२ जेठ, काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।
उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।
त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । आजदेखि सुरु यो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । कार्यत्रममा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताइन् । काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’
२ जेठ, काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।
साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।
२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२\८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।
सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।
२ जेठ, मुस्ताङ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ । नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ ।
कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।
मुस्ताङको कोरोलास्थित नेपाल–चीन सीमा नाकामा नेपालको अध्यागमन कार्यालय रहे पनि पूर्णरुपमा अझै सञ्चालनमा आउन सकेको अवस्था छैन । तस्बिरः धर्मेन्द्र झा/रासस
अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उहाँका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।
“लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट (यस क्षेत्रमा अन्तिम पोष्ट) भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उनले भने । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।
लोमान्थाङबाट देखिएका पर्वतीय शृङ्खला मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने बाटोमा पर्ने पर्वतीय शृङ्खला । तस्बिरः धर्मेन्द्र झा÷रासस
“सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्को पोल भए पनि बिजुली पुगेको छैन”, उनले भने, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए ।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नभएकाले पनि आफूहरूलाई समस्या भएको उनको भनाइ छ । गुरूङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ । “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ”, अध्यक्ष गुरूङले भनु । कोरलानाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरूङका अनुसार भवन नहुँदा व्यापारी खुला चौरमा व्यापार गर्न बाध्य छन् । “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ, पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ”, उनले भने, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो ।” उहाँजस्ता व्यापारीहरू बिहान ९ः०० बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ः०० बजेसम्म फर्कने गरेका छन् ।
चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ । कोरलानाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । विसं २०७२ को भूकम्पपछि तातोपानी, केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो । यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरूङको बुझाइ छ ।
उनका अनुसार व्यापार गर्ने र नाका पुगेकालाई सहज हुनेगरी आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।
कोरलानाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार तीन सय ४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ । कोरलानाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।
यो नाका तिब्बतमा रहेको हिन्दूहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब छ सय किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाकाको सहज सञ्चालन हुने होभने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन् ।
पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । उनीहरूका लागि खानेपानी र शौचालयको पनि व्यवस्था छैन । पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन् । त्यहाँ पुग्नका लागि सडकको पहुँच भए पनि बस्नका लागि सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन् । न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन् ।
लोमान्थाङ मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) । यो खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बीचमा रहेको उपत्यकाको रुपमा पनि परिचित छ । तस्बिरः धर्मेन्द्र झा÷रासस
यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरलानाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो । यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो ।
तर कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरलानाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।
जोमसोमदेखि कोरलानाकासम्म एक सय १० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
२ जेठ, काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन् । आजदेखि हुने सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ ।
सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी दिए । बिटिआर जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रतिबद्धताअन्तर्गतका राष्ट्रहरूले प्रत्येक दुई वर्षमा तयार गर्ने दस्तावेज हो । दस्तावेनजमा ती मुलुकहरुको हरितगृह ग्यास उत्सर्जन, अनुकूलन उपायहरू, वित्तीय सहयोग, प्रविधि स्थानान्तरण, क्षमताविकास, र पारदर्शितासम्बन्धी जानकारी समावेश गरिन्छ ।
साथै सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान ९एनडिसी०को मस्यौदा स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औँ शिखर सम्मेलनमा आधारित तेस्रो एनडिसीको मस्यौदा गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । “तेस्रो एनडिसी, बिटिआर र कार्बन व्यापारसम्बन्धी नियमवाली सगरमाथा संवादअघि स्वीकृत गर्ने योजना थियो ।
तर नियमावलीमा भने सरोकारवालाको प्रतिक्रिया सङ्कलन जारी रहेकाले संवाद अघि स्वीकृत हुन सकेन”, मन्त्री शाहीले भने । जलवायु अभियन्ता राजन थापाले सगरमाथा संवादअघि बिटिआर स्वीकृतिले सकारात्मक सन्देश दिनुका साथै अन्तरराष्ट्रिय एवं क्षेत्रीय सहयोग अभिवृद्धिका साथै पर्वतीय राष्ट्रहरूबीच सहकार्यको ढोका खोल्न मद्दत पुग्ने बताए ।
२ जेठ काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।
परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् । अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।
उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने छ ।
आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।
सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन् ।
संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।
नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन् ।
सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको छ ।
२ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।
बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
२ जेठ, कतार । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्ने भएका छन् । त्यहाँ उनले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गरेका छन् । ट्रम्पले कतारको अल–उदैद एयर बेसमा तैनाथ सैनिकहरूलाई सम्बोधन गर्ने योजना बनाएका छन् । यो इराक र अफगानिस्तानमा अमेरिकी युद्धहरूको समयमा एक प्रमुख आधार थियो र यमनका इरान–समर्थित हुथीहरू विरुद्ध हालैको अमेरिकी हवाई अभियानलाई समर्थन गरेको थियो ।
ट्रम्प इरानलाई आफ्नो प्रशासनसँग उसको आणविक कार्यक्रम नियन्त्रण गर्ने सम्झौतामा आउन आकर्षित गर्न प्रयासरत छन् । उनले सऊदी अरब र कतार जस्ता खाडी राष्ट्रहरूलाई सङ्घर्षले ग्रस्त क्षेत्रमा आर्थिक विकासको आदर्शका रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्नो भ्रमणमा सिरियाली राष्ट्रपति अहमद अल–साराको सरकारलाई मान्यता दिने र युद्धग्रस्त देशमाथिको प्रतिबन्ध हटाउने योजना पनि घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट समूहको पुनरागमनलाई दबाउनका लागि वर्षौंदेखि सिरियामा एक हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ ।
अल–कायदासँग सम्बन्धित भएको र सिरियाली गृहयुद्धमा प्रवेश गर्नुअघि इराकमा अमेरिकी सेनासँग लडिरहेका विद्रोहीहरूसँग सामेल भएको अल–साराको प्रशंसा गर्दै ट्रम्पले बुधबार साउदी अरबमा भेट गर्नुभएको थियो । उहाँले अल–सारालाई ‘जवान, आकर्षक व्यक्तित्व । कडा व्यक्तित्व । धेरै बलियो अतीत । लडाकू’ भने । अल–सारालाई इराकमा अमेरिकी सैनिकहरूले कैद गरेको पहिलेका वर्षहरू भन्दा यो एकदम विपरीत थियो । डिसेम्बरसम्म उनको गिरफ्तारीका लागि एक करोड अमेरिकी डलरको इनाम थियो ।
यस क्षेत्रमा आफ्नो पहिलो दिन साउदी अरबमा बोल्दै ट्रम्पले खाडी नेताहरूलाई भने, “तपाईंहरूले जे गर्नुभएको छ वास्तवमै अविश्वसनीय छ । अन्ततः, तथाकथित राष्ट्र निर्माताहरूले उनीहरूले निर्माण गरेका भन्दा धेरै राष्ट्रहरू ध्वस्त पारे र ‘हस्तक्षेपवादीहरू’ जटिल समाजहरूमा हस्तक्षेप गरिरहेका थिए जुन उनीहरू आफैँले पनि बुझेका थिएनन् ।” कतारी बेसमा लगभग आठ हजार अमेरिकी सैनिक छन् । यो सङ्ख्या इराक र अफगानिस्तान युद्धको चरममा लगभग १० हजार थियो ।
ग्यास–समृद्ध खाडी देश कतारले दुई दशकमा बेस विकास गर्न लगभग आठ अर्ब डलर खर्च गरेको छ । यो कतारको राजधानी दोहाबाट लगभग २० माइल (३० किलोमिटर) दक्षिण पश्चिममा मरुभूमिको समतल भागमा निर्माण गरिएको हो । कुनै समय यो आधार यति संवेदनशील मानिन्थ्यो कि अमेरिकी सैन्य अधिकारीहरूले यो ‘दक्षिणपश्चिम एसियामा’ कहीँ छ भनेर मात्र भन्ने गर्थे । ट्रम्पले उनी र कतारका अमीर शेख तमिम बिन हमद अल थानीले अमेरिकी हवाई क्षमताको प्रदर्शन पनि हेर्ने बताए । यद्यपि उनले यस क्षेत्रमा रक्षा निर्यात बढाउन खोजिरहेका छन् ।
“तपाईँले वास्तवमा ती उपकरणहरू धेरै खरिद गर्दै हुनुहुन्छ”, उनले र शेख तमीमसँग दुई देशबीच द्विपक्षीय र व्यापारिक सम्झौताको शृङ्खलामा हस्ताक्षर गर्दा ट्रम्पले भने, “अनि मलाई लाग्छ कि हामी यसको केही भाग भोलिपल्ट हवाई मेलामा हेर्नेछौँ– हामी यसलाई हवाई मेला भन्ने छैनौँ, तर यो हवाई मेला जस्तो हुनेछ । हामी एउटा यस्तो प्रदर्शन देखाउन जाँदैछौँ जुन अविश्वसनीय हुनेछ । उनीहरूसँग हाम्रा विमानहरूमध्ये नवीनतम र सबैभन्दा उत्कृष्ट र अरू सबै कुरा छन् ।” बुधबार दुई नेताले हस्ताक्षर गरेका सम्झौताहरू मध्ये एउटा दस्तावेजले कतारलाई अमेरिकी निर्मित एमक्यु–९ बी ड्रोनहरू – रिपरको निर्यात संस्करण – खरिद गर्ने बाटो खोलेको छ ।
१ जेठ, काठमाडौं । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट करिब १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन सक्ने एक पर्यटन उद्योग समूहले बिहीबार जनाएको छ । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्लुटिटिसी) र अक्सफोर्ड इकोनोमिक्सले गरेको अध्ययनअनुसार यो वर्ष विदेशी पर्यटकको खर्चमा कमी आउने देश संयुक्त राज्य अमेरिका मात्र हुनेछ ।
विदेशी पर्यटकले १८१ अर्ब अमेरिकी डलर खर्च गर्दा यो एक दशकअघिको तुलनामा २२.५ प्रतिशतले घट्नेछ । प्रमुख ट्राभल फर्महरू मिलेर बनेको डब्ल्यूटीटीसीले भनेको छ, “यसले समग्र अमेरिकी अर्थव्यवस्थामा प्रत्यक्ष आघात पुर्याउँछ, जसले समुदाय, रोजगारी र तटदेखि तटसम्मका व्यवसायहरूलाई असर पार्छ।“
डब्लुटिटिसीकी अध्यक्ष जुलिया सिम्पसनले पर्यटन विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताइन् । “अन्य राष्ट्रले विदेशी पर्यटकहरूलाई भित्राउने पहल गरिरहेका समय अमेरिकी ट्रम्प सरकारले पर्यटकका लागि ‘बन्दको सङ्केत’ राखिरहेको छ,” उनले भने ।
राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासनमाथि कडा कदम चाल्ने, अन्य राष्ट्रहरूको बारेमा राजनीतिक रूपमा आरोप लगाइएको टिप्पणी गर्ने र विदेशी सामानहरूमा कर लगाउने क्रममा, अन्य देशका उपभोक्ताहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र संयुक्त राज्य अमेरिकाको यात्रा छोड्न आह्वान गर्ने धेरै प्रयासहरू गरेका छन्।
सिम्पसनले न्युयोर्क टाइम्ससँग भनिन्, “कतिपय विदेशी यात्रीहरू ट्रम्पको अवैध आप्रबासी अभियानबाट अमेरिका जान डराउने गरेका देखिएको छ।” “उनीहरूलाई भिसाको बारेमा पनि चिन्ता छ । के उनीहरूले सही भिसा पाएका छन् वा दुर्घटनावश पक्राउ पर्न सक्छन्, यसले मानिसहरूलाई निकै भयभीत बनाएको छ।” रिपोर्टमा अमेरिकी वाणिज्य विभागको तथ्याङ्कले मार्च २०२० मा बेलायत र दक्षिण कोरियाबाट लगभग १५ प्रतिशत गिरावट सहित प्रमुख देशहरूबाट आगमनमा तीव्र गिरावट देखाएको छ।
जर्मनी, आयरल्याण्ड र स्पेनबाट अमेरिका पुग्ने पर्यटकमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । प्रतिवेदनले क्यानाडाबाट ग्रीष्मकालीन बुकिङमा २० प्रतिशतले गिरावट आएको अन्य तथ्याङ्कपनि उल्लेख गरेको छ । “यो प्रभावित पर्यटन क्षेत्र डुब्न लागेको सङ्केतभन्दा बढी हो । चेतावनीको सङ्केत होे र समयमै सचेत हुन् जरूरी छ ।” डब्ल्यूटीटीसीले भनेको छ । “अमेरिकाले आफ्ना छिमेकी र समुन्द्र पारका देशहरूबाट कम आगन्तुकहरूलाई स्वागत गरिरहेको छ, जुन अमेरिकाको विश्वव्यापी आकर्षण घट्दै गएको स्पष्ट सङ्केत हो।”
यसैबीच, अमेरिकी नागरिकले बढी विदेश यात्रा गरिरहेको र यसले अमेरिकी यात्रा क्षेत्रलाई थप क्षति पु¥याइरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा पर्यटन क्षेत्रले अमेरिकी अर्थतन्त्रमा २.६ ट्रिलियन अमेरिकी डलरको योगदान गरेको थियो र दुई करोडभन्दा बढी रोजगारीलाई सहयोग गरेको थियो। अमेरिकी पर्यटनले देशको कर राजस्वमा ५८५ अर्ब डलरभन्दा बढी योगदान गरेको छ जुन कुल राजस्वको लगभग सात प्रतिशत हो ।
१ जेठ, अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय एक व्यक्तिलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ । सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ग्लेन रोजर्सलाई स्थानीय समयानुसार साँझ ६ः०० बजे फ्लोरिडा स्टेट जेलमा मृत्युदण्ड दिइने भएको हो । दुई बच्चाकी आमा ३४ वर्षीया क्रिब्सको छुरा प्रहार गरी हत्या गरिएको थियो र उनको शव होटलको ‘बाथटब’मा फेला परेको थियो ।
रोजर्सलाई सोही वर्ष क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्यामा पनि दोषी ठहर गरिएको थियो र उनी मिसिसिपी र लुइसियानामा कम्तीमा दुई अन्य महिलाको हत्यामा संदिग्ध थिए। संयुक्त राज्य अमेरिकामा यस वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको छ जसमध्ये ११ जनालाई घातक सुईद्वारास दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको थियो ।
अमेरिकाका ५० राज्यमध्ये २३ राज्यमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको व्यवस्था कायम छ । राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डको समर्थक हुन् । उनले आफ्नो कार्यकालको पहिलो दिन ‘घृणित अपराधका लागि’ यसको प्रयोग विस्तार गर्न आह्वान गरेका थिए ।
१ जेठ, काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।
उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पु¥याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।
१ जेठ, काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गतराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका हुन् ।
फिलिप चौथो शिविरमा करिब रातको ७\८ बजे थकित अवस्थामा पुगेका थिए । आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।
१ जेठ, काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणमा आएका छन् । उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । आज अपराह्न काठमाडौँ आएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।
१ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन भएका हुन् ।
टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन अर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।
काठमाडौं । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल–मट्टीतेल लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
१ जेठ, काठमाडौं । बिहीबार साँझ देशका अधिकांश स्थानमा बिजुली कटौती भयो । यससँगै सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना भइरहेको छ । साँज ७ बजेपछि करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ । ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताएका छन् ।
१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहन बस्नेतसहित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ । सो मुद्दामा आरोपीबाट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दावि गरिएको छ ।
यसरी मुद्दा दायर हुनेमा तत्कालिन सूचना तथा सञ्चारमन्त्री तथा वर्तमान सांसद मोहन बहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्मक खनाल, प्राधिकरणका तत्कालिन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन् । निर्देशकहरु सुरेन्द्र लाल हाडा, दिपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारी समेत यस मुद्दामा मुछिएका छन् ।
टेरामस्क सिस्टम खरीदमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयारी पारी छनोट गराएर अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ । उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद् अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारबाहिर गई निर्णय गरेको तथा निर्देशन दिएको अख्तियारले जनाएको छ । टेरामक्स प्रकरणमा उनको गतिविधिले राज्यलाई हानी पुग्ने काम भएको समेत अख्तियारको ठहर छ ।
१ जेठ, कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छिन् । उनले महिनामै रु ६० हजार बढीको कारोबार गर्छिन । खर्च कटाएर रु ३० हजारसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन ।
भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । “इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरेँ”, चन्दले सुनाइन् ।
रु एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल रु पाँच लाखको सामान थालेकी छिन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन् ।
बकसरी सामानबाहेक उहाँले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छिन् । भविष्यका लागि भनेर उनले मासिक रु आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छिन् । “घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु”, चन्दले भनिन् । राससको सहयोगमा
१ जेठ, काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । सञ्चालक सिम्खडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए । “म जापानमा बस्दा महत्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन् । मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ ।”
सिम्खडाको बुझाइअनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कंदैनन् । नेपालबाट स्वदेश फर्कंदै गर्दा उनीहरुले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाऊन् भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ । होटल फरक र मौलिक बनाउने प्रयास गरिएको छ । मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले स्वागत गर्छ । परम्परगत पोसाकमा सजिएका कर्मचारीले आतिथ्यता प्रदर्शन गर्छन् । पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति यहाँ देख्न सकिन्छ । होटलका थाम, कुर्सी, कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ । ठमेल नरसिंह चोकमा छ यो होटल ।
होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न सकिन्छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायत नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको सिम्खडाले बताए । उनका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित रु दुई अर्ब ५० करोड लगानी भइसकेको छ ।
“विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन् तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ”, सिम्खडाले भने । ७२ वटा रुम भएको होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएका रुममा नेपाली कला बढी देख्न सकिन्छ ।
होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । होटलका रुमहरु स्वयम्भू, धरहरा र सिटी भ्यू हुनेगरी तयार गरिएको छ । दुई सभाहल रहेको होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ । त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ । सोरा स्काई लाइनको सिसामा स्काई वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । यहाँ एक सय साठी डलरदेखि एक हजार ६०० डलर सम्मका विभिन्न वर्गका रुमहरू रहेका सञ्चालक सिम्खडाले पत्रकारहरूलाई जानकारी दिए ।
१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।
मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोधसमेत गरेको छ ।
१ जेठ, मुस्ताङ । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ । छसय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ । दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५औँ शताब्दीमा माटो ढुङ्गा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन् । जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । दिनभरि खुला हुने दरबार साँझ बजेपछि भने बन्द गरिन्थ्यो । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ । त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ । तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबार नजिकै मन्त्रालयहरू हुन्थे । आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो ।
हाल पनि ती मन्त्रालयका भवन लोमान्थाङमा देख्न सकिन्छ । तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो तर मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ । बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ । यसले दरबार एक्लिँदै गएको छ ।
माटोले बनेको दरबार भएकाले कसैले यसलाई माटोको शहर पनि भन्छन् । ऐतिहासिक र पुरातात्विक महत्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारचारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ । संरक्षण र संवर्द्धनको अभावमा यसको महत्व घट्दै जाने पो हो कि भन्ने चिन्ता पनि थपिएको स्थानीयले बताउने गरेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङका अनुसार मुलुकमा गणतन्त्र आए पनि यहाँका स्थानीय लोमान्थाङका राजपरिवारलाई उत्तिकै आदरपूर्वक सम्मान गर्छन्, त्यसैले धेरै स्थानीय दरबारमा जान पनि चाहँदैनन् । मानिसको आवतजावत कम भएपछि दरबार जीर्ण बन्ने जोखिम बढेको छ ।
विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन । यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन् । उनीहरू बिस्टलाई पूर्वराजा होइन राजा नै मान्ने गर्छन् । “लोमान्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ, यो ऐतिहासिक र पुरातात्विक महत्वको दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने लाग्छ, यहाँको आर्थिक गतिविधि बढाउनका लागि पर्यटक ल्याउनुको विकल्प छैन”, अध्यक्ष गुरुङले भने,
त्यसो त लोमान्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो । तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो । त्यही प्रभावले पनि यहाँका राजालाई शक्तिशाली मानिन्थ्यो । “सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो तर जब साल्ट ट्रेड रुट बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन सुरु भयो, त्यसपछि व्यापार सुक्दै गयो ।
त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो । धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ”, लोमान्थाङ निवासी बुद्धिजीवी कर्मा वाङगेलले भने ।
उनी ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण लोमान्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुने बताउँछन् । विदेशी पर्यटकका लागि हाल कायम कडा नियमलाई खुकुलो बनाउन सकिए यस क्षेत्रले पर्यटनबाट ठूलो लाभ लिन सकिने वाङगेलको बुझाइ छ । उनका अनुसार अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका छन् । बाँकी परिवारहरू त्यहाँबाट बसाइँ सरिसकेका छन् ।
दरबार छेवैको मिस्टक होटलकी सञ्चालिका कर्चुङल्यामो गुरुङ पनि वाङगेलको भनाइमा सहमत छन् । “अहिले त यहाँ आउन पनि सडकमार्गले सहज बनाएको छ । आवश्यक प्रचारप्रचार, दरबार संरक्षणका लागि बजेट विनियोजन र विदेशी पर्यटक ल्याउनका लागि सहज नीति बनाउन सकियो भने यस क्षेत्रले लाभ लिन सक्छ”, उनले भनिन् । कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या छ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो ।
समुन्द्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्कँदैनन्”, उनले भने । “एतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।”
नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको यस क्षेत्रमा यहाँका २६औँ राजा अझै पनि यही बसोबास गर्छन् । इतिहास र धर्ममा रुचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ । लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन् । भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो । यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू पाइन्छन् । यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ । यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो । त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ ।
१ जेठ, भद्रपुर । हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गत रातिको हो । रासस
रासस १ जेठ, खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेल विकास गरेको हो ।
चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको विकास गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए ।
“ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले तराई, पहाड र हिमाललाई समेट्छ”, उनले भने, “ग्रेटर मुन्दुम ट्रेललाई विश्वका पर्यटकको ध्यान केन्द्रित गर्नेगरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य छ ।” सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको समन्वयमा मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको अन्वेषणका क्रममा पदमार्ग निर्धारण, यात्रा गर्न आउने पर्यटकका लागि बास बस्न मिल्ने ठाउँ तथा ग्रेटर मुन्दुम ट्रेलका विशेषताहरुको पहिचान गरिएको छ ।
ग्रेटर मुन्दुम ट्रेलमा प्राकृतिक तथा भौगोलिक रुपमा तराईका समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो तुसारोसम्मको अनुभव गर्न सकिनेछ । कोशीटापुको अर्ना तथा वन्यजन्तुदेखि पहाडको घाँसे मैदानका चौरी तथा भेडा र हिमाली क्षेत्रका वन्यजन्तु देख्न सकिने छ ।
१ जेठ, काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।
३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट सङ्घ९क्यान०ले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग २ शृङ्खलाका लागि शुभकामना प्रदान गरे । नेपालले लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गतेसम्म सिरिज खेल्नेछ । लिग २ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ ।
लिग २ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ । लिग २ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।
१ जेठ, काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ । देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भनेका छन्, “गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । हामी तपाईँलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेताका रुपमा धेरै याद गर्नेछौँ ।’ मुजिकाले आफ्नो सन् २०१०–२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरे र साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि कमाए ।
उहाँले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसङ्ख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरेका थिए । सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो, जुन पछि उनको कलेजोमा फैलियो । उनकी श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए । उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन् ।
बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुजिकाको निधनबाट दुःखी भएको बताए । “म सधैँ अनुभव र बुद्धिले भरिएको उनको सल्लाह सम्झन्छु”, उनले भने । ब्राजिलको सरकारले उनलाई ‘हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मानवतावादीहरू मध्ये एक’ भनेर सम्मान गरेको छ भने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुजिकाले ‘जुन कुरामा विश्वास गरे, अभियान चलाए, र बाँचे, त्यो ‘एक राम्रो संसार’ थियो भनेका छन् । आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र समलिङ्गी विवाहलाई वैधानिक बनाए । उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश बनाए ।
उनले क्यान्सरको निदान पाएपछि पनि वामपन्थका लागि अभियान जारी राखेका थिए । एएफपीसँगको सन् २०२४ नोभेम्बरको अन्तर्वार्तामा उनले आफ्ना राजनीतिक उत्तराधिकारी, इतिहास शिक्षक ओर्सीको राष्ट्रपति विजयलाई आफ्नो करियरको अन्त्यमा ‘पुरस्कार’ का रूपमा वर्णन गरेका थिए । ठाडो कुरा गर्ने, हिउँ–जस्तै सेतो कपाल भएका राजनीतिज्ञ उपभोक्ता संस्कृतिका कट्टर आलोचक थिए । राष्ट्रपतिका रूपमा उहाँले कार्यालयका सुविधाहरू अस्वीकार गरे ।
उनी आधिकारिक कार्यक्रमहरूमा चप्पल लगाएर जान्थे । मोन्टेभिडियोको बाहिरी क्षेत्रमा आफ्नो सानो फार्ममा बस्न जारी राखे । त्यहाँ उनको मूल्यवान सम्पत्ति सन् १९८७ को फोक्सवागन बिटल थियो । सन् १९६० को दशकमा उहाँले माक्र्सवादी–लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह–स्थापना गरे । उक्त आन्दोलनले गरिबहरूलाई दिन धनीहरूबाट लुटपाट गर्न थाल्यो तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्याहरूमा विस्तार गर्यो । ती वर्षहरूमा मुजिकाले साहसिक जीवन बिताए । उनले धेरै गोलीका चोटहरू सहेका छन् । सामूहिक जेल ब्रेकआउटमा भाग लिए ।
तर जब सन् १९७२ मा टुपामारोसको पतन भयो, उनलाई फेरि पक्राउ गरियो र उरुग्वेको सन् १९७३–१९८५ को तानाशाही शासनकालमा पूरै जेलमा बिताए । त्यहाँ उनलाई यातना दिइयो र वर्षौं एकान्त कारावास भोगे । रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे । सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि) को स्थापना गरे । सन् १९९५ मा संसद्मा निर्वाचित हुनुभयो र सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बने । उनले उरुग्वेको कार्यकाल सीमाअनुसार केवल एक पाँच वर्षे कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरे । उनका कुनै सन्तान थिएनन् ।
३१ वैशाख, काठमाडौं । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए ।
कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने राष्ट्रपति ट्रम्पले बताए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेटको डेलिभरीमा धेरै ढिलो हुने सङ्केत गर्दै लेखेका छन्, “बोइङ ७४७ अमेरिकी वायु सेना, रक्षा मन्त्रालयलाई दिइँदैछ, मलाई होइन । यो एउटा राष्ट्र कतारको अमेरिकालाई उपहार हो, जसलाई हामीले वर्षौँदेखि सफलतापूर्वक प्रतिरक्षा गर्दै आएका छौँ । यसलाई हाम्रो सरकारले नयाँ बोइङहरू नआउँदासम्म अस्थायी एयर फोर्स वनको रूपमा प्रयोग गर्नेछ ।”
उनले भने, “हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् किन करोडौं डलर खर्चिनुुपर्यो ।” उनले भने, “हामीलाई राम्रो कामको लागि जसले इनाम दिन चाहन्छ। त्यो नस्वीकार्ने मूर्खले मात्र हो ।” द हिलका अनुसार कतारको शाही परिवारले संयुक्त राज्य अमेरिकालाई उपहारको रूपमा प्रस्ताव गरेको विमानको मूल्य ४० करोड अमेरिकी डलर अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपतिले कतारबाट उपहारस्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायबाट सामाजिक सञ्जालमार्फत् उक्त निर्णयप्रति आश्चर्य व्यक्त गर्दै निर्णयको आलोचना गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एयर फोर्स वानका रुपमा सेवा गर्न उपहारस्वरुप स्वीकार गर्ने सम्बन्धी कानूनी विवरणलाई अन्तिम रुप दिन लागिएको सोमबार पुष्टि गरेकी थिइन् । लेभिटले सरकारलाई कुनै पनि प्रकारको चन्दा वा उपहार कानूनको पूर्ण पालना गर्दै स्वीकार गरिने बताइन् । सीएनएनले उनलाई उद्धृत गर्दै दिएको रिपोर्टमा भनिएको छ, “सरकारलाई आउने कुनै पनि सहयोग जहिले पनि कानूनको पूर्ण पालनामा गरिन्छ।”
काठमाडौं । पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो ।
याम बहादुर लिम्बु समेत ८ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि लगायतलाई विपक्षी कायम गरी २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलबार बनाउने सम्बन्धी मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो । पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृती माथि प्रहार गरेको भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए ।