनोटमा युएइलाइ ५ विकेटले हराउदै नेपालले इतिहास बनाएको हो । सोमबार सुपर ३ अन्तर्गत नेपाल र युएइ भिडेका थिए । युएइले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो ।
नेपालले सो लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै भेटाएको हो । कप्तान इन्दु बर्माले ३० रनको योगदान दिइन । उनी आउट भइनन । युएइलाई मध्यम योगफलमा समेट्न नेपालकि मनिषा उपाध्यायले ४ विकेट लिइन । अब नेपालले विश्वकप छनोटमा ठुला टिमहरुसङ्ग खेल्ने अवसर पाएको छ ।
रासस ५ जेठ, झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।” हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।
अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उनले भने, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।” नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ ।
विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।
एजेन्सी । ४ जेठ, नयाँ दिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ । व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।
केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुनेगरी प्रतिबन्धको घोषणा गरेको हो । यो निर्णयपछि गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिकका सामानजस्ता प्रमुख वस्तुहरू अब समुद्री बन्दरगाहहरूमा मात्र सीमित भएका छन् वा स्थलमार्गबाट पूर्णतया निषेधित भएका छन्। नयाँ नीतिअनुसार वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका बङ्गलादेशी कपडाहरू अब दुई तोकिएका बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन्।
यो निर्णयले बङ्गलादेशको भारतमा सबैभन्दा आकर्षक निर्यात च्यानललाई गम्भीर असर पार्ने जीटीआरआईले जनाएको छ । भारतीय टेक्सटाइल निर्माताहरूले आफ्ना बङ्गलादेशी प्रतिस्पर्धीहरूले चिनियाँ कपडाको शुल्क–मुक्त आयात र पर्याप्त सरकारी निर्यात अनुदानबाट अनुचित लाभ लिनेगरेको बताएका छन् । यी कारणहरूले बङ्गलादेशी निर्यातकर्ताहरूलाई भारतीय बजारमा १०–१५ प्रतिशत मूल्य निर्धारणको लाभ दिन्छ। जीटीआरआईले आफ्नो रिपोर्टमा भनेको छ, “यी व्यापार उपायहरू अलग–अलग रूपमा देखा परेनन्।” जीटीआरआईको रिपोर्टमा भनिएको छ, “यो ढाकाले भारतबाट ठूलो सङ्ख्यामा सामान आयातमा प्रतिबन्ध लगाएको र चीनप्रति कूटनीतिक धुरी बनाएकोप्रति भारतको प्रतिक्रियाजस्तो देखिन्छ।
यो कदमलाई बङ्गलादेशका अन्तरिम मुख्य सल्लाहकार मोहम्मद युनुसको विवादास्पद टिप्पणीको प्रतिक्रियाको रूपमा पनि हेरिएको छ। बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले चीनमा दिएको सम्बोधनका क्रममा भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित क्षेत्र र समुद्रसम्म पहुँच नभएको क्षेत्र’ भनेका थिए । यो टिप्पणीले कूटनीतिक घर्षण निम्त्याएको छ, भारतीय अधिकारीहरूले यसलाई यस क्षेत्रको कनेक्टिभिटी र स्थितिलाई कमजोर पार्ने रूपमा हेरेका छन्।
ढाकाको चीनसँगको बढ्दो निकटतालाई उजागर गर्दै प्रतिवेदनमा सन् २०२४ को मध्यमा शेख हसिनाको भारतसमर्थक सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनको उदयले बङ्गलादेशको बेइजिङसँग सहकार्य गर्ने इच्छा जगाएको उल्लेख गरिएको छ । सन् २०२५ को मार्चमा भएको युनुसको चीन भ्रमणका क्रममा २।१ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी तथा सहयोग सम्झौता भएको थियो । यी सबै घटनाक्रमका साथै टिस्टा नदी विकास जस्ता पूर्वाधार परियोजनाहरूले यस क्षेत्रमा भारतको स्थितिको लागि महत्त्वपूर्ण खतरा खडा गरेको छ।
सन् २०२४ को अन्त्यदेखि बङ्गलादेशले भारतीय निर्यातमा शृङ्खलाबद्ध प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धले सन् २०२५ को अप्रिलमा पाँच प्रमुख बन्दरगाहबाट भारतीय धागो आयातमा प्रतिबन्ध, चामल ढुवानीमा कडा प्रतिबन्ध र कागज र सुर्तीदेखि माछा र पाउडर दूधजस्ता दर्जनौं भारतीय सामानको आयातमा प्रतिबन्ध समावेश छ ।
ढाकाले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १.८ टका प्रति टन ट्रान्जिट शुल्क लागू गरेको छ । रिपोर्टमा भनिएको छ, “यी संचयी कार्यहरू, परिचालन ढिलाइ र कडा बन्दरगाह निरीक्षणले भारतीय निर्यातकर्ताहरूलाई बाधा पुर्याएको छ र व्यवस्थित प्रतिक्रियाको लागि अह्वान गरेको छ ।
५ जेठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरे ।
दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ । दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ ।
दिव्यज्योति कन्ट्रक्सन प्रालिले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो । दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
“यो सडक तपाईँको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्”, उनले भने, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।”
मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उनको भनाइ छ। यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो ।
रासस ५ जेठ, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र सुरु गरिएको हो । धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।
हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो ।
सूर्यविनायक–धुलिखेलसम्म १६ किमी छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किमी र साँगा–धुलिखेल ८ दशमलव ५ किमी छ । उक्त दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो ।
सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल सुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।
साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटोदूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक दुई हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् ।
५ जेठ, बागमती । हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।
वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
एजेन्सी ५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आउनुभएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताए । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए ।
यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो । दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो । शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहोए । “कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन”, उनले भने । आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए ।
किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेखेका छन् । मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए । युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिए । रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।
“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने । रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले ‘सम्भावित भविष्यको युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ बताए । तर कहिले भन्ने बताएनन् । क्रेमलिनले पहिले युद्धबन्दीहरूको आदानप्रदान पूरा गर्नुपर्ने र अर्को चरणको वार्ता तय गर्नुअघि दुवै पक्षले युद्धविरामका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताएको छ ।
“अहिलेका लागि हामीले प्रतिनिधिमण्डलहरू हिजो टर्कीमा सहमत भएका कुराहरू गर्न आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “जसको अर्थ एक हजारका लागि एक हजार आदानप्रदान पूरा गर्नु हो ।” युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले प्रसारणकर्ता टिएसएनलाई अर्को हप्ता कैदी आदानप्रदान हुने आशा गरेको बताए ।
शनिबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उनी सोमबार पुटिनसँग ‘रक्तपात’ बाट बाहिर निस्कने उपाय खोज्नबारे छलफल गर्न कुरा गर्ने बताए । त्यसपछि युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध अन्त्य हुने आशा व्यक्त गर्दै उनले जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताए ।
Ukraine’s President Volodymr Zelenskyy and first lady Olena Zelenska arrive for Pope Leo XIV’s formal inauguration of his pontificate with a Mass in St. Peter’s Square attended by heads of state, royalty and ordinary faithful, Sunday, May 18, 2025. (AP Photo/Stefano Costantino)
मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वबारे बैठकको आवश्यकतामाथि जोड दिएका छन् । ट्रम्पले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क दिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गरेका छन् ।
सिबिएसलाई दिएको अन्तर्वार्तामा उहाँले लाभरोभले आफूलाई मस्को युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताएको जानकारी दिए । “यदि रुस र मस्को दुवैले ‘गम्भीर र व्यावहारिक’ प्रस्तावहरू प्रदान गर्न सक्छन् भने ‘त्यहाँ वास्तविक प्रगति भएको छ र हामी त्यसमा काम गर्न सक्छौँ’”, रुबियोले भने ।
बसमा भएको आक्रमण बिलोपिल्ल्या सहर नजिकै भएको स्थानीय समुदायका प्रमुख युरी जार्कोले सुस्पिलेन टिभीलाई बताए । अधिकारीहरूका अनुसार मृतकहरूमा तीन जनाको परिवार रहेको थियो । अन्यत्र युद्धभूमिमा रुसी सेनाले आफ्ना सैनिकहरूले पूर्वी डोनेट्स्क क्षेत्रमा ओलेक्सान्द्रोपिल गाउँ कब्जा गरेको बताएको छ । त्यहाँ सबैभन्दा तीव्र लडाइँ भइरहेको छ ।
जेलेन्स्कीले वार्ताका लागि टर्की जान अस्वीकार गरेपछि पुटिनलाई ‘डराएको’ आरोप लगाए । रुसले वार्तालाई गम्भीरताका साथ लिएको छैन भनी तर्क गरे । “हिजो इस्तानबुलमा सबैले कुनै महत्त्वपूर्ण शक्ति नभएको कमजोर र तयारीबिनाको रूसी प्रतिनिधिमण्डल देखे । यो परिवर्तन हुनुपर्छ । हामीलाई युद्ध अन्त्य गर्न वास्तविक कदमहरू चाहिन्छ”, जेलेन्स्कीले शनिबार भने । जेलेन्स्कीले शुक्रबार इस्तानबुल वार्ता असफल भएमा नयाँ प्रतिबन्धहरूसहित विश्वबाट ‘कडा प्रतिक्रिया’ को आह्वान गरेका थिए ।
मस्कोले ‘बिना शर्त युद्धविराम’ अस्वीकार गर्न जारी राखेमा युरोपेली राष्ट्रहरूले थप प्रतिबन्धहरूमा वासिङ्टनसँग समन्वय गरिरहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताए । शनिबार जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग रुसविरुद्ध नयाँ र प्रभावकारी प्रतिबन्धका बारेमा कुरा गरेको बताए । इस्तानबुल वार्ताका क्रममा युक्रेनी पक्षले रुसले ‘अस्वीकार्य’ क्षेत्रीय मागहरू गरेको बताएको थियो । मस्कोले सन् २०२२ को आक्रमणपछिको चार र सन् २०१४ मा कब्जा गरेको दाबी गरेको क्रिमियासहित पाँच युक्रेनी क्षेत्र दाबी गरेको छ ।
एजेन्सी ४ जेठ, न्यूयोर्क । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताएका छन् । शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजले आफ्ना तीनवटै मस्तुलहरू तोडेको थियो भने पुलमा बसी वसन्त ऋतुको साँझको आनन्द लिइरहेका दर्शकहरू भयभीत बनेका थिए । एडम्सले एक्समा लेखेका छन्, “यो समयमा जहाजमा सवार २७७ मध्ये दुई जनाको निधन भएको, दुई जना गम्भीर घाइते भएका र १९ जना सामान्य घाइते भएका छन् ।”
अनलाइनमा शेयर गरिएको भिडियोमा मेक्सिकोको नौसैनिक जहाज ‘कुउहाटेमोक’, यसको पालहरू र उत्सवबत्तीहरू लत्रेको देख्न सकिन्छ । जहाज पुलमुनिबाट अघि बढिरहेका समय जहाजको मुस्तुलले पुलको एक भागलाई ठक्कर दिएको जहाज नदीमा दुर्घटनाग्रस्त भएको थियो । यसअघि, मेक्सिकोको नौसेनाले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणका क्रममा पानीजहाज दुर्घटना भएको र यसमा सवार २२ जना घाइते भएको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको थियो ।
न्युयोर्कका प्रहरी प्रमुख विल्सन अरामबोलेसले पत्रकार सम्मेलनमा क्याप्टेनले जहाजलाई चलायमान बनाइरहेका बेला जहाजले शक्ति गुमाएको र ब्रुकलिनतर्फको पुलतर्फ मोडिएको बताए । ब्रुकलिनका बासिन्दा २३ वर्षीय निक कोर्सोले पानीनजिकै उभिएका बेला जहाजमा त्रास फैलिएको एएफपीसँग बताए ।
Tug boats assist the Cuauhtémoc, a masted Mexican Navy training ship, toward Pier 35 after it collided with the Brooklyn Bridge, Saturday, May 17, 2025, in New York. (AP Photo/Yuki Iwamura)
मेक्सिकन नौसेनाले आफ्नो वक्तव्यमा कोही पनि पानीमा नपरेको बताउँदै जहाजको छिट्टै उद्धार गरिने बताए । न्युयोर्कको यातायात विभागले एक्समा लेखेको छ, “ब्रुकलिन ब्रिजमा संरचनागत क्षतिको कुनै सङ्केत देखिएको छैन तर थप निरीक्षण जारी रहेको छ । दुर्घटनाका कारण ब्रुकलिनबाट म्यानहटन जाने पुल पुनः सञ्चालनमा आउनुअघि करिब ४० मिनेटका लागि अबरूद्ध गरिएको थियो ।
एजेन्सी ४ जेठ, काठमाडौं । पाकिस्तानमा नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सो संस्थाले सार्वजनिक गरेको सन् २०२५ सालको वैश्विक खाद्य सङ्कटसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएअनुसार, बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा करिब २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्नेछ ।
यस मध्ये १७ लाख मानिसको अवस्था आपतकालीन तहमा रहेको छ । सन् २०२३ सालको तुलनामा हालको विश्लेषणमा समावेशी जनसङ्ख्या ३८ प्रतिशतले वृद्धि भई तीन करोड ६७ लाखबाट पाँच करोड आठ लाख पुगेको छ । थप २५ जिल्ला समावेश गरिएकाले अघिल्लो तथ्याङ्कसँग सिधा तुलना गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले चरम मौसमको असरले जनताको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै, अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ । सन् २०२२ को मङ्सिरदेखि माघसम्म पनि पाकिस्तानमा करिब एक करोड १८ लाख मानिस तीव्र खाद्य असुरक्षामा परेका थिए । बलुचिस्तान र सिन्धका विश्लेषण गरिएका क्षेत्रहरूमा सन् २०१८ देखि २०२३ सम्म निरन्तर अत्यधिक कुपोषण देखिएको उल्लेख छ । कतिपय जिल्लामा ३५ प्रतिशतसम्मको वैश्विक कुपोषण दर देखिएको छ । सन् २०२५ मा जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।
साथै, छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ । कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ । गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमा पनि कुपोषणको दर अत्यधिक छ । धेरै बच्चा जन्मिँदा कम तौलका हुने समस्या पनि देखिएको छ । स्वास्थ्य सेवा, पिउनयोग्य पानी तथा सरसफाइको पर्याप्त पहुँच नभएको र सडकहरू अबरुद्ध हुँदा स्वास्थ्य केन्द्रसम्म पुग्न सकिने अवस्था नरहेको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, “सन् २०२२ मा आएको भीषण वर्षा र बाढीपछिका असरहरू अझै कायम छन्, जसले २०२५ मा स्थिति अझै खराब हुन सक्ने सङ्केत दिएका छन् ।”
४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरे ।
प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरे । प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरे । सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । सङ्घका सचिव एवं दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुुपर्ने आग्रह गरे ।
४ जेठ, रसुवा । चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ । सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ । सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए । विसं २०७२ मङ्सिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ ।
बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन् । दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ । एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ । त्यो पनि जीर्ण अवस्थामा छ । राम्रोसँग ढोका पनि लाग्दैन ।
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको स्थानीय दिपासा विक बताउँछिन् । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय पनि बनाउन सकेको छैन”, उनले भनिन्, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ । एक त ठाउँ नै छैन । अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ ।”,
शौचालय नहुँदा विषेशगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षीया अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन् । उनी भन्छिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ ।” व्यवस्थित शौचालय नहुँदा बस्तीका बासिन्दा खुल्ला रुपमा दिसापिसाव गर्न बाध्य रहेका उनको भनाइ छ ।
यतिधेरै परिवारका व्यक्तिहरुले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा विभिन्न सरुवा रोगहरु समेत फैलिने डर छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा समय समयमा हैजा, ज्वरो, झाडा पखाला, रुघा खोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छन् । “सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा बढी जोखिम हुन्छ”, उनले भनिन् । कोभिड महामारीको समयमा यो बस्तीका पाँच जनाको मृत्यु भएको थियो । साथै, समय समयमा बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विभिन्न सरुवा रोगका कारण मृत्यु हुने गरेको सुनार बताउँछिन् ।
आफूहरु फोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको स्थानीय ५७ वर्षीया मैती सुनार बताउँछिन् । सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा सबैजसो पुग्दैनन् । सरकारी निकाय बारपाकसम्म पुग्छ, तर त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने कोही पुग्दैनन् ।
विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी प्रभावित बनेका थिए । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरु महिना दिनसम्म चौर र बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । चौध परिवार फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउँछन् । उनी भन्छन्, “तर, यो दलित बस्तीलाई पुनःस्थापना गर्न दौडधुप गर्न थालेको १० वर्षसम्म भइसक्यो, केही प्रगति भएको छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब हुन्छन्”, उनले भने ।
पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा उत्तम विक बताउँछन् । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।
४ जेठ, काठमाडौं । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका हुन् । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।
साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।
नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ । उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।
रासस ४ जेठ, मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए ।उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे । यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ । जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए ।
पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए । “मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पु¥याउँछ”, उनले भने ।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पु¥याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रजी फिल्म छायाङ्कन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ ।
रासस । ४ जेठ, काठमाडौं । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ देखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट, वित्तीय संयन्त्रका सञ्चालन निकाय, युएनएफसीसीसी तथा पेरिस सम्झौता अन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।
संवाद हिमालका मुद्दालाई थप अन्तरराष्ट्रियकरण गर्न तथा विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकासका सवालमा उपयोगी भएको सरकारको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीको सामना गरिरहेको बेला यसको महत्व प्रस्तुत गरेका थिए । उनले चुनौतीलाई सम्बोधन गर्न ‘संवादको शक्ति’ मा जोड दिए ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संवादले जलवायुका सन्दर्भमा हिमालदेखि टापुसम्मका आवाजलाई जोडन र उजागर गर्ने सन्दर्भमा सफलता हासिल गरेको बताइन् । उनले संवादको यो संस्करणले हिमालदेखि टापुसम्मका नेता, नीति निर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको उल्लेख गरिन् । सरकारले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने जनाएको छ ।
उक्त विषयहरु यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन–२०२५, जुलाईमा हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकास लक्ष्यहरूको समीक्षा र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ८०औँ सत्र, ब्राजिलमा हुने कोप–३० लगायत मञ्चमा उठाउने बताइएको छ । सरकारले अर्को निर्णायक मुद्दामा सन् २०२७ मा सगरमाथा संवादको दोस्रो संस्करण गर्ने घोषणा गरेको छ ।
परराष्ट्र डा राणा–मन्तव्य काठमाडौँ, ४ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सगरमाथा संवादको तेस्रो दिन आइतबार समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ\रासस
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा परेका जलवायुका असर बारेमा विश्व समुदायलाई जानकारी गराउन संवाद फलदायी भएको बताए । उनले संवादमार्फत नेपालले सरंक्षणमा गरेको उपलब्धिका बारेमा विश्वलाई जानकारी गराउन र जलवायुजन्य हानिनोक्सानीको क्षतिपूर्तिमा दाबी गर्ने सन्दर्भमा संवाद उपलब्धिमूलक भएको उल्लेख गरे । कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदाहुँदै जलवायु संकटसँग जुध्न अथक प्रयास गरिरहेका नेपालजस्ता मुलुकका समस्या समाधानमा सामूहिक प्रयासको खोजीका लागि संवाद सफल भएको ठानिएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले संवादमार्फत हिमालका विषय थप उजागर गर्न सफल भएको बताए । उनले संवादमा हिमालको विषय व्यापक रुपमा उजागर गरिएको बताउँदै यो विषय हिमाली क्षेत्रको मात्र नभई टापुसम्मका समुदायकोे चासोको विषय भएको सम्बन्धमा विभिन्न दृष्टिकोणले छलफल भएको बताए ।
जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रुपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्दै उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि उचाइमा पु¥याउने र जलवायुका क्षेत्रमा भइरहेको चुनौती र विषयलाई थप उजागर गर्ने सफलता प्राप्त भएको बताए ।
संवादको पूर्ण सत्रमा बोल्ने १९ देश र निकायका प्रतिनिधिले जलवायु सङ्कट समाधानमा एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका थिए । संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी र त्यति नै सङ्ख्यामा नेपाली सरकारी अधिकारी तथा विज्ञसहित तीन सय ५० विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।
संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका थिए । उक्त सत्रहरुमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरुले आफ्ना अनुभव आदानप्रदान गरे । संवादकै दौरान हिन्दु कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिएको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै विश्वव्यापी सहयोग र साझेदारी निर्माणका सवालमा संवाद उपयोगी सिद्ध भएको बताए । संवादमा हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानि नोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा अर्थपूर्ण छलफल भएको उनले बताए ।
सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।
संवाद सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले संवादमार्फत नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन सफल भएको बताए । जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्न समेत संवाद उपयोगीसिद्ध भएको उनले उल्लेख गरे ।
विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि जलवायुका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवाद हिमालका मुद्दामा विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सफल भएको ठानिएको छ ।
रासस ४ जेठ, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।
विसं २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार ६९० (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण सम्पन्न गरिएको हो ।
यसमा सङ्घीय सरकारको रु एक करोड ३५ लाख रहेको छभने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गर्नुभएको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाई मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो । पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।
४ जेठ, म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।
गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।
म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए । जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए ।
विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । रासस